नेपाल आयल निगमद्वारा स्थायी कर्मचारी माग

काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी निगमले शुक्रबार दरखास्त आह्वान गरेको हो ।

जसअनुसार प्रबन्धक (मेकानिकल), उपप्रबन्धक (सीए), सहायक प्रबन्धक (प्रशासन), सहायक, टेक्नेसियनलगायतका पदमा दरखास्त आह्वान भएको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । सो समयमा पनि आवेदन दिन नभ्याएकाले त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

एसईईको नतिजामा पहिले भन्दा निकै सुधार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । यो वर्ष एसईईको नतिजा गत वर्षको भन्दा निकै सुधार आएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । नतिजाअनुसार २२ हजार ४७५ ले ल्याए ३.६० देखि ४ सम्म जीपीए ल्याएका छन् । यो ४.६३ प्रतिशत हो । गत वर्ष यो संख्या १.९४ प्रतिशत मात्रै थियो । त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ११.३६ प्रतिशत छन् । यो संख्या गत वर्ष ८.४० प्रतिशत रहेको बोर्डले जनाएको छ ।

शिक्षालाई उत्पादन र रोजगारसँग जोड्न आवश्यक छ : शिक्षा मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हाम्रो शिक्षालाई उत्पादन र रोजगारसँग जोड्नु आजको आवश्यकता भएको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त सभारोहमा सहभागी छात्रछात्राहरुलाई बधाई दिँदै उनले नेपालको शैक्षिक र प्राज्ञिक पहिचानलाई विश्वसामु स्थापित गराउनुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘आजको प्रतिस्पर्धाको युगमा नपाली मौलिक परम्परा र ज्ञान सीपलाई विश्वसामु विकसित भएका ज्ञान सीपसँग मेल गराउँदै नेपालको शैक्षिक र प्राज्ञिक पहिचानलाई विश्वसामु परिचित र स्थापित गराउनुपर्ने भएको छ ।’ मुलुकको जेठो र ठूलो त्रिविले नेपालको उच्च शिक्षाको विकासमा प्रशंसनीय भूमिका खेलेको उल्लेख गर्दै विश्वबजारमा प्रतिस्पर्धी बनाउन समय सापेक्षा यसको सुधार गर्नुपर्ने उनले बताए । त्यस्तै नेपाल सरकारको तर्फबाट त्रिविको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि मन्त्री पौडेलले दिएका छन् । उनले भने, ‘त्रिविका शिक्षक, विद्यार्थी र कर्मचारीका प्रतिनिधिसहित सरोकार राख्ने अन्य विभिन्न पक्ष लगायत पदाधिकारीहरुसँग छलफल गरी त्रिभुवन विश्वविद्यालयको उन्नति र विकासका लागि सहयोग गर्न नेपाल सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ मन्त्री पौडेलले समारोहमा दीक्षित भएका सबै विद्यार्थीलाई बधाई दिँदै उज्जवल भविष्यको लागि शुभकामना समेत व्यक्त गरे ।

