तनहुँमा सामूहिक सयपत्री फूलखेतीमा महिला
तनहुँ । यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका–४ का महिलाहरू फूलखेतीमा आकर्षित भएका हुन् ।
यहाँका महिलाहरू छिम्केश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध भएर सामूहिक फूलखेतीमा लागेका हुन् । तरकारी तथा अन्य फलफूलखेती गरिरहेका महिलाहरू पहिलो पटक सयपत्री फूलखेतीमा लागेको समूहका अध्यक्ष जितमाया रानाले जानकारी दिइन् ।
अध्यक्ष रानाले भनिन्, “पहिला पहिला अरुले सामूहिक खेती गरिरहेको बारे फेसबुकमा हेर्थ्यौँ । हामीलाई पनि सयपत्री फूलखेती गर्ने इच्छा थियो । गाउँपालिकामा यसबारेमा जानकारी लियौँ, पालिकाका कृषि प्राविधिकबाट सल्लाह पाएपछि पहिलो पटक यसतर्फ लागेका हौँ ।”
समूहमा रहेका २३ जना महिलाहरूले छ रोपनी जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन् । यस वर्षको तिहारका लागि फूल उत्पादन भइसकेको अध्यक्ष रानाले बताइन् । उनका अनुसार सयपत्री फूल प्रतिकिलो रु तीन सय र प्रतिमाला रु एक सय ५० मा बिक्री हुने गरेको छ । घरायसीमा काममा व्यस्त रहने महिलाहरूलाई फूलखेतीमा लागेपछि आत्मनिर्भर बन्न थालेका छन् ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाले विगत तीन वर्षदेखि ७५ प्रतिशत अनुदान सहयोगमा सयपत्री फूलखेती प्रोत्साहन गरिरहेको बताए । गत वर्ष वडा नं ६ र यस वर्ष वडा नं ४ का महिलाहरूलाई सहयोग गरिएको उनले बताए । “स्थानीय महिलालाई उद्यमशील बनाउनका लागि पालिकाले सहयोग गरिरहेको छ । उहाँहरुले उत्पादन गरेका फूल गाउँपालिकाले गर्ने कार्यक्रममा प्रयोग गर्ने र तिहारलगायत चाडमा बाहिरको भन्दा स्थानीयस्तरमै उत्पादित फूललाई प्रयोग गर्न सहजीकरण गर्ने हाम्रो नीति छ”, अध्यक्ष श्रेष्ठले भने ।
भक्तपुरमा मखमली फूलले आत्मनिर्भर बन्दै महिला
भक्तपुर । सूर्यविनायक–७ गण्डुका टोलटोल तथा घरघरमा ढकमक्क फुलेका सयपत्री र मखमली फूलले गाउँ नै उज्यालो बनेको छ । व्यावसायिक रूपमा गरिएको सयपत्री र मखमली फूल फुलेर गाउँ ढकमक्क हुँदा गाउँ नै राताम्मे बनेको छ । यसले नजिकिँदो तिहारको झल्को दिइरहेको छ । व्यवसायीक फूल खेतीमा रमाएका यहाँका महिलालाई आँगनदेखि बारी भरी लहरै झुलेका मखमली फूल टिपेर माला गाँस्न यतिखेर भ्याइनभ्याई भएको छ । बिहान ६ बजे बारी पुगेका महिलालाई फूल टिपेर डोको, डालो र बोरामा फूल लिएर घर आउने बित्तिकै खाना खाएर फेरी दिनभरि माला गाँस्न र गाउँमै आएका व्यापारीलाई माला बिक्री गर्न भ्याइनभ्याई हुन्छ । तिहार नजिकिँदै आएपछि व्यवसायीक रूपमा फूल खेती गरेको यहाँका किसानलाई भने यतिखेर मखमली फूल टिपेर माला उन्न र सयपत्री फूल टिपेर मुठा पार्न भ्याइनभ्याई भएको छ । स्थानीय पुष्प व्यवसायी एवं राष्ट्रिय कृषक समूह महासङ्घकी केन्द्रीय उपाध्यक्ष अनिता बस्नेत यतिखेर किसानलाई फूल टिप्न भ्याइनभ्याई भएको बताउँछिन् । गुण्डुमा मात्रै करिब ७०० रोपनी जग्गामा मखमली र ३०० रोपनी जग्गामा सयपत्री लगाएका छन् । पछिल्लो समय मखमली फूलको मालाले उचित मूल्य नपाउँदा किसान मारमा परेको उनी बताउँछिन् । किसानले भन्दा बिचौलियाले बढी मूल्य लिने गरेको बताउँदै बस्नेतले भनिन्, “मखमली फूलको माला किन्न व्यापारी घरघर आउन थालेका छन् । किसानबाट एउटा माला रु २१ देखि रु २३ सम्ममा खरिद गर्छन् तर बजारमा रु ६० भन्दा बढीमा बिक्री गर्छन् । मालाको मूल्य निर्धारण नहुँदा किसान मारमा परेका छन् ।” राज्यले मखमली फूलको मालामा एकरूपता ल्याउन लम्बाई र गुणस्तर हेरेर मूल्य निर्धारण गर्नु पर्ने बताउँदै बस्नेतले फूलखेतीबाट यहाँका महिलाले मनग्य आम्दानी गरेको बताइन्। फूलखेतीबाट महिला आफ्नो घर खर्च गर्नदेखि बचत गर्न सक्ने अवस्थामा पुगेको उनी बताउँछिन् । गुण्डुकी उर्मिला नगरकोटीले आफ्ना बुबाले ४० वर्षअघिदेखि गर्दै आउनु भएको फूल खेतीलाई निरन्तरता दिँदै आएको बताइन् । बिहान आफ्ना दुईभाइ मदनकृष्ण र कविराज नगरकोटीसँगै बारीमा मखमली फूल टिप्दै गरेकी उर्मिलाले मखमली फूल उत्पादन पनि गाह्रो भएको तर आम्दानी चित्त बुझ्दो रहेको बताइन् । मखमली फूलमा व्यापक किरा लाग्ने र फूल टिप्ने बित्तिकै भिटामिन हाल्नु पर्ने गरेको बताउँदै उनले एक रोपनी जग्गामा केही वर्ष अगाडिसम्म चार हजार माला बुन्ने गरेकामा अहिले उत्पादन घटेर तीन हजार माला मात्र बनाउने फूल उत्पादन हुने गरेको बताइन् । एक रोपनी जग्गामा करिब रु ७० हजार आम्दानी हुने गरेको नगरकोटीले बताइन् । उनले हरेक वर्ष मालाको मूल्य घट्दै गएको बताइन् । यद्यपि धानभन्दा १०औँ गुण बढी आम्दानी हुने भएपछि यहाँका किसान यसतर्फ आकर्षित भएका छन् । नगरकोटीले भनिन्, “फूलखेतीबाट भएको आम्दानीबाट खर्च टरेको छ, चाडबाड खर्च पनि यहीबाट चलको छ । बचत भएको भएको छ । महिलाले मात्रै होइन घरका पुरुषले पनि फूलखेतीमा सहयोग गर्छन् । आम्दानीको श्रोत बनेको छ ।” गुण्डुकी ७० वर्षीया सानुमैया नगरकोटीले मखमली फूलको माला उन्दै माला गाँस्न भ्याइनभ्याई भएको बताइन् । घरका सबै परिवार माला गाँस्नमा व्यस्त रहँदै गर्दा उनले भनिन्, “माला गाँस्न र थन्क्याउन व्यस्त छौँ, हामी मखमली फूलखेतीबाट खुसी छौँ ।” परिवारले मात्रै माला गाँस्न नभ्याए पछि एउटा माला गाँसेको चार रुपैयाँ ज्याला तिरेर माला गाँस्न लगाउने गरेको नगरकोटीले बताइन् । व्यापारी माला किन्न घरघरमै आउने गरेकाले माला बिक्री गर्न बजार जानुपर्ने अवस्था नरहेको उनले बताइन् । सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं–७ गुण्डुका वडाध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकाले गुण्डुका ५५० परिवारलाई ७५ हजार फूलका बिरुवा अनुदानमा दिएको बताए । किसानलाई तालिम र प्राविधिक सहयोग नगरपालिकाले उपलब्ध गराउँदै आएको छ । फूलखेतीबाट पर्याप्त आम्दानी हुने गरेको र यहाँ उत्पादन भएको फूल नेपालमा मात्रै नभई विदेशमा समेत बिक्री गर्न निर्यात हुने गरेको उनले बताए ।
