वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको चौथो खेल हुँदै

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको ट्वान्टी–२० शृंखलाको चौथो खेल आज हुँदै छ । खेल खेल दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  सुरु हुनेछ। 

पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ले यसअघिको दोस्रो खेलमा घरेलु टिमलाई १० रनले र हिजो भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो ।

पहिलो खेलमा भने नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो । आजको खेलमा पराजित भए नेपालले एक खेल बाँकी छँदै सिरिज गुमाउनेछ ।

यी दुई टिमबीचको पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।

नेप्सेमा सामान्य सुधार

काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक बुधबार सामान्य अंकले सुधार भएको छ । नेप्से ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा पुगेको छ ।  बुधबार ३१३ धितोपत्रको ७२ लाख चार हजार २७२ कित्ता सेयर दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये तीन वटाको सेयर मूल्य बढेको छ भने बाँकी १० वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  आज पोखरा फाइनान्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढ्दा माइखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.८४ प्रतिशतले घटेको छ ।

ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । ताइवानको पूर्वी तट क्षेत्र ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।सो भूकम्प पश्चात ६.५ म्याग्निच्युडको परकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको बताइएको छ। ताइवानको सेन्ट्रल वेदर एडमिनिस्ट्रेशनका प्रवक्ताका अनुसार पछिल्लो २५ वर्षमा सो टापुमा सबैभन्दा शक्तिशाली भुकम्प गएको हो ।भूकम्प सन् १९९९ पछि ताइवानमा गएको यो सबैभन्दा शक्तिशाली भूकम्पले २४०० जनाको ज्यान लिनुका साथै र १०,००० बढि घाइते भएको बताइएको छ। ताइवानको केन्द्रीय मौसम विभागले बुधबार बिहान गएको भूकम्पपछि ताइवानमा सुनामीको आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । त्यसैगरी जापानको मौसम विज्ञान एजेन्सीले दक्षिणी जापानमा समेत ९ फिटसम्मको  सुनामीको आउनसक्ने चेतावनी दिएको छ ।  

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् । विश्व योग दिवस २०२४ को अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे। योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्‍याने बताए । “शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो,” प्रधानमन्त्री प्रचण्डले भने, “नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भइ कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्त हुनेजस्ता गुणको विकास हुन्छ ।”  तनावमुक्त शान्त मन र रोगमुक्त स्वस्थ शरीर विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने बताउँदै प्रधानमन्त्रीले योग र ध्यानका अभ्यासहरूबाट व्यक्तिमा नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्त्वपूर्ण योगदान पुग्ने बताए । “नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावनायुक्त देश हो,” प्रधानमन्त्री प्रचण्डले भने, “तसर्थ, हामीले योगको विश्वव्यापीकरणमा जोड दिनुपर्दछ । यस दिशामा योजनाबद्ध पहल लिन योगका अभियन्ताहरू र योग गुरूहरूमा म हार्दिक अपील गर्दछु ।”  योग नेपालको आम जीवनपद्धति एवं अमूल्य निधि भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपालले परिकल्पना गरेको योगमाया आयुर्वेद विश्वविद्यालयले भविष्यमा विश्वस्तरीय विश्वविद्यालयको रूपमा स्थापति हुने विश्वास व्यक्त गरे ।

म षडयन्त्रको शिकार भए, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू षड्यन्त्रको शिकार भएको बताएका छन् । बुधबार टी– २० विश्वकपको नेपाली टिम घोषणा भएपछि सामाजिक सञ्जालमा सन्दीपले आफूमाथि षड्यन्त्र भएको र यसमा भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन् । उनले पहिलो पोष्टमा भनेका छन्, ‘मैले लामो पोस्ट गर्नबाट आफूलाई टाढा राखेँ । म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा भूमिका खेल्ने सबैलाई भगवानले साथ दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ ।’ त्यसपछि सन्दीपले अर्को पोष्ट गर्दै आफूमाथि भएको षड्यन्त्रमा संलग्न व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘म सम्बन्धित अदालतको कानुन र आदेशको सम्मान गर्दछु । तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु, जो यस मुद्दामा संलग्न छन् ।’ विस २०७९ भदौमा बलात्कारको उजुरीपछि सन्दीपलाई गत पुसमा जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद, तीन लाख जरिबाना र दुई लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । जिल्ला अदालतको यो निर्णयविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका छन् ।

नेप्से २.७३ अंकले घट्यो

काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक ०.१३ प्रतिशतले घटेको छ । बिहीबार नेप्से २.७३ अंकले घटेर २००४.०५को विन्दुमा पुगेको हो । नेप्से परिसूचक पछिल्लो तीन दिन लगातार झिनो अंकले घेटेको हो । आज ३०२ धितोपत्रको ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँमा किनबेच भएको छ ।

यस्तो छ समानुपातिक कोटाबारे सर्वोच्चको निर्देशनात्मक आदेश (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले वि.सं.२०८४ मा हुने आम चुनावअघि निर्वाचनसम्बन्धी कानूनहरू पुनरावलोकन गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ। वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपाने समेतले हाल समानुपातिक निर्वाचनबाट संसद्‌मा पुगेका ११० सांसदहरूको नियुक्ति बदर माग गर्दै दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले निर्देशनात्मक आदेश दिएको हो । अधिवक्ता न्यौपानेले रिटमा हालका ११० जना समानुपातिक सांसदहरू आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछि परेका नभई आर्थिक रूपले सम्पन्न, उच्च शिक्षा हासिल गरेका, पटकपटक सांसद मन्त्री भएका, उच्च सामाजिक अवस्था भएका व्यक्तिहरू रहेकाले उनीहरूको नियुक्ति बदर गर्न गरेका थिए। सर्वोच्चले पछि परेको वर्गलाई निर्वाचित पदमा पुर्‍याउनेगरी सबै तहका निर्वाचन सम्बन्धी कानून पुनरावलोकन गर्न निर्देशनात्मक आदेश जारी गरेको हो। यस्तो छ आदेशको पूर्णपाठ 

संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषदद्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह

जेनेभा । संयुक्त राष्ट्र मानव अधिकार परिषदले शुक्रबार इजरायललाई हतियार बिक्रीमा रोक लगाउन आग्रह गरेको छ ।खुुलेआम हतियार खरिद विक्रीको परिणाम स्वरुप भएको गाजा युद्धले ३३ हजारभन्दा बढी प्यालेष्टिनीको ज्यान लिएको छ ।  मारिनेमा अधिकांश सर्वसाधारण नागरिक परेका छन् ।आग्रह स्वीकृत भएमा संयुक्त राष्ट्रसङ्घको शीर्ष अधिकारीक निकायले घेराबन्दी गरिएको प्यालेस्टिनी क्षेत्रलाई रक्तपातपूर्ण युद्धको स्थितिलाई रोक्न सफल हुनेछ । मस्यौदाले सम्बन्धित देशहरुलाई इजरायलमा हतियार, तथा अन्य सैन्य उपकरणहरूको बिक्री, हस्तान्तरण रोक्न आह्वान गरेको छ । मस्यौदाको आवश्यकता अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन रोक्नको लागि महत्त्वपूर्ण रहेको परिषद्ले जनाएको छ । मस्यौदाले अन्तर्राष्ट्रिय न्यायिक अदालतले जनवरीमा गाजामा ‘नरसंहारको सम्भावित जोखिमको फैसला गरेको’ कुरामा जोड दिन्छ । अल्बानिया बाहेकका इस्लामिक सहयोग सङ्गठन (ओआईसी) का सदस्यको तर्फबाट पाकिस्तानले अगाडि सारेको मस्यौदा प्रस्तावमा तत्काल युद्धविराम तथा आपतकालीन मानवीय पहुँच र सहयोगका लागि आह्वान गरिएको छ । गत हप्ता संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पनि युद्धविरामको आह्वान गर्ने प्रस्ताव पारित गरेपछि यस्तो आग्रह आएको हो । तर, युद्धविरामको मागले युद्ध ग्रस्त भूमिमा कुनै असर पारेको छैन । अधिकार परिषद्को मस्यौदा प्रस्तावमा इजरायली सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा रकेट प्रहार गरेकोमा यसको निन्दा गर्दै बाँकी सबै अक्टोबर ७ को आक्रमणमा कब्जामा लिइएका बन्धकहरूको तत्काल रिहाइको माग गर्दछ । प्यालेस्टिनी क्षेत्रहरूमा इजरायली नियन्त्रण समाप्त गरी गाजा पट्टीमा नाकाबन्दीलगायतका कार्य तुरुन्तै हटाउन माग गरेको छ । मस्यौदाले नरसंहारका धेरै सन्दर्भहरू हटाउदै यस विषयमा गम्भीर चिन्ता जारी राखेको छ । जसले गाजाभित्र र बाहिर प्यालेस्टिनीहरूको निरन्तर जबरजस्ती स्थानान्तरण रोक्न आग्रह गर्दछ । मस्यौदा प्रस्तावले गाजामा युद्धको विधिका रूपमा नागरिकहरूलाई भोकमरीको बाध्यतामा पारेको भन्दै यसको निन्दा गरेको छ । जहाँ संयुक्त राष्ट्र सङ्घले गाजामा चरम अनिकाल व्याप्त भइसकेको बताउँदै जानाजानी खाना, पानी, बिजुली, इन्धन र दूरसञ्चारलगायत नागरिकहरूको अस्तित्वका लागि बाधा पारी आधारभूत आवश्यक वस्तुहरूबाट वञ्चित गरिएकोमा यसको विरोध गरेको छ । रासस/एएफपी

नेप्से ७५ अंकले बढ्यो, कारोबार रकम कति ?

