मौद्रिक नीतिबारे छलफल गर्न शुक्रबार बिहान राष्ट्र बैंकको बोर्ड बैठक बस्दै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पास गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक शुक्रबार (भोलि) बिहान बस्ने भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार शुक्रबार नै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।

तर, बोर्ड सदस्यहरूको राय बाझिएमा वा आफ्ना सुझाव राख्न केही समय मागेमा मौद्रिक नीति सार्वजनिक गर्ने मिति अर्को हप्तासम्म सर्न सक्ने स्रोतको भनाइ छ ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी छन् । त्यस्तै, सञ्चालक समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरहरू निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, डा.शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डे छन्।

पाँच विकास बैंक र तीन फाइनान्स कम्पनीलाई राष्ट्र बैंकको कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो । त्यस्तै, सो अवधिमा वेस्ट फाइनान्स, रिलायन्स फाइनान्स र प्रोग्रासिभ फाइनान्सलाई पनि कारबाही गरेको छ । कर्णाली डेभलपमेन्ट बैंकलाई अनिवार्य नगद मौज्दात तोकिएको जति नभएकोले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकलाई निरन्तर सुधार गर्न गरिएको गत माघ २१ गतेको कारबाहीलाई नै निरन्तरता दिइएको छ । यसका लागि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अन्तर्गतको नगद जरिवानासम्बन्धी कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सञ्चालक समितिलाई सचेत गराएको छ । बैंकले सर्वसाधारणको जानकारीका लागि दिइने सूचना तथा साधारण सभा तोकिएको अवधिभन्दा ढिला गरेकाले सचेत गराइएको हो । सिन्धु विकास बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई पाँच लाख रुपैयाँ जरिवाना गरिएको छ । राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको व्यवस्थाविपरीत चेक खरिद गरेको, चेकलाई धितोको रूपमा लिएको र सो चेकको आधारमा दुई करोड ५० लाख रुपैयाँ बराबरको सेयर धितो फुकुवा गर्ने निर्णय सञ्चालक समितिबाट भएको थियो । व्यक्तिगत जमानीमा ऋण प्रवाह गरिएका चारवटा ऋणीहरूलाई प्रवाह गरिएको कर्जाको साधारण ब्याजसमेत मिनाहा गरी साँवा रकम मात्र असुल उपर गर्ने सञ्चालक समितिको निर्णयबाट संस्थालाई हानि पुगेको र यसबाट लगानीकर्ता, निक्षेपकर्ता तथा सर्वसाधारणको हित विपरीतका कार्यहरू भएकाले संस्थाको अध्यक्षको हैसियतले त्यस्तो कार्यहरू हुन नदिन प्रयास गरेको नदेखिएको राष्ट्र बैंकको ठहर छ । त्यस्तै, सिन्धु विकास बैंकको न्यूनतम पुँजीकोष अनुपात ३२.९० प्रतिशतले अपुग भएकाले बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ख)बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । एक्सल डेभलपमेन्ट बैंकले वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण राष्ट्र बैंकलाई ढिला पेस गरेपछि सचेत गरिएको छ । त्यस्तै, यो बैंकले वार्षिक साधारण सभा तोकिएको समयभन्दा ढिला गरेकाले पनि सचेत गराइएको छ । त्यस्तै, वेस्ट फाइनानस, रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्सले तोकिएको समयमा लेखापरीक्षण सम्पन्न नगरेको र समयमा साधारण सभा नगरेकाले सचेत गराइएको सुपरीवेक्षण विभागले जनकारी दिएको छ । 

नेप्से निरन्तर वृद्धि, कारोबार रकम ३५ महिनायताकै उच्च

काठमाडौं । बुधबार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो सोमबार सामान्य करेक्सनपछि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ५४.०४ अंक बढेर २३६४.६३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १०.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५५ अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ९ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन ३०६ स्टकको १ लाख ४९ हजार ६८१ पटकको कारोबारमा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको ३ करोड २० लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम करिब ३५ महिनायताकै उच्च हो। यस अघि २०७८ भदौ १५ गते १३ अर्ब १६ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो। सोपश्चात आजै नेप्सेमा १२ अर्बबढीको शेयर खरिदबिक्री भएको हो। यस दिन सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो फाइनान्सको शेयरमूल्य यस दिन ५४ रुपैयाँ ९० पैसा बढेर ६०३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सिंगटी हाइड्रो इनर्जी, आँखुखोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य यस दिन सर्वाधिक ९.९० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन सिंगटी हाइड्रो नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ५५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको करिब २३ करोडको शेयर खरिदबिक्री भएको छ भने सोनापुर मिनरल्स एण्ड आयल र हिमाल दोलखा हाइड्रोपावरको कारोबार रकम २० करोड नाघेको छ। यस दिन पनि १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.३० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे ५ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

