गाउँपालिका कार्यालयमा तोडफोड
काठमाडौं, चैत ३ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले रौतहट जिल्लाको विभिन्न स्थानमा स्थापना गरिएको गाउँपालिका कार्यालयमा झुण्डाएको साइनबोर्ड तोडफोड गरेका छन्। स्थानीय तह संरचनाको विरोध गर्दै उनीहरुले वोर्ड तोडफोड गरेका हुन्।
रौतहटमा तीन नगरपालिका र १३ गाउँपालिका सहित स्थानीय तह कार्यान्वयन भएका १६ वटा कार्यालयहरु मध्ये अधिकांश कार्यालयका साइनवोर्डहरु तोडफोड गरिएको छ।
जिल्ला समन्वय समितिको कार्यालयमा झुण्डयाइएका साइन बोर्डलाई मोर्चाका कार्यकर्ताहरुले बुधवार दिउँसो तोडफोड गरेका थिए। यसैगरी इशनाथ गाउँपालिका औरैयामा उद्घाटन कार्यक्रम संचालन भईरहदा मोर्चाका कार्यकर्ताहरुले कार्यक्रम विथोलेर आगजनी गरेका थिए।
यस्तै दुर्गा भगवती गाउँपालिका गंगापिपरा, माधवनारायण गाँउपालिका, गढीमाई, गुजरामाई, पतुवा विजयपुर, कटहरिया, देवाही, मौलापुर गाउँपालिकाहरुमा झुण्डयाइएको बोर्ड तोडफोड गरी जलाएपछि कामकाज ठप्प भएको जिल्ला समन्वय समिति रौतहटले जनाएको छ। समन्वय समितिका संयोजक उमेश बस्नेतले राजपुर र परोहा गाउँपालिकाको उद्घाटन गरिएको उनले बताए।
वृन्दावन गाउँपालिका विश्राम्पुरमा कार्यालय संचालन भएपनि राष्ट्रिय झण्डा र कालो झण्डा दुइटै झुण्डयाइएको जानकारी दिदै संयोजक बस्नेतले राजनीतिकरुपमा समस्या समाधान नभए सम्म स्थानीय तहमा काम गर्न निकै गाह्रो भएको बताए।
स्थानीय निकायको पुर्नसंरचनाको विषयलाई लिएर रौतहटमा विरोध गरेको मोर्चाले जनाएको छ। समान जनसंख्याको आधारमा स्थानीय तहको पुनर्संरचना हुनु पर्ने र संसदमा दर्ता रहेको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित हुनुपर्ने माग मोर्चाको रहेको नेपाल सदभावना पार्टीका नेता अनिल सिंहले बताए।
यो खबर आजको नागरिक दैनिकमा छ ।
तौल घटाउँदै सलमान
फाल्गुन २१ । चलचित्रका कलाकारहरुले तौल घटाउनु र बढाउनु भनेको उनीहरूको आगामी चलचित्रमा हुने भूमिका तथा चरित्रको आधारमा हुने गर्दछ । त्यस्तै बलिउड खान सलमान खानले पनि आफ्नो बढाएको तौल घटाउन लागेका छन् । चलचित्र ‘सुल्तान’ का लागि बढाएको तौललाई सलमानले व्यवस्थापन गर्न लागेका हुन् । सलमाले चलचित्र ‘सुल्तान’का लागि तौल बढाउनुका साथै कपाल समेत छोट्याएका थिए । यतिबेला सलमान खान ‘टाइगर जिन्दा है’ का लागि आफ्नो शरीरबाट करिब १८ केजी तौल घटाउँदैछन् । बलिउड चलचित्र ‘दंगल’ मा आमिरले तौल बढाएको तथा घटाएको देखेका सलमानले निर्देशकको आग्रहअनुसार अहिले चरित्रअनुरूप आफूलाई ढाल्न तौल घटाउन थालेका हुन् ।
पारिवारिक घटना दर्तासम्बन्धी जनचेतनामुलका प्रदर्शनी
ललितपुर, फागुन २१ । जनचेतनाका अभावमा परिवारिक घटनाको दर्ता नगराउँदा सर्वसाधारणहरु राज्यले दिने सेवा सुविधाबाट वञ्जित हुनुपरेका घटनाहरु गाँउघरमा धेरै भेटिन्छ । यही पारिवारिक घटनाको दर्ताका बारेमा जनचेतना जगाउने उद्देश्यले मानव अधिकारका लागि महिला एकल महिला (डब्लुएचआर)ले जिल्लाको चौघरे गाविसमा जनचेतनामुलक एक दिने प्रदर्शनी सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै चौघरे गाविसका सचिव चित्रध्वज खड्काले सर्वसाधरणमा जनचेतनाको कमी हुँदा पारिवारिक घटना दर्ता नहुने गरेको बताए । उनका अनुसार मानिसहरु आवश्यक पर्दा मात्र घटना दर्ता गर्न आउने गरेको बताए । स्थानीय समुदायमा बालविवाह हुँदा समयमै विवाह दर्ता गर्न कानुनी जटिलता हुने र यसले दीर्घकालिन असर पर्ने उनले बताए ‘सानैमा विवाह दर्ता हुन्छ । कानुनले बालविवाहलाई मान्यता दिएको छैन्’, उनले भने, ‘विवाह दर्ता नहुँदा नागरिकता बन्दैन्, नागरिकता नबन्दा उनीहरुबाट जन्मिने सन्तानको जन्मदर्तामा समेत समस्या उत्पन्न हुने गरेको छ ।’ कानुनी प्रक्रिया नबुझ्दा समेत समस्या थप जटिल बन्ने गरेको उनले बताए । ‘हामीकहाँ विवाह दर्ता गर्न बच्चा जन्मिएपछि आउँछन्, त्यो पनि महिला एक्लै’, उनले भने, ‘श्रीमान विदेशमा हुन्छन्, महिला एक्लै विवाह दर्ता गर्न आँउदा कानुनले हामीलाई रोक लगाउँछ, त्यसपति बच्चाको पनि जन्मदर्ता हुँदैन् ।’ यो समस्याले बालबालिका विद्यालयमा भर्ना हुन समेत नपाउने गरेको उनको भनाई छ । कार्यक्रममा बोल्दै महिला बालबालिका कार्यालय ललितपुरकी अधिकृत शारदा विजुक्छेले समयमै पारिवारिक घटना दर्ता गराएर राज्यले दिने सुविधाको उपयोग गर्न आग्रह गरिन् । कार्यालयले एकल महिलाहरुका लागि रकम विनियोजित गरे पनि पारिवारिक घटना दर्ता तथा स्थानीय स्तरमा जनचेतना नहुँदा रकम खर्च हुन नसकेको बताइन् । कार्यक्रममा बोल्दै डब्लुएचआरकी कार्यक्रम प्रवन्धक उपाश्ना राणाले पारिवारिक घटना दर्ताको महत्त्व बुझाउनकै लागि डब्लुएचआरले गाँउ गाउँमा जनचेतनामुलक प्रदर्शनी गर्दै आएको जानकारी दिइन् । अक्सफार्मको सहयोगमा साझेदार संस्थाहरु डिप्रोक्स नेपाल, एनफो ‘वातावरण र स्वास्थ्य’को सहकार्यमा डब्लुएचआरले चौघरे गाविसमा एक दिने जनचेतना मुलक प्रदर्शनी गरेको हो । प्रदर्शनीमा स्थानीय महिला तथा विद्यालयका बालबालिकाहरुले प्रदर्शनीको अवलोकन गरेका थिए । प्रदर्शनीमा जनचेतना मुलक नाटक अनागरिक समेत देखाइएको थियो ।
प्रचण्डको सफलताः चुनाव हुने नै भयो, देशले निकास पाउने नै भयो
काठमाडौं, फागुन १७ । एउटा समयसीमाभित्र जिम्मेवारीको भारी, खुट्टा तान्नेहरुको हुलबीच अघि बढ्नु र देशलाई एउटा स्थिर अवस्थामा पुर्याउनु । यी चुनौती होइनन् बरु ‘समस्याका अजम्मरी पहाड’ बनेर उभिएका थिए प्रधानमन्त्री प्रचण्डका अगाडि । त्यति सहज थिएन यो पहाडमा बाटो छिचोल्न । प्रचण्डलाई थकाउन, गलाउन र पहाडमा नै हराउने अवस्थामा पुर्याउन भरमग्दूर कोशीस पनि भए । कतिपय बेला लाग्यो– अब गले प्रचण्ड, अब थाके प्रचण्ड, तर प्रचण्डका तिघ्रा काँपेपनि तिनले बाटो छोडेनन् र देश एउटा गन्तव्यतर्फ अघि बढ्ने अवस्थामा पुग्यो । सरकारका लागि आम जनताका जनजीविकासँग जोडिएका अपेक्षाहरु पुरा गर्नुपर्ने दायित्व एकातिर छँदै थियो । यो त्यसो त नियमित दायित्व थियो । तर सरकारको मुख्य राजनीतिक कार्यभार पुरा गर्न आम जनतामा समेत सकारात्मक र उर्जाशील वातावरण बनाउनु अनिवार्य थियो । त्यसैले सुशासन र जनजीविकाका सवालमा सरकारलाई विशेष गरी सक्रिय पार्नुपर्ने चुनौती सरकारका काँधमा थियो । अर्कोतर्फ जनतन्त्रको सबैभन्दा ठूलो ऐतिहासिक जिम्मेवारी थियो । जसअन्तर्गत संविधानको सर्वस्वीकार्यता गरी तीनवटै तहको चुनाव गर्ने र शान्ति प्रक्रियाका बाँकी रहेका कामहरुलाई पुरा गरी नेपालको राजनीतिक संक्रमणकालको अन्त्य गर्नुपर्ने थियो । अन्ततः प्रचण्ड अजम्मरी पहाड छिचोल्न सफल भए । तरवारको धारमा रहेका उनी चिप्लिएनन् । अहिले शिखरमा पुगेका छन् र शिखर पारी सुन्दर नेपालको चित्र कोर्न अब पहाडको ओरालो हिँड्नु मात्रै बाँकी छ । संविधानको सर्वस्वीकार्यताका लागि मधेसको, थारुहरु, जनजातिका बिभिन्न समुदायको आवाजलाई सम्बोधन गर्नुपर्ने अवस्था थियो । यो स्वीकार्यता भएमात्रै चुनाव सम्भव थियो र यही राजनीतिक सहमतिको वातावरणमा शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा भएर देशले स्थायित्वका बाटो समाउँथ्यो । सरकार गठन गरेको दिनदेखि प्रचण्डका अगाडि तेर्सिएका यी चुनौतीहरुमा नेकपा एमाले मुख्य बाधा बनेर उभिएको थियो । सतिसालको रुख बरु ढल्छ होला, तर एमालेले प्रचण्डलाई एक कदम अघि बढ्न नदिने अवस्था थियो । कताबाट हुन्छ छटारो हान्ने, प्रहार गर्ने, हिलो छ्याप्ने काममा एमाले लाग्यो । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले त बालुवाटार नै नछिर्ने कसम समेत खाए । तर अन्ततः प्रचण्ड अजम्मरी पहाड छिचोल्न सफल भए । तरवारको धारमा रहेका उनी चिप्लिएनन् । अहिले शिखरमा पुगेका छन् र शिखर पारी सुन्दर नेपालको चित्र कोर्न अब पहाडको ओरालो हिँड्नु मात्रै बाँकी छ । हिजो सतिसाल झैं उभिएको एमाले अहिले मतदान गर्ने अवस्थामा पुग्यो । यो प्रचण्डको चानचुने सफलता थिएन । हतोत्साही नहुने र परिस्थितिसँग जुध्ने दरिलो आँट थियो । सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि निरन्तर सदन अवरुद्ध भयो । राजनीतिक खिँचातानीले शून्यता र जडताको अवस्था सिर्जना गर्यो । तर अन्ततः प्रचण्डले एमालेसँग घनिभूत छलफल चलाए । ओलीले समेत कैयन औपचारिक र अनौपचारिक छलफल गरे प्रचण्डसँग । राप्रपासँग कुराकानी भयो । मधेसी मोर्चासँग दर्जनौं चरणमा छलफल भयो । यसको परिणाम नै भनौं सदनमा संशोधन प्रस्ताव प्रक्रियामा अघि बढ्यो । पारित भएपनि नभएपनि यो एककदम अगाडि भयो राजनीतिक गतिरोध तोड्न । हिजो सतिसाल झैं उभिएको एमाले अहिले मतदान गर्ने अवस्थामा पुग्यो । यो प्रचण्डको चानचुने सफलता थिएन । हतोत्साही नहुने र परिस्थितिसँग जुध्ने दरिलो आँट थियो । तर यही बीचमा सरकारले निर्वाचनको घोषणा गरेपछि मधेसी मोर्चा बिच्कियो । समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता बिना चुनावमा जान नसकिने र संविधान संशोधन गर्नैपर्ने उसको अडान कायमै थियो । तर प्रचण्डले यो समस्याको पनि काट निकाले । उनले अन्ततः मधेसी मोर्चालाई समेत सहमतिमा ल्याउन सफल भए । यही परिस्थिति रहेमा मधेसी मोर्चा चुनावमा सहभागी हुने भएको छ । राप्रपा, एमाले, कांग्रेस, मोर्चालगायतका दलहरु चुनावमा सहभागी हुने र सदनमा प्रक्रियामा रहेको संशोधन प्रक्रिया अघि बढ्ने अवस्था सिर्जना भएको । यो प्रचण्डको निकै ठूलो सफलता हो । यही बीच प्रधानमन्त्रीले जनजीविकाका क्षेत्रमा समेत उल्लेख्य काम गरे । यी कामहरु भनिराख्नुपर्दैन । सम्भवतः यति छोटो समयमा दूरगामी महत्वका कामहरु भएको यो पहिलो पटक होला । म्यादी सरकारको उपमा पाएको अवस्थामा समेत उर्जा, वैदेशिक रोजगार, सुशासन, यातायात, कृषि, शिक्षा, स्वास्थ्यका क्षेत्रमा निकै दूरगामी महत्वका कामहरु अगाडि बढेका छन् । कतिको परिणाम देखिएको छ, कतिपयको परिणाम देखिनु बाँकी छ । राष्ट्रिय गौरवका आयोजनाहरुले गति लिएका छन् । यो अर्थमा प्रचण्ड ७ महिना नपुग्दै पूर्ण सफल भएका छन् ।
चैत १० मा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
म्याग्दी, फागुन १५ । म्याग्दी सदरमुकाम बेनीमा आगामी चैतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । म्याग्दीका युवाको नेतृत्वमा काठमाडौँमा स्थापित गंगटा युथ क्लबको आयोजनामा चैत १० देखि १२ गतेसम्म बेनीमा चौथो खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । राष्ट्रियस्तरका व्यावसायिक र विभागीय टोलीका खेलाडीसमेत सहभागी हुने प्रतियोगिताको तयारी तीव्र पारिएको क्लबले बेनीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । क्लब स्थापनासँगै काठमाडौँमा निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितालाई यसपटक म्याग्दीमा आयोजना गरिएको क्लबका अध्यक्ष रमेश पुनले बताए । प्रतियोगितामा राष्ट्रियस्तरका पाँच र स्थानीय एक गरी ६ इभेन्टमा खेल खेलाइने छ । बेनीस्थित कबर्डहलमा हुने प्रतियोगितामा देशभरका करिब ३०० खेलाडीले सहभागिता जनाउने अध्यक्ष पुनले जानकारी दिए । प्रतियोगिताअन्तर्गत मेन्स डबल इभेन्टमा विजयी हुनेलाई सर्वाधिक पुरस्कार राशि रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । त्यस्तै द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ५० हजार र रु २५ हजार पुरस्कार प्रदान गरिने क्लबका उपाध्यक्ष योगेन्द्र गुरुङले बताए । प्रतियोगिताअन्तर्गत मेन्स सिङ्गल इभेन्टमा प्रथमलाई रु ६० हजार, द्वितीयलाई रु ३० हजार र तृतीयलाई रु पाँच हजार तथा उमेन्स सिङ्गल, भेटरान्स डबल र १७ वर्षमुनिका पुरुषको सिङ्गल इभेन्टमा प्रथमलाई रु ५० हजार, द्वितीयलाई रु २५ हजार र तृतीयलाई रु पाँच हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । सहभागी हुने खेलाडीलाई खान र बस्नको व्यवस्था निःशुल्क गरिएको प्रतियोगितामा करिब रु १७ लाख खर्च हुने अनुमान गरिएको छ ।
अपडेट : शिव मन्दिरमा ग्यास सिलिन्डर पड्कीँदा एकको मृत्यु, ८ जना घाइते
सुनसरी, फागुन १३ । सुनसरीको सिमरियास्थित शिव मन्दिर परिसरमा ग्यास सिलिन्डर पड्किदा गम्भिर घाइते भएका एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था अझै गम्भिर रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेमा मोरङ कटारीका ३० वर्षका सोमराज माझी रहेका छन् । माझीको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गम्भिर घाइतेहरु मोरङ गछियाकी ३२ वर्षकी तारा मण्डल र नाम नखुलेका एक पुरुषको पनि त्यही अस्पतालमा उपचार भइरहेको छ । ग्यास सिलिन्डरबाट बेलुन फुलाएर बिक्री गर्दै आएका दुहवी भलुवा नगरपालिका–६ का व्यापारीद्वय भगवान साह र राधेश्याम साह प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले बताएका छन् । याे पनि पढ्नुस् https://everestdainik.com/2017/02/82869/
