यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ २४ पैसा र बिक्री दर १३१ रुपैयाँ ८४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ५३ पैसा र बिक्री दर १६५ रुपैयाँ २८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०० पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कोशी आन्दोलनमा ज्यान गुमाएका लिम्बु शहीद घोषणा
काठमाडौं । सरकारले कोशी प्रदेश नामकरणको विरोधका क्रममा मृत्यु भएका पदम लिम्बु (लाजिहाङ) लाई शहीद घोषणा गरेको छ। सिंहदरबारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । लिम्बुको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको छ । पहिचानको आधारमा नामकरणको माग गर्दै चैत ५ गते विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको चैत १० मा मृत्यु भएको थियो। प्रहरीको कुटाईबाट घाइते भएका लिम्बुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको थियो।
चीनको विदेशमन्त्रीमा चिन काङ नियुक्त
काठमाडौं । चीनको नयाँ विदेशमन्त्रीमा चिन काङ नियुक्त भएका छन्। राष्ट्रपति सी चिनफिङले हाल अमेरिकाका लागि चिनियाँ राजदूत रहेका चिन काङलाई विदेशमन्त्री बनाएका हुन्। छिन १७ महिनायता अमेरिकाका लागि चिनियाँ राजदूतको भूमिकामा छन्। उनी चीनका वरिष्ठ कूटनीतिज्ञ हुन्।उनले विदेश मन्त्रालयमा प्रवक्ताको पनि जिम्मेवारी सम्हालिसकेका छन्। प्रवक्ता बन्नुअघि उनी बेलायतस्थित चिनियाँ राजदूत थिए। उनी सन् २०१४ देखि २०१८ सम्म चिनियाँ विदेश मन्त्रालयको चिफ अफ प्रोटोकल थिए। चिनले वाङ यीलाई विस्थापन गरेका छन्। वाङ दस वर्षयता चिनियाँ विदेशमन्त्री थिए।वाङ हालै चिनियाँ कम्युनिस्ट पार्टीको पोलिट्ब्युरो सदस्यमा बढुवा भएका छन्। वाङलाई विदेश नीतिसम्बन्धी अझ माथिल्लो जिम्मेवारीमा लग्ने तयारी रहेको बताइएको छ।
चिसो बढेसँगै भरतपुर महानगरपालिकाले दियो साना विद्यार्थीलाई न्यानो कपडा
चितवन । चिसो बढेसँगै भरतपुर महानगरपालिकाले साना विद्यार्थीलाई मध्यनगर गर्दै न्यानो कपडा वितरण गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार भरतपुर–२८ मा रहेको आधारभूत विद्यालय सिसाबासबाट मेयरसँग बालबालिका कार्यक्रम अन्तरगत पहिलो चरणको न्यानो कपडा वितरणको थालनी गरेकी छन् । भरतपुरको शिक्षालाई थप गुणस्तरीय बनाउने उदेश्यसहित विद्यालयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईएको छ । चिसोका कारण विद्यालय जान रोकिन् नपरोस् भनेर कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम विगतको कार्यकालदेखि नै सञ्चालन गर्दै आइरहेको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताइन् । यस्तै भरतपुरका सामुदायिक विद्यालयमा मेयरसँग छात्रा कार्यक्रम अन्तरगत साईकल वितरण, विद्यालयलाई बस हस्तान्तरण जस्ता कार्यक्रमहरुले निरन्तरता पाउने प्रमुख दाहालले जानकारी दिइन्। पहिलो चरणको न्यानो कपडा वितरण कार्यक्रममा साना विद्यार्थीहरुलाई एक जोड ट्रयाक सुट र ऊनको टोपी