एभरेष्ट दैनिक

मतदानका दिन सुरक्षा व्यवस्था कडा

काठमाडौँ, वैशाख ३० । भोलि हुने स्थानी चुनावका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानका दिन मतदान गर्न जाँदा कुनै किसिमको अवरोध उत्पन्न नहोस भन्ने उद्देश्यले नेपाली सेना र सशस्त्र प्रहरीले पैदल मार्ग, हवाई गस्ती र हाइ प्वाइन्ट ड्युटीसमेत गरी सम्पूर्ण सुरक्षा प्रबन्ध गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री निधिले स्थानीय तहमा समेत आवश्यक पर्ने सबै सुरक्षा प्रबन्ध मिलाइएको बताएका छन् । निर्वाचनमा झण्डै ६८ हजार सुरक्षाकर्मीले सुरक्षा दिने भएका छन् । नेपाली सेनालाई ब्याकअपका रुपमा खटाइने भएको छ । २२ हजार ५ सय ७५ जना प्रहरी, २२ हजार ६०२ जना म्यादी प्रहरी र १७ हजार ३५६ जना सशस्त्र प्रहरीसहित ३८३ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी रहने र त्यसलाई थप ५ हजारको जनशक्तिले रिइन्फोर्स गरिने उनले जानकारी दिए। सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना परिचालन गरिनेछ। मत खसालिसकेपछि मतपेटिकालाई मतगणनास्थलसम्म सुरक्षित पुर्या उन स्कर्टिङको व्यवस्था पनि गरिएको मन्त्री निधिले बताए । मतगणनाको परिणाम घोषणापछि विजय जुलुस, र्‍याली र सभालाई पनि बलियो सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको उनले बताए। सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हुँदा ढुक्क भएर आफ्नो मतको प्रयोग गरी यस निर्वाचनलाई सफल पार्न सबैमा गृहमन्त्रालयले आग्रह गरेको छ ।