यी हुन् इतिहासकै सबैभन्दा धनी व्यक्ति, जससँग थियो अनुमान नै लगाउन नसकिने सम्पत्ति
हाल संसारका सबैभन्दा धनी व्यक्ति एमेजनका संस्थापक जेफ बेजोस हुन् । सन् २०१९ को फोर्ब्स अर्बपतिको सूचीमा आधारित तथ्यलाई आधार मान्दा उनको अनुमानित सम्पत्ति १३१ अर्ब डलर बराबर रहेको छ र बेजोस आधुनिक कालका सर्वाधिक धनी व्यक्ति पनि हुन्।
यस अघि सर्वाधिक धनी व्यक्ति भनिएका बिल गेट्स हाल ९८.४ अर्ब डलरसहित दोस्रो नम्बरमा छन् भने अमेरिकी शेयर बजारका लगानीकर्ता वारेन बफेट ८२.५ अर्ब डलरका साथ तेस्रो नम्बरमा छन् ।
त्यस्तै एसियाको सर्वाधिक धनी व्यक्ति मुकेश अम्बानी विश्वसूचीमा १३ औं नम्बरमा पर्छन् भने चीनका ज्याक मा २१ औं ।
तर उनीहरूमध्ये कोही पनि संसारमा अहिलेसम्मका सबैभन्दा धनाढ्य व्यक्ति भने होइनन्।
को हुन् त संसारका अहिलेसम्मकै सबैभन्दा धनी व्यक्ति
वर्तमान समयमा धनी व्यक्तिहरूको सूचीमा अमेरिकी धनाढ्यहरूको बाहुल्य रहेको छ । यस सूचीमा विश्कै सर्वाधिक जनसंख्या भएका देश चीन र भारत क्रमशः दोस्रो र तेस्रो नम्बरमा रहेका छन् ।
अफ्रिका महादेशमा हाल विश्वकै सबैभन्दा कम अर्बपति रहेको मानिन्छ । तर इतिहासको विवरणले भने बेग्लै कुरा भन्छ ।
अहिलेसम्मकै संसारका सबैभन्दा धनी व्यक्ति १४औँ शताब्दीका पश्चिम अफ्रिकी शासक मान्सा मुसा हुन्।
मूसा आफ्नो टिम्बकटुका राजा थिए जसको राज्य विस्तार वर्तमान समयको माली, मोरीटानिया, सेनेगल, गाम्बिया, गिनिया, बुर्किना फासो, माली, नाइजर, चाड र नाइजीरियामा भएको थियो।
उनको शासनकालमा संसारभरि नै सुनको माग चरममा पुगेको थियो र उनको देशभित्र कयौं सुनखानी रहेका थिए ।
भनिन्छ उनले दिएको दानका कारण एउटा पूरै देशको अर्थतन्त्र धर्मराउन पुगेको थियो।
त्यो देश थियो इजिप्ट । भनिन्छ मुसा सन् १३२४ मा तीर्थयात्राका लागि मक्का गएका थिए ।
उनले छ हजार किलोमिटर यात्रा गरे र उनको शान शौकत हेर्न भरि मान्छेको लाम हुने गर्दथ्यो ।
उनीसँग ६० हजार मानिसको यात्रुदल थियो । मुसाको घोडा अघिपछि पनि हातमा सुनको लौरो समातेका ५०० मानिसको अलग दस्ता हिँड्ने गर्दथे ।
साथै ८० उँटहरू पनि सँगै हिँड्ने गर्दथे जसमा प्रत्येकको पिठ्युँमा १३६ किलो सुन हुने गर्दथ्यो।
मुसाले इजिप्टमा सर्वसाधारणलाई यति धेरै दान दिए कि त्यस क्षेत्रमा अचानक महँगी बढेर गयो ।
क्यालिफोर्निया विश्वविद्यालयमा इतिहास प्राध्यापन गर्ने रुडल्फ बुच वेअरले बीबीसीलाई भने, “मुसाको सम्पत्तिको अहिले गणना गर्दा उनी कति धनी र शक्तिशाली थिए भन्ने थाहा हुन्छ।”
ज्याकोब डेभिडसनले सन् २०१५ मा मनी डट कममा लेखेअनुसार ती अफ्रिकी राजा मान्सा मुसा अरूले अनुमान गर्न सक्नेभन्दा धेरै धनी थिए।
सन् २०१२ मा सेलिब्रिटी नेट वर्थ नामको अमेरिकी वेबसाइटले उनको सम्पत्ति ४०० अर्ब डलर भएको अनुमान गरेको थियो।
तर अर्थशास्त्रका इतिहासकारहरू उनको सम्पत्ति सङ्ख्यामा लेख्न असम्भव रहेकोमा सहमत छन्।
अहिलेसम्मका सर्वाधिक १० धनी व्यक्तिहरू
- मान्सा मुसा(१२८०-१३३७, मालीका राजा): सम्पत्ति कति हो भन्नै नसक्नेगरी धेरै
- अगस्टस सिजर (६३ इसापूर्व-१४इसं, रोमका सम्राट): सम्पत्ति ४६ खर्ब डलर
- जाओ शु (१०४८-१०८५, चीनमा सङका शेनजोङका सम्राट): सम्पत्ति गणना गर्न नसकिने
- अकबर पहिलो (१५४२-१६०५, मुगल सम्राट, भारत): सम्पत्ति गणना गर्न नसकिने
- एन्ड्र्यु कार्नेगी(१८३५-१९१९, स्कटिश अमेरिकी उद्योगपति): ३७२ अर्ब डलर
- जन डी. रक्फेलर (१८३९-१९३७) अमेरिकी व्यवसायी): ३४१ अर्ब डलर
- निकोलाई एलेक्जेन्ड्रोविच रोमानोभ (१८६८-१९६७, रुसका जार): ३०० अर्ब डलर
- मिर ओस्मान अली खान (१८८६-१९६७, भारतीय नवाब): २३० अर्ब डलर
- विलियम द कन्क्वेरर (१०२८-१०८७): २२९.५ अर्ब डलर
- मुअम्मर गद्दाफी (१९४२-२०११, लिबियाका लामो समय शासक): २०० अर्ब अमेरिकी डलर
बिबिसी
एन आरएन अफ्रिकाको तेस्रो क्षेत्रीय सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