वितरण गरिएको भरतपुरका महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिए । यस वर्ष १५ सय विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम अन्तरगत पहिलो चरणमा १२ विद्यालयका १ हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको महाशाखा प्रमुख पौडेलले जानकारी दिए। महानगरले आज (बिहीबार) ९ सय ८६ जना विद्यार्थीलाई सहयोग गरेको सहयोग गरेको छ । भरतपुर–६ को देवज्योति आधारभूत विद्यालयका १ सय १४ जना, वडा नम्बर १३ को आधारभूत विद्यालय ब्रहमपुरीका ५८ जना, वडा नम्बर १७ को आधारभूत विद्यालय लगौटाका १ सय २२ जना, १८ को आधारभूत विद्यालय भवनवस्तीका १ सय १३ जना विद्यार्थीले न्यानो कपडा पाए । यस्तै वडा नम्बर २१ को आधारभूत विद्यालय रंगीलाका ८९ जना, आधारभूत विद्यालय सीतापुरका ३४ जना विद्यार्थीले न्यानो कपडा पाए । यस्तै वडा नम्बर २३ को आधारभूत विद्यालय घैलाघारी, वडा नम्बर २६ को जनमासिंह आधारभूत विद्यालयका ५० जना, वडा नम्बर २७ को काजिमान आधारभूत विद्यालयका ८४ जनाले न्यानो कपडा सहयोग पाएका छन् । भरतपुर महानगरभित्र १ सय १६ वटा सामुदायिक विद्यालय छन् भने ९७ वटा संस्थागत विद्यालय छन् । ७३ वटा आधारभूत तहका विद्यालय छन् । महानगरले विगत ४ वर्षदेखि विद्यार्थीलाई न्यानो कपडा सहयोग गर्दै आएको छ । महानगरले छात्राहरुलाई साइकल समेत वितरण गरिसकेको छ ।
पोल्याण्डमा ‘रुसी क्षेप्यास्त्र’ खसेपछि जी–सेभेन राष्ट्र प्रमुखहरूको आपत्कालीन बैठक
एजेन्सी । इन्डोनेसियामा जारी जी२० बैठकको आज अन्तिम दिन हो। आजको बैठकमा जी–सेभेन देशका नेताहरुले पोल्याण्डमा खसेको कथित रुसी मिसाइलबारे छलफल गरेका छन् । अमेरिका, इटाली, जर्मनी, फ्रान्स, बेलायत, जापान, स्पेन र नेदरल्याण्ड्सका नेताहरूको उपस्थिति रहेको उक्त कुराकानीको तस्बिर सार्वजनिक भएको छ । उनीहरूबाहेक युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपियन युनियनका आयुक्त पनि यस बैठकमा सहभागी थिए । पोल्याण्डमा रुसी क्षेप्यास्त्र खसेको परिणाम गम्भीर हुन सक्छ। पोल्याण्ड नेटो सैन्य गठबन्धनको सदस्य हो र यस घटनालाई नेटोमाथि आक्रमण मान्न सकिने बताइएको छ । नेटोको सदस्य हुनु भनेको कुनै सदस्य राष्ट्रमा सशस्त्र आक्रमण भएमा अन्य सदस्य राष्ट्रले सहयोग गर्न अगाडि आउने र आक्रमण भएको वा भइरहेका देशमा नेटोको सेना पठाउन सक्छ । यदि उक्त मिसाइल रुसी भएको पुष्टि भयो भने यसले ९सैद्धान्तिक रूपमा० द्वन्द्व बढाउने जोखिम रहन्छ । बीबीसी संवाददाता क्रिस मेसनका अनुसार पोल्याण्डमा भएको घटनापछि जी–२० का सबै देशका योजनाहरू फेल भएको देखिन्छ । पश्चिमी देशका नेताहरू आफ्ना रक्षा र परराष्ट्रमन्त्रीहरूसँग कुराकानी गर्न र पोल्याण्डलाई पनि फोन गर्न व्यस्त छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री ऋषि सुनक पोल्याण्डसँग सम्पर्कमा छन् । जो बाइडेनले नेटो प्रमुख जेन्स स्टोल्टनबर्गसँग पनि वार्ता गरेका छन्। पोल्याण्डको विदेश मन्त्रालयले मंगलबार दिउँसो ३ः४० मिनेटमा आफ्नो भूमिमा ‘रुसी क्षेप्यास्त्र’ खसेको बताएको थियो, जसका कारण सेरेवोडो गाउँमा दुई जनाको मृत्यु भएको थियो । पोल्याण्डले क्षेप्यास्त्र कसले प्रक्षेपण गर्यो भन्ने बारे कुनै ‘निर्णायक प्रमाण’ नभएको बताएको छ। पोल्याण्डको विदेश मन्त्रालयका प्रवक्ता लुकाज जसिनाले पोल्याण्डका लागि रुसी राजदूतलाई घटनाको ‘तत्काल विस्तृत स्पष्टीकरण’ दिन बोलाइएको बताए। यद्यपि उनले उक्त क्षेप्यास्त्र कसले हान्यो भन्ने कुरा भने खुलाएनन् । युद्धमा दुवै पक्षले रुसी युद्ध सामग्री प्रयोग गरेका छन् । रुसद्वारा आक्रमणको दाबी अस्वीकार यता रुसले आक्रमण आफूले गरेको भन्ने समाचारको खण्डन गरेको छ । रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘रुसले युक्रेनी(पोलिश राज्य सीमा नजिकका लक्ष्यहरूमा कुनै आक्रमण गरेको छैन।’ रुसले भनेका छन् कि यी रिपोर्टहरू ‘स्थितिलाई अझ बिगार्ने उद्देश्यले गरिएको उक्साहट हो ।’ बीबीसी
चितवन–३ का उम्मेदवार डा. अधिकारीको भोट माग्ने शैली ‘थाइराइड ठीक छ ?’
चितवन। भोट माग्न हिँड्दै गर्दा भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा आफ्ना एक बिरामीलाई यसै क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार डा। भोजराज अधिकारीले माइकबाट ‘थाइराइड ठीक छ ?’ भनेर गरिएको प्रश्न टिकटकमा यतिबेला धेरैले हेरिरहेका छन्। फिजिसियन डा.अधिकारीले उक्त क्षेत्रका धेरै बिरामीको थाइराइड, उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगको नियमित परीक्षण गर्दै आएका थिए। आफ्नो बिरामी देख्नेबित्तिकै डा। अधिकारीको पहिलो प्रश्न हुने गर्दछ, स्वास्थ्यको। बिमारअनुसार उनले अवस्था सोध्ने र बुझ्ने गर्छन्। झण्डा हालिएको गाडीमा पछाडि भोट माग्ने अभियानमा आफ्नो क्षेत्रका धेरै मतदाता अधिकारीका नियमित बिरामी छन्। मतदाताले विकास निर्माणभन्दा स्वास्थ्यका कुरा धेरै सोध्ने गरेका छन्। अधिकारीसँगै प्रचारमा रहेका साजन अधिकारीका अनुसार पहिलो प्रश्न उपचारकै हुने गर्दछ। लामो समयदेखि डा।अधिकारीको परीक्षणमा औषधि खाइरहेकाहरूले जितेर आफूहरूलाई नजाँच्ने हो भने भोट नै हाल्दैनौँसमेत भन्ने गरेका छन्। डा। अधिकारीले भने, ‘मसँग धेरैले स्वास्थ्यको प्रश्न गर्छन्।’ हिँड्दै गर्दा आफ्ना बिरामी देखेपछि सोध्न मन लाग्ने भन्दै उनले फकाउनका लागि भन्दा पनि अरु बेलामा झैँ सोध्ने गरेको बताए। उनले भने ‘अरु बेलामा पनि म बिरामीलाई भेटेपछि स्वास्थ्य अवस्थाका बारेमा सोध्ने गर्छु।’ भरतपुर अस्पताल विकास समितिका अध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा उभिएका अधिकारी जिल्लाका चिनिएका फिजिसियन डाक्टर हुन्। दुई हजारभन्दा बढी आफ्ना नियमित बिरामी आफू चुनाव लड्दै गरेको क्षेत्रमा रहेको उनको भनाइ छ। प्रचारकै क्रममा कतिपय बिरामी प्रेस्क्रिप्सन बोकेर देखाउन आउने गर्दछन्। कतिपय जटिल बिरामीलाई डा. अधिकारीले गाडीबाट झरेर अवस्था बुझी आवश्यक सुझाव दिने गरेका छन्। औषधि सकिएकाहरूलाई थप