एभरेष्ट दैनिक

ललितपुर मोबाइल एक्स्पो २०७४ सुरु

ललितपुर । ललितपुर लगनखेलमा रहेको ललितपुर मल दोस्रो तल्लामा अवस्थित ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको मोबाईल मेला शुक्रबारदेखि शुरु भएको छ । मोवाईल एक्सपोको अवसर पारेर यही भदौ १६ गते शुक्रबारदेखि २६ गतेसम्म तद्अनुसार सेप्टेम्बर ०१ तारिखदेखि सेप्टेम्बर ११ तारिखसम्म आयोजना हुने ललितपुर मोबाइल मेला २०७४ एक कार्यक्रमका बिच सांसद मदन बहादुर अमात्यले उद्घाटन गरेका छन् । उनले समाज आधुनिकिकरणतर्फ उन्मुख भएको भन्दै यस्ता सपिंग मलहरुले आर्थिक गतिविधि बढाउन सहयोग गर्ने स्पष्ट पारे । ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको भन्दै कम्प्लेक्सको वार्षिकोत्सवको अवसर पारेर मोबाइल मेला गर्न लागिएको जानकारी दिएका छन्  । अध्यक्ष बस्नेतले ग्राहकहरुलाई सूपथ मूल्यमा मोबाइल खरिद गर्ने वातावरण बनाउन मेला आयोजना गर्न लागिएको बताएका छन् । उनले कम्प्लेक्समा ग्राहकहरुलाई गुणस्तरीय मोबाइल फोनहरु तथा एसेसरिज मात्र बिक्री गरिने दाबी गरे । कार्यक्रममा ललितपुर मलका अध्यक्ष नेपाल डंगोलले आर्थिक गतिबिधि बढाउन यो मलले सहयोग गर्ने अपेक्षा गर्दै मल हरेक पुस्ताका ग्राहकहरुको लागि उपयुक्त रहेको दाबी गरेका छन् । उनले ललितपुर जिल्लामा नै पहिलो पटक व्यवस्थितरुमा मल संचालन गरिएको भन्दै ग्राहकहरुले सूपथ मूल्यमा अधिकतम सेवा सुविधा प्राप्त गर्ने बताए । आजदेखि शुरु भएको मोबाइल मेलाको पहिलो दिन करिब १० हजार व्यक्तिले अवलोकन गरेका छन् । अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको मोबाइल कम्प्लेक्सले ग्राहकहरुलाई मोबाइलसँग सम्बन्धित विभिन्न सेवा सुविधाहरु एकै स्थानबाट प्रदान गर्दै आएको छ । मोबाइल मेलामा न्यूनतम ९ सयदेखि १ लाख २५ हजार रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछ । मेलाको अवधिभर कुनैपनि मोबाइल वा एसोसोरिज खरिदमा ५ देखि ७० प्रतिशतसम्मको नगद छुट ग्राहकले प्राप्त गर्नेछन । मोबाइल मेलामा विभिन्न कम्पनीहरुले बजारमा आएका नयाँ स्मार्टफोनहरु पनि सार्वजनिक गरिने छ । यसअघिको एक्स्पोमा विभिन्न कम्पनीहरुले स्मार्टफोन लन्च गरेको र यो पटक पनि नेपालमा भित्रिएका विभिन्न नयाँ स्मार्टफोनहरु सार्वजनिक हुनेछन् । ललितपुर मलको दोस्रो तल्लामा कम्प्लेक्समा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा आईसकेएका छन् । त्यस्तै कम्प्लेक्समा सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको छ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । मोबाइल मेलामा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, लाभा, कलर्स, ओप्पो, सोनी, वन प्लस ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ ।