मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
गण्डकी । पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष मरिचका बिरुवा बिक्रीबाट रु दुई लाख ७५ हजार आम्दानी गरेका छन् । अमृतकुञ्ज पर्माकल्चर अग्र्यानिक फार्ममा उत्पादित एक हजार एक सय बिरुवा बिक्री गरेर उनले उक्त आम्दानी गरेका हुन् । फार्ममा उत्पादन भएका बिरुवा पोखरा महानगरपालिका, पोखरा–१९ पुरन्चोरस्थित ठुलढुङ्गा सामुदायिक वन उपभोक्ता समूह, माछापुच्छ्रे गाउँपालिकाका किसान तथा अन्य व्यक्तिले खरिद गरेका बाँस्तोलाले जानकारी दिए ।
रोग कीराको प्रकोप नहुने, बाँदर र असिनापानीले पनि खासै असर नगर्ने मरिचखेतीबाट मनग्य आम्दानी हुनुका साथै वन तथा वातावरण संरक्षणमा पनि महत्त्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ । महानगरले खरिद गरेका बिरुवा यसै वडाका किसानलाई वितरण गरिएको छ । साढे तीन दशकअघि भण्डार ढिक्काका आत्रय गुरुसँग दुई बिरुवा खरिद गरेर ल्याएर मरिचखेती गरेको उनले बताए । अहिले फैलिएर एक सयभन्दा बढी रुखबाट उत्पादन दिइरहेको बाँस्तोलाले बताए । “मरिचको बिरुवा प्रतिबिरुवा रु दुई सय पचासका दरले बिक्री गर्दै आएको छु ।
आगामी वर्षका लागि दुई हजार बिरुवा उत्पादन गरेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्ने तयारी छ”, उनले भने । घर वरिपरिको भिरालो पाखो जमिनमा हुर्केका साल, आँप, चिलाउने, कटुस, कल्की, फलेदो, कटहरलगायत विभिन्न प्रजातिका एक सयभन्दा बढी हरिया रुखका फेदमा लगाएका मरिचका बोटले निरन्तर फल दिँदै आएको बाँस्तोलाले बताए । उत्पादित फल बिक्रीबाट वार्षिक रु एक लाखदेखि रु तीन लाखसम्म आम्दानी हुने गरेको छ । सुकाएको मरिच प्रतिकिलो रु दुई हजारमा खरिद गर्न व्यापारी घरमै आउने गरेका छन् । लगभग ३० रोपनी क्षेत्रफलमा फैलिएको बाँस्तोलाको फार्ममा विभिन्न प्रजातिका जडीबुटी, अगरउड, रक्तचन्दन, रातोकेरा, सितलचिनी, फलफूललगायत बोटबिरुवा हुर्केका छन् । सरकारीस्तरबाट हालसम्म कुनै पनि सुविधा प्राप्त नभएको उनले बताए ।
पाकेको मरिचको गेडालाई एक दिनसम्म पानीमा भिजाउने र गाईको गोबरसँग मिसाएर राम्ररी रगडी पखालेर तयार भएको बीउलाई नर्सरी ब्याडमा रोपिन्छ । यो एक महिनाभित्र उम्रिन्छ र डेढ महिनामा रोप्नका लागि तयार हुन्छ । मरिचलाई कलमी, बडिङ, ग्राफटिङ, कटिङ (जरा र काण्ड) द्वारा प्रसारण गरिन्छ । माघ–फागुनतिर माउबोटबाट दुईदेखि तीनवटा आँख्ला भएको हाँगा काटेर रोपिन्छ । कलमीलाई चाहिँदो छायाँ र पानी दिनुपर्दछ । लहरेबाली मरिचले फल दिन सुरु गरेको २० वर्षसम्म लगातार उत्पादन दिन्छ ।
मरिच विशेषगरी न्यानो, आद्र, हावापानी र बढी वर्षामा हुने, उष्ण प्रदेशीय बाली हो । पहाडी क्षेत्रको न्यानो तथा बढी आद्रता भएको ठाउँमा पनि यसको व्यावसायिक खेती गर्न सकिन्छ । समुद्री सतहदेखि एक हजार ५०० मिटरसम्म खेती गर्न सकिन्छ । कालो मरिचको प्रयोग विभिन्न परिकारमा मसला, आयुर्वेदिक औषधिजस्ता खाना, कल्लुवली, पन्नियुर, चेरियाकानियाककाडन र कोरिमुण्डालगायतका पर्दछन् । खाना पचाउने, भोक लाग्ने, खोकीको उपचार, श्वासप्रश्वास र मुटुरोगका लागि प्रयोग गरिनुका साथै दन्तमञ्जन तथा टुथपाउडरमा समेत प्रयोग हुने गरेको छ । विश्वमा अत्यधिक प्रयोग गरिएका जातहरूमा वेलानकोट्ठा, कोट्ठनदान गुणस्तरीय मानिन्छन् भने पन्नियुर हाइब्रिड जातमा पर्दछन् । यसको सम्भाव्यता अध्ययन गरेर नेपालका सामुदायिक वन क्षेत्रमा समेत लगाउने हो भने वन समूहको आम्दानीको स्रोत बन्नुका साथै विदेशी मरिच आयातलाई समेत विस्थापित गर्न सकिन्छ ।
उत्तरी गोरखामा किसान स्याउ टिप्न व्यस्त
गोरखा । उत्तरी गोरखामा किसानले बगैँचाबाट धमाधम स्याउ टिप्न थालेका छन् । उनीहरू स्याउ टिपेर बिक्री गर्न बजार लैजाने तयारीमा जुटेका छन् । चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित ‘इन गोरखा प्रोडक्ट प्रालि’को स्याउ फर्ममा गाला जातको स्याउ टिपिसकिएको फर्मका सञ्चालक लाक्पा ढुण्डुप लामाले जानकारी दिए । उनको बगैँचामा गाला, गोल्डेन र फुजी जातका स्याउ फलेका छन् । “गाला स्याउ टिपिसकियो । अब गोल्डेन टिप्ने तयारी भइरहेको छ”, उनले भने, “अबको एक महिनामा फुजी स्याउ पनि टिप्ने बेला हुन्छ ।” यसपटक गाला स्याउ १० हजार किलो उत्पादन भएको उनले जानकारी दिए । “दुई ट्रक स्याउ काठमाडौँ पठाइसकेको छु । काठमाडौँमा बिक्री गर्न समस्या छैन ।” चार वर्षअघि लगाइएको लामाको बगैँचामा यतिबेला १२ हजार ५०० बोटमा स्याउ फलेका छन् । उहाँले आफ्नो उत्पादनलाई ‘चुमनुब्री स्याउ’ नामले ब्रान्डिङ गर्दै आएका छन् । यसैगरी दुई हजार ७०० मिटर उचाइमा रहेको विशाल मनास्लु फर्म तथा लर्निङ सेन्टरका सञ्चालक छिरिङ लामा यतिबेला टिप्ने बेला भएको लटरम्म स्याउको बगैँचा देखेर दङ्ग छन् । चुमनुब्री गाउँपालिका–२ ल्होमा रहेको सो स्याउ बगैँचा पाँच हजार बोट लटरम्म स्याउले भरिभराउ छ । गाला जातको स्याउ टिप्ने बेला भइसकेको सञ्चालक लामाले बताए । उनको बगैँचामा गाला, फुजी, गोल्डन डेलिसियसलगायत जातका स्याउ छन् । असोज पहिलो हप्ताभित्रै सबै प्रजातिका स्याउ टिप्न थाल्ने उनले जानकारी दिए । लामाको बगैँचामा तीन वर्षदेखि स्याउ उत्पादन हुन थालेको हो । उनले आफ्नो बगैँचाको स्याउलाई ‘मनास्लु स्याउ’ नाम दिएर ब्रान्डिङ गरेका छन् । लामाले गत वर्ष आठ हजार किलो स्याउ उत्पादन गरेका थिए । पहिलो वर्ष भने उहाँको बगैँचामा सात सय किलो मात्र स्याउ उत्पादन भएको थियो । उत्पादन बर्सेनि बढ्दै गएको लामाले बताए । “यस वर्ष १० हजार किलो उत्पादन हुने अनुमान छ”, लामाले भने । ल्होका अन्य स्थानीयले पनि घरायसी प्रयोगका लागि थोरथोरै स्याउ उत्पादन गर्दै आएका छन् । गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि ज्ञानकेन्द्र गोरखासँग साझेदारी गरी यहाँ स्याउ बगैँचा विकास गरिएको हो ।