नेपाल एयरलाइन्सद्वारा ४३ करोड ९ लाख ऋण भुक्तानी

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएर ऋणको किस्तामध्ये ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।  निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबढी र दुई वाइडबडी जहाज खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ आषाढ महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी ४३ करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ भुक्तानी गरेको  उल्लेख छ ।  उनले निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् निगमले २०८१ आषाढ सम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको बताए ।  विज्ञप्तिमा विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गर्न निगमले दुई कोषलाई आग्रह पनि गरिएको छ ।  यसैगरी, किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले दुवै कोषलाई अनुरोध पत्र पठाएको पौडेलले जानकारी दिएका छन् ।

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन २ गते बुधबार सन् २०२४ जुलाई १७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार अमेरिकी डलर, यूरो र बेलायती पाउण्डको विनिमयदर घटेको छ । कतारी रियालको खरिद दर सामान्य घट्दा बिक्रीदर स्थिर छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ ४० पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ९६ पैसा र बिक्री दर १७३ रुपैयाँ ७४ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर 

नेप्सेमा ७०.१८ अंकको वृद्धि, कारोबार कति ?

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिनको वृद्धिसँगै नेप्से परिसूचक २६ महिनायताकै उच्च विन्दुमा पुगेको छ। यस दिन नेप्से परिसूचक ७०.१८ अंक बढेर २३१०.५९ विन्दुमा पुगेको छ। यो पछिल्लो २६ महिनायताकै उच्च विन्दु हो। यस अघि २०७९ बैशाख २९ गते, नेप्से २३५०.४२ विन्दुमा बन्द भएको थियो। सोपश्चात इन्ट्राडेमा पनि नेप्सेले २३०० विन्दु नाघेको थिएन। यस दिन सेन्सेटिभ इण्डेक्स १२.३३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३३ अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको १ लाख १९ हजार ११ पटकको कारोबारमा ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बरुण हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, मन्दाकिनी हाइड्रोपावर, सिन्धु विकास बैंक र सिक्लेस हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सिंगटी हाइड्रो इनर्जी, रिडी पावर र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन ऋणपत्र र म्युचुअल फण्डहरुको मूल्य घटेको छ। कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १८ करोड नाघेको छ भने अपि पावरको करिब १८ करोडको शेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.४५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ४.९४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ।

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन १ गते मंगलबार सन् २०२४ जुलाई १६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४६ पैसा र बिक्री दर १३४ रुपैयाँ ०६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ ०६ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ १९ पैसा र बिक्री दर १७३ रुपैयाँ ९७ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६० पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।प्रधानमन्त्रीमा केपी शर्मा ओलीले शपथ लिएकै दिन जनतालाई मर्का पर्नेगरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो । सोमबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो। निगमका अनुसार बढेको मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ। मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ । सुर्खेत र दाङ वरपर १७० र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १७१ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १५७ पुगेको छ । सुर्खेत र दाङ वरपर १५९ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० पुगेको छ ।

नेप्से परिसूचक १७ अङ्कले घट्यो, बढ्यो कारोबार

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ को विन्दुमा कायम भएको हो । आज तीन सय ३२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर एक लाख दुई हजार तीन सय ७२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ बराबरको कारोबार भएको छ । आज जलविद्युत् समूह शून्य दशमलव ७३, लगानी एक दशमलव ७०, उत्पादन तथा प्रशोधन शून्य दशमलव १२ र म्युचुअल फण्ड एक दशमलव ६७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव ४८, विकास बैंक एक दशमलव ८९, वित्त शून्य दशमलव ५२, होटेल तथा पर्यटन एक दशमलव ७६ र जीवन बीमा समूह एक दशमलव ६५ प्रतिशतले घटेको छ । लघुवित्त एक दशमलव ४१, निर्जीवन बीमा शून्य दशमलव ९१, व्यापार शून्य दशमलव ५२ र अन्य समूह एक दशमलव १९ प्रतिशतले घटेको छ । सिभिल बैंक डिभेञ्चर–२०८८ र माण्डु हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको रु। ३७ अर्ब आठ करोड ७२ लाख पाँच सय ८९ बराबरको २१ लाख ७४ हजार सात सय २८ कित्ता शेयर किनबेच भएको छ ।

प्रचण्ड सरकार इतिहासकै मितव्ययी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार इतिहासकै सबैभन्दा मितव्ययी सरकार बनेको छ । हालसम्म हुन नसकेको संघीय सरकारको चालु प्रकृतिको खर्चमा इतिहासमै पहिलोपटक उल्लेख्य कमी आएको छ । सरकारी खर्च आम्दानीको लेखा राख्ने महालेखा नियन्त्रकको कार्यालयले अघिल्लो वर्षको तुलनामा यो वर्ष ५३ अर्ब १३ करोड ७२ लाख रूपैयाँ यस्तो खर्च घटेको तथ्याङ्क दिएको छ । चालु खर्चअन्तर्गत संघीय सरकारको प्रशासनिक खर्च, तलब भत्ता, सरकारले गर्ने सभा सेमिनार, सामाजिक सुरक्षा, सार्वजनिक ऋणको ब्याज भुक्तानी, वित्तीय हस्तान्तरण, सरकारले दिने विभिन्न किसिमका ब्याज अनुदान तथा सहुलियत, मेसिनरी तथा अन्य सार्वजनिक सम्पत्तिको मर्मत सम्भार लगायतमा गर्ने खर्चहरू पर्दछन्। आर्थिक वर्ष २०३१/३२ अर्थात् अर्थ मन्त्रालयको तथ्यांक अभिलेख राखिएयता कुनै पनि वर्ष चालु खर्च घटेको थिएन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको पालामा पहिलोपटक यो वर्ष भने ५.२७ प्रतिशतले खर्च घटेको छ। यस्तो खर्च तीन वर्षयताकै न्यून पनि छ। आर्थिक वर्ष २०७८/७९ मा नौ खर्ब ५४ अर्ब रूपैयाँको चालु खर्च भएको थियो भने गत वर्ष १० खर्ब ५ अर्ब रूपैयाँको भएको थियो । यस वर्ष भने प्रारम्भिक रूपमा नौ खर्ब ५२ अर्ब रूपैयाँ मात्रै पुगेको छ। पछिल्लो ५० वर्षको अवधिमा औसत रूपमा वार्षिक १७ प्रतिशतले चालु खर्च बढेको तथ्याङ्क छ । आर्थिक वर्ष २०५१/५२ मा ५८ र २०६६/६७ मा सबभन्दा धेरै ४६ प्रतिशतले चालु खर्च बढेको थियो । सबभन्दा न्यून वृद्धिदर २०६९/७० मा १.६ प्रतिशतको भएपछि कुनै पनि वर्ष नघटेको यस्तो खर्च यो वर्ष भने घटेको हो । यो वर्ष प्रशासनिक क्षेत्रमा उल्लेख्य खर्च घटेको र वित्तीय अनुशासन बढि हुँदै गएको देखिएको छ । तत्कालिन प्रधानमन्त्री प्रचण्डको निर्देशनमा सरकारले अनावश्यक रहेका प्रधानमन्त्री कार्यालयका तीन वटा सचिवको दरबन्दी खारेज तथा केही सहसचिवको पनि दरबन्दी खारेज गरेको थियो । यसै कारण पनि प्रशासनिक खर्चमा यो पटक केही कमी आएको अर्थविदहरूको भनाइ छ।

अर्थका कर्मचारीले गरे मन्त्री पुनको बिदाइ, अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको भनाई

