एभरेष्ट दैनिक

बाँदर आतङ्कले बागलुङका बस्ती रित्तिँदै

बागलुङ । काठेखोला गाउँपालिका–६ का थानेश्वर कँडेलले बाँदर आतङ्कका कारण अन्नबाली र तरकारीखेती छाडेर अदुवा र अलैँची खेती गर्न थालेका छन् । “घरमा बूढाबूढी मात्र छौँ, बाँदरले बारीको बाली सखाप पार्छ,” कँडेलले भने, “बाँदरले नखाने बाली लगाउन बाध्य छौँ ।”  अत्यावश्यक तरकारी र फलफूल बजारबाट किन्नुपर्ने अवस्था रहेको उनको गुनासो छ । बाँदरले नखाने भएकाले यहाँका किसानले सुन्तला बारीमा अदुवा र अलैँची खेती गरेका छन् । कतिपयले भैँसीपालन रोजेका छन् । तर, भैँसीपालनमा पनि समय र मेहनत बढी लाग्ने र बाँदरले घरभित्रै पसेर खाना खाइदिने समस्याले किसान हैरान छन् । “बाँदर नियन्त्रणको कार्यक्रम जरुरी छ,” स्थानीय टङ्क कँडेलले भने । काठेखोला गाउँपालिकाका दर्जनौँ किसानले मकै छाडेर अदुवाखेती थालेका छन् । यद्यपि, अदुवा र अलैँचीको मूल्यमा उतारचढाव र बजारीकरणको समस्याले फाइदा लिन कठिन छ । सुन्तलाखेती भने केही किसानका लागि फलदायी बनेको छ । “सुन्तलाबाट लाखौँ कमाइ हुन्छ, तर बाँदरबाट जोगाउन गाह्रो छ,” कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेन्द्र सिलवालले भने । उनले बजारीकरणमा सहयोग गर्ने र बाली संरक्षणमा जोड दिने बताए । बाँदर आतङ्ककै कारण काठेखोला–५ को करलिम र जैमिनी नगरपालिका–१ टुनीबोटको राङखानी बस्ती लगभग रित्तिसकेका छन् । बागलुङ नगरपालिका–८ का रामबहादुर खड्काले सुन्तलासमेत जोगाउन नसकेको गुनासो गरे । “बाँदर नियन्त्रण नभए अन्नबाली र फलफूल खेती गरेर बाँच्न गाह्रो छ,” उनले भने । पशुपालनमा लागेका किसानलाई भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले प्रतिलिटर दूधमा रु. ५ अनुदान दिएको छ । “नश्ल सुधार गरिएका गाईभैँसीको दूधमा अनुदान दिएर किसानलाई प्रोत्साहन गरेका छौँ,” केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले भने । तर, भैँसीपालनमा लागत र मेहनत बढी हुने र बजार नपाउँदा किसानको गुनासो छ । जैमिनी–८ का रघुनाथ पौडेलले परम्परागत खेती छाडेर मौरी र भैँसीपालन थालेका छन् । तर, बजार टाढा भएकाले दूध बिक्रीमा समस्या छ । बाँदर आतङ्कको स्थायी समाधान नहुँदा किसान वैकल्पिक खेती र पशुपालनमा लागे पनि उचित बजार र संरक्षणको अभावमा समस्यामा छन् ।