टी२० विश्वकप : नेपालविरुद्ध नेदरल्यान्ड्स ६ विकेटले विजयी

काठमाडौं  । टी२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालविरुद्ध नेदरल्याण्ड्स ६ विकेटले विजयी भएको छ ।

फिल्डिङमा लगातार कमजोरी गर्दा र महत्वपूर्ण क्याच छोड्दा नेपालले पहिलो खेलको जीत पनि नेदरल्याण्ड्सको पोल्टामा हालिदिएको हो ।

टस हारेर पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन जोडेको थियो । १०७ रनको विजय लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो ।

नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउडले अविजित सर्वाधिक ५४ रन जोडे । विक्रमजीत सिंहले २२, साइब्राण्ड ई। ले १४ र बास डी लीडीले अविजित ११ रन बनाए ।

त्यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले पाँच चौकासहित ३७ बलमा ३५ रन जोडे ।

करन केसीले २ छक्कासहित १२ बलमा १७ रन जोड्दा गुल्शन झाले १५ बलमा १ छक्कासहित १४ रन जोडे । अनिल साहले ११ रन जोड्दा बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले १र१ विकेट लिए ।

१३औ‍ं ओभरको पहिलो बलमा सोमपाल कामीले नेदरल्याण्ड्सका ननस्ट्राइक ब्याट्सम्यान साइब्राण्ड ई।लाई रनआउट गरेका थिए ।

तीन सहसचिव सचिवमा बढुवा

काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवाका तीन जना सहसचिवहरूलाई सचिवमा बढुवा गरेको छ।आयोगको आइतबार बसेको बैठकले एक सरकारी वकिल र दुईजना न्याय प्रशासनका कर्मचारीहरूलाई सचिवमा बढुवा गरेको हो। कामु नायव महान्यायाधिवक्ता खेमराज ज्ञवाली महान्यायाधिवक्ता कार्यालयको सचिव सरहको पद नायव महान्यायाधिवक्ता बढुवा भएका हुन् । उनी सरकारी वकिल समूहका हुन् । आयोगले सर्वोच्च अदालतका सह–रजिष्ट्रार यमबहादुर बुढामगरलाई न्याय परिषद्को सचिवमा बढुवा गरेको छ। अनि न्यायपरिषदका कामु सचिव भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रारमा बढुवा गरेको हो।

नेपालका कप्तान रोहित सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वेस्ट इन्डिज ‘ए’सँगको शृंखलामा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । रोहितले  शनिबारदेखि सुरु पाँच खेलको शृंखलामा उत्कृष्ट ब्याटिङ गर्दै एक शतक र दुई अर्धशतकसहित २६५ रन बनाए । रोहितले २५ हजार रुपैयाँ पुरस्कार पाए। वेस्ट इन्डिजका जोन्सन चार्ल्स उत्कृष्ट ब्याटर र वेस्ट इन्डिजकै आबेड म्याक्वेय उत्कृष्ट बलर चुनिए । चार्ल्सले शृंखलाभर २१२ रन जोड्दा म्याक्वेयले आठ विकेट लिए । पाँच खेलको शृंखलामा तीन जित निकाल्दै वेस्ट इन्डिज ३–२ ले च्याम्पियन बन्यो ।

डा. रुइतद्धारा गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया

काठमाडौं । गायिका मेनुका पौडेलको आँखाको नानीको शल्यक्रिया गरिएको छ। वरिष्ठ आँखारोग विशेषज्ञ डा.सन्दुक रुइत नेतृत्वको टोलीले केही दिनअघि तिलगंगा आँखा प्रतिष्ठानमा शल्यक्रिया गरेका हुन्। उनको शल्यक्रिया सफल भएको छ । तर, शल्यक्रियाबारे मेनुकाको परिवार र अस्पतालले केही जानकारी दिएको भने छैन् ।

मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

लेखनाथ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर माग गर्दै मङ्गलबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। निवर्तमान मुख्यमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको तर्फबाट रिट दर्ता भएको हो। पाण्डेका कानुनी सल्लाहकार चिरञ्जीवी शर्माले मङ्गलबार दिउँसो रिट दर्ता भएको जानकारी दिए। रिटमा सरकार गठनका लागि सभामुखलाई गणना गर्न नमिल्ने हुँदा अहिलेको सरकार गठनलाई बदर गर्न माग गर्दै कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीमा निरन्तरता दिनसमेत माग गरिएको छ।  गण्डकीमा एमाले संसदीय दलका नेता मुख्यमन्त्री खगराज अधिकारीले आइतबार दिउँसो मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। मुख्यमन्त्री अधिकारीले एमालेका २२, माओवादीका सभामुखसहित आठ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहित ३१ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी गरेका थिए । अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेलगत्तै प्रदेश प्रमुख डिल्लीराज भट्टलाई स्मरण पत्र बुझाएको कांग्रेसले सरकार बनाउन सभामुखको समेत संख्या गणना भएको भन्दै सरकार गठनको दुई दिनपछि रिट दर्ता गराएको हो।  ६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा (एमाले)का २२, माओवादी केन्द्रका सभामुखसहित आठ र स्वतन्त्र एक सांसद छन्। सदनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका दुई सांसद छन्। केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा दिएका थिए। प्रदेश प्रमुख भट्टले २१ गते नै संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र सरकारका लागि दाबी पेश गर्ने समय दिए।  सत्ता गठबन्धनलाई संसदीय दलको सङ्ख्या गन्दा बहुमत देखिए पनि सभामुखले मत दिन नपाउने हुँदा विश्वासको मतका लागि राप्रपाको समर्थन आवश्यक हुन्छ। राप्रपाले गण्डकीको सत्ता समीकरणबारे कुनै निर्णय गरेको छैन। त्यसअघि नै कांग्रेस अदालत गएकाले  सर्वोच्चको आदेशअनुसार गण्डकी सरकारको निर्णय हुने भएको छ। 

इजराइलमा थप प्रदर्शनको तयारी

इजरायलमा सोमबारका दिन  देशव्यापीफ आम हडतालपछि देशको विभिन्न भागहरूमा थप बिरोध प्रदर्शनको तयारी भइरहेको छ।   बन्धक र हराएका परिवार मञ्चका अनुसार आज स्थानीय समय अनुसार १८:०० बजे (१६:०० BST) देखि दर्जनौं स्थानहरूमा प्रदर्शनहरू हुनेछन्। स्थानीय समय (१७:०० BST) मा तेल अवीभमा "ठूलो र्‍याली" आयोजना गरिनेछ, जसलाई बन्धकहरूको परिवारहरूले नेतृत्व गर्नेछन्। उनीहरूले इजरायली सरकारलाई गाजाबाट सबै बन्धकहरूको सुरक्षित रिहाइको लागि सम्झौता गर्न आह्वान गर्नेछन्। हिजो के के भयो?  बन्धकहरूको रिहाइको लागि सरकारलाई हमाससँगलसम्झौता गर्न माग गर्दै आम हडताल भएको थियो। विमानस्थलहरू, अस्पतालहरू, बैंकहरू र विद्यालयहरूमा ढिलाइ र बन्द भए।  इजरायली श्रम अदालतले हडताल स्थानीय समय अनुसार १४:३० बजे भित्र अन्त्य गर्नुपर्ने फैसला सुनायो र मानिसहरूलाई काममा फर्किन आदेश दिए।  त्यसपछि प्रदर्शनकारीहरू प्रधानमन्त्री नेतान्याहूको यरुशलेम र कैसरिया सहरको निवास बाहिर भेला भए।  पछि नेतान्याहूले गाजामा शव भेटिएका छ बन्धकहरूको जीवन रक्षा गर्न नसकेपछि "माफी मागे" । यसैबीच बेलायतले इजरायललाई निर्यात गर्दै आएका केही हतियारको  निर्यात लाइसेन्स खारेज गरेको छ।

सुनचाँदीको भाउ फेरी बढ्यो

काठमाडौं ।  अघिल्लो दिन तोलामा १ हजार रुपैयाँ घटेको सुन बिहीबार फेरि बढेको छ । हिजो प्रतितोला १ लाख २५ हजारमा झरेको सुन आज भने ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । १ लाख २५ हजार ८ सय रुपैयाँमा बिहीबार सुनको कारोबार भइरहेको छ । बिहीबार एकै दिन चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १४६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १५१५ रुपैयाँ पुगेको छ ।

नेप्से ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा, कारोबार कति ?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार कारोबार रकमले भने यसअघिको ‘रेकर्ड ब्रेक’ गरेको छ । आज हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको भए पनि फाइनान्स र लगानी समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । नेप्सेका अनुसार फाइनान्स समुह परिसूचक ८।०८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी लगानी समूहको परिसूचक ६.८९ प्रतिशतले वृद्धि भएको छ । यसदिन १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी सात कम्पनीको सेयर मूल्य स्थिर छ । २१ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । जसमध्ये आठ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । 

बेइजिङमा पुटिन र सीबिच भेटवार्ता

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि चीनमा छन्।  दुई दिने भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन् । पुटिन र सीबिच हुने भेटवार्तालाई पश्चिमा राष्ट्रहरूले महत्वका साथ नियाली रहेका छन् । रुस र चीनबिचको साझेदारी कसरी अगाडि बढ्छ भन्ने विषयमा पुटिन र जिनपिङबिचको भेटमा छलफल हुने बताइएको छ । रुस र युक्रेनबिच दुई वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ। यस युद्धका कारण अमेरिका र उसका सहयोगीहरूले रुसमाथि धेरै प्रकारका प्रतिबन्धहरू लगाएका छन् । तर, यस अवधिमा चीनले रुसको आर्थिक अवस्थालाई सम्हाल्न सहयोगी साबित भएको छ। चीनले रुसी सेनालाई प्रविधि र हतियार उपलब्ध गराएको आरोप पनि लागेको छ । जसका कारण चीनमाथि पनि दबाब बढिरहेको छ । चीनले यी आरोपहरू अस्वीकार गर्दै आएको छ र रुसलाई कुनै पनि प्रकारको सैन्य सहयोग नगरेको दाबी गर्दै आएको छ । तर, चीनले युक्रेनमा रुसको आक्रमणको आलोचना भने गरेको छैन ।

केजरीवाल पक्राउको विरोधमा प्रधानमन्त्री मोदीको निवास घेराउ गर्दै ‘आप’

नयाँ दिल्ली । आफ्नो नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउको विरोधमा आज आम आदमी पार्टी (आप)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवास घेराउ गर्ने घोषणा गरेको छ। मदिरासम्बन्धी नीति प्रकरणमा मुख्यमन्त्री केजरीवाल हाल प्रवर्तन निर्देशनालय (ईडी)को हिरासतमा छन्।  त्यसको विरोधमा आम आदमी पार्टीका नेता कार्यकर्ताले आज नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवास घेराउ गर्ने भएका हुन्।  तर दिल्ली प्रहरीले विरोध प्रदर्शनका लागि अनुमति नदिएको समाचार एजेन्सी एएनआईले जनाएको छ।आम आदमी पार्टीको प्रर्दशनलाई लिएर दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा गरेको छ । 

इरानका राष्ट्रपति रइसीको निधनप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको घटनाले आफुलाई दुःखी बनाएको बताएका छन्।  आज प्रधानमन्त्री प्रचण्डले आफ्नो व्यक्तिगत एक्स हेन्डल मार्फत राष्ट्रपति इब्राहिम रइसी निधनप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै शोकको यस घडीमा दिवंगत राष्ट्रपति रइसीको परिवार र इरानको सरकार र मित्र राष्ट्र इरानका जनताप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । हिजो पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो । उनका साथ इरानका विदेशमन्त्री र अरू उच्च अधिकारीसहित हेलिकोप्टरमा नौजना सवार थिए । I am deeply saddened by the tragic demise of H.E. Dr. Seyyed Ebrahim Raisi, President of the Islamic Republic of Iran. At this hour of grief, I extend my heartfelt condolences to the family of the late President Raisi, and to the government and friendly people of Iran. — ☭ Comrade Prachanda (@cmprachanda) May 20, 2024

विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

काठमाडौ। विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । बुधबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकलेसो विधेयक संशोधनसहित पारित गरेको हो । सो विधेयक सम्बन्धि समितिको प्रतिवेदनको मस्यौदालाई आवश्यक संशोधनसहित पारित गरिएको समितिकी सभापति विमला सुवेदीले जानकारी दिनुभयो ।  साथै समितिको बैठकले सो विधेयक प्रतिनिधि सभाको आगामी बैठकमा पेश गर्नका लागि सभामुख देवराज घिमिरेलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । बैठकमा समितिका सदस्यहरुले सरकारले दिएको कार्यतालिका अनुसार कानून निर्माण कार्यलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले सरकारले तय गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न पनि सरकारले समयमै कानून निर्माणको काम सम्पन्न गर्नुपर्ने भएकाले ती विषयलाई पनि कानूनमा समेटेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले तत्काल कुनै विधेयक तर्जुमा गर्नुपरे बाधा नआउने गरी कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले ल्याएको कानून निर्माण सम्बन्धि कार्यतालिका तलमाथि गर्न नहुने पनि बताउनुभयो । सांसदहरुले कानून निर्माण प्रक्रियालाई पारदर्शी र गुणस्तरीय बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

जेलेंस्की सरकारबाट मन्त्रीहरूको राजीनामा, जारी युद्धमा के पर्ला प्रभाव ?

एजेन्सी । युक्रेनमा सरकार फेरबदल हुने सम्भावना बढेको छ ।हतियार उत्पादनको जिम्मा लिने रणनीतिक उद्योग मन्त्रीसहित युक्रेनी सरकारका छ जना अधिकारीहरूले राजीनामा दिएका छन् । जसले सरकार परिर्वनको सम्भावनालाई बलियो बनाएको बताइएको छ ।  सत्तारूढ़ 'सर्भेन्ट अफ द पीपल्स' पार्टीका संसदीय दलका नेताले यस हप्ता मन्त्रीपरिषद्को हेरफेर हुने घोषणा गरेपछि  सरकारबाट मन्त्रीहरूको राजीनामा आएका हाे। लामो समयदेखि चलेको युक्रेन–रुस युद्धका कारण युक्रेनले आफ्नो शहरहरूमा दैनिकी रूसको बमबारीको सामना गर्दै आइरहेको बेला सरकार परिर्वतनको हल्ला र सरकार फेर बदलको घट्नाले युक्रेनको राष्ट्रिय राजनीतिमा नयाँ तर​​​​​​​ङ्ग पैदा भएको छ ।  मंगलबार राजीनामा दिनेहरूमध्ये रणनीतिक उद्योग मन्त्री अलेक्जान्डर कम्याशिन, न्याय मन्त्री डेनीस मलिउसका, पर्यावरण संरक्षण मन्त्री रूसलान स्ट्रिलेस्त, उपप्रधानमन्त्री ओल्हा स्टेफानिशिना र इरीना वेरेशचुक, र युक्रेनको राज्य सम्पत्ति कोषका प्रमुख विटाली कोवाल रहेका छन्। मन्त्रीहरूसँगै राष्ट्रपतिका वरिष्ठ सहयोगी रस्तिस्लाव शुर्मालाई पनि राष्ट्रपति आदेश अनुसार बर्खास्त गरिएको छ ।  युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेंस्कीले सरकारलाई मजबुत बनाउन र सरकारको संरचनागत परिवर्तन तयार गरिएको र सोही अनुसार मन्त्रीहरु फेरबदल गरिएको बताएका छन् ।  विपक्षी सांसद इरीना गेरेसचेनको सरकारले गरेको फेरबदलको आलोचना गरेका छन् उनले जेलेन्स्की सरकारलाई मन्त्रीविहीन सरकार भएको समेत आरोप लगाएकी छिन् ।उनले सरकारले बहुमत गुमाएको र  सरकारमा बौद्धिक जनशक्ति संकट रहेका कारण राष्ट्रिय एकताको सरकार बनाउनु पर्ने समेत बताएकी छिन् । 

मणिपुरमा भारतीय विद्रोहीद्वारा ड्रोन आक्रमण, दुईको मृत्यु १० घाइते

नयाँदिल्ली । भारतको मणिपुर राज्यमा विद्रोहीहरूले ड्रोनमार्फत सुरक्षा बलहरूमाथि आक्रमण गरेका छन् । आइतबार विद्रोहीहरूले गरेको ‘आक्रमण’ मा परी दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको प्रहरीले बताएको छ । विद्रोहीहरूले ड्रोन प्रयोग गरी रकेटबाट चल्ने ग्रेनेड प्रहार गरेका थिए । मृतक मध्ये एक जना महिलाको पहिचान भएको छ ।उनी ३५ वर्षीय नगनबम सुरबाला रहेकी छिन् । घाइते हुने मध्ये दूई जना प्रहरी छन् भने एक जना टेलिभिजनका रिर्पोटर रहेका छन् ।  सन् २०२३ मा मणिपुरमा मुख्य रूपमा हिन्दू मैतेई बहुसङ्ख्यक र मुख्य रूपमा ईसाई कुकी समुदायबीच द्वन्द्व सुरु भएको थियो । उक्त धार्मिक द्वन्द्वमा कम्तीमा दुई सय जनाको मृत्यु भएको थियो ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थप

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को ६ महिना थप गरेको छ। बंगलादेशको गृह मनत्रालयले बुधबार एक सूचना जारी गर्दै जेल सजाय थपिएको जनाएको छ । मन्त्रालयले थप गरिएको अवधिमा खालेदा जियाले आफ्नो मुलुक छाड्न पाउँदिनन्। मन्त्रालयले खालेदाले बंगलादेशमै स्वास्थ्योपचार गराउनुपर्ने पनि जनाएको छ । सन् २०२० यता पूर्वप्रधानमन्त्री खालेदाको जेल सजाय थप गरिएको यो छैटौँपटक हो। कोरोना महामारीको समयमा मानवीय कारण देखाउँदै बंगलादेश सरकारले २०२० मार्चमा अस्थायी प्रयोजनका निम्ति खालेदालाई जेलमुक्त गरिदिएको थियो। बंगलादेश नेसन्लिस्ट पार्टीका अध्यक्ष समेत रहेकी उनी २०१८ देखि जेलमा छिन्। बंगलादेशको एक अदालतले उनीमाथि विदेशबाट प्राप्त सहायता रकम हिनामिना गरेको आरोपमा सात वर्षको जेल सजाय तोकेको थियो । खालेदामाथिको जेल सजाय राजनीतिकप्रेरित रहेको विपक्षी दलले आरोप लगाउँदै आएको छ। रासस

अमेरिकामा पानीजहाज पुलमा ठोक्किदा पुल भत्किएर गाडी र मान्छे खसे(भिडियोसहित)

काठमाडौं । अमेरिकाको बाल्टिमोरमा एक मालवाहक पानीजहाजले पुललाई ठक्कर दिएपछि कयौँ मान्छे तथा सवारीहरु खसेका छन् । बीबीसीका अनुसार अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरको पातास्प्को नदीको पुलमा मालवाहक पानीजहाजले ठक्कर दिएपछि उक्त दुर्घटना भएको हो । दुर्घटनामा २० मान्छे र कयौँ सवारीहरु खसेको बताइएको छ । तर, कतिको हताहती भएको भन्नेमा भने कुनै सार्वजनिक तथ्यांक आएको छैन । मेरिल्याण्ड राज्यले दुर्घटनापछि संकटकाल घोषणा गरेको छ । तीन किलोमिटर लम्बाइको उक्त पुल बाल्टिमोरको प्रमुख राजमार्गको हिस्सा हो। सीएनएनका अनुसार ज्यादै चिसो मौसमको कारणले उद्दारमा कठिनाइ भइरहेको छ ।