एभरेष्ट दैनिक

महाबौद्ध अनाथ विद्यापीठ बन्द हुने अवस्थामा

नवलपरासी, जेठ २९ । नवलपरासीमा रहेको एकमात्र अहिंसावादी महाबौद्ध अनाथ विद्यापीठ यतिबेला आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । काठमाडौँ बाहिरको बौद्ध शिक्षा अध्ययन हुने एकमात्र विद्यापीठमा हाल आर्थिक सङ्कट परेपछि बन्द हुने अवस्थामा पुगेको हो ।  मासिक रु पाँच लाखसम्म खर्च लाग्ने यस विद्यालयमा हाल आर्थिक अभाव हुँदा निकै समस्या परेको विद्यालयकी प्राचार्य सानुमाया पार्खिनले बताए । जिल्लाको दाउन्ने डाँडामा स्थापित यस विद्यापीठमा विभिन्न २४ जिल्लाका १०२ जना अनाथ बालबालिका आवासीय रुपमा अध्ययनरत छन् । विभिन्न कारणबाट घरपरिवारको संरक्षणमा रहन नसकेका र बिशुद्ध अनाथ बालबालिकालाई बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले २०५५ सालदेखि विद्यापीठ सञ्चालन गरिएको हो । बौद्ध समुदायले सामान्य पूजापाठ र भिक्षादान साथै मुठ्ठी दानको सहयोगबाट सञ्चालन हुँदै आएका यस विद्यापीठमा अहिले आर्थिक अभाव भएको छ । विद्यापीठमा निजी स्रोतबाट सामान्य खाजा खर्चमा ११ जना शिक्षक रहँदै आएका छन् । विद्यापीठमा कक्षा ८ सम्मको पठाइ हुँदै आएको छ । यस विद्यापीठमा हाल रसुवा, धादिङ, पाँचथर, चितवन, नुवाकोट, गोर्खा, रामेछाप, दोलखालगायतका विभिन्न २४ जिल्लाका अनाथ बालबालिकाले बौद्ध शिक्षा अध्ययन गर्दै आएका छन् ।