मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्तामा हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताएका छन् ।

संसद्मा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट आफू सुशासन कायम गर्ने कार्यमा प्रतिबद्ध रहेको बताए । 

null

“मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्नेछौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “गठबन्धनका सबै घटकका तर्फबाट म सङ्कल्प गर्दछु, हाम्रो लक्ष्य सत्ता हुने छैन, सुशासन, सामाजिक न्याय र समृद्धि हुनेछ ।” 

आफूले सरकारको गतिसँग असन्तुष्ट छु भनेर पटकपटक भनेको स्मरण गर्दै प्रधानमन्त्रीले आउँदा दिनमा सरकारका काम र परिणामबाट प्रमाणित हुने विश्वास व्यक्त गरे । 

“मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन् । अब यो कति परिणामुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ ।”

आफूले चालेका कदम देश र जनताको हितमा रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, “कसैलाई मेरो कदम अस्थिरता लाग्न सक्छ, कसैलाई गतिशीलता तर यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ ।”

संसदमा उठेका महत्वपूर्ण विषयमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ  

२०८० फाल्गुन २४ गते, बानेश्वर

सम्माननीय सभामुखज्यू, 

माननीय सांसदहरूले यही फागुन ६ देखि १८ गतेसम्मका छलफलमा केही विषयमा सरकारको धारणा माग गर्नुभएको थियो र त्यसमा सम्मानीय सभामुखबाट जवाफका लागि प्रधानमन्त्रीलाई रूलिङ्ग गरिएको थियो । म आज माननीय सांसदहरूले उठाउनुभएका विषयहरूको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु । 

सुरू माननीयज्यूहरूका प्रश्नको जवाफबाट गरौं । राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनर्गठनसँगै माननीयज्यूहरूका केही प्रश्नले जवाफ पाइसकेका छन् । उदाहरणका लागि बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनर्गठनसँगै असान्दर्भिक भएको छ ।

 

सरकार सम्मानित संसदप्रति उत्तरदायी नभएको केही माननीयज्यूहरूको आरोप अलि अन्यायपूर्ण भयो भन्ने मेरो गुनासो छ । माननीय सांसदहरूसँग नियमित सवालजवाफको कार्यतालिका नै बनाएर सुरू गरिएको ‘प्रधानमन्त्रीसँग सांसद’ अभ्यास सम्मानित सदनमै पहिलोपटक हो । त्यस्तो अभ्यास सुरू गर्ने सरकार र प्रधानमन्त्रीलाई नै संसदप्रति अनुत्तरदायी ठान्नु पक्कै न्यायपूर्ण हुँदैन । यो अभ्यासमा मैले केवल औपचारिकता पूरा गरेको छैन, हरेक सांसदका हरेक प्रश्नको विस्तृत जवाफ दिने प्रयास गरेको छु । म आगामी दिनमा संसदसँग अझ धेरै अन्तरक्रिया र जवाफदेहिताको विश्वास दिलाउँछु । संसदका दुवै सदन अनि संसदीय समितिहरूका बैठकमा सरकारको नियमित उपस्थिति रहिआएको छ र रहिरहनेछ । 

null

माननीयज्यूहरूले मिटरब्याज पीडित जनताका समस्यामा सरकारको ध्यानाकर्षण गर्नुभएको छ । यो समस्यालाई बेलैमा बुझेर गत वर्षको चैत २० गते नै सरकारले अधिकारसम्पन्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको सम्मानित सदनलाई जानकारी नै छ । आयोगको ८ महिने कार्यकालमा देशभर करिब २७ हजार उजुरी संकलन भएमध्ये ५ हजार भन्दा बढी फछ्र्यौट भएका छन् भने बाँकीका हकमा समाधान खोज्न यही ३ माघ, २०८० को मन्त्रिपरिषद् बैठकबाट नयाँ कार्यविधि स्वीकृत गरिएको छ । यसका साथै फौजदारी कार्यविधि संहिता, २०७४ मा संशोधन गरी मिटरब्याजको अनुचित लेनदेनलाई फौजदारी र सरकारवादी कसुरका रूपमा कारवाही अघि बढाउने व्यवस्था गरिएको छ । यही १६ फागुनसम्म दुई हजार नौ सय ९४ वटा उजुरी आपसी मेलमिलापबाट फछ्र्यौट भएका छन् । जिल्ला प्रहरी कार्यालयहरूमा दुवै पक्षको छलफलबाट मेलमिलाप गराउने र मेलमिलाप हुन नसके प्राप्त प्रमाणका आधारमा अदालतमा मुद्दा दर्ता गर्ने अहिलेको प्रयासबाट अब केही समयमै सबै उजुरी फछ्र्यौट भइसक्नेछन् । मिटरब्याजका लेनदेनलाई एकमुष्ट रूपमा बदर गर्नुपर्ने मागसहित संघर्षमा रहेका नागरिक समूहसँग संवाद र समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन भएको छ । संघर्षरत पक्षसँग अहिले भइरहेको वार्ता छिटै तार्किक निष्कर्षमा पुग्ने मेरो विश्वास छ । 

