चितवन आउँदै प्रधानमन्त्री, अन्तर प्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन गरिने

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउँदै छन् । उनी दिउँसो १ बजे चितवन आउँने कार्यक्रम रहेको  राष्ट्रिय खेलकुद परिषद् (राखेप) बागमति प्रदेशले जनाएको छ ।

चितवनमा प्रधानमन्त्री प्रचण्डले प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद-२०८० काे समुद्घाटन गर्ने छन् । प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद २०८०को समुद्घाटन  साँझ ४ः०० बजे राखिएको छ ।

खेल भरतपुरको  गौतम बुद्ध क्रीकेट रङ्गशालामा हुनेछ । भरतपुर भ्रमण वर्षलाई लक्षित गरेर राष्ट्रिय खेलकुद परिषद् बागमति प्रदेशको आयोजनामा सो गर्न लागिएको  हो । 

 

एक दिवसीय सिरिज:  आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै नेपाल ‘ए’

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ले शुक्रबार एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दैछन्। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानममा शुक्रबार बिहान ९ः३० बजे सुरु हुनेछ। बुधबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको थियो। आज नेपाल घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ।

फ्रेन्डसिप कप  :  आज भारतको बरोडा क्लबसँग खेल्दै नेपाल

काठमाडौं । भारतमा जारी त्रिकोणात्मक टी(२० फ्रेन्डसिप कपमा लगातार तीन जीत निकालेको नेपालले आज चौथो खेल खेल्दैछ । एक खेल अगाडि नै फाइनल पुगेको नेपालले शुक्रबार बरोडा क्लबसँग खेल्दै छ ।  यो खेल दिउँसो २ः ४५ बजे गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा सुरु हुनेछ । पहिलो खेलमा आइतबार गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको नेपालले मंगलबार भएको दोस्रो खेलमा बरोडामाथि २७ रनको जित दर्ता गरेको थियो ।बुधबार सम्पन्न तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गर्दै फाइनल पुगेको थियो ।  नेपालको भारत भ्रमणलाई आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपको तयारीका रुपमा लिइएको छ। विश्वकपमा नेपाल समूह ‘डी’मा छ। विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्।

राखेपको ६० औं वार्षिकोत्सव : ६ विधाका १८ जना सम्मानित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ६० औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।  वार्षिकोत्सवको अवसरमा राखेपले विभिन्न ६ विधामा ५ खेलाडी, समान १–१ प्रायोजक, स्थानिय तह र राष्ट्रिय खेल संघ, २ खेल पत्रकार तथा ८ कर्मचारी गरी १८ जना सम्मानित गरेको छ । सम्मानीति हुनेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य डा.उमाशंकर प्रसाद, राखेपका उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पुरस्कृत गरेका थिए । यी विभिन्न ६ विधामा पुरस्कृत हुनेहरू सिनियरको पुरुषमा एथलेटिक्सका दीपक अधिकारी र महिलामा बक्सिङकी सुष्मा तामाङ सर्वोत्कृष्ट खेलाडी । जुनियरको पुरुषमा क्रिकेटका अर्जुन कुमाल र महिलामा पौडीकी डुवाना लामाले सर्वोत्कृष्ट खेलाडी । पारा एथलिट खेलाडी अवार्ड पौडीका भीमबहादुर कुमाल । उत्कृष्ट स्थानिय तह नवलपरासीको मध्यविन्दु नगरपालिका । उत्कृष्ट राष्ट्रिय खेल संघ नेपाल भलिबल संघ । कर्मचारीको प्रशासनिकतर्फ नायब वरिष्ठ प्रशासकिय अधिकृत भोजानन्द राई सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, नायब वरिष्ठ प्रशासकिय अधिकृत सुनिलकुमार दाहाल उत्कृष्ट परिषद् सेवा पुरस्कार र नायब वरिष्ठ प्रशासकिय अधिकृत शारदा दाहाल परिषद् सेवा पुरस्कार । प्रशिक्षणतर्फ नायब वरिष्ठ कुस्ती प्रशिक्षक मुम्ताज अली इद्रिसी सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, क्रिकेट प्रशिक्षक मन्जुर आलम खान उत्कृष्ट परिषद् सेवा पुरस्कार र भलिबल प्रशिक्षक उमादेवी गुरुङ परिषद् सेवा पुरस्कार । कर्मचारीतर्फ नै इन्जिनियर सविन महर्जन तथा सहायक बक्सिङ प्रशिक्षक राज श्रेष्ठ करार सेवा पुरस्कार । नेपाल टेलिभिजनका दुर्गानाथ सुवेदी (देवेन्द्र) र कान्तिपुर टेलिभिजनकी सविना कार्की उत्कृष्ट खेल पत्रकार सम्मान ।

