एभरेष्ट दैनिक

परमाणु बम परीक्षणपछि उत्तर कोरियाप्रति अमेरिका ‘उत्तेजित’, सैन्य कारवाहीको चेतावनी

काठमाडौं, भदौ १९ । उत्तर कोरियाले शक्तिशाली परमाणु बम परीक्षण गरेपछि अमेरिकाले कडा सैन्य कारबाही गर्ने चेतावनी दिएको छ । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाली परमाणु बम परीक्षणले अमेरिका र उसका सहयोगी मुलुकमाथि खतरा आइलागेको भन्दै कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको कुराकानीपछि रक्षामन्त्री म्याटिसले उत्तर कोरियामाथि सैन्य कारबाहीको चेतावनी दिएका हुन् । रक्षामन्त्रीसँगको छलफलमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको पछिल्लो आणविक परीक्षण अमेरिकाका लागि खतरनाक भएको भन्दै यसले आफूहरुलाई थप उत्तेजित बनाएको टिप्पणी गरेका थिए । उनले उत्तर कोरियासँग हुने सबै देशको व्यापारिक सम्बन्ध अन्त्य गराउने बताएको बताइएको छ । ह्वाइट हाउस बाहिर पत्रकारहरुसँग कुरा गर्दै रक्षामन्त्री म्याटिसले अमेरिकासँग आफ्नो देश र सहयोगी मुलुकहरु दक्षिण कोरिया र जापानको रक्षा गर्न सक्ने क्षमता रहेको बताए । यसअघि उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको दाबी गरेको थियो । यो बम ब्यालेस्टिक क्षेप्यास्त्र मार्फत प्रहार गर्न सकिने गरी विकसित गरेको जनाइएको छ । दक्षिण कोरियाले यो बम सन् १९४५ मा जापानको नागासाकी शहरमा खसालिएको एटम बम भन्दा चार पाँच गुणा शक्तिशाली रहेको जनाएको छ ।