एभरेष्ट दैनिक

नेपाल भारत सीमा सुरक्षाका लागि नियमित वैठक बसीरहेको गृहमन्त्री शर्माको दावी

बारा, भदौ १७ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनका बेला ढुक्क भएर मतदान गर्न सर्वसाधारणलाई अपिल गरेका छन् । दुई नम्बर प्रदेशअन्तर्गत बाराको सिमरा विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले सीमा क्षेत्रमा नेपाल–भारत दुबै देशका सुरक्षा संयन्त्रहरुबीच नियमित सम्पर्क र समन्वयमार्फत् काम भइरहेकाले सुरक्षामा त्यस्तै कुनै पनि आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । ‘निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदानमा गर्नुहोला’ गृहमन्त्री शर्माले भने ‘बोर्डर क्षेत्रमा रहेका दुबै देशका संयन्त्रहरुबीच नियमित बैठक भइरहेको छ । चुनावमा सुरक्षा चुनौति छैन ।’ गृहमन्त्री शर्माले आगामी निर्वाचनका लागि मतदान गर्नका लागि जनता आतुर रहेको बताएका छन् । चितवनको भरतपुरमा मतपत्र च्यातिएको सन्दर्भबारे पत्रकारहरुले प्रश्न गर्दा उनले ‘निर्वाचनमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन । परिणाम मतदाताको हातमा हुन्छ । मतदाताले जसलाई मत दिन्छन् त्यही विजयी हुने हो ।’ मन्त्री शर्माले दुई नम्बर प्रदेश हुन लागेको स्थानीय चुनावका लागि जित्ने उम्मेदवारलाई नै पार्टीले टिकट दिने बताएका छन् । माओवादी केन्द्र परिवर्तनकारी शक्ति हो भनेर सबैले बुझेको भन्दै उनले आगामी चुनावको परिणाम पनि त्यसैअनुसार आउने अपेक्षा गरेका छन् ।