null

सहकारीसँग जोडिएका समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगका माननीय सदस्यको संयोजकत्वमा गठित कार्यदलले दिएका सुझाव कार्यान्वयन भइरहेका छन् । बचत तथा ऋणको मुख्य कारोबार गर्ने कुनै पनि प्रकृतिको सहकारी संघ, प्रदेश र स्थानीय तहबाट दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्रको स्वीकृतिमा रोक लगाइएको छ । वित्तीय सहकारी संस्थाको नियमनका लागि दोस्रो तहको नियामक निकाय बनाउने कानुनको मस्यौदा अन्तिम चरणमा पुगेको छ । सहकारी संघ संस्थाको सम्पत्ति र दायित्व लगायतको वित्तीय अवस्था देखिने स्वेतपत्र जारी गर्ने, सहकारीका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा व्यवस्थापकको सम्पत्ति विवरण पेश गर्ने र आगामी चैत्र मसान्तसम्म माग भएबमोजिमको बचत फिर्ता गर्ने गरी बचत फिर्ता कार्ययोजना विभागमा पेश गर्ने व्यवस्थाका लागि निर्देशन भइसकेको छ । सहकारी बचत तथा कर्जा सुरक्षण कोष, कर्जा असुली न्यायाधीकरण र सहकारी कर्जा सूचना केन्द्रलगायतका संस्थागत संरचना स्थापना र सञ्चालनका लागि आवश्यक गृहकार्य भइरहेको छ । कार्य विस्तृतीकरण प्रतिवेदन संशोधनका लागि प्रस्ताव गरिएको छ । ठूला कारोबार गर्ने समस्याउन्मुख सहकारी संस्थाहरूको पहिचान गरी नेपाल राष्ट्र बैंकको समेत सहभागितामा सघन अनुगमन कार्य प्रारम्भ गरिएको छ । हालसम्म १८ वटा सहकारी संस्थाहरूलाई सहकारी ऐन, २०७४ बमोजिम समस्याग्रस्त सहकारी संस्था घोषणा गरी सम्पत्ति र दायित्व फरफारक गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ । समस्याग्रस्त घोषणा गरिएका र समस्याउन्मुख देखिएका सहकारीका सञ्चालक र व्यवस्थापक एवं सम्बन्धित पदाधिकारीहरूबाट नागरिकको बचत रकम अपचलन र आर्थिक अनियमिततामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट समेत अनुसन्धान भइरहेको छ ।

सभामुख महोदय,  

प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानविन गरी कारवाहीको दायरामा ल्याउने कार्य शुरु भइसकेको छ । लघुवित्त वित्तीय संस्थाले आवश्यकता र औचित्यको आधारमा एक पटकको लागि असुल हुन बाँकी ब्याजको कम्तीमा ५ प्रतिशत रकम असुल गरी २०८० चैत्र मसान्तसम्म कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सक्ने र त्यस्तो कर्जालाई सक्रिय कर्जामा वर्र्गीकरण गर्ने व्यवस्था गरिएको छ । तोकेभन्दा बढी लिइएको सेवा शुल्क फिर्ता गरी सम्बन्धित ऋणीको खातामा जम्मा गर्न दिएको निर्देशन कार्यान्वयन भइरहेको छ । साथै, गुनासो सुनुवाइ र त्यसको समाधानका लागि लघुवित्त संस्था सुपरीवेक्षण विभागमा बेग्लै डेस्कको ब्यवस्था गरिएको छ । 

दुग्ध किसानको भुक्तानी सहज बनाउन सरकार, सम्वन्धित उद्योगी–व्यवसायी र किसान संगठनबीच वार्ता गराई किसानले पाउनुपर्ने पौष मसान्तसम्मको बक्यौता चैत्र २१ गतेभित्र भुक्तानी गरिसक्ने र अन्य नियमित भुक्तानी जारी राख्ने सहमति भएको छ ।

लुम्विनी अन्तर्राष्ट्रिय सम्मेलनमा दलाई लामा सहभागी हुने चर्चा सत्य थिएन । त्यसमाथि त्यो सम्मेलन स्थगित भइसकेको छ ।   

कपिलबस्तुको रामग्रामको जग्गा लिज सम्बन्धमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले दिएको निर्देशन लुम्बिनी विकास कोषको कार्यकारिणी समितिले कार्यान्वयन गरिसकेको छ । 

माननीय सदस्यहरू,

रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको छ । रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कुटनीतिक दबाब बढाइएको छ । रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउने, मृतकका परिवार तथा घाइतेलाई क्षतिपू्र्ति उपलब्ध गराउने, अनि युक्रेनी सेनाले बन्धक बनाएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा सम्बन्धित देशका अधिकारीहरूसँग विभिन्न तहमा कुराकानी भइरहेको छ । पछिल्लो समयमा क्षतिपूर्ति र विमा रकम नेपाली राजदुतावासको खातामा जम्मा गरी कन्सुलर सेवा विभागमार्फत् पीडित परिवारलाई उपलब्ध गराउन रूस सरकार सहमत भएको छ । अध्ययन छात्रवृति तथा पेशा व्यवसायमा संलग्नबाहेकका नागरिकले रूस यात्रा गर्नु परे ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको छ ।  

अब म पछिल्ला राजनीतिक घटनाक्रम, विशेषगरी सत्ता–समीकरणमा भएको फेरबदल र त्यसमा मेरो पक्षबारे संसदलाई पक्कै जिज्ञासा छ । नेपाली कांग्रेसले सरकारमाथिको विश्वासको मत फिर्ता लिइसकेकाले मैले फेरि विश्वासको मतका लागि सदनमा विस्तृतमा आफ्नो पक्ष राख्न बाँकी नै छ तैपनि यसको तरङ्ग र प्रभाव अलि व्यापक भएकाले सङ्क्षेपमा आफ्नो धारणा राख्न चाहन्छु । 

यो सम्मानित संसदलाई इमानपूर्वक भन्नुपर्छ, अघिल्लो सत्ता–गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल ‘प्रचण्ड’का रूपमा म कुनै समस्या या अप्ठ्यारोमा थिइनँ, न प्रधानमन्त्री पद नै असुरक्षित थियो । नेपाली कांगेसको नेतृत्व र मबीच व्यक्तिगत अविश्वास पनि केही थिएन । टिकिरहनु मात्रैलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि थिएन । यो करिब एघार महिना लामो पछिल्लो साथ र सहकार्यप्रति म विशेषतः नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवा र साथीहरूप्रति आभारी छु । अहिले पनि हाम्रो निजी सम्बन्धमा कम्तिमा मेरा तर्फबाट उत्ति नै सद्भाव छ । तर, राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक परिणामहरू निर्णायक हुँदा रहेछन् । अघिल्लो गठबन्धनमा पनि त्यही भयो ।

निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले जुन तहमा कांगे्रसलाई सघायो, त्यही तहमा आफूले सहयोग पाएन । त्यसले आपसी विश्वास कमजोर बनाएकै थियो, निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि नेतृत्व पछि हट्यो । एउटा परिस्थतिमा फेरि जोडिएपछि पछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले विद्रोह नै गर्‍यो । गठबन्धनको नैतिकताको कसीमा त्यो “विद्रोह” दण्डित हुनुपर्ने थियो तर भयो पुरस्कृत । राष्ट्रिय सभा निर्वाचनमा त्यो समूहले माओवादी उम्मेदवारलाई अन्तरघातबाट पराजित नै गर्‍यो । 

यता कांग्रेस महासमिति बैठकमा विना सन्दर्भ त्यही गठबन्धनको निन्दा सुरू भयो जुन गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो । निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक थिएन । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको अनि समावेशी, धर्मनिरपेक्ष र समाजवादउन्मुख संविधान निर्माणको मुख्य साझेदार रहेको नेपाली कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो, त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिवद्धतामै आशंका जनाउन सक्ने जमिन तयार ग¥यो । महासमितिमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र होइन, दानवीकरण नै गरियो र ०४७ सालकै संविधान ठीक भएको आशयको प्रतिवेदन वितरण गरियो । यसरी हामीबीच हिजो मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शंका र अविश्वासको वातावरण बन्यो ।   

सरकारका रूपमा हामीले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल नगरेका होइनौं तर म तीब्रता चाहन्थेँ । औसत उपलब्धिहरूको आत्मप्रशंसाको पिँजडामा अटाउने अवस्थामा म थिइनँ र छैन । मैले यही सम्मानित संसदमा विश्वासको मत माग्दै गर्दा यही रोष्टमबाट भनेको थिएँ, तेश्रोपटक म प्रधानमन्त्रीमा नाम लेखाउन वा सिहंहदरबारमा अर्को कार्यकालको फोटो झुण्डयाउन यहाँ उभिएको छैन । एक वर्ष कार्यकाल पुरा भएपछिको सम्बोधनमा त मैले कार्यक्षमता प्रमाणित नभए वा देशमा सकारात्मक परिवर्तन ल्याउन र आशा जगाउन नसके पद ओगटिनरहने घोषणा नै गरेको थिएँ । मेरो यो तहको प्रतिवद्धतामा गठबन्धनका केही घटकबाट मैले अपेक्षित साथ पाइनँ । म संकेतमा केवल यत्ति भन्छु, साथीहरूले व्यक्तिका रूपमा त मलाई माया गर्नुभयो तर परिवर्तन, सुशासन र समृद्धिको तीब्र आकांक्षा बोकेको प्रधानमन्त्रीका रूपमा मलाई न्याय गर्नुभएन । 

म सरकारको गतिसँग असन्तुष्ट छु भनेर मैले पटकपटक भनिरहेकै हुँ । मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिवद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ । त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन् । अब यो कति परिणामुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ । कसैलाई मेरो कदम अस्थिरता लाग्न सक्छ, कसैलाई गतिशीलता तर यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ । आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्न प्रतिवद्ध छु । 

सरकारमा लामो अनुभव भएका नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीको साथ छ । यो संकटमा साथका लागि म ती दल र नेतृत्वप्रति आभारी छु । अर्कातिर नयाँ उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरूको पनि अब सरकारमा उल्लेखनीय प्रतिनिधित्व छ । सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प उहाँहरूसँग थियो तर सत्तामै गएर आफूलाई प्रमाणित गर्ने चुनौतीपूर्ण बाटो उहाँहरूले रोज्नुभएको छ । मेरो नेतृत्वप्रति उहाँहरूको भरोसालाई मैले एउटा ठूलो जिम्मेवारी मानेको छु । 

म पुस १० गते नेकपा (एमाले) सहितका दलहरूको समर्थनमा प्रधानमन्त्री निर्वाचित भएको थिएँ । अहिले फेरि एमाले, रास्वपा, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी लगायतका दलहरूसँगको सहकार्यमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । यो नयाँ सहकार्यका लागि म पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीमा विशेष धन्यवाद व्यक्त गर्दछु । त्यसैगरि पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सबै दल र नेताहरूमा आभार प्रकट गर्दछु । विश्वास छ– नयाँ गठबन्धनको दायरा थप फराकिलो बन्दै जानेछ ।  

अन्त्यमा, मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्नेछौं । गठबन्धनका सबै घटकका तर्फबाट म संकल्प गर्दछु, हाम्रो लक्ष्य सत्ता हुने छैन, सुशासन, सामाजिक न्याय र समृद्धि हुनेछ । मलाई विश्वास छ, सम्मानित संसदले यसको स्वामित्व लिनेछ । 

धन्यवाद ।
 

भारतमा ४.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । भारतको महाराष्ट्र राज्यस्थित हिंगोलीमा बिहीबार बिहान ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । त्यहाँको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, बिहान ६ बजेर ८ मिनेट (स्थानीय समय)मा सो क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो । १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । भूकम्पपछि बिहान ६ बजेर १९ मिनेट (स्थानीय समय)मा ३.६ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो

नेपाल एयरलाइन्सद्वारा ४३ करोड ९ लाख ऋण भुक्तानी

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएर ऋणको किस्तामध्ये ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।  निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबढी र दुई वाइडबडी जहाज खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ आषाढ महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी ४३ करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ भुक्तानी गरेको  उल्लेख छ ।  उनले निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् निगमले २०८१ आषाढ सम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको बताए ।  विज्ञप्तिमा विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गर्न निगमले दुई कोषलाई आग्रह पनि गरिएको छ ।  यसैगरी, किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले दुवै कोषलाई अनुरोध पत्र पठाएको पौडेलले जानकारी दिएका छन् ।

विश्वकपअघि नेपालले वेस्टइन्डिज ‘ए’ सँग सिरिज खेल्ने

काठमाडौं । आइसीसी टि–२० विश्वकपअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा वेस्टइन्डिज ‘ए’ सँग सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले वेस्टइन्डिज ‘ए’ सँग पाँच टि–२० खेल खेल्ने तालिका रहेको छ । सिरिज अप्रिल २५ देखि ५ मेसम्म चल्नेछ । वेस्ट इन्डिजको क्रिकेट टोलीले इतिहासमै पहिलो पटक नेपालको भ्रमण गर्न लागेको हो । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । यसअघि एकपटक मात्र सन् २०२३ मा जिम्बाबेमा नेपाल र वेस्ट इन्डिजबीच सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा  वेस्ट इन्डिज एक सय एक रनले विजयी भएको थियो।

नेपालले विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र अब सूचना प्रविधि हो : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छिन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का विज्ञहरुसँगको छलफलका क्रममा उहाँले अब सूचना प्रविधि क्षेत्रलाई अत्यधिक परिचालनमा सहयोग पुग्ने गरी नीति, कानुन र कार्ययोजना बनाउनुपर्ने बताएकी हुन् । आफूले मन्त्रालय सम्हालेपछि सूचना प्रविधिको विकास र प्रयोगलाई गुणात्मक रुपमा अघि बढाउन नीति र कानुन निर्माणमा जोड दिएको पनि उनले स्पष्ट गरिन्। नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति जारी गर्नेदेखि एआई अवधारणा तयार पार्न चरणसम्म आइपुग्दा सूचना प्रविधिको विकासमा नीतिगत क्षेत्रमा मुलुक धेरै अगाडि बढेको मन्त्री शर्माले जानकारी दिइन्।  विश्वब्यापीरुपमा नवीन प्रविधिको रुपमा विकास र प्रयोगहुँदै गएको एआईसम्बन्धी नीति बनाउन अवधारणापत्र तयार गरिएको जानकारी दिंदै मन्त्री शर्माले अब यसका आधारमा नीति र नीतिका आधारमा कानुन बन्ने बाटो खुलेको बताइन्।  तीब्र गतिमा रूपान्तरण हुने प्रविधि क्षेत्रलाई व्यवस्थित गर्ने कानुनलाई समयसापेक्ष बनाउँदै लैजान आवश्यक रहेको उल्लेख गर्दै मन्त्री शर्माले सूचना प्रविधिको विकास, प्रवर्धन र नियमन गर्न तथा साइबर सुरक्षा र साइबर स्पेसका डाटा सुरक्षाका प्रावधान समेत समेटी सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति प्राप्त भई अर्थ मन्त्रालयमा सहमतिको लागि पठाइएको जानकारी दिइन्।  दूरसञ्चार विधेयकको मस्यौदामा पृष्ठपोषणको लागि आज मात्रै मन्त्रालयको वेबसाइडमा राखिएको जानकारी दिंदै उनले सामाजिक सञ्जाल नियमन सम्वन्धी विधेयकको मस्यौदामाथि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सहमति प्राप्त भई मन्त्रिपरिषदमा पेस बताइन्।  सूचना प्रविधि क्षेत्रलाई आर्थिक रुपान्तरणको प्रमुख आधारको रुपमा स्थापित गर्न सफल हुनु मुलुककै रुपान्तरणका लागि ठूलो छलाङ उल्लेख गर्दै मन्त्री शर्माले यसअघि कृषि, जलस्रोत, पर्यटन र औद्योगिक विकास तथा पूर्वाधार निर्माणलाई नेपालका प्रमुख आर्थिक क्षेत्रको रुपमा लिने गरिएकोमा अब नवीनतम आर्थिक रुपान्तरणकारी क्षेत्रको रुपमा सूचना प्रविधि थप भएको बताइन्। मन्त्री शर्माले भनिन् ‘आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाललाई सूचना प्रविधिको हवको रूपमा विकास गर्दै आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाउने र आगामी आर्थिक वर्षलाई त्यसको प्रारम्भ बर्षको रूपमा लिई तद् अनुरूपको तयारीको थालनी गर्ने व्यवस्था मिलाइएको छ ।’ मन्त्रालय एआई नीतिको तयारीमा जुटेकाले यसका लागि आवश्यक सहयोग गर्न उनले विज्ञहरुसँग आग्रह गरिन्। परिस्थितिअनुसार राजनीतिक नेतृत्व परिवर्तन हुने भए पनि यसबाट मुलुकले लिन खोजेको राष्ट्रिय दायित्वमा कुनै असर पर्न नहुनेमा जोड दिंदै उनले यसमा विज्ञहरुको रायसुझाव महत्वपूर्ण हुने र प्रविधि क्षेत्रका नीति कानुन बनाउँदा जतिसक्दो धेरै गैरप्राविधिक क्षेत्रले बुझ्नसक्ने भाषाशैली प्रयोग गर्नुपर्ने सुझाव दिइन्। एआई विज्ञ सिमोन ढुंगानाले एआईको विकास र प्रयोगमा कयौं देशहरु अलमलमा रहेको बेलामा नेपालमा यससम्बन्धी नीति तयार पार्न पहल लिनु अन्तर्राष्ट्रिय रुपमा पनि महत्वपूर्ण प्रयास मानिने बताइन्। मन्त्री शर्माको सफल नेतृत्व र तदारुकताका कारण छोटै समयमा नीतिगत र व्यवहारिक रुपमा नेपालले सूचना प्रविधिको क्षेत्रमा फड्को मारेको भन्दै यो देशका लागि ठूलो उपलब्धि भएको उनको टिप्पणी थियो। कार्यक्रम सहजीकरण मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले गरेका थिए ।

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन २ गते बुधबार सन् २०२४ जुलाई १७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार अमेरिकी डलर, यूरो र बेलायती पाउण्डको विनिमयदर घटेको छ । कतारी रियालको खरिद दर सामान्य घट्दा बिक्रीदर स्थिर छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ ४० पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ९६ पैसा र बिक्री दर १७३ रुपैयाँ ७४ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर 

मास्टरशेफ शाहको रेसिपीमा टु पिएम भेज र चिकेन मसला करी चाउचाउ बजारमा

काठमाडौं । साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्स प्रालिले टु पिएम चाउचाउका थप दुई भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले टु पिएम चाउचाउका ब्राण्ड एम्बास्डर समेत रहेका मास्टरशेफ सन्तोष शाहको रेसिपी अनुसार तयार पारिएको टु पिएम चाउचाउको दुई नयाँ भेरियन्ट भेज मसला करी र चिकन मसला करी बजारमा ल्याएको  हो। ‘सही छ’  भन्ने नारासहित बजारमा ल्याइएको यस चाउचाउको स्वाद, गुणस्तर र प्याकेजिङ्गजस्ता सबै पक्षहरूमा उत्कृष्ट रहेको कम्पनीले बताएको छ ।   टु पिएम चाउचाउको यी दुई नयाँ भेरिएन्ट विकास गर्नलाई धेरै समय लागेको मास्टरसेफ सन्तोष शाह बताउँछन्  । उनले यो रेसिपी निकै स्वादिष्ट भएकाले उपभोक्ताले रुचाउने विश्वास लिएको बताए ।  नेपाललाई प्रोमोसन गर्न यस कम्पनीले योगदान गरेको उनको भनाइ  छ । ‘हामी भित्र्याउँछौँ मात्रै तर पठाउँदैनौँ । तर यो कम्पनीले चाउचाउलाई ३० भन्दा बढी मुलुकमा पठाइरहेको सुन्न पाउँदा गर्व लागेको छ’, उनले भने । केही समयअघि देखि उत्पादन रोकिएको टु पिएम चाउचाउको पुनः उत्पादन तथा बिक्री वितरण सुरू गरेको कम्पनीले जनाएको छ  । २०५६ मा स्थापित एसियन थाई फुड्स प्रा. लि. ले २०५७ मा पहिलो चाउचाउ बजारमा ल्याएको थियो।  विगतका २५ वर्षमा कम्पनीबाट रमपम, प्रिती र टु पिएम जस्ता अग्रणी ब्राण्डहरू बजारमा उपलब्ध रहेको छ ।   यसले टु पिएम र रमपम ब्राण्ड अन्तर्गत विभिन्न स्न्याक्सहरु पनि बजारमा ल्याएको छ । अकबरे चिकन चाउचाउ ५० रुपैयाँमै किन्न सकिने कम्पनीले जनाएको छ ।  यससँगै  अकबरे भेज, कोरियन रामेन, किमची भेज, किमची चिकन, नापोलिटाना, सि फुड, चिज मशरुम जस्ता उत्पादनहरू पनि बजारमा रहिरहने कम्पनीले जनाएको छ । कम्पनीले स्न्याक्सतर्फ भने प्रिमियम चिज बल्स, अकबरे स्टिक्स, फायर बल्स, स्रिम्प क्रैकर, अनियन रिंग, पञ्जाबी तड्का, फायर क्रैकर, लेमन मिन्ट स्टिक्स, मसला स्टिक्स, पास्ता जस्ता उत्कृष्ट उत्पादनहरू रहेको जानकारी दिएको छ । एसियन थाई फुड नेपालमा प्रिमियम श्रेणीका चाउचाउ उत्पादन गर्ने पहिलो कम्पनी हो । कम्पनीले स्थानीय रूपमा उब्जाइएको अकबरे खुर्सानी प्रयोग गरेर टु पिएम अकबरे चाउचाउ उत्पादन गर्दै आएको छ।  चाउचाउ रुचाइएकाले खुर्सानीको समेत आपूर्ति बढिरहेको भन्दै कम्पनीले यसले स्थानीयलाई आर्थिक रुपमा समेत लाभ मिलेको जनाएको छ । ‘किसानलाई अकबरे खुर्सानी खेतीतर्फ आकर्षक बढिरहेको छ’, कम्पनीले भनेको छ  । ‘हामी मास्टरशेफ सन्तोष शाहद्वारा तयारी र सिफारिस गरिएका नयाँ टु पिएम चिकन मसला र भेज मसला करी नूडल्स बजारमा ल्याउन पाउँदा निकै  उत्साहित छौं’, कम्पनीका प्रबन्ध निर्देशक महेश जाजुले भने ।  मास्टरशेफ शाहले आफ्नो वर्षौंको अनुभवलाई प्रयोग गरेर यो प्रामाणिक र स्वादिष्ट टु पिएम चाउचाउ बनाएको जाजुले बताए । ६० ग्रामको प्याकेज २० रुपैयाँमा उपलब्ध हुने यस चाउचाउले उपभोक्तालाई ‘आहा क्या मिठो’ भन्न बाध्य पार्ने जाजु बताउँछन् । कम्पनीले विगतका केही वर्षमा अन्तर्राष्ट्रिय बजारमा चाउचाउको निर्यात समेत बढाउँदै लगेको छ।  भारत, मध्य पूर्व, टर्की, अफ्रिका जस्ता मुलुकमा आयोजित विश्वका विभिन्न मुलुकमा चाउचाउहरू निर्यात गरि विश्वव्यापी उपभोक्ताहरूसम्म पुर्‍याइएको उनले बताए ।  २७ भन्दा बढी देशहरूमा निर्यात गर्दै नेपालबाट चाउचाउ  र स्न्याक्सका सबैभन्दा ठूला निर्यातकर्ताहरूमा यो कम्पनी पर्ने उनको दाबी छ ।  उनका अनुसार टु पिएम चाउचाउलाई  अष्ट्रेलिया, बहराइन, बेल्जियम, भूटान, क्यानडा, चीन, डेनमार्क, फिनल्याण्ड, जर्मनी, हङकङ, भारत, इजरायल, इटली, जापान, कोरिया, कुवेत, मलेशिया, माल्टा, न्यूजील्याण्ड, ओमान, प्यालेस्टाइन, कतार, साउदी अरब, यूएई, यूके, अमेरिका, यमन जस्ता देशहरूमा उपलब्ध गराउँदै आएको छ । ‘नेपालका उत्पादनहरूलाई यति धेरै देशहरूमा चिनाउन र विदेशी मुद्रा ल्याएर नेपालको व्यापार घाटालाई कम गर्नमा  योगदान दिन पाउँदा हामीलाई सन्तुष्टि र राष्ट्रिय गर्वको अनुभव हुन्छ’, जाजुले भने । कम्पनीले केही समयमै ‘क्यानमा स्न्याक्स’ र ‘कप नूडल्स’ जस्ता अझै प्रिमियम उत्पादनहरू बजारमा ल्याउने जाजुले बताए ।

लगानी सम्मेलनसँगै बढ्यो नेप्से र कारोबार रकम

काठमाडौं । लगानी सम्मेलनको उद्घाटन भएको दिन सेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको हो।  तेस्रो लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले अबलम्बन गरेका उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने बताएसँगै अघिल्लो कारोबार दिन अर्थात गत बिहबिार ३.२४ अंक घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो। आइतबार नेप्से परिसूचक १४.३३ अंक बढेर १९८०.२७ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.६२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। गत बिहीबार २ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ४८ हजार १८३ पटकको कारोबारमा २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ बराबरको ६८ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन पोखरा फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र बेष्ट फाइनान्सको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको रिभरफल्स पावरको शेयरमूल्य यस दिन सर्वाधिक ४।६३ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १३ करोड ५ लाख रुपैयाँब राबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन मल्टीपर्पस फाइनान्सको करिब ११ करोडको शेयर किनबेच भएको छ भने पिपुल्स पावरको करिब १० करोडको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.९८ प्रतिशत बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.३४ प्रतिशत घटेको हो।

देशका यी स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा मधेश प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, सबै प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ ।

आठ महिनामा २ खर्ब ३३ अर्ब विदेशी मुद्रा सञ्चित

काठमाडौं । पछिल्लो आठ महिनामा मुलुकमा कुल विदेशी मुद्रा सञ्चिति २ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँ थपिएको छ । गत असार मसान्तको तुलनामा यो २१.७ प्रतिशतले बढेको हो ।  गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । गत फागुन मसान्तसम्म आइपुग्दा यो बढेर १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको थियो । गत फागुन मसान्तसम्ममा २०.८ प्रतिशतले बढेर १४ अर्ब १४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत फागुनसम्मको विदेशी मुद्रा सञ्चितिले १४.८ महिनाका लागि वस्तु र १२.४ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

साउन १० गतेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक, यी हुन् ११ निर्णय

काठमाडौँ। सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम–पहिलो चरणअन्तर्गत उपलब्ध १३ अर्ब ३३ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ  । साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सोमबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्पीसुब्बा गुरुङले उक्त कार्यक्रम पहिलो चरणअन्तर्गत उपलब्ध हुने ७४.६ मिलियन एसडिआर आर्थत् १०० मिलियन अमेरिकी डलर (करिब १३ अर्ब ३३ करोड नेपाली रुपियाँ)बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको जानकारी दिए। यसैगरी, राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा प्रा.डा. शिवराज अधिकारी, सदस्यहरु प्रा.डा. रामपदारथ विच्छा, डा.रमेशप्रसाद सिंह, डा.प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौड्याल अधिकारी, डा.जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ। यी हुन् निर्णय 

टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकपका लागि राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ।सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । क्यानले विश्वकपमा केल्मीले निर्माण गरेको नयाँ जर्सी प्रयोग गर्ने भएको हो ।  टी–२० विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ। नेपाली टोलीले सन् २०१४ पछि दोस्रोपटक विश्वकपमा सहभागिता जनाउन लागेको हो।  विश्वकपमा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन्। नेपाल रहेको समूह डीमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन्। शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर आठ मा पुग्नेछन्।  

सहिद स्मृति विद्यालयका विद्यार्थीहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया

पोखरा। प्रधानमन्त्री एवं सहिद प्रतिष्ठान नेपालका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरा-१४ कास्कीस्थित सहिद स्मृति विद्यालयका विद्यार्थीहरूसँग भेटघाट र अन्तरक्रिया गरेका छन्। सो अवसरमा प्रधानमन्त्रीले विद्यालयको निरीक्षण गर्नुका साथै शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका हुन्। अन्तरक्रियाका क्रममा प्रधानमन्त्रीले सहिदका सन्ततिहरू पढ्ने विद्यालयमा आएर अन्तरक्रिया गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै देशका पाँच ठाउँमा स्थापित सहिद स्मृति विद्यालयहरूको प्रवर्धन र विकासमा आफुले ध्यान दिने बताए। सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वसांसद हरिराज अधिकारीले विद्यालयको अवस्थाबारे जानकारी गराएका थिए।

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं । ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा आयरल्यान्ड वुल्भ्सले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर भेट्टाएको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले अविजित ३७ रन जोडे। उनले ३२ बलमा चार चौका प्रहार गरेका थिए । ३७–३ को अवस्थाबाट भुर्तेलले सन्दीप जोरासँग ५४ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पु¥याएका थिए ।  ७.२ ओभरमा व्यक्तिगत एक रनमा क्याच हुनबाट बचेका सन्दीपले ३५ बलमा तीन चौका र दुई छक्कासहित ३६ रन बनाए । यसबाहेक, दीपेन्द्रसिंह ऐरीले अविजित २० रन थप्दा ओपनर आसिफ सेखले १६ रन जोडे । कप्तान रोहितकुमार पौडेल भने ‘डक’ भए । गुल्सनकुमार झाले टिमको खातामा चार रन थपे।  आयरल्यान्ड वुल्भ्सका ग्यारेथ म्याकार्थीले दुई विकेट लिए । बेन ह्वाइट र थोमस मायेसले समान एक विकेट लिए ।  त्यसअघि टस जितेर ब्याटिङमा आएको आयरल्यान्ड वुल्भ्सले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १२१ रनको योगफल खडा गरेको थियो । आयरल्यान्ड वुल्भ्सका स्टेफन डोहेनीले ४६ रन बनाए । उनले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । लियम म्याकार्थीले सात बलमा दुई चौका र एक छक्कासहित १७ रन बनाए । थोमस मायेसले १६ र फियोन ह्यान्डले ११ रन थप्दा आयरल्यान्ड वुल्भ्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  नेपालका ललितनारायण राजवंशी, गुल्सन र कुशल भुर्तेलले समान दुई विकेट लिए । करण केसी र कुशल मल्लले एक–एक विकेट लिए ।  नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ । आयरल्यान्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो । नेपाल ‘ए’ले यसअघि क्यानडा–११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।

गठबन्धनमा कुनै समस्या छैनः सिंह

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनभित्र कुनै समस्या नदेखिएको बताएका छन् । चितवनको रत्ननगरमा आइतबार भएको कार्यक्रममा सिंहले तत्काल गठबन्धनमा कुनै समस्या नभएको बताए ।  उनले गठबन्धनको राजनीतिमा इमान्दारिताका साथ अगाडि बढ्‍नुपर्नेमा जोड दिए । फरक प्रसङ्गमा उनले लोकप्रिय हुने नाममा पार्टीलाई कमजोर बनाउन नहुने पनि बताए । पार्टीभित्र केही असन्तुष्टि रहे पनि यी तमाम असन्तुष्टिको समाधान गर्दै जानुपर्नेमा उनले बताए। ‘अरूलाई दोष देखाएर आफ्नो जिम्मेवारीबाट भागेर अगाडि बढ्न खोज्ने प्रवृत्ति बढ्दै गएकोले कांग्रेस सचेत हुनुपर्छ,’ सिंहले भने, ‘कांग्रेस ठूलो पार्टी भएकोले आन्तरिक जीवनलाई पनि व्यवस्थापन गर्नुपर्छ।’ उनले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको जीवनीबाट धेरै कुरा सिक्न सकिने पनि बताए । सिंहले नेतालाई मात्र गाली गरेर नहुने पनि बताए। उनले पार्टीका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले पार्टीसँग समन्वय गर्नुपर्ने बताए।

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालका कप्तान रोहितको शतक

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्ध पहिलो ट्वान्टी–२० खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले शतक बनाएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले दिएको २०५ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट रोहितले ४७ बलमा १० चौका र पाँच छक्कासहित १०० रन पूरा गरेका हुन् । जारी खेलको १७.२ ओभर सकिँदा नेपालले चार विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालका ओपनरद्वय अनिल साह पाँच र कुशल भुर्तेल १६ रन बनाएर पभेलियन फर्किएका थिए । कुशल मल्लले १६ र दीपेन्द्रसिंह ऐरीले २४ रन जोडे । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०४ रन बनाएको थियो ।