दाङमा सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै महिला
दाङ । पछिल्लो समय दाङका महिला सामूहिक खेतीमा लागेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला कृषक समूहले सामूहिक खेती गरेर मनग्य आम्दानी गरेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष छिन् । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताइन् । उनले भनिन्, “सोही वडामा २५ कट्ठा जमिन भाडामा लिएर आलु र प्याज खेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ, दुई वटा टनेल बनाएर तरकारी खेती गरेका छौँ ।” कृषि ज्ञान केन्द्रले लक्षित वर्गका लागि बजेट सहयोग गरेको छ । सोही कार्यालयले २० जनालाई रु २० हजारका दरले बीउपुँजी सहयोग गरेको उनले बताइन् । समूहमा आबद्ध भएपछि सरकारी कार्यालय र अन्य कार्यालयमा केके कार्यक्रम आउँछन्, त्यसका बारेमा जानकारी हुने गरेको र अनुदानका लागि फारम भरेको उनले बताइन् । समूहका अध्यक्ष देउकुमारी चौधरीले आफ्नो र भाडामा लिएको जमिनमा सामूहिक खेती गरेको बताइन् । घरको जमिनमा गरेको खेती घरमै राख्ने तर सामूहिक गरेको खेतीको आम्दानी समूहमा राख्ने गरेको बताइन्। गत वर्ष सामूहिक खेती गरेको धान बिक्री गरेर रु ६० हजार, आलु बिक्रीबाट रु २० हजार, ब्रोकाउली बिक्रीबाट रु १२ हजार १५०, तरकारीका बेर्ना बिक्रीबाट आठ हजार ३००, काउली बिक्रीबाट चार हजार ५००, प्याजको बेर्ना बिक्रीबाट तीन हजार, गहुँ बिक्रीबाट रु १२ हजार आम्दानी भएको उनले जानकारी दिइन् । समूहमा काम गर्न थालेपछि रु एक लाख १९ हजार ९५० आम्दानी भइसकेको छ उनले भनिन् । पन्ध्र क्विन्टल प्याज थियो, त्यो बिक्री भइरहेको छ । सामूहिक खेती गर्न धेरै सजिलो भएको छ, समयमा खेताला नपाइने र जनशक्ति कम भएका बेला सामूहिक खेतीले सहज भएको उनको भनाइ छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बङ्गुरपालनका लागि खोर बनाउन रु १० लाख बजेट सहयोग गरेको उनले बताइन् । अध्यक्ष चौधरीले समूहका सबै सदस्यले वित्तीय साक्षरता सिकेर बचत गर्न, लगानी गर्न, ऋण व्यवस्थापन गर्न, आम्दानी र खर्चमा योजना बनाउने गरेको बताइन् । उनले भनिन्, “सामूहिक काम गर्दा छिटो र छरितो हुने गरेको छ, खेताला लगाउन नपर्ने सजिलै काम सकिने भएको छ ।” पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी कृष्ण न्यौपानेले लक्षित वर्गका लागि आएको बजेट महिला समूहलाई दिएको बताउनुभयो । महिलाहरूको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले सहयोग गरेको बताए ।
म्याग्दी ताेरीपानीकाे टिपुर जर्मनीमा
म्याग्दी । म्याग्दीको ग्रामीण पाखोबारीमा फलेको टिमुर अब युरोपेली भान्सासम्म पुगेको छ । सुरुमा कोसेलीका रूपमा विदेश पठाइने टिमुर अहिले व्यावसायिक रूपमा जर्मनी निर्यात हुन थालेको छ । मुखमा राख्दा रमरम गर्ने स्वाद र सुगन्धका कारण लोकप्रिय टिमुर तरकारी, दाल, अचार तथा जडीबुटीका रूपमा प्रयोग हुन्छ । म्याग्दीमा उत्पादन हुने टिमुरको गुणस्तर राम्रो भएकाले युरोपका देशबाट समेत माग बढेको स्थानीय किसानले बताएका छन् । बेनी नगरपालिका–९, तोरीपानीमा उत्पादन भएको टिमुर तीन वर्षदेखि जर्मनी पुग्ने गरेको छ । “सुरुमा कोसेलीका रूपमा पठाउने गरेका थियौँ । पछि त्यहाँका नागरिकले स्वाद मन पराएपछि व्यावसायिक रूपमा नै निर्यात गर्न थाल्यौं,” टिमुर उत्पादक इवगिरी सन्न्यासीले भने । उनका अनुसार आफ्नो उत्पादन विदेश पुग्दा गर्वको अनुभूति हुन्छ । “दुई वर्षअघि एक मुरी, गत वर्ष दुई मुरी टिमुर जर्मनी पठाएको थिएँ । यो वर्ष पनि माग आएको छ,” उनले भने । टिमुर ‘इको हिमाल’ नामक संस्थाको सहयोगमा जर्मनी निर्यात हुने गरेको छ । प्रति केजी करिब तीन हजार पाँच सय रुपैयाँ दरले बिक्री हुने टिमुरले तोरीपानीका किसानको आम्दानी बढाएको सन्न्यासीको भनाइ छ । विभिन्न व्यापारी र समूहमार्फत काठमाडौँ पुग्ने टिमुर अन्य देशमा पनि निर्यात हुने गरेको छ । पाखोबारीमा प्राकृतिक रूपमा उम्रने टिमुरबाट राम्रो आम्दानी हुन थालेपछि किसानले बिरुवा उत्पादन गरी संगठित रूपमा खेती गर्न थालेका छन् । यस वर्ष अघिल्ला वर्षभन्दा उत्पादन राम्रो भएको स्थानीय सोविता परियारले बताए । “फल पाकेर राताम्मे भएका छन् । विदेश निर्यात बढेसँगै मूल्य पनि बढेको छ,” उनले भने । भुमेसिद्ध टिमुर सञ्जाल घतानका अध्यक्ष सागर बानियाँका अनुसार जर्मनीसँगै बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत म्याग्दीको टिमुर पठाइन्छ । खोल्सा, भिरालो र खाद्यान्न बाली नहुने जमिनमा हुने टिमुर खेती किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको उनले बताए । गत वर्ष करिब ४० देखि ५० मुरी टिमुर उत्पादन भएकोमा यस वर्ष एक सय मुरी उत्पादन हुने अनुमान गरिएको छ । सञ्जाल अन्तर्गतका १९ समूहमा करिब एक सय घरधुरी कृषक टिमुर खेतीमा संलग्न छन् । डिभिजन वन कार्यालय म्याग्दीका अनुसार तोरीपानी, नेप्टेचौर, स्यानीखेत, काउलेगाउँडा, भगवती, नारच्याङ, वेग, पिप्ले, ताकम, दरबाङ, मुना, आखरबोट, बरन्जा र मुदी टिमुर खेतीका पकेट क्षेत्र हुन् । असोज–कात्तिक महिना टिमुर टिप्ने उपयुक्त समय मानिन्छ । इको हिमालको सहयोगमा टिमुर खेती र बजारीकरणका लागि कार्यक्रम सञ्चालन हुँदै आएको छ । वन कार्यालयका अधिकृत चन्द्रमणि सापकोटाका अनुसार जर्मनीमा गरिएको प्रयोगशाला परीक्षणले म्याग्दीको टिमुरलाई गुणस्तरयुक्त प्रमाणित गरेको छ । “किसानले बोटमा पाकेपछि मात्र टिप्ने भएकाले स्वाद र गुणस्तर अन्य ठाउँको भन्दा राम्रो छ,” उनले भने । एक वर्षमै फल दिने टिमुर राम्रो उत्पादनका लागि करिब १० वर्ष लाग्ने बताइन्छ । म्याग्दीमा समुद्री सतहदेखि १,५०० देखि २,२०० मिटर उचाइसम्म टिमुर खेती गर्न सकिन्छ । गत वर्ष वन कार्यालयले किसानलाई २० हजार बिरुवा वितरण गरेको थियो । “टिमुर खेतीको विस्तार भइरहेकाले आगामी १०–१२ वर्षमा म्याग्दीबाट ट्रकमै राखेर विदेश पठाउन सकिने मात्रामा उत्पादन हुनेछ,” सापकोटाले भने । जिल्लाबाट युरोपसम्म टिमुर निर्यात हुन थालेपछि किसान उत्साहित छन् । हरेक वर्ष खेती विस्तारको दर बढ्दै गएको वन अधिकृत सापकोटाको भनाइ छ ।
