एभरेष्ट दैनिक

नेपाल–भारत प्रबुद्ध समूहको चौथो बैठक आज

काठमाडौँ, जेठ १५ ।  नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को चौथो बैठक आज सोमबार भारतको देहरादुनमा बस्दै छ । बैठकमा नेपाल–भारत शान्ति तथा मैत्रीसन्धि १९५० को विषयमा छलफल हुने छ । यसअघि चैतमा नेपालमा भएको बैठकमा नेपालका तर्फबाट सन्धिको पुनरावलोकन र समीक्षाका लागि प्रस्ताव पेस भएको थियो । तीन दिनसम्म चल्ने बैठकमा नेपालको प्रस्तावबारे भारतीय पक्षले आफ्नो जवाफ दिने बताइएको छ । यसअघिका छलफमा पबुद्ध समूह सन्धिको पुनरावलोकनका लागि सैद्धान्तिक रूपमा सहमत भएको थियो । उत्तराखण्डको देहरादुनमा हुने बैठकमा पुनरावलोकनका लागि सहमतिपत्रको खाका तयार हुन सक्ने स्रोतको भनाइ छ । २३ र २४ चैतमा काठमाडौंमा बसेको तेस्रो बैठकमा नेपालका तर्फबाट १९५० को सन्धि, व्यापार तथा पारवहन सन्धि र जलस्रोतसम्बन्धी सन्धि सम्झौतामा संशोधन पेस भएको थियो । नेपालका तर्फबाट सदस्य निलाम्बर आचार्यले १९५० को सन्धि असमान भएको भन्दै त्यसमा संशोधन प्रस्ताव पेस गरेका थिए । त्यस्तै, नेपालले बैठकमा व्यापार तथा पारवहन सन्धिका विषयमा समेत चासोसहित संशोधनको कुरा उठाएको थियो । बैठकमा जलस्रोतमा नेपाल र भारतबीच भएको सन्धिको समीक्षा गर्दै अगाडि बढ्नुपर्ने भन्दै नेपालका तर्फबाट टिप्पणी प्रस्तुत गरिएको थियो । बैठकमा नेपाल–भारत सम्बन्धका सबै पक्षमा छलफल हुने बताइएको छ ।