युगान्डा,पुष १५।गैरआवासी नेपाली संघ अफ्रिकाको तेस्रो क्षेत्रीय सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न गरेको छ। युगान्डाको कम्पालमा आयोजना गरिएको सम्मेलनले पूर्बी र पश्चिम अफ्रिकी मुलुकमा कम्तिमा एक एक वटा दूताबास खोल्नका लागि नेपाल सरकारसंग आग्रह गर्ने निर्णय समेत गरेको छ । सम्मेलनमा पछिल्लो समय अफ्रिकि मुलुकमा रोजगारीमात्र नभई लगानीकर्ता र बिज्ञका रुपमा नेपालीको उपस्थिति बढ्दो भएपनि हाल इजिप्ट र दक्षिण अफ्रिकामा मात्र नेपाली दूताबास रहेको हुँदा अन्य मुलुकमा कार्यरत नेपालीले समस्या भोग्नुपरेको बिषयलाइ समेत उठाइएको छ।समस्यालाइ ध्यानमा राखी पूर्बी र पश्चिम अफ्रिकी मुलुकमा कम्तिमा एक एक वटा दूताबास खोल्नका लागि नेपाल सरकारसंग आग्रह गर्ने र तत्काल ती र अन्य मुलुकमा समेत महाबाणिज्य दूत नियुक्त गर्नका लागि नेपाल सरकार समक्ष पहल गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले नेपालबाट अफ्रिकी मुलुक हुँदै अबैधानिक रुपमा युरोप र अमेरिकामा छिर्ने लोभले मानव बेचबिखनको समस्या बढ्दै गएको भन्दै सरकारलाई ध्यानर्कषण गराएको छ । सम्मेलनको उद्घाटन कायरो स्थित नेपाली दुतावासका राजदुत झबिन्द्र अर्यालले गरेका थिए। कार्यक्रममा एनआरएनका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, आइसिसी अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुल आचार्य, सचिव डिवी क्षत्री, कोषाध्यक्ष हिक्मत थापा, मध्य पूर्वबाट आइसिसी सदस्य मनोज गोर्खाली लगायतको सहभागिता रहेको थियो । डिसेम्बर २९ र ३० तारीख चलेको सम्मेलनमा अफ्रिका क्षेत्रका एक दर्जनभन्दा बढी मुलुकमा कार्यरत १५० जनाभन्दा बढी नेपालीको सहभागिता रहेको थियो । बैठकलाई उच्च प्राथमिकता दिदैं उद्घाटन सत्रमा इजिप्टस्थित नेपाली राजदूत झबिन्द्र अर्याल तथा युगाण्डा सरकारका सम्माननीय राष्टपतिका प्रतिनिधि युगाण्डा रेसिडेण्ट डिस्टिक्ट कमिस्नार श्रीमति हाइट हावा नामुजेनीको समेत उपस्थिति रहेको थियोे भने कार्यक्रममा कम्पाला नगर प्राधिकरण सम्बन्धी मन्त्री बेटी काम्या नामिसाग्यो र युगाण्डा सरकारका पर्यटन राज्यमन्त्री किवाण्डा गोडीफ्रे स्सुवी लगायत युगाण्डा सरकारका बिभिन्न निकाय तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति तथा प्रस्तुती रहेको थियोे । यस्तो छ घोषणापत्र १.नेपालको पर्यटन, पूर्बाधार लगायतका क्षेत्रको विकासमा अफ्रिकी मुलुकको अनुभवबाट सिक्न सकिने भएकोले नेपाल र अफ्रिकाबीचको सहकार्यका लागि पहल गरिदिन नेपाल सरकार र एनआरएनए अन्तर्राष्टिय समन्वय परिषद्लाई यो बैठक आग्रह गर्दछ। २. नेपालबाट अफ्रिकी मुलुक हुँदै अबैधानिक रुपमा युरोप र अमेरिकामा छिर्ने लोभले मानव बेचबिखनको समस्या बढ्दो छ । युरोप र अमेरिका जाने प्रलोभनमा अफ्रिकी मुलुकमा आएका त्यस्ता नेपालीले अनेक दुःखकष्ट भोग्नु परेको यथार्थ हाम्रा सामु छ । यो क्रम तत्काल रोक्नका लागि कडाई गर्दै सचेतना कार्यक्रम संचालन गर्न नेपाल सरकारलाई आग्रह गर्दछ । ३. बैधानिक रुपमा अफ्रिकी मुलुक आउने नेपालीहरुलाई समेत नेपाल र भारतका बिमानस्थलमा त्याँहाका कर्मचारीले अनाबश्यक दुःख दिने गरेका छन् । बैधानिक रुपमा आउनेहरुलाई यसरी अनाबश्यक दुःख दिने काम तत्काल बन्द गरी आवतजावत सहज बनाउन नेपाल सरकारसंग यो बैठक आग्रह गर्दछ । ४ पछिल्लो समय अफ्रिकाका बिभिन्न मुलुकमा रोजगारीमात्र नभई लगानीकर्ता र बिज्ञका रुपमा नेपालीको उपस्थिति बढ्दो छ । तर हाल इजिप्ट र दक्षिण अफ्रिकामा मात्र नेपाली दूताबास रहेको हुँदा अन्य मुलुकमा कार्यरत नेपालीले समस्या भोग्नुपर्र्ने बाध्यता छ । यो यथार्थतालाई ध्यानमा राखी पूर्बी र पश्चिम अफ्रिकी मुलुकमा कम्तिमा एक एक वटा दूताबास खोल्नका लागि नेपाल सरकारसंग आग्रह गर्ने र तत्काल ती र अन्य मुलुकमासमेत अबैतनिक महाबाणिज्यदूत नियुक्त गर्नका लागि नेपाल सरकारसमक्ष यो बैठक अनुरोध गर्दछ । त्यसमा महाबाणिज्यदूत छनौट गर्ने प्रकृयामा सघाउन संघ तयार रहेको छ । ५. नेपाल र अफ्रिकामा आपसी लगानीका पर्याप्त संभाबना रहेका छन् । ती संभाबनालाई ध्यानमा राखेर नेपाल र अफ्रिकाबीच लगानीका लागि समन्वय तथा सहजीकरण गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछ । ६. एनआरएनएको पहलमा नेपालमा हुने एकीकृत लगानीका क्षेत्रमा अफ्रिकामा कार्यरत नेपालीहरु सहभागी हुने यो बैठक प्रतिबद्धता जनाउँछ । साथै, नेपालमा लगानीका लागि नेपाल सरकारसंग सहकार्य गर्न यो बैठक युगाण्डा तथा अन्य अफ्रिकी सरकारलाई आग्रह गर्दछ । ७. अफ्रिकाका बिभिन्न मुलुकमा कार्यरत नेपाली समुदायलाई आधिकारिक रुपमा मान्यता दिलाई उनीहरुको बसोबास सहज बनाउनका लागि त्याँहाका सरकारसंग पहल गरिदिन यो बैठक नेपाल सरकारलाई आग्रह गर्दछ । ८. पछिल्लो समय अफ्रिकाका कतिपय मुलुक नेपालीका लागि रोजगारीको आकर्षक गन्तव्य भएका छन् । ती मुलुकमा सरकारी स्तरबाटै सहमति गरी रोजगारीमा पठाउने र रोजगारीमा जानेहरुको अधिकार सुनिश्चितताका लागि नेपाल सरकारलाई आग्रह गर्दछ । ९. अफ्रिकी मुलुकसंग व्यापार प्रबद्र्धन गर्न सन्धीका लागि पहल गर्न नेपाल सरकारसंग अनुरोध गर्दछ । १०. गैरआवासीय नेपाली संघले बिगतदेखि नै जोड दिदैं आएको बैदेशिक रोजगारीमा आएकाहरुको सामाजिक सुरक्षा