तनहुँमा मादले काँक्रो खेतीतर्फ कृषक आकर्षित
तनहुँ । यहाँको आँबुखैरेनीका कृषक मादले काँक्रो खेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय मादले काँक्रोले बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । यस पटक मात्रै यहाँका छ वटा कृषक समूहमा आबद्ध कृषकले काँक्रो बिक्री गरी रु छ लाख ३५ हजार आम्दानी गरेका छन् । आँबुखैरेनी गाउँपालिका–५ लाब्दी भोटेश्वाराका वीरबहादुर गुरुङले काँक्रो उत्पादन र बजारीकरणमा गाउँपालिकाले सहयोग गरेपछि आम्दानी बढेको बताए । उनले यस वर्ष आफूले पनि काँक्रो बिक्री गरी रु ४० हजार ५०० आम्दानी गरेको बताए । गुरुङले ५० बोट काँक्रोका बिरुवा लगाएका छन् । “बजार नपाउँदा विगतमा काँक्रो कुहिएर जाने गरेको थियो । हाल बजार राम्रै छ”,उनले भने, “गाउँपालिकाले हाम्रो उत्पादन हाटबजारसम्म निःशुल्क ढुवानी गरिदिएको छ, त्यसकारण सहज रूपमा काँक्रो बिक्री भइरहेको छ । यसले हामीलाई निकै सहज भयो ।” सोही ठाउँका जितबहादुर गुरुङले रु ३० हजार ५००, तुलबहादुर गुरुङले रु १२ हजार ५००, सङ्गीता गुरुङले रु ४५ हजार ५००, लालश्री गुरुङले रु ४५ हजार ५००, तेजबहादुर गुरुङले रु २० हजार ५००, डिलुमाया गुरुङले रु १२ हजार ५००, रत्नमाया गुरुङले रु १४ हजार ५००, सीता गुरुङले रु नौ हजार ५००, रजमाया गुरुङले रु दश हजार ५००, फूलमाया गुरुङले रु ३५ हजार ५००, धनमाया गुरुङले रु १५ हजार ५००, खड्क गुरुङले रु ५० हजारको मादले काँक्रो बिक्री गरेका छन् । छिम्केश्वरी कृषक समूहमा आबद्ध यी लगायत कृषकले मात्रै रु चार लाख तीन हजार बराबरको मादले काँक्रो बिक्री गरेको कृषक जितबहादुर गुरुङले जानकारी दिए । आँबुखैरेनीमा प्रत्येक सोमबार र शुक्रबार लाग्ने हाटबजारमा आफूहरूले उत्पादन गरेको मादले काँक्रोले राम्रो बजार पाएको उनले सुनाए । “गाउँपालिकाले जति उत्पादन भए पनि बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि हामी ढुक्क छौँ । यसले कृषकलाई आकर्षित गरेको हो”, गुरुङले भने । गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले यहाँका कृषकले करिब पाँच हजार ५०० केजी मादले काँक्रो उत्पादन गरी बिक्री गरेको जानकारी दिए। उनका अनुसार छिम्केश्वरी कृषक समूहका कृषकले रु चार लाख तीन हजार, घलडाँडा कृषक समूहका कृषकले रु एक लाख नौ हजार, केउरिनी कृषक समूहका कृषकले रु ७६ हजार, माई छिम्केश्वरी कृषक समूहका कृषकले रु १८ हजार, खोलागाउँ कृषक समूहका कृषकले रु तीन हजार, एकता कृषक समूहका कृषकले रु २६ हजार बराबरको काँक्रो बिक्री गरेका छन् । यसबाट ४४ जना कृषक लाभान्वित भएका छन् । केसीका अनुसार आँबुखैरेनी गाउँपालिका–५ र ६ मा धेरैले काँक्रोखेती गरिरहेका छन् । विगतमा विभिन्न जटिलतासँगै रोग कीराको प्रकोप, प्राविधिक ज्ञान र बजार समस्याका कारण सोचेअनुरूप उत्पादन हुन सकिरहेको थिएन । गाउँपालिकाले मादले काँक्रोलाई रैथाने बालीका रूपमा राखेर प्रवर्द्धनमा सहयोग गरेपछि केही समस्या समाधान भएको केसीको भनाइ छ । उनले भने, “यस वर्ष दुई वडाका ४४ जना कृषकले पाँच दशमलव पाँच मेट्रिक टन काँक्रो उत्पादन गरेर बिक्री गर्न सफल हुनुभयो । विगतमा उत्पादन भए पनि बजारीकरण मुख्य समस्याका रूपमा थियो । हाटबजारबाट यसको बजारीकरण हुँदा कृषक उत्साहित हुनाका साथै उत्पादन बढाउन प्रोत्साहित हुनुभएको छ ।” आँबुखैरेनी गाउँपालिका–२ मा प्रत्येक सोमबार र आँबुखैरेनी गाउँपालिका–३ मा प्रत्येक शुक्रबार हाटबजार लाग्ने गरेको छ । गाउँपालिकाभित्रका सबै कृषकले आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बिक्री गर्ने गर्छन् । रासस
व्यावसायिक मौरीपालनमा भाेजपुरका किसान आकर्षित
भोजपुर। यहाँका किसान पछिल्लो समय व्यावसायिक मौरीपालनतर्फ आकर्षित भइरहेका छन् । एक पटक लगानी गरेर सामान्य हेरचाह मात्र गरे पुग्ने, लागत कम लाग्ने र बजारमा सजिलै माग हुने भएकाले मौरीपालन किसानको रोजाइको पेसा बन्दै गएको हो । परम्परागत खेतीसँगै नयाँ सम्भावना खोजिरहेका किसानले अहिले मौरीपालनलाई आयआर्जनको प्रमुख साधन बनाउन थालेका छन् । टेम्केमैयुङ, पौवादुङमा, रामप्रप्रसादराई गाउँपालिकासँगै प्रायः यहाँ सबै स्थानीयतहका किसानहरुले मौरीपालन गर्दै आएका छन् । रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा मौरीपालनको विशेष सम्भावना देखिन्छ । यहाँका अधिकांश किसान अहिले व्यावसायिक मौरीपालनमा संलग्न छन् । नजिकै प्रशस्त वनजङ्गल, फूल फुल्ने वातावरण र मौरीको लागि उपयुक्त मौसम भएकाले बाक्चाखा, भामला, छापगाउँलगायत स्थानीय व्यवसायिक मौरीपालनमा लागेका छन् । स्थानीय सरकारको पहलले मौरीपालन अझै सहज बनेको छ । रामप्रसादराई गाउँपालिका–६ का अध्यक्ष एकराज आचार्यका अनुसार किसानलाई आधुनिक मौरीपालनमा प्रोत्साहित गर्न दुई चरणमा तालिम दिइएको छ । तालिममा सहभागीले आधुनिक मौरीघार बनाउने, मौरीको हेरचाह गर्ने, रोग व्यवस्थापन र मह सङ्कलन गर्ने प्रविधि सिकेका छन् । “विगतमा किसानले आ–आफ्नै तरिकाले मुढेघारमा मौरी पाल्दै आएका