साझा धारणा बनाउन माओवादी, कांग्रेस र मोर्चाबीच छलफल हुँदै

काठमाडौं, १२ पुस । एमालेले जारी राखेको संसद अवरोधको निकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सक्रियता देखाएका छन् । प्रधानमन्त्रीले अवरुद्ध संसद खुलाउनको लागि वैकल्पिक उपाय खोज्न मधेसी मोर्चा र कांग्रेसको बैठक बोलाएका हुन् ।

सोमबार सभामुख ओनसरी घर्तीले बोलाएको ७ दलको सर्वदलीय बैठकमा एमालेले संसदमा दर्ता भएको संशोधन विधेयक फिर्ता लिनुपर्ने अडान राखेपछि प्रधानमन्त्री प्रचण्डले नयाँ रणनीति बनाउन कांग्रेस र मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

दिउँसो ३ बजे बोलाएको बैठकमा संसद खुलाउने बारेमा छलफल हुने स्रोतले जानकारी दिएको छ । एमाले जारी राखेको गतिरोध अन्त्य नगरे नयाँ रणनीति बनाएर अघि बढ्न कांग्रेस र मधेसी मोर्चाको एउटै धारणा बनाउन बैठक बस्न लागेको स्रोतले जानकारी दियो ।

एमालेले एक महिनादेखि लगातार संसद अवरुद्ध पार्दा निर्वाचनसँग सम्बन्धित कानुनहरु संशोधन गर्न, अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव संसदमा अगाडि बढाउन समस्या भएकोले राजनीतिक निकासका लागि प्रधानमन्त्रीले सत्ता साझेदार कांग्रेस र संशोधनको पषमा रहेको मोर्चासँगको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीलाई स्थानीय निकाय पुनर्संरचना आयोगले स्थानीय तह पुनर्संरचना प्रतिवेदन बुझाउने तयारी गरेको छ, आयोगको उक्त प्रतिवेदनबारे पनि कांग्रेस र मोर्चाका नेताहरुसँग प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् । कांग्रेसले स्थानीय तहको चुनावको मिति घोषणा गरेर अघि बढ्नुपर्ने बताइरहेका बेला प्रधानमन्त्रीले मधेसी मोर्चाका नेताहरु धारणा बुझ्न पनि सयुक्त बैठक बोलाएका हुन् । आजको छलफलपछि नयाँ शीराबाट अघि बढ्न कांग्रेस मोर्चा र माओवादी केन्द्रबीचमा सहमति बनाउने स्रोतले बतायो ।

दुर्गम क्षेत्रमा विद्यालय भवन बनेपछि स्थानीयमा उत्साह

पाल्पा, मंसिर २५ । जिल्लाको पूर्वी भेगमा पर्ने सहलकोट–२ मा नयाँ विद्यालय निर्माण भएपछि स्थानीय खुसी भएका छन् । विकट र दुर्गममा सञ्चालन हुँदै आएको पुरानथर प्राथमिक विद्यालयको भौतिक संरचना जीर्ण बन्दै जाँदा पठनपाठनमा निकै समस्या झेल्दै आएका यहाँका शिक्षक र विद्यार्थीले सहजरुपमा पठनपाठन हुने भएपछि यस क्षेत्रका स्थानीयवासिन्दा उत्साहित भएका छन् । विद्यालयको भवन जीर्ण भएका कारण न्यून मात्रामा विद्यार्थी सङ्ख्या रहेकोमा अब नयाँ भवन निर्माणसँगै विद्यार्थी अनुपात पनि बढ्ने विद्यालयले जनाएको छ । दुर्गमका बालबालिकालाई गाउँमै सहज वातावरणमा पठनपाठन गरुन् भन्ने उद्देश्यले विद्यालय तथा यहाँका स्थानीयवासीले जापानीज नागरिक, सहलकोट गाविस कार्यालयसँग आर्थिक रकम सहयोग गर्न पहल गरेपछि सो भवन निर्माण गरिएको हो । जापानीज नागरिक तनाका साचिकोको र नाकानो मियोकीबाट रु चार÷चार लाख, सहलकोट गाविस कार्यालयबाट रु दुई लाख १३ हजार ६१५, विद्यालय कोषबाट रु एक लाख ५९ हजार १६२, स्थानीयको जनश्रम दानबाट रु तीन लाख २० हजार २६६ गरी जम्मा रु १४ लाख ९३ हजार ४३ को लागतमा ३/३ कोठाको दुई वटा भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नैनसिं सारुले बताए । विद्यालयमा हाल सहकोट गाविस १ र २ का ५३ जना विद्यार्थी अध्ययनरत छन् ।