सुनिश्चित गर्ने हजारे अभियान संचालन सम्बन्धमा सरकारले कार्यदल बनाई काम अघि बढाएकोमा नेपाल सरकारलाई धन्यवाद दिदैं चाँडै यस्तो किसिमको सामाजिक सुरक्षा कार्यक्रम थालनी गर्न सरकार समक्ष यो बैठक अनुरोध गर्दछ । ११. एनआरएनए अफ्रिकाको तेस्रो सम्मेलनको सहआयोजक इजिप्टस्थित नेपाली दूताबासको कदर गर्दै सम्मेलनको प्रमुख आतिथ्यता ग्रहण गरिदिनु भएकोमा नेपाली राजदूत झबिन्द्र अर्याल र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गरियो । १२. एनआरएनए तेस्रो अफ्रिका सम्मेलन सफलतापूर्बक सम्पन्न गर्नका लागि युगाण्डा सरकार र त्याँहाका जनताको सहयोग र सद्भावका लागि हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तताको अपेक्षा गर्दछ। साथै, सम्मेलनमा सहभागी कम्पाला नगर प्राधिकरण सम्बन्धी मन्त्री मदाम बेटी काम्या नामिसाग्यो, युगाण्डा सरकारका पर्यटन राज्यमन्त्री किवाण्डा गोडीफ्रे स्सुवी लगायत युगाण्डा सरकारलाई यो सम्मेलन धन्यवाद ज्ञापन गर्दछ ।
नन्दी सेवा आश्रमका सञ्चालक रामबहादुरलाई साइनिङ्ग वल्र्ड कम्पासन अवार्डबाट पुरस्कृत
काठमाडौं, पुस १५ । पशुपति वनकालीमा नन्दि सेवा आश्रम सञ्चालन गर्दै आएका रामबहादुर न्यौपाने (गोपाल) यस वर्षको साइनिङ्ग वल्र्ड कम्पासन अवार्डद्वारा पुरस्कृत भएका छन् । सुप्रिम् मास्टर इन्टरनेशनल एशोसियसनले शनिवार ललितपुरको खुमलटारमा गरेको एक कार्यक्रममा रामबहादुर न्यौपानेलाई अवार्डको साथमा सो संस्थाकी सञ्चालिका सुप्रिम् मास्टर चिङ्हाईले पठाएको तीस हजार अमेरिकी डलरको चेक मास्टरका अनुयायीहरूको तर्फबाट नेपाल भेगन एशोसियसनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने र मिरा खनालले हस्तान्तरण गरेका थिए । रामबहादुरले छाडा छोडिएका गाई गोरु तथा बाच्छा बाच्छीलाई आश्रय दिन काठमाडौंको पशुपतिक्षेत्रको वनकालीमा नन्दि आश्रम सञ्चालन गर्दै आएका छन् । काठमाडौं लगायतका शहर एवं गाउँबस्तीमा गाई धनीले दुध दिँदासम्म दुहुने र दुध दिन छाडेपछि गाईलाई सडकमा लगेर छोडिदिने, आफूले धेरै दुध पाउन दुधे बाच्छोलाई पनि सडकमा छोडिदिने गर्ने गरेको पाइएको छ । यसरी छोडिनेमा बाच्छीको तुलनामा बाच्छा बढी हुन्छन् र पछि ती बढेर ठूला हुने गरेका छन् । छाडा छोडिएका गाईगोरु बाच्छाबाच्छीको कारणले सडकमा ट्राफिक जाम हुने, दुर्घटना हुने गरेका छन् । सवारीसाधनले ठक्कर दिने र ती गाईगोरु तथा बाच्छाबाच्छी घाइते हुने, बिरामी हुने जस्ता धेरै समस्या हुने गरेको पाइन्छ । छाडा छोडिएका गाईगोरु बाच्छाबाच्छीलाई बस्न खान र औषधोपचारको व्यवस्था मिलाउने कामलाई आफ्नो साधना बनाएका रामबहादुर न्यौपानेको उदाहरणीय कार्यको मुल्याङ्कन गर्दै उनलाई पुरस्कृत गरिएको आयोजकले पुरस्कार पत्रमा उल्लेख गरेका छन् । ठूलो कष्ट उठाएर डेढसय जति गाई गोरु र बाच्छाबाच्छीलाई घाँस पराल, औषधि उपचार लगायतका आवश्यकता पूरा गर्न उनको टिम तथा समितिलाई धौधौ परिनै रहन्छ । वर्षको तीन करोडको खर्च रहेको बताइन्छ । सहयोग जुटाएर खर्च पुर्याउनु सहज छैन नै । रामबहादुरको यस प्रकारको कार्यको जति तारिफ गरेपनि कमै हुने देखिन्छ नै । पुरस्कार मात्रैको कुरा होइन मास्टर चिङ्हाईको आर्शिवाद पाउनु नै सबैभन्दा ठूलो कुरा हो । नेपालमा जजसले उनको आर्शिवाद पाउन सफल भएको छ उनीहरूको उन्नति प्रगति हुँदै गएको छ, कार्यक्रममा आफ्नो मन्तव्य राख्दै वरिष्ठ प्राकृतिक चिकित्सक हरिप्रसाद पोखरेल (मानसाग्नि) ले बताए । भलै संविधानमा राष्ट्रिय जनावर उल्लेख भएपनि नेपाल सरकार र नेपालीको लागि गोवंश ठूलो बोझको विषय भएको देखिन थालेको छ । राज्यकै संयन्त्रको मिलेमतोमा गाईगोरु कटानीको लागि विदेशतर्फ तस्करी हुने गरेको देखिइरहेको छ । लक्ष्मीस्वरूपा गौमाताको संज्ञाले समेत पुकार गरिने गोवंशलाई सिध्याउन पाए हाईसुख हुन्थ्यो भन्ने मनोविज्ञान राज्यको पनि रहेको बुझिन्छ । नेपाल सरकार र नेपाली नागरिकको यस्तो संकिर्ण एवं दरिद्री मानसिकताको स्थिति भइरहेको अवस्थामा विदेशदेखि यहाँका गोवंशको संरक्षणको लागि यसरी सहयोग आउनुले नेपाल सरकार र सम्बन्धित नागरिकको लागि ठूलो जवाफ भने दिएको छ । सुप्रिम मास्टर चिङ्हाई विश्व प्रसिद्ध आध्यात्मिक गुरु रहेका छन् । उनले आफ्नो शिष्य ग्रहण गर्ने जो–कोहीलाई पनि सबै प्राणीप्रति दया, करुणा गर्न, प्राणी हिंसा नगर्न र पूर्ण साकाहारी आहार एवं सात्विक जीवनयापन गर्न मार्गदर्शन गरेका छन् । मूलतः उनी ताइवानको भएपनि विश्वका विभिन्न स्थानमा रहेर ध्यान साधना गर्ने र गराउने छन् । उनको सुप्रिम मास्टर टेलिभिजन नामको अनलाई टेलिभिजन छ । सोमार्फत उनले