चार वर्ष अघि कृषि निर्देशनालयले इटलीबाट ल्याएको गाला, फुजी, रेड र गोल्डन डेलिसियस जातको स्याउको उन्नत बिरुवा किसानलाई ७० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । स्याउ बगैँचा स्याउखेतीसम्बन्धी अध्ययन गर्न चाहनेका लागि अध्ययन केन्द्रको रूपमा पनि विकास गरिएको छ ।“हाम्रो स्याउ फर्म उच्च गुणस्तरको जातको स्याउ उत्पादन गर्ने मात्र नभई स्याउखेतीको अध्ययन गर्नेका लागि अध्ययन केन्द्रका रूपमा पनि विकास गरेका छौँ”, मनास्लु स्याउका उत्पादक छिरिङ धार्के ले भने,“यहाँ आएर अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क आवास र खानाको व्यवस्था गरेका छौँ ।” चुमनुब्री गाउँपालिकाका अधिकांश ठाउँमा स्याउखेती राम्रो हुने हुनाले अन्य किसानले पनि व्यावसायिक स्याउखेती गर्न थालेका छन् ।
बागलुङका १० वटै स्थानीय तहमा खायन आलुखेती
बागलुङ । यहाँका कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङले तीन वर्षदेखि निरन्तर खायन आलु उत्पादनका लागि जिल्लाको १० वटै स्थानीय तहमा क्षेत्र विस्तार गरेको हो । यहाँको निसीखोला, तमानखोला, ताराखोला गाउँपालिका, ढोरपाटन, गलकोट, जैमिनी नगरपालिकाको माथिल्लो क्षेत्रमा अन्य ठाउँमा भन्दा बढी आलु उत्पादन हुने गर्छ । थोरै लगानीमा धेरै आलु उत्पादन गर्न सकिने हुँदा ‘खायन आलु’को क्षेत्र विस्तार गर्दै आएको कृषि ज्ञान केन्द्र प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । आर्थिक वर्ष २०८०र०८१ देखि खायन आलुखेतीको क्षेत्र विस्तार गर्न थालिएको प्रमुख सिलवालको भनाइ छ । उनका अनुसार २०८०/०८१ मा रु दुई करोड ६० लाख, २०८१/०८२ मा रु एक करोड ५९ लाख र चालु आर्थिक वर्षमा रु ५५ लाख ९० हजार रकम आलुखेती क्षेत्र विस्तारमा खर्च गरिएको छ । खायन आउलु क्षेत्र विस्तारसँगै नयाँ प्रविधिको प्रयोग, मलखाद व्यवस्थापन गर्ने, सिँचाइ व्यवस्थापन गरी उन्नत जातको बिउ लगाइने प्रमुख सिलवालले बताए । यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा खायन आलु विस्तार गर्ने लक्ष्य छ । प्रमुख सिलवालले भने, “बागलुङ जिल्लामा खायन आलु राम्रो उत्पादन हुने गरेको छ, किसान पनि उत्साहित छन्, आलु उत्पादन गरेर जीविकोपार्जन गर्न यस कार्यक्रमले टेवा पुर्याउँछ ।” हाल जिल्लामा तीन हजार ७०० हेक्टरमा आलु खेती हुँदै आएको छ । अघिल्लो वर्ष ५६ हजार २४० मेट्रिकटन आलु उत्पादन भएको थियो । यस वर्ष किसानले आलु भित्राइसकेका छैनन् । बागलुङका किसानले उत्पादन गर्ने आलु बागलुङ, पोखरा, बुटवल, चितवनलगायतका सहरमा पुग्ने गरेका छन् । खायन आलुमा सिँचाइ र मलको व्यवस्थापन हुने हुँदा उत्पादन बढ्ने ढोरपाटन नगरपालिका–५ का किसान कृष्णलाल कँडेलले बताउनुभयो । यो आलु खेती गर्न थालेपछि वर्षेनी आलु उत्पादनमा वृद्धि भएको उनको भनाइ छ । कृषि ज्ञान केन्द्र बागलुङले यस वर्ष रु ३७ लाख लगानीमा खाद्यान्न बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषि सहकारी तथा समूहमार्फत खाद्यान्न बाली प्रवर्द्धन गर्न थालेको हो । कम्तीमा एक समूहले एउटा बाली १०० रोपनीमा खेती गर्नुपर्ने ज्ञान केन्द्रले जनाएको छ ।
गत वर्ष म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री
म्याग्दी । गत आर्थिक वार्षिकमा यहाँबाट करिब रु एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रकाअनुसार आव २०८१/८२ मा यहाँबाट रु ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो । केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गत आवमा एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५ हजार चार सय ९० मेट्रिकटन आलु प्रतिकिलो न्यूनतम रु ३५ का दरले बिक्री हुँदा रु ६० करोडको कारोबार भएको जानकारी दिए । उनका अनुसार एक हजार आठ सय २० क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले आलु उत्पादन भएको छ । चार सय २५ हेक्टर क्षेत्रफलमा उत्पादन भएको चार हजार सात सय ८१ दशमलव तीन मेट्रिक टन सुन्तला प्रतिकिलो रु ८० का दरले ३३ करोड ४६ लाख ७० हजारमा बिक्री भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताए । म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा बिक्री हुन्छ । क्षेत्रफल विस्तार, अनुकूल मौसम, रोग कीराको समस्या नदेखिएकाले आलु र सुन्तलाको उत्पादन बढेको प्रमुख बाँस्तोलाले बताए । आव २०८०/८१ मा एक हजार सात सय ५० हेक्टरमा ३१ हजार चार सय ५० मेट्रिक टन आलु र रु २४ करोड बराबरको तीन हजार ६०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रका प्राविधिकले ‘क्रपकटिङ’ विधिबाट फलफूल, तरकारी र खाद्यबाली उत्पादनको तथ्याङ्क सङ्कलन गर्दै आएका छन् । अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्ली लगायत ठाउँमा आलु उत्पादन हुन्छ । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैँचा छन् । सवारी साधनको पहुँच पुगेपछि गाउँ गाउँमा उत्पादन भएको आलु र सुन्तलाले बजार पाउन थालेको हो । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा आलु र सुन्तला खेती विस्तार तथा प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गरेका छन् । गत आर्थिक वर्षमा केन्द्रको रु ४७ लाख १४ हजार सहयोगमा ४२ वटा फार्म तथा समूहमा आबद्ध एक सय ६४ परिवार किसानले तीन सय ७० रोपनी बगैँचा सुदृढीकरण र ४० रोपनीमा विस्तार गरेका कृषि प्रसार अधिकृत गङ्गा लामिछानेले जानकारी दिइन् । खायन आलु कार्यक्रममार्फत तीन वटा सहकारी र २७ समूहलाई बीउ, यान्त्रीकरण, सिँचाइ पूर्वाधार, ‘प्याकेजिङ’ र ढुवानीका लागि रु ८७ लाख ६४ हजार अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ । यस वर्ष सुन्तलाजात फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि रु छ लाख र सुदृढीकरणका लागि रु १९ लाख ८० हजार बजेट प्राप्त भएको छ । जिल्लामा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिका–९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ । यस वर्ष पर्वत, बागलुङ र म्याग्दीमा सञ्चालन भइरहेको सुन्तला जोनमा रु ५३ लाख ८५ हजार, रघुगङ्गा, बेनी र अन्नपूर्ण गाउँपालिका कार्यक्षेत्र भएको आलु जोनका लागि रु १६ लाख ६८ हजार बजेट प्राप्त भएको परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले जानकारी दिए ।
मुस्ताङमा उच्च घनत्वको स्याउ उत्पादन १० प्रतिशतले वृद्धि
मुस्ताङ । यस वर्ष मुस्ताङमा उच्च घनत्व (हाइब्रिड) स्याउ उत्पादन करिब १० प्रतिशतले बढेको छ । नेपालमै स्याउ उत्पादनको ‘हब’ मानिने मुस्ताङका किसान उच्च घनत्व प्रविधिको खेतीतर्फ आकर्षित भएपछि उत्पादन वृद्धि भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष मुस्ताङबाट १,२५० मेट्रिक टन स्याउ उत्पादन भएकोमा यस वर्ष उत्पादन १,३७५ मेट्रिक टन पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले जानकारी दिए । “यसपटक उच्च घनत्व स्याउको उत्पादन बढेसँगै बजारमा सहजै उपलब्ध छ । किसानले बगैँचामै राम्रो मूल्यमा बिक्री गर्नुभएको छ,” प्रमुख गुरुङले भने । यस वर्ष जिल्लाभर ६० हेक्टर क्षेत्रमा उच्च घनत्व प्रविधिमा स्याउ खेती गरिएकोमा ५० हेक्टरमा उत्पादन भएको छ । छिटो पाक्ने जात गाला स्याउ भदौ ५ गतेदेखि र किङरोड जात भदौ १५ गतेदेखि टिपेर बजार पठाइएको छ । किसानले गाला र किङरोड स्याउ बगैँचामै प्रतिकिलो रू. २५० मा व्यापारीलाई बिक्री गरिरहेका छन् । गत वर्ष प्रतिकिलो रू. १९० मा बिक्री भएको थियो । जिल्लामा कर्म गुरुङ, निरज तुलाचन, सरोज तुलाचनसहित करिब १ सय किसानले उच्च घनत्व प्रविधिमा स्याउ खेती गर्दै आएका छन् । एक हेक्टरमा करिब २५ मेट्रिक टन उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र, शीतोष्ण बागवानी विकास केन्द्र (मार्फा), प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ ‘स्याउ जोन’ (मुस्ताङ), किसान समूह, सहकारी संस्था, स्याउ फार्म तथा स्थानीय सरकारले उच्च घनत्व खेतीलाई प्रोत्साहन गरेका छन् । हालसम्म मुस्ताङबाट उच्च घनत्व स्याउको करिब ८ प्रतिशत बजारमा पुगिसकेको छ । स्थानीय जातका रोयल, रेड, रिचारेड, गोल्डेन र फुजी स्याउ पनि उत्पादन हुँदै आएका छन् । छिटो पाक्ने जातको बिक्री सुरु भइसकेको र ढिलो पाक्ने स्थानीय जातको स्याउ भदौ २५ गतेदेखि बजार पठाइने कार्यतालिका रहेको छ । यस वर्ष अनुकूल मौसम, राम्रो बगैँचा व्यवस्थापन र रोग–कीराको समस्या कम देखिएको कारण उत्पादन बढ्ने भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ढुवानी समेत समयमै हुने भएकाले किसान उत्साहित बनेका छन् । जिल्लामा ८३० हेक्टरमा स्याउ खेती हुँदै आएको छ । त्यसमा ५६६ हेक्टर क्षेत्रमा रोपिएका बोटबाट ६,०७८ मेट्रिक टन उत्पादन हुने लक्ष्य राखिएको छ । एक हेक्टरमा औसत १०.७४ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । उच्च घनत्व खेती भने ६० हेक्टर क्षेत्रमा फैलिएको छ र यसबाट ८,४९६ मेट्रिक टन उत्पादन हुने अपेक्षा गरिएको छ ।
भाेजपुरका पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण
भोजपुर । जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ । हालसम्म ६ सय २९ गाईगोरु र राँगाभैँसीमा यो रोग देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार हालसम्म दुई सय २१ पशु निको भएका छन् भने चार सय आठ पशु अझै सङ्क्रमित छन् । उक्त रोगबाट तीन पशु चौपाया मरेका छन् । तीन सय ९३ गाईगोरु र १५ राँगाभैँसी अहिले पनि बिरामी रहेका प्रमुख दाहालले बताए । भोजपुरमा पशुमा लम्पी स्किन रोगको सङ्क्रमण बढेको छ । यो रोग महामारीका रूपमा फैलिने खतरा छ । रोग नियन्त्रणका लागि नौ हजार ३५ पशुमा खोप लगाइएको कार्यालयले जनाएको छ ।
हराउँदै परम्परागत धानका जात
बर्दिया । अन्नको भण्डार’ भनेर चिनिने बर्दियामा किसानहरू व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएपछि परम्परागत धानका जात हराउँदै गएका छन् । कुनै समय सजिलै पाइने बर्मा, कनजिरा, सुहावत, तालगन्ध र कालानमक जात अहिले उत्पादनमै सङ्कटमा परेका छन् । पहिला परिवारको उपभोग र सानो स्तरमा बिक्रीका लागि मात्र उत्पादन हुने यी धान जात अहिले खेतबारीमै हराउँदै गएको किसानहरूको अनुभव छ । स्वास्थ्यका दृष्टिले लाभदायक मानिने चामल दिने यी धान जात किसानले अब छाडेर बढी उत्पादन हुने आधुनिक जाततर्फ आकर्षित भएका छन् । गुलरिया नगरपालिका–५ सुहेलवाका किसान राधेश्याम चौधरी भन्छन्, “पहिला धेरै मात्रामा लगाइने बर्मा र कनजिरा अहिले पाउनै गाह्रो भएको छ। किसानले घरायसी प्रयोगकै लागि पनि ती धान लगाउन छाडेका छन् ।” त्यस्तै गुलरिया–८ पर्सियाका रामफल थारूले भने, “बिउ नै पाइँदैन भने खेती कसरी गर्ने? अहिले बजारमा राधा–४, सावित्री, सिन्धुली, सावा मनसुली, जिरा मसिनो जस्ता जात मात्र सहजै उपलब्ध हुन्छन् ।” एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालका अनुसार, “बर्दियामा धानको उत्पादन अझै उच्च भए पनि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएकाले परम्परागत जातको खेती घटेको हो ।” बर्दियामा धान उत्पादनका लागि राजापुर र गेरुवा गाउँपालिका मुख्य क्षेत्र मानिन्छन् । त्यस्तै मधुवन, गुलरिया, बढैयाताल र बारबर्दियामा पनि ठुलो मात्रामा धान खेती हुने गरेको छ ।
खाेटाङमा मासुका लागि राँगापालन प्रभावकारी बन्दै
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले सुरु गरेको मासुका लागि व्यावसायिक राँगापालन प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित रु ४३ लाखबाट समूह तथा व्यक्तिको २५ प्रतिशत लागत सहभागितामा उन्नत जातका राँगा खरिद गरेर वितरण गरेको थियो । तराईबाट खरिद गरेर ल्याइएका उन्नत जातका ४०० वटा राँगामध्ये वडा नं. ३ बाम्राङमा ८३, वडा नं. ४ खाल्लेमा ५९, वडा नं. ५ लफ्याङमा ५२, वडा नं. ७ दोर्पाचिउरीडाँडामा १५ र वडा नं. १५ विजयखर्कमा ४१ वटा वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख गणेशप्रसाद आचार्यले जानकारी दिए । नगरपालिकाले विनियोजन गरेको बजेट कृषक समूहको खातामा जम्मा गरिदिएपछि समूह आफैले उन्नत जातका राँगा खरिद, ढुवानी तथा वितरण गरेको जनाइएको छ । नगरवासीलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले लागू गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएको उपप्रमुख विशन राईले बताए । उनले भने, “अघिल्लो वर्ष यो कार्यक्रमअन्तर्गत ४०० वटा राँगा खरिद गरेर वितरण गरेका थियौँ । एउटा राँगाको मूल्य रु ६० हजारसम्म पुगेको छ, चालु आवमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने योजनामा छौँ ।” राँगा तथा भैँसीपालन कार्यक्रमले प्राङ्गारिक मलसमेत उत्पादन हुने भएपछि तरकारी तथा कृषि उपज उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ । गत वर्षको नगरसभाबाट पारित नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रम अगाडि बढाएको हो । जिल्लाको सबैभन्दा ठुलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पशुपालनसँगै केरा, किबी, कागती, सुन्तला, कफी, चिया तथा तरकारीको व्यावसायिक खेतीका लागि कृषकहरुलाई अनुदान उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले वडा नं। ६ नेर्पा र वडा नं. १४ बुइपामा कफीका नर्सरी नै स्थापना गरेको छ । नगरपालिकाको लगानीमा दुवै ठाउँ स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्किएका छन् । बाहिरबाट खरिद गरिएको बिरुवाभन्दा आफैले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि कफीको नर्सरी स्थापना गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताए । नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका कफीको नर्सरीमा दैनिक ज्यालादारीका करिब १०० जना कामदार खटिएका छन् । कृषिलाई व्यवसायीकरण गर्ने कार्यक्रमअन्तर्गत कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष रु १२ अर्ब रकम भित्रिने आकलन गरिएको छ ।
धानखेती डुबानले नष्ट भएपछि सिँघाराखेती गर्दै किसान
महोत्तरी । गत साउनमा आएको वर्षापछिको डुबानले धानखेती नष्ट भएपछि जलेश्वर नगरपालिका–८ का किसानले विकल्पमा सिँघाराखेती गर्न थालेका छन् । यहाँको करिब २०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली डुबान नष्ट गरेपछि किसानहरूले अहिले वैकल्पिक रूपमा सिँघाराखेती गर्न थालेका हुन् । समयमा पानी नपरेपछि ढिलो गरी रोपाइँ गरेका यहाँका किसानको बाली रातो खोलामा थुनेर राखिएको पानीले बाढीको रूप लिएपछि करिब २०० बिघा क्षेत्रफलको धानखेती नष्ट भएको थियो । पुनःधानखेती गर्न नसकिने गरी खेतका फाँटहरूमा पानी भरिएपछि वैकल्पिक रूपमा सिँघाराखेती गर्न थालिएको किसान मनोज साहले बताए । यस क्षेत्रमा बर्सेनि धानखेती डुबानमा पर्ने गरेको भन्दै यसले आर्थिक क्षतिका साथै शारीरिक परिश्रमसमेत खेर जाने गरेको उनको भनाइ छ । उनका अनुसार अहिले यहाँका दर्जनौँ किसान वैकल्पिक रूपमा सिँघाराखेतीतर्फ आकर्षित हुँदै गएका छन् । प्रत्येक वर्ष रोपेको धानबाली डुबेर आर्थिक क्षति भइरहेको देखेपछि कम लगानी र मेहनतमा मनग्य आम्दानी हुने सिँघाराखेतीतर्फ किसान आकर्षित हुँदै गएका स्थानीय चन्देश्वर साहले बताए । यहाँ मात्रै नभएर धानखेतीको सुनिश्चित नहुने क्षेत्रमा कम लगानी गरी मनग्य आम्दानी हुने भएको