महोत्तरीमा अज्ञात रोगः मृतकको संख्या ११ पुग्यो
महोत्तरीः जिल्लाको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ ।
आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बर्दिवास–१२ मेघरोल र भङ्गाहा–७ मेघनाथ गोरहन्नामा गत मङ्गलबारयता शुक्रबारसम्म ८ जनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेमा बर्दिवास–१२ का चार, भङ्गाहा–७ का छ र भङ्गाहा–६ का एक रहेका सो कार्यालयले जनाएको छ । ती तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका छन् ।
भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शवपरीक्षण जाँचले निक्र्योल गर्ने जानकारी दिए ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आज डा अमृत पोखरेल र विश्व स्वास्थ्य सङ्गठनका डा. सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली यी बस्तीमा पुगेको छ । टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको डा. पोखरेलले बताए ।
मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव (सिताई) महराको शव परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
आजको सुनचाँदीको मूल्य
काठमाडौंः नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला सोही मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि स्थिर नै रहेको छ । आइतबार पनि तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँ नै निर्धारण गरिएको छ । चाँदीको भाऊ पनि आइतबार स्थिर नै रहेको छ । शुक्रबार प्रतितोला ८ सय ५० रुपैयाँ रहेको चाँदी आज पनि यही मूल्यमा कारोबार भइरहको महासंघले जनाएको छ ।
सरु र सुभाषको ‘जाउँन माया भागेर’ युट्युब ट्रेन्डिङमा (भिडियोसहित)
काठमाडौंः पछिल्लो समय एकपछि अर्को चर्चित गित नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल गायिका सरु गौतम र गायक सुभाष पुरीको ‘जाउँन माया भागेर’ बजारमा आएको छ । गीतकार कुमार कटुवालको शब्द तथा संगीतकार दिपक शर्माको संगीत रहेको सार्बजनिक म्यूजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेका हुन् । भिडियोलाई ‘द कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा सरोज अधिकारी, आश्मा बिश्वकर्मा र जुनियर कार्टुन क्रुलाई देखाइएको छ । शुक्रबार सार्वजनिक भएको ‘जाउँ माया भागेर’ ‘युट्युब ट्रेन्डिङ’मासमेत उक्लिएको छ । शनिबार साँझसम्म यो गीत ‘युट्युब ट्रेन्डिङ’को ३० नम्बरमा छ । यो अवस्थामासम्म गीतको भिडियोले ४ लाख ६२ हजार बढी भ्यूज पाइसकेको छ ।
नेकपामा सभामुखको खोजी सुरु
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ । बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा यो विषयले प्रवेश पाएको हो । बैठकमा नेताहरूले सभामुख कहिले चयन हुने भनी शीर्ष नेताहरूसँग प्रश्न गरेका थिए । नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले व्यक्ति को बन्ने हो त्यो थाहा छैन तर नेकपाबाट नै सभामुख बन्ने निश्चित रहेको बताए । संसदीय दलको बैठकमा यसको चर्चा भए पनि छलफल नभएको बताउँदै उनले नेकपाले सभामुखमा दाबी गर्ने बताए । बैठकमा पार्टी एकता, स्थायी कमिटी बैठक, केन्द्रीय कमिटीको बैठकमा कुरा राखेका थिए । स्थायी कमिटीको बैठक जारी छ । त्यसपछि केन्द्रीय कमिटीको बैठक बसेर पार्टीको कार्ययोजनासहित जनतामा जाने तयारी भइरहेको धारणा राख्दै अध्यक्ष प्रचण्डले त्यसका लागि तयार रहन सांसदलाई निर्देशन दिएका थिए । बैठकमा हिउँदे अधिवेशन चल्दा संसदीय दललाई व्यवस्थित तरिकाले अगाडि बढाउने विषयमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले धारणा राखेका थिए ।
चलचित्र ‘शुभ मंगल’ बन्ने, कुशल–सुरवीना मुख्य भूमिकामा
काठमाडौंः प्रेमकथामा ‘शुभ मंगल’ नामक फिल्म निर्माण हुने भएको छ । अष्ट्रेलियामा बस्दै आएका निर्देशक मनोज अधिकारीले निर्देशन गर्ने फिल्ममा कुशल थापा, सुरवीना कार्की, बिकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डेलगायतका कलाकारले अभिनय गर्ने छन् । देउराली फिल्मस्को ब्यानरमा संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको फिल्मको सुटिङ नेपाल र अष्ट्रेलियामा गरिने जानकारी निर्देशक अधिकारीले दिएका छन् । अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम,सम्बन्धलगायतका बिबिध बिषयमा निर्माण हुने फिल्मको केही समयपछि औपचारिक रुपमा घोषणा गरिने बताइएको छ । निर्देशक अधिकारीकै लेखन रहेकोको सुटिङ केही समयपछि थालिने छ । फिल्मका अन्य कलाकार तथा प्राबिधिक चयन कार्य जारी रहेको निर्देशक अधिकारीले बताएका छन् ।
कराँतेमा लक्ष्मण तामाङले दिलाए नेपाललाई स्वर्ण
काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको पुरुष कुमुतेमा लक्ष्मण तामाङले नेपाललाई स्वर्णपदक दिलाएका छन् । सोमबार कातातर्फ स्वर्ण जितेको नेपालले फाइट (कुमुते) तर्फ पनि शुरुमै स्वर्ण जितेको हो । ५५ केजी तौल समूहमा लक्ष्मणले बंगलादेशका मोहम्मद मस्तोफालाई १–० ले पराजित गरे । सेमिफाइनलमा उनले श्रीलंकाका वार्नाकुला सूर्यलाई पराजित गरेका थिए ।
हङकङका विस्फोटक ब्याट्सम्यान आउट, नेपाल जित नजिक
काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याइरहेको हङकङले सातौं विकेट गुमाएको छ । हकङकले सातौं विकेटका रुपमा किन्चित शाहलाई ५३ रनमा गुमाएको हो । उनलाई सुशन भारीले विकेटकीपर विनोद भण्डारीको हातबाट क्याचआउट गराए । यसअघि अभिनाश बोहरा र करन केसीले ३–३ विकेट लिइसकेका छन् । यो समाचार तयार पार्दासम्म हङकङले ३३.३ ओभरमा महत्वपूर्ण ७ विकेट गुमाएर १ सय १७ रन बनाएको छ । स्कोर हेर्न यहाँ क्लिक गर्नुस् यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन बनायो । नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे । उनले ९ चौकाको मद्दतमा १३९ बलमा ८९ रन बनाए । यस्तै आरिफ शेखले ४२, दीपेन्द्रसिंह ऐरीले ३७, विनोद भण्डारीले १५, कुशल भुर्तेललाई १, दीपेन्द्रसिंह ऐरीलाई ३७, करण केसीले ७ रनकाे याेगदान दिए । कप्तान ज्ञोनेन्द्र मल्ल र पवन सरार्फ शून्य रनमा आउट भए । बलिङमा हङकङका एजाज खानले ३, नसरुल्ला खान र एहसान खानले २–२, अफताब हुसेन र रौनक कपुरले एक–एक विकेट लिए । हङकङविरुद्ध नेपाली टिमका तिव्र गतिका बलर सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छैन । भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् । नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो । नेपालको प्लेइङ ११ ज्ञानेन्द्र मल्ल (कप्तान) कुशल भुर्तेल शरद भेषावकर आरिफ शेख दीपेन्द्रसिंह ऐरी विनोद भण्डारी पवन सर्राफले करण केसी अभिनाश बोहरा ललित नारायण राजवंशी सुशन भारी
तिहारमा पनि सुनसान छन् सुन पसल
विराटनगरः सुनको मूल्यमा उल्लेखनिय वृद्धि भएसँगै सुनको कारोवार घटेपछि बिराटनगरका सुनपसलहरु चाडवाडमा पनि सुनसान छन् । मूल्य वृद्धिका कारण एकतोला सुन खरिद गर्न ठुलो लगानी गर्नुपर्ने भएपछि चाडवाडमा पनि यसपटक सुनको बिक्री नहुदा पसल सुनसान भएका हुन् । सुनको मूल्य बढेपछि यसवर्ष तीज, दशैँ तथा तिहारसमेत सुन बिक्री घटेको सुन व्यवसायी बताउँछन् । तिहारको धनतेरस अर्थात काग तिहारको दिनलाई सुनचादी खरिदका लागि शुभदिन मानिन्छ । तिज र दशैँमा बिक्री नभए पनि धनतेरसको दिन सुनचाँदी बिक्री हुने व्यवसायीले बिश्वास लिएका थिए । गतवर्ष धनतेरसका दिन पाँचलाखसम्म सुनचादी बिक्री गर्ने व्यवसायीहरुले यस पटक भने गतवर्षको तुलनामा ५० प्रतिशतमात्र बिक्री भएको बताउँछन् । मनिष ज्वोर्लसका अशोक खडकाले तिहारमा गतवर्ष चारलाखसम्म सुुनचादी बिक्री गरेकोमा योवर्ष त्यसको आधामात्र बिक्री भएको बताए । धनतेरसका दिन पसलमा ग्राहक भिड भएपनि सगुनका लागि सुनका सानातिना सामान बिक्री भएको उनको भनाई छ । तिहारमा पहिले बिक्री गर्न भ्याइ नभ्याई हुन्थ्यो फुर्सदसमेत हुदैन थियो तर यो वर्ष त्यो अवस्था नरहेको उनले बताए । बाबा शिव ज्वेर्लसका दिनेश साहले गतवर्षको तुुलनामा योवर्षको दिपावलीमा ३० प्रतिशत बिक्री भएको बताए । पहिलेको तुलनामा योवर्ष फाटफुट ग्राहक आएकाले बिक्री कम भएको उनको भनाई छ । सालिमार ज्वेर्लसका सुुनिल अग्रवालले तिहारमा मात्र होइन दशैँ र तिजमासमेत कारोवार ठप्प भएको बताए । महँगो भएका कारण सुन बिक्री नभएपनि चाँदीको बिक्री भने सन्तोषजनक नै रहेको उनको भनाई छ । पसलमा ग्राहक भिड देखिन्छ एकजना लिने र चारजनाले हेरेर सुझाव दिने भएकाले भिड देखिएपनि कारोवार सामान्य हुने गरेको उनले बताए । अग्रवालले भने, गतवर्षको तुुलानमा यस बर्ष ५० प्रतिशत कारोवार घटेको छ । धनलक्ष्मी ज्वोर्लसका सुभाष बर्माले धनतेसरका दिन गतवर्ष तिन लाखसम्म बिक्री भएकोमा यसबर्ष सोको तुलनामा ६० प्रतिशतमात्र बिक्री भएको बताए । सुुनचाँदीको पसल मात्र नभएर बिराटनगरका प्राय सबै व्यवसायमा मन्दी छाएको उनको भनाई थियो । यसैगरी ऋद्धिसिद्धी ज्वोर्लसका अशोक सुमानीले सुनचाँदीको बिक्रीमा गत असारदेिख बिक्रीमा मन्दी आएको बताए । सुनको मूल्य बढेपछि सुनमा लगानी गर्ने भन्दा पनि ग्राहकले सो पैसा अरुतिरै लगानी गर्ने थालेको पाइन्छ । सुन किन्ने पैसा अहिले जग्गा र अरु व्यापारमा लगानी गर्ने क्रमसमेत बढेको पाइन्छ ।
१३ हजार घुस रकमसहित वडासचिव प्रहरीको फन्दामा
बारा– वृद्ध तथा अपाङ्गता भएकाको समाजिक सुरक्षा भताबाट घुस लिएको आरोपमा आर्दश कोतवाल गाँउपालिका वडा नम्बर ६ का वडासचिव रामएकवाल यादवलाई प्रहरीले पक्राउ गरेका छन् । उनले प्रत्येक व्यक्तिहरुबाट जनही रु १ सय रुपैयाँ कटौती गरि करिब १२ हजार ७ सय ४८ रुपैयाँ जम्मा गरिसकेको अवस्थामा पटेर्वाका स्थानियहरुले प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय महेन्द्रबाट खटी गएको टोलीले वडा सचिव यादवलाई सो रुपैयाँसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता रंजित सिह रठौरले जानकारी दिए । वडा सचिवलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताए ।
विराज भट्टको ‘साङ्लो’ को रिलिज मिति धकेलियो
काठमाडौंः नायक विराज भट्टद्वारा निर्देशन गरिएको नेपाली चलचित्र ‘साङ्लो’ रिलिज मिति सारिएको छ । छठको अवसर पारेर कार्तिक १५ गते रिलिज हुने घोषणा गरिए पनि ‘साङ्लो’ आउँदो फागुन ९ गते रिलिज हुने भएको हो । शनिबार फस्ट लुक पोस्टर सार्वजनिक गर्दै सिनेमाको नयाँ रिलिज मिति सार्वजनिक गरिएको हो। यसै सिनेमाबाट मिस नेपाल २०१७ निकिता चण्डकले नेपाली रजतपटमा डेब्यू गर्दै्छिन्। सिनेमामा विराज भट्ट तथा निकिताका अलावा प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदी लगायतका कलाकारहरुको अभिनय रहनेछ। सिनेमालाई सुदूरपश्चिमको रमणीय ठाउँमा फिल्माङ्कन गरिएको छ। विराज फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा निर्मित सिनेमामा तेजबहादुर खड्काको लगानी रहेको छ। शिवम् अधिकारीले पटकथा र संवाद लेखेको सिनेमामा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुले संगीत दिएका छन्।
नसिरुद्दिन शाह, राेमिला थापरसहित १८० जनाले माेदीलाई लेखे बिराेधपत्र
मुम्बई, भारतकाे सामाजिक क्षेत्रका प्रसिद्ध १ सय ८० जनाले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई बिराेध पत्र लेखेका छन् । माेब लिचिङघटनामा चिन्ता व्यक्त गर्दा ४९ प्बुद्द व्यक्तिमाथि मुद्दा दर्ता गरिएपछि बिराेध प्रकट गरिएकाे हाे । बिराेध पत्र लेख्नेमा अभिनेता नसीरूद्दीन शाह र इतिहासकार रोमिला थापर समेत १८० जना रहेका छन् । पत्रमा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सधै आवाज उठाईराख्ने बताईएकाे छ । “हाम्रा ४९ साथीहरुका विरुद्द माेब लिचिङ घटनामा आवाज उठाएकाे आराेपमा मुद्दा चलाइएकाे छ । उनीहरुले नागरिक कर्तव्य पूरा गरेका थिए ।” पत्रमा उल्लेख छ, “के नागरिककाे आवाज बन्द गर्नु, अदालतकाे दुरुपयाेग गर्नु उत्पीडनहैन र ?” पत्रमा लेखक अशोक वाजपेयी, जैरी पिंटो र शम्सुल इस्लाम, शिक्षाविद इरा भास्कर, कवि जीत थायिल, संगीतकार टीएम कृष्णा र फिल्मकार सबा देवानले पनि हस्ताक्षर गरेका छन् । पत्रमा भारतका सांस्कृतिक समुदायका सदस्यहरु र नागरिकका रुपमा यश प्रकारका उत्पीडनकाे सधै बिराेध गर्ने उल्लेख छ । लिचिङका घटना बढेकाे भन्दै माेदीलाई पत्र लेख्ने ४९ जनाविरुद्ध ३ अक्टुबरका दिन मुजफ्फराबादमा केस दर्ता गरिएकाे थियाे । उक्त पत्रमा मे २०१४ देखि माेदी सरकार सत्तामा आएसँगै अल्पसंख्यक र दलित समुदायविरुद्ध ९० प्रतिशत मुद्दा दर्ता भएकाे उल्लेख थियाे ।
नाटकीय शैलीमा प्रहरीकै अपहरण, गाँजा तस्कर समात्न गोली प्रहार
मकवानपुरः हेटौँडाको चुरियामाई नयाँ बस्तीमा प्रहरीले गाँजा तस्करलाई गोली हानेर पक्राउ गरिएको छ । जाँच गर्न गाँजा बोकेको ट्रकमाथि चढेका प्रहरी समेतलाई लिएर भागेपछि मकवानपुर प्रहरीले तस्कर र गाँजा नियन्त्रणमा लिन दुई राउन्ड गोली प्रहार गरेको बताइएको छ । गोली प्रहारपछि एकजना गाँजा तस्कर र ट्रकमा रहेको ७८ किलो ८ सय ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंंहले बताए । पक्राउ पर्नेमा पर्सा जिल्ला विरगञ्ज महानगरपालिका–२९ का अफ्रिका चौधरी रहेका छन् । हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक सुरक्षा जाँच गर्ने क्रममा ट्रकका चालक चौधरीले प्रहरी जवानसहित ट्रक्र भगाएका थिए । चालक चौधरी र ट्रकमा रहेका अर्का एक व्यक्तिले चुरियामाई नयाँ बस्तीमा ट्रक रोकेर प्रहरी जवानलाई लछारपछार गर्दै जंगल तर्फ लैजादै गर्दा प्रहरीले उनलाई पछ्याएको थियो । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशवाहको नेतृत्वको टोलीले चालक चौधरीलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टामा दुई राउण्ड गोली लागेको थियो । घटनामा दुई जना प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरीक्षक सिंहले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ट्रकको क्याबिनबाट प्रहरीले १४ पोकामा रहेको ७८ किलो ८ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।
मिसेस नेपाल- २०१९ बनिन् महेन्द्रनगरकी भाविषा कोइराला चटौत
मिसेस नेपाल इन्टरनेसनल- २०१९ को उपाधि महेन्द्रनगरकी भाविषा कोइराला चटौतले जितेकी छिन् । रिबन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको प्रतियोगितामा पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाल र अभिनेता राजेश हमालले अभिनेत्री मानन्धरलाई क्राउन र स्यास पहिर्याएका थिए। सोही अवसरमा अभिनेत्री करिश्मा मानन्धरलाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेसनल उपाधिद्वारा सम्मानित गरिएको हाे । समारोहमा प्रतियोगिता पाँचौं वर्षमा पुगेको अवसरमा पत्रकार विदुर गिरी, शिक्षाविद् पूर्ण लामा, गायक सीताराम पोखरेल र मिस नेपालका आयोजक गोपालसुन्दर लाल कक्षपतिलाई रिबन अनर अवार्डबाट सम्मानित गरिएको थियो। विभिन्न पेसामा आबद्ध ३० विवाहित महिलाबीच सम्पन्न प्रतियोगितामा विजयी भाविषालाई स्कुटर पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा महोत्तरीकी स्त्री रोग विशेषज्ञ रंगीना लाइकंग्बम एमएस नेपाल इन्टरनेसनल २०१९ भएकी छन्। भाविषा र रंगीनाले उपाधि जितेबापत सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। प्रतियोगितामा रोजिना भट्टराई फस्र्ट रनरअप, स्नेहा राउत थापा सेकेन्ड रनरअप र बेस्ट पर्सनालिटी, शवनम खरेल थर्ड रनर्सअप र बेस्ट र्याम्प वाक, शिल्पी गुप्ता फोर्थ रनर्सअप र मेनेजमेन्ट च्वाइस, कुश्मादेवी खाँड मल्ल मोस्ट पपुलर र मस्ट फ्रेन्डली तथा आश्मा तामाङ पब्लिक च्वाइस र मोस्ट गर्जियस भएका छन्। अश्विनी झाको कोरियोग्राफी तथा निशुकान्त झाको निर्देशनमा भएको समारोहमा लक्ष्मी थापा श्रेष्ठले नृत्य र मनोहर सुनामले सेक्साफोन वादनबाट मनोरञ्जन प्रदान गरेका थिए।
कलेजले अवैध असुलेको ३९ करोड फिर्ता नगरे कारबाही
काठमाडौं । मेडिकल कलेजहरूले अवैध ढंगले असुलेको ३९ करोड रुपैयाँ फिर्ता गर्न आनाकानी गरेपछि सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ । तोकिएभन्दा १३ लाख रुपैयाँ बढी लिएको पाइएपछि सरकारले कारबाहीको दायरामा ल्याउन तयारी थालेको हो । चितवन मेडिकल कलेज, किस्ट कलेज, युनिभर्सल मेडिकल कलेज र नेसनल मेडिकल कलेजले तोकिएभन्दा बढी शुल्क लिएको पीडित विद्यार्थीको गुनासो छ । मेडिकल कलेजहरूले बढी असुल गरेको ३९ करोड रुपैयाँ फिर्ता गर्न बाँकी रहेको विद्यार्थी संघर्ष समितिले जनाएको छ । अवैध ढंगले असुलिएको शुल्क फिर्ता गर्न सरकारले एक महिनाको अल्टिमेटम दिएको छ । तोकिएको शुल्कभन्दा बढी रकम लिएका मेडिकल कलेजले एक महिनाभित्र विद्यार्थीलाई शुल्क फिर्ता नगरे सरकारले कारबाही गर्ने जनाएको हो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
आज सोमबार, कस्तो छ तपाइको राशिफल?
मेष– पाचन प्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । वृष– बोलीको प्रभाब बढ्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । मिथुन– वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । कर्कट– रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । सिंह– वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । धनु– विशिष्ठ व्यक्तिको साथ पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । कन्या– वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । तुला– प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाईनेछ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । सन्तान सुख मिल्नेछ । वृश्चिक– अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । धनु– साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । वाहन लाभ रहला । कुम्भ– वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । कुम्भ– शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । कसैकसैको प्रेम सम्बन्ध विवाहमा परिणत हुनसक्छ । मीन– पढाइ लेखाइमा प्रगति हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । स्वादिष्ट भोजनपनि पाईनेछ ।
आकाशियो तरकारीः सातामै ३०९ प्रतिशतसम्म बढ्यो तरकारीको भाउ
काठमाडौं । २६ भदौमा प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भएको हरियो प्याजको मूल्य एक सातामै ३०९ प्रतिशतले महँगिएर बिहीबार २२५ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिकिलो २४५ रुपैयाँमा कारोबार भएको हरियो धनियाँको मूल्य ११० प्रतिशतले बढेर ५१५ रुपैयाँमा बिक्री भएको छ । केही दिनसम्म लगातार परेको झरीका कारण हरियो तरकारीको भाउ आकासिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अहिले तराईका उत्पादन नआएको, अफ सिजन तरकारीले बजार धानेको र सोह्रश्राद्धका कारण माग बढेकाले पनि हरियो तरकारीको मूल्य ह्वात्तै उकालो लागेको व्यवसायीहरू बताउँछन् । ‘यतिवेला तराईको उत्पादन आएको छैन । भारतीय र उपत्यकाआसपासका जिल्लाबाट आपूर्ति भइरहेको छ,’ तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘अर्कातिर सोह्रश्राद्धमा भएको उच्च मागको असर मूल्यमा देखिएको हो ।’ तर, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना भने प्रभावकारी अनुगमन अभावमा बजारमा तरकारीलगायत दैनिक उपभोग्य वस्तुको भाउ वृद्धि हुन थालेको दाबी गर्छन् । सरकारले मूल्यवृद्धि नियन्त्रणमा चासो नदिएको उनको गुनासो छ । ‘सरकारले अनुगमनमा लापरबाही गरिरहेको छ, जसका कारण उपभोक्ता मूल्यवृद्धिको मारमा परेका छन्,’ उनले भने । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्रकुमार गौचन भने मूल्य नियन्त्रणका लागि सहुलियत पसल सञ्चालन गरेको र अनुमगनलाई चार गुणा बढाएको दाबी गर्छन् । किसान र उपभोक्तालाई मार, बिचौलिया मालामाल उपत्यकामा तरकारीको मूल्य ह्वात्तै बढे पनि दश नग्रा खियाएर उत्पादन गर्ने किसानले सस्तो मूल्यमै बेचिरहेका छन् । उपभोक्ता भान्सा–भान्सामा ठगिएका छन् । किसान र उपभोक्ता मारमा पर्दा बिचौलिया भने मालामाल भएका छन् । किसानको बारीमै पुगेर संकलन केन्द्रका व्यापारीले तरकारी उठाउँछन् । यस्ता संकलन केन्द्रका व्यापारीले धेरै किसानको तरकारी नियमित रूपमा खरिद गर्ने गरेका छन् । संकलन केन्द्रमा तरकारी दिए पनि किसानले कति मूल्य पाउने भन्ने थाहा पाउँदैनन् । संकलन केन्द्रका व्यापारीले कालिमाटी बजारमा कुन भाउमा बिक्री हुन्छ, त्यसैका आधारमा मूल्य दिने भनेर किसानबाट उधारोमा तरकारी किन्छन् । संकलन केन्द्रका व्यापारी बजार क्षेत्रमा सटर भाडामा लिएर बसेका हुन्छन् । त्यहाँ एउटा ढक राखेर बस्छन् । उनीहरूकहाँ तरकारी लिन ट्रक, मिनीट्रक लिएर ढुवानीकर्ता पुग्छन् । ढुवानीकर्ताले कालिमाटीको पहिलो दर्जाका थोक व्यापारीलाई तरकारी दिन्छन् । पहिलो दर्जाका थोक व्यापारीकै हातमा तरकारीको भाउ निर्धारण गर्ने हैसियत हुन्छ । उनीहरूले तोकेकै भाउ बजारमा चल्छ । यस्ता थोक विक्रेताले ठूलो मात्रामा तरकारी भण्डारण गरी राख्छन् । यिनीहरूबाट साना थोक व्यापारीले तरकारी लिन्छन् । साना थोक व्यापारीले सामान्यतया पाँच–पाँच किलोका दरले उपत्यकाका साना बजारमा व्यवसाय गर्ने तथा पसल थापेर बिक्री गर्ने व्यवसायीलाई तरकारी बिक्री गर्छन् । साना थोक व्यापारीले आलू, प्याज भने प्रतिबोराका हिसाबले बेच्छन् । यस्ता व्यापारीबाट तरकारी खरिद गर्ने पसले तथा बजार–चोक क्षेत्रमा ठेला गाडा राखेर तरकारी बिक्री गर्ने साना व्यवसायीबाट उपभोक्ताले तरकारी खरिद गर्छन् । कालिमाटी बजारले निर्धारण गरेको खुद्रा मूल्यभन्दा पसल तथा चोकमा रहेका ठेलागाढाबाट तरकारी किन्दा प्रतिकिलो पाँचदेखि दश रुपैयाँ महँगो पर्ने गरेको छ । सोह्रश्राद्ध लागेसँगै खपत बढ्दा मूल्य आकासियो खोमप्रसाद घिमिरे, अध्यक्ष, फलफूल तथा तरकारी व्यवसायी महासंघ अहिले तरकारी उत्पादनको अफसिजन हो । अहिले नै सोह्रश्राद्ध छ । सोह्रश्राद्धमा माछामासुको प्रयोग कम हुँदा तरकारीको माग बढ्छ र मूल्यमा असर पार्छ । हाल काठमाडौंमा उपलब्ध तरकारीमध्ये तराईबाट करिब पाँच प्रतिशत मात्र आयात भएको छ । बाँकी सबै भारत, काठमाडौं उपत्यका र काठमाडौंआसपासका जिल्ला धादिङ, मकवानपुरको पालुङ र काभ्रेबाट आइरहेको छ । प्याज भने शतप्रतिशत भारतबाटै आएको छ । गोलभेडा धेरै देशभित्रैको उत्पादनले धानेको छ, भारतबाट थोरै आउँछ । यस वर्ष अब अदुवा, लसुन, प्याज र कागतीको मूल्य घट्ने देखिँदैन । खसीको मासु २०० बढ्यो, दसैँमा थप बढाउने व्यापारीको योजना करिब तीन महिना अघिसम्म खसीको मासु प्रतिकिलो अधिकतम् ११ सय रुपैयाँ थियो । अहिले १३ सय पुर्याइएको छ । सरकारले भारतबाट खसी, बोका आयातमा प्रतिबन्ध लगाएकाले मागअनुसार आपूर्ति हुन नसक्दा मूल्य बढाउनुपरेको चौपाया खरिद–बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले बताए । उनका अनुसार सरकारले यसमा ध्यान दिएन भने दसैँसम्म अझै बढ्छ । ‘दसैँमा खसी, बोकाको माग उच्च हुन्छ र स्वदेशी उत्पादनले धान्न सकिँदैन भन्ने जान्दाजान्दै सरकारले आयात रोकेको छ,’ पाठकले भने, ‘त्यसैले मासुको मूल्य आकासिएको हो ।’ त्यस्तै, जिउँदो माछाको मूल्य पनि बढेको छ । चामल बोरामा ५० रुपैयाँ बढ्यो चामलको मूल्य पनि पछिल्लो एक सातामा प्रतिबोरा ५० रुपैयाँले बढेको छ । खुद्रा व्याापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सबै प्रकारको चामलको मूल्य समान वृद्धि भएको छ । चामल आयात बिन्दुमै मूल्य बढेकाले खुद्रा मूल्य पनि बढेको उनले बताए । बदाम र पेस्ता किलोमा सय बढ्यो, सुकमेलमा बढ्यो प्रतिकिलो २३ सय बदाम र पेस्ताको मूल्य प्रतिकिलो एक–एक सय रुपैयाँ वृद्धि भएको छ । खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार असन क्षेत्रका सबै पसलमा बढेको मूल्यमा कारोबार भइरहेको छ । ‘बदाम १२ सयबाट १३ सय प्रतिकिलो पुगेको छ,’ उनले भने, ‘पेस्ता १७ सयबाट १८ सय रुपैयाँ पुगेको छ ।’ त्यस्तै, सबैभन्दा धेरै सुकमेलको भाउ बढेको छ । २७ सय रुपैयाँ प्रतिकिलो रहेको सुकमेल दुई सातायता ५ हजार प्रतिकिलोमा बिक्री भइरहेको छ । अनुगमन टोलीका संयोजक कपिल रेग्मी भन्छन्,अनुगमनमा जाँदा व्यापारीले ‘यिनीहरूलाई चुट्नुपर्छ’ भन्दै झम्टिए बिहीबार दिउँसो १ः३० बजेतिर न्यूरोडको रञ्जना कम्प्लेक्समा अनुगमन गर्न पुगेका थियौं । भुइतलामा रहेको अन्तकुमारी श्रेष्ठको कपडा पसलबाट अनुगमन थाल्यौँ । त्यहाँ खरिद बिल देखिएन तर बिक्री बिल देखियो । हामीले जरिवाना तयारी गर्यौँ । त्यतिन्जेल पसल सञ्चालक भने बाहिरका मान्छे जम्मा गर्न थालिसकेका रहेछन् । माथिल्लो तलाका सबै पसलहरू बन्द गरेर व्यवसायी तल आए । एकैछिनमा करिब डेढ सय मान्छे जम्मा भए । ‘कम्तीमा ५० हजार जरिवाना गछौं’ भनेर हामी अघि बढ्न थालेपछि उनीहरूले फोहोरी गाली गरे । केहीले त ‘यी सरकारी कर्मचारीलाई चुट्नुपर्छ, छाड्नुहुन्न’ भन्न थाले । केही त ‘बोरामा हालेर झ्यालबाट फाल्नुपर्छ’ भन्दै हात हाल्न अघि सरिसकेका थिए । त्यहीं बेला प्रहरी र मलको सञ्चालक समितिका पदाधिकारी आएपछि जोगियौँ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।