गर्न र मङ्सिर १० गतेपछि अस्पताल आउन डाक्टरले सुझाव दिने गरेको सहयोगी साजनले बताए। कतिपयले आफू डाक्टरको उपचारले निको भएको भन्दै खुशी प्रकट गर्ने गरेको साजनको भनाइ छ। दश वर्षपछि राजनीति गर्ने तयारीमा रहेका अधिकारी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड गोरखामा निर्वाचनमा उम्मेदवार हुन गएपछि प्रचण्डको उत्तराधिकारीका रूपमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार छन्। रासस
माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता
काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)ले संयुक्त रुपमा निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनार्थ मंगलवार निर्वाचन आयोग पुगेर संयुक्तरुपमा दल दर्ता गरेका हुन् । दुबै पार्टीबीच आगामी निर्वाचनमा एकै चिन्हबाट चुनाव लड्ने सहमति भएको थियो । मंगलबार बिहान नेकपा (माओवादी केन्द्र)को केन्द्रिय पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिन्हमा चुनावमा प्रतिष्पर्धा गर्न दिने निर्णय गरेको थियो । नेसपा अध्यक्ष डा। भट्टराई र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आगामी संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर प्रतिष्पर्धामा जाने कुरालाई दुवै पार्टीले समर्थन गरेका थिए । दल दर्ताका लागि आज दिउँसो नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका कर्मचारीहरु निर्वाचन आयोगमा पुगेका थिए । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुने छन् । आगामी निर्वाचनका लागि काँग्रेस बाहेकका मुख्य दलले दल दर्ता गराइसकेका छन् । नेपाली कांग्रेसले पनि आज नै दल दर्ता गराउनेछ । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलवारसम्म दल दर्ता गर्ने समय दिएको थियो ।
माधव नेपाल पदमा पाे अध्यक्ष हुन, पार्टीमा याेगदान त मेराे पनि उत्तिकै छ- रामकुमारी झांक्री
काठमाडौं, पूर्व मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारि झांक्रीले पार्टीमा आफ्नाे अवमूल्यन गरिएकाे बताएकी छिन् । पार्टीले मन्त्रीबाट फिर्ता बाेलाएपछि असन्तुष्ट बनेकी झांक्रीले पार्टीविरुद्ध सार्वजनिक अभिव्यक्ति दिन थालेपछि उनकाे आलाेचनासमेत चुलिएकाे छ । मन्त्रीबाट फिर्ता भएपछि झांक्री र अध्यक्ष माधव नेपालबीच भेटघाट र बाेलचाल समेत भएकाे छैन । यहीबीचमा उनले अध्यक्ष नेपालले शिलान्यास गरेकाे एउटा कार्यक्रमकाे सार्वजनिक बिराेध गरेपछि उनी थप विवादमा परेकी छिन् । गत १६ साउनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट पुगेर टाउन हल, विवाहको भवन, सबगढा, टिकुलिया र सिर्सियामा निर्माण हुने सडक लगायत करिब ४२ करोडका आयोजना शिलान्यास गरेपछि झाँक्रीले आक्रोश पोखेकी थिइन । बिनाबजेट, बिनायोजनाका विकासको काम शिलान्यास गरेको भन्दै उनले अध्यक्ष नेपालको आलोचना गरेकी थिइन। याे विवाद चुलिएकै बेला झांक्रीले एउटा अनलाइनमा प्रतिक्रिया दिने क्रममा माधव नेपाल र आफ्नाे याेगदान