विकल्प छनोट गर्नुपर्नेमा उनले जोड दिए । सदरमुकाम जलेश्वर र वरिपरिका सयौँ बिघा पानी जमेर धानबाली नष्ट भएपछि विकल्पमा सिँघारा (फल) खेती सुरु गरिएको जलेश्वर नगरपालिका–१ वडाध्यक्ष अनिलकुमार झाले बताए । उनका अनुसार जमेको पानीमुनि लहरामा फल्ने सिँघारा एक प्रकारको गुलियो फल हो । यो फल स्वास्थ्यका पोष्टिकतत्वले भरिएको हुने भएकाले स्थानीस्तरमा लोकप्रिय छ । गत साउन १५ पछि आएको बाढीका कारण जलेश्वरका अधिकांश खेती डुबानमा परेपछि किसानको सहजताका लागि खेत तथा पोखरीमा सिँघाराखेती सुरु गरिएको जलेश्वर–२ का वडाध्यक्ष वरुण दाहालले बताए । वर्षौँदेखि बाँझो रहेको जलाशयमा यहाँ ५०–६० परिवारले खेती सुरु गरेका जलेश्वर–४ का किसान रामजनम सहनीले बताए । स्वाद मीठो र लोकप्रिय सिँघारा असोजदेखि बिक्रीका लागि तयारी हुन्छ । सिँघारा प्रतिकिलो रु १२० देखि १८० सम्म बिक्री हुने भएकाले लाखौँ आम्दानी गर्न सकिने जलेश्वर–२ का दिलचन मुखियाले जानकारी दिए । मिथिलाञ्चलमा पूजाआजा गर्दा प्रसादका रूपमा प्रयोग हुने सिँघारा बालबालिका, बूढापाका र पेटका रोगीले बढी मनपराउने किसान जीबछ मोमिनले बताए । सिँघारा बेचेर प्रतिकिसान रु दुई–तीन लाखसम्म आम्दानी गर्न सकिने जलेश्वर–९ का किसान सिया यादवको भनाइ छ । बाह्रै मास पानीले भरिभराउ रहने जलेश्वर र वरपरका क्षेत्रमा सिँघाराको व्यावसायिक खेती प्रवर्द्धन र विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने स्थानीय कृषि कार्यालयसँग सयौँ बिघामा हुने सिँघाराखेतीबारे कुनै अभिलेख छैन । जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले सिँघाराखेतीलाई प्रवर्द्धन गर्नुपर्ने र मौसमी उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । यो खेती गर्ने किसानका लागि सङ्घले विशेष योजनासहित प्रोत्साहनमूलक कार्यक्रम ल्याउने उनले प्रतिबद्धता जनाए ।
दसैँमा मुस्ताङबाट १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने
मुस्ताङ । यस वर्ष मुस्ताङमा दसैँ लक्षित भेडाच्याङ्ग्रा पन्ध्र हजारको सङ्ख्यामा निकासी हुने प्रक्षेपण गरिएको छ । मुस्ताङका पाँचै वटा स्थानीय तहसँगको समन्वयमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गरेको रिपोर्टिङका आधारमा सो सङ्ख्यामा भेडाच्याङ्ग्रा बाहिरिने प्रारम्भिक प्रक्षेपण गरिएको हो । यहाँ गरिएको प्रारम्भिक आङ्कलनअनुसार गत वर्षको भन्दा यस वर्ष दोब्बर सङ्ख्यामा भेडाच्याङ्ग्रा मुस्ताङबाट निकासी हुने अनुमान गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङका प्रमुख डा लालमणि अर्यालले उल्लेख गरे । गत वर्ष मुस्ताङमा पालन गरिएका आठ हजारको सङ्ख्यामा दसैँ लक्षित भेडाच्याङ्ग्रा बेँसीतर्फ निकासी भएको कार्यालय प्रमुख डा अर्यालको भनाइ छ । उनका अनुसार गत वर्ष डोल्पाबाट मुस्ताङ हुँदै चार हजार बढी भेडाच्याङ्ग्रा बाहिरिएको थियो । गत वर्ष मुस्ताङ र डोल्पाको गरी मुस्ताङबाट कूल १२ हजार बढी च्याङ्ग्रा निकासी भएको उनको भनाइ छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङको वार्षिक तथ्याङ्कअनुसार यहाँका पाँचै वटा पालिकामा ६४ हजार ४०८ भेडाच्याङ्ग्रा र बाख्राको सङ्ख्या रहेको छ । यहाँको पाँच पालिकामा च्याङ्ग्रा ५६ हजार ४०५, भेडा पाँच हजार चार सय २६ र बाख्रा दुई हजार पाँच सय ७७ वटा रहेको कार्यालय प्रमुख डा अर्यालले बताए । यहाँको लोमान्थाङ गाउँपालिकामा च्याङ्ग्रा १४ हजार ३९८ र भेडा एक हजार ८२९, लोघेकर दामोदरकुण्डमा च्याङ्ग्रा १७ हजार ३४९ र भेडा १४९, वारागुङ मुक्तिक्षेत्रमा च्याङ्ग्रा २० हजार ६१६ र भेडा एक हजार ३०८, घरपझोङ गाउँपालिकामा च्याङ्ग्रा चार हजार ४२, भेडा चार सय ३३, बाख्रा एक हजार उक सय ९४ र मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकामा भेडा ३७ र बाख्रा एक हजार तीन सय ८३ वटा रहेको जनाइएको छ । मुस्ताङमा सबै भन्दाबढी च्याङ्ग्रापालन भएको वारागुङ मुक्तिक्षेत्रबाट पाँच हजार र अन्य चारपालिकाबाट दुई हजार पाँच सयको सङ्ख्यामा भेडाच्याङ्ग्रा जिल्ला बाहिर निकासी हुने प्रक्षेपण गरिएको हो । यहाँ पालन गरिएको चार वर्ष कटेका वयस्क भेडाच्याङ्ग्रा दशै तिहार पर्वको छेकोमा निकासी हुने गरेको भेटेरिनरी चिकित्सक डा अर्यालले बताए । उनले मुस्ताङको तल्लो क्षेत्रमा दुई हजार पाँच सय बढीको सङ्ख्यामा सिनाल प्रजातीका बाख्रा र अन्य जातका बाख्रापालन भइरहेको बताउनुभयो । यस वर्ष मुस्ताङमा १५ हजार बढी भेडाच्याङ्ग्रा निकासी हुने र छिमेकी जिल्ला डोल्पाबाट पाँच हजार बढी च्याङ्ग्रा आउने प्रारम्भिक अनुमान गरिएको छ । यहाँको उत्पादन र डाल्पाबाट भित्रिने भेडाच्याङ्ग्रा गरी करिब २० हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङको जोमसोम हुँदै म्याग्दी र मुस्ताङको सिमाक्षेत्र घाँसाबाट बाहिरिने पशु चिकित्सक डा अर्यालको दाबी छ । गत वर्ष मुस्ताङमा प्रतिच्याङ्ग्रा २८ हजारदेखि ३५ हजार मूल्यमा च्याङ्ग्रा बिक्री गरिएको थियो । आवश्यक प्रक्रिया पुगे तिब्बत्बाट च्याङ्ग्रा ल्याउन कुनै समस्या नरहेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । मुस्ताङको न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका निमित्त प्रमुख नायब सुब्बा उत्तम राईले नेपाल–चीन उत्तरी कोरलानाकाबाट भेडाच्याङ्ग्राका पाठापाठी भित्रिएको बताए । उनले मासुजन्य प्रयोगका लागि वयस्क भेडाच्याङ्ग्रा नभित्रिएको जानकारी दिए । “यहाँ भेडाच्याङ्ग्रा आयात गर्नमा कुनै समस्या छैन, व्यापारीले चीनबाट पशु क्वारेनटाइन रिपोर्ट लिएर आउनु पर्यो,” निमित्त प्रमुख राईले भने, “यहाँ तिब्बतबाट भित्रिएका भेडाच्याङ्ग्राको लोमान्थाङ गाउँपालिकाको पशु शाखा चिकित्सकले यहाँ भन्सारमा पशु निरोगितासम्बन्धी प्रमाणित गर्नुहुन्छ, त्यसपछि हामीले भन्सार राजस्व काट्छौँ ।” निमित्त प्रमुख राईले भन्सार कार्यालयको क्वारेनटाइन पूर्वाधार नभएकाले पालिकाको सहयोगमा आवश्यक चेकजाँच गरी भन्सारले वैधता प्रदान गर्ने बताए ।
