एभरेष्ट दैनिक

स्वतन्त्र उम्मेदवारको नारा : ६ भोट दललाई एक भोट विकासलाई

धनगढी, जेठ २१ । स्थानीय तहको निर्वाचनका लागि कैलालीमा चुनावी माहोल तात्न थालेको छ । दल र उम्मेदवारहरुले मतदाता भेटघाट कार्यक्रमलाई तीब्रता दिएका छन् । दोस्रो चरणको चुनावको माहोल सुरु भएसंगै धनगढी चुनावी चर्चाको केन्द्रमा छ । ७ नम्बर प्रदेशको सम्भावित राजधानी र एकमात्र उपमहानगरपालिका भएरमात्र धनगढी चर्चामा छैन । यहाँको मेयरमा चर्चित उद्यमी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि चुनावको पारो माथि चढेको छ । हमालले आफ्नो स्वतन्त्र उम्मेदवारी बैशाख ८ गते नै एक कार्यक्रमको आयोजना गरेर घोषणा गरेका थिए । प्रमुख दलहरुले प्रतिष्ठाको विषय बनाएको धनगढी उपमहानगरपालिकामा हमालको उम्मेदवारीले झनै चहलपहल बढाएको छ । कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा हमालले संघमार्फत सुन्दर सुदूरपश्चिमका अभियन थालेका थिए । अहिले उनले ‘आर्थिक सम्वृद्धिको पहिलो आधारः व्यवस्थित शहरीकरण’ भन्ने नारा अघि सारेका छन् । ५ वर्षमा धनगढी उपमहानगरपालिकालाई देशकै उत्कृष्ट र नमुना नगर बनाउने २८ बुँदे घोषणापत्रसहित स्वतन्त्र उम्मेदवार बनेका हमाल यहाँका चर्चित उद्योगी व्यवसायी हुन् । सात नम्बर प्रदेशमा कुल १३ लाख ३ हजार ७ सय १४ मतदाताहरु रहेकोमा कैलाली जिल्लामा मात्र ४ लाख ३ हजार २ सय ८० मतदाता रहेका छन् । १९ वटा वडाहरु रहेको धनगढी उपमहानगरपालिकामा ७६ हजार ४ सय ३० मतदाता छन् । धनगढी नगर क्षेत्रमा रहेका मतदाताहरुको निर्णायक मत समेट्ने लक्ष्य राखेर हमाल एक्लै मैदानमा उत्रिएका हुन् । उनलाई काँग्रेसलगायत अन्य पार्टीमा रहेका युवाले साथ दिएपछि ठूला पार्टीमा खैलाबैला मच्चिएको छ । कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा हमालले ‘सुन्दर सुदूरपश्चिम’ मार्फत सुदूरपश्चिमका संभावना उजार गर्न र विकासमा ठूलो भूमिका खेलेका संघका पूर्वअध्यक्ष दिनेश भण्डारीले बताए । हमालले सबै वडा घुम्न भ्याइसकेका छन् । उनको प्रचारको शैलीसमेत अन्य पार्टीको भन्दा फरक छ । आफूलाई विभिन्न वडाका मतदाहरुले आफ्नो क्षेत्रमा आउन आग्रह गरेपछि जाने गरेको उनले बताए । मतदाताको आग्रहपछि हमाल दलबलसहित सो क्षेत्रमा जाने र मतदाताको गुनासो सुनेपछि आफ्नो एजेण्डा राख्ने गरेका छन् । उनको चुनावी नारा नै ‘६ भोट दललाई, १ भोट विकासका लागि हमाललाई’ भन्ने छ । हमालको प्रचारमा जानेहरु आफै्ले गाडी र खाना खाजाको व्यवस्था मिलाउने गरेका बताइएको छ । धनगढी उपमहानगरपालिको १ देखि ८ सम्मका वडाहरु नगर क्षेत्रमै पर्ने भएका कारण पनि आफू सबै पार्टीको साझा उम्मेदवार बन्न सक्ने उनी बताउँछन् । दलबाट उम्मेदवार बन्दा मतदाता विभाजित हुने भएकाले स्वतन्त्र उम्मेदवार बनेको उनले बताए । दलबाट विजयी कार्यकर्ता रिझाउनु पर्ने भएकोले सबैलाई समान दृष्टिले हेरेर काम गर्न सकु भन्ने लागेर स्वतन्त्र उम्मेदवारी दिएको हमालले बताए । नेपाली काँग्रेसको गड मानिने धनगढी उपमहानगरपालिकामा नगरसभापति नृप वडलाई मेयरको उम्मेदरवार बनाएको छ । यस्तै एमालेले मेयरमा दुर्गाप्रसाद जोशी तथा माओवादी केन्द्रले रामसमझ रानाले उम्मेदवार बनाएको छ ।