शहीद शुक्र माविद्धारा ललितकला विषयको अध्यापन सुरु

काठमाडौं । सीप, सिर्जना र उद्यमशीलतासँग जोडिएको ललितकला विषयको अध्यापन शहीद शुक्र मावि बागबजारले यस वर्षदेखि सुरु गरेको छ । आइतबार कक्षा सञ्चालन बारेमा जानकारी दिँदै विद्यालयले ‘ललितकला विषय अध्यापन शुभारम्भ तथा अभिमुखीकरण कार्यक्रम’ आयोजना ग¥यो । सो अवसरमा अग्रज कलाकार राधेश्याम मुल्मीले कला जानेको मानिसले सहजै रोजगारसँग जोडिन सक्ने बताए । उनले कलाका विविध आयाम र महत्वबारे चर्चा गर्दै ललितककला विषय सीप र सिर्जनासँग जोडिएकाले समाज र देशका लागि आवश्यक रहेको विचार व्यक्त गरे । मुल्मीले कला पढ्दै विभिन्न अवसरसँग जोडिन सकिने भएकाले यसको महत्व पछिल्लो समय निकै बढेर गएको सुनाए । उनले भने, ‘प्रत्यक्ष रोजगारीसँग जोडिएर कला विषय आएको छ । यसको मानिससँग प्रत्यक्ष परोक्ष रुपमा जोडिएका विभिन्न दिनदैनिकीमा उपभोग गर्ने सामानमा पनि आवश्यकता रहेको हुन्छ । अर्थात् डिजाइनको आवश्यकता उत्पादन गरिएका सामानमा विशेष रहेको हुन्छ । कलाविनाको कुनै सामान नै हुँदैन । कलाकै कारण मानिसले त्यस्ता सामान राम्रो या नराम्रो भनेर छुट्टयाउन सक्छन् ।’ अग्रज कलाकार मुल्मीले कलाको प्रत्यक्ष प्रभावकै कारण विश्वबजारमा डिजाइनको महत्व पछिल्लो समय निकै बढेर गएको बताए । नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले कला विषयको अध्यापन सुरु गरेर विद्यालयले उदाहरणीय काम गरेको सुनाए । सीप र सिर्जनासँग जोडिएको यो विषयले विद्यार्थीलाई उद्यमशीलतासँग जोड्ने बताउँदै उनले भने, ‘कलाको प्रभाव संसारमा सबै चीजमा परेको छ । कलाविनाको संसार समृद्ध बन्न सक्दैन ।’ खनालले अहिले चित्रकला, मूर्तिकला तथा प्रायोगिक कलाको ११ कक्षामा अध्यापन सुरु गरेर विद्यालयले कलाको महत्वलाई स्थापित गर्दै सीपलाई बजारसम्म पु¥याउने काममा मद्दत गरेको सुनाए । सो कार्यक्रममा नेपाल व्यवसायिक कलाकार संघका महासचिव भोलानाथ पौड्यालले कलालाई उद्यमशीलतासँग जोडेर यसको महत्वलाई समाजमा स्थापित गर्ने लक्ष्यका साथ विद्यालयले कला अध्यापन गरेको बताए । उनले कलामार्फत नेपालको संस्कृति जर्गेना गर्ने तथा प्रत्यक्ष रुपमा उत्पादनमा जोडेर सहज ढंगले रोजीरोटीमा लाग्न सक्ने बनाउने उद्देश्य राखिएको विचार व्यक्त गरे । महासचिव पौड्णलले संघको प्राविधिक सहयोगमा विद्यालयमा कलाका विविध शिल्पगत विषयलाई समेत रोजगारीसँग जोडेर सिकाउने लक्ष्य राखिएको जनाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमप्रसाद खड्गीले व्यवसायिक कलाको केन्द्र बागबजारमा कलाको शिक्षण सुरु गरिएको बताए । उनले कला शिक्षामार्फत सीपलाई रोजगारीमा बदल्दै समाजका लागि दक्ष र सिर्जनशील नागरिक बनाउने विद्यालयको लक्ष्य रहेको धारणा व्यक्त गरे । यस्तै, कलाकार विष्णुप्रसाद श्रेष्ठले कलाशिक्षणको महत्वका बारेमा प्रकाश पार्दै शहीद शुक्र माविले ललितकला विषय अध्यापन सुरु गरेर राम्रो काम गरेको बताए । उनले कलाशिक्षालाई आमनागरिकको पहुँचमा पु¥याउन विद्यालयले सर्वसुलभ ढंगले कामको सुरुवात् गरेको भन्दै यसलाई प्रभावकारी रुपले लैजानु पर्नेमा जोड दिए । विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारीले गुणात्मक शिक्षामार्फत देशका लागि आफूहरुले काम गर्ने भनाइ राखे । उनले कलाशिक्षाको आवश्यकता बोध गरेर यस वर्षदेखि कक्षा ११ मा ललितकला विषयको अध्यापन सुरु गरेको जानकारी दिए । उनले भने, ‘कला सीप र सिर्जनासँग जोडिएको विषय हो । यसले रोजगारसँगै संस्कृतिको जर्गेना र महत्वलाई समाजमा स्थापित गर्न मद्दत गर्ने विश्वासका साथ अध्यापन सुरु गरेका हौं ।’ सो कार्यक्रममा काठमाडौं महानगरपालिका बागबजारक्षेत्रका वडाध्यक्ष भाइराम खड्गी, नेपाल व्यवसायिक कलाकार संघका केन्द्रीय उपाध्यक्ष विष्णु सिग्देल, केन्द्रीय सदस्य विजय कार्की ढली, कलाकार श्रवणकुमार चौधरी, किरण मगर, विद्यालय व्यवस्थापन समिति सदस्य राजेश श्रेष्ठ, विद्यालयका सहप्रधानाध्यापक रोसन शाह, मावि इञ्चार्ज ज्ञान ब. अधिकारी शिक्षक शैलीसिंह राठौर, विजयाकुमारी ढकाल, शकुन्तला सुवेदी, सविना जिसी लगायतको उपस्थिति रहेको थियो ।