राजदूत सिफारिस र दूतावास खोल्ने विषयमा परराष्ट्र मन्त्रालय बेखबर
काठमाडौं, फागुन ११ । सरकारले सोमबार १४ मुलुकका लागि गरेको राजदूत सिफारिस तथा स्पेनमा दूतावास खोल्ने निर्णय लिनुअघि तालुकदार निकाय परराष्ट्र मन्त्रालयलाई संस्थागत रूपमा सहभागी नगराएको पाइएको छ। मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिसको निर्णय लिँदा परराष्ट्र मन्त्रालयका सचिव र उच्चाधिकारीहरू त्यसबारे पूर्ण बेखबर थिए। ‘राजदूत सिफारिस हुँदै छ भन्ने हल्ला मिडियामा आइरहेको थियो। तर, सोमबारै राजदूत सिफारिस हुन्छ भन्ने पूर्वजानकारी थिएन’, मन्त्रालयका अधिकारीहरूले भने। मन्त्रिपरिषद्ले निर्णय गरेपछि परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले परराष्ट्र अधिकारीहरूलाई टेलिफोनमा यसबारे जानकारी दिएका थिए। राजदूत सिफारिस गर्दा तालुकदार निकाय परराष्ट्र मन्त्रालयको परामर्श तथा सुझाव लिने प्रचलन छ। सत्ता साझेदार दल कांग्रेसले ६ देशमा, माओवादीले चार देश, राप्रपाले तीन देश र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) ले एक देशमा राजदूत नियुक्ति सिफारिसका लागि भागबन्डा गरेका छन्। परराष्ट्र सेवाबाट कसैलाई पनि यसपटक सरकारले राजदूत सिफारिस गरेको छैन। सत्तारूढ दलका नेताले खल्तीमा बोकेर हिँडेका व्यक्तिको नाम सिधै मन्त्रिपरिषद्मा पेस भएको बुझिएको छ। ‘कुन खालका व्यक्ति राजदूत सिफारिस गर्न लागिएको हो तथा ती व्यक्तिको विज्ञता र योग्यता के हो भन्नेबारे मन्त्रालयमा कुनै छलफल तथा परामर्श गरिएन। मन्त्रीले सिधै मन्त्रिपरिषद् बैठकबाट राजदूत सिफारिस भइसकेपछि त्यसको सूचना परराष्ट्र सचिवलाई दिएका रहेछन्’, मन्त्रालयका एक उच्च अधिकारीले भने। सरकारले सिफारिस गरेका राजदूतमध्ये सबैभन्दा विवादित शर्मिला पराजुली ढकाल हुन्। ओमनका लागि राजदूत सिफारिस पराजुली म्यानपावर व्यवसायी हुन्। मधेसी जनाधिकार फोरम कोटामा राजदूत सिफारिस उनीविरुद्ध परराष्ट्र मन्त्रालय, मलेसिया र युएईस्थित नेपाली दूतावासमा मानव तस्करीमा संलग्नताको उजुरी परेको छ। कांग्रेस कोटामा राजदूत सिफारिस आशा लामा पनि म्यानपावर व्यवसायी हुन्। ड्याफोडिल स्कुलकी प्रिन्सिपल लामाले युएईमा गैरकानुनी रूपमा मान्छे पठाएर अलपत्र पारेको उजुरी आबुधावीस्थित नेपाली दूतावासमा छ। ‘नेपाली कामदारको हकहित र कल्याण हेर्न खाडी मुलुकमा दूतावास खोलिएका हुन्। अब युएई र ओमनजस्ता कामदार धेरै रहेका मुलुकमा म्यानपावर व्यवसायीलाई राजदूत सिफारिस गरेर के गर्न खोजिएको होला ? ’ परराष्ट्रका अर्का उच्च अधिकारीले टिप्पणी गरे। राप्रपा कोटामा जापानमा राजदूत सिफारिस प्रतिभा राणा कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू हुन् । त्यस्तै, राप्रपा अध्यक्ष कमल थापाका सम्धी पूर्वसैनिक अधिकारी भरत रायमाझीलाई स्पेनमा राजदूत सिफारिस गरिएको छ। अहिले २९ मुलुकमा आवासीय दूतावास, राष्ट्रसंघीय मामिला हेर्ने तीन नेपाली स्थायी नियोग र पाँचवटा महावाणिज्यदूतावास छन्। तीमध्ये ब्राजिल, डेनमार्क, श्रीलंका, म्यानमार र इजिप्टस्थित नेपाली दूतावास बन्द गर्न विज्ञले सुझाव दिइरहेका छन् । यो खबर अाजको अन्नपूर्ण पोस्टमा छ ।
जोखिम मोल्न सिपालु प्रचण्ड
आइतबार साँझ बालुवाटारमा तीनवटा महत्वपूर्ण बैठक बसे । प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरे । आयोगसँगको छलफल मुख्यतः चुनावको तयारीसँग सम्बन्धित थियो । त्यही दिन नेपाली कांग्रेस र मधेसी मोर्चाका शीर्ष नेताहरुसँग छलफल भयो । यो छलफल पनि निर्वाचनको मिति घोषणा गर्नेसँग सम्बन्धित थियो । खासगरी संविधान संशोधन नभई निर्वाचन घोषणा गर्न नहुने मोर्चाको अडानबीच चुनावको मिति घोषणा गर्न प्रचण्डले कसरत सुरु गरेका थिए । मधेसी मोर्चा र कांग्रेसका शीर्ष नेताका बीचको छलफलमा संशोधन र निर्वाचनका विषयमा नै गम्भीर कुरा भयो । यो सँगै प्रधानमन्त्रीले सत्तारुढ नेपाली कांग्रेसका नेताहरुसँग समेत निर्वाचनको मितिबारे छलफल गरे । आन्तरिकरुपमा आफ्नो पार्टीसँग समेत उनको छलफल भयो । सोमबार मन्त्रीपरिषदको बैठकले निर्वाचनको मिति घोषणा गर्ने दिन । यो निर्णय गर्नु त्यति सहज पक्कै थिएन प्रचण्डका लागि किनभने मधेसी मोर्चाले संविधान संशोधन नभई चुनाव भएमा आन्दोलनमा जाने कुरा गरिसकेको थियो । अर्कोतर्फ चुनावको घोषणा नभई संविधान संशोधनको कुरा नै हुँदैन भनेर एमाले गौंडा ढुकेर बसेको अवस्था छँदै थियो । प्रचण्डका अगाडि भीरमा दायाँ जाउँ, लडिएला भन्ने डर, बाँया जाउँ खसिएला भन्ने डर जस्तो अवस्था थियो । यता एमाले, उता मधेसी मोर्चा । चुनाव र संविधान संशोधनमार्फत संविधानको सफल कार्यान्वयनका लागि सबैलाई एक ठाउँ ल्याउन उनले सयभन्दा बढी औपचारिक अनौपचारिक छलफल आफ्नो कार्यकालमा अहिलेसम्म गरे होलान् एमाले र मोर्चासँग । तर दुबै राष्ट्रिय सहमतिका पक्षमा लचक हुन खोजेनन् । एउटालाई निर्वाचन चाहिएको अर्कोलाई संविधान संशोधन र यी दुबै नमिली न चुनाव हुने सम्भावना न त संविधान संशोधन नै । प्रचण्डका अगाडि यो पेचिलो अप्ठ्यारो जानि जानि सिर्जना गरिएको थियो । किनभने प्रचण्डको सरकारलाई असफल पार्नका लागि प्रधानमन्त्री भएकै दिनदेखि अनर्गल प्रचार र भ्रम छर्न शुरु भएको थियो । काम गर्दा समेत आलोचना हुनु, राष्ट्रिय सहमति गर्न खोज्दा आफ्नो लिंडेढिपी नछोड्ने प्रवृत्ति र संविधान असफल हुने खतरा हुँदा समेत जिम्मेवार नहुने एमाले प्रवृत्ति झेलेका प्रधानमन्त्रीका लागि समय पर्खिनुको पनि विकल्प थिएन । एमालेले प्रधानमन्त्रीले निर्वाचन गर्न सक्दैन र चाहँदैन भन्ने भ्रम पार्न खोजेको थियो । यसलाई चिर्न पनि निर्वाचनको घोषणा गर्नैपर्ने अवस्था थियो । तर उता मधेसी मोर्चाको मागलाई समेत उपेक्ष ागर्ने अवस्था थिएन । हिजो ठीक यही बिन्दुमा प्रचण्ड पुगेका थिए । उनले त्यतिखेर संविधान संशोधन प्रस्तावमा सबै पक्षलाई सहमतिमा ल्याउन खोजे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संविधान संशोधन प्रस्तावका बारेमा बालुवाटारमा समेत छलफल भयो । तर अन्तत सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावमा न मधेसी मोर्चाले सहमति जनायो न त नेकपा एमालेले नै । आफू सहमत नहुने तर बाहिर बाहिर भने सरकारले काम गर्न नसकेको या संविधान संशोधन गर्न नचाहेको प्रचार एमालेले गरिरहेको थियो । त्यतिखेर पनि प्रचण्डका अगाडि निकै ठूलो जटिलता देखिएको थियो । तर जोखिम मोल्न नडराउने प्रचण्डले आलोचनाहरुको चाङका जोखिम मोलेर संविधान संशोधन प्रस्ताव टेबल गराए । एमालेको कडा प्रतिरोध, निरन्तरतको सदन बहिस्कारबीच उनले यो काम सम्पन्न गर्न सकेका थिए । यसले कम्तीमा सरकार उदासीन छैन र सरकारले संविधान कार्यान्वयन गर्न खोजेको छ भन्ने सन्देश दिन सफल भयो । अहिले निर्वाचनको घोषणाका लागि पनि प्रचण्डले जोखिम नै मोले । उनले बारम्बार आफू इतिहासको कठीन घडीमा रहेको र असफल हुने र सफल हुने खतरा उत्तिकै रहेको बताउँदै आएका छन् । जोखिम नलिएको भए नेपालमा राजतन्त्र नै ढल्दैनथ्यो भन्ने प्रचण्डले अहिले आएर निर्वाचनको घोषणा गरेर मधेसी मोर्चालाई बिच्क्याएको भन्ने अनुमान कतिपयले गरेका छन् । तर त्यसो पक्कै पनि होइन भन्ने आधारहरु समेत रहेका छन् । मधेसी मोर्चाले राजनीतिक एजेण्डा जिवित राख्न अहिले आन्दोलन गर्नुपर्ने बाध्यता रहेपनि संविधान संशोधनको विषयमा उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई सहयोग गर्ने स्पष्ट नै देखिन्छ । तर पनि यो प्रचण्डका लागि ठूलो जोखिम भने अवश्य नै थियो । प्रचण्डले आफ्नो जीवनकालमा कैयन यस्ता निर्णयहरु जोखिम मोलेर नै गरेका छन् । जनयुद्धको उठान, शान्ति प्रक्रियामा आउने निर्णय, सेना समायोजन, प्रधानमन्त्री पदबाट राजीनामा, १६ बुँदे सहमति जस्ता कतिपय विषयमा उनले यसरी जोखिम नमोलेको भए नेपाल यथास्थितिबाट अगाडि जाने अवस्था आउने थिएन । यो जोखमको मूल्य उनी र उनको पार्टीले चुकाउने पर्ने अवस्था समेत कतिपय बेला नआएको होइन । तर पनि उनले जोखिम मोलेर देशलाई भने अग्रगमनतर्फ धकेलेकोमा दुईमत हुन सक्दैन । जोखिम मोल्न प्रचण्ड सिपालु नहुन्थे भने न नेपालमा राजतन्त्र ढल्थ्यो न त गणतन्त्रातिक संविधानको निर्माण नै । अहिलेको जोखिमले प्रचण्ड या पार्टीलाई कत्तिको फाइदा पुर्याउला भन्ने कुरा इतिहासको गर्भमा छ । तर यसले संविधान कार्यान्वयनमार्फत संघर्षका ऐतिहासिक उपलब्धि जोगाउन भने पक्कै पनि ठूलो भूमिका निर्वाह गर्नेमा शंका गर्नुपर्दैन ।
आरआरमा क्रान्तिकारीबाट सभापतिका लागि वाग्ले
काठमाडौ, माघ ९ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा स्ववियु सभापतिमा ध्रुवराज वाग्ले, सचिवमा मनोज खतिवडा र कोषाध्यक्षमा सागर लिम्बूलाई अघि सारेको छ । आरआर क्याम्पस समितिको बैठकबाट सर्वसम्मत रुपमा प्रत्यक्षतर्फका तीन कार्यकारी पदका उम्मेदवार टुङ्गो लगाइएको थियो । क्रान्तिकारीका केन्दीय सदस्य समेत रहेका वाग्ले स्याङ्जाका स्थायी बासिन्दा हुन् । समाजशास्त्र विषयमा स्नातकोत्तर तह प्रथम वर्षमा अध्ययनरत वाग्ले उम्मेदवारी घोषणापछि सभापति उम्मेदवार यसपटक आरआरमा क्रान्तिकारीको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।
देशको विकासमा योगदान गर्ने जनशक्ति प्राथमिकताको विषय बन्नुपर्छ– राष्ट्रपति
पोखरा, फागुन ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकासमा ठोस योगदान दिन सक्ने र हाम्रो आवश्यकताअनुरुपको शैक्षिक जनशक्ति तयार गर्ने विषय विश्वविद्यालय एवम् उच्च शैक्षिक प्रतिष्ठानको प्राथमिकतामा पर्नुपर्ने बताएको छ । पोखरा विश्वविद्यालयको चौधौँ दीक्षान्त समारोहलाई आज विश्वविद्यालयको केन्द्रीय कार्यालय लेखनाथमा सम्बोधन गर्दै उनले भने– ‘उत्पादित जनशक्तिले स्वदेशमै रोजगारी पाउन नसक्दा शिक्षित युवा जोखिमयुक्त र अल्प रोजगारीका लागि विदेशमा पलायन हुन बाध्य बन्नु आजको तीतो, दुखद तर यथार्थ परिदृश्य हो ।’ राष्ट्रपति भण्डारीले हाम्रा विश्वविद्यालयबाट उत्पादित जनशक्तिले अन्तर्राष्ट्रिय जगतमा नगण्यमात्र योगदान गर्न सक्नु दुखद विषय भएको उल्लेख गर्दै ‘मुलुकमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाले हाम्रो वास्तविक आवश्यकतालाई पूरा गर्ने र अन्तर्राष्ट्रिय बजारमा खपत हुने जनशक्ति उत्पादन गर्न सचेत रहनु आजको भूमण्डलीकरणको युगमा समयसापेक्ष हुन आउँछ भने ।’ मुलुकका समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने संवैधानिक मूल्य–मान्यता र आदर्शलाई मूर्तरुप दिन हाम्रो शिक्षा प्रणाली त्यहीअनुरुप तर्जुमा गरी कार्यान्यन गर्नु आजको सर्वोपरी आवश्यकता भएकोमा जोड दिदैं उनले नेपालमा पर्याप्त स्रोत साधन रहेको र तिनीहरूको समुचित परिचालनबाट देशले चाँडै नै आर्थिक समृद्धि हासिल गर्न सक्ने बताएको छ । राष्ट्रपति भण्डारीले ज्ञान तथा सीप हासिल गरेका युवा जनशक्ति र प्राकृतिक स्रोतसाधनको यथोचित र समन्वयात्मक परिचालनले देशको सर्वाङ्गीण विकासको गति बढाउन सकिने बताए । दीक्षित विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै उनले आफ्नो देश, समाज र जनताप्रति समर्पित बन्दै यहाँको मौलिकता, संस्कृति र वैभवप्रति गर्व गरी राष्ट्रको समुन्नतिका लागि प्रतिबद्ध रहन आग्रह गरे । विश्वविद्यालयका सहकुलपति एवम् शिक्षा मन्त्री धनीराम पौडेलले दीक्षित विद्यार्थीले प्राप्त गरेका ज्ञान तथा सीपलाई समाज र राष्ट्रको हितमा उपयोग गर्ने विश्वास व्यक्त गरे । संविधानले समुन्नत राष्ट्र निर्माणको परिकल्पना गरिएको र शिक्षा स्वास्थ्यजस्ता विषयलाई मौलिक अधिकारका रुपमा स्थापित गरेको उल्लेख गर्दै उहाँले समयानुकूल शिक्षाको गुणस्तरीयता अभिवृद्धि गर्दै जानुपर्ने धारणा व्यक्त गरे । मन्त्री पौडेलले योग्य एवम् सक्षम जनशक्ति समग्र राष्ट्र विकासका लागि आवश्यक रहेकोमा पनि जोड दिए । विश्वविद्यालयका उपकुलपति प्रा चिरञ्जीवीप्रसाद शर्माले चौधौँ दीक्षान्त समारोहमा २०७३ साल माघ महिनासम्म ट्रान्सक्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रम