स्याङ्जामा बाँझिएको जमिन फाँडेर रहरलाग्दो कागतीखेती
स्याङ्जा । स्याङ्जाका एक युवाले व्यावसायिक रूपमा कागतीखेती गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–५ चिसापानीका ऋषि रेग्मीले व्यावसायिक रूपमा कागतीखेती गरी मनग्य आम्दानी लिन थालेका हुन् । विसं २०७८ मा भएको कोरोना महामारीले उत्पन्न भएको ‘लकडाउन’का बेला गाउँमै कागतीखेती थालेका उनले गत वर्षदेखि उत्पादन लिन थालेका हुन् । उनले गल्याङ नगरपालिका–५ स्यालबासबाट एक सय बोट सुन कागतीका बेर्ना ल्याएर लगाएका थिए । कोरोनाका समयमा घरबाहिर हिँडडुल गर्न नभएपछि समयको सदुपयोग गर्दै कागतीखेती गर्ने योजना बनाएर काम सुरु गर्नुभएका रेग्मीको अहिले आम्दानीको गतिलो स्रोत नै कागती बन्न पुगेको छ । “बाँदरको समस्याका कारण खेतीयोग्य जमिन बाँझिदै गएपछि विकल्पका रूपमा कागतीको सम्भावना देखेपछि कागती रोपेको हुँ”, उनले भने “त्यतिबेला देखेको सपना अहिले आएर साकार हुँदै गएको छ, खुसी छु ।” खेतीपाती नभएपछि बाँझिएको जमिनलाई फाँडेर उनले गाउँमै पहिलोपटक व्यावसायिक रूपमा थालेको कागतीखेती आज नमूनाका रूपमा रहेको छ । कागतीखेतीसम्बन्धी प्राविधिक ज्ञान नभए तापनि युट्युबमा हेरेरै त्यसको प्रयोग गरिरहेको उनले बताए । “एक सय बोटमध्ये ९० बोटले गत वर्षबाट राम्रो उत्पादन दिन थालेका छन्”, उनले भने, “गत वर्षको तुलनामा यस वर्ष झनै राम्रो उत्पादन छ, गत वर्षभन्दा उत्पादन दोब्बर बढी हुँदै गएको छ ।” झण्डै पाँच रोपनी क्षेत्रफलमा व्यावसायिक कागतीखेती गर्नुभएका रेग्मीले गत वर्षमात्र झण्डै रु ६० हजारको कागती बिक्री गरेका थिए । यहाँ उत्पादन भएको कागती स्थानीय वालिङ बजारका होटलमा खपत हुँदै आएको छ । उनले कागती प्रतिकेजी रु दुई सयदेखि तीन सयका दरले बिक्री गर्दै आएका छन् । “यहाँ उत्पादन भएको कागतीले बजार नपाउने भन्ने समस्या अहिलेसम्म छैन”, उनले भने, “कागती व्यापारीलाई नभई सिधैँ होटलमा बिक्री गर्ने भएकाले पनि बजार मूल्य राम्रो पाएको छु ।” खाली तथा बाँझिएको जमिनमा अझै नयाँनयाँ बोट थप्दै जाने योजनामा उनी छन् । गाउँमा व्यावसायिक रूपमा उनले कागतीखेती गरेर उत्पादनसँगै आम्दानी लिन थालेपछि अहिले त्यहाँका स्थानीयवासी पनि कागतीखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउने तयारीमा छन् ।
तनहुँकाे ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–८ अर्चलेका किसानले सामूहिक रूपमा पहिलो पटक अकबरे खुर्सानीखेती थालेका छन् । अर्चले कृषक समूहमा आबद्ध भएका २५ जना किसानले २२ रोपनीमा व्यावसायिक खुर्सानीखेती गरेका हुन् । उत्पादित खुर्सानी प्रतिकिलो रु २५० देखि रु ३५० सम्म बिक्री हुने गरेको समूहका सदस्य गञ्जसिं गुरुङले जानकारी दिए । उनले भने, “पहिलो चरणमा एक हजार किलो खुर्सानी बिक्री गरिसकिएको छ, बिक्रीका लागि बजारको समस्या छैन, तर मूल्य उचित पाउन सकिरहेका छैनौँ ।” उत्पादित खुर्सानी जिल्लाको भीमाद, दुलेगौँडादेखि पोखराका बजारमा बिक्री गर्दै आइएको किसान बताउँछन् । पहिलो चरणमा रु दुई लाख बढीको खुर्सानी बिक्री गरिसकिएको कृषक समूहले जनाएको छ । गाउँपालिकाले खुर्सानका बेर्ना र सिँचाइका लागि ७५ प्रतिशत अनुदान सहयोग गरेको थियो । सुरुमा सामूहिक रूपमा रु छ लाख लगानी गरिएको समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताए । वैशाखको अन्तिम साता बिरुवा ल्याएर खेती थालिएको बताउँदै उनले भने “बिरुवा लगाएको दुई महिनामा फल्न सुरु भएको छ, अब दोस्रो चरणको बिक्रीका लागि तयारी भइरहेको छ ।” ऋषिङ साना किसान कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका गञ्जसिंले पशुपालन र कृषि व्यवसायका लागि किसानलाई सहुलियत दर (सात प्रतिशत) मा ऋण उपलब्ध गराउँदै आएको बताए । “गाउँका युवा विदेशिने क्रम बढ्दै गएको अवस्थामा युवालाई स्वदेशमा बसेर काम गर्ने वातावरण र रोजगार सिर्जना गर्ने पहल थालेका हौँ”, उनले भने । उत्पादनका लागि यहाँको माटो उर्वरायुक्त रहेकाले जे खेती लगाउँदा पनि प्रशस्त आम्दानी लिन सकिने किसान बताउँछन् । जमिन बाँझो नराख्ने अभियानअन्तर्गत १४० रोपनीमा सुन्तलाखेती सुरुआत गरिसकिएको समूहका सदस्य गञ्जसिंले बताए । उनले भने, “एक हजार सुन्तलाका बिरुवा लगाइसकिएको छ, तीन हजार बिरुवा लगाउने योजनासहित अघि बढेका छौँ ।”
च्याउखेतीबाट वार्षिक १५ लाख आम्दानी गर्दै रोशन गुप्ता