काठमाडौं । नेप्से परिसूचक २५ सय अंकमाथि पुगेको छ । साताको तेस्रो कारोबार दिन बजार ७५.३३ बढेर २५६३.४३ मा कायम भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । अघिल्लो दिनको कारोबारमा नेप्सेमा दुई अंकको करेक्सन आएको थियो। यस दिन २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ।  उच्च अंकले बजार बढ्दा बोटलर्स नेपाल (बालाजु) लिमिटेड, समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउस लिमिटेड र साहास ऊर्जाको सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ। बजार बढे पनि कारोबार आइतबारको तुलनामा घटेको छ । मंगलबार १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ रुपैयाँ बराबरको तीन करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर एक लाख ७१ हजार ३८७ पटकमा खरिद बिक्री भएको छ । आइतबार बजार बढ्दा १५ अर्ब माथिको कारोबार भएको थियो ।  समूहगत उपसूचकतर्फ १३ वटै समूहको सूचक बढेको छ । जसमा सबैभन्दा धेरै व्यापार समूह ५.०६ प्रतिशतले बढेको छ ।   

तिहाड जेल फर्किँदै दिल्लीका मुख्यमन्त्री केजरिवाल

एजेन्सी। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेलमा फर्किँदै छन्। दिल्लीको मदिरा नीति घोटालासँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा मुख्यमन्त्री केजरीवालको अन्तरिम जमानतको म्याद शनिबार सकिएपछि उनी पुनः जेल फर्किएका हुन् । केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत दिएको थियो र २ जुनमा तिहाड जेलमा आत्मसमर्पण गर्न भनिएको थियो। उनले यसअघि अन्तरिम जमानतको म्याद थपका लागि सर्वोच्च अदालतमा अपिल गरेका थिए। बुधबार सर्वोच्च अदालतले उनको निवेदन खारेज गर्दै उनलाई नियमित जमानतका लागि ट्रायल कोर्ट जाने स्वतन्त्रता दिइएकाले यहाँको निवेदन विचारणीय नभएको बताएको थियो। यसैबीच, दिल्लीको राउज एभेन्यू अदालतले कथित अन्तःशुल्क नीति घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धीकरणको मुद्दामा चिकित्सकीय कारण देखाउँदै मुख्यमन्त्री केजरीवालले दायर गरेको अन्तरिम जमानत याचिकाबारेमा आदेश शनिबार स्थगित गरेको छ। अदालतले ७ दिनको जमानतको माग गर्दै दायर गरिएको याचिकामा जुन ५ तारिखका लागि मिति तोकेको छ भने केजरीवालका वकिलको अनुरोधअनुसार आजै आदेश दिन अस्वीकार गरेको छ। केजरीवालका तर्फबाट वरिष्ठ अधिवक्ता एन हरिहरनले आफ्नो पार्टी (आम आदमी पार्टी)का लागि चुनाव प्रचार गर्नका लागि अन्तरिम जमानत दिइएको बताए। म २० दिनको लागि बाहिर छु र यदि मैले यो नगरेको भए उहाँले प्रचार गर्नुभएन र बिरामी पर्नुभयो भनिन्थ्यो। निर्वाचन अभियानको कारण धेरै तनाव भएको छ र तपाईंलाई थाहा छ कि तनाव मधुमेहको स्रोत हो। ‘पछिल्लो समय पिसाबमा चिनीको मात्रा बढेको छ। चिन्ताको विषय चिनीको उच्च मात्रा र केटो सङ्ख्या हो,’ मुख्य केजरीवालका वकिलले निवेदनमा भनेका छन्। प्रवर्तन निर्देशनालय (ईडी)का तर्फबाट सोलिसिटर जनरल तुषार मेहता र एडिशनल सोलिसिटर जनरल एसभी राजुले केजरीवालले आफ्नो स्वास्थ्य अवस्थालगायतका तथ्यहरू लुकाएको आरोप लगाए। ‘यो अदालतले सर्वोच्च अदालतको आदेशलाई परिमार्जन गर्न सक्दैन। उहाँ अन्तरिम जमानतमा हुनुहुन्छ किनभने सर्वोच्च अदालतले यसलाई अनुमति दिएको छ, उहाँले यहाँ जे भनिरहनुभएको छ त्यो सर्वोच्च अदालतको आदेशको विस्तार हो,’ ईडीका वकिलले भनेका छन्। ‘तथ्यहरू लुकाइएकोले यो अन्तरिम जमानत याचिका खारेज गर्न आवश्यक छ। सर्वोच्च अदालतले उनलाई नियमित जमानत दिन सक्ने स्वतन्त्रता दिएको थियो तर अन्तरिम जमानतको म्याद थपका लागि अनुरोध गर्ने स्वतन्त्रता उनलाई दिइएको थिएन। उनले यी परीक्षणका लागि ७ दिन लाग्ने बताए पनि परीक्षणको प्रकृतिलाई सार्वजनिक गरिएको छैन। ईडीले अन्तरिम जमानत याचिकामा मेडिकल परीक्षण गर्नुको सट्टा केजरीवाल यात्रा गरिरहेका थिए। मुख्यमन्त्री केजरीवालले आफ्नो भिडियो सन्देशमा भनेका छन्, ‘भोलि २१ दिन बित्दै छ, भोलि मैले आत्मसमर्पण गर्नुपर्छ। मलाई थाहा छैन, यो पटक मलाई कहिलेसम्म जेलमा राख्नेछन्। तर मेरो आत्मबल उच्च छ। देशलाई अधिनायकवादबाट जोगाउन म जेल जाँदै छु। यसमा मलाई गर्व छ।’

सूचना प्रविधिको विकासका लागि निजी क्षेत्रसँग साझेदारी आवश्यक : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताएकी छिन् । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) को आयोजनामा राजधानीमा सुरु भएको २९ औँ सूचना तथा प्रविधि प्रदर्शनी २०८० को उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले सूचना प्रविधिमा युवा जनशक्तिलाई आकर्षित गर्ने कार्यक्रम बनाउनुपर्ने बताइन् । ‘‘डिजिटल अर्थतन्त्रलाई नेपाली अर्थतन्त्रको मूल आधार बनाउन वृहत् सहकार्य आवश्यक छ । सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध छ ।,’’ उनले भनिन्, ‘‘आगामी दिनमा युवा जनशक्तिलाई दक्ष बनाउने, सरकारी तथा निजी क्षेत्र, समुदाय, विद्यालयलगायतका क्षेत्रमा डिजिटल साक्षरता र प्रविधिको प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धान गर्दै सरकारका लागि आवश्यक सुझावका लागि पनि क्यान महासङ्घसँग आग्रह गर्दछु ।’’ डिजिटल नेपाल फ्रेमवर्क २०७६ को कार्यान्वयनमार्फत हरेक क्षेत्रलाई डिजिटाइजेसन गर्दै लैजाने सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले डिजिटल पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, अर्थ र सहरी पूर्वाधारमा प्रविधिको प्रयोग बढाउन सकिएमा ठुलो परिणाम दिनसक्ने बताइन् । सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको मूल एजेण्डासहित अघि बढिरहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले थपिन्, ‘‘हामी यसकै मुख्य सोचमा आधारित रहेर आगामी १६ औँ राष्ट्रिय योजनाको तयारीमा पनि जुटेका छौँ । आगामी पञ्चवर्षीय योजनालाई डिजिटल रूपान्तरणकारी योजनाको रूपमा अघि बढाउनुपर्छ भन्ने सरकारको सोच रहेको छ ।’’ अहिले नेपालमा ठुलो सङ्ख्यामा युवाहरू सूचना प्रविधिको क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्दै उनले भनिन्, ‘‘अहिले ठुलो सङ्ख्यामा युवाहरू विदेश पलायन भइरहेको बेलामा नेपाली जनशक्ति देशभित्रै बसेर सूचना प्रविधि सेवा निर्यातमार्फत आर्थिक समृद्धिमा योगदान गर्न सकिन्छ भन्ने आत्मविश्वास बढ्दै जानु निकै खुसीको कुरा हो । यसबाट एकातिर हामी सूचना प्रविधि उद्योगमार्फत विश्व बिजारमा प्रतिस्पर्धा गर्न सक्ने छौँ भने अर्कोतिर जनशक्ति पलायन रोकेर श्रमिक होइन श्रम र सेवा निर्यातको नयाँ ढोका खोल्न सक्ने छौँ ।’’ सरकारले चालु आर्थिक वर्षकै नीति तथा कार्यक्रम र बजेटमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यममा प्रेरित गर्ने कार्यक्रम समावेश गरेको र स्टार्टअप उद्यम कर्जा कार्यविधि पारित गरेर यसका लागि परियोजना आह्वान पनि गरिसकेको जानकारी दिँदै मन्त्री शर्माले सूचना तथा सञ्चार प्रविधिमा आधारित स्टार्टअप गर्न चाहनेहरूलाई यसमा समावेश हुन आग्रह गरिन् । सूचना प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको जानकारी दिंदै नेपालमा पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरेर कार्यान्वयनमा ल्याइएको र डाटा सुरक्षा, साइबर सुरक्षालगायतका क्षेत्र समेटेर सूचना प्रविधिसम्बन्धी कानुनको तयारी भइरहेको जानकारी दिइन् । कानुनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनर्संरचना लगायतका काम पनि भइरहेको उनले स्पष्ट पारिन् । अब सूचना प्रविधि क्षेत्रमा विकास र प्रयोग बढाउन नवीन प्रविधिलाई आत्मसात् गर्दै आविष्कार र नवप्रवर्तनमा जोड दिनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले विश्वमा एकपछि अर्को प्रविधिको विकास र प्रयोग हुँदै गएकाले रोबोटिक्स, आर्टिफिसियल ईन्टेलिजेन्स् (एआई) जस्ता प्रविधिको आत्मसातीकरण साथै आगामी दिनमा विकासमा नवीन प्रविधिका लागि पनि स्पष्ट नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्नुपर्ने बताइन् । सञ्चार तथा सूचना प्रविधि आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको विषय हो भन्ने सवाल नेपाल राज्यले औपचारिकरुपमा स्वीकार गरेको भए पनि यसलाई सिङ्गो मुलुककै साझा धारणा बनाउन अझै मेहनत गर्न आवश्यक रहेको पनि मन्त्री शर्माले स्पष्ट गरिन् ।

आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउँछौं : प्रधानमन्त्री

विराटनगर (मोरङ)। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउने बताएका हुन् । सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम एवं बजेट उत्पादनमुखी एवं रोजगारी सिर्जना गर्नेगरी ल्याइने प्रधानमन्त्रीको भनाई थियो । सरकारले गरेका सकारात्मक कार्यबाट जनतामा आशा जागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सुशासन र सामाजिक न्यायका सन्दर्भमा सरकारले गरेका सकारात्मक काम जनतासमक्ष पुर्‍याउनुपर्नेमा जोड दिए। आगामी दिनमा माओवादी आन्दोलनका सहभागीहरू एकताबद्ध हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भने, “माओवादी आन्दोलनका सहभागीहरू सबै एकताबद्ध हुनुपर्छ । समाजवादी मोर्चामा सहभागी साथीहरू चाँडै एकताबद्ध हुनुपर्छ भन्नेमा हुनुहुन्छ । बाँकी साथीहरू पनि एकताको विकल्प छैन भन्नेमा पुग्नु भएको छ । हामी सबै एक ठाउँमा हुन्छौँ, हुनेछौँ ।” माओवादी आन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सङ्घीयता, समावेशिता एवं धर्मनिरपेक्षताजस्ता उपलब्धीलाई उल्ट्याउने प्रयास भइरहेकाले त्यसतर्फ सचेत हुन आग्रह गरे। उनले सङ्घीय निजामति ऐन पारित गर्ने चरणमा रहेको र सङ्घीय प्रहरी ऐन बनेको एवं प्रदेश प्रहरी ऐन कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।

पाकिस्तानी सशस्त्र समूहको गोली प्रहारबाट अफगानी पत्रकारको निधन

काठमाडौं । इस्लामाबादमा सक्रिय सशस्त्र समूहको गोली प्रहारबाट घाइते भएका अफगान पत्रकार अहमद हनायशको निधन भएको छ ।  गोली लागि अहमद हनायशको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई अप्रिल ३ को साँझ पाकिस्तान इस्लामाबादमा सशस्त्र व्यक्तिहरूले गोली हानेका थिए । आफ्नो संस्थामा लामो समयदेखि आबद्ध पत्रकार अहमद हनायशको हत्या भएको भन्दै इन्टरनेशनल फेडेरेसन अफ जर्नालिस्ट र यसको आबद्ध अफगानिस्तान स्वतन्त्र पत्रकार संघले अधिकारीहरूलाई तुरुन्त अनुसन्धान गर्न र दोषीहरूलाई छिटोभन्दा छिटो कारबाहि गर्न आग्रह गरेका छन्। हनायश निजी मिडिया आउटलेट रेडियो काहकाशन र रेडियो डोन्याका संस्थापक र संयुक्त राज्य कांग्रेसबाट अनुदान पाएको रेडियो आजादीका पत्रकार थिए । उनलाई इस्लामाबादको दक्षिणपूर्वी आवासीय क्षेत्रमा घर फर्किने क्रममा मोटरसाइकलमा आएका दुई बन्दुकधारीले गोली हानेका थिए।  पत्रकारको खुट्टामा दुई पटक गोली लागेको थियो, अर्को गोली उनको टाउकोमा चरेको थियो, र उपचारको लागि नजिकैको अस्पतालमा सारिएको थियो।  हनायश अफगानिस्तान छाडेर जनवरी २०२३ देखि इस्लामाबादमा बस्दै आएका थिए । उनी इस्लामाबाद छोडेर जर्मन यात्राको तयारी गरिरहँदा कै समयमा गोली प्रहार भएको हो ।उनलाई गोली प्रहार गर्नुको कारणबारे अहिलेसम्म जानकारी प्राप्त भैसकेको छैन्। यसअघि मार्च १४ मा मोटरसाइकलमा आएका तीन अज्ञात व्यक्तिहरूले फार्मेसीमा गोली हानेपछि वरिष्ठ पाकिस्तानी पत्रकार सगीर अहमद लारको हत्या भएको थियो। उनका भाइ जलील अहमदले पहिलो सूचना रिपोर्ट दर्ता गराए पनि हत्यामा संलग्न कसैलाई पनि पक्राउ गरिएको छैन।

नेपाललाई शान्ति क्षेत्र घोषणा किन आवश्यक छ ?

हाम्रा अर्थशास्त्री, समाजशास्त्री र धेरै जान्ने सुन्नेले मुलुक पछि परेको विषयमा चिन्ता गरेको पाइन्छ । मेरो विचारमा देशभक्ति, राष्ट्र भक्ति, मातृपितृभक्ति र मानवतावादी चिन्तनमा ह्वात्तै ह्रास आएकोले मुलुक पछि परेको हो । लोकतन्त्र ल्याउन अघिल्लो पुस्ताले जेलनेल यन्त्रणा मात्र सहेको होइन अपितु कैयौंले ज्यान समेत दिएका थिए । त्यसपछिको पछिल्लो पुस्ता व्यक्तिगत सुख भोग र विलासी जीवनमा मात्र रमाउन थाल्यो । बाँकी कुरा सबै बिस्र्र्यो । अबको नेतृत्वले पनि पुरानो पुस्ताले जस्तै त्यागमय जीवन शुरु नगर्दासम्म समाज सुध्रने छाँटै छैन । किनकि तलदेखि माथिसम्म समाज अनुत्पादक मस्तीमा चलेको छ । यो नै महाभूल हो । सम्झदा अचम्म लाग्छ र आनन्दको अनुभूति पनि हुन्छ । एउटा यस्तो जीवन पनि पार गरियो, जब जीवन उत्पादनसँग जोडिएको थियो । खेतमा पानी लगाउने र बालीको संरक्षण गर्ने, बारीमा तरकारी र फलफूलका बिरुवामा ओकेरा लगाउने झार जंगल ओखल्ने र गाईवस्तुलाई घाँस, दाना, पानी चलाउने गरिन्थ्यो । फराकिलो फाँट, उन्मुक्त शुद्ध हावा लिदै बाँचेको जीवन सम्झन्छु । त्यति मात्र हो र ? अगेनाको वरिपरि बसेर बाले सुनाएका नीति कथा र गुरुले दिएको पाठ घोक्दै गरेको त्यो अनुशासित नैतिक शिक्षाको जीवन सम्झदा सपनाको रमाइलो जस्तो लाग्छ । आज जीवनको उत्तराद्र्धमा आई पुग्दा शहरी जीवनको बेडरेष्टमा छु जस्तो पो लाग्छ । किन हो अधिकांश सपना उही गाउँले जीवनसँग सम्बन्धित हुन्छन् । तर विपना अर्कै अर्कै उत्पादक हैन प्रत्युपादक जस्ता । यता दुई हप्तादेखि बंगलादेशको घटनाले घेरिराखेको छ । युक्रेन र गाजाको नरसंहार अलि टाढाकै विषय भएकोले कम गिजोलिएको त हुन्थ्यो । तर बंगलादेशको घटना छिमेककै प¥यो । त्यहाँ सयौं मानिस मारिए । हजारौं घर जले । अरबौंको क्षति भयो । त्राहिमाम् छ । त्यो आगो सल्किने त्रास देखाउँछ मिडिया । कहिले त लाग्छ– यिनी आँखा र कान बन्द भए आराम मिल्थ्यो कि ? गएका दिन फर्कि आउन्नन् । वर्तमानबाट दिक्क परेपछि मान्छेलाई विगतको सम्झना हुँदोरहेछ । तर विगतबाट दिक्क परेर, अत्तालिएर, लडेर, भिडेर वर्तमानमा आइपुगेको पनि त साँचो हो । उत्थान र पतनको यो भूँमरीबाट पार पाउन भाग्ने ठाउँ पनि कतै छैन । आजसितै जुझेरै भोलिको खोज हुने रहेछ । त्यसै अनुरुप होला, गत शनिबार भदौ १ गते घोराहीस्थित सर्वोदय पुस्तकालय तथा वाचनालय र राप्ती राहित्य परिषद्को संयुक्त आयोजनामा सम्पन्न बुद्ध चिन्तन र शान्ति क्षेत्र घोषणा विषयक गोष्ठीमा सामेल हुन पुगें । त्यो भावी शान्तिपूर्ण जीवनको खोज थियो । त्यसपछिको तीन दिन बेडरेष्ट जस्तै भाछ । बेडरेष्ट (सुती बिश्राम) यो शब्द मेडिकल साइन्सबाट आए होला । म जस्ता उमेर पारी पुगेकालाई पनि यो शब्द बेठीक किन भनूँ र ? तर शब्दले मात्रै कसको जीवन धानिन्छ र ? डाक्टर वैद्यले आराम गर भने पनि मनमा आराम छैन भने आराममा पनि बिराम लाग्छ । मन शान्त पार्न ज्ञान, ध्यान असल उपाय पक्कै हुन् । तर पनि जब ज्ञान ध्यान बिथोलिने आँधी, हुरी, बतास, चट्याङ चल्छन् तव आराम हराम बन्छ । अहिलेको बेथितिले जन्माएको युद्ध, अशान्ति, कोलाहलबाट मुक्त हुन आँखा कान खुला राख्नेलाई सहज छैन । बाहिरका आँखा कान बन्द गरे पनि भित्री आँखा कान बन्द गर्ने यन्त्र विज्ञानले पनि दिन सकेको छैन । प्रत्येक सचेत मान्छेलाई आजको विश्व घटनाले छोइहाल्छ । बेथिति रोक्ने दुई उपाय मात्र छन्– एक हो बल प्रयोग । दोस्रो बुद्धि विवेकको प्रयोग । आजसम्मको बल प्रयोगले दिएको समाधान प्रत्युत्पादक र अर्को बेथिति (युद्ध) जन्माएको छ । प्रथम विश्वयुद्धपछि पराजित जर्मनीमाथि त्यति बढी अन्याय नभएको भए हिटलरको जन्म हुने थिएन । युद्धपछि युद्धको श्रृङ्खला त्यसैका परिणाम हुन् । विरालालाई भाग्ने मौका पनि नदिंदा उसले चिथोर्न जाइलाग्छ । त्यसैले आगोले आगो निभ्ने हैन भनिएको होला । यहींबाट शान्तिपूर्ण उपायको खोजी आरम्भ हुन्छ । हाम्रो जनताबाट उठेको शान्ति क्षेत्र घोषणाको अभियान यही प्रारम्भ विन्दु हो । राजा वीरेन्द्रले पनि आफ्नो राज्याभिषेकको अवसरमा नेपाललाई शान्ति क्षेत्र घोषणाको प्रस्ताव अघि सारेका थिए । तर त्यो राजकीय घोषणा थियो । तत्कालीन राजनीतिक घोषणा थियो । तर हाम्रो शान्ति क्षेत्रको घोषणा समग्र जीवनसँग गँँसिएको छ । जन्मेदेखि मृत्यु पर्यन्तसम्मको हो । राजनीतिक जीवन धेरै पछि प्रारम्भ भएको हो । मानव जीवनको सभ्यता दश हजार वर्ष पुरानो छ । त्यो बेला राज्यको जन्मनै भएको थिएन । महाभारतमै उल्लेख छ– नवै राज्यं न राजासीत् न दण्ड¥यो न च दाण्डिकः ।। धर्मेणैव प्रजाः सर्वे रक्षन्ति स्मः परस्परम् प्राणी मात्रलाई जन्मना साथ पहिले शान्तिपूर्वक सास फेर्न पाउनुपर्ने हुन्छ । त्यसपछि गास, बास कपास इत्यादि । शान्तिपूर्ण वातावरण छैन भने यी सबै आवश्यकताहरु फिका पर्छन् अर्थहीन हुन्छन् । हो, व्यक्ति र समुदाय हुँदै राष्ट्र र अन्तर्राष्ट्रियसम्म पुग्दा शान्तिको भावना राजनीतिसम्म पुग्छ । किन्तु जनता सत्ताको लागि राजनीतिक आवरणमा शान्ति बिथोलिएको पनि देख्न चाहन्न । यसको अर्थ राजनीतिलाई बाइकाट गर्ने भन्ने अर्थमा नबुझियोस् । दुई दिन मात्र भयो, राजनीति र कूटनीतिक क्षेत्रमा नाम कमाइसकेका डा. भेषबहादुर थापाको “राष्ट्र–परराष्ट्र” भन्ने पुस्तक हात परेको । राजा वीरेन्द्रको शान्ति क्षेत्रको प्रस्तावको सूक्ष्म तर गहकिलो विश्लेषण गरिएको छ । त्यस मामलामा राजाको सदाशयताको म पूरै सम्मान गर्छु । परन्तु त्यो प्रस्ताव त्यत्तिकै थन्किनुमा तत्कालीन राजनीतिक कारण हो । अहिले त लोकतन्त्र आइसकेको छ । लेख्ने, बोल्ने संगठित हुने स्वतन्त्रतामा छेकवार छैन । बरु युद्ध, अशान्ति र कोलाहलले विश्व सन्त्रस्त छ । नेपाल भूराजनीतिक स्थितिले गर्दा भारत चीन अमेरिका लगायत शक्ति राष्ट्रहरुको आँखामा परिसकेको छ । सबैसँग समान मित्रताको हात बढाएर नेपाललाई शान्ति क्षेत्र घोषणा गरिएपछि सबै ढुक्क हुन सक्छन् । लुम्बिनी गौतम बुद्धको जन्म थली विश्वको शान्तिको प्रतीक बन्न सक्छ । आज पनि त विश्वका साना ठूला भनिने राष्ट्रहरुले लुम्बिनीमा अरबौं डलर खर्च गरेर त्यतिका बिहारहरु स्तूपहरु निर्माण गर्नुको पछाडि शान्तिप्रतिको निष्ठा हैन भन्न मिल्छ र ? उसबेला पनि ११५ देशले शान्ति क्षेत्रको प्रस्तावलाई समर्थन गरेका थिए । केवल भारतले अस्वीकार गरेको थियो । नेपालमा लोकतन्त्र आइसकेको र नेपाल भारत दुबै असंलग्न परराष्ट्र नीतिका पायोनियर भएकोले पनि लुम्बिनी भारतलाई शान्ति क्षेत्र ग्राह्य नहुने कुरा के छ र ? खाँचो इमान्दार पहलको छ र आपसी विश्वासको छ । पुस्तकको अर्को अन्तिम महत्वपूर्ण विषय छ– नेपाल–भारत प्रबुद्ध समूह । लेखकले संयोजकको नाताले पनि निर्धक्कका साथ स्वाधीन एवं सार्वभौम नेपालको उत्थानमा के कस्ता पुराना सन्धि सम्झौता वाधक छन् भन्ने कुरा खुलस्त प्रकाश पारेका छन् । त्यो सुझाव पत्र भारत नेपाल दुबैतर्फको प्रबुद्ध समूहले सर्वसम्मत रुपले प्रस्तुत गरेको छ । मोदी सरकारले आफैले नियुक्त गरेका व्यक्तिहरुको सुझाव पनि अझसम्म किन ग्रहण गर्न सकेको छैन ? यो नै अचम्म र दुःखको विषय बन्न गएको छ । आशा गरौं उसले पनि समयको माग बुझ्ला ।

विदेशमा ४३५६९ नेपाली कोरोना संक्रमित, २८४ को निधन

काठमाडौं । कोरोना संक्रमणले नेपालमा मात्र हैन, विदेशमा रहेका नेपालीमा समेत उल्लेख्य असर गरेको छ । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमति मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन् । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । यद्यपि यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन । विदेशमा ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५६९ नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेका छन् । तीमध्ये ३९ हजार ५६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । गत सातासम्म १९ देशका २८४ नेपालीको कोरोना सङ्क्रमणबाट निधन भइसकेको सङ्घले जनाएको छ । अनावश्यक यात्रा नगरौँ सङ्घले अत्यावश्यक बाहेक अन्य कामका लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ । कोरानो भाइरसको विश्वव्यापी सङ्क्रमणका कारण बेलायत, फ्रान्स, बेल्जियम र जर्मनी जस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन शुरु भएको अवस्थामा अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि यात्रा तय नगर्न सङ्घले आव्हान गरेको हो । सङ्घ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेलासमेत नगर्न आग्रह गर्नुभएको छ । स्वास्थ्य समितिले सार्वजनिक स्थलहरुमा निस्किँदा मानिसहरुलाई सकेसम्म मास्कको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन अनुरोध गरेको छ ।

एआईसम्बन्धी आविष्कारका लागि दुई जनालाई नोबेल पुरस्कार

काठमाडौं । यो वर्ष भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिशल इन्टेलिजन्स (एआई)सम्बन्धी अनुसन्धानका लागि दुई वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन्। अमेरिकी वैज्ञानिक जोन जे हप्फील्ड र ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जेफ्री ई हिन्टनलाई “आर्टिफिशल न्यूरल नेटवर्कमार्फत् मशीन लर्निङलाई सक्षम बनाउन आधारभूत खोज तथा आविष्कार गरेकोमा" उक्त पुरस्कार दिने निर्णय गरिएको गरिएको हो। भौतिक शास्त्रतर्फ अहिलेसम्म २२४ जनाले नोबेल पुरस्कार पाएका छन्। हप्फील्ड संयुक्त राज्य अमेरिकको प्रिन्स्टन यूनिभर्सिटीमा र हिन्टन क्यानडास्थित यूनिभर्सटी अफ टोरन्टोमा प्राध्यापन गर्छन्। उनीहरूले १.१ करोड स्वीडिश क्रोनर (८.१० लाख पाउन्ड) नगद पुरस्कार र पदक पाउने छन्। यसअघि पुरस्कार समितिले सोमवार चिकित्साशास्त्रतर्फको पुरस्कार घोषणा गरेको थियो। अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले 'माइक्रोआरएनए' (microRNA)को आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि उक्त पुरस्कार पाएका हुन्। नोबेल पुरस्कार समितिका अनुसार बुधवार रसायनशास्त्र, बिहीवार साहित्य, शुक्रवार शान्ति अनि आगामी सोमवार अर्थशास्त्रतर्फ पुरस्कार विजेताको नाम घोषणा हुने छ।