थिए”, वडाध्यक्ष आचार्यले भने, “अहिले हामीले उनीहरूलाई प्रविधिमैत्री मौरीपालनमा लैजाँदै छौँ । यसले किसानको आम्दानी बढाउन मद्दत गर्नेछ ।” स्थानीय किसान शरणकुमार वोहोरा व्यावसायिक मौरीपालनमा जुटेका उदाहरणीय पात्र हुन् । उनले तालिम लिएपछि आधुनिक घार निर्माण सुरु गर्नु भएको छ । अहिले उहाँसँग ३५ वटा मौरीघार छन् । “पहिले मुढेघारमै मौरी पाल्थेँ, उत्पादन पनि कम हुन्थ्यो, अहिले आधुनिक घारमा मौरी राख्दा उत्पादन बढी छ । मौरीले मेरो आयआर्जनमा परिवर्तन ल्याएको छ”, उनले भने । गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार मौरीपालनलाई प्रोत्साहित गर्न नीति तथा कार्यक्रममा प्राथमिकतासहित समावेश गरिएको छ । “मौरीपालनसहित कृषि व्यवसायलाई आत्मनिर्भर र व्यावसायिक बनाउन योजनाबद्ध रूपमा काम भइरहेको छ”। अध्यक्ष राईले भने, “किसानलाई आवश्यक प्राविधिक ज्ञान र उपकरण उपलब्ध गराइएका छौँ । यसले गाउँमा रोजगारी सिर्जना गर्नुका साथै गाउँको अर्थतन्त्रलाई सबल बनाउनेछ ।” वैदेशिक रोजगारीमा जाने विकल्पभन्दा गाउँमै बस्ने वातावरण मौरीपालनले बनाएको किसानहरू बताउँछन् । बजार विस्तार, गुणस्तरीय प्याकेजिङ र ब्राण्डिङ गर्न सके भोजपुरमा उत्पादित मह देशभरि मात्र नभई विदेशमा पनि पुर्याउन सकिने सम्भावना रहेको मौरीपालक किसानको भनाइ छ ।
सुनसरीमा वर्षा र हुण्डरीले केराखेतीमा क्षति
सुनसरी । गत शनिबार र आइतबार वर्षासँगै आएको हावाहुण्डरीका कारण यहाँका विभिन्न स्थानका केराखेतीमा ठुलो क्षति पुगेको छ । सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगरलगायत क्षेत्रका केराखेतीमा ठुलो क्षति पुगेको हो । आठवर्षदेखि केराखेती गर्दै आउनुभएका भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साहमियाँले सात बिघा जग्गा भाडामा लिइ रु छ लाख बैंकबाट ऋण लिएर मियाँ केराखेती गरेका थिए । उनको तीन बिघा एक कट्ठा केराखेतीमा क्षति पुगेको छ । करिब रु १३ लाखभन्दा बढीको क्षति पुगेको उनले जानकारी दिए । वर्षेनी बाढीले केराखेतीमा रु १० लाखदेखि रु २५ लाखसम्म क्षति हुने गरेको मियाँको भनाइ छ । त्यसैगरी, स्थानीय वीरेन्द्र ठाकुरले सात कट्ठामा रु एक लाख लगानी गरेर लगाएको केराखेतीमा पनि ठुलो क्षति पुगेको स्थानीय किसानहरूले बताएका छन् । जिल्लामा व्यावसायिक केरासहित अन्य बाली लगाउँदै आएका किसानले प्राकृतिक विपद्मा ठुलो क्षतिको सामना गर्दै आएका छन् । जिल्लामा ५३० हेक्टर क्षेत्रफलमा यस वर्ष केराखेती भएको कृषि ज्ञानकेन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए। बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रमुख सिंहले बताए ।
दशैँ पर्वसँगै सकिएसँगै मुस्ताङका किसान फापर थन्क्याउन व्यस्त
मुस्ताङ । मुस्ताङका किसान दशैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् । तल्लो क्षेत्र घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाअन्तर्गत किसान खाद्य बाली ‘फापर’ स्याहार्न व्यस्त भएका हुन् । रैथाने बाली फापर यहाँको लोकप्रिय खाद्य बालीको रुपमा लिइन्छ । घरायसी प्रयोजन, धार्मिक अनुष्ठान, व्यवसायिक प्रयोजन तथा विदेशमा बस्ने आफ्ना आफन्तजनलाई कोसेलीको रुपमा पठाउने उद्देश्यले यहाँका किसानले फापर खेती गर्दै आइरहेका छन् । खेतबारीमा फापर छरेको औसत एक सय दिनमा फापर खेती भित्र्याउन योग्य हुने घरपझोङ–५ ठिनीका किसान प्रमिला गुरुङ थकालीले बताइन्। फापर काटेर डाठसँगै लगातार तीन दिनसम्म खेतबारीमा सुकाएपछि लौरीको सहायताले फापर चुटेर केस्रा निकाल्ने प्रचलन रहेको उनले जानकारी दिइन् । फापरको डाँठ परालका रूपमा पशुचौपायालाई खुवाउन र घाँस नपाइने बेला पशुलाई खुवाउन सुकुटी पारेर राखिने गरिएको किसान थकालीको भनाइ छ । जिल्लामा मिठे फापर र तिते फापरखेती हुने गरे पनि मुख्य रुपमा मिठे फापरबाली बढी मात्रामा लगाउने गरिएको जनाइएको छ । पछिल्लो समय कतिपय किसानले नयाँ प्रविधिको प्रयोग गरेर फापरको केस्रा सङ्कलन गर्न थालेका उनको भनाइ छ । जिल्लाको तल्लो क्षेत्रदेखि माथिल्लो क्षेत्रमा स्थानीयले परम्परागत रुपमा रैथाने फापर खेती अपनाउँदै आइरहेका छन् । यहाँ उत्पादन हुने उवा, जौ, मकै, आलु, बोडी, सिमीलगायत फापरखेती यहाँको मुख्य ‘ब्राण्ड’ बनेको छ । समुन्द्री सतहको एक हजार नौ सय ८४ मिटरदेखि तीन हजार नौ सय सय मिटरको अग्लो उचाइको खेतीयोग्य जमिनमा फापरखेती गरिन्छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा फापर खेती गरिने भएपनि मुस्ताङको चिसो हावापानीमा उत्पादन हुने रैथाने बाली फापरको परिकार स्वादिलो र पोसिलो हुन्छ । फापर बालीअन्तर्गत मिठे फापरको खेती तलो जिल्लामा असार र साउन महिनाको पहिलो हप्ता खेतबारी छरेर असोजको पहिलो र दोस्रो हप्तामा घरमा भित्र्याईन्छ । तीते फापर साउन र भदौ महिनामा छरेर कात्तिकको पहिलो हप्तादेखि घरमा भित्र्याउने गरिन्छ । सामान्यतया रैथाने बाली उवा र जौ पाक्न नौ महिना लाग्ने भए पनि फापर बाली तीन महिनामा पाक्ने किसानले प्रमिलाले जनाइन् । उपल्लो मुस्ताङमा मिठे फापर वैशाखको पहिलो र दोस्रो हप्तामा छरेर कात्तिकको पहिलो हप्तादेखि फापर भित्र्याईन्छ । यहाँ तिते फापर वैशाखको पहिलो र दोस्रो हप्तामा खेतबारीमा छरेर कात्तिक महिनाको अन्त्यतिर बाली भित्र्याइने प्रचलन रहेको छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण फापर बालीमा समेत विभिन्न प्रकोपहरु देखा पर्न थालेको घरपझोङ—५ ठिनीका किसान पाल्साङ गुरुङले बताए । यसवर्ष यहाँको फापर बालीमा खुम्ले कीराको प्रकोप देखापरेको उनको भनाई छ । गतवर्ष यहाँको फापर बालीमा तुषारोले असर पुर्याएको उनले बनाए । यहाँको रैथाने बाली स्याउ बगैँचाभित्र अन्तरबालीको रुपमा लगाएर दोहोरो आम्दानी लिने गरिएको किसान गुरुङले उल्लेख गरे । फापर बालीमा ढिडो, रोटीलगायत विभिन्न परिकार निर्माण गर्न सकिने भएकाले यहाँको फापर खेती सहर बजारको उपभोक्ताले अत्यधिक रुचाउने गरेको किसान उनको भनाइ छ । जलवायु सङ्कटका कारण परम्परागत रैथाने बाली अन्य बालीभन्दा कम झन्झटिलो भएकाले यसको व्यवस्थापनमा निकै सहज भएको उनले जानकारी दिए । सहर बजारका भान्साघरमा यहाँको फापरको ढिडो मुख्य भेराइटी भएकाले यसको माग बढी हुने गरेको उनले बताए । फापर बोटको औसत एक सय सेमीदेखि एक सय १० सेमीसम्म लम्बाइ हुने गर्छ । फापर बालीअन्तर्गत मिठे फापरको झुप्पामा हलुका गुलाबी रङ्गको फूलहरू फुल्दछ भने फापरको केस्रा हलुका र कालो रङ्गको हुन्छ । तिते फापरको सेतो रङ्गको फूलहरू फल्दछ । फापरको केस्रालाई स्थानीय पानी घट्ट र मिलमा पिसेर पिठो तयार गरिन्छ । यहाँ एकमाथि फापरको मिठोको मूल्य एक हजार २०० सय रुपैयामा किनबेच भएको किसानहरु बताउँछन । विषेशगरी फापरको मीठो बढी मात्रामा ढिँडो र रोटी खानका लागि उपयोग गर्ने गरिन्छ । यहाँका किसानले फापरखेतीलाई व्यावसायिक रुपमा अपनाएको पाइँदैन । हिमाली क्षेत्रको महत्वपूर्ण पहिचान बोकेको कृषि उपज रैथाने फापर बालीलाई यहाँका किसानले व्यक्तिगत घरायसी प्रयोजनको रुपमा मात्रै अपनाएको पाइन्छ । घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले रैथाने खाद्य बाली प्रवर्द्धनका लागि स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिए । उनले फापर बाली मुस्ताङकै पहिचान भएकाले यसको संरक्षणमा स्थानीय सरकारको दायित्व रहने भएकाले सम्बन्धित किसानलाई बर्सेनि रैथाने बाली विविधीकरण तालिम, अनुदान र प्रोत्साहन लगायतका कार्यक्रम आयोजना गर्ने गरेको बताए । पोषणविद्का अनुसार फापरको परिकारबाट २४ भन्दा बढी प्रकारका पौष्टिक तत्व प्राप्त हुन्छ । फापरको परिकारबाट रगतको कोल्ड स्टोर घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने भनाइ छ । यसले मानिसको मोटोपना घटाउने र उक्त रक्तचापका बिरामीलाई फापर मिठोको परिकार सेवन उपयोगी हुन्छ । विशेष गरी फापरमा मिनरल वाटर र भिटामिनको स्रोत प्रशस्त हुन्छ । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, चिल्लो पदार्थ र पानीको मात्रा प्राप्त हुने जनाइएको छ ।
वर्षाले भोजपुरमा धानबालीमा क्षति
भोजपुर । जिल्लामा लगातार भइरहेको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ । बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् । जिल्लाको अधिकांश भेगमा असोजसम्म धान बाली परिपक्व अवस्थामा पुगेको भए पनि यसपटक वर्षा र हावाहुरीका कारण धानबाली क्षति पुगेको किसानको भनाइ छ । जिल्लाको बोखिम, पोखरे, दावालगायत धेरै ठाउँमा धानबालीमा क्षति पुगेको छ । जिल्लाका सबै स्थानीय तहमा धानको खेती हुने गरेको छ । वर्षासँगै आएको हावाले धानबालीमा क्षति पुर्याएको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान रूपनारायण फुयाँलले बताए । बोखिम क्षेत्रका धेरै किसानको धानबालीमा बर्सातले क्षति पुर्याएको उनको भनाइ छ । ‘भारी बर्सातका कारण धानबालीमा क्षति पुगेको छ’, उनले भने, ‘पसाउँदै गरेको धान खेतमा ढलेर सखाप भएको अवस्था छ, अझै यस्तै अवस्था रहेमा धानबालीमा ठूलो क्षति हुने अवस्था छ ।’
श्रमिक अभावले चिया टिप्न मेसिनको सहारा
इलाम । श्रमिकको अभावका कारण चिया टिप्न समस्या भएपछि इलामका किसानले प्रविधिको सहारा लिन थालेका छन् । हाल गाउँमा श्रमिक पाउन कठिन भएको र भेटिएका श्रमिकलाई उच्च ज्याला तिर्नुपर्ने अवस्था आएपछि किसानले चिया टिप्ने मेसिन प्रयोगमा ल्याएका हुन् । किसानका अनुभवअनुसार दैनिक ११ जना श्रमिकले टिप्ने बराबरको चिया एउटा मेसिनले एकै दिनमा टिप्न सक्छ । सूर्योदय नगरपालिकाका चिया किसान दिनेश श्रेष्ठ भन्छन्, “मेसिन प्रयोग गर्दा दुई जनाले मात्र चलाए पुग्छ र काम पनि धेरै हुन्छ । श्रमिक नहुँदा चिया बोटमा पात हुर्केर नोक्सान हुन थालेपछि मेसिन प्रयोग गर्न थालेका हौँ ।” युवाहरू पनि मेसिन चलाएर चिया टिप्ने काममा आकर्षित भएका छन् । गाउँघरमा प्रतिकिलो १५ रुपैयाँको दरमा चिया टिप्ने गरिएको छ । माईजोगमाई गाउँपालिका–लप्सीबोटेका युवा निर्मल काफ्ले भन्छन्, “हाम्रो मेसिनले दैनिक २५० देखि ३०० किलो चिया सजिलै टिप्छ ।” विदेश जाने तयारी गरिरहेका काफ्लेले गाउँमै रोजगारीको सम्भावना देखिएको उल्लेख गर्दै थपे, “सबै युवा विदेश गएका छन् । गाउँमा बालबालिका र बुढापाका मात्र छन् । बारी बाँझो छ, उत्पादन भएको कृषि उपज टिप्ने र बजार पठाउने जनशक्ति छैन । विदेशमा पनि काम नगरी पैसा आउँदैन ।” सोही गाउँकी तारा काफ्ले पनि श्रमिक नपाएपछि मेसिन चलाएर चिया टिप्दै आएकी छन् । पहिले पेट्रोलबाट चल्ने मेसिन प्रयोग भए पनि अहिले ब्याट्रीमा चल्ने हल्का मेसिन लोकप्रिय बन्दै गएको किसानहरूको अनुभव छ । स्थानीय सरकारले पनि किसानलाई चिया टिप्ने मेसिन उपलब्ध गराउन थालेको छ । सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाले लागत साझेदारीमा किसानलाई मेसिन वितरण गरेका छन् । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईका अनुसार चिया टिप्न श्रमिकको अभाव कम गर्न र खेतीमा प्रविधि प्रयोग बढाउन यो नीति अवलम्बन गरिएको हो । यद्यपि तेस्रो मुलुक पठाउने उच्च गुणस्तरको चियाका लागि भने अहिले पनि हातैले टिपेको पातलाई उत्कृष्ट मानिन्छ । केही उद्योगले अझै पनि हातले टिपेर मात्र गुणस्तरीय चिया उत्पादन गर्दै आएका छन् । तर जनशक्ति अभावका कारण हाल हातले टिप्न नपाएर चिया बगानमा पात नटिपिएको अवस्था देखिएको उद्योगीहरू बताउँछन् । उच्च गुणस्तरीय हरियो पातलाई निर्यातमुखी चिया उद्योगले अझै राम्रो मूल्य दिने गरेका छन् ।