आफ्नो मार्गदर्शन उपदेश प्रवचन निरन्तर गरिरहने छ । मास्टर चिङ्हाईले यो एवार्ड एवं पुरस्कार कसैको सिफारिसमा नभएर आफ्नो ध्यानदृष्टिबाट तय गर्ने भएका छन् । २०७२ सालको भूकम्प लगायतका दैवी विपत्ति आदिमा मास्टर चिङ्हाईले उल्लेखनीय सहयोग गर्दै आएका छन् । यसैगरी वागेश्वरी गौशाला देवघाट चितवन, रामजानकी गौशाला कोहलपुरलाई पनि यहाँका आफ्ना अनुयायीमार्फत आर्थिक सहयोग गरेका छन् । उनले गर्ने सहयोग कसैसँग उठाएर नभएर आफै आर्जन गरेको रकमबाट गर्ने गर्दछन् । विश्वका कुनै पनि स्थानमा उनले सहयोग गर्ने गरेका छन् । आफ्ना अनुयायीहरूलाई फल्नो ठाऊँमा यस्तो भएको छ त्यो ठाऊँमा गएर यो सहयोग गर्नु अथवा पुर्याउनु भनी निर्देशन आएपछि अनिबल्ल उनका अनुयायीहरू निर्देशन बमोजिम आफ्नो गुरुले पठाएको सहयोग लिएर सोधखोज गर्दै सम्बन्धित स्थान र व्यक्तिसम्म पुग्ने गरेको उनका नेपाल स्थित अनुयायी अमृत कार्की, विष्णुप्रसाद न्यौपाने, डा.मोहन खरेल, विक्रम गुरुङ्गलगायतहरू बताउँछन् । सुप्रिम मास्टर इन्टरनेशनल एशोसियसनले प्रदान गर्ने साइनिङ्ग वल्र्ड कम्पासन अवार्ड नेपालीको लागि यो तेस्रो हो । प्रथम एवार्ड समता शिक्षा सदनका उत्तम संजेल र दोस्रो अवार्ड माइती नेपालकी अनुराधा कोईरालाले प्राप्त गरेका थिए । कार्यक्रममा डा. गोविन्द टण्डन, डा. नारायणी राणा, वैद्यराज दीपक सुवेदीलगायतले आआफ्नो अभिव्यक्ति राखेका थिए भने कार्यक्रमको सञ्चालन बरिष्ट प्रो.डा. मोहन खरेलले गरेका थिए ।
आमाले सहयोग नगर्नु भएको भए भारतको गल्लीमा भाँडा माझिरहेको हुन्थेः रवि ओड
काठमाडौं, पुष १२ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका रवि ओड गत शनिबार नेपाल आइडलको दोस्रो संस्करणका विजेता बने। पुरस्कारस्वरूप उनले २२ लाख रुपैयाँ र एउटा होन्डा डब्ल्यूआरभी कार हात पारे। उनी ठाडो भाका, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्छन्। शिव परियार, सुगम पोखरेल र हेमन्त रानालाई आदर्श मान्ने रविसँग सृजना खड्काले खुलस्त संवाद गरेकी छिन्। नेपाल आइडलको दोस्रो सिजनको विजेता बन्छु भन्ने लागेको थियो कि थिएन ? अडिसन पार गरेपछि सांगीतिक क्षेत्रमै आफ्नो जीवन अगाडि बढाउँछु भन्ने सोचिसकेको थिएँ। तर, आइडल नै बन्छु भनेर चाहिँ सोचेको थिइनँ। सपना हो कि विपना जस्तो भइरहेको छ। आइडल विजेताको घोषणा भइरहँदा स्क्रिनमा आफ्नो फोटो देख्दा कस्तो लाग्यो ? सुरुमा थर्ड रनरअपको फोटो स्क्रिनमा आयो। त्यो फोटो अस्मिताको थियो। बाँकी हामी तीन जना थियौं। फस्ट, सेकेन्ड र थर्डमध्ये एक भएछु भन्ने लाग्यो। तर, मुटु कामिरहेको थियो। सेकेन्ड रनरअपमा सुमितको नाम आयो। विक्रम दाइ र म बाँकी भयौँ। त्यसपछि फस्ट र सेकेन्डमा एउटा भएछु भनेर ढुक्क भएँ। डर हरायो। फस्ट र सेकेन्ड जे भए पनि म खुशी थिएँ। विजेताको रूपमा स्क्रिनमा आफ्नो फोटो आउँदा त खुशीको सीमा नै रहेन। भावुक भएँ। भोट गरी मलाई जिताउने सबैलाई मनमनै धन्यवाद दिएँ। आइडल सकिएपछि भारतको सुरतमा बस्दै आउनुभएका तपाईंको बुबालाई पनि फूलमाला लगाएर सम्मान गरियो भन्ने समाचार आइरहेका छन्, यो सुन्दा कस्तो लागिरहेको छ ? एकदमै खुशी छु। बुबालाई नेपाल आइडलको स्टेजमा ल्याउने मेरो ठूलो धोको थियो। तर, त्यो सम्भव भएन। वाचम्यानको काम गर्ने भएकाले उहाँले छुट्टी पाउनुभएन। आइडल जितेपछि सुरुमा बुबासँग नै फोनमा कुरा गरेँ। फोन गर्दा उहाँ रोइरहनुभएको थियो। त्यही बेला बुबालाई त्यहाँ साथीहरूले सम्मान गरिरहेका थिए। ‘‘तेरो छोरो हल्लेर हिँड्छ’ भनेर सुनाउनेहरूलाई तैँले गरेर देखाइस्’ भन्नुभयो। घरको जेठो छोरो भएकाले परिवारलाई यसले केही गर्ला भन्ने आश थियो। आफूसँगैको साथीहरू काम गरेर घरमा पैसा पठाएको देख्दा मलाई पनि नरमाइलो लाग्थ्यो। बुबाको १० हजार भारुले चार जनाको पढाइ र घरखर्च चलाउनुपथ्र्यो। अब त्यो अवस्था रहेन। आमा त फाइनल हेर्न काठमाडौं आउनुभएको थियो नि हैन ? हो, आउनुभएको थियो। मैले जितिसकेपछि आमा पनि स्टेजमा आउनुभएको थियो। उहाँलाई त्यहाँ के भइरहेको छ, केही थाहा थिएन। उहाँलाई अंगालो हालेर मैले ‘मैले जितेँ’ भनेँ। उहाँलाई के जित्यो, के जित्यो भएको थियो। उहाँलाई नेपाली बोल्न आउँदैन। नेपाल आइडल के हो ? उहाँलाई थाहा छैन। उहाँ मेरी दोस्री आमा हो। कान्छो भाइ तीन महिनाको हुँदा हाम्री आमा बित्नुभयो। हामी चार जनालाई उहाँले आफ्नै सन्तानजस्तै हुर्काउनुभयो। सबैका दोस्री आमा खराब हुँदैनन्। उहाँले मलाई सपोर्ट नगर्नुभएको भए आज म भारतको कुन गल्लीमा भाँडा माझिरहेको हुन्थेँ। अन्नपूर्ण पोस्ट् दैनिकबाट
तोलामा कतिले बढ्यो सुनचाँदीको भाउ ?