तह पार गरेका करिब पाँच हजारजना विद्यार्थी दीक्षित भएको जानकारी दिए । ‘प्रतिस्पर्धाका आधारमा उच्च शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्दै देशको शैक्षिक एवम् प्राज्ञिक वातावरणलाई बढी स्वच्छ, मर्यादित र उपलब्धिमूलक तुल्याउनु विश्वविद्यालयको प्रमुख लक्ष्य रहेको छ’– उनले भने । विश्वविद्यालयको परीक्षा प्रणालीलाई त्रुटिरहित,चुस्त र मर्यादित तुल्याउन, प्रशासनिक कार्यहरूलाई छिटो छरितो तुल्याउन तथा पठनपाठनलाई व्यवस्थित, परिणाममुखी र अनुसन्धानमूलक तुल्याउन विश्वविद्यालयले विभिन्न योजना अघि सारेको उपकुलपति शर्माले जानकारी दिए । दीक्षान्त समारोहमा विभिन्न विषयमा उत्कृष्टता हासिल गरी डिन लिस्टमा समावेश भएका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई लक्ष्मी विद्या स्वर्ण पदकका साथै कुलपति तथा उपकुलपति पदकबाट सम्मान गरिएको थियो । राष्ट्रपति भण्डारीले विश्वविद्यालयको नवनिर्मित प्रशासकीय भवनको आजै एक समारोहबीच उद्घाटन ग’] ।
नासुमा मागभन्दा १६६ गुणा बढी आवेदन
काठमाडौं, फागुन ५ । लोकसेवा आयोगले राजपत्रअनंकित प्रथम श्रेणी (नायब सुब्बा) पदमा माग गरेभन्दा करिब १६६ गुणा बढी आवेदन परेको छ । आयोगले माग गरेको चार सय ५८ पदमा ७६ हजार तीन सय ९९ जनाको आवेदन परेको दरखास्त संकलन शाखाका अधिकृत नारायण गौतमले जानकारी गराए । आयोगले गत पुसको अन्तिम सातादेखि माघ २८ गतेसम्म रापअ प्रथम श्रेणीका विभिन्न समूहका पदमा आवेदन माग गरेको थियो । अनलाइनमार्फत् फाराम भरेकामध्ये ६७ हजार आठ सय ९८ जनाले आयोगमार्फत् तथा अन्यले हुलाकमार्फत् शुल्क बुझाएको उनले जानकारी गराए । उनकाअनुसार पाँच विकास क्षेत्रबाट आवेदकले फाराम भरेका थिए । रापअ प्रथम श्रेणी समूहमा नासुका लागि प्रशासन, परराष्ट्र, राजस्व, लेखा र न्यायसेवातर्फ विज्ञापन गरिएको थियो । नासुको यही फागुन २८ गते परीक्षा हुँदैछ ।
कृषि मन्त्रालयकाे यस्ताे छ याेजना
जुम्ला, फागुन छ । कृषि विकास मन्त्रालयको ‘एक गाविस, एक कृषि प्राविधिक’ नीति कार्यान्वयन तहमा पुगेको छ । उक्त नीतिअनुसार जिल्ला कृषि विकास कार्यालयले गतवर्ष हाँकु, लाम्रा, रारालिही र पाण्डव गुफा गाविसमा चारजना कृषि प्राविधिक नियुक्त गरेको थियो । चालु आवमा आठ जनालाई कृषि प्राविधिकमा सिफारिस गरिएको वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले जानकारी दिए । सिफारिस गरिएका प्राविधिकलाई गुठीचौर, छुमचौर, ताम्ती, घोडमहादेव, बड्की, शनिगाउँ, बुम्रमाडीचौर र मालिकाबोता गाविसमा खटाइएको छ । गत वर्ष कृषि प्रसार सेवामा कृषिको पहुँच वृद्धि गर्ने, सेवा प्रवाहमा सहजता र छरितोपन दिने उद्देश्यले जनशक्ति थप गरिएको कार्यालयले जनाएको छ ।
बुढासुब्बा गोल्डकपमा भारतका दुई टीम सहित १० टोली भिड्ने
धरान, फागुन ५ । बुढासुब्बा रेडबुल गोल्डकपमा भारतका दुई टीम सहित १० टीमले सहभागिता जनाउने भएका छन् । बुढासुब्बाको १९ औं संस्करण शुक्रबारदेखि धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा हुदैँछ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ। प्रतियोगितामा पहुना टोलीको रुपमा भारतबाट दुर्गापुर र युनाइटेड सिक्किम फुटबल क्लबले पहिलो पटक भाग लिएका छन्। युनाइटेड सिक्किम पुर्वभारतीय कप्तान भाइचुङ भुटियाले सञ्चालन गरेको एकेडेमी हो। फागुन १४ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन कांग्रेस नेता एवं सांसद मिन विश्वकर्माले गर्ने तयारी भएको छ । प्रतियोगिताको उद्घाटन खेल पाहुना टोली दुर्गापुर स्टिल कलकत्ता, भारत र संकटा एफसि काठमाडौंबीच हुनेछ । एपिएफ क्लब, काँकडभिट्टा ट्रेनिङ सेन्टर झापा, रुपन्देही फुटबल क्लब, पोखरा फुटबल क्बल र नेपाल पुलिस क्लबले पनि प्रतियोगितामा भाग लिनेछन्। आयोजकको पहेलो (सिनियर) र निलो (जुनियर) गरी दुई टिमले भाग लिने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए। डिफेन्डिङ च्याम्पियन मनाङ मर्याङ्दी क्लबले भने यो संस्करण गुमाएको छ । मनाङ बंगलादेशमा हुने शेख कमल अन्तराष्ट्रिय क्लब च्याम्पियनसिपमा सहभागीता जनाउने भएकाले यसपटकको खेल मनाङले गुमाएको हो । मनाङले बुढासुब्बाको छैटौं, १३ औं र १८ औं संस्करण जितेको थियो । ‘जति क्लबले सहभागीता जनाएका छन्, ती सबै जारी सिजनका उत्कृष्ट टिम छन्। केहीले त उपाधि पनि जितेका छन्’, एन्फा केन्द्रीय उपाध्यक्षसमेत रहेका राईले भने–‘आयोजकले पनि उपाधि जित्ने लक्ष्य राखेर २ टिम बनाएको छ। राष्ट्रिय टिमका खेलाडीहरु पनि आउने भएकोले हरेक खेल रोमाञ्चक हुनेछन्।’ घरेलु मैदानमा चार पटक फाइनल पुगेपनि आयोजक अहिलेसम्म उपाधिविहिन छ। प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउनेछ। गत संस्करणमा विजेता र उपविजेताको पुरस्कार राशी ४ लाख र २ लाख थियो। उत्कृष्ट खेलाडीले एक थान यामाहा मोटरसाइकल र सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउने महासचिव प्रताप तामाङले बताए। उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्ड र उत्कृष्ट प्रशिक्षकले जनही नगद १५ हजार पाउनेछन्। हरेक खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजारसहित उपहार पनि दिइने उनेले बताए। कुल ६५ लाख ६७ हजार ५ सय आय हुने अनुमान गरिएको प्रतियोगितामा ५४ लाख ८५ हजार खर्च हुने आँकलन छ।
स्वस्थानी व्रत साङ्गे
काठमाडौँ, माघ २८ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी व्रत कथाको आजबाट साँगे गरिएको छ । श्री स्वास्थानीको पूजाआजा गरी आजबाट स्वास्थानी साँगे गरिएको हो । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बस्नुका साथै हरेक दिन स्वस्थानी कथावाचन र श्रवण गरेका थिए । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार निराहार बसी स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पार्वतीले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गरेकाले परम्परागत रूपमा सो कथा प्रचलित हुँदै आएको मानिन्छ । काठमाडौंको साँखुस्थित शालीनदीमा आज भक्तजनहरुको अत्याधिकै घुँइचो लागेको थियो ।
यस्तो छ गगन थापासँग कालीकोटवासीको माग
काठमाडौँ, माघ २४। कालीकोट जिल्ला अस्पताललाई ५० श्यया बनाउन माग गर्दै कालीकोटवासीले स्वास्थ्यमन्त्री गगनकुमार थापासँग माग गरेका छन् । नेपाल तरुण दलका महासचिव एवम् काँग्रेस कालीकोटका नेता भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्रीलाई एक ज्ञापनपत्र बुझाउँदै सो माग राखेका हुन् । शाहीले कालीकोटमा विशेषज्ञ डाक्टर नहुँदा अकालमा धेरै मानिसले ज्यान गुमाउनुपरेको जनाउँदै जिल्लामा ५० श्ययाको अस्पताल माग गरिएको बताए । उनले भने, ‘कालीकोटवासी स्वास्थ्योपचारका लागि नेपालगन्ज, काठमाडौँलगायत सहर पुग्नुपरेको र गरिबले स्वास्थ्य उपचार नपाएर मर्नुपरेको छ ।” ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री थापाले कालीकोट जिल्ला अस्पताललाई चाँडै ५० श्ययाको अस्पताल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस
अबदेखि घलेगाउँमा पर्यटकले पालन गर्नुपर्छ १२ बुँदे आचारसंहिता
लमजुङ, माघ २४ । सार्क राष्ट्रमै नमुना मानिएको घलेगाउँमा आउने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने भएको छ । घलेगाउँ पर्यटन विकास समितिले गाउँमा आउने पर्यटकका लागि १२ बुँदे आचारसंहिता बनाएको हो । सो आचारसंहितामा गाउँमा आउने सबै पर्यटकले पहिले स्थानीय समितिमा नाम दर्ता गराउनुपर्ने हुन्छ । नाम दर्ता गराएसँगै समितिले पाहुनाको स्वागतसहित व्यवस्थापन गर्छ । पर्यटकले स्थानीय उत्पादन बाहेक गाउँमा उपलब्ध नहुने कुनैपनि कुरा माग गर्न पाउँदैनन् । स्थानीयवासीको क्षमताभन्दा बाहिरको कुनै पनि चिज लेनदेन गर्न नपाइने पनि आचारसंहितामा उल्लेख छ । बाल दुव्र्यव्यवहार, बाल तथा महिला बेचबिखन, यौनजन्य दुव्र्यवहार, लागुऔषध सेवन लगायतका क्रियाकलाप निषेध गरिएको छ । पर्यटकले स्थानीय समुदायमा कुनै असर गर्ने क्रियाकलाप गर्न नपाउने कुरा उल्लेख छ । स्थानीय कला, संस्कृति र सस्कारका साथै स्थानीय पर्यावरणमा असरपुग्ने कुनै पनि क्रियाकलाप गर्न पर्यटकलाई निषेध गरिएको छ भने उनीहरुले तोकिएका नियम पालना गर्नुपर्ने पनि आचारसंहितामा उल्लेख छ ।