दसैँकाे लागि लेकका च्याङ्ग्रा सहर ल्याइँदै
गण्डकी । कास्कीको लुम्ले हुँदै बथान–बथानका च्याङ्ग्रा मङ्गलबार पर्यटकीय सहर पोखरा झर्दै थिए । पोखरा–बागलुङ राजमार्गमा सवारीसाधन नै रोकिने गरी च्याङ्ग्राको लामो ताँती देखिन्थ्यो । व्यापारीहरू साइसाइ सुइसुइ गर्दै च्याङ्ग्रालाई हिँडाइरहेका थिए । च्याङ्ग्राको बथानले दसैँको छनक दिएको थियो । चाडबाडका लागि हिमालपारिको जिल्ला मुस्ताङदेखि च्याङ्ग्रा पोखरा झारिएको हो । यहाँ नवरात्र सुरु हुनु पूर्व नै च्याङ्ग्रा भित्रन सुरु गरेका थिए । पोखरामा बर्सेनि दसैँमा हजारौँ च्याङ्ग्राको खरिदबिक्री हुने गर्छ । व्यापारीले मुस्ताङदेखि ल्याएका च्याङ्ग्रालाई पोखराको सिमपानी क्षेत्रमा केन्द्रित गरी बिक्री सुरु गर्छन् । विशेष गरी दसैँको घटस्थापनादेखि च्याङ्ग्राको किनमेल बढी हुने गरेको छ । दसैँका बेला पोखरा, बागलुङलगायत यहाँका सहरी क्षेत्रमा मुस्ताङ, डोल्पालगायत हिमाली भेगबाट च्याङ्ग्रा, भेडा र चेलु ल्याउने गरिन्छ । दसैँलाई च्याङ्ग्रा लिन अधिकांश व्यापारीहरू हिमालपारिको जिल्ला मुस्ताङ पुग्छन् । हप्तौँ समय र उस्तै खर्च लगाएर च्याङ्ग्रा ल्याउँछन् । व्यवसायी महेन्द्र केसी र ज्ञानबहादुर कार्की मिलेर यसपालि ५९ वटा च्याङ्ग्रा बागलुङ झारेका छन् । मुस्ताङको जोमसोम पुगेर च्याङ्ग्रा ल्याएको केसीले बताएयो । रोज्जा च्याङ्ग्रालाई मुस्ताङमै रु ३८ हजार पाँच सय तिरेकाले बागलुङ ल्याएर बेच्दा रु ४५ हजार पुगेको उनको भनाइ छ । “रोज्जा च्याङ्ग्रा रु ४५ हजार र चेलु रु ४० हजारमा बिक्री भइरहेको छ”, केसीले भने, “पसलबाट बेच्दा च्याङ्ग्राको प्रतिकिलो रु २२ सय र चेलुको रु १८ सय मूल्य पर्छ ।” केसीले दसैँका बेला बागलुङ नगरपालिका–२ मा रहेको ‘नवदुर्गा मासु पसल’बाटसमेत च्याङ्ग्राको मासु बेच्दै आउनुभएको छ । दसैँमा च्याङ्ग्राको मासुको अत्यधिक माग हुन थालेपछि आफैँले च्याङ्ग्रा ल्याएर बेच्न थालेको उनले बताए । केसीले च्याङ्ग्राको कारोबार गर्न थालेको एक दशक बितिसकेको छ । बागलुङमा पहिलेको तुलनामा च्याङ्ग्रा कम भित्रने गरेको उनको अनुभव छ । “एउटै दसैँमा दुई हजारसम्म च्याङ्ग्रा आउने गर्थे, अहिले च्याङ्ग्राको मूल्य बढेपछि व्यवसायीहरू पनि कारोबार गर्न अनिच्छुक देखिएका छन्”, केसीले भने । कोभिड–१९ महामारीपछि झण्डै दोब्बरले च्याङ्ग्राको मूल्य बढेको व्यवसायी बताउँछन् । च्याङ्ग्रापालन कम हुनु, बढ्दो करजस्ता कारणले पनि मूल्य महँगिँदै गएको उनीहरूको भनाइ छ । स्थानीय तहसहित ठाउँ ठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यापारीको गुनासो छ । मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरेका छन् । त्यहाँबाट म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा ल्याइपुर्याउन हप्ता दिनसम्म लाग्छ । मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौँसम्म पुग्ने गरेको छ । मुस्ताङका युवा व्यवसायी निरज थकालीले मङ्गलबार म्याग्दीको बैसरीबाट दस वटा ट्रकमा काठमाडौँ र दुई वटा ट्रकमा च्याङ्ग्रा पोखरा ल्याउन लागिएको बताए । एउटा ट्रकमा ८० देखि ९० वटासम्म च्याङग्रा अट्ने उनको भनाइ छ । व्यवसायी थकालीले आफूले ल्याएका दुई सय च्याङ्ग्रामध्ये एक सय पोखरा र एक सय काठमाडौँ पठाउन लागेको बताए । “यस वर्ष पोखरामा झण्डै दस हजार र काठमाडौँमा पाँच हजार मुस्ताङी च्याङ्ग्रा पुग्दै छ”, उनले भने, “कतिपय व्यापारी च्याङ्ग्रा लिएर फर्किसके र कोही बाटोमै छन्, यस वर्ष मुस्ताङबाट १५ हजार बढी च्याङ्ग्रा बाहिरिने अनुमान छ ।” मुस्ताङदेखि बागलुङ, पोखरा हुँदै काठमाडौँसम्म ट्रकमा च्याङ्ग्रा लाने गरिए पनि केही व्यापारीले भने हिँडाएर पोखरासम्म ल्याउने गरेका छन् । मासुजन्य अरू परिकार बाह्रैमास पाइने भएपनि च्याङ्ग्राका लागि भने उपभोक्ताले दसैँ नै कुर्नुपर्छ । दसैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ ।
लमजुङमा अलैंची टिप्न सुरु, उत्पादनबाट २० करोड आम्दानीको अनुमान
लमजुङ । लमजुङमा अलैंची टिप्ने कार्य सुरु भएको छ । करिब १,२०० मिटर उचाइसम्म खेती गरिएको अलैंची यस वर्ष सामान्यभन्दा छिट्टै पाकेपछि किसान हार्भेष्टिङमा मा व्यस्त छन् । मर्स्याङ्दी गाउँपालिका–७ ताराचोकका किसान डम्बरसिंह अधिकारीले डम्बरसाई र जिर्मले जातको अलैंची पाकेपछि टिप्न थालेको बताए । “यो वर्ष छिट्टै नै अलैंची पाक्यो, टिप्ने काम पनि छिटो भयो,” उनले भने, “अब सुकाएर ग्रेडिङ गरेर बिक्री गर्ने तयारीमा छौं ।” ताराचोकका किसानहरूले ४० रोपनीभन्दा बढी जमिनमा अलैंची खेती गरेका छन् । स्थानीय इन्द्रप्रसाद तामाङका अनुसार हाल गाउँभर अलैंची टिप्ने चटारो छ। “पहिले खेर गइरहेको पाखोबारी र धान खेत मासेर किसानले अलैंची लगाएका छन्,” उनले भने । खेतीबाट मनग्य आम्दानी भएपछि बसाइँ सरेका गाउँले पनि फर्किएका छन् । मर्स्याङ्दी–७ लुदी गाउँमा बसाइँपछि ६ घरमात्र बाँकी रहँदा अहिले घरसंख्या १९ पुगेको छ । रामप्रसाद तामाङका अनुसार सहर झरेका धेरै परिवार फर्केर अलैंची खेतीमा लागेका छन् । लुदी गाउँमा हाल चार सय रोपनीमा अलैंची लगाइएको छ र किसानहरूले लुदी अलैंची कृषक समूहमार्फत सामूहिक खेती गरिरहेका छन् । मर्स्याङ्दी–६ बाहुनडाँडाका किसान लोकनाथ घिमिरेले पनि अलैंची टिपेर सुकाइसकेको बताए । उनले ६ रोपनीमा लगाइएको रामशाही जातको अलैंचीबाट करिब १५० केजी उत्पादन भएको जानकारी दिए । अलैंची व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष अजय तामाङका अनुसार १,२०० मिटरभन्दा माथिल्लो क्षेत्रको अलैंची दसैँपछि मात्र टिप्न सुरु