एसईई परीक्षा आजबाट सुरु

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।   बोर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ । विद्यार्थीहरूले ती परीक्षा केन्द्रमार्फत परीक्षा दिनेछन् । बोर्डले परीक्षालाई व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरिसकेको छ । एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने छन् । कोभिड(१९ महामारीका कारण अघिल्ला दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेको थियो ।

लुम्बिनी प्रदेशमा ७७ स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर

काठमाडौं । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले ७७ जना स्वास्थ्यकर्मीका लागि रोजगारी खुलाएको छ । लुम्बिनी प्रदेशले विभिन्न ६ पदमा ७७ कर्मचारीको आवश्यकताबारे सूचना निकालेको हो। सूचना अनुसार लुम्बिनी प्रदेशका निर्धारित स्थानमा कामकाज गर्ने गरी हाललाई तीन महिनाकालागि कर्मचारी माग गरिएको हो। जसमा मेडिकल ल्याब टेक्नोलोजिष्ट १, जनस्वास्थ्य निरीक्षक २०, हेल्थ असिस्टेन्ट २५, प्रयोगशाला सहायक २५, हेल्थ असिस्टेन्ट सहायक पाँचौं ३ र स्टाफ नर्स ३ गरी ७७ जनाका लागि आवेदन माग गरिएको छ।  

शिक्षण संस्थाले तीन दिनभित्र यी विवरण आयोगमा पेश गर्नुपर्ने

काठमाडौं । चिकित्सा शिक्षा आयोगले विश्वविद्यालय, प्रतिष्ठान र शिक्षण संस्थाहरुलाई आफूले संचालन गर्ने कार्यक्रमको बारेमा तीन दिनभित्र जानकारी पेश गर्नुपर्ने भएको छ । आयोगले एक सुचना जारी गर्दै विश्वविद्यालयको कार्यक्रम सञ्चालन भएका शिक्षण संस्थामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्तर्फका प्रमाण पत्र तहका कार्यक्रम हालसम्म सञ्चालन भएका भएयहि शैक्षिक सत्रदेखि विश्वविद्यालय वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदमध्ये कसका कार्यक्रम सञ्चालन हुने र नहुने कार्यक्रम विश्वविद्यालय वा परिषदबाट स्पष्ट रुपमा खुलाएर तीन दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।

कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि हुने

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि हुने भएको छ। परीक्षा तालिका भने शुक्रबार बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकबाट सार्वजनिक हुने छ । बोर्डकाअनुसार आगामी जेठ १८ गतेबाट परीक्षा सञ्चालन गर्ने गरि तयार गरिएको प्रस्तावलाई बोर्ड बैठकले स्वीकृति प्रदान गर्नेछ। यस पटक बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने छ भने परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै सञ्चालन गरिनेछ। यसअघिको बोर्ड बैठकले एसईई आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरिसकेको छ।