खेलकुदको विकासमा विशेष ध्यान दिएका छौं :  प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताएका छन्।  राष्ट्रिय खेलकुद परिषद्को ६० औँ वार्षिकोत्सव समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा सहयोग गर्ने बताए ।  “यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “खेल कूटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् । त्यसैले शारीरिक र मानसिक विकासका साथै अर्थतन्त्रको सुदृढीकरण, कूटनीतिक सन्तुलन र सहकार्य एवं देशको बहुआयमिक विकासका निम्ति यस क्षेत्रको भूमिका निर्णायक देखिँदै आएको छ ।”   आफूले आफ्नो कार्यकालमा खेलकुद, साहित्य–कला र प्रविधिको क्षेत्रलाई उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने, “खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ ।” यसपटक राष्ट्रिय खेलकुद परिषद्का निम्ति राम्रो संयोग जुरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले परिषद्को संरक्षकका हैसियतले आफूले परिषद्लाई दर्बिलो साथ र सहयोग विश्वास दिलाए। “नेपाली खेलकुदको क्षेत्रमा केही नयाँ मानक स्थापित गर्ने मेरो विश्वास छ,” प्रधानमन्त्री प्रचण्डले भने, “परिषद्लाई नयाँ उचाइँमा उठाउँदै खेल क्षेत्रको विकास र खेलाडीहरूको वृत्तिविकासमा समर्पित हुन थप प्रेरणा मिलोस् ।”  खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको छ प्रधानमन्त्री ‘प्रचण्ड’ले पछिल्लो समय राष्ट्रियस्तरमा खेलकुदको विकास र अन्तर्राष्ट्रिय पदक हासिल हुँदा खेलाडीहरूमा आत्मविश्वास बढ्दै गएको बताए ।  उनले चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा नेपालले राम्रो नजिता हासिल गरेको स्मरण गरे ।  पोखरा रङ्गशाला, बेलझुण्डी रङ्गशाला, च्यासल रङ्गशाला निर्माण सम्पन्न गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रचण्डले मूलपानी रङ्गशाला, भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र विराटनगरको रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरी निर्माणकार्य शीघ्र सम्पन्न गर्न उच्च महत्त्व दिइएको बताए।  सरकारले पुरस्कारसम्बन्धी कानुन नै निर्माण गरी खेलाडीहरूलाई पुरस्कृत गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले खेलाडीहरूमा ठूलो प्रोत्साहन र आत्मविश्वास बढेको बताए। पछिल्लो समय महिला खेलाडीहरूले देशभित्र र बाहिर कीर्तिमानी हासिल गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रचण्डले यस्ता उपलब्धी हुनु देशका लागि उत्प्रेरणा प्रदान गरेको बताए । उनले पछिल्लोसमय राष्ट्रिय खेलकुद परिषद्ले ६१ वटा राष्ट्रिय सङ्घहरू निक्र्यौंल गरेको बताए।

नेपाल ए आयरल्यान्डसँग २१ रनले पराजित

काठमाडौं । कमजोर ब्याटिङका कारण नेपाल ए पहिलो एकदिवसीय अभ्यास खेलमा आयरल्यान्ड ए सँग २१ रनले पराजित भएको छ ।  १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमा समेटिदा अल आउट भयो । नेपालका साहब आलमले ३४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाएका थिए । देव खनाल २२ बलमा ४ चौकासहित २६ रनमा आउट भए । नेपालका ओपनर अर्जुन कुमाल र देव खनालले ५ ओभरमा ३५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर त्यस लगत्तै लगातार विकेट पतन सुरु भयो । छैटौं ओभरको पहिलो बलमा लियाम म्याकार्थीको बलमा सर्ट कभरमा देव केडबाट क्याच आउट भएपछि नेपालले नाटकीय रुपमा विकेट गुमाएको थियो । यसै ओभरको अन्तिम बलमा अर्जुन कुमाल थर्डम्यानमा ९ रनमा क्याच आउट भए । नेपालको सिनियर टोलीका प्रमुख ब्याटर भीम सार्की शून्यमा एज लागेर अर्को ओभरमा क्याच आउट भए । त्यसै ओभरमा म्याथ्यु हम्फ्रेजले आरिफ शेखलाई शून्यमा विकेट किपरबाट आउट गरेपछि नेपाल ७ ओभरमा ४१.४ को अवस्थामा पुगेको थयो । विनोद भण्डारी ९, अर्जुन साउद ४ र कमलसिंह ऐरी ६ रनमा आउट भएपछि नेपाल १२.१ ओभरमा ७८.७ को अवस्थामा पुगेको थियो । बसिर अहमद २१ बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए । साहब आउट भएपछि नेपाललाई जित्नलाई २३ रन चाहिएको थियो । मौशम र रिजन ढकालको रन लिनेक्रममा तालमेल नमिलेपछि दुर्भाग्यवश मौशम रन आउट भएका थिए । रिजन १२ रनमा नट आउट रहे । आयरल्यान्ड ए का म्याथ्यु हम्फ्रेजले १० ओभरमा ३ मेडनसहित ३२ रन खर्चेर ५ विकेट लिए । लियाम म्याकार्थी ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रनमा अल आउट भएको थियो ।

आयरल्यान्डले नेपाललाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । पहिलो एकदिवसीय क्रिकेटमा बुधबार भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ ले नेपाल  ‘ए’ लाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्डले ३८.३ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रन बनाउन सक्यो । आयरल्यान्डलाई सस्तोमा समेट्न नेपाली टोलीका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । कमलसिंह ऐरी ह्याट्रिकसहित चार विकेट लिए । उनले ६.३ ओभरमा एक मेडन राख्दै २१ रन खर्चिए । कमल ३९ औँ ओभर बलिङ गर्न आएका थिए । २३ वर्षीय मध्यमतेज गतिका बलर कमलले ३९ औँ ओभरको पहिलो बलमा आयरल्यान्डका लियाम म्याकार्थीलाई साहब आलमद्वारा क्याच गराएका थिए । त्यसपछि ३९ औँ ओभरको दोस्रो बलमा उनले आयरल्यान्डका म्याथ्यू हमफ्रेयसलाई बोल्ड गरेका थिए । त्यसलगत्तै अर्को बलमा कमलले आयरल्यान्डका बेन ह्वाइटलाई पनि बोल्ड गरेका थिए । साहब आलम र मौसम ढकाल पनि दुई–दुई विकेट हात पारेका थिए । रिजन ढकालले पनि आयरल्यान्डका एक ब्याट्सम्यानलाई पेभेलियन फर्काए । आयरल्यान्डका लागि केड कार्मिचलले अर्धशतकीय पाली खेले । चौथो नम्बरका ब्याट्सम्यान केडले टोलीको खातामा ५१ रन थपे । यस क्रममा उनले ७७ बलको सामना गरी चार चौका पनि हिर्काए । कप्तान निल रकले पनि टोलीको खातामा ३९ रन थपे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान निलले ३२ बलमा तीन छक्का र दुई चौका हिर्काए । आयरल्यान्डका अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन । ओपनर ब्याट्सम्यानद्वय जेम्स म्याककोलुम र स्टिफन डोहेनी भने १२–१२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान पिटर मुरले टोलीको खातामा २१ रन थपे । उनले ३४ बलमा एक छक्का र एक चौका प्रहार गरे । आयरल्यान्डले अतिरिक्त रुपमा पनि सात रन पाएको थियो । नेपाल र आयरल्यान्डबिच तीनवटा खेलको एकदिवसीय शृंखला खेल्ने कार्यक्रम छ । यसअघि खेलिएको तीन खेलको टी–२० शृंखलामा भने आयरल्यान्ड ‘ए ’२–१ ले विजयी भएको छ । 

टस हारेर आयरल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल ए

काठमाडौं । पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग टस हारेर नेपाल ए ले पाहिला फिल्डिङ गर्दैछ।टस जितेका आयरल्यान्डका कप्तान निल रकले ब्याटिङ गर्ने निर्णय लिए। नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ। सिनियर टोलीसँग दुई टी-२० खेलमा आयरल्यान्ड ए ले दुवै खेलमा हारेको थियो । नेपाल ए सँग तीन टी-२० खेलको सिरिज आयरल्यान्ड ए ले २/१ ले जितेको थियो । नेपाल ए मा ओडीआईका पहिलो रोजाइका खेलाडी आरिफ शेख र भीम सार्की छन् । तेस्रो टी-२० खेलमा नेपाल ए लाई जिताउन आरिफ शेखले ९३ रन बनाएका थिए । विनोद भण्डारी, देव खनाल, अर्जुन साउद पनि नेपाल ए मा छन् । नेपालको प्लेइङ  ११  विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रिजन ढकाल र मौसम ढकाल । बेन्चमा : रञ्जित कुमार, रुपेश सिंह, विकाश आग्री र नरेन भट्ट ।

नेपालद्वारा बरोडासामु १५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी २० कपमा बरोडालाई जित्नका लागि १५७ रनको चुनौति दिएको छ ।  सुरुमा कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालले मध्य र अन्तिममा सम्हालिदा मध्यम लक्ष्य प्रस्तुत गर्न सकेको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाउन सक्यो । नेपालका कुशल मल्लले २५ बलमा अविजित ४० रनको योगदान गरे । यस्तै सन्दिप जोराले रन आउट हुनु अघि १६ बलमा २९ रन बनाए ।  यसैगरी अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । उनी परिक्षित पाटिदारको बलमा टप एज लागेर आउट भएका थिए । कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ रनमा रन आउट हुन पुगे । गुलशन झा १४ बलमा १ चौकासहित १३ रनमा आउट भए । त्यसअघि नेपालले ओपनर आसिफ शेख र कुशल भुर्तेललाई ९–९ रनमा गुमाएको थियो । दुबै ओपनर तीव्र गतिका बलर बाबा खानको बलमा क्याच आउट भएका थिए । दिपेन्द्रसिंह ऐरी पाँच रनमा अविजित रहे । 

टस हारेर बरोडाविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन । गुजरातलाई ९८ रनमा अल आउट गर्न गुलशन झाले ४ र करण केसीले ३ विकेट लिएका थिए । नेपालको प्लेइङ ११  रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा । बेन्च ललित राजवंशी, प्रतिश जि।सी, विवेक यादव र आकाश चन्द ।

आयरल्यान्ड ए माथि नेपाल ए को जित

काठमाडौं । तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल ए ले आयरल्यान्ड ए माथि ३ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको २ सय  १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड ए ले पूरा ओभर खेल्दै  ७ विकेट गुमाएर २ सय १० रन मात्र बनायो। यससँगै नेपालले तीन खेलको टी-२० सिरिज  २-१ ले गुमाएको छ । नेपाल सुरुवाती दुई खेलमा  २१ रन र ४० रनले पराजित भएको थियो ।अब आयरल्याण्ड ए र नेपाल ए बीच  एकदिवसीय सिरिज पनि हुनेछ ।  

नेपालद्धारा आयरल्यान्ड ए लाई २१४ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आरिफ सेखको आक्रामक ब्याटिङप्रेरित नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध अन्तिम ट्वान्टी–२० खेलमा २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनायो । नेपालका आरिफ शेख ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनमा नट आउट रहे । कमलसिंह ऐरी ७ बलमा २ चौका र १ छक्कासहित १९ रनमा नट आउट रहे । नेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो । चौथो विकेटका लागि बसिर अहमद र आरिफ शेखले ४७ रनको साझेदारी गरेका थिए । बसिर २१ बलमा ३ चौकासहित १९ रनमा एलबीडब्लू आउट भए । पवन सरार्फ १३ र नारायण जोशी १ रनमा आउट भए । राशिद खानले १३ बलमा ३ छक्कासहित महत्वपूर्ण २४ रन जोडेका थिए । आयरल्यान्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १(१ विकेट लिए । तीन खेलको सिरिजमा नेपाल सुरुवाती दुई खेल २१ रन र ४० रनले पराजित हुँदा सिरिज गुमाई सकेको छ ।

नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै

काठमाडौं । पहिलो र दोस्रो खेलमा पराजित नेपाल ‘ए’ले सोमबार टी२० सिरिजमा आयरल्याण्ड ‘ए’ सँग तेस्रो खेल खेल्दैछ।  सिरिज भने एक खेल अगाडि नै आयरल्याण्ड ‘ए’ले जितिसकेको छ। तेस्रो खेल सोमबार दिउँसो १ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ। आयरल्याण्डसँग नेपालले एक दिवसीय सिरिज खेल्न लागेको छ । नेपाल र आयरल्याण्ड ‘ए’को एक दिवसीय सिरिज चैत २१ गते सुरु हुँदैछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।  

नेपाल ८ विकेटले विजयी

काठमाडौं। नेपालले भारतको स्टेट टोली गुजरातलाई ८ विकेटले पराजित गरेको छ ।  त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको हो ।  साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा ९८ रनमा अल आउट भएको थियो । ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।  नेपालको जितमा अनिल शाह ३५ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे । रोहित पौडेल २६ बलमा ३ चौकासहित ३३ रनमा नट आउट रहे । नेपालका ओपनर कुशल भुर्तेल १६ बलमा २ छक्कासहित १७ र आसिफ शेख १६ रनमा आउट भए । गुजरातका तेजास पटेल र हेमांग पटेलले १–१ विकेट लिए । त्यसअघि नेपालका तीव्र गतिका बलर गुलशन झा र करण केसीको उत्कृष्ट बलिङमा गुजरात सस्तैमा समेटिएको थियो ।  गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रनमा आउट भए । आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए । सराल प्रजापति १७ रनमा आउट भए । नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २३ र अभिनाश बोहराले ३ ओभरमा १७ रन खर्चिए ।

गुजरातविरुद्ध जीतका लागि नेपाललाई ९९ रनको चुनौति

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा गुजरातविरुद्ध नेपालले जीतका लागि ९९ रनको चुनौति पाएको छ । टस हारेर व्याटिङ गरेको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।  गुजरातलाई सस्तैमा समेट्न गुल्शन झाले घातक बलिङ गर्दै चार विकेट लिए । आफ्नो चार ओभरमा २२ रन खर्चिएर चार विकेट लिदा गुजरात दबावमा परेको थियो । यस्तै करण केसीले पनि गुजरातलाई दबाबमा राख्न तीन विकेटको योगदान गरे । ३ दशमलब २ ओभर बलिङ गरेका करणले पनि २२ रन खर्चिएका थिए ।  यस्तै, सोमपाल कामीले एक विकट लिए । नेपाल, गुजरात र बरोडाबीच आजबाट सुरु भएको त्रिकोणात्मक सिरिज डबल राउण्ड रोबिनमा हुनेछ ।

टी-२० सिरिज : नेपाल गुजरातसँग खेल्दै, यस्तो छ टिम नामावली

काठमाडौं  । त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आजको खेल नेपाल र भारतको स्टेट टोली गुजरातबीच हुनेछ। खेल नेपाली समय अनुसार दिउसो २ः४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो । बरोडा र गुजरात दुबैले रणजी ट्रफी खेल्ने स्टेट लेभलका खेलाडी घोषणा गरेका छन् । त्यसैले खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। गुजरातको कप्तानी उमांग कुमार र नेपालको रोहित पौडेलले कप्तानीमा खेल हुनेछ। नेपालको कुशल भुर्तेल, दीपेन्द्र सिंह ऎरि र कुशल मल्ल प्रमुख हतियार हुन्। डेथ ओभरमा अभिनाश बोहराको प्रदर्शन राम्रो छैन। त्यो सुधारको आवश्यक देखिन्छ।विवेक यादव, सन्दिप जोरा र प्रतिश जिसि जस्ता युवा खेलाडीलाई मौका दिएर हेर्न सक्छ । दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द । गुजरातको टोली : उमांग पटेल (कप्तान), अर्यान देशाई, जयविर पारमार, शेन पटेल, हिमांग पटेल, तेजास पटेल, प्रियस पटेल, स्मित पटेल, ऋषि पटेल, जयमित पटेल, जय मलुसार, युवराज जाला, सारल प्रजापति, धरुशान्त सोनि र हर्ष देशाई ।