गिद्धः एउटै पहरामा तीन जाति
१८ भदौ, २०७४
अर्घाखाँची, भदौ १८ । लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँची गिद्धको बासस्थानका रुपमा विकसित हुन थालेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका जंगल तथा पहरामा पाँच प्रजातिका गिद्ध पाइएका छन् । मरेका जनावरलाई आहारा बनाई पारिस्थितिक प्रणलीलाई सन्तुलनमा राखी पर्यावरणलाई जोगाउन यसको निकै ठूलो योगदान रहन्छ । आफैँ शिकार नगर्ने तर मरेका जनावरको सिनो मात्र खाने गिद्धले प्रदूषित र दुर्गन्धित वातवरणलाई स्वच्छ राखी महामारी र सरुवा रोग लाग्नबाट जोगाउँछ । प्रकृतिको कुचीकार गिद्ध पछिल्लो समयमा लोप हुने अवस्थामा छ । हिमाल र तराईका विभिन्न सामुदायिक वनमा पाँचथरी गिद्ध पाइने गरेको गिद्ध संरक्षण अभिायनका विज्ञ कृष्णप्रसाद भुसालले बताउनुभयो । उहाँका अनुसार यहाँ डंगर, सुन, गोब्रे, हिमाली र हाडफोर गिद्ध पाइन्छन् । हिमालमा पाइने हिमाली गिद्ध र तराईमा पाइने डंगर गिद्धको बासस्थान जिल्लाका विभिन्न स्थानका जंगल र पहरा हुन् । हिमाली र डङ्गर गिद्धसमेत रैथाने रुपमा बस्ने भएकाले अर्घाखाँची तिनको उपयुक्त बासस्थानका रुपमा विकास हुँदै गइरहेको छ । पाँचथरी गिद्ध सधैँभरि बस्ने रैथाने भए पनि समय समयमा सानो खैरेगिद्ध र राजगिद्ध पनि बसाइँसराइ गरेर आउने गरेको नेपाल पक्षी संरक्षण संघ, गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्णप्रसाद भुसालले बताउनुभयो । यहाँको उत्तरी भेग अर्घा किमडाँडा, धारापानी, ढाकावाङ, गोखुङा, हंसपुर, खनदह, खन, अर्घातोष, डिभर्ना र बल्कोटका पहरा र ठूला रुखमा बासस्थान फेला परेको छ । “बाँगी घेराका भीरमा तीन प्रजातिका गिद्धले बच्चा कोरल्छन्”, उहाँले भन्नुभयो, “एउटै पहरामा तीन जाति रहेको यो नेपालकै पहिलो अध्ययन हो ।” सुन्निएको र दुखेको निको पार्न पशुमा प्रयोग गरिने डाइक्लोफेन्याक नामक औषधिको प्रयोग भएको जनावरको सिनो खाँदा ठूलो संख्यामा गिद्ध मरेको अनुसन्धानले देखाएको छ । गिद्धको संख्या ९५ प्रतिशतभन्दा बढीले घटेर अतिसंकटापन्न अवस्थामा पुगेको छ । गिद्धको लोप भएमा प्राकृतिक चक्र नै परिवर्तन हुने भएकाले पनि यसको संरक्षण अति आवश्यक रहेको छ । लोपोन्मुख पक्षी डंगर गिद्धका पाँच बच्चा पाँच वर्षअघि अर्घाखाँचीबाट चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा लगेर राखिएको छ । सन्धिखर्क नगरपालिका– १० मा पर्ने गर्ताखोला खहरे र गर्लाम सामुदायिक वनबाट ती गिद्धका बच्चा लगिएको गर्ताखोला खहरे गर्लाम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर रानाभाटले बताउनुभयो । घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेन्याकका कारण गिद्धको संख्या घटेर अतिसंकटापन्न अवस्थामा पुगेकाले बचाउन त्यहाँ लगिएको हो । उमेर पुगेपछि कृत्रिम प्रजनन गराएर बच्चा हुर्काई डाइक्लोफेन्याकमुक्त सुरक्षित प्राकृतिक वातावरणमा छाडिने छ । सन्धिखर्क– १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदालीले गिद्ध संरक्षणका लागि वन संरक्षण गर्नु महत्वपूर्ण भएको बताउँदै गिद्ध संरक्षणले वातवरण र पर्यावरण जोगाउन निकै ठूलो भूमिका खेलेको हुँदा यसलाई बचाउन आफूहरुले पहल गर्ने जानकारी दिनुभयो । गिद्धलाई डाइक्लोफेन्याकरहित शुद्ध र नियमित आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले २०६३ मै स्थानीय समुदाय तथा सामुदायिक वन उपभोक्ताको सक्रियतामा नवलपरासीको पिठौलीमा विश्वकै पहिलो समुदायस्तरको जटायु (गिद्ध) रेष्टुरेन्ट खोलिएको थियो । किसानबाट वृद्ध, अशक्त र बेकामी गाईवस्तु संकलन गरी जटायु रेष्टुरेन्टमा रहेका पशुको वृद्धाश्रममा लगिन्छ । नेपाल पंक्षी संरक्षण संघका अनुसार १२ वर्ष अघिसम्म नेपालमा पाँच लाख र भारतमा १६ करोड गिद्ध थिए । नेपालमा पाइने आठ प्रकारका गिद्धमध्ये जिल्लामा पाँच प्रकारका गिद्ध छन् । गिद्धका लागि राम्रो बासस्थान भए पनि गिद्ध संरक्षणका लागि अर्घाखाँचीको स्थानीय प्रशासन राजनीतिक दल गैर सरकारी संस्था सबैले पहल गर्न जरुरी रहेको वातावरणप्रेमी बताउँछन् ।
निःशुल्क शिविरमा ५०९ जनाको मुटु जाँच
१८ भदौ, २०७४
घरघरैमै गएर बिरामीको उपचार
१८ भदौ, २०७४
बाढीपीडितलाई जापानबाट आर्थिक सहयोग
१८ भदौ, २०७४
सीमांकन सच्याइने छः ओली
१८ भदौ, २०७४
नापी कार्यालयका प्रमुख मृत फेला
१८ भदौ, २०७४
मोरङ जीपमा दुर्घटनामा दुईको मृत्यु
१८ भदौ, २०७४