उत्तिकै भएकाे टिप्पणी गरेकी छिन् । एमाले प्रवेश गर्ने हल्लाबारे साेधिएकाे प्रश्नमा उनले माधव नेपाल पदमा अध्यक्ष भएपनि पार्टी निर्माणमा आफ्नाे समेत उत्तिकै याेगदान भएकाे बताएकी छिन् । झांक्रीले भनेकी छिन: कोही मान्छेलाई एमालेमा गइहाल्ला, आइहाल्ला भन्ने परिरहेको छ। उहाँहरुले खोजिरहेको त्यही होला। मैले उहाँहरुले खोजेको जस्तो त गर्दिनँ। पार्टी त माधव कमरेडको जति योगदान छ, मैले पनि त्यति योगदान गरेको छु। पद पो उहाँ अध्यक्ष हुनुभयो। जोखिम त मैले पनि उहाँले जति नै बोकेर आएकी हुँ। हामी उहाँसँगै १४ जना कारबाही हुँदा मेरो पनि भएको हो। यो पार्टी दर्ता गर्न मुख्य भूमिका खेलेकी छु। निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने क्रममा पनि म र राजेन्द्र पाण्डेले भूमिका खेलेकै हौं। पार्टी निर्माणको मामलामा जिम्मेवारी तलमाथि भए पनि भूमिका सबैले गरेको छ। यो पार्टी बनाउनुपर्छ भन्ने सोचका साथ लागेकी छु। तलमाथि सोच्ने कुरा गलत हो।
गैरआवासीय नेपाली संघ र राष्ट्रिय प्रकृती संरक्षण कोषबीच भेटघाट कार्यक्रम
काठमाडौं। गैरआवासीय संघका अध्यक्ष डा.बद्रि केसि र राष्ट्रिय प्रकृती संरक्षणकोषका सदस्य सचिव शरद चन्द्र अधिकारी लगायतका प्रतिनिधिहरुबीच खुमलटारमा रहेको कोषको कार्यलयमा भएको थियो। कोषका सदस्य सचिवले स्वागत गर्दै कोषले स्थापनाकाल देखी गर्दै आएको गतिविधिहरुबारे जानकारी गराए । साथै कोषले गरेका क्रियाकलापहरुबारे प्रस्तुतीकरणा समेत गरिएको थियो । मुख्यतया प्रस्तुतीकरणमा कोषले झापा, चितवन, बर्दिया शुक्लाफाट लगायतका विभिन्न तराईका जिल्लाहरुमा समुदायमा आधारीत वन जन्तु संरक्षण, वातावरण संरक्षण लगायतका कार्यक्रमहरुको हाइलाईट गरिएको थियो । आजको भेटघाटको मुख्य उद्देश्य संरक्षणकोषले विविध क्षेत्रमा संचालन गरिरहेका कार्यक्रमहरु मध्ये कुन क्षेत्रमा सहकार्य गर्न सकिन्छ बारेमा केन्द्रित रहेको थियो । कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष डा.केसिले संघले स्थापनाकाल देखी नै संचालन गरेका गतिविधिहरुबारे अवगत गराए। उनले संघले हरेक २ वर्षमा नेपालमा विज्ञ सम्मेलनको आयोजना गर्दै आएको छ भने विश्वका विभिन्न क्षेत्रहरुमा क्षेत्रीय ज्ञान सिप सम्मेलनको पनि आयोजना हुदै आएको बारे जानकारी गराए। उनले विभिन्न मुलुकहरुमा गैरआवासीय नेपालीहरुले ज्ञान सीप तथा प्रविधिको क्षेत्रमा विद्वता हासिल गरेको समेत जानकारी गराए। अन्त्यमा उनले कोषले आज प्रस्तु गरेको क्षेत्रमा मार्फत सहकार्य गरी अघि बढ्नु पर्ने बताए। साथै उनले विदेशमा रहेका गैरआवासीय नेपालीका दोश्रो पुस्तालाई यहाँको वन्यजन्तु संरक्षणमा अध्ययन गर्न र विदेशमा रहेर यस विषयमा विज्ञता हासिल गरेका विज्ञहरुलाई समेत समेटर लान सुझाव दिए।
सबै पार्टी र नेताहरु उस्तै हुन भन्ने न्यारेटिभ बनाउँन खोज्नु गलत छ : प्रचण्ड (भिडियो सहित )
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै राजनीतिक दलका नेताहरु सबै पार्टी र नेताहरु उस्तै हुन भन्ने न्यारेटिभ बनाउँन खोज्नु गलत भएको बताएका छन्।परिर्वतन चाहाने र नचाहनेबीचको संर्घष भैरहने बताउँदै आफुहरु परिर्वतन र विज्ञानको पक्षधर रहेको बताए । अहिले पनि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता परिवर्तनका संवाहकहरुलाई मन नपराउने शक्ति समाजमा रहेको बताए । जनतालाई अधिकार दिन खोज्दा भाउतो ल्याएको भनेर केहि नेताले भनेको स्मरण समेत गरे । अध्यक्ष ओलीले आवश्यकता परेमा संघीयताबारे समेत पुनर्विचार गर्न सकिने धारणा राखेका थिए । त्यसको जवाफमा अध्यक्ष प्रचण्डले ओलीको उक्त धारणा अन्ततः निरंकुश राजतन्त्रमा फर्कन चाहना सोचबाट आएको बताएका हुन् । बिहीबार ललितपुरमा आयोजित विज्ञान प्रविधिसँग सम्बन्धीत एक कार्यक्रममा बोल्दै प्रचण्डले त्यस्तो शक्तिलाई परिवर्तनकारी शक्तिले परास्त गर्ने दावी गरे । उनले लेनिले सोभियत सत्ताकै विरोध किन गर्नुपर्यौ होला भन्ने कुरा निकै मार्मिक भएको बताए । उनले आफुलाई कहिलेकाही लेनिनले आफै लडेर ल्याएको व्यवस्थाको विरोध किन गरे भन्ने महशुस भएको बताए । उनले माओवादी केन्द्रको महाधिवेसनले विज्ञान र प्रविधि र वैज्ञानिक चेतनालाई आधार बनाएर बैज्ञानिक नीति तय गरेका बताए । विज्ञान र प्रविधिको दृष्टिकोणबाट हेर्दा स्वतन्त्र भन्ने कोही पनि नहुने टिप्पणी गरेका अध्यक्ष प्रचण्डले समाजमा एउटा शक्ति अघि जाने र अर्को शक्ति पछि फर्कने हुने विश्लेषण गरे । व्यक्ति भने पनि दलहरु भने पनि यीनै दुई प्रबृतिबाट निर्देशित हुने उनको भनाई थियो । समाजमा जबरजस्ती सबै नेता उस्तै हुन् भन्ने भाष्य बनाउन खोजिएकोमा असन्तुष्टि जनाउँदै उनले भने, ‘जो जनतालाई वास्तविक रुपमा मालिक बनाउनु पर्छ भन्ने एउटा विचार र कार्यशैली भएको नेतृत्व छ, अर्को भएका परिवर्तन उल्ट्याएर अहिले पनि राजतन्त्रको पक्षमा फर्काउन खोज्ने प्रबृति छ । जो तत्व जसले जनताको अधिकार खोस्ने कुरा गर्ने तत्व छ त्यसलाई परास्त गर्न विज्ञान प्रविधिको क्षेत्रमा काम गर्नेहरुले समेत मिलेर एउटा आन्दोलन सृष्टी गर्नु जरुरी छ ।’ अध्यक्ष प्रचण्डले स्वतन्त्र भन्ने कोहि नहुँने हुँदा अगाडि बढ्ने हो कि पछाडि जाने हो भन्ने छुट्टयाउनुपर्ने बताए । समाज परिर्वतनका लागि प्रगतिशिल बिचार राख्नेहरु एक हुनुपर्नेमा जोड दिए ।
राष्ट्रिय सभाबाट तीन विधेयक पारित
काठमाडौं । राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्यसम्बन्धी दुई वटा विधेयक र रेल्वे विधेयक २०७९ विधेयक पारित भएको हो । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेस गर्नुभएको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । त्यस्तै, मन्त्री खापुङले नै पेस गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । यसैगरी, बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गर्नुभएको रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । यसअघि, आजैको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत ९२५ औं संशोधन० विधेयक, २०७९ बहुमतले पारित गरेको थियो । राष्ट्रिय सभाको आगामी बैठक असार २० गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
एसपीपी अस्वीकार गरेको जानकारी गराउदै अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय
काठमाडौं । सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए । नेपाली सेनाले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपीपीमा सहभागी गराउन अनुरोध गरेको थियो । नेपाली सेनाको अनुरोध सन् २०१९ मा स्वीकार भएको काठमाडौंस्थित अमेरिकी दूतावासले उल्लेख गरेको थियो । तर उक्त कार्यक्रम अमेरिकाको सैन्य रणानीति अन्तर्गतको भएको हुनाले नेपाल सहभागी हुन नहुने आवाज उठेपछि सरकारले नेपाल सहभागी नहुने सार्वजनिक प्रतिवद्धता जनाएको थियो ।
कम्युनिष्ट पार्टी बीचको लडाइँमा कांग्रेस सहभागी हुनुहुँदैन : मिनेन्द्र रिजाल
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिष्ट पार्टी बीचको लडाइँमा कांग्रेस सहभागी बन्न नहुने बताएका छन् । बुधबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै नेता रिजालले नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन गरेर जान नहुने बताए । स्थानीय निर्वाचनमा राम्रो परिणाम आएको खण्डमा पुनः कम्युनिष्ट पाटीहरू एकजुट भएर आफ्नो सरकार बनाउने भन्दै उनले कांग्रेसले गठबन्धन नगरी स्थानीय निर्वाचनमा भाग लिएको खण्डमा देश दुर्घटनाबाट जोगिने जिकीर गरे । नेता रिजालले एक्लाएक्लै निर्वाचनमा जाँदा कांग्रेसलाई केही सिट कमी आए पनि देशको भलो हुने बताए । उनले स्थानीय निर्वाचनमा माओवादीले धेरै सिट ल्याएको खण्डमा नेकपा एमाले र नेकपा एमालेले धेरै सिट ल्याएको खण्डमा नेकपा माओवादी केन्द्र एक अर्कालाई प्रधानमन्त्रीको प्रस्ताव लिएर जानसक्ने आशंका व्यक्त गरे । नेता रिजालले नेपाली कांग्रेसले नेपालको राजनीतिमा एकातिर कम्युनिष्ट आन्दोलनको लडाइँ र अर्कोतिर कम्युनिष्ट बोकेर कहिलेसम्म हिंड्ने भन्दै प्रश्न समेत गरे ।
एमालेले अध्यक्षको रिपोर्टिङ – प्रदेशमा यसअघि जितेका १२ पालिका गुमाउदैछौं
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनमा गण्डकी प्रदेशमा १२ सिट संख्या गुम्न सक्ने बताएको छ । पार्टीको काठमाडौंमा जारी केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रदेश अध्यक्ष नवराज शर्माले रिपोर्टिङ गर्दै १२ स्थानीय तह गम्ने प्रक्षेपण गरेका छन्। ०७४ को निर्वाचनमा एमाले ३९ स्थानीय तहमा विजयी भएको थियो । अहिले २७ स्थानीय तह जित्ने अध्यक्ष शर्माले बैठकमा पेस गरेको रिपोर्टिङमा उल्लेख छ ।
फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले ३७औं जन्मदिन मनाउदै,यी हुन उनी बारे जान्नै पर्ने ४ तथ्य
काठमाण्डौं । पर्चुगलका कप्तान तथा म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोले आज आफ्नो जन्मदिन मनाउदै छन् । रोनाल्डले आज आफ्नो ३७औं जन्मदिन मनाउदै छन् । सन् १९८५ फेब्रुअरी ५का दिन रोनाल्डो पोर्चुगलको फञ्चल,म्याडेइराको एक बस्ती सान्तो आन्तोनियोमा माता मारिया डोलोरेस डस सान्तोस अभेइरो र पिता जोस डिनिस अभेइरोका कान्छा सन्तानको रूपमा भएको थियो । उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्बाधिक गोलकर्ता हुन भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्बाधिक गोल गरेको किर्तीमान पनि उनकै नाममा छ । उनी चारपटक युरोपेली गोल्डेन जुत्ता जित्ने पहिलो खेलाडी हुन् । सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ८०० भन्दा बढी गोल गरिसकेका छन् । यी हुन उनी क्रिस्टियानो रोनाल्डो बारे ४ तथ्य अमेरिकी राष्ट्रपतिको नामबाट क्रिस्टियानो रोनाल्डोको खास नाम डोस सान्तोस एभिरो हो तर पछि रोनाल्डोको नाम ४० औं अमेरिकी राष्ट्रपति पोटस रोनाल्डो रेगनबाट प्रेरित भएर राखिएको थियो । उक्त निर्णयलाई रोनाल्डोका बुबा जोस डिनिसले प्रशंसा गरेका थिए। मनपर्ने खाना रोनाल्डोलाई पोर्चुगाली डिश खान मनपर्छ जुन नुनिलो प्याज, भुटेको आलुको टुक्रा र अण्डाले छोपिएको हुन्छ। आफ्नो क्यारियरमा ३४ प्रमुख ट्रफीहरूजितेः पोर्चुगल स्टार रोनाल्डोले आफ्नो करियरमा कुल ३४ ट्राफीहरू जितेका छन् जसमध्ये ३२ फुटबल क्लबबाट र दुई पोर्चुगल राष्ट्रिय टोलीबाट जितेका हुन् । सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता सन् २०२१ मा क्रिस्टियानो रोनाल्डोले पूर्व इरानी अलि डेईलाई पछि पार्दै अन्तर्राष्ट्रिय फुटबलको सर्वाधिक गोलकर्ता बनेका छन्। उनको नाममा हालसम्म ११५ गोलको किर्तिमानि छ। पाँच बालोन डीओर र तीन विश्व प्लेयर अफ द इयर अवार्डबाट विभुषित क्रिस्टियानो रोनाल्डोले तीनवटा फिफा वर्ल्ड प्लेयर अफ द इयर अवार्ड (२ उत्कृष्ट फिफा अवार्ड) जितेका छन्। उनि जिनेदिन र ब्राजिलका तर्फबाट संयुक्त अवार्ड सहित सर्वाधिक पटक अवार्ड जित्ने खेलाडि हुन् । उनले पाँचवटा बालोन डी’ओर अवार्ड पनि जितिसकेका छन् ।
स्कूल नखोल्न काठमाडौं जिल्ला प्रशासनको आदेश, सभा-जुलुस र भाेजभतेरमा पनि रोक
काठमाडौं । कोरोना महामारी नियन्त्रणमा नआएको भन्दै काठमाडौं जिल्ला प्रशासनले तत्कालका लागि विद्यालय नखोल्न निर्देशन जारी गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने बताएको हो । यसअघि महानगरपालिकाले आवश्यक ठानेमा विद्यालय सञ्चालन गर्ने बताएपनि कोरोनाको त्रास कायमै रहेकोले संक्रमणको विश्लेषण गरेर मात्रै स्कूल खोल्न पाइने भएको हो । पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्नुपर्नेछ । यति मात्र होइन, शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने बताएको छ । आज जारी आदेशमा सभा, जुलुस, जात्रा, महोत्सव, भोज भतेर गर्न पनि प्रशासनले रोक लगाएको छ भने चाडपर्वहरू सांकेतिक रुपमा मात्रै मनाउन भनिएको छ । यस्तै स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने पनि प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ । यसबाहेक निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ ।