शेयर बजारमा पहिरो, १४७ अंकले घट्यो नेप्से, बजार ४० मिनेटको लागि बन्द

काठमाडौं । साताको कारोबारको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ ।

बजार खुलेसँगै ऋणात्मक कारोबारको बाहुल्यता देखिएपछि बजार निरन्तर ओरालो लागेको हो । यो समाचार तयार पार्दासम्म नेप्से १४७ अंकल घटेको छ ।

बजार ओरालो लाग्दा सबै सूचकहरुमा रातो छाएको छ ।

नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेपछि बजार ४० मिनेटको लागि बन्द भएको छ।

सो अवधिसम्ममा २१५ कम्पनीको ७९ हजार ९३५ पटकको कारोबारमा ७ अर्ब १९ कराेड ९० लाख ३५ रुपैयाँ बराबरको १ कराेड ४८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ कम्पनीको मात्र शेयरमूल्य बढेको छ। यो ५.०३ प्रतिशतको गिरावट हो । यो इतिहासकै सबैभन्दा ठूलो गिरावट हो । यसअघि एकै पटक १२४ अंकसम्म घटेको रेकर्ड रहेको छ । अहिले बजार २७७९.६८ विन्दुमा झरेको छ ।

अब बजार १ः३९ः५५ मा पुनः खुल्नेछ।

रौतहटमा बाढी र डुबानमा परी ४ जनाको मृत्यु, हजारौं विस्थापित

काठमाडौं । रौतहटमा नदी तथा खोलामा आएको बाढी तथा डुबानका कारण रौतहटमा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार, २२ वटा घरमा वर्षा, बाढी तथा डुबानले क्षति पुगेको छ । असार १३ गते गरुडा नगरपालिका–८ मा आफ्नो घरछेउमै खेल्ने क्रममा खाल्डोमा डुबेर दुई वर्षीय हसिना खातुनको मृत्यु भएको थियो । सोही दिन माधवनारायण नगरपालिका–८ की तीन वर्षीय राजकुमारी महतोको बागमती नदीमा डुबेर मृत्यु हो । त्यसैगरी १६ गते बकैया नदीमा बगेर गौर नगरपालिका–४ का २५ वर्षीय प्रमोद चनउको मृत्यु भएको थियो भने सोही दिन अविरल वर्षाले घर भत्किँदा बौधीमाई नगरपालिका–४ की ७२ वर्षीय जितनी साहको मृत्यु भएको थियो । जिल्लाको पूर्वी भेगमा रहेको बागमती नदीको बाढीले राजदेवी नगरपालिका–५ स्थित दुई स्थानमा पाँच–पाँच मिटर र गढीमाई नगरपालिका–६ मा बाँधको केही हिस्सा कटान गरेको छ । शनिबार बागमती नदी र लालबकैयामा आएको बाढीका कारण ईशनाथ, दुर्गा भगवती र राजदेवीमा २८० परिवार विस्थापित भएका छन् । आइतबार पानी कम भए पनि उनीहरुको घर हिल्लामे भएकाले कोही आफन्तको घरमा, कोही बागमती नदीको बाँधमा बसिरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । वर्षा र बाढीले सडक सञ्जालमा पुगेको क्षतिको विवरण आउन बाँकी रहेको डिभिजन सडक कार्यालय चन्द्रपुरका प्रमुख रामनरेस केसरीले जनाए ।

विद्यार्थी संगठनहरुले जलाए प्रधानमन्त्रीको पुत्ला

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत बिभिन्न विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । प्रतिगमन भाग २ विरुद्ध आन्दोलन अभियानमा जोडिएका अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, माधव नेपाल समूहको अनेरास्ववियू, जसपा निकट विद्यार्थी संगठन र अखिल छैठौंले संयुक्तरुपमा पुत्ला दहनमार्फत बिरोध प्रदर्शन गरेका हुन । राजधानीको रत्नराज्य क्याम्पस अगाडि भएको पुत्ला दहन कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामांगलगायतको उपस्थिति रहेको थियो ।

प्रम ओलीको भ्याकेट निवेदन भट्टराई र फुयालको संयुक्त इजलासमा सुनवाई हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चमा दिएको निवेदनको सुनवाई न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि प्रसाद फुयालको संयुक्त इजलासमा भइरहेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै ओलीले भ्याकेट निवेदन दिएका थिए । सर्वोच्च अदालतले एमालेले कर्णालीका चार जना सांसदलाई कार्वाही गरेको निर्णय बदर गरेको थियो । कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेकोमा गरिएको कार्वाहीविरुद्ध परेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरिदिएको थियो । उक्त आदेशविरुद्ध केन्द्रीय कमिटीले निर्णय गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन भएको र सो आयोजक समिति नै एमालेको आधिकारिक कार्यकारी कमिटी भएको जिकीर गर्दै ओलीले भ्याकेट निवेदन दिएका हुन ।

धनगढीमा तीन दिन स्वाब सङ्कलन नहुने

धनगढी । नगरवासीको सजिलोका लागि आफ्नै परिसर अगाडि स्वाब सङ्कलन केन्द्र स्थापना गरी निःशुल्क स्वाब सङ्कलन गरिरहेको धनगढी उपमहानरपालिकाले तीन दिनका लागि रोकेको छ । उपमहानगरपालिकासँग कोरोना परीक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन भएकाले अस्पतालले स्वाब सङ्कलन रोक्न आग्रह गरेसँगै उपमहानगरपालिले शनिबार, आइतबार र सोमबार गरी तीन दिनका लागि स्वाब सङ्कलन रोकेको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए । तीन दिनपछि पुनः सेवा सञ्चालन हुनेछ । सेती प्रादेशिक अस्पतालमा भने स्वाब सङ्कलन जारी रहने जनाइएको छ । लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाको कोरोना परीक्षणका लागि उपमहानगरपालिकाले निःशुल्क स्वाब सङ्कलन गरिरहेको र त्यसको परीक्षण सेती प्रादेशिक अस्पतालले गर्दै आइरहेको छ । सङ्कलन गरिएका सबै नमूनाको परीक्षण गरिएपछि उपमहानगरपालिकाले पुनः निःशुल्क स्वाब सङ्कलन कार्य सञ्चालन गर्नेे जनाइएको छ । जिल्लामा कोरोना सङक्रमणदर बढेसँगै स्वाब दिनेको सङ्ख्या अत्यधिक बढेको छ ।

कामिरिता शेर्पाद्वारा २५ औँ पटक सगरमाथाको आरोहण

काठमाडौं : नयाँ उचाइ मापण भएपछि पहिलोपटक सगरमाथाको चुचुरोमा शेर्पाको समूह पुगेको छ। यो बसन्त ऋतुको सिजनको पहिलो समूहका रुपमा कामिरिता शेर्पाको समूह सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागकी आरोहन शाखा प्रमुख मिरा आचार्यले जानकारी दिइन्। यो समूह रोप फिक्सिङका लागि गएको हो। यो समूहको सफल आरोहणसँग यो सिजनको आरोहण सुरु भएको छु आचार्यले भनिन्। आरोहण सञ्‍चालन व्यवस्थापनको अन्तर्गत सेभेन समिटबाट १२ जनाको समूहले सगरमाथा आरोहण गरेको हो। कामिरिता शेर्पा,फुर्तेन्जी शेर्पा,निग्मा तशी शेर्पा,मिग्मा तेन्जी शेर्पा, फुराछिरिङ शेर्पा,तेन्जिङ शेर्पा,छितेन दोर्जे शेर्पा,तेन्जिङ ग्याल्जेन शेर्पा, फुर्बा छोतार शेर्पा,मिग्मा दोर्ची शेर्पा र फुर्वा कुसाङ शेर्पाको समूह सगरामाथाको चुचुरोमा पुगेको हो। योसँगै कामिरिता शेर्पाले २५ ‍औं पटक सगरमाथा आरोहण गरेका छन्। कामिरिता कीर्तिमानी आरोही हुन्। यो सिजनका लागि पर्यटन विभागले ४०८ जनालाई सगरमाथा आरोहणको अनुमति दिएको छ। सगरमाथामा आधारशिबिरमा कोरोना भाइरस संक्रमण फैलिएको समाचारहरु आइरहेपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले भने अहिलेसम्म कुनै संक्रमण पुष्टी नभएको जानकारी दिएको छ।

आरसीबीद्धारा हैदराबादलाई सामान्य लक्ष्य

काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले सनराइजर्स हैदराबादलाई १ सय ५० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ४९ रन बनायो । उसका लागि ग्लेन म्याक्सेवलले ४१ बलमा तीन छक्का र पाँच चौकासहित सर्वाधिक ५९ रन बनाए । त्यस्तै, कप्तान विराट कोहलीले ३३, साहबाज अहमदले १४, देवदत्त पाडिक्कलले ११ र कायल जेमिसनले १२ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा राशिद खानले सबैभन्दा किफायती बलिङ गरे । उनले चार ओभरमा महत्वपूर्ण दुई विकेट लिएर १८ रन खर्चिए । त्यस्तै, जेसन होल्डरले तीन, भुवनेश्वर कुमार, टी नटराजन र सहबाज नदीमले एक/एक विकेट लिए । हैदराबादले प्लेइङ-११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ । उसले मोहम्मद नाबी र सन्दीप शर्मालाई विश्राम दिँदै जेसन होल्डर र सहबाज नदीमलाई मौका दिएको छ । आरसीबीले प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले रजत पाटीदारलाई आराम दिएर देवदत्त पाडिक्कलाई समावेश गरेको छ । देवदत्त पाडिक्कल । फाइल तस्बिर जारी सिरिजनको पहिलो खेलमा आरसीबीले मुम्बइलाई हराउँदै विजयी सुरुवात गरेको छ । हैदराबादले भने पहिलो खेलमा केकेआरसँग हारको सामना गरेको थियो । यी दुई टिमबीचको पछिल्ला पाँच खेलमा हैदराबाद हाबी देखिन्छ । पाँच खेलमा हैदराबादले आरसीबीलाई तीन म्याचमा हराएको छ । यी दुवै टिम गत सिजनमा ‘प्लेअफ’मा पुगेका थिए । हालसम्म हैदराबादले एक पटक आईपीएल उपाधि जितेको छ । आरसीबीले भने तीन पटक फाइनलमा स्थान बनाए पनि ट्रफी हात पार्न सकेको छैन । आरसीबीको प्लेइङ-११ : विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, सहबाज नदीम, ग्लेन म्याक्सवेल, एबी डिभिलियर्स (विकेटकीपर), डानियल क्रिश्चियन, वाशिङ्टन सुन्दर, काइल जेमिसन, हर्षल पटेल, मोहम्मद सिराज र युजवेन्द्र चहल । हैदराबादको प्लेइङ-११ : डेविड वार्नर (कप्तान), ऋद्धिमान साह (विकेटकीपर), मनीष पाण्डे, जोनी बेयरिस्टो, विजय शंकर, जेसन होल्डर, अब्दुल समद, राशिद खान, भुवनेश्वर कुमार, सहबाज नदीम र टी नटराजन ।

राष्ट्रपति र प्रधानमन्त्रीमाथि फेरि खनिइन् झाँक्री, भनिन्– कसले भन्छ बोल्न पाइँदैन ?

काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीले सबैले बोल्न पाउनुपर्ने बताएकी छन् । नेकपा प्रचण्ड–नेपाल पक्षले संसद् विघटनविरुद्ध गरेको विरोध सभामा उनले भनिन्, ‘राष्ट्रिपति पद सबैको बलिदानीले प्राप्त भएको हो । बोल्न पाइन्छ, कसले भन्छ बोल्न पाइँदैन ? खलपात्रको विरुद्ध बोल्दा कसले भन्छ महिला अस्मिता ?’ ‘संस्थाको कुनै लिंग हुँदैन । त्यो सार्वजनिक हुन्छ,’ झाँक्रीले भनिन्, ‘प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ ।’ उनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त, भागरथी भट्टलगायतले न्याय नपाउँदा महिलाको अस्मिता प्रश्न उठाउन पाइने बताइन् । उनले राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर विद्यादेवी भण्डारीले तानाशाह, अहंकारी, सनकी प्रधाननमन्त्रीलाई सहयोग गरेको आरोप लगाएन् । उनले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीको कडा विरोध गरिन् । राष्ट्रपतिविरुद्ध बोल्दा आफूमाथि कारवाहीको माग गर्नेहरूले निर्मला, भगरथीको न्यायका लागि बोल्न नसकेको बताइन् । उनले संसद् पुनःस्थापना हुने दाबी गरिन् । उनले भनिन्, ‘संसद् पुनःस्थापना भएन भने प्रधानमन्त्रीसँग अच्चमको अधिकार मात्रै बाँकी हुनेछ । संविधानका नलेखिएको ।’ उनी मुखमा कालो टेप टाँसेर माइकअघि पुगेकी थिइन् । कार्यक्रम सञ्चालक लीलामणि पोखरेलले बोल्न नाम डाकेपछि झाँक्रीले प्रतिगमन मुर्दावाद लेखिएको कपडा शरीरबाट निकालेर फालेकी थिइन् । नेकपा विरोध प्रदर्शनमा लाखौं जनता सडकमा, दोश्रो जनआन्दोलनको झल्को (फोटोफिचर)

फेसबुक ह्याक गरी ३० हजार रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

सप्तरी : फेसबुक अकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सितापुर गाउँपालिका-३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेका छन् । उनीहरुले फेसबुक अकाउन्ट ह्याक गरी नगद ३० हजार रुपैयाँ पठाउ नत्र अश्लील तस्बिरहरू सामाजिक संजालमा राखीदिन्छु भनी विभिन्न डरत्रास देखाउने गरेका थिए । उक्त रकम माग गरेको भन्ने जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने एक महिलाले दिएको सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले अनुसन्धान गर्दै जाँदा सुनसरी ईटहरी उपमहानगरपालिका-६ ईटहरी बजार अन्तर्गत रहेको आइएमईबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकम सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कोरोना संक्रमितको संख्या बढेकामा राष्ट्रपति भण्डारी चिन्तित

काठमाडौं : राष्ट्रपति विध्यादेवी भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा आज उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलसहित सम्बन्धित मन्त्रीहरूबाट महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी लिएपछि सो कुरा बताएकी हुन् । उनले बन्दाबन्दीको कारण सहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्नेलगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकले रोजगारी गुमाउनु परेको र हालैका दिनमा संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गर्दै भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड सबैबाट पालना गरिनुपर्नेमा जोड दिइन् । सो अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पनि सहभागी थिए । – रासस

घट्यो घरायसी ग्राहकको विद्युत महसुल, नयाँ कति ? (सूचीसहित)

काठमाडौंः घरायसी ग्राहकको विद्युत महसुल घटेको छ । सोमबार बसेको विद्युत नियमन आयोगले यही असार महिनाको खपतमा लागु हुने गरी नयाँ महसुल निर्धारण गरेको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार सरदर १० प्रतिशत विद्युत महशुलदर घटेको छ । विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ तिर्नुपर्ने छ ।   हेर्नुस् नयाँ महसुलको दरः

बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौंः जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् । ‘तपाईं उचाईंमा पुगेर त्यहीँ रहनुस्, यस्ता अनावश्यक तनावमा नपर्नुस्’, उनले भने, ‘रोगले जीर्ण भएको शरीरलाई आराम गर्नुस्। प्रधानमन्त्री पदबाट राजीनमा दिनुस्। हामी ६०/६५ वर्षमाथिकाले अब आराम गर्नु नै उचित हुन्छ।’ पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले कोरोना महामारी नियन्त्रण गर्न सरकारको तयारी पर्याप्त नभएकोसमेत बताएका छन् । उनले बन्दाबन्दी गर्ने बाहेक अन्य प्रयास प्रयाप्त हुन नसकेको बताए । ‘सरकारले बोल्दा त ठीकठाक भइरहेको छ भनिएला, तर रोकथामको अवस्था ठीकठाक छैन’ उनले भने । भट्टराईले विदेशमा रहेका नेपालीलाई स्वदेशमा ल्याउनुपर्ने बताए । विदेशमा रहेका नेपालीहरुलाई देश निकाला गरेजस्तो भएको उनले बताए । ‘उताबाट आफ्नो देश जाऊ भन्छ, अनि हामी नआउ भन्ने ?’ उनले भने । भट्टराईले विदेशमा रहेका नेपालीलाई अनागरिक बनाइएको बताए । महामारी रोकथामबारे सरकार ढुक्क भएर बस्ने अवस्था रहेको नरहेको उनले बताए । भट्टराईले किसान तथा मजदुरको अवस्था दयनीय भएकाले उनीहरुलाई विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरे । ‘लकडाउनमा हामी सांसदहरुले तलब लिएर बस्यौं, तर मजदुरहरुको अवस्था दयनीय छ’ भट्टराईले भने ।

महोत्तरीमा अज्ञात रोगः मृतकको संख्या ११ पुग्यो

महोत्तरीः जिल्लाको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ । आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बर्दिवास–१२ मेघरोल र भङ्गाहा–७ मेघनाथ गोरहन्नामा गत मङ्गलबारयता शुक्रबारसम्म ८ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा बर्दिवास–१२ का चार, भङ्गाहा–७ का छ र भङ्गाहा–६ का एक रहेका सो कार्यालयले जनाएको छ । ती तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका छन् । भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शवपरीक्षण जाँचले निक्र्योल गर्ने जानकारी दिए । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आज डा अमृत पोखरेल र विश्व स्वास्थ्य सङ्गठनका डा. सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली यी बस्तीमा पुगेको छ । टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको डा. पोखरेलले बताए । मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव (सिताई) महराको शव परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

नेपालसँगै सिमाना जोडिएको दार्जिलिङमा कोरोना, एकजनाको मृत्यु

काठमाडौंः नेपालसँगै सिमाना जोडिएको भारतको दार्जिलिङमा कोरोका कारण एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्जिलिङको कालेबुङकी ५४ वर्षीया सरितादेवी सिंह रहेकी छन् । उनको मृत्युपछि परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा पठाइएको छ । मृतक सरितादेवी छोरीको उपचारका लागि चेन्नईमा बसेर हालै मात्र घर फर्किएकी थिइन् । घर फिरेपछि बिरामी भएकी उनको स्वास्थ्य परीक्षणमा कोरोना पाइएको थियो । बिरामी भएपछि उनलाई नोर्थ बंगाल मेडिकल कलेजको आइसोलेशनमा वार्डमा भर्ना गरिएको थियो । योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि १२ सय नजिक पुगेको छ ।

पोलार्डले बनाए विश्व कीर्तिमान

काठमाडौंः वेष्ट इन्डिज क्रिकेट टीमका कप्तान किरण पोलार्ड नयाँ विश्व कीर्तिमान बनाएका छन् । स्टार अलराउन्डर पोलार्डले आज श्रीलंकासँगको टी–२० सिरिजको पहिलो म्याच खेलेसँगै नयाँ विश्व कीर्तिमान बनाएका हुन् । उनले टी–२० क्रिकेटमा ५०० म्याच खेल्ने कीर्तिमान बनाएका हुन् । पोलार्डले अन्तर्राष्ट्रिय र लिग खेल गरी ४ सय ९९ टी–२० म्याच खेलिसकेका छन् । आजको म्याचसँगै उनी टी–२० क्रिकेटमा ५०० सय खेल खेल्ने पहिलो क्रिकेटर बनेका छन् । श्रीलंकासँगको टी–२० सिरिजको पहिलो खेलमा वेष्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेको छ । पोलार्डको टी–२० करियर पोलार्डले हालसम्म ४९९ टी–२० म्याचमा ६५० छक्का र ६४४ चौका हिर्काउँदै ९ हजार ९ सय ६६ रन बनाइसकेका छन् । जसमा उनको एक शतक र ४० अर्धशतक सामेल छ । टी–२० मा पोलार्डको उच्च स्कोर १०४ रन हो । यस्तै उनले टी–२० मा १७९ विकेट पनि लिइसकेका छन् । बलिङमा पोलार्डको उच्च प्रदर्शन १५ रन दिएर ४ विकेट लिनु हो । उनले ७१ अन्तर्राष्ट्रिय टी–२० म्याचमा एक हजार ८९ रन बनाएका छन् । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा पोलार्डको उच्च स्कोर ६८ रन हो । ७१ म्याचमा उनले ३५ विकेट लिएका छन् । अन्तर्राष्ट्रिय टी–२० मा पोलार्डको उच्च बलिङ प्रदर्शन २५ रन दिएर ४ विकेट लिनु हो ।

कोरोना भाइरसः ब्रा, स्यानिटरी प्याड र सुन्तलाको मास्क लगाउँदै चिनियाँ!

काठमाडौंः गत डिसेम्बरबाट चीनको उहान सहरबाट फैलिएको कोरोनाभाइरसले हालसम्म २१३ जनाको मृत्यु भइसकेको छ । कोरोना तीव्ररुपमा फैलिरहँदा चीनमा मास्कको माग ह्‍वात्तै बढेको छ । मास्कको माग चुलिएसँगै सरकारले आपूर्ति गर्न समस्या भएको छ । मास्क पाउन छाडेपछि सर्वसाधरण चिनियाँ नागरिकले सुरक्षाको नयाँनयाँ तरिका अपनाउन थालेका छन् । कोही ब्रालाई मास्क बनाएर लगाइरहेका छन् भने कोही स्यानिटरी प्याडलाई नै मास्क बनाएर लगाइरहेका छन् । अनुहार छोप्नका लागि चीनका सर्वसाधरण स्थानीय सामानदेखि अनेक विधि प्रयोग गरिरहेका छन् । कसैले प्लास्टिकले पूरै शरिर छोपेका छन् त कसैले प्लास्टिकको बोत्तले मुख छोपेका छन् । कोरोना भाइरस तीव्रगतिमा फैलिँदै गएपछि चीनमा सर्जिकल मास्को हाहाकार भएको छ। बजारमा पाइएका मास्कको मूल्य पनि अत्यन्तै महँगो छ । यस्तोमा मानिसहरुले आफ्नै शैलीमा मास्कको प्रयोग गरिरहेका हुन् । जसलाई जे विधि आउँछ, त्यही प्रयोग गरेर मास्क बनाएका फोटो भाइरल भइरहेका छन्। सामाजिक सञ्जालमा यस्ता मास्को फोटो भाइरल भइरहेका छन् । केही मानिसले ब्रालाई मास्क बनाएर लगाएका छन् त केहीले महिनावारी हुँदा लगाइने स्यानिटरी प्याडलाई नै मास्कका रुपमा प्रयोग गरेका छन् । एकजना चिनियाँ वृद्धले त सुन्तलाको बोक्रालाई नै मास्क बनाएका छन् । नयाँ नपाइएपछि मानिसहरुले सेकेन्ड ह्यान्ड मास्क पनि किनिरहेका छन् । नयाँ मास्क नमिलेपछि यस्तो विकल्प अपनाइएको हो । तर चीनको स्वास्थ्य सेवा विभागले भने सेकेन्ड ह्यान्ड मास्कको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । एजेन्सी