हुनेछ । जिल्लामा करिब १,२०० रोपनीमा अलैंची खेती गरिएको छ, जसमध्ये ७५० रोपनीमा लगाइएको अलैंचीले यस वर्ष उत्पादन दिने अनुमान छ । विगतमा १,५०० रोपनीमा खेती भए पनि रोगका कारण केही भाग नष्ट भएको थियो । मर्स्याङ्दी गाउँपालिकामा मात्रै करिब ४०० हेक्टरमा अलैंची खेती भइरहेको छ । बेँसीसहर, दोर्दी, दुधपोखरी र क्होलासोँथर गाउँपालिकाका विभिन्न बस्तीमा पनि व्यावसायिक खेती विस्तार गरिएको छ । यस वर्ष जिल्लामा करिब ६० मेट्रिक टन अलैंची उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष किसानहरूले अलैंची बिक्रीबाट १६ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका थिए । यस वर्ष उत्पादन र मूल्य दुवै बढ्ने भएकाले करिब २० करोड रुपैयाँसम्म आम्दानी हुने अपेक्षा लमजुङ अलैंची व्यवसायी महासङ्घका अध्यक्ष सोमबहादुर तामाङले व्यक्त गरे । नेपाल अलैंची व्यवसायी महासङ्घका अनुसार प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा हाल अलैंचीको मूल्य ग्रेडअनुसार प्रतिमन (४० किलो) ८१ हजारदेखि ९२ हजार रुपैयाँसम्म छ । सबैभन्दा उच्च गुणस्तरको ‘बोल्ड’ अलैंचीको मूल्य प्रतिमन ९२ हजार रुपैयाँ, सामान्य ‘चालु’को ८१ हजार र मध्यम गुणस्तर ‘जेजे’को मूल्य ८४ हजार रुपैयाँ रहेको छ ।
बजार झरे लेकाली भेडा च्याङ्ग्रा
म्याग्दी । दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडा च्याङ्ग्रा बजार झर्न थालेका छन् । किसान तथा व्यापारीहरू भेडा च्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारमा आइपुगेका हुन् । हिमाली भेडा च्याङ्ग्रा बजार झरेपछि दसैँ पर्व आगमनको झल्को दिन्छ । मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडा च्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत ठुला सहरमा ढुवानी गर्न थालिएको छ । नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बिहीबारसम्म एक हजार ३०० भेडा च्याङ्ग्रा काठमाडौँ पठाइएको र थप एक हजार ७०० पठाउने क्रममा रहेको जानकारी दिए । “दसैँका लागि काठमाडौँ, पोखरा, चितवन र बुटवलका बजारमा आउने भेडा च्याङ्ग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला र डोल्पा हो”, बीस वर्षदेखि भेडा च्याङ्ग्राको व्यापार गर्दै आएका श्रेष्ठले भने, “तातोपानी र रसुवा नाका बन्द भएकाले ठुला सहरमा यसपालि मुस्ताङी भेडाच्याङ्ग्रामात्र झरेका छन् ।” मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ नामग्यालबाट चार सय ६५ वटा भेडा च्याङ्ग्रा पैदल हिँडाएर ल्याएको श्रेष्ठको टोली बिहीबार म्याग्दीको बैसरी आइपुगेका छ । डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढाले २५ दिनको पैदलयात्रा गरेर एक सय ६० वटा च्याङ्ग्रा बेच्न पोखरा हिँडेको बताए । “समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथि उचाइमा किसानले पालेका च्याङ्ग्रा ल्याएर बेच्न आएको हो”, उनले भने, “भिर, खोल्सा, साँघुरो बाटोमा च्याङ्ग्रालाई हिँडाएर बजार पुर्याएर बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो ।” डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडा च्याङ्ग्रा बेच्न र देशका विभिन्न सहरबाट आएका व्यापारीको जोमसोममा चहलपहल छ । मुस्ताङमा आकारअनुसार प्रतिगोटा रु ३२ देखि ३७ हजारमा च्याङ्ग्रा बिक्री भइरहेको छ । काठमाडौँ पुग्दा गत वर्षको दरमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु एक हजार ३०० का दरले बिक्री गरिने व्यवसायी श्रेष्ठले बताए । मुस्ताङस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले यस वर्ष दसैँमा डोल्पा र जुम्लाका तीन हजार तथा मुस्ताङका किसानले पालेका १२ हजार भेडा च्याङ्ग्रा बिक्री हुने अनुमान गरेको छ । जोमसोममा भेडा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर बजार पठाउने व्यवस्था मिलाएको केन्द्रका प्रमुख पशु चिकित्सक लालमणि अर्यालले बताए । चाडपर्वका अवसरमा जडीबुटीयुक्त बुकीमा चरेका हिमाली च्याङ्ग्राको मासु उपभोग गर्ने चलन छ । पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयोगी मानिन्छ । मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङले च्याङ्ग्रापालनबाट जीविकोपार्जन गरेको बताए । उनले यसपालि ५० वटा च्याङ्ग्रा बिक्री गरेको बताए । मुस्ताङी भेडा च्याङ्ग्राको ठूलो बजार पोखरा हो । म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, लमजुङका बजारमा पनि भेडा च्याङ्ग्राको खपत बढी हुने गरेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो । च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ । हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट बचाउनु च्याङ्ग्रापालक किसानको प्रमुख चुनौती हो । त्यसैगरी पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिएकाले भेडा च्याङ्ग्राको लागि आहारको अभाव हुन थालेको छ । हिउँदमा आवश्यकताभन्दा बढी हिउँ पर्दा भेडा बाख्रा आहारको अभावमा मर्ने समस्या पनि छ ।
मकवानपुरभर फैलिएको खोरेत रोग नियन्त्रणमा
