एभरेष्ट दैनिक

नमूना कलेजको ग्राजुएसन फेसन शो

भदौ १८ । अक्टोपस, कोरल रिफ, सी अरचिन, स्टारफिस, जेली फिस, बे अफ अलास्का, मर्मेड, पर्ल, बेटा फिस, सी ड्रागन लगायत समुद्री जीवनबाट अभिप्रेरित १५ वटा अनुपम, आकर्षक र लोभलाग्दा पहिरन शैलीहरु । सृजनात्मक सोच र कल्पनाशीलताले सजिएका यी पहिरनहरुले करिब एक घण्टाको समय उपस्थित फेसन पारखी दर्शकहरुलाई समुद्री परिवेशमा विचरण गराएको अनुभूति भयो । गत शनिबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा संचालन भएको नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातकको पढाईमा अध्ययनरत १२औं ब्याचका ५७ जना विधार्थीहरुको अन्तिम परिक्षाको महत्वपूर्ण पाटोका रुपमा प्रस्तुत सो फेसन शोको मुख्य आकर्षण थिए उल्लेखीत पहिरनशैलीहरु । ‘रिकोरेन्जा डिला मोडा’ शीर्षक अन्तर्गत विद्यार्थी स्वयंले आयोजना एवं व्यवस्थापन गरेको सो ग्राजुएसन फेसन शोमा अन्य पाँच वटा सिक्वेन्स पनि प्रस्तुत गरिएका थिए । फेसन शोको प्रारम्भमा लोलिटा फेसनबाट प्रभावित पहिरनले र्याम्पमा अवतरण गरेको थियो । त्यसपछि इन्डो वेस्टर्नको फ्युजन स्वरुपहरुले प्रवेश पायो । जसमा साडीका साथमा फिटेड ज्याकेट, स्लीम फिट ज्याकेट, केप लगायतको सुन्दर कम्बीनेसन देख्न पाइयो । त्यसपछि स्ट्रीट वेयरले आफ्नो प्रभाव देखायो । जसमा क्याजुयल र आरामदायिक मूडलाई प्राथमिकता थियो भने पहिरनहरु मुख्य गरी हेम्प फ्याब्रिकबाट बनेका थिए । नमूना कलेजका संस्थापक प्रिन्सीपल एवं अग्रणी नेपाली फेसन डिजाइनरका रुपमा परिचित ज्ञानी शोभा तुलाधरप्रति समर्पित पहिरनशैलीले कार्यक्रमको मध्य समयमा प्रवेश पायो । ज्ञानी शोभा तुलाधरले आफ्नो समयमा तयार पारेका विविध पहिरन शैलीबाट प्रभावित पहिरनहरुको नमूनालाई यो चरणमा देख्न पाइयो । ब्युटी क्वीन शीर्षक अन्तर्गत प्रस्तुत यी पहिरनहरु मूलतः ढाकाको प्रयोगमा साटन, रअ सिल्क जस्ता फ्याब्रिकमा खेलिएका थिए । जसमा फ्लोर लेन्थ गाउन, प्रिन्सेस लाइन, केप, अफ शोल्डर डिजाइन आदि प्रमुख थिए । रोजिन शाक्यको कोरियोग्राफी रहेको सो फेसन शोमा पाँच जना युवा मोडल सहित तीन दर्जन भन्दा बढी मोडलहरुले र्याम्पमा ओहोर दोहोर गरेका थिए । कार्यक्रमको पाँचौं सिक्वेन्स कर्पोरेट जगतप्रति समर्पित थियो । जसअन्तर्गत मूलतः फिटेड स्कर्ट, पेन्सिल स्कर्ट, शर्ट, टप्स आदि प्रस्तुत गरिएको थियो जुन कर्पोरेट जगतका महिला प्रोफेसनलहरु प्रति केन्दि«त थिए ।