सुनसरी । वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशन गुप्ताले च्याउखेतीबाट वार्षिक रु १५ लाख आम्दानी गर्दै आएका छन् । विसं २०७७ देखि व्यावसायिक च्याउखेती सुरु गरेका उनले सबै खर्च कटाएर वार्षिक रु १२ लाख बचत गर्दै आएका हुन् । भाइ भरत गुप्तासँगको सहकार्यमा रु ५० हजार लगानी गरी व्यावसायिक च्याउखेती सुरु गरेको रोशनले बताए । सात वर्षसम्म वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्किएका गुप्ताले विदेशमा कमाएको रकम लगानी गर्ने निर्णय गरेसँगै सुरुमा रु ५० हजारबाट खेती सुरु गरेको बताए । अहिले लाखौँ रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ । गुप्ताले भने, “सुरुका वर्षहरूमा घाटा खेप्नुपरे पनि पछिल्लो समयमा प्रशस्त आम्दानी भइरहेको छ । सबै खर्च कटाएर वार्षिक रु १२ लाखभन्दा बढी बचत हुने गरेको छ ।” उनका अनुसार अहिले पाँचवटा टनेलमा पाते जातको च्याउखेती भइरहेको छ । बजारमा अहिले प्रतिकिलो रु १८० देखि रु १९० र फार्ममा किन्न आउने व्यापारीलाई रु १५० मा च्याउ बिक्री गरिरहेको गुप्ताले जानकारी दिए । “गत वर्षको तुलनामा यस वर्ष खेती बढाएको छु । उत्पादन र मूल्य दुवैमा वृद्धि भएको छ”, उनले भने, “गत वर्ष यही समयमा प्रतिकिलो रु १२० मा बिक्री भएको च्याउ अहिले रु १८० सम्म पुगेको छ । हिउँदयाममा रु २२० सम्म पुग्छ ।” विदेश गएर पसिना बगाउँदा आम्दानी भए पनि खर्च र परिश्रम बढी हुने गुप्ताको अनुभव छ । स्वदेशमा पसिना बगाउँदा आम्दानीसँगै सम्मान पनि पाइने उनले बताए । च्याउ बिक्रीका लागि बजारको कमी नभएको बताउँदै गुप्ताले धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुरसहित बराहक्षेत्र, चतरा, स्थानीय बजार कालाबजारसम्म उत्पादन पुग्ने गरेको जानकारी दिए । खेती विस्तारसँगै परिवारका सदस्यले काम पाएका भन्दै दुई जनालाई मासिक तलबमा र सात जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिएको उनले उल्लेख गरे । “व्यवसाय भएकाले घाटानाफा हुन्छ । तर कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ, यसका लागि मेहनत र स्याहार आवश्यक पर्दछ”, गुप्ताले भने । उनका अनुसार चैतमा लगाइएको च्याउ वैशाख अन्तिमदेखि टिप्न योग्य हुन्छ भने वर्षमा करिब नौ महिना उत्पादन दिन्छ । सुरुमा कृषिसम्बन्धी ज्ञान र प्रविधिको कमीले समस्या खेप्नुपरेको बताउँदै गुप्ताले अहिले अनुभव बढ्दै जाँदा उत्पादन र आम्दानी दुवै बढेको उल्लेख गरे । “सुरुमा सबै परीक्षणजस्तो लाग्थ्यो, अहिले सीप विकाससँगै व्यावसायिक बन्दै गएपछि प्रशस्त सम्भावना देखिएको छ”, उनले भने । च्याउखेतीका लागि पराल, चुन, बाँस, खर र प्लास्टिक आवश्यक पर्ने उनले बताए । विषादी प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि लाभदायी हुने भन्दै उनले ‘अग्र्यानिक’ च्याउको माग निरन्तर बढ्दै गएको धारणा राखे । उनका अनुसार च्याउ भदौ–असोजमा बढी बिक्री हुन्छ । गुप्ताले विसं २०८० मा सुनसरी कृषि ज्ञान केन्द्रबाट रु एक लाख, बराहक्षेत्र नगरपालिकाबाट गत वर्ष रु ९० हजार अनुदान पाएका थिए । यस वर्ष नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा मिनिट्याक्टर पाएपछि खेती गर्न थप सहज भएको उनको भनाइ छ ।
एमाले कार्यकर्ताकै पसलबाट युरियाको कालोबजारी: कटारी नगर प्रमुख र उपप्रमुखको पनि संरक्षण
काठमाडाैं । उदयपुरको कटारी नगरपालिकामा किसानलाई सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल (युरिया) मा कालोबजारी भएको पाइएको छ । कटारी नगरपालिकाका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ र उपप्रमुख गिता खड्काको संरक्षणमा भएको खुलासा भएको छ । मेयर श्रेष्ठ नेपाली कांग्रेसका हुन् भने उपमेयर खड्का नेकपा एमालेकी हुन् । विहीबार जिल्ला प्रशासन कार्यालय उदयपुरको टोलीले कटारी बजारमा अनुगमन गर्दा दिलीप चौधरीको अशुतोष ट्रेडर्स तथा जनरल स्टोर र जयमाँ काली प्रालिबाट लुकाइएका दुई सय बोरा युरिया मल फेला परेको हो । घटनापछि पसल सिल गरिएको छ । एक स्थानीय व्यापारीहरूको भनाइअनुसार, कृषि सामग्री लिमिटेड गाईघाट र सिरहाबाट ल्याइने मल मेयर–उपमेयरसम्म कमिसन पुर्याउने शर्तमा कालोबजारी हुँदै आएको छ । तर कारबाही हुने वा नहुने विषय अझै टुंगो लागेको छैन । अशुतोष ट्रेडर्सका सञ्चालक चौधरी नेकपा एमालेका स्थानीय नेतासमेत रहेको बताइन्छ । व्यापारीहरूका अनुसार, चौधरीको एमालेसँगको सम्बन्धका कारण उपमेयर खड्कासँग उनको निकटता छ भने नेपाली कांग्रेसका मेयर श्रेष्ठसँग पनि उनको सुमधुर सम्बन्ध छ । उपमेयर खडकाले किसानले मल अभाव खेपिरहेको बेला निजी व्यापारीको गोदाममा अनुदानको मल भेटिनु रहस्यमय भएको बताइन् । उनले छानबिन समिति गठन गरेर अनुसन्धान गर्ने आश्वासन दिइन् । तर, व्यापारीलाई बढी दुःख दिए चुनावमा असर पर्ने संकेत दिँदै चौधरी एमाले नेता नभएको बचाउ गर्ने प्रयाससमेत गरिन् । उनका अनुसार, ५० किलोको एक बोरा युरिया मल कटारी बजारमा १८ सयदेखि २४ सयसम्ममा बिक्री भइरहेको छ। यसअघि पनि किसानले महँगो मूल्यमा मल खरिद गरेको पाइएकाले व्यापारीलाई चेतावनी दिइएको उनले बताइन् । अनुगमन टोलीका नेतृत्वकर्ता सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयका अनुसार, मललाई कोक, डिउलगायतका पेयपदार्थले छोपेर राखिएको अवस्थामा फेला पारिएको थियो । सबै मल सरकारी अनुदानकै भएको पुष्टि भएको उनले जानकारी दिए । हाललाई छानबिनको जिम्मा नगरपालिकालाई दिइएको उनले बताए । यता सञ्चालक चौधरीले आफ्नो गोदाममा मल कसरी पुगेको थाहा नभएको दाबी गरे । उनले भने, “मेरोमा मल आउने कुरा नै छैन । कसले राख्यो, कहाँबाट आयो थाहा छैन । अब मेयर–उपमेयरसँग सल्लाह गरेर अघि बढ्छु ।” तीन हजारमा घर घरमा पुग्छ युरिया मल कृषि सामग्री लिमिटेड गाईघाट शाखा प्रमुख नरेशकुमार महतोका अनुसार, अनुदानमा दिइने ५० किलोको एक बोरा युरिया मलको मूल्य ८३३ रुपैयाँ मात्र हो । सहकारीमार्फत ढुवानी खर्च जोड्दा प्रतिवोरा ९ सयदेखि १ हजार रुपैयाँ पर्छ । तर, कटारी बजारमा यही मल १८ सयदेखि ३ हजार रुपैयाँसम्ममा खरिद–बिक्री भइरहेको छ । कटारीका स्थानीय किसान भीम पराजुलीले ३ हजार रुपैयाँ तिरेर मल किनेर धान रोपेको बताए । उनले भने, “मल घरमै ल्याइदिन भाडाको बोलेरो आउँछ । महँगो पर्नुको कारण मेयरदेखि उपमेयरसम्मको मिलेमतो नै हो भन्ने कुरा व्यापारीहरूले प्रष्ट बताएका छन् । मल नपाएकाे मेयर र उपमेरकाे नामबाट महंगाे पर्ने गर्छ । त्यस्तै, उदयपुरगढीका किसान मनोज खत्रीले १९५० रुपैयाँमा ५० किलोको एक बोरा मल खरिद गरेको बताए । उनले भने, “उदयपुरगढीका सहकारीमा मल नपाएपछी कटारीमा गएर ल्याएकाे हुँ । साहुजीकाे नाम थाहा भएन । मेराे गाउँमा आउने बाेलेकाे ढालाकाे पुछारमा लगाएर चाउचाउ छाेपेर साहुजीले दिनु भएकाे थियाे ।” स्थानीय सहकारीमा मल नपाएपछि उनी कटारी पुगेका थिए । माग–आपूर्ति असन्तुलन कृषि सामग्री कम्पनी लिमिटेड उदयपुर शाखाका तथ्याङ्कअनुसार, जिल्लामा वार्षिक करिब पाँच हजार मेट्रिक टन युरिया, डिएपी र पोटास आवश्यक पर्छ । तर, त्यसको आधा मात्र आपूर्ति हुन्छ । चालू आर्थिक वर्ष ०८२/८३ का लागि तीन हजार मेट्रिक टन युरिया, १५०० मेट्रिक टन डिएपी, ५० मेट्रिक टन पोटास र २१ टन कृषि चुन माग गरिएको भए पनि हालसम्म १०० मेट्रिक टन डिएपी मात्र आएको छ । यस्तो अभावकै बीच कटारी बजारमा अनुदानको मल लुकाएर कालोबजारी गरिएको तथ्य सार्वजनिक भएपछि मेयर उपमेयर प्रहरी प्रशासन र कृषि सामग्री शाखा गाईघाटमाथि प्रश्न उठेकाे छ ।
राैतहटमा नहरमा पानी नआएपछि किसान आन्दोलित
रौतहट । रौतहटको गरुडा–महम्मदपुर–गौर नहरमा पानी नआएपछि किसान आन्दोलित भएका छन् । बागमती, मनुष्मारा, झाँझ सिँचाइ व्यवस्थापन कार्यालय, कर्मैया (सर्लाही) लाई दबाब दिन बुधबार किसानहरूले गौर–चन्द्रनिगाहपुर सडकखण्ड एक घण्टासम्म अबरुद्ध गरेका हुन् । धान रोपाइँको बेला नहरमा पानी नआएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको यमुनामाई गाउँपालिका–२ का वडा अध्यक्ष सिताराम यादवले बताए । ‘‘खेती गर्न नपाएर मर्नु भन्दा सडकमा मर्नु नै बेश हुन्छ,’’ उनले भने । यसअघि भदौ ६ गते किसानहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत ज्ञापनपत्र बुझाएका थिए । तर कुनै पहल नभएपछि सडक अवरुद्ध गर्नुपरेको किसान नेता नागेश्वर राउतले बताए । महम्मदपुर–गौर नहरमा हाल भेडियाहीसम्म मात्र पानी पुग्ने गरेको वडा अध्यक्ष यादवको भनाइ छ । सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख रामदुलारी भगतका अनुसार किसानको मागबारे विभागमा जानकारी गराइएको छ । उनका अनुसार सन् १९६० मा भारतीय सहयोगमा बनेको झाँझ सिँचाइ आयोजना अहिले जिर्ण अवस्थामा पुगेको छ । गत असोजको वर्षाले नहर बाँधमा क्षति पुर्याएको र मर्मतका लागि टेन्डर आह्वान भइसकेको उनले बताए । उनका अनुसार नहर बाँध मर्मत कार्यको करिब ६० प्रतिशत माटोको काम भएकाले अहिले तत्काल काम सुरु गर्न कठिन भएको छ । साथै, स्थानीयले नहरमा फोहोर फाल्दा जलकुम्भी बढ्ने र त्यसले पानीको प्रवाह अवरुद्ध हुने समस्या पनि देखिएको प्रमुख भगतको भनाइ छ ।
तीजमा दाङमा भारतीय केराकै भर
दाङ । तीजमा दाङमा केराको माग बढे पनि भारतीयकै भर रहेकाे छ । महिलाहरू व्रत बस्दा फलफूलको खपत बढ्ने भएकाले बजारमा केरा प्रमुख फल बनेको छ । तर जिल्लामा पर्याप्त उत्पादन नभएकाले व्यवसायीहरूलाई भारतीय केरामा भर पर्नुपर्ने अवस्था आएको छ । घोराही–१५ का फलफूल व्यवसायी भरत विकका अनुसार सामान्य समयमा जिल्लाको उत्पादनले बजार धान्ने गरे पनि चाडपर्वमा माग अत्यधिक हुने भएकाले भारतबाट केरा आयात गर्नुपर्ने बाध्यता हुन्छ । उनले यस वर्ष तिजका लागि एक सय मेट्रिक टन केरा मगाएकोमा करिब ५० प्रतिशत भारतबाट ल्याउनु परेको बताए । उनका अनुसार अहिले दैनिक ७०–८० क्विन्टल केरा भारतबाट दाङ आइरहेको छ । विकले घोराहीमा मात्रै चाडपर्वको समयमा दैनिक करिब ४८ मेट्रिक टन केरा खपत हुने जानकारी दिए । नेपाली केरा थोकमा दर्जनको ६०–६५ रुपैयाँ पर्छ भने भारतीय केरा ७०–८० रुपैयाँमा बिक्री भइरहेको छ । कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीका अनुसार हाल जिल्लामा ७३० हेक्टरमा व्यावसायिक केरा खेती हुँदै आएको छ । जसबाट वार्षिक करिब ९ हजार ९७३ मेट्रिक टन उत्पादन हुन्छ । यसअघि आव २०८०/८१ मा ६७० हेक्टरमा खेती गरिएको थियो । उनका अनुसार जिल्लाको उत्पादनले सामान्य समयमा करिब ७० प्रतिशत माग धान्छ । तर तिजलगायत चाडपर्वका बेला पर्याप्त नहुँदा बाहिरी जिल्ला र भारतबाट आयात गर्नुपर्ने बाध्यता रहन्छ । दाङमा मुख्यत: देउखुरी, लमही, राप्ती, गढवा, घोराही, शान्तिनगर र तुलसीपुर क्षेत्रमा व्यावसायिक केरा खेती हुने गरेको छ ।