बढ्दो चिसोका कारण विद्यालय बन्द

पर्सा, मंसिर २५ । पर्सा जिल्लामा अत्याधिक चिसो बढ्दै गएपछि त्यहाँका जनजीवन प्रभावित हुन थालेका छन् । यसरी चिसो बढ्दै गएपछि त्यहाँका धेरैजसो विद्यालयहरु आजदेखि बन्द भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको अध्यक्षतामा दैवी प्रकोप व्यवस्थापन समितिको बैठकले एक साताका लागि जिल्लाका सबै विद्यालय बन्द गर्न निर्णय गरेको हो । लगातार छ दिनदेखिको शीतलहर र त्यसबाट बढ्दै गएको चिसोबाट बालबालिका बिरामी हुन थालेपछि एक साताका लागि जिल्लाका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रजिअ घिमिरेले जानकारी दिए । बढ्दै गएको चिसोका कारण सर्वसाधारणको दैनिकी समेत प्रभावित भएकाले सर्वसाधारणलाई राहत दिन उपमहानगरपालिका, नगरपालिका तथा गाविसमा आगो ताप्न काठको प्रबन्ध मिलाउन सम्बन्धित कार्यालयलाई निर्देशन गरिएको प्रजिअ घिमिरेले बताएका छन् । बैठकले जिल्लामा रहेको अस्पताल तथा स्वास्थ्य चौकीलाई बढ्दो शीतलहरबाट प्रभावित भई बिरामी हुने जिल्लावासीको औषधि उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालयलाई समेत निर्देशन गरिएको छ । लगातार छ दिनदेखि लागेको कुहिरो र लगातार चल्ने बतासका कारण तापक्रम झदै गएपछि बारा पर्साको जनजीवननै प्रभावित भएको छ । बढ्दो चिसोका कारण कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वासप्रस्वासका बिरामीको सङ्ख्या बढेको छ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा खासगरी जिल्लाको ग्रामीण भेगबाट बालबालिका तथा वृद्धवृद्धा बढी बिरामी भई अस्पताल भर्ना भएको चिकित्सकले जनाएका छन् ।

छिट्टै चुनावको मिति घोषणा हुन्छ, ‘प्रधानमन्त्री’

सुर्खेत, मंसीर २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निर्वाचनको मिति घोषणाको अन्तिम तयारीमा रहेको बताएका छन् । शुक्रबार बिहान सुर्खेतको बिरेन्द्रनगरमा पार्टीनिकट अगुवा कार्यकर्ताहरुसँगको भेटमा प्रचण्डले सो कुरा बताएका हुन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले जनयुद्ध, जनआन्दोलन लगायतका बलिदानीपूर्ण संघर्षका उपलब्धी संस्थागत गर्न संविधानको कार्यान्वयन अपरिहार्य भएको भन्दै निर्वाचनबाट संविधान कार्यान्वयन हुने बताए । संविधान संशोधन प्रस्तावबारे प्रचण्डले भने, ‘संशोधन प्रस्तावको सीमाङ्कन हेरफेरको विषयलाई लिएर जुन आन्दोलन भइरहेको छ, यसका पछाडि ठूलो षड्यन्त्र छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता लगायत जे–जति उपलब्धीहरु माओवादीको पहलमा भयो, ति सबैलाई उल्ट्याउने षडयन्त्रबाट आन्दोलन प्रेरित त छैन भन्ने प्रश्न उठेको छ ।’ उनले थपे, ‘जसलाई संघीयता मन परेको छैन, गणतन्त्र मन परेको छैन, समावेशी समानुपातिकता पनि मन परेको छैन तिनिहरुले नै यी सब बखेडा झिकिरहेका छन् ।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्धका गतिविधि निस्तेज पार्न पहलकदमी लिन कार्यकर्तालाई अपिल गरे । हालसम्मका सबै उपलब्धी माओवादी जनयुद्धको जगबाट प्राप्त भएकाले माओवादी पार्टी सबैभन्दा लोकप्रिय बन्ने सम्भावना रहेको भन्दै कार्यकर्ताहरुलाई निरास नहुन र नयाँ जोश, जाँगर र उत्साहका साथ चुनावको तयारीमा जुट्न आग्रह गरे । उनले भने, ‘हामी बलियो भएनौं भने सबै उपलब्धी उल्टिने खतरा छ । हामी बलियो भयौं, सक्रियतापूर्वक लाग्यौं, जनतालाई एकतावद्ध बनायौं भने मात्रै हामीले राष्ट्रलाई एकताबद्ध पार्न सक्छौं ।’ प्रचण्डले माओवादी पार्टीलाई एकताबद्ध पार्न आफू क्रियाशील रहेको बताउँदै मोहन वैद्य, बाबुराम, विप्लवहरुसँग पनि पार्टी एकता हुने विश्वास व्यक्त गरेका छन् ।

कर्णालीका लागि प्रधानमन्त्रीका यी १० घोषणा

सुर्खेत, म‌ंसिर २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुर्खेत जिल्ला लगायत समग्र कर्णाली क्षेत्रको आर्थिक उन्नति र विकासका लागि बिभिन्न बुँदामा कार्ययोजना बनाएक छन् । बिहिबार कर्णाली एक्सपो २०७३ अन्तराष्ट्रिय मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक बर्षको वजेट मार्फत  कर्णालीका जनताको बिकाशको लागि बिभिन्न कार्यक्रम व्यवस्था गर्ने बताएका हुन् । उनले बताएका १० कार्यक्रम यस्ता छन् । १.हुम्लाको सदरमुकाम सिमिकोटलाई उत्तरी नाका हिल्सासंग जोडने सडक निर्माण सम्पन्न गर्न नेपाली सेनाद्धारा निर्माणाधिन खुलालुलैफु कालीकोटवाट सिमीकोटसम्मको सडकका लागि बजेट व्यवस्था भई सकेको छ । डोल्पा सदरमुकामलाई एकवर्ष भित्र र हुम्ला सदरमुकामलाई दुई बर्ष भित्र सडक सन्जालमा जोडिने कार्यक्रम रहेको छ । २.कर्णाली लगायतका विभिन्न भौगालिक क्षेत्रमा जैविक विविधताको संरक्षण, राराताल क्षेत्रमा पर्यापर्यटन विकास तथा जडीबुटी प्रशोधन र व्यवसायिक उत्पादन बृद्धिका लागि ज्ञान शीप प्रविधी र अनुदान उपलव्ध गराइनेछ । सार्वजनिक निजी साझेदारीमा सुर्खेतमा जडीबुटी र जुम्लामा स्याउ प्रशोधन केन्द्र स्थापना गरिनेछ । ३.कर्णाली लगायतका हिमाली र उचच पहाडी क्षेत्रमा आवासीय विद्यालय विस्तार गरिने नीति रहेको छ । यसको कार्यान्वयनका लागि पहल गर्नु हुनेछ । ४.अछाम, कालीकोट, मुगु, डोल्पा, जाजरकोट, दैलेख, क्षेत्रलाई समेटेर पर्यटनको एकिकृत विकासका लागि कुसेमुसे चाखुरे पर्यटन एकिकृत विकास कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेको छ। यसमा समवद्ध सवैले पहल गर्नका लागि आग्रह गर्दछु । मैले याहा उल्लेख गरेका वाहेक पनि धेरै कार्यक्रमहरु बजेट तथा कार्यक्रममा परेका छन । सरकारी निकाय र तपाई निजी क्षेत्रका संघ संस्थाहरुले पहल गरी कार्यान्वयनमा ल्याउन आग्रह गर्दछु । अन्य तपाईहरुले सुझाव गरेका र माग राखेका तपसिलका कार्यक्रमहरुलाई तपसिल बमोजिम सम्वोधन गर्न चाहान्छु ।   १) कर्णाली क्षेत्रको प्रवेश विन्दुको रुपमा रहेका सुर्खेतमा आवश्यक भौतिक पूर्वाधार निर्माणमा बिशेष योजना तथा कार्यक्रम मार्फत सम्वोधन गरिनेछ । साथै प्रदेश नं. ६ को लगानीका सम्भावनाहरुलाई मध्यनजर गरी विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्ने तथा औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक प्रकया आरम्भ गरिनेछ । यस क्षेत्रमा संभाव्यताका आधारमा सिमेन्ट कारखाना लगायतका कारखाना स्थापना गर्न प्रोत्साहन गरिनेछ । २) सुर्खेत—नेपालगञ्ज रत्न राजमार्गलाई दुई लेन बनाउने सम्वन्धमा र सुर्खेत —सल्यान—दांग सडकको स्तरोन्नति गरी डबल लेन बनाउन आवश्यक प्रक्रिया शुरु गरिनेछ । त्यस्तै गरी सुर्खेत दैलेख हुँदै महाबु कालिकोट जुम्ला डबल लेन सडक निर्माण कार्यको आवश्यक प्रकृया थालनी गरिनेछ । ३) सुर्खेत लगानी वर्ष २०७३ द्धारा प्रस्ताव गरिएका ठूला लगानीका क्षेत्रहरुमा राष्टिय तथा अन्तर्राष्टिय लगानी भित्र्याउनका लागि नेपाल सरकारका तर्फबाट ठोस पहल गरिनेछ । ४) सुर्खेतको विद्युत प्रशारणलाई १३२ केभीए विद्युत प्रशारण लाईनमा अविलम्ब जोडने माग सम्वोधन गर्न आवश्यक प्रकृया थालनी गरिनेछ । ५) विभिन्न कारणले रोकिएका चौकुने सिमेन्ट कारखाना तत्काल संचालनमा ल्याउन पहल गरिनेछ । माथिल्लो कर्णाली जलविद्युत आयोजना संचालनमा प्रकृयामा रहेको छ । नलसिड.गाड जलविद्युत सञ्चालनका ल्याइनेछ । सरकारका तर्फबाट सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमानस्थलको विस्तृत संभाव्यता अध्ययन गरि आगामी नीति तथा कार्यक्रमहरुमा समावेश गरिनेछ । ६) विगतमा अन्वेषण प्रारम्भ गरिएको दैलेखको पञ्चकोशीमा पेटोल पदार्थ उत्खनन् प्रक्रिया अविलम्ब अगाडि बढाइने । ७) मुगुको रारा ताल, डोल्पाको शे फोसुण्डो, दैलेखको पञ्चकोशी, जुम्लाको चन्दननाथलगायत यस क्षेत्रमा पर्यटन लगानी आकर्षण गर्नका लागि आवश्यक नीति बनाई कार्यान्वयनमा ल्याइने छ । ८) चीनसंग जोडिएका कर्णालीका मुगुको गमगढी– नाक्चेनाङ्ला, हुम्ला सिमिकोट–लिमी–लाप्चा, हुम्ला सिमिकोट–हिल्सा र डोल्पा दुनै– धो–मुरिम्ला नाकाखोल्न पहल गरिने छ । ९) हाल सुर्खेतमा निर्माणाधीन जडीबुटी संकलन तथा व्यवसाय केन्द्र संगै जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि आवश्यक सहयोग उपलव्ध गराइने छ । जाजरकोट र कालिकोटमा प्रशस्त पाइने बहुमूल्य रत्नपत्थर उद्योग स्थापनाका संभाव्यता अध्ययन गरी सो को आधारमा आवश्यक व्यवस्था मिलाईने छ । १०) एक प्रदेश एक मेडिकल कलेजको अवधारणा अनुरुप यस आर्थिक बर्षमा सुर्खेतमा प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गरिनेछ, सबै प्रदेशमा पोलिटेक्निकल इन्ष्टिच्यूट स्थापना गरिनेछ ।

कार्यकर्तालाई प्रधानमन्त्री प्रचण्डको यस्तो निर्देशन

धनगढी, मंसिर २३ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । कैलालीको गेटामा आयोजित पार्टीको प्रदेशस्तरीय अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय निकायको निर्वाचन नयाँ संरचनाअनुसार गरिने बताए । त्यसका लागि आफ्ना कार्यकर्ताहरुलाई तयारी रहन उनले निर्देशन दिए । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पनि चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै नयाँ बन्ने संरचनाअनुसार चुनाव गर्ने सवालमा सहमति हुन नसकेमा पुरानै संरचनाको स्थानीय निकायको चुनाव गर्न पनि तयार हुनुपर्नेमा प्रचण्डले जोड दिए । उनले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता नहुने समेत दावी गरे । प्रशिक्षणमा ७ नं प्रदेशका नेकपा (माओवादी केन्द्र)का नेता कार्यकर्ताको सहभागिता थियो ।

माइतीघर–त्रिपुरेश्वर फ्लाइओभर बन्ने

तिलोत्तमा (रुपन्देही),  मङ्सिर २२। राजधानीको व्यस्त माइतीघर मण्डलादेखि त्रिपुरेश्वर चोक जोड्न ‘फ्लाइओभर’ निर्माण हुने भएको छ । एक किलोमिटर ‘फ्लाइओभर’ निर्माणका लागि सडक विभाग र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) बीच सहमति भएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। सडक विभाग वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले ‘फ्लाइओभर’को निर्माण सन् २०१७ बाटै सुरु हुने जानकारी दिए । जापान सरकारको अनुदानमा ‘फ्लाइओभर’ बन्न लागेको हो । ‘जापान सरकार माइतीघर मण्डलादेखि त्रिपुरेश्वर चोकसम्मको ‘फ्लाइओभर’ निर्माण गर्न सहमत भएको छ, यसका लागि जाइकासँग सहमति भएको छ,’ उपमहानिर्देशक श्रेष्ठले भने, ‘उनीहरूले ‘फ्लाइओभर’को प्रि–फिजिबिलिटी अध्ययन सकेर रिपोर्ट बुझाइसकेका छन् । सबै काम योजनाअनुसार अघि बढे ‘फ्लाइओभर’ निर्माण २०१७ बाटै सुरु हुनेछ ।’ अहिलेकै अनुपातमा सवारीसाधन बढ्ने, तर राजधानीको सडक आधुनिकीकरण नगर्ने हो भने सन् २०३० सम्ममा उपत्यकाका सडकमा सवारीसाधन गुड्ने ठाउँ अभाव हुनेछ । उपमहानिर्देशक श्रेष्ठका अनुसार थापाथली, माइतीघर मण्डला र त्रिपुरेश्वरका सडकले अबको १० वर्षपछि प्रतिघन्टा पाँच हजार यात्रुलाई सेवा दिनुपर्ने हुन्छ । अहिले सडक विस्तार नहुने हो भने १० वर्षपछि थापाथली, माइतीघर मण्डला र त्रिपुरेश्वरका सडक ‘मृत्यु’को अवस्थामा पुग्ने उनको दाबी छ । सोही कारण फ्लाइओभरको आवश्यकता देखिएको उनले बताए । ‘अबको १०–१२ वर्षमा पनि थापाथली, माइतीघर मण्डला र त्रिपुरेश्वरको सडक विस्तार नहुने हो भने राजधानीवासीले भयावह ट्राफिक समस्या भोग्नुपर्ने अवस्था आउँछ । सोही विषयलाई मध्यनजर गर्दै फ्लाइओभरको धारणा ल्याइएको हो,’ महाशाखाका उपमहानिर्देशक श्रेष्ठले भने

बुटवल बन्द फिर्ता

तिलोत्तमा (रुपन्देही),  मङ्सिर २२। पाँच नम्बर प्रदेशका केही जिल्ला हेरफेर हुने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको भन्दै एक हप्तादेखि बुटवलमा जारी बन्द आज साँझदेखि फिर्ता भएको छ । नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले आन्दोलनको स्वरुप परिवर्तन भएको भन्दै बन्दका कार्यक्रम फिर्ता लिइएको बताए । उनले संशोधन प्रस्ताव छलफल नहुँदासम्म बन्दका कार्यक्रम फिर्ता लिइएको बताए । एक हप्तादेखि बुटवलमा बन्द, हड्ताल हुँदा उद्योगी, व्यापारी, विद्यार्थीलगायत सर्वसाधारण मर्कामा परेका थिए । कपिलवस्तुः– संशोधन प्रस्तावको विरुद्धमा आन्दोलनमा उत्रिएको नेकपा (एमाले)लगायत राजनीतिक दलले आह्वान गरेको आनिश्चितकालीन कपिलवस्तु बन्द फिर्ता लिइएको छ । आज जिल्लाको वाणगङ्गामा बसेको सङ्घर्ष समितिको बैठकले बन्द हड्तालाई छाडेर आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ । आन्दोलनको स्वरुप मात्रै परिवर्तन भएको तर आन्दोलन भने नरोकिएको एमालेका जिल्ला अध्यक्ष एवम् सङ्घर्ष समितिका संयोजक झविलाल पोख्रेलले बताए। रासस

संविधान संसोधन विधेयकबारे यसो भन्छन डा. शंशाङ्क

चितवन, मङ्सिर २१ । नेपाली कांँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयनमा आफ्नो पार्टीले ध्यान दिनुपर्ने बताएका छन् । मंगलबार भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले पाँच नम्बर प्रदेशबाट जिल्ला टुक्राउने विषयमा पार्टीमा छलफल र निर्णय नभएको बताए । सरकारले संसदमा दर्ता गरेको संविधान संसोधन विधेयकका बारेमा अनावश्यक भ्रम पैदा भएको विषयलाई प्रष्ट पार्ने जिम्म्ेवारी पार्टीको भएको उनको भनाइ थियो । जनस्तरमा भ्रम दिने विषयमा कांग्रसले पार्टीभित्र बृहत् छलफल गरी बैठकबाट आधिकारिक धारणा निकाल्नुपर्ने उनको भनाइ थियो । “अहिलेको मुख्य चुनौती संविधान कार्यान्वयन नै हो ” उहाँले भने । ५ नं प्रदेशलाई पहाड र तराईमा छुट्याउन विषयमा भ्रम परेको उनले बताए । “जनभावना विपरीत सीमाङ्कन परिवर्तन हुन सक्दैन” उनले भने– “पहाड र तराई छुट्याउन हुन्छ वा हुँदैन भन्ने विषयमा आवश्यक गृहकार्य नगरी सरकारले प्रस्ताव दर्ता गरेकाले अहिले समस्या उत्पन्न भएको हो, प्रस्ताव दर्ता गर्नुअघि बृहत् छलफल गर्नुपथ्र्यो, त्यो हुन सकेन ।” महामन्त्री कोइरालाले ठूला तीन दल, राप्रपासहित मधेसकेन्द्रित दलबीचमा सहमति हुन नसके संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने सुझाव दिए । भारतका मणिपुर, नागाल्यान्डलगायत प्रदेशमा रहेका आदिवासीलाई सरकारले छुट्टै रुपमा बजेट दिएर जीवनस्तर उकासिरहेको जानकारी दिँदै उनले नेपालमा पनि पिछडिएका जातिलाई प्रदेशभित्रै छुट्टै बजेटको व्यवस्था गर्न सकिने बताए । ठूलो दलको हिसाबले अहिलेको जिम्मेवारी काँग्रेसको भएकाले सबै दललाई मिलाएर लैजानुपर्ने उनको भनाइ थियो । “सबै पार्टी मिलेर निकास खोज्नुपर्छ, त्यसको नेतृत्व काँग्रेसले गर्नुपर्छ,” कोइरालाले भने । रासस

कर्मचारीहरुद्वारा तलब कटाएर दलित अपाङ्गलाई राहत

जाजरकोट, मंसिर १५। यहाँको पहाडी क्षेत्र विकास अभियानको पहल कार्यक्रममा काम गर्ने कर्मचारीले आफ्नो तलब कटाएर दलित अपाङ्गलाई सहयोग गरेका छन् । जिल्लाको अति विकट नायक वडा– ३ गाविसका अति गरिब परिवारका विद्यार्थी २६ वर्षीय मोहनीलाल कामीलाई रु ५८ हजार ५०० सहयोग गरिएको पहल कार्यक्रमका संयोजक महेन्द्र विक्रम शाहीले जानकारी दिएको छ। पहल कार्यक्रममा काम गर्ने १७ जना कर्मचारीको आफ्नो तलबबाट कटाएर अपाङ्ग भएका विद्यार्थी मोहनीलाललाई सो रकम शनिबार हस्तान्तरण गरिएको हो । मोहनीलालले रकमकै अभावमा भेरी ज्ञानोदय क्याम्पसमा परीक्षाको रकम तिर्न नसक्दा बिएड प्रथम वर्षमै रहन बाध्य भएका थिए । रकम भएको भए उनले अहिले बिएड तेस्रो वर्षमा अध्ययन गर्दै रहेका थिए। मासिक फिस, परीक्षा शुल्क तिर्न नसक्दा बिएड प्रथम वर्षमै रहन बाध्य भएको मोहनीलालको भनाइ छ । मोहनीलाल आफू त अपाङ्ग हुनुहुन्छ नै ,उनका भाइ सुरेन्द्र कामी र बहिनी विजश्वरी कामी समेत अपाङ्ग भएका कारण आमाबुवाले उचित हेरचाह गर्न नसकेको मोहनीलालको भनाइ छ। अरु अपाङ्ग भएका भाइबहिनी विद्यालयको मुखै देख्न पाएका छैन्न मोहनीलालले भनेका छन् । “दैनिक अर्काको मजदुरी गरेर गुजरा चलाउने यो कामी परिवार छोराछोरी सबै अपाङ्ग भएपछि निकै चिन्तित भएको मोहनीलालका बुबा सुरेन्द्र कामीले बताएको छ ।” सबै जन्मजात अपाङ्ग भएको उनको भनाइ छ । ‘काम गरेर खाने हामी गरिब त्यसमा पनि समुदायमा कसरी अपाङ्ग छोराछोरीलाई हुर्काउने हामी दुखीलाई कसले हेर्छ’ र मोहनीलालकी आमा पम्फा कामीले दुखेसो पोखेका छन् ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

काठमाडौं । नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २२४ रन बनायो । क्यानडाले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६२ रन जोडे । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए । आसिफ ८ रनमा आउट भए । राम्रो सुरुवात भएको नेपालको मध्य क्रमको ब्याटिङ राम्रो हुन सकेन । आरिफ शेख ३८, सोमपाल कामी २७, पवन सर्राफ १६, कप्तान रोहित पौडेल ८, भीम सार्की १७, कुशल मल्ल २०, रिजन ढकाल ४ र ललित राजवंशी १ रन बनायो रनमा आउट । सूर्य ढकाल १० रनमा अविजित रहे । बलिङतर्फ क्यानडाका उदय भगवानले ३, साद बिन जफर २, शहिद अहम्दजाइ, इश्वरजित सोही र हर्ष ठाकुरले १(१ विकेट लिएका छन् ।

नागढुङ्गा सुरुङ फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी

काठमाडौं। नागढुङ्गामा निर्माणाधीन सुरु सुरुङ मार्गको टनेल ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको छ। आगामी फागुन २३ गते ‘ब्रेक थ्रु’ गर्नेगरी आयोजनाले काम गरिरहेको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका अनुसार ‘ब्रेक थ्रु’ हुनका लागि अब मात्र ३२ मिटर बाँकी रहेको छ। फागुन २३ गते ‘ब्रे थ्रु’ हुने भएपनि सुरुङ्गमार्गमा गाडी कुदाउन भने अझै एक वर्ष कुर्नुपर्ने आयोजनाले जनाएको छ। सुरक्षात्मक संरचना, बत्ती जडान,फिनिसिङ् लगायतका कामहरु बाँकी नै रहेकाले गाडी कुदाउन भने ‘ब्रेक थ्रु’ भइसकेपछि एक वर्ष कुर्नुपर्ने भएको हो। सुरुङ्ग दुई हजार ६८८ मिटर लामो रहेको छ । यो सुरुङमार्ग ‘ब्रेक थ्रू’ सँगै नेपाल आधुनिक सुरुङ मार्गमा पहिलो पटक प्रवेश गर्नेछ।

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १९ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी २ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ १० पैसा र बिक्री दर १४३ रुपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३१ पैसा र बिक्री दर १६८ रुपैयाँ ०७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

राज्यको नीति र संविधान विपरीत जागिर खान गलत बाटो नजाऔँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । युक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरू राज्यको नीति र संविधान विपरीत कार्य गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । शिखर सम्मेलन सम्पन्न गरी उनी स्वदेश फिर्तीको क्रममा आइतबार विहान त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले जागिर खाने नाममा गैह्र जिम्मेवार भएर युवाहरूले जुनसुकै देशको सेनामा ज्यान फालेर भर्ती हुनु नहुने र अबका दिनमा युवाहरू स्वयं जिम्मेवार बन्न आग्रह समेत गरे । युक्रेन र रुसको सेनामा भर्ती भई ज्यान गुमाएकाहरूका विषयमा सरकारले असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा गम्भीरताका साथ चासो चासो दिएको उनले बताए । मृतक परिवारलाई क्षतिपूर्ति राहत र शव फिर्ता ल्याउने सम्बन्धमा समेत रुसका उपविदेश मन्त्री स्तरमै छलफल भएको उनले बताए । परराष्ट्रबाट कूटनीतिक पहल भएको तर परिणाम आएन भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले ती देशहरूले गम्भीर भएर लिए पनि द्वन्द्वमा भएकाले समय दिन नसकेको हुनसक्ने बताए ।

ट्रंक र डेडिकेटेड लाइनको विद्युत महशुल उठाउनुको विकल्प छैन : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत प्राधिकरणसँग ट्रङ्क र डेडिकेटेड लाइनको विद्युत महसुल उठाउनुको विकल्प नभएको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको मङ्गलबार बसेको बैठकमा बोल्दै ऊर्जामन्त्री बस्नेतले यस्तो बताए । उनले उद्योगहरूले प्रयोग गरेको ट्रङ्क र डेडिकेटेड लाइनको विद्युत महसुल प्राधिकरणको तीन वटा बोर्ड र लेखा समितिको निर्देशन समेत भएकाले विद्युत उठाउनुको विकल्प नभएको बताए । उनले विद्युत प्राधिकरण र उद्योगहरू बिचमा महसुलको विवाद समाधानको लागि विद्युत नियमन आयोगले दिएको निर्देशनलाई महान्यायाधिवक्ता कार्यालयको व्याख्याअनुसार अगाडि बढ्ने गरी काम भइरहेको समेत जानकारी दिए । मन्त्री बस्नेतले लेखा समितिले प्राधिकरणको व्यवस्थापकमाथि दबाब दिँदै बक्यौताको महसुल उठाउन निर्देशन दिएको स्थिति समेत रहेको बताए । उनले प्राधिकरणले उठाउन बाँकी रहेको बक्यौता रकमलाई तीन खण्डमा विभाजन गर्दा ६ अर्ब तत्काल उठाउन पर्ने देखिएको दाबी गरे । उनले प्राधिकरणले ६१ उद्योगहरूबाट २२ अर्ब २४ करोड उठाउन बाँकी रकममध्ये १५ अर्ब बक्यौता बापतको रकम रहेको र थप रकम ब्याज र जरिवानाबापतको भएको उल्लेख गरे । मन्त्री बस्नेतले ट्रङ्क र डेडिकेटेड लाइनको विवादलाई तीन खण्डमा विभाजन गर्दा ६ अर्ब तत्काल उठाउनुपर्ने देखिएको भन्दै बाँकी पहिलो र तेस्रो खण्डको बक्यौताको विषयमा विद्युत नियमन आयोगले निर्णय गर्न आवश्यक रहेको बताए। उनले २०७२ साल माघ १ गतेदेखि २०७५ साल वैशाख मसान्त लोडसेडिङ रहेको र विद्युत महसुल निर्धारण आयोगले ट्रङ्क र डेडिकेटेड लाइन महसुल निर्धारण गरेको अवस्था रहेको बताए । उनले २०७५ साल जेठदेखि २०७७ साल असार १ गतेसम्मको अवधिमा विद्युत महसुल निर्धारण आयोग खारेज हुँदा विद्युत महसुल तोक्ने निकाय नहुँदा पहिला विद्युत निर्धारण आयोगले तोकेको विद्युत महसुल परिमार्जन नभएको बताए। मन्त्री बस्नेतले २०७७ मा विद्युत नियमन आयोग गठन भएर साउन १ गतेदेखि लागू हुनेगरी ट्रङ्क र डेडिकेटेड नरहने घोषणा गरेको बताउनुभयो । उहाँले नियमन आयोग २०७५ २०७७ को बिचको विषयमा नबोल्दा समस्या भएको बताए। मन्त्री बस्नेतले पञ्चेश्वर परियोजनामा नेपाल र भारतमध्ये कसले कति लगानी गर्ने भन्ने विषय टुङ्गो नलाग्दा आयोजना अघि बढ्न नसकेको उल्लेख गरे । उनले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको भन्दै नेपाल र भारतबिच कसले कति लगानी लगाउने भन्ने विषयमा टुङ्गो लाग्न बाँकी रहेको बताए । उनले परियोजनाबाट हुने लाभ दुवै मुलुकले बराबर लिने विषयमा स्पष्ट भए पनि लगानीको सम्बन्धमा टुङ्गिन नसकेको बताए । मन्त्री बस्नेतले सिँचाई र बिजुलीको लाभका आधारमा भारतको हिस्सा ठुलो भएकाले भारतले ठुलो लगानी गर्नुपर्ने नेपालको अडान रहेको तर भारतले लाभको हिसाब नगरी लगानी गर्नुपर्ने अडान राख्दा लगानीमा सहमति जुट्न नसकेको बताए ।