मकवानपुर । हेटौँडा उपमहानगरपालिका सहित मकवानपुरको विभिन्न स्थानीय तहमा किसानले पालेको पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ । पशु सेवा कार्यालय मकवानपुरले प्रभावित स्थानीय तहमा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेपछि खोरेत रोग नियन्त्रणमा आएको हो । “खोरेत रोगबाट धमाधम पशुहरु प्रभावित भई मर्न थालेपछि हामीले खोरेत रोगविरुद्धको खोप अभियान चलायौँ, पशु सेवा कार्यालय हेटौँडाका प्रमुख डा बृजकिशोर ठाकुरले भने, “अहिले अब पशुहरुमा देखिएको खोरेत रोग विस्तारै नियन्त्रणमा आइसकेको छ ।” खोरेत प्रभावित पशुलाई लक्षित गरी जिल्लाको १० वटै पालिकामा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरेको र हालसम्म करिब पाँच हजार पशुमा खोप लगाइएको प्रमुख ठाकुरले बताए । उनका अनुसार भदौ महिनाको पहिलो साताबाट सुरु गरिएको खोरेत रोगविरुद्धको खोप अभियानका क्रममा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडाका २३ हजार पशुमा खोप लगाइएको छ । यस्तै मकवानपुरगढी गाउँपालिकामा छ हजार आठ सय ७५, बागमती गाउँपालिकामा चार हजार सात सय, बकैया गाउँपालिकामा तीन हजार पाँच सय, मनहरी गाउँपालिकामा तीन हजार एक सय, इन्द्रसरोबर गाउँपालिकामा एक हजार चार सय ८८, थाहा नगरपालिकामा एक हजार चार सय ४५, भिमफेदी गाउँपालिकामा एक हजार पाँच, राक्सिराङ गाउँपालिकामा पाँच सय र कैलाश गाउँपालिकामा ३० पशुचौपायामा खोप लगाइएको प्रमुख ठाकुरले बताए । खोरेत रोगबाट जिल्लाको १० वटा पालिकामा मध्ये नौ वटा पालिकामा फैलिएको खोरेत रोगबाट दुई हजार तीन सय ३९ पशुचौपाया प्रभाबित भएकोमा एक सय एक पुशचौपायाको मृत्यु भएको पशु सेवा कार्यालय हेटौँडाका पशु चिकित्सक डा विजय पौडेलले बताए । उनका अनुसार सबैभन्दा बढी हेटौँडामा खोरेत रोगबाट ४१ पशु मरेका छन् । भ्याम्सिनेटरले कृषक समूह, सहकारी तथा व्यक्तिगत फर्मका साथै घरदैलोमै पुगेर खोप अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।
केरा बिक्री नहुँदा बर्दियाका किसान मर्कामा
बर्दिया । केरा खेतीका लागि उत्कृष्ट बन्दै गएको बर्दिया जिल्लामा बजार व्यवस्थापन नहुँदा किसानहरू मर्कामा परेका छन् । केरा खेतीमा आत्मनिर्भर बन्दै बाँके, सुर्खेत, दाङ लगायतका जिल्लामा निर्यात गर्न सक्षम बर्दिया किसानहरू हाल केराले बजार मूल्य नपाउँदा मर्कामा परेका हुन् । सिजन र चाडवाडको समयमा भारतीय केरा अत्याधिक आयात हुँदा नेपाली केरा बिक्न छोडेको हो । केरा बिक्न छोडेपछि किसानहरू न्यून मूल्यमा केरा बेच्न बाध्य भएका छन् । मूल्यको पर्खाइमा कतिपय कृषकको केरा बारी मै कुहिन थालेको छ । गत वर्ष कृषकहरूले प्रति क्रेट ९१० दर्जन० चार सय ५० रुपियाँसम्ममा केरा बिक्री गरेका थिए । यस वर्ष प्रति क्रेट तीन सय ५० रुपियाँमा बिक्री गर्न बाध्य भएका छन् । भारतीय अत्याधिक विषादी हालेको केरा सस्तो मुल्यमा बजारमा आएपछि नेपाली केरा बिक्न छाडेको केरा व्यवसायी टिका सम्सेलीले बताए। “गत वर्ष राम्रो मूल्यमा केरा बिकेको थियो यस वर्ष बढ्लाभन्दा झन् घटेको छ ।,” उनले भने, “यस वर्ष त मूल्य बढ्ला भनेको झन् घट्यो । अहिले बारी मै केरा पाकेर कुहिन थालेपनि व्यापारीहरू खरिद गर्न नआएको बताए।” गत वर्षको तुलनामा यस वर्ष केरा बिक्री कम भएको केरा व्यवसायी शम्भुप्रसाद अधिकारीले बताए। जेन जीको आन्दोलनले पनि केरा खरिदबिक्रीमा समस्या बनाएको उनले बताए। दशैँ तिहारसम्म केरा बिक्री नभएमा किसानहरूको लगानी डुब्ने उनले बताए। बर्दिया जिल्लामा केरा जोन कार्यक्रम लागू भएपछि करिब पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । वार्षिक १५ हजार मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । हाल बर्दिया जिल्लामा करिब सात सय घरपरिवार केरा खेतीमा संलग्न रहेका छन् । बर्दियामा बार्षिक ४० करोड बराबरको केराको कारोबार हुने गरेको केरा व्यवसाय संघ बर्दियाका अध्यक्ष टोपलाल विकले बताए। आगामी मङ्सिर महिनासम्मका लागि बर्दिया कैलाली र बाँकेमा पर्याप्त केरा भए पनि भारतबाट आउँदा नबिकेको अध्यक्ष विकले बताए। केराको सिजनको समयमा भारतबाट केरा आयात गर्न रोक्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयदेखि अर्थ मन्त्रालय सम्म ज्ञापन पत्र बुझाउँदा समेत समस्या समाधान नभएको उनले बताए। बर्दियामा हाल केरा खेती विस्तार सँग व्यवस्थित हुँदै गएको छ । केरा पकाउने र स्टोर गर्न मिल्ने च्याम्बर, टिस्युकल्चर केरा नर्सरी, केराको थम्बाबाट रेसा निकाल्ने उद्योगहरू स्थापना भएका छन् ।
ताप्लेजुङका किसान बँदेलबाट पीडित
ताप्लेजुङ । सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य भएका छन् । पाक्ने बेलामा बँदेललगायत वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको मेहनत सङ्कटमा परेको छ । स्थानीय किसान शेरबहादुर बानियाँका अनुसार यस क्षेत्रमा करिब २५–३० घरपरिवार प्रतिवर्ष वन्यजन्तुको जोखिमबाट पीडित हुने गरेका छन् । “पहिले भालुले दुःख दिने गर्थ्यो, अहिले बँदेलको आक्रमण बढेको छ”, उनले बताए । उनका अनुसार हरेक घरको दुईदेखि चार मुरीसम्मको अन्नबाली एकै रातमा सखाप हुने गरेको छ । मकै पाक्ने समयमा किसान रातभर बारीमा डेरा जमाउन बाध्य छन् । “एउटा माउ र दुई बच्चासहित तीन वटा बँदेल हरेक रात आउँछन् । मकै पूरै पाक्न नपाउँदै खाइदिन्छन्, हामीले के खानु ?” उनले गुनासो पोखे । बँदेलले मकैमात्र नभई आलु, सिमी, पिँडालु र अन्य तरकारीमा समेत क्षति पुर्याउने गरेको छ । निरन्तर क्षतिका कारण केही किसान बसाइँ सरेका छन् भने केहीले बारी बाँझो छाडेर अन्य पेसा रोजेका छन् । तर अहिलेसम्म वन्यजन्तु नियन्त्रण वा क्षति न्यूनीकरणका लागि स्थानीय तह वा सरोकारवाला निकायबाट कुनै ठोस पहल भएको छैन । सिदिङवा गाउँपालिकाकी उपाध्यक्ष विष्णुकुमारी (बन्दना) कडरियाले हालसम्म बाली क्षतिको औपचारिक निवेदन गाउँपालिकामा नआएको बताउँदै निवेदन आए कार्यपालिकाले निर्णय गरी केही सहुलियत दिने आश्वासन दिइन् । डिभिजन वन कार्यालयका वन अधिकृत परमेश्वर पारवानका अनुसार २०८० सालको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका’मा १६ प्रजातिका जनावरबाट क्षति भए राहत दिने व्यवस्था छ । तर बँदेल त्यसमध्ये नपर्ने भएकाले किसानले राहत पाउने आधार नरहेको बताए ।

