एभरेष्ट दैनिक

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संवाद बढाउन प्रमुख दल सहमत

काठमाडौँ । प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन सहमत भएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेको विधेयकलाई अगाडि बढाउने सहमति भएको हो । प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन विधेयकका विवादित विषयमा छलफल गरी उपसमितिले अधिकांश विषयमा सहमति जुटाएको छ।समितिले शीर्ष सहमति खोजेको विषयमा पनि प्रमुख दलहरू सहमति नजिक पुगेका थिए । तर त्यही बेला सत्ता गठबन्धन फेरिएपछि यो विषय ओझेलमा परेको थियो । गठबन्धन फेरिए पनि प्रधानमन्त्री प्रचण्डले काँग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुबीच संवाद गरिरहेका थिए ।आजको बैठकले विधेयक अगाडि बढाउने र सहमति जुट्न नसकेका विषयमा सहजीकरण गर्न तीन दलले एकएक जना नेतालाई तोक्ने सहमति समेत गरेको छ ।