काठमाडौं, पुस १० । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । बुधबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ५९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार बजारमा चाँदीको मूल्यमा दश रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ७ सय ३५ रुपैयाँमा कारोबारमा भइरहेको छ ।
नेविसंघ कार्यकर्ताबीच खुकुरी हानाहान, एक जना घाइते
पर्सा, पुष ११ । नेपाल विद्यार्थी संघ (नेविससंघ) पर्साका कार्यकर्ताबीच आज अपराह्न वीरगञ्जमा खुकुरी हानाहान भएको छ । वीरगञ्ज तेजारथ टोलस्थित नेपाली काङ्ग्रेस पर्साको पार्टी कार्यालयमा बसेको बैठकमा नेविसङ्घका दुई गुटका कार्यकर्ताबीच जिल्ला अधिवेशनको विषयलाई लिएर खुकुरी हानाहान भएको हो । खुकुरी प्रहारमा परी ठाकुरराम बहुमुखी क्याम्पसका नेविसङ्घ एकाइ उपाध्यक्ष समीर अन्सारी घाइते भएका छन् । खुकुरी प्रहारबाट उनको टाउकामा चोट लागेको छ । घाइते अन्सारीलाई उपचारका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल भर्ना गराइएको छ । घाइते अन्सारी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । जिल्ला अधिवेशनका लागि काङ्ग्रेस केन्द्रीय कार्यालयले प्रतिनिधिका रुपमा खटाएका केन्द्रीय सहमहामन्त्री लक्ष्मीभक्त खनालको उपस्थितिमा छलफल चलिरहेका बेला नेविसङ्घका कार्यकर्ताबीच विवाद भई खुकुरी हानाहान भएको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिए । रासस
चारै प्रतिस्पधीले दिए ‘बेजोड’ पस्तुति, कसले बाजी मार्ला आइडलको उपाधि ? [भिडियाे]
काठमाडौं, मंसिर २८ । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल-२ मा उत्कृष्ट चारको बिहीबारको प्रस्तुति विशेष रह्यो। यिनै चारबाट अर्को साता नेपाल आइडलको विजेता घोषणा गरिनेछ। बिहीबार नेपाल आइडलको मञ्च चिटिक्क परेको थियो। विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारी ढाकाको पहिरनमा सजिएका थिए। ड्यासमा बसेका जज पनि ढाका मिश्रित पहिरनमा आकर्षक देखिएका थिए। कार्यक्रमकी सञ्चालिका रिमा विश्वकर्मा ढाकाको लामो गाउनमा सजिएकी थिइन् भने आसिफ शाहले ढाकाकै कोटमा नेपालीपन झल्काएका थिए। कार्यक्रमको सुरुआतमा रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको शुभकामना सन्देशको भिडियो क्लिप प्रदर्शन गरिएको थियो। जजहरू कालीप्रसाद बाँस्कोटा, न्ह्यु वज्राचार्य र इन्दिरा जोशीले पनि गीत गाएर कार्यक्रमको रौनक बढाएका थिए। उत्कृष्ट चारको अब्बल प्रस्तुतिमा दर्शकहरू झुमिरहेका थिए। हरेक प्रतियोगीले दुईवटा गीत मिश्रण गरेर आवाज दिएका थिए। कार्यक्रममा पहिलो प्रस्तुतिका लागि रवि मञ्चमा देखा परे। उनले ‘दैव हे’ बोलको गीतमा बेजोड प्रस्तुति दिएका थिए। सुदूरपश्चिमका एकमात्र विजेताका दाबेदार रविले पछिल्लो समय आफूलाई निकै परिस्कृत गरेका छन्। कार्यक्रमको दोस्रो प्रस्तुतिका लागि जज कालीप्रसाद बाँस्कोटा मञ्चमा उपस्थित भए। ‘निर जैले रिसाउनी’ बोलको गीतमा सुमधुर आवाज र रोमान्टिक प्रस्तुतिका साथ मञ्च तताउन सफल भए उनी । विक्रमको स्वरमा नेपाल आइडल मन्त्रमुग्ध बन्यो। सबैको हौसला र तारिफ पाउन सफल बरालले ‘मेरो बेहोशी आज’ र ‘चिठीभित्र’ बोलको दुईवटा गीतलाई एकै बसाइमा सँगसँगै गाएका थिए। उनको प्रस्तुति अब्बल थियो । यसलगत्तै निकै लामो आलाप गुनगुनाउँदै मञ्चमा देखा परिन्, जज इन्दिरा जोशी। उनले ‘जाऊँ कि नजाऊँ’ बोलको गीतमा निकै सुमधुर आवाज दिएकी थिइन्। ‘मै नाचेँ छमछमी’ बोलको गीतमा शरीरको ताल मिलाउँदै मञ्चमा देखा परे सुमित। यसका साथै उनले ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीतमा पनि निकै सुमधुर आवाज दिएका थिए। ‘फूलको आँखामा फूलै संसार’ बोलको गीत गुनगुनाउँदै मञ्चमा देखा परे आइडलका जज न्ह्यु वज्राचार्य। उनले गीत गाउँदा सबैजना चुपचाप संगीतमा हराएका थिए। नेपाल आइडलकी दाबेदार एकमात्र महिला प्रतियोगी अस्मिताले ‘कहिलेकहीँ मलाई पनि’ बोलको गीतमा आवाज दिइन्। यसका साथै ‘मेरो माया कतारमा’ बोलको गीत पनि मि श्रण गरेर गुनगुनाएकी थिइन्। कहिले रक, कहिले लोक, आधुनिक, सेन्टिमेन्टल हरेक प्रकारका गीतमा आफूलाई अब्बल साबित गरिसकेकी अस्मिताले धमाकेदार प्रस्तुति दिइन्। आउने पुस ६ गते नेपाल आइडल विजेता घोषणा हुने कार्यक्रमका प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए । अघिल्लो हप्ताको कार्यक्रमपछि चारैजना प्रतियोगी आआफ्ना घर गएका थिए। शुक्रबारको कार्यक्रममा कोही पनि इलिमेट नहुने र होम भिजिटको भिडियो प्रदर्शन गरिने पौडेलले बताए। उनले यसपटकको नेपाल आइडलमा उत्कृष्ट चारबाट नै विजेता घोषणा गरिने जानकारी दिए। फाइनल कार्यक्रम नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुनेछ । नेपाल आइडलको यात्रामा आफूसँग अनगिन्ती अनुभव रहेको बताउँदै उनले यसको स्क्रिप्ट र भाषामा अत्यन्तै लगावले काम गरेको बताए। ‘मन जित्छ उसले राम्रो गाउँछ जसले’ नाराका साथ सुरु भएको नेपाल आइडल-२ साउन २४ देखि सुरु भएको हो। नेपाल आइडलको प्रोजेक्ट हेड सुरेश पौडेल तथा निर्देशकहरू एलन श्रेष्ठ र लोकेश वज्राचार्य छन्। यो समाचार अन्नपूर्ण पोस्ट्बाट लिइएको हो ।
अमरगढी नगरपालिका स्मार्ट सिटी बन्दै
डडेल्धुरा, मङ्सिर २८ । सुदूरपश्चिम प्रदेशको मध्यबिन्दु डडेल्धुुरामा रहेको अमरगढी नगरपालिका स्मार्ट सिटी बन्ने भएको छ । नेपाल सरकारको १० वटा शहरलाई स्मार्ट सिटी निर्माण गर्ने योजनाअनुसार डडेल्धुराको अमरगढी नगरपालिका पनि पर्न सफल भएको हो । शहरी विकास मन्त्रालयले १० वटा शहरलाई स्मार्ट सिटी निर्माण गर्न ‘ग्रिड कन्सल्टेण्ट’सँग सम्झौता गरिसकेको अमरगढी नगरपलिकाले जनाएको छ । स्मार्ट सिटी निर्माण गर्ने योजना १० शहरमध्ये अहिले स्याङ्जाको वालिङ, दैलेखको दुल्लु र डडेल्धुराको अमरगढीको अध्ययनमा सेटेलाइट वेशका काम अन्तिम चरणमा पुगेको हो । यस्तै भूउपयोग नक्सा, वार्डगत भेटघाट सम्पन्न भएका छन् । स्मार्ट सिटीभित्र स्मार्ट जनता, स्मार्ट भौतिक पूर्वाधार, स्मार्ट शासन व्यवस्था र स्मार्ट अर्थ व्यवस्था रहने भएकाले सो स्तरमा अमरगढीलाई पुर्योजना निर्माण गरिरहेको वातावरणविद् तथा अमरगढी स्मार्ट सिटीका संयोजक कुमोद लेखकले जानकारी दिए । स्थानीय तहको निर्वाचनका बेला स्मार्ट सिटीको मुद्दा उठाएका नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले अहिले कार्यान्वयनमा अगाडि बढ्दा जनतासँग गरेका वाचा पूरा हुनेमा विश्वास व्यक्त गरे । स्मार्ट सिटीका नगरप्रमुख एक्लैले मात्र बनाउन नसक्ने भएकाले यस कार्यमा सम्पूर्ण नगरवासी तथा सरोकारवालाले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गरे सफल हुने बताए । डडेल्धुराका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रमध्येका उग्रतारा मन्दिर, घटाल थान, अमरगढी किल्ला, रावलतोली गुफा अमरगढी नगरपालिका भित्र नै पर्दछन् । रासस
राजदूत काण्ड ,चोरी गर्ने प्रधान देखि तस्कर आरोपित शेर्पा सम्म
सन्तोष खडेरी।अष्ट्रेलियाका लागि बर्तमान नेपाली राजदूत लक्की शेर्पा मात्र होइन यी जस्तै अन्य केही समेत नियुक्त भएपछी वा नियुक्ति अगावै गम्भीर विवादमा मुछिएका छन् तर यस्ता घटनाबाट नेपालले कहिल्यै पाठ सिक्न जरुरी सम्झेन। सन् १९८८ को क्रीसमसको पूर्वसन्ध्यामा अमेरिकाका लागि तत्कालीन राजदूत विश्व प्रधान एक स्टोरबाट मेडिकल शिक्षा सम्बन्धि दुई पुस्तक चोरी गरेको अभियोगमा त्यहाँ स्थित कोलम्बिया प्रहरी द्वारा गिरफ्तार भए। उनलाई तत्कालीन सरकारले फिर्ता बोलायो र पछि कुनै उनमा भएको कुना बिमारीका कारण त्यस्तो अवस्था आएको बताईयो। यस्तै,सन् २०११ को फेब्रुअरी महिनामा साउदी अरेबियाका लागि एमाले कोटाबाट नियुक्त तत्कालीन नेपाली राजदूत हमिद अन्सारीलाई फिर्ता बोलायो जसले सो समयमा १८ महिनाअघि सडक दुर्घटनामा मृत्यु भएका झापाका रमेश सुवेदीको क्षतिपूर्तिबापतको १ लाख रियाल -२० लाख रुपैयाँ) बारे मन्त्रालय र मृतक परिवारलाई कुनै जानकारी नगराई आफैले मृतक कामदारको क्षतिपूर्ति रकम दुरुपयोगको गरेका थिए। उनै अन्सारीलाई केही समय पहिले उक्त मुद्दामा सम्मानित सर्बोच्च अदालतबाट दोषी ठहर भईसकेका छन्। सन् २०१३ मा कतारका लागि एकीकृत नेकपा माओवादीबाट नियुक्त तत्कालीन नेपाली राजदूत डा. माया कुमारी शर्माले एक टेलिभिजन कार्यक्रम साझासवालमा दिएको कुटनैतिक मर्यादा बिपरितको अभिव्यक्ति ‘खुला जेल’ का कारण कतार सरकारले फिर्ता बोलाउन र फिर्ता नबोलाए आफैले कार्बाही गरि देश निकाला गर्ने नेपाल सरकार समक्ष कुटनैतिक दवाव दिएपछी उनलाई सन् २०१३ को अन्त्य तिर उनलाई नेपाल सरकारले फिर्ता बोलायो जस विरुद्ध उनी सर्बोच्च अदालत सम्म पुगिन तर सर्बोच्चले समेत सरकारको निर्णय सकारेपछि उनी निलम्बनमा परिन। यस्तै ,२०१६ मा केपी शर्मा ओली नेतृत्वको तत्कालीन एमाले-एमाओवादी अन्य सम्मिलित संयुक्त सरकारले बिजयकुमार गच्छदारको कोटाबाट मेनपावर व्यावसायि समेत रहिकी र तत्कालीन नेपाल वैदेशिक रोजगार व्यावसायि संघका अध्यक्षकि श्रीमती समेत रहेकी विवादास्पद व्यावसायि शर्मिला पराजुली ढकालालाई ओमनका लागि नेपाली राजदूतमा सिफारिस गर्यो तर नियुक्त नहुँदै उक्त सरकारको बहिर्गमन पश्चात् समेत नयाँ आएको प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादी-कांग्रेस संयुक्त सरकारले उनलाई कायमै राखी नियुक्ति गरे तर दुर्भाग्य संसदीय समिती समेत सिफारिस गर्ने मूल नेतृत्व प्रती बफादार प्रस्तुत भई संसदीय अनुमोदन गर्यो हाल उनी ओमनका लागि नेपाली राजदूतमा बहाल छिन्।२०१६ मैै प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादी-कांग्रेस संयुक्त सरकारले एमाओवादी कोटाबाट पूर्व संविधानसभा सदस्य समेत रहेकी लक्की शेर्पालाई अष्ट्रेलियाका नेपाली राजदूतमा नियुक्त भईन हालै उनी मानव तस्करी जस्तो गम्भीर मुद्दामा मुछिएकी छिन् जसबारे सरकारले सूक्ष्म अनुसन्धान अगाडी बढाएको छ । सिफारिसका अन्य केही थप विवादित सन् २०१६ मा प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादी-कांग्रेस संयुक्त सरकारले कांग्रेसको कोटाबाट संयुक्त अरव इमिरेट्स (युएई) का लागि मेनपावर व्यावसायि समेत रहिकी विवादास्पद व्यावसायि आशा लामालाई राजदूत सिफारिस गर्यो तर त्यसको चौतर्फी विरोध पछि सरकारले सिफारिस फिर्ता लियो। पछि उनै आशाले सार्वजनिक रुपमा आफूले रकम दिएको सम्म स्वीकार गरिन तर भ्रष्टाचारको आहलमा चुर्लुम्म डुबेको नेपालको राज्य संरचनाका संसद ,दल र सरकारले आवश्यक छानवीन गर्न आवश्यक सम्झेन।बर्तमान सरकारले संवैधानिक निकायका पदाधिकारी रहिसकेका पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको जानकारी स्वयं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक गरे तर संवैधानिक निकायका पदाधिकारीहरुलाई राजदूत सिफारिस संविधान प्रतिकूल हुने चौतर्फी विरोध पछि उनको प्रक्रिया अगाडी नबढाई भारतका लागि निलाम्बर आचार्यलाई सिफारिस गरियो त्यस्तै प्रधानमन्त्री ओलीकै परिवारिक नाता भित्र रहेकी अंजना शाक्यलाई इजरायलका लागि गरेको सिफारिस समेत संसदीय सुनुवाई पर्खिरहंदा शाक्यको हकमा भने विवादित छ। केही राजदूतहरु राजदूतमा वहाल रहँदा नै सम्बन्धित मुलुकमा शरण समेत लिएर त्यहीँ बसे उनी सार्वभौम राष्ट्र नेपालको राजदूत भन्दा शरणार्थी भएर बस्न रुचाए। त्यस्तो निर्लज्जता प्रदर्सन गर्ने कुटनितीज्ञ भने पूर्व राजदूत मुरारीराज शर्मा हुन त्यस्तै दुई राजदूतहरु आफ्नो कार्यकालको बाँकी अवधी कायम रहँदा समेत राजिनामा गरि राष्ट्रसंघीय जागिरे भए। यी घटनाबाट पुष्टि हुन्छ मुलुकको राजदूत नियुक्तिको स्पष्ट मापदण्ड के छ साथै किन आफ्नै जिम्मेवारी निर्वाह गर्न सक्दैनन् त्यो जिम्मेवारी भन्ने यसको एउटै सहज आम निष्कर्ष हो ‘ओजनको पदमा हलुका ब्यक्तिको नियुक्ति’ । अब पनि पाठ नसिके कता जाला नेपालको कुटनैतिक भबिष्य ?सोच्न जरुरी छ।
श्रीमानको मृत्युमा नरोएको भन्दै ५ वर्ष जेल सजाय !
गुहाइटी, । श्रीमानको मृत्युमा नरोएको भन्दै एक महिला विगत ५ वर्षदेखि जेल सजाय भोगिरहेकी छन् । भारतको असममा ती महिलालाई श्रीमानको मृत्युमा नरोएको भन्दै आफैले हत्या गरेको आरोपमा जेल सजाय भएको हो । उनलाई स्थानीय अदालतले आफ्नो पतिको हत्या गरेको दोषी ठहर ग-यो । गुहाइटीको उच्च अदालतले पनि स्थानीय अदालतले गरेको फैसलालाई सदर गर्दै उनलाई जेल सजाय सुनायो । श्रीमानको हत्यामा आफ्नो संलग्नता नभएको भन्दै ती महिलाले सर्वोच्च अदालतमा मुद्दा हालिन् । गत बुधबार सर्वोच्च अदालतले उच्च अदालतले गरेको फैसलालाई उल्टाउँदै ती महिलालाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश द्वय आरएफ नरीमन र जस्टिस नवीन सिन्हा ले महिलाको पक्षमा फैसला गर्दै ‘मौकामा भेटिएका तमाम सबुत र प्रमाणले श्रीमानको हत्यामा उनको संलग्नता छ भन्न सकिने आधार छैन् । र जहाँसम्म श्रीमाको मृत्युमा नरोएको कुरालाई हत्याको मुख्य आधार वा प्रमाण भनिएको छ, त्यो अप्राकृतिक व्यवहार हो । यसलाई हत्याको प्रमाण मान्न सकिन्न ।’
मालदिभ्समा नेपाली युवतीको मृत्यु
झापा, असोज ६ । जिल्लाको मेचीनगर नगरपालिका-१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स गएकी उनको गत भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिए । सङ्गीताको शव आज बिहान घर ल्याइ पुर्याएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । सङ्गीताको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको मृतककी मामा राजकुमार राजवंशीले बताए । मालदिभ्स्बाट श्रीलङ्काको कोलम्बो हुँदै सङ्गीताको शव शुक्रबार साँझ काठमाडौँ विमानस्थलमा ल्याइएको थियो । अविवाहित सङ्गीता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि मालदिभ्स गएकी थिइन् । -रासस
सिर्जनशिल पत्रकारिता पुरस्कार घर्तीलाई
बागलुङ, भदो १६ । यस वर्षको सृजनशिल पत्रकारिता पुरस्कार बागलुङमा रहेर सक्रिय पत्रकारिता गर्दे आएका संगम घर्ती मगरलाई प्रदान गरिएको छ । पत्रकारद्धय सन्तोष क्षत्री र सिर्जना पन्तले आफ्नो विवाहमा हुने खर्च कटाएर आदर्श सञ्चार सहकारी संस्था बागलुङमा स्थापना गरेको सो कोषबाट नागरिककर्मी घर्तीलाई पुरस्कृत गरिएको हो । आदर्श सञ्चार सहकारीको १२ औ स्थापना दिवसको अवसरमा भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्यमा अर्यालले पत्रकार घर्तीलाई नगद पाच हजार सहित दोसल्ला ओढाएर सम्मान प्रदान गरेकी थिइन् । क्रियाशिलता, सिर्जनशिलता तथा निरन्तरता लगाएका आधारमा पुरस्कार छनोट समितिले यस बर्षको लागि करिब एक दशक देखि पत्रकारितामा सक्रिय घर्तिलाई प्रदान गर्ने निर्णय गरेको संस्थापक एवं नेपाल पत्रकार महासंघ बागलुङ शाखा कार्यसमिति सदस्य सिर्जना पन्तले बताइन । पुरस्कार ग्रहणपछि घर्तिले कुनै पनि पुरस्कारको अपेक्षाले आफू पत्रकारतिामा नलागेको भएपनि यसले थप उत्साह र जिम्मेबारीबोध भएको बताए । पत्रकार क्षत्री र पन्तले बिहेमा भोजभतेर नगरी आदर्श सञ्चार सहकारीको संयोजन औपचारिक कार्यक्रमका बिच २०७१ साल बैशाख १९ गते प्रगतिशिल विवाह गरेका थिए । कोषबाट प्रत्यक बर्ष धौलागिरि अञ्चलमा कार्यरत एक पत्रकारलाई नगद सहित सम्मान गरिन्छ । नागरिक राष्ट्रिय दैनिमा बागलुङबाट रिपोटिङ गर्दे आएका घर्ती बिएफबिएस रेडियोमा पनि आवद्ध रहेका छन् ।
आहा कति मज्जा ! आजपनि घट्यो सुनचाँदीको भाऊ
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा फेरि सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर सुन प्रतितोला मूल्य ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार १०० सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, केही सातादेखि लगातार स्थिर रहेको चाँदीको मूल्य मंगलबार भने पाँच रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो मंगलबार घटेर ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काम खोज्न दिनमा हजार नेपाली भारत जाँदै
बाँके, साउन ८ । कामको खोजीमा दैनिक एक हजार नेपाली भारत जाने गरेका छन् । बाँकेको जमुनाहा नाकाबाट युवा मात्र होइन, महिला तथा ज्येष्ठ नागरिकसमेत भारत गइरहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार एक हप्तायता जुम्ला, कालिकोट, सुर्खेत, दैलेख, रुकुम, जाजरकोट, रोल्पा, दाङ, प्युठानबाट कामको खोजीमा दैनिक एक हजार भारत गइरहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायब निरीक्षक अनिल शाहले कामका लागि धेरै भारत जाने गरेकाले नेपालीको रेकर्ड राख्न कठिन भएको बताए । उनले हुल बाँधेर पहाडी र हिमाली भेगका नेपाली कामको खोजीमा भारत पलायन हुने गरेको बताए । एक हुलमा कम्तीमा १५-२० जना भारत पस्ने गरेको सइ शाहले बताए । उनले भने, ‘युवाको समूह हुल बाँधेर भारत जान लागेको देख्दा मन खिन्न हुन्छ ।’ कामका लागि भारत जाने र फर्किनेलाई लक्षित गरी यातायातका साधनसमेत बढेका छन् । स्वर्गद्वारी यातायात प्रालिले यात्रुको चाप बढेपछि सवारीसाधन थपेको छ । कामको खोजीमा भारत जाने नेपालीको संख्या बढेपछि पाँचवटा ‘हायस’ थप गरेको प्रालिका अध्यक्ष दीपकराज चन्दले बताए । उनले हिमाञ्चल प्रदेशको सिमलामा स्याउ टिप्ने सिजन भएकाले कामको खोजीमा भारत जाने नेपालीको संख्या तीन गुणाले बढेको बताए । प्रालिले सञ्चालन गरेका हायसका साथै दाङबाट दुईवटा यात्रुबाहक बस र भारतको रुपडिहाबाट प्रत्येक घन्टा रोडवेज बस छुट्ने गरेको छ । कपिपय सवारीसाधन नपाएर सिमला जाँदै गरेका नेपाली फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज शाहले बताए । नयाँ पत्रिकामा खबर छ ।
नजिकिंदै मेलम्ची खानेपानी, पाइप परीक्षणकाे काम सुरू
सुन्दरीजल, असार २२ । मेलम्ची खानेपानीका लागि बिछ्याएका पाइप परीक्षण तथा सफा (फ्लसिङ) गर्ने काम सुरु भएको छ । सुन्दरीजलदेखि चाबहिल धोविखोलासम्मको करिब ११ किमि क्षेत्रफलमा बिछ्याएका मुख्य पाइप सफा गर्ने काम सुरु भएको परियोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का परियोजना निर्देशक तिरेश प्रसाद खत्रीले बताउनु भयो । पाइप बिछ्याउने काम अन्तिम चरणमा पुगेपछि पिआईडीले सुन्दरीजलस्थित बागमतीबाट पानी ल्याएर परीक्षण सुरु गरेको हो । निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार, पाइपबाट ल्याइएको बागमतीको पानी सुन्दरीलजस्थित संकलन केन्द्रमा संकलन तथा प्रशोधन गरेर मुख्य पाइपमा पठाउने काम भइरहेको छ । ‘पाइपको प्रेसर तथा पाइपभित्र जमेको फोहोर पनि सफा (फ्लसिङ) गर्ने काम हुँदै छ । मुख्य पाइपको परीक्षण सकिनेबित्तिकै अन्य पाइपको परीक्षण सुरु हुन्छ ।’ निर्देशक खत्रीका अनुसार, मुख्य र शाखा पाइपको परीक्षण सकिएपछि जडान गरिएका धाराहरूको पनि चेकजाँच गरिनेछ । ६१ किमि लामो मुख्य पाइप लाइनमध्ये ५८ किमिमा पाइप बिछ्याइसकिएको छ । कलंकीकाे अन्डरपास वेकाे काम सम्पन्न नभएकाेले ३ किमि क्षेत्रमा पाइप बिछ्याउन बाँकी छ । शाखा पाइपअन्तर्गत पनि ७ सय ८३ मध्ये ७ सय ३५ किमि क्षेत्रफलमा पाइप बिछ्याउने काम सम्पन्न भएकाे छ । मेलम्चीको पानी अाउनु अगावै बागमतीकाे दैनिक ४ कराेड लिटर पानी काठमाडाैं उपत्याकावासीकाे धारामा झार्ने याेजनासहित पाइप परीक्षण फ्लसिङकाे काम सुरू भएकाे बताउनु हुन्छ निर्देशक खत्री । उहाँले भन्नुभयाे, ‘एक्कासी बागमतीकाे पानी ल्याउने कुराले मेलम्चीकाे पानी तत्काल नअाउने हाे कि भन्ने लाग्ला । मेलम्चीकाे पानी छिट्टै काठमाडाैं उपत्यका ल्याउनका लागि नै याे पूर्व तयारी भएकाे हाे । बिछ्याइएका पाइपकाे परीक्षाण तथा फ्लसिङकाे काम सम्पन्न भएकाे खण्डमा मेलम्चीकाे पानी सुन्दरीजल अाउने बित्तिकै प्रयाेग गर्न सकिने अवस्थामा पठाउन सकिन्छ ।’ कूल ७० हजार ८ सय ८५ हजार खानेपानीको धारामध्ये ५४ हजारभन्दा बढी जडान गर्ने काम सम्पन्न भएकाे छ । पानी संकलन तथा वितरणका लागि रिङराेडका बाँसबारी, महांकाल चौर र बालाजुलगायतका अाठ वटा स्थानमा नयाँ पानीपाेखरी निर्माण गरिएकाे निर्देशनालयले जनाएकाे छ ।
सचिव-सहसचिवलाई एक वर्ष नपुगी सरुवा गर्न नपाइने
काठमाडौं असार ८ । सरकारका सचिव र सहसचिवलाई एक वर्ष नपुगी अर्को मन्त्रालय वा निकायमा सरुवा गर्न नपाइने गरी कानुन बनाइँदै छ । मन्त्री र सचिवबीच मनमुटाव हुनेबित्तिकै वा मन्त्रीले भनेअनुसारका काम गर्न असमर्थता जनाउनेबित्तिकै हटाउने प्रचलनलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागिएको हो । कतिपय मन्त्रीले आफूअनुकूलको काम गराउन पनि जतिबेलै आफूले चाहेका सचिव ल्याउने र हटाउने गरेका छन् । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूको व्यवस्था गर्न बनाइएको विधेयक’ को ‘सरुवा र काज’ परिच्छेदको ९५० मा ‘राजपत्रांकित विशिष्ट र राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीलाई कम्तीमा एक वर्ष नपुगी अर्को कार्यालय सरुवा नगरिने’ प्रस्तावित छ । अहिलेको व्यवस्थामा भने सचिवलाई जुनसुकै बखत सरुवा गर्न सकिने व्यवस्था छ । सहसचिवलाई दुई वर्ष पुगेपछि मात्र सरुवा गरिने व्यवस्था भए पनि कार्यान्वयन भएको छैन । हाल नेपाल सरकारका ७१ सचिव र प्रशासन-प्राविधिक गरी करिब ६ सय सहसचिव छन् । संघीयता कार्यान्वयन गर्न सचिव र सहसचिवलाई स्थानीय तह र प्रदेशमा पनि खटाइएको छ । कान्तिपुरमा खबर छ ।