काठमाडौँ । अर्थ मन्त्रालयका कर्मचारीले आइतबार अर्थमन्त्री वर्षमान पुनलाई बिदाइ गरेका छन् । आफ्नो बिदाइका अर्थमन्त्री पुनले बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको बताएका छन् । बजेटमार्फत शिथिल अर्थतन्त्रमा सुधार तथा निजी क्षेत्र र युवा वर्गमा आशा जगाउने खालका कार्यक्रम ल्याइएको मन्त्री पुनको भनाइ थियो । १२ वर्षअघि पहिलो पटक १८ महिना अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा दुई आर्थिक वर्षमा पूरक बजेट ल्याएको स्मरण गर्दै उनले यस पटक जन निर्वाचित संसदबाट पूर्ण बजेट ल्याउने मौका पाएकामा खुसी व्यक्त गरे । नेपाल राष्ट्रबैंक र गभर्नर महाप्रसाद अधिकारीसहित मन्त्रालयका उच्चपदस्थदेखि मातहतका सबै निकायले आफूलाई राम्रो साथ दिएको भन्दै उनले धन्यवाद दिए । ‘केही आशा जगाउने गरी बजेट ल्याएको छु । ४ महिना एक साताको कार्यकालबाट म सन्तुष्ट छु, उनले भने, ‘मलाई अर्थ मन्त्रालय परिवार र गभर्नरसहित सम्बद्ध सबैबाट राम्रो सहयोग मिल्यो ।’ मन्त्री पुनले सुरुदेखि नै बजेट निर्माण प्रक्रियालाई सहभागितात्मक बनाइएकाले विगतको तुलनामा यस पटकको बजेटको स्वामित्व धेरैले लिएको बताए । विगतमा सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल नहुँदा मुलुकको समग्र अर्थतन्त्रमा त्यसको नकारात्मक प्रभाव पर्ने गरेको विगतबाट सिकेर यो पटक बढीभन्दा बढी निकाय र सरोकारवालाको सहभागितामा बजेट निर्माण गरिएको मन्त्री पुनको भनाइ थियो । नीति तथा कार्यक्रममा आफू र अर्थ सचिव सहभागी भएको तथा बजेट निर्माणका प्रारम्भिक छलफलदेखि लेखनसम्म नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र मुख्यसचिव सहभागी भएको जानकारी उनले दिए । संसदमा अर्थमन्त्रीमार्फत व्यक्त भए पनि बजेट निर्माणमा सिंगो राज्य संयन्त्र, निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था र सरोकारवाला सहभागी भएकाले बजेटको स्वामित्व बढेको उनले बताए । मुलुकको भू–अवस्थितिअनुसार आर्थिक विकासको मोडल र रूपान्तरणकारी योजना बनाउनुपर्ने विषयलाई ध्यान दिएर यस पटक विगतमा जस्तै कृषिमा, जलविद्युत, पर्यटन र उत्पादनमुलक उद्योगमा जोड दिइए पनि सूचना प्रविधि क्षेत्रलाई महत्वका साथ समावेश गरिएको चर्चा मन्त्री पुनले गरे । अर्थतन्त्रले श्रीलंकाको नियति भोग्नुपर्ने त्रासबाट माथि उठेर हाल विदेशी मुद्राको सञ्चिति बढेर १६ महिनाका लागि वस्तु तथा सेवाको आयात गर्न सक्ने अवस्था आउनु सुखद भएको चर्चा मन्त्री पुनले गरे । मन्त्री पुनले राजश्व र भन्सारका दर हेरफेर गर्दा यो पटक धेरै विवाद नभएको चर्चा गरे । बजेट निर्माणको सुरुको चरणदेखि नै आफू त्यसबारे सचेत रहेको भन्दै उनले एक्लै नभई मन्त्रालयका दुवै सचिव, राजश्व महाशाखा प्रमुख, भन्सार र राजश्वका महानिर्देशक र बजेट लेखन समितिका सदस्यहरुबीच लामो छलफलपछि मात्र दरहरूमा हेरफेर भएको बताए । धारा ५७ संशोधनमा कसैले आशंकाका साथ र कसैले अस्पष्ट भएर केही विषय साना स्टार्टअप कम्पनीलाई प्रवर्द्धन गर्न त्यसो गरिएको प्रष्टीकरण दिए । निजी क्षेत्रका छाता संस्थाहरूले लामो समयदेखि धारा ५७ संशोधन गर्न सुझाव दिँदै आएको भन्दै उनले गभर्नरसहित मन्त्रालयको टिममा लामो छलफलपछि मात्र सो निर्णयमा पुगिएको जानकारी दिए । अर्थमन्त्री पुनले निकट विगतमा अर्थ मन्त्री र राष्ट्र बैंकका गभर्नरका बीचमा रहेको दूरी आफ्नो कार्यकालमा घटेको बताए । अर्थ मन्त्रालय र राष्ट्रबैंक एक अर्काका प्रतिस्पर्धी नभई समन्वयमा काम गर्नुपर्ने भए पनि विगतमा विविध कारणले त्यसो हुन नसकेको अनुभव यस पटक गर्नु नपरेको भन्दै सन्तोष व्यक्त गरे । आफू अर्थ सचिव मधुकुमार मरासिनी र गभर्नर महाप्रसाद अधिकारीको समन्वयमा केही समयअघि राष्ट्र बैंकले गरेको तेस्रो त्रैमासिक समीक्षाको नतिजा आउन थालेको बताए । मौद्रिक नीतिको समीक्षामार्फत गरिएका सुधारले घरजग्गा चलायमान भएको र पुँजीबजार परिसूचकले डेढ वर्ष अगाडिको बिन्दुमा छोएको उनको भनाइ थियो ।

