अफगानिस्तानमा तालिवान प्रमुख कमाण्डरसहित बाह्रको मृत्यु

सोमबार बस्ने संसद बैठकमा मुठभेडको ‘मुड’मा एमाले !

सागर न्यौपाने/ काठमाडौं, पुस १७ । एमाले महासचिव ईश्वर पोखरेलले जवर्जस्ती संविधान संशोधन विधेयक संसदमा टेबुल गर्न खोजे प्रतिकार गर्नसक्ने संकेत गरेका छन् । प्रेस चौतारी नेपाल, काठमाडौं शाखाले आइतबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले सदनमा दर्ता गरेको संशोधन विधेयक राष्ट्रिय एकता विरुद्ध रहेकोले विरोध गरिएको बताए । उनले भने, ‘अवान्छित ढंगले संशोधन विधेयकको कसरी टेबुल हुन्छ, एमालेले हेर्छ ।’ पोखरेलले एमालेको अबरोधकाबीच विधेयक अगाडि बढाउन सरकारलाई चुनौति दिए । संविधानको किटानी व्यवस्था कायम रहुञ्जेल संशोधन प्रस्ताव छलफल लैजान नदिने अाफ्नो  र सत्ता विपक्षी दलको अडान रहेको दोहोर्याए । ‘यसलाई सामान्य संशोधनको रुपमा लिनु हुँदैन, यो संशोधन संविधान र राष्ट्रहितविपरीत छ, राष्ट्रहित विपरीत हुने कुरा संसदमा छलफल हुन दिइँदैन,’  उनले भने । तर उनले सभामुखले खेलेको मध्यमार्गी भूमिकाको प्रशंसा गरे । ‘सभामुखले सबै दलहरुलाई सहमति गर्नुस भन्नुभएको छ, उहाँले दलहरुबीच छलफल गर्नुपनि भएको छ, दलहरुलाई सहमति वा प्रक्रियामा सहमति गर्नुस् भनेर भन्नुभएको छ, त्यसलाई सकारात्मक लिन्छौं,’ पोखरेलले भने । तर, एमाले लगायतका विपक्षीदलहरुसँग सहमति नगरी संसदमा प्रस्ताव टेबल भए एमालेले चुप नबस्ने उनले चुनौति दिए । उनले भने–‘प्रदेशको सीमा हेरफेर संविधान विरुद्ध आएकोले छलफल हुन दिदैनौं ।’ असंवैधानिक विषयलाई संसदमा एकपटक छलफल गर्न दिने हो भने फेरि पटक–पटक यस्तै कुरा आउने पोखरेलको बुझाइ छ । ‘संविधान जारी गर्न नदिनेहरु नै संविधान कार्यान्वयन गर्न नदिने ढंगले प्रस्तुत भइरहेका छन्,’ निर्वाचनका लागि एमालेले सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले भने, ‘छलफलबाटै समस्या समाधान गर्न पनि तयार छौं, तर असंवैधानिक र बेमौसमी प्रस्ताव फिर्ता गर्नुपर्छ ।’ उनले सरकारले संशोधन विधेयक फिर्ता लिएर चुनावमा गए सहमत हुने बताए । ‘हामी लचकताकासाथ भनिरहेकाछौं । संशोधन विधेयक स्थगन गरौं र चुनावमा जाउ । एमाले चुनावका लागि सत्तापक्ष सङ्ग वार्ता गर्न तयार छ ।’  उनले सरकारलाई चुनौति दिदै‌ं भने- काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेका हौं ।  २२ गतेको कार्यक्रमले धेरै कुराको फैसला गरिदिने छ ।

शिशु हत्या गर्ने देवर भाउजू थुनामा

फलेवास (पर्वत),  पुस  १ । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका पारेर आफ्नै देवरसँग अवैध गर्भधारण गरी शिशुलाई जन्म दिएर हत्या गर्ने देवरभाउजू पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको लिमिठाना–८ की मीना क्षेत्री र विजयराज क्षेत्रीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । ३१ वर्षीया मीना क्षेत्री र विजयराज क्षेत्री एकाघरका देवरभाउजू हुन् । मीनाले श्रीमान् कुलबहादुर क्षेत्रीलाई ढाकछोप गरेर बच्चालाई जन्म दिई आफ्नै खेतमा खाल्डो खनेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । थप अनुसन्धानका लागि पर्वत जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको आरोपित मीना क्षेत्री र विजयराज क्षेत्रीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिनुभएको छ । आरोपित मीनाका श्रीमान् कुलबहादुर क्षेत्रीले आफ्नै भाइ विजयराज र श्रीमती मीनाविरुद्ध पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दाअन्तर्गत गत कात्तिक ४ गते किटानी जाहेरी दिनुभएको थियो । रासस

हात्तीले लियो एकको ज्यान

पर्सा, मंसिर ३० । पर्सामा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । वनबाट आएको हात्तीले निर्मलबस्ती गाविस–४, सिकारीवास टोल निवासी ४५ वर्षीय रोघाई चौधरीमाथि आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तोरीबारीमा राति बाली जोगाउन पहरा बसेका बेला वनबाट आएको हात्तीले उनीमाथि आक्रमण गरेको थियो । चौधरीको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । पर्सा वनजन्तु आरक्षबाट आहारा खोजीका लागि बाहिरिने हात्तीलगायत जङ्गली जनावरको आक्रमणले निकुञ्जनजिकका वस्तीहरु मारमा पर्ने गरेका छन् ।

नयाँ प्रक्रियामार्फत संसदमा दवाव

काठमाडौँ, मंसिर ३० । संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका युवा तथा विद्यार्थी संगठनले नयाँ प्रक्रिया अपनाएर व्यवस्थापिका–संसद्का सांसदलाई दवाव दिएका छन् । उनीहरुले मोबाइलमा एसएमएसमार्फत सन्देश प्रवाह गरी संविधान संशोधन प्रस्ताव फिर्ता लिन दवाव दिएका हुन् । उनीहरुले माननीय होसियार, जनताको अपेक्षा छ राष्ट्रघाती संविधान संशोधन विधेयक खारेज होस् लगायत विभिन शब्दहरुमार्फत मोबाइलमा एसएमएस प्रवाह गरेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दल तथा स्वतन्त्र सांसदले सो प्रक्रियालाई फिर्ता लिन तथा असफल बनाउन सक्ने निर्णायक भूमिका हुने हुँदा सन्देश प्रवाह गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिएका छन् । युवा तथा विद्यार्थीका सङ्गठनले अघिल्लो दिन संयुक्त बैठक बसी नयाँ चरणको दबाबका कार्यक्रम ल्याएका थिए । नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका युवा तथा विद्यार्थी सङ्गठनका नेताले दबाब सिर्जना गर्न गरेका हुन् ।

एमालेको अगुवाइमा प्यूठान र रोल्पामा चार दिने आमहड्ताल घोषणा

 काठमाडौं, मंसिर ३० । संविधान संशोधनको विरोधमा रहेको उमालेले बिहिबारदेखि चार दिने रोल्पा र प्युठान बन्दको घोषणा गरेका छन् । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने गरी दर्ता भएको संविधान संशोधन प्रस्तावको विरोधमा एमालेको अगुवाईमा हड्ताल भएको हो । रोल्पा प्यूठान संयुक्त संघर्ष समितिको आव्हानमा पुस ३ गतेसम्मका लागि दुई जिल्ला बन्द गरिएको छ । बन्दले बुधबार बिहानैदेखि यातायात सेवा, बजार, कलकारखाना, शैक्षिक संस्था सबै ठप्प छन् । विद्यार्थी र सर्वसाधारणलाई मर्का पर्ने गरी आयोजना गरिएको बन्द र हडतालमा एमालेका नेताहरुले अगुवाइ गरेका छन् । संविधान संशोधन जनभावना विपरीत भएको र सरकारले संशोधन मार्फत प्रदेश टुक्राउन लागेकाले चरणवद्ध आन्दोलन सुरु गरिएको नेकपा एमाले प्यूठानले जनाएको छ । संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण ताप्लेजुङसहित पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित बनेका छन् । संविधान संशोधन गरी पूर्वी नेपालका ९ जिल्लालाई लिम्बुवान प्रदेश राख्नुपर्ने, झापा, मोरङ् र सुनसरीलाई टुक्राई अर्को प्रदेशमा राख्न नहुने र देशमा मौलाईरहेको भ्रष्टाचार नियन्त्रणको माग गर्दै सो पाटीले बुधबार एक दिने पूर्व बन्दको आह्वान गरेको हो । बन्दका कारण बिहानैदेखि ताप्लेजुङसहित पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार पसल, कलकारखाना र शैक्षिक संस्थासमेत बन्द छन् । तर बन्दमा एम्बुलेन्स र मोटरसाईकल चल्न दिने उनीहरुले बताएका छन् । सरकारले संसदमा पेश गरेको संसोधन प्रस्तानमा लिम्बुवान प्रदेशको विषयलाई नसमेटेकोमा सो पार्टीको असन्तुष्टि रहको बताएका छन् ।

दलीय सम्वाद जारी राख्ने प्रमूख नेताहरुको समझदारी

काठमाडौं,मंसीर २९ । प्रमूख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का प्रमूख नेताहरुको बैठकमा दलीय सम्वाद जारी राख्दै सहमतिमै राष्ट्रिय समस्याहरुको समाधान खोज्ने समझदारी भएको छ । प्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा बसेको बैठकमा संविधान संशोधन, महाअभियोग प्रस्ताव, तिनै तहको निर्वाचन, निर्वाचन सम्बन्धि कानून, निर्वाचन क्षेत्र निर्धारण लगायतका राजनीतिक सवालमा सम्वाद जारी राख्ने र सहमतिबाटै निकास खोज्ने समझदारी भएको छ । नेताहरुबीच छिटै विषयकेन्द्रित बैठकको आयोजना गरी टुंगोमा पुग्ने समझदारी समेत भएको छ । प्रधानमन्त्री प्रचण्डको आब्हानमा मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

ट्याङकर र सवारी साधन ठोक्किँदा विस्फोट, ३० भन्दा बढीको मृत्यु

नैरोबी, मङ्सिर २७ । केन्याको नैभाशा सहरको बाहिरी इलाकामा एउटा पेट्रोल ट्याङकर अर्को सवारी साधनसँग ठोक्किँदा भएको विस्फोटमा ३० भन्दा बढीको मृत्यु भएको छ । ‘नैरोबी—नैभाशा सडक खण्डमा भएको दुर्घटनामा करिव ३० भन्दा बढीको मृत्यु भएको छ, अरु कैयौ घाइते भएका छन्, ट्याङकरले ठक्कर दिँदा ११ वटा सवारी साधनमा क्षति पुगेको छ,’ केन्याको राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइले आईतबार जारी गरेको वक्तव्यमा लेखिएको छ । ट्याङकरका चालकले नियन्त्रण गुमाएपछि ट्याङकरले अन्य सवारी साधनलाई ठक्कर दिएपछि विस्फोट भएर ज्वाला निस्किएको केन्याको रेडक्रसले जनाएको छ । केन्याको राजधानी नैरोबीबाट युगान्डातर्फ जाने अति व्यस्त नैरोबी—नकुरु राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनाका कारण झण्डै ११ वटा सवारी साधनलाई असर परेको छ ।

साझा प्रकाशनलाई रु तीस करोड दिने सरकारको निर्णय

काठमाडौँ,  मङ्सिर २७। सरकारले आर्थिकरुपमा जर्जर भएको साझा प्रकाशन बचाउन रु ३० करोड निकासा दिने भएको छ । शिक्षामन्त्री धनीराम पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले रु १० करोड अनुदान र २० करोड ऋण गरी रु ३० करोड प्रदान गर्ने निर्णय गरेको हो । विगतमा सरकारी पाठ्यपुस्तक वितरणको आधिकारिक विक्रेता रहेको सो संस्थाको जिम्मेवारी केही वर्षयता खोसिनुका साथै अपारदर्शीताका कारण संस्था घाटामा गएको थियो । मन्त्री पौडेलले प्रकाशनले आफूले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई तिर्नुपर्ने रकम पनि सोही रकमबाट व्यवस्थापन गर्नुपर्ने बताए । पाठ्यपुस्तक वितरणको नयाँ जिम्मेवारीबारे भने हाल निर्णय भइनसकेको उनले बताए । सञ्चालक समितिका साथै राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायत स्रष्टाले प्रधानमन्त्री, शीर्ष नेता र सम्बन्धित निकायमा लामो समयदेखि संस्था बचाइदिन आग्रह गरेका थिए । करिब एक हजार ५०० स्रष्टा सेयर सदस्य रहेको साझा प्रकाशनका कर्मचारीले विगत छ महिनादेखिको तलब नपाएको गुनासो गर्दै आएका छन् । रासस

एमालेले हलो अडकाउन खोज्दैछ- नेता पौडेल

  कावासोती, २५ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको समग्र हितबाहेक कसैसँग पनि गलत सम्झौता नगर्ने बताउनुभएको छ । नेपाली काँग्रेस नवलपरासी क्षेत्र नं २ ले आज डेढगाउँमा गरेको आमसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो विचार व्यक्त गर्नुभएको हो । उहाँले नेपाली काँग्रेस संविधानको कार्यान्वयनका लागि जस्तोसुकै पहल कदमी चाल्न तयार रहेको बताउँदै काँग्रेस मुलुकमा हाल देखापरेका चुनौतीको समाधान खोज्न तयार रहेकामा जोड दिनुभयो । काँग्रेस वरिष्ठ नेता पौडेलले अहिले संविधान संशोधन आवश्यक रहेकामा जोड दिँदै एमालेले आफ्नो नेतृत्वमा सरकार हुँदा यही प्रस्तावलाई अघि बढाएकाले अहिले हलो तेस्र्याउने काम भएकाले त्यस्ता गलत प्रवृत्ति छाडेर संविधान संशोधनमा सघाउन एमालेलाई आग्रह गर्नुभयो । संविधान संशोधनले मात्र संविधान कार्यान्वयनको बाटो खोल्ने छ ।

उपराष्ट्रपति पुनद्वारा उद्योगी–व्यवसायीसँग छलफल

नवलपरासी,  मङ्सिर २३ । उपराष्ट्रपति नन्दबहादुर पुनले नवलपरासीका उद्योगी–व्यवसायीसँग बुधबार छलफल गरेका छन् । उपराष्ट्रपति पुनले बुधबार बेलुुका जिल्लाको सुनवलस्थित लोटस रिसोर्टमा जिल्लाका उद्योगी–व्यवसायीसँग छलफल गरेका हुन् । सो क्रममा उपराष्ट्रपति पुनले नवलपरासी जिल्लाको आर्थिक र औद्योगिक अवस्थाबारे उद्योगी–व्यवसायीसँग छलफल गरेको उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष भीमबहादुर थापा (भरत)ले जानकारी दिए। यसैगरी, उपराष्ट्रपति पुनले बुधबार बेलुुका नै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग समेत जिल्लामा पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए । आजदेखि नवलपरासीको सुनवलमा सञ्चालन हुुन लागेको पश्चिमाञ्चलस्तरीय नवलपरासी औद्योगिक व्यापार मेला उद्घाटन गर्ने सिलसिलामा उपराष्ट्रपति पुनः बुधबार साँझ नै नवलपरासी आएका हुन् । बुधबार राति लोटस रिसोर्टमा बस्नु उपराष्ट्रपति पुन आज बिहान भगवान् गौतमबुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तुपाको अध्ययन र अवलोकन गर्ने कार्यक्रम छ । यसैगरी दिउँसो १२ः३० बजे औद्योगिक व्यापार मेला उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासीको मुख्य आयोजनामा जिल्लाको सुनवलमा आज सुरु हुने मेला आगामी पुस ३ गतेसम्म चल्नेछ । मेलामा करिब तीनसय स्टल रहनेछन् । मेलाको कुल तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा करिब रु १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको आयोजक उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् मेला मूल आयोजक समितिका संयोजक भरतले बताए । तेस्रोपटक उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको यस वर्षको मेलाको मुख्यद्वारमा मायादेवीको मन्दिर मूल आकर्षणका रूपमा रहेको छ । मेलामा नवलपरासी रुपन्देही, चितवनसहित छिमेकी भारतीय बजारबाट समेत विदेशी अवलोकनकर्ता आउने अनुमान छ । मेलाको मुख्य आकर्षणका रूपमा यसपटक हेलिकप्टर र डुङ्गाको यात्रा रहनेछ । रासस  

अस्पताल सुधारको माग गर्दै १५ दिनदेखि अनशन

सप्तरी,  मङ्सिर २२ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै विगत १५ दिनदेखि नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले आमरण अनशनमा बसेका छन् । उनको समर्थनमा मङ्गलबार राजविराजमा विद्यार्थीले ऐक्यबद्धता जनाउँदै प्रदर्शन ¥यालीसमेत गरेका थिए । सदरमुकाम राजविराजमा रहेका विभिन्न विद्यालय र कलेजका विद्यार्थीले तिवारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनका माग अविलम्ब सम्बोधन गर्नका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गरेका थिए । राजविराजस्थित महावीर चौकबाट निकालिएको ऐक्यबद्धता ¥याली नगरका विभिन्न भागमा परिक्रमापश्चात् अञ्चल अस्पतालमा आमरण अनशनमा बसेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष तिवारीको अनसनस्थल पुगेर ऐक्यबद्धता ¥याली समापन भएको सहभागी मुकेश यादवले बताए । अस्पतालको भौतिक सुधारसहित अस्पताल बालमैत्री बनाउनुपर्ने, अस्पतालमा भर्ना हुने रोगीलाई स्वस्थ, पेटभरि पोषिलो खाना उपलब्ध हुनुपर्ने, अस्पतालमा स्वच्छ पिउने पानीको व्यवस्था हुनुपर्ने, अस्पताल मूलगेट निर्माण हुनुपर्ने, अस्पतालमा नाक, कान, घाँटी, छाला रोग, हाडजोर्नी, मुटु रोग, रेडियोलोजिस्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुनुपर्ने, अस्पतालमा प्रसूति गृहलगायत निर्माणाधीन भवनको निर्माण कार्य अविलम्ब पूरा हुनुपर्ने र अस्पतालमा सरकारले उपलब्ध गराउने औषधि सूची अस्पताल परिसरमा राखिनुपर्ने माग राखिएको छ । त्यस्तै, आर्थिक वर्ष २०७२÷७३ मा अस्पताललाई प्राप्त भएको बजेट र सोको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको तत्काल छानबिन हुनुपर्ने, सुत्केरी र २८ दिन सम्मको शिशुको निःशुल्क उपचार हुनुपर्ने लगायतको माग लिएर तिवारी विगत १४ दिनदेखि आमरणलाई निरन्तरता दिएका छन् । रासस

समृद्धिको आकांक्षा पूरा गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले त्यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको स्पष्ट पारे । भ्रष्टाचार नियन्त्रण गर्नका लागि आयोग र आयोगजस्ता भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूलाई कानुनी, प्रशासनिक र आर्थिक रूपले सबल बनाउन सरकारले आफ्ना नीति, कार्यक्रम तथा बजेटलाई केन्द्रित गरेको प्रधानमन्त्रीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताए । सरकारले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, “माथिल्लो तहदेखि तल्लातहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले आयोगलाई हस्तक्षेप गर्दैन ।” सुशासन प्रवर्द्धनमा आयोगले पुर्‍याएको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार विरुद्धको लडाइँमा आयोग थप अडिग र कटिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। सुशासनको मुख्य बाधकको रूपमा रहेको भ्रष्टाचार विरूद्धको लडाइँमा संवैधानिक आयोगले आफ्नो स्थापनाकालदेखि हालसम्म निभाउँदै आएको महत्त्वपूर्ण भूमिकाको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोगप्रति नागरिकले राखेका आशा र भरोसालाई आगामी दिनमा पनि कायम राख्नुपर्ने बताए । राष्ट्रले लिएको विकास र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कानुनको शासन, मानव अधिकारको संरक्षण तथा समतामूलक र समावेशी शासनको प्रत्याभूतिका गर्नका लागि आयोगले इतिहासदेखि नै खेल्दै आएको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले आगामी दिनमा भ्रष्टाचारमुक्त समाज स्थापना गर्ने सबालमा आयोग दृढताका साथ उभिनेछ विश्वास व्यक्त गरे । विश्वव्यापी रूपमा भएको प्रविधिको द्रूततर विकाससँगै भ्रष्टाचारजन्य क्रियाकलाप र प्रवृत्तिको स्वरूप, तौरतरिका, प्रवृत्ति, सघनता र आयाममा समेत व्यापक परिवर्तन आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “एकातार्फ आयोगको कार्यक्षेत्र विस्तार गर्नुपर्ने चुनौती छ भने अर्कोतर्फ आयोगको कार्य प्रणालीमा देखिएका समस्या समाधान गर्दै लैजानुपर्ने चुनौती छ ।” भ्रष्टाचार नियन्त्रणको महत्त्वपूर्ण भूमिका बोकेको आयोगले स्वतन्त्र, निष्पक्ष र निर्भिक तवरले भ्रष्टाचार र अनियमितताका विरूद्ध अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन नवीनतम प्रविधिको प्रयोग गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड थियो ।

ज्ञानेन्द्र शाह कुशको राजा : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशको मात्र राजा रहेको टिप्पणी गरेका छन्। ‘ज्ञानेन्द्र शाह भनेको राजा होइन। बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्,’ आइतबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले भने, ‘अब यस्ता कुरामा के बहस गरिरहने बेकार।’ दरबार हत्याकाण्डबारे त्यसैबेला छानबिन गरिएको उनले बताए। यस्तो छ दरबार हत्याकाण्डबारे ओलीले राखेको धारणा दीपेन्द्रले आफैं मरेपछि हान्यो ? एउटा राजा हुन लागेको मान्छे त्यसरी मर्छ ? अगाडिबाट पनि उसैले गोली हान्छ , पछाडिबाट पनि गोली हान्छ ?तीनवटा राइफल एकै जनाले बोकेर कुद्छ ? यस्ता कुरा पनि पत्याएर हिँड्ने ? लखेट्ने पनि उही मान्छे छ, भर्याङ चढ्दामाथिबाट ड्याम्म गोलि हानेर टाउको उछिट्याउने उही मान्छे छ यस्तो पनि हुन्छ ? १९ गतेको घटना सात दिनपछि २६ गते त्यहाँ जाँच आयोग जाँदा पानी परिरहेको थियो त्यो बेला एउटा ओभानो टोपी दिपेन्द्र मारिएको भनिएको पोखरीको छेउमा ओभानो टोपी तैरिरहेको थियो । पानी परिरहेको छ त्यस्तो बेलामा दिपेन्द्रको टोपी डुबेको पनि छैन, भिजेको पनि छैन । जाँच आयोग जाँदा भर्खर राखेको टोपी पानी पनि भरिएको छैन । त्यस्तो पनि नाटक हुन्छ रु यहाँ हत्याकाण्डा भइसक्दा दुनियाँभरी दिपेन्द्रको प्रेम कहानी भनेर।।। । दिपेन्द्रले हत्याकाण्ड गर्यो भनेर यस्ता बाहियात कुराका पछाडी पनि नेपाली जनता कुद्नुहुन्छ ? त्यो एउटा भयानक षड्यन्त्र थियो । त्यस षड्यन्त्रले तत्काल राजारानि,युवराज, अधिराजकुमार, अधिराजकुमारी हत्या गर्यो । राजतन्त्र समाप्त भयो । राजाको जेठो छोरो राजा हुन्छ । जेठो त के कान्छो, छोरी समेत मारिसकेपछि राजतन्त्र समाप्त भयो । त्यतिबेलाको सरकारको कमजोरी हो । फेरि राजतन्त्र भनेर ज्ञानेन्द्र शाहलाई ल्याएर सजाउने राख्ने काम भयो । ज्ञानेन्द्र शाह भनेको राजा होइन । बाहुनले बाहुन भनेर टपरीको चामलमाथि कुशको बाहुन राख्छ । ती त्यस्तै कुशको राजा हुन् । कुशको बाहुन । यस्तो कुरामा के बहस गरिरहने ? राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति त्यस्तो रह्यो । हाम्रा पार्टीका महासचिव माधवकुमार नेपाल आफैं छानबिन समितिमा बस्नु भएको थियो । हामीले फिर्ता गर्यौं ,यो ड्रामनमा तिमी सामेल नहोउ भनेर ।

देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गर्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २४ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए । उनले विदेश गएका युवाहरूलाई स्वदेशमै फर्काउन नयाँ ढङ्गबाट काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । उपप्रधानमन्त्री श्रेष्ठले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढिरहेको जानकारी दिए । उनले विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित अहिले सरकारले काम गरिरहेको बताए । सुशासन प्रभावकारी बनाउने र अर्थतन्त्र सक्रिय बनाउने काममा सरकार लागिपरेको बताए । ‘‘अर्थतन्त्रलाई लयमा ल्याउने काममा त केही प्रगति गरेका छौं । त्यसमा पनि अझै हामीले केही काम गर्न बाँकी छ । तर त्यसबाट सन्तुष्ट भएर बस्न सकिने स्थिति छैन । हामीले अर्थतन्त्रको गतिलाई तीव्र पार्नैपर्छ र विकासको फड्कोमा जानैपर्छ । एउटा कुरामा हाम्रो कमी भएको छ । यो देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा राख्दैनौँ । यो देशमा युवालाई बाहिर पठाएर वृद्धाश्रम बनाउने खतराबाट यो देशलाई मुक्त गरिछोड्छौँ ।,’’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘‘यो सङ्कल्प त्यसै पूरा हुँदैन भन्ने हामीलाई थाहा छ । नयाँ ढङ्गले काम गर्नुपर्छ । त्यस दिशातर्फ अघि बढ्ने क्रममा हामीले अहिले उत्पादन वृद्धि गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा जानुपर्छ भनेर लागेका छौँ । अहिलेको गतिलाई अझ बढाउनुपर्छ भन्नेमा दृढ छौँ ।’’ उपप्रधानमन्त्री श्रेष्ठले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरूलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताए । उनले अब पनि बकबक गरेर बस्ने र ढिला गर्ने समय सरकारलाई नरहेको जिकिर गरे । उनले सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘‘विकासको प्रक्रियालाई नयाँ तीव्रतासहित अहिले सुशासन प्रभावकारी बनाउने र अत्यन्तै सक्रिय अर्थतन्त्र बनाउने हो । उत्पादन, रोजगारी बढाउने र व्यापारघाटा कम गर्ने दिशातिर लैजाने र त्यसले मात्रै हामीले विदेश जाने यो क्रमलाई रोक्ने वस्तुगत आधार तयार पार्छौँ । अब बकबक गर्ने समय हामीसँग छैन । अब ढिला गर्ने समय छैन । सबै मिलेर सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नैपर्छ ।’’ उपप्रधानमन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई फड्कोकारी रुपमा विकास गर्ने नीति सरकारले लिएको बताए। उनले नेपालको आर्थिक विकास र समृद्धिको यात्रा तीव्र बनाई लगानी भित्र्याउनका लागि सरकारले सुरक्षामा कुनै कमी हुन नदिने बताए। उनले निर्माण प्रक्रियालाई तीव्र बनाउन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने अवस्था रहेको बताए ।

राष्ट्र बैंकको नीतिले पैसाको सहि लगानी हुननसकेन : मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राष्ट्र बैंक सरकारको सहयोगी नभएको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारणसभालाई शनिबार हेटौँडामा सम्बोधन गर्दै राष्ट्र बैंकको अर्थ नीति र गतिविधिले बैंकमा पैसा थुप्रेर बसे पनि लगानी हुननसकेको बताए । ब्याज घटाउने र लगानीको मोडेल बनाउने कुरा राजनीतिक निर्णयमा भरपर्ने बताउँदै लगानी क्षेत्र सरकारले छुट्याइसकेपछि राष्ट्र बैंकले दायाबाया गर्दा समस्या उत्पन्न भएको मुख्यमन्त्रीको भनाइ छ। “सरकारले बजेट भाषण गर्छ, अर्थविद्ले पेश गर्छ, अनि त्यो पास भइसकेपछि राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँछ, त्यो ठ्याक्कै क्रस गर्नेगरी विपरित हुन्छ”, मुख्यमन्त्रीले भने । उनले नीतिगत रुपमा धेरै कुरा सच्याउन पर्ने अवस्था रहेको जिकिर गर्दै बजेट आउनुपूर्व नै मौद्रिक नीति सार्वजनिक हुनुपर्नेमा जोड दिए। बागमती प्रदेश सरकारले उद्यमशील, घरेलु र कृषि क्षेत्रमा साना–साना काम गर्न सके पनि ठुला उद्योग चलाउने क्षेत्राधिकार नभएको स्पष्ट पारे । हेटौँडा औद्योगिक क्षेत्र र मयुरधापको औद्योगिक क्षेत्र प्रदेश सरकारले चलाउनुपर्ने आवाज उठेपनि प्रदेश सरकारको क्षेत्राधिकारभित्र नपर्ने उनले बताए । प्रदेशमा हस्तकला र घरेलु उद्योगलाई चाहिने काठ, ढंगा लगायतका सामग्री निर्वाध ढंगले दिने नीति पास गरिसकेको बताउँदै घोषणाको तयारी गरिरहेको बताए । प्रदेशको विभिन्न स्थानमा उद्योगग्राम, कोशेली घर बन्ने क्रममा रहेको बताउँदै प्रदेश सरकारको सक्रियतामा उद्यमशीलता तालिमहरु संचालन गरिरहेको बताए । लगानी र नीति बनाउनुपूर्व अध्ययन अनुसन्धान र बजारीकरणको अध्ययन नहुँदा स्थापना भएका उद्योग बन्द हुने अवस्थामा पुगेको उनले बताए। उनले उद्योग खोल्नु पूर्व त्यसलाई आवश्यक कच्चा पदार्थको व्यवस्था र बजारको अध्ययन गरेर मात्रै उद्योग खोल्न व्यवसायीलाई सुझाव दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मित्र राष्ट्रको भ्रमणबारे स्मरण गर्दै प्रधानमन्त्री राजनीतिक मुद्दामा भन्दा पनि नेपालमा लगानी ल्याउने विषयमा केन्द्रित भएको धारणा राखे । प्रदेश सरकारले समुदायमा आधारित ८५ पालिकालाई उत्पादनको पकेट क्षेत्र घोषण गर्ने तयारी गरेको जानकारी दिनुभयो। प्रदेशलाई खाद्यान्नको पकेट क्षेत्र घोषण पनि छिट्टै गरिने उनले बताए । उत्पादन र व्यवसायका मोडेल बनाउने जिकिर गर्दै मुख्यमन्त्रीले त्यसको नेतृत्व प्रदेश सरकारले लिन तयार रहेको बताए। मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंह, महेश बतौंला, बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मुक्तान लगायतकाले बोलेका थिए ।