मापदण्ड पूरा गरी विद्यालय सञ्चालन

लहान: स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्दै सिरहाका विभिन्न स्थानका सामुदायिक तथा निजी विद्यालयहरु आजबाट सञ्चालनमा आएका छन् । जिल्लाको मिर्चैया र गोलबजार नगरपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकालगायतका स्थानीय तहमा सामुदायिक तथा निजी विद्यालयहरु आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा आएका हुन् । कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीका कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका विद्यालयहरु स्थानीय तहको निर्णयअनुसार नियमित सञ्चालनमा आएका छन् । विद्यालयमै सामाजिक दूरी कायम गरी स्वास्थ्य सतर्कता अपनाएर कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएअनुसार नगर क्षेत्रका विद्यालयहरु आजबाट सञ्चालनमा आएको मिर्चैया नगरपालिका शिक्षा शाखाका स्रोतव्यक्ति श्यामकुमार यादवले जानकारी दिए । करीब ६ महिनापछि विद्यालय सञ्चालनमा आएकाले विद्यार्थीको सङ्ख्या कम भएपनि दुई सिफ्टमा गरी नियमित पठनपाठन सञ्चालनमा ल्याइएको विद्यालयहरुले जनाएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को व्यवस्थावमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड तयार पारेको छ । विद्यार्थीले विद्यालय आउँदा अनिवार्य रुपमा मास्क लगाएको र सामाजिक दूरी कायम गरेको हुनुपर्छ ।

भोलिदेखि मिर्चैयामा विद्यालय सञ्चालन हुने

लहान: स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सिरहाको मिर्चैया नगरपालिकाभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को सङ्क्रमणका कारण लामो समयदेखि अवरुद्ध पठनपाठन नगरपालिकाको निर्णयअनुसार असोज ११ गतेदेखि नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन हुने भएको हो । मिर्चैया नगरपालिकाको शिक्षा शाखाले सूचना जारी गरी सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को व्यवस्थाबमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागेको जनाइएको छ । कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने गरी सिफ्टमा सञ्चालन गरिनुपर्ने, बन्दाबन्दी अवधिको कुनै पनि शुल्क विद्यालयले अभिभावकसँग लिन नपाउने निर्णय गरेको सूचनामा उल्लेख छ । विद्यार्थीलाई बसमा ल्याउँदा एकातर्फको जोडी सिटमा एक जना मात्र बस्ने र विद्यालयमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुन लगाएर मास्कसहित मात्रै प्रवेश गराउन निर्देशन गरिएको छ । यस्तै विद्यालयमा एउटा डेस्कमा बढीमा २ जना मात्र बस्न पाउने तथा विद्यालयमा भौतिक दूरी कडाइका साथ पालना गराउने सूचनामा उल्लेख छ । विद्यार्थीमा कुनै किसिमको लक्षण देखिए तत्कालै जाँच गराउन लगाउने पनि भनिएको छ ।  

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड-१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरेका हुन् । मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्नका लागि निर्देशन गरिएको जनाए । उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुप (सियुजी) मा आबद्ध गराई सञ्चार सहजता बढाइएको बताए। कतिपय जिल्लाका विद्यालयले अहिले सामाजिक दूरी कायम गरी प्रत्यक्ष सिकाइ पनि आरम्भ गरिसकेका छन् । सञ्चारविद् डा. निर्मलमणि अधिकारीले विपन्न र गरिब विद्यार्थीका लागि निःशुल्क रुपमा उच्चगतिका इन्टरनेट र डाटा उपलब्ध गराउन आग्रह गर्दै मिडिया साक्षरतालाई प्रभावकारी नबनाइए वैकल्पिक सिकाइ प्रणाली सफल नहुने बताए । उनले सूचना, सञ्चार तथा प्रविधि र आमसञ्चारको सदुपयोगका लागि रणनीति तर्जुमा गर्न सुझाव दिए । आसमान नेपालका कार्यकारी निर्देशक नोवलकिशोर यादवले प्रदेश-२ मा गरिएको पछिल्लो अध्ययनले ५१ प्रतिशत बालबालिका वैकल्पिक सिकाइको पहुँचमा पाइएकाले सञ्चारमाध्यमको भूमिका बढाएर पहुँच वृद्धि गर्नुपर्ने बताए । पहुँच वृद्धि हुँदै गए पनि सिकाइको स्तर २० प्रतिशतको हाराहारीमा रहेको अध्ययनले देखाएको छ । उनले आसमान नेपालले समुदाय तहमा युवाहरुलाई स्वयंसेवी परिचालन गरेर करिब १० हजार बालबालिकालाई स्वाध्यायन सामग्री वितरण गरिएको जानकारी दिए । समाजका अध्यक्ष प्रकाश सिलवालले सञ्चारको एउटा धर्म शिक्षा पनि भएकाले वैकल्पिक सिकाइलाई प्रभावकारी बनाउन सूचना र सचेतनामूलक भूमिकाका लागि प्रदेश र जिल्लागत बहश गरिने जनाए ।

तलब नपाएको भन्दै निजी विद्यालयका शिक्षक आन्दोलित

काठमाडौं : आफूहरूले तलब र सुविधा प्राप्त नभएको जनाउँदै निजी (संस्थागत) विद्यालय शिक्षक युनियन (इस्टु) ले १० बुँदे माग राखी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सो सङ्गठनले यही असोज ९ गतेसम्म सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र सम्भव भएसम्म सबै गाउँपािलकामा पुनः ज्ञापनपत्र बुझाउने र प्याब्सन, एनप्याब्सनलाई स्मरणपत्र पनि बुझाउने इस्टुका अध्यक्ष होमकुमार थापाले बताए । निजी विद्यालयमा काम गर्ने शिक्षक/कर्मचारीलाई अहिलेसम्मको खाइपाई आएको तलबसुविधा यथाशक्य चाँडो प्रदान गर्नुपर्ने तथा निश्कासित शिक्षक तथा कर्मचारीलाई पुनःबहाली गरी काम गर्ने वातावरण सिर्जना गरिनुपर्ने सङ्गठनको माग छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले शिक्षक÷कर्मचारीका अधिकार सुनिश्चित गरिनुपर्ने र ऐननियम र कानूनमा भएका प्रावधान अक्षरशः पालना गरिनुपर्ने बताए ।

कर्णाली प्रदेशमा विद्यालय खोल्ने तयारी

कोरोना महामारी रोकथामका लागि सङ्घीय सरकारले बन्दाबन्दी जारी राखेका कारण देशभर शिक्षालय बन्द रहेका बेला कर्णाली प्रदेश सरकारले स्वास्थ्य जोखिम नभएका स्थानमा विद्यालय खोल्ने तयारी गरेको छ । प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण नदेखिएका ठाउँमा विद्यालय खोल्नका लागि केन्द्र सरकारलाई गत जेठ र असारमा दुई पटक लिखित अनुमति मागेकामा हालसम्म कुनै निर्णय प्राप्त नभएकाले अब प्रदेश र स्थानीय तहमै निर्णय गरेर विद्यालय खोल्न लागिएको हो । मुलुकभर बन्दाबन्दी जारी गर्ने अधिकार केन्द्रको भए पनि विद्यालय तहको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी संविधानतः स्थानीय तहको भएकाले तिनले निर्णय गरेर विद्यालय खोल्न प्रदेश सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको हो । प्रदेशमा १० जिल्ला छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले सञ्चालन गरेको भर्चुअल प्रविधिको आजको छलफलको एघारौँ शृङ्खलामा सहभागी कर्णाली प्रदेशका सरकारका प्रमुख सचिव टेकनारायण पाण्डेले जोखिम नभएका माथिल्लो कर्णालीका जिल्लाका विद्यालयमा अनलाइन वा सञ्चारमाध्यमको पहुँच कम भएका क्षेत्रमा विद्यालय नखुलाइए शैक्षिक रिक्तता र क्षति बढ्ने भएकाले अब विद्यालय सञ्चालन गर्नाको विकल्प नभएको बताए । प्रदेश सरकारको सो प्रस्ताव सङ्घीय सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत कोरोना रोकथाम र व्यवस्थापन केन्द्र (सिसिएसी) मा पुगेको जनाइएको छ । प्रमुख सचिव पाण्डेले सङ्घीयता केन्द्रीयकरण र स्थानीयकरणको दोसाँधमा हुनाको स्थितिले केन्द्रले गत चैत ५ गतेको निर्णयबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) रोक्दा सबैतिर प्रभावित हुनुपरेको जनाउँदै त्यतिबेला पनि आफूहरु परीक्षा र विद्यालय सञ्चालनको स्थितिमा रहेको स्पष्ट गरे । उनले स्थानीय तहले क्वारेन्टिन बनेका विद्यालयलाई निर्मलीकरण र शिक्षकको व्यवस्थापन गरी खुलाउन सामाजिक विकास मन्त्रालय र प्रदेश शिक्षा विकास निर्देशनालयका अधिकारीलाई निर्देशन दिइएको जानकारी दिए । हिमाली जिल्लामा फागुनमा शैक्षिकसत्र शुरु भई मङ्सिरमा वार्षिक परीक्षा लिइसक्नुपर्ने भएकाले लामो समय पढाइ रोक्न नहुने प्रदेश सरकारको निष्कर्ष छ । सो प्रदेशमा दुई हजार ७१९ बाल विकास केन्द्र, तीन हजार एक सय ८७ विद्यालय र ५६ क्याम्पस तथा करीब छ लाख विद्यार्थी छन् । प्रदेशको हिमाली जिल्लामा गत फागुनमै भर्ना शुरु भई भर्ना कार्यक्रम र पाठ्यपुस्तक वितरण शुरु भइसकेको थियो । विपद् जोखिम प्रतिकार्यका लागि स्थापित नेपाल शिक्षा समूह (एजुकेशन क्लष्टर) मा कार्यरत सेभ द चिल्ड्रेनका प्रतिनिधि आत्माराम भट्टराईले प्रदेशका ४१ स्थानीय तह अर्थात् ५२ प्रतिशत कोरोनामुक्त देखिएकाले क्रमशः विद्यालय खोल्न सकिने बताए । सो प्रदेशमा इन्टरनेटमा १८ दशमलव ४० प्रतिशत बालबालिकाको मात्रै पहुँच छ । शिक्षा समूहले हालसम्म पहिचान गरेको विवरणानुसार प्रदेशमा नेपाल टेलिभिजनको पहुँचका विद्यालय नौ दशमलव ५४, स्थानीय टेलिभिजनको पहुँचका पाँच दशमलव ९१, रेडियो नेपालको पहुँचका ८३ दशमलव १९, स्थानीय एफएमको पहुँचका ७४ दशमलव १६ र कुनै पनि विद्युतीय सञ्चार साधनमा पहुँच नभएका बालबालिका नौ प्रतिशत (२० हजार ७४६) छन् । सङ्घीय सरकारले ‘वैकल्पिक प्रणालीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी गत असार १ गतेदेखि वैकल्पिक विधिबाट सिकाइ निरन्तरता दिने नीति लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत जेठ १८ गते सो निर्देशिका र त्यसका लागि कार्यविधि जारी गरी असार १ देखि अनलाइन, रेडियो र टेलिभिजनबाट पठनपाठन गराउन निर्देश गरेको थियो । हाल मुलुकभरका करीब ३५ हजार विद्यालयमा ८० लाख विद्यार्थी अध्ययनरत छन् । प्रदेश, सामाजिक विकास मन्त्रालयका कामु सचिव धर्मजीत शाहीले वैकल्पिक रुपमा पठनपाठनलाई निरन्तरता दिन र विद्यालय तत्काल खोल्न स्थानीय तह र विद्यालय तहबाट सक्रियता नदेखिएको स्थितिमा प्रदेश सरकारले चाँडै आवश्यक पहल गर्ने बताए । नेपाल शिक्षक महासङ्घका उपाध्यक्ष तिलक कुँवरले सुरक्षाको प्रबन्ध भएमा आफूहरु विद्यालयमा जान तत्पर रहेको स्पष्ट गरे । महासङ्घका केन्द्रीय अध्यक्ष कृष्ण थापाले विद्यालय व्यवस्थापन समितिको क्रियाशीललता बढाई शिक्षकविद्यार्थीको सुरक्षाको अनिवार्य सुनिश्चितता गरेर विद्यालय र पठापाठन सञ्चालन हुनुपर्ने बताए । महासङ्घका कर्णाली प्रदेश अध्यक्ष गोविन्द कोइरालाले सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई नै विद्यालय खोल्ने निर्णयको अधिकार दिन आग्रह गरे । महासङ्घका महासचिव गुणराज मोक्तानका अनुसार संस्थाले वैकल्पिक प्रणालीको सिकाइ निरन्तरमा देखिएका समस्या, चुनौती र सफल अभ्यासको तथ्यगत बहस गरी सहजीकरण गर्दै आएको छ । रासस

स्नातकोत्तर दोस्रो वर्षको नतिजा सार्वजनिक

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नतिजा सार्वजनिक गरेको छ । त्रिविले २०७६ साल माघ महिनामा सञ्चालित शिक्षाशास्त्र संकाय तर्फ एमएड दोस्रो बर्षको परीक्षाफल सार्वजनिक गरेको हो । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट MED लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । त्यसै गरि त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।

वैशाख २६ बाट विद्यार्थी भर्ना सुरू हुन्छः शिक्षामन्त्री पोखरेल

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यही वैशाख २६ गतेबाट नयाँ सत्रका लागि विद्यार्थी भर्ना सुरू हुने बताएका छन् । ‘वैशाख २५ गतेसम्म बन्दाबन्दी कायम रहन्छ, त्यसपछि मन्त्रिपरिषद्ले बन्दाबन्दीको मोडेल परिवर्तन गर्नेछ,’ मन्त्री पोखरेलले भने, ‘बन्दाबन्दीसम्म कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशित गर्न निर्देशन जारी भइसकेको छ । वैशाख २६ गतेबाट विद्यार्थी भर्ना प्रक्रिया सुरू हुनेछ ।’ कक्षा ८ को जिल्ला स्तरीय परीक्षा भएकाले नतिजा प्रकाशनमा केही समस्या आएमा चाँडो निकास दिइने मन्त्री पोखरेलले बताए । ‘बन्दाबन्दी कायमै रहे पनि केही खुकुलो गरिनेछ,’ उनले भने, ‘सम्बन्धित विद्यालयले सामाजिक दूरी कायम गरेर अभिभावक र विद्यार्थीलाई नतिजा दिलाउने र भर्ना प्रक्रिया अघि बढाउनु पर्छ ।’ मन्त्री पोखरेलले सामुदायिक (सरकारी) विद्यालयमा लागू हुने पाठ्यपुस्तक तत्काल सम्बन्धित जिल्लामा पुर्‍याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको समेत बताए । ‘जनक शिक्षालाई सबै जिल्लामा पाठ्यपुस्तक पठाउन भनिएको छ,’ उनले भने, ‘त्यसैअनुसार निजी विद्यालयहरूले समेत तयारी गरेका छन् । प्याब्सन, एनप्याब्सनलगायत संगठनसित त्यसैअनुसार कुराकानी भएको छ ।’ कान्तिपुर दैनिकको अनलाइन संस्करणबाट

कोरोनाविरुद्ध सतर्कताः ५ चैतभित्र कक्षा ९ सम्मको परीक्षा सक्न सरकारको आग्रह

काठमाडौंः शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी ५ चैतभित्र सक्ने गरी सञ्चालन गर्न आग्रह गरेको छ । विश्वभर कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन आवश्यक भएकाले मन्त्रालयले वार्षिक परीक्षा ५ चैतभित्र सम्पन्न गर्न आग्रह गरेको हो । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी शैक्षिक सत्र ०७६ को कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र सक्न सबै विद्यालयलाई भनेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना संक्रमणमा सतर्कता अपनाउनुपर्ने भएकाले सरकारले यस्तो निर्णय गरेको बताए । अहिले संक्रमण नदेखिए पनि जोखिम भएकाले त्यसबाट जोगिन, विद्यालयको भिडभाड कम गराउन मन्त्रालयले आग्रह गरेको हो । विद्यालयमा सभा, समारोह, वार्षिकोत्सवमा भेला हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न–नगराउन पनि सरकारले आग्रह गरेको छ । आगामी ६ चैतदेखि एसइई सञ्चालन हुँदै छ । कोरोना प्रभावित देशमा अध्ययन अनुमति बन्द मन्त्रालयले मंगलबारदेखि कोरोना भाइरसबाट अति प्रभावित र जोखिम भएका देशमा अध्ययन अनुमति दिनसमेत बन्द गरेको छ । चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, इटाली, इरानलगायतका कोरोना भाइरसबाट अति प्रभावित र अति जोखिममा भएका देशहरूमा अध्ययनका लागि अनुमतिपत्र नदिने भएको हो । एक महिना सार्वजनिक बिदा दिन आग्रह चिकित्सकहरूले एक महिना सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेका छन् । विद्यालय, कलेज, सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएमा धेरै मानिस आ–आफ्नो गाउँ जाने भएकाले काठमाडौं सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ । डा। अनुप बाँस्तोला संकटका वेला एक महिना बिदा दिएमा धेरै समस्या समाधान हुने बताउँछन् । टेकु भर्ना भएका आठजनामा कोरोना देखिएन कोरोना भएको आशंकामा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका आठजनामा कोरोना नेगेटिभ आएको छ । टेकुको आइसोलेसन वार्डमा पाँच र जनरल वार्डमा तीनजना भर्ना भएका थिए । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा इन्फ्लुएन्जा ए देखिएको निर्देशक डा। रुणा झाले बताइन् । एकजनाको परीक्षण रिपिट गर्नुपर्ने देखिएको छ भने अन्य पाँचजनामा कुनै संक्रमण देखिएन । रुघाखोकी लागेका र ज्वरो आएका बिरामीलाई हवाई यात्रामा रोक विश्व स्वास्थ्य संगठनले नेपाललाई कोराना भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएको भन्दै वायुसेवा सञ्चालक संघले रुघाखोकी र ज्वरो आएका यात्रुलाई जहाज नचढाउने निर्णय गरेको छ । संघले कोराना भाइरसको संवेदनशीलतालाई ध्यानमा राखी यात्रु तथा हवाईजहाजका चालक तथा अन्य क्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको बताएको छ । त्यस्तै, बुद्ध एयरले पनि छुट्टै विज्ञप्तिमार्फत रुघाखोकी र ज्वरो आएका यात्रुलाई विमानस्थलमा नआउन आग्रह गरेको छ । टिकट रद्द गरेबापत नियमअनुसार भाडा फिर्ता गरिने कम्पनीको भनाइ छ । कोरोनाको प्रत्यक्ष प्रभाव ट्राफिक प्रहरीको मापसे परीक्षणमा कोरोना त्रासकै कारण ट्राफिक प्रहरीले सवारीचालकमा गर्दै आएको मापसे परीक्षण पुनर्विचार गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विनाब्रेथ लाइजर गरिने मापसे परीक्षण त स्थगित गरिसकिएको छ । ब्रेथ लाइजरबाट नियमित हुँदै आएको मापसे परीक्षण पनि स्थगित वा नियमित गर्ने भनेर ट्राफिक प्रहरी द्विविधामा छ । यसलाई टुंगो लगाउन ट्राफिक प्रहरीले विज्ञसँग परामर्शसमेत सुरु गरिसकेको छ । नयाँँ पत्रिकामा खबर छ ।