नेप्से ५३ अंकले बढ्दा सबै समूहगत परिसूचकमा हरियाली

काठमाडौं । १८ सय विन्दुसम्म झरेको बजार आइतबार उच्च अंकले बढेर २२५७.५७ विन्दुमा बन्द भएको छ । यस दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५२.९७ अंकले बढेको हो । सात अर्ब ६२ करोड चार लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । कारोबारमा आएका १३ वटै समूहका परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि वाणिज्य बैंक र हाइड्रोपावर समूहको भएको छ। वाणिज्य बैंकको परिसूचक ३.७४ प्रतिशतले बढेको छ। हाइड्रपावर समूहको परिसूचक ३.३० प्रतिशतले वृद्धि भएको छ। आज २०१ कम्पनीको सेयर मूल्य बढेको छ । ३६ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ।रिडी पावर कम्पनी र मान्डु हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

डेंगी संक्रमितको संख्या १५ सय नाघ्यो

काठमाडौं ।देशभर डेंगी संक्रमितको संख्या एक हजार ५०० नाघेको छ। सन् २०२४ जनवरीयता जुलाई ११ सम्म एक हजार ५४४ जना संक्रमित भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ। तीमध्ये जुलाईका ११ दिनमा १३२ संक्रमित थपिएका हुन्। यो वर्ष (सन् २०२४) मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ। जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५३८ जनामा संक्रमण देखिएको छ। जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १८३ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ। यस्तै, झापामा १२३, चितवनमा ९०, मकवानपुरमा ७०, तनहुँमा ५३, ओखलढुंगामा ५३ र डोटीमा ५० जनामा डेंगी पुष्टि भएको छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ। मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ।

अर्थमन्त्री पुनको अर्थ मन्त्रालयबाट विवादरहित बिदाई

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन विवाद रहित रहदै बिदाई भएका छन्। गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले संसदबाट विश्वासको मत प्राप्त नगरेसँगै नयाँ सरकार प्रक्रिया अघि बढेको छ।  आज नयाँ सरकार गठन हुँदैछ त्यस अगाडि आइतबार बिहान मन्त्रीहरूको बिदाइ भएका छन्। पुनले २०८० फागुन २३ गते जिम्मेवारी लिएका थिए र २०८१ असार ३० मा बिदाइ गरिएका हुन्।   बिदाइ समारोहमा अर्थ मन्त्रालयका कर्मचारीहरू, नेपाल राष्ट्र बैंकका गभर्नर, भन्सार विभागका प्रमुखहरू, आन्तरिक राजस्व विभागका महानिर्देशकहरू लगायतका उच्च अधिकारीहरूको उपस्थिति थियो।   अर्थमन्त्रीको रूपमा पुनको यो दोस्रो कार्यकाल थियो। पहिलो कार्यकालमा उनले बजेट प्रस्तुत गर्ने अवसर पाएका थिएनन् भने यस पटक छोटो अवधिमा नै बजेट ल्याउन सफल भए। उनका कार्यकालमा आयकर ऐनको दफा ५७ संशोधन गरिएको थियो जसको प्रभावका विषयमा उनले स्पष्टीकरण दिएका थिए। बिदाइ समारोहमा मन्तव्य राख्दै पुनले आफ्नो कार्यकालमा सही नियतले काम गरेको र अर्थतन्त्र सुधारमा योगदान पुर्‍याएको बताएका थिए।  उनले आफ्नो छोटो समयको कार्यकालमा अर्थतन्त्रलाई सुधार्ने प्रयासमा लागेको बताए।  उनको कार्यकालमा विभिन्न आर्थिक नीतिहरूको कार्यान्वयनमा विशेष योगदान रहेको सहभागीहरूको भनाइ थियो।पुनले विशेषगरी ठूलो बजेट ल्याउनु पर्ने दबाब थेगेर तुलनात्मक रूपमा सानो आकारको बजेट प्रस्तुत गरेका थिए।आगामी आर्थिक वर्षका लागि उनले १८ खर्ब ६० अर्बको बजेट विनियोजन गरेका छन्। 

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.८९ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.६६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.३३ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.७४ रुपैयाँ रहेको छ।  साउदी रियाल एकको खरिद दर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७२ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६९ रुपैयाँ रहेको छ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार २९ गते शनिबार सन् २०२४ जुलाई १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार निरन्तर बढेर  शनिबार बेलायती पाउण्डको बिक्री दरले १७३ रुपैयाँ पार गरेको छ। अमेरिकी डलर र कतारी रियल घट्दा युरो भने बढेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ २४ पैसा र बिक्री दर १४५ रुपैयाँ ८९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ८८ पैसा र बिक्री दर १७३ रुपैयाँ ६६ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर