केराखेतीमा जम्दै कञ्चनपुरका एक शिक्षक, वार्षिक १० लाख मुनाफा
महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका शिक्षक हुन् ।
तर उनको परिचय शिक्षकमा मात्रै सीमित छैन । उनी हाल व्यावसायिक कृषकको रूपमा पनि परिचित छन् । विसं २०७५ देखि केराखेती गरेका घिमिरेले हाल साढे आठ बिघा जमिन भाडामा लिएर केराखेती गरिरहेका छन् ।
“वार्षिक रु पाँच लाख भाडा तिर्ने गरी जमिन लिएर केराखेती गरिरहेको छु,” घिमिरेले भने, “वार्षिक केराखेतीबाट रु १० लाख मुनाफा हुन्छ ।” उनले केराखेतीबाट भएको आम्दानीले प्रत्येक वर्ष क्षेत्र विस्तार गर्नाका साथै छोराछोरीको अध्ययन खर्च जुटाइरहेको बताए ।
“केराको मूल्यमा उतारचढाव आउँदा कहिलेकाहीँ समस्या हुन्छ,” उनले भने, “कञ्चनपुर जिल्ला असारदेखि माघसम्म केरामा आत्मनिर्भर भइसकेको छ ।” उनले बाह्रै महिना केरा उत्पादन गर्न यहाँ सम्भव नभएको बताए ।
केराखेतीबाट वार्षिक रु २० देखि ३० लाखसम्मको कारोबार हुने गरेको बताउँदै घिमिरेले केराखेतीमा आफूले १० जनालाई ज्यालादारीमा रोजगारी पनि दिएको जानकारी दिए ।
“बिरुवा, केरा गोडमेल गर्न चाहिने कृषि औजारहरू सिँचाइलगायतका विषयमा कृषि ज्ञान केन्द्रबाट हरेक वर्ष सहयोग मिलेकै छ,” गाउँमा रहेको अंशुवर्मा बिजवृद्धि कृषक समूहको अध्यक्षसमेत रहेका घिमिरेले भने, “यहाँको बेलौरी र पुनर्वास क्षेत्रमा उत्पादन भएको केराका लागि बजारको समस्या छैन, धनगढी र अत्तरियामा खपत हुँदै छ ।”
उनले गाउँमा कृषि समूहको नेतृत्व गर्दै बीउबिजन उत्पादनमा समेत जोड दिए । त्यसैगरी पुनर्वास नगरपालिका–६ का बिमल भण्डारी कृषि तालिमका सिलसिलामा २०७२ सालमा इजरायल पुगे । साना किसान संस्थामार्फत ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेर एक वर्ष तालिम लिएका भण्डारीले स्वदेश फर्किएपछि एक बिघाबाट केराखेती सुरु गरे ।
“केराखेती गरेको सात वर्ष भयो, रोजगारीका लागि बिदेसिने कि भन्ने सोच यो खेतीले आउन दिएको छैन,” भण्डारीले भने, “अहिले छ बिघा खेतीमा लगाएको केरा खेतीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी भएकै छ ।” कृषि पेसा अङ्गालेर जीविका चलाउँदै आउनुभएका भण्डारीले १२ बिघा खेत भाडामा लिएर खेती गरिरहेका छन् ।
भारतमा केराको उत्पादन बढ्दा त्यसको असर आफूहरूलाई पर्ने गरेको उनको भनाइ छ । उनले भने, “भारतीय केरा रोक लगाएर स्वदेशी उत्पादनलाई बढवा दिन आग्रह गरिए पनि सुनुवाइ भएन ।”
कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकृत धर्मबहादुर साउदले यहाँ प्रतिहेक्टर २० मेट्रिकटन केरा उत्पादन हुने जानकारी दिए । “एक पालिका एक उत्पादनअन्तर्गत भीमदत्त केरा खेतीका लागि छनोट भएको छ,” उनले भने, “त्यसका लागि रु ४० लाख रकम विनियोजन भएको छ ।”
ताप्लेजुङमा वर्षाले धानमा क्षति, नगदेबालीमा फाइदा
ताप्लेजुङ । यसपालिको असमयको वर्षाले ताप्लेजुङका किसानलाई फाइदा र बेफाइदा दुवै पारेको छ । अहिले थन्क्याउने क्रममा रहेको धान बाली वर्षाका कारण प्रभावित भएको छ भने नगदेबाली अलैँचीसहितका अन्य बालीलाई भने फाइदा पुगेको छ । स्थानीय किसानका अनुसार धान पाक्ने समयमा लगातार वर्षा भएपछि खेतमा रहेको धान ढलेको छ । काटेर सुकाउन राखिएका धान पनि पानीले भिजेपछि नष्ट भएका छन् । फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुका किसान मुक्साम लिम्बूका अनुसार थन्क्याउन सुरु गरिएको धान खेतमै सड्न थालेको छ । तर, यही वर्षाले नगदेबाली र हिउँदे बालीका लागि फाइदा पुर्याएको छ । लिम्बूका अनुसार अलैँची टिपिसकेपछि सिँचाइ गर्नुपर्ने समयमा परेको वर्षाले बगानका लागि लाभदायी भएको छ । साथै जौ, गहुँ र आलु जस्ता हिउँदे बाली रोप्नका लागि खेतबारी जोत्न सजिलो भएको छ । सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खका सन्जिप लिम्बूले पनि वर्षाले अलैँची, जौ, गहुँ, आलु लगायत बालीमा लाभ पुगेको बताए । उनका अनुसार लगातार वर्षा भएपछि सिँचाइको आवश्यकता कम भएको छ र माटो नमीयुक्त बनेकाले हिउँदे बालीका लागि अनुकूल वातावरण बनेको छ । किसानहरूका भनाइमा यसपालिको वर्षाले फलफूलजन्य बालीहरूमा पनि फाइदा पुर्याएको छ । यसैबीच, लगातार वर्षासँगै जिल्लामा चिसो बढेको छ । उच्च हिमाली भेगमा हिमपात भएपछि फुङ्लिङसहित जिल्लाभर तापक्रम घटेको जल तथा मौसम विज्ञान विभाग, धरान–ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ । कार्यालयका नायव मौसम विज्ञान सहायक सुयोग भट्टराईका अनुसार करिब एक सातासम्म लगातार वर्षा हुँदा शुक्रबार मात्रै ५२.८ मिलिमिटर वर्षा मापन गरिएको थियो । शनिबार दिउँसो नौ घण्टाको अवधिमा १८.९ मिलिमिटर वर्षा भएको र न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियससम्म झरेको कार्यालयले जनाएको छ ।
बाँकेमा अझै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेन
बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयले यहाँका किसानले उत्पादन गरेको धान खरिद सुरु नगर्दा किसानले व्यापारीलाई कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा ढिलाइ गर्दा सरकारले तोकेको मूल्य नपाए पनि आफूहरूले बाध्य भएर कम मूल्यमा बजारमा धान बिक्री गर्नु परेको नेपालगन्ज–१९ सुइयागाउँका किसान ललवा माहुतले बताए । “खाद्य कम्पनीले धान खरिद अझै सुरु नगर्दा किसानले बजारमा व्यापारीलाई बाध्य भएर दुवै धानमा करिब नौ सय क्विन्टल कम मूल्यमा धान बिक्री गरिरहेका छन्”,उनले भने, “सरकारले तोकेको समर्थन मूल्य अनुसार व्यापारीले धान खरिद नगर्दा किसानलाई निकै समस्या परेको छ ।” सरकारले धान खरिदमा ढिलाइ गर्ने, खरिद सुरु गरे पनि निकै कम धान खरिद गर्ने र खरिद गर्दा विभिन्न मापदण्ड लगाएर अधिकांश धान फिर्ता पठाउने गरेकाले किसानलाई निकै समस्या हुने गरेको उनको भनाई छ । नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामशरण लामिछानेले कार्यालयले मोटा धान १५ हजार र मध्यम धान पाँच हजार क्विन्टल खरिद गर्ने गरी कोटा निर्धारण भएर आएको जानकारी दिए । उनका अनुसार, गत वर्ष नेपालगन्जमा मध्यम धान २५ हजार र मोटा धान सात हजार गरेर ३२ हजार क्विन्टल धान खरिद गरिएको थियो । यस वर्ष २० हजार क्विन्टल मात्र धान खरिदको कोटा आएको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारीको सरुवा भएकाले नयाँ प्रमुख जिल्ला अधिकारी आए लगत्तै खरिद समितिको बैठक बसेर निर्णय गरी धान खरिद सुरु गर्ने तयारी भएको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल रु। तीन हजार ४६३ ८१ पैसा तोकेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल रु।तीन हजार ६२८ पैसा तोकेको छ । हाल खाद्य व्यवस्था कार्यालयमा गत वर्ष खरिद गरिएको धानको २० हजार क्विन्टल चामल मौज्दात रहेकाले धेरै धान खरिद गरेर राख्ने ठाउँ अभावले पनि समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख लामिछानेले जानकारी दिए ।
गोठाला बेँसी झरेपछि बागलुङको भल्कोटमा बढ्यो चहलपहल
बागलुङ । यति बेला बागलुङको निसीखोला गाउँपालिका–६ भिबाङमा बारीभरि चर्दै गरेका गाईगोरु, भैँसी र सेताम्य भेडाका भेटिन्छन् । छेउमै बसेर गन्थनमन्थन गर्दै हुन्छन् गोठाला । करिब चार महिना लेकमा बसेर आएका गोठाला गाउँघरका आफन्तसँग भेटा हुँदै निकै खुसी छन् । लेकबाट गोठ झारेपछि भल्कोट क्षेत्रमा गोठाला र बस्तुभाउको चलहपलह बढेको छ । गाई, भैँसी, भेडा र बाख्राले भल्कोटका बारी तथा खर्कहरू ढाकिएका छन् । हरेक वर्ष जेठ–असारमा लेक चढ्ने र असोजमा बेँसी झर्ने स्थानीयको परम्पराअनुसार यस वर्ष पनि गोठाला बेँसी झरेपछि भल्कोटमा चहलपहल बढेको हो । एकै परिवारले सयौँको सङ्ख्यामा बस्तुभाउ पाल्ने हुँदा गोठाला गुमती बसाइँ बस्छन् । बर्खाभरी लेक क्षेत्र बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातिहाल्ने, रिग, तिलाचन, खानीखोला क्षेत्रमा बसेका गोठलाहरू अहिले बेँसी क्षेत्र भर्कोबाङ, भल्कोट, मोराखोला, भिबाङलगायतका क्षेत्रमा छन् । अब यी क्षेत्रमा गहुँ, जौँ छरेपछि खर्चन र गुम भन्ने ठाउँमा जाने स्थानीय मनबहादुर बोहराले बताए । गोठालाहरू सुरुमा लेकबाट भर्कोबाङमा झर्ने र त्यहाँ गहुँ, जौँ छरेपछि विस्तारै अन्य ठाउँमा जाने उनको भनाइ छ । अबको करिब १५ दिन भल्कोट क्षेत्रमा बस्ने र त्यसपछि गुम, खर्चनलगायतका ठाउँमा गोठ सार्ने बोहराले बताए । “यो त हाम्रो परम्पराजस्तै हो, यति धेरै सम्पत्ति एकै ठाउँमा पाल्न सकिँदैन, बर्खामा लेक, हिउँदमा बेँसी गरेर पाल्नुपर्छ, हाम्रो पाकापुर्खाहरूले त्यही गरे, हामीहरूले पनि त्यही नै गर्दै आएका छौँ, तर पछिल्लो समय पहिलेको जस्तो अवस्था छैन”, बोहराले भने, “अहिले त धेरैले बस्तुभाउ पाल्न कम गरेका छन्, पहिले–पहिले त एउटै घरमा पाँच/सात सय डिङ (बस्तुभाउ) हुन्थे, अहिले त धेरै कम भएका छन् ।” स्थानीय ढालेन्द्र घर्ती मगरले आफूहरू असोज तेस्रो साता मात्रै बेँसी झरेको सुनाए । भल्कोटका बारीमा गहुँ छरेपछि बस्तुभाउलाई अन्तै लैजाने उनको भनाइ छ । लेकमा बस्दा धेरै गोठालाहरूले एकै ठाउँमा भेडाबाख्रा र गाईभैँसी राख्ने गरेको भन्दै बेँसी झरेपछि छुट्टै बाँध्ने उनले बताए । बेँसीमा आ–आफ्नो बारीमा बाँध्ने हुँदा बारीभरि बस्तुभाउ देखिने घर्ती मगरको भनाइ छ । पहिले आफ्ना झण्डै १०० गाई गोरु रहेको भन्दै अहिले धेरै कम भएको उनले सुनाए । घर्ती मगरले भने, “बस्तुभाउ पाल्ने धेरै गाह्रो छ, एकै ठाउँमा राखेर पाल्न सकिँदैन, वर्षभरि चरनका लागि ठाउँठाउँमा पुग्नुपर्छ, गोठ सार्ने, पशुचौपाया सार्ने, घाँस काट्नै पर्यो, पहिले हाम्रा अग्रजहरूलाई झन कति गाह्रो थियो होला ?, त्यस बेला त अहिलेको भन्दा धेरै पाल्थे, यहीबाट खान लाउन पुगे त हुन्थ्यो पुग्दैन, अरु दुःख पनि गर्नुपर्छ ।” यस क्षेत्रका किसानले सयौँ पशुचौपाया पाल्दै आए पनि व्यावसायिक बन्न सकेका छैनन् । स्थानीय कुम्भीरा मगरले आफ्ना ५१ वटा गाई रहेको सुनाउँदै यसबाट जीविकोपार्जन हुन नसकेको बताए । घरमा पहिलेदेखि नै गाई पाल्दै आएको हुँदा आफूहरूले निरन्तरता दिँदै आएको बताए । गाई धेरै पाल्दा बारीमा मल हुने उनको भनाइ छ । वर्षमा रु २० हजारको दूध, घ्यूसमेत बिक्री गर्न नसकेको मगरले सुनाए ।
भोजपुरका किसान पनि व्यावसायिक चिया खेतीमा
भोजपुर । भोजपुरमा अर्ग्यानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–३ का सरमान गिरी एक दशकभन्दा बढी समयदेखि चियाको व्यावसायिक खेती गर्दै स्थानीयस्तरमा उदाहरणीय बनेका छन् । उनले हाल आफ्नो करिब ८० रोपनी क्षेत्रफलमा चिया खेती विस्तार गरेका छन् । विगतमा हातैले प्रशोधन गर्दै आउनु भएका उनले विसं २०७६ बाट गरस चिया उद्योग सञ्चालनमा ल्याएका हुन् । जिल्लामा चियाको क्षेत्रमा यो पहिलो उद्योग हो । अर्ग्यानिक चिया उत्पादन गर्ने लक्ष्यले व्यावसायिक खेतीमा जुटेको उनको भनाइ छ । उद्योगबाट हरियो चिया (ग्रीन टि), कालो चिया र सिल्भर चिया उत्पादन गदै आएको उनले बताए । उद्योगले नेपाल चिया तथा कफी विकास बोर्डबाट ट्रेडमार्क प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ । व्यवसायी गिरीले उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट रु १७ लाख ५० हजार अनुदान प्राप्त गरेका छन् । उत्पादित चियाले उचित मूल्य प्राप्त गरेमा वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्म आम्दानी लिने कुनै समस्या नरहेको उनको भनाइ छ । हाल ८० रोपनीमा फैलिएको खेतीलाई अझ विस्तार गर्ने तयारी भइरहेको छ । साथै, चिया बगान अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै गिरीले बगान परिसरभित्र ‘टेम्के फन पार्क तथा रिसोर्ट’समेत सञ्चालन गरेका छन् । व्यवसायी गिरीका अनुसार बगानमा महिनामा चार पटकसम्म चिया टिप्न सकिन्छ । उनले नर्सरी उत्पादनदेखि रोपण र प्रशोधनसम्मका सबै चरण आफैँ गर्दै आएका छन् । चिया खेती विस्तार गर्न इच्छुक अन्य किसानलाई उनले नियमित सल्लाह र प्राविधिक मार्गदर्शन दिँदै आएका छन् ।
मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा
कञ्चनपुर । विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउने बेदकोट नगरपालिका–१ चम्फापुरका जयप्रकाश राना अहिले आफ्नै बारीमा दर्जनौँ किसानलाई रोजगारी दिनसक्ने सफल व्यावसायिक किसान बनेका छन् । दुई दशकदेखि निरन्तर तरकारीखेतीमा संलग्न रानाले नर्सरीमा तरकारीका बिरुवासँगै तरकारी उत्पादन गरी बिक्री गरेर वार्षिक रूपमा रु १५ लाख बढी आम्दानी गर्दै आएका छन् । मेहनत, सीप र आत्मविश्वासको बलमा उनले आफ्नो जीवनमात्र होइन, गाउँको कृषि अभ्यासलाई परिवर्तन गरेका छन् । उनको प्रेरणाले अन्य किसान पनि व्यावसायिक तरकारीखेतीमा संलग्न भएका छन् । कडा परिश्रम, आत्मविश्वास र सीपको भरमा तरकारीखेतीलाई जीवनको प्रमुख व्यवसायमा रानाले रूपान्तरण गरेका छन् । उनका प्लास्टिकको टनेलभित्रका हरिया बारी र उन्नत नर्सरीले स्थानीयलाई मात्र होइन, टाढा–टाढाका किसानलाई समेत प्रेरणा दिएको छ । सूर्योदय हुनुअघि नै तरकारीको बिरुवा स्याहार्ने कार्यबाट उनको दिनको सुरुआत हुन्छ । राजमार्गसँगै जोडिएको उनको नर्सरीबाट बिरुवा खरिद गर्ने किसानको दिनहुँ भीड लाग्ने गर्दछ । उन्नत बीउका कारण टाढाका गाउँ र नगरका किसान उनकै बारीमा बिरुवा खरिद गर्न आउने गर्दछन् । रानाले काउली, गोलभेँडा, ब्रोकाउली, रायो, भण्टा, सिमला मिर्चा, प्याजलगायतका बिरुवा बारीमा उत्पादन गरेका छन् । त्यही नर्सरीका बिरुवाबाट उनले आफ्नो खेतमा व्यावसायिक तरकारीखेती पनि गर्छन् । अतिरिक्त रूपमा धनियाँ, लौका, तीतेकरेला, फर्सी र काँक्रासमेत खेती गर्छन् । विसं २०५८ देखि निरन्तर कृषिमा संलग्न राना विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउँथे । “पहिले अरूको खेतमा बेर्ना तयार गर्न र रोप्न माटो तयार गर्थेँ, मल हाल्थेँ, विषादी छर्किन्थेँ, बेर्ना हुर्काउँथेँ, बिरुवा स्याहार्ने कार्य गर्थेँ”, उनले भने, “त्यही क्रममा खेतीका तौरतरिका सिकेँ र आफूले पनि गर्ने हिम्मत गरेँ, व्यावसायिकखेती गर्ने निधो गरी लागेँ ।” थोरै पुँजी र ठुलो जोसका साथ राजमार्ग नजिकैको खेतमा पहिलोपटक तरकारीका बिरुवाको नर्सरी सुरु गरेको विगत सम्झँदै उनले भने, “सुरुका वर्षमा उत्पादन कम भए पनि सबै बिरुवा बिक्री भएपछि सोचेभन्दा बढी नै आम्दानी भयो । त्यो आम्दानीले तरकारीखेती गर्ने आत्मविश्वास पलायो । त्यसपछि तरकारीका बेर्नाको नर्सरी तयार गरी बिरुवा बेच्न थालेँ, तरकारीखेती गरी तरकारी बेच्न सुरु गरेँ, आम्दानी बढ्दै गयो, त्यसपछि पैसाका लागि अरूसँग हात थाप्नै परेन ।” एक बिघा र चार बिघा लिजमा लिएर तरकारीखेती हुने गरेको छ । नर्सरीबाट मात्र वार्षिक करिब रु पाँच लाख र तरकारीखेतीबाट करिब रु १० लाख आम्दानी हुने गर्दछ । “पहिले महिनामा तीन हजार जति पारिश्रमिक पाउँथेँ, अहिले खेतीबाट लाखौँको कारोबार हुन्छ,” उनी हाँस्दै भन्छन् । उन्नत बीउ, टनेलखेती र विद्युतीय सिँचाइ प्रणालीका कारण उनको तरकारीको उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा सहजै बिक्री हुन्छ । बजारसम्म तरकारी ढुवानी गर्न उनले आफ्नै अटो खरिद गरेका छन् । “पहिले साइकलमा बजारसम्म तरकारी पुर्याएर बेच्थेँ, त्यसपछि मोटरसाइकलमा राखेर तरकारी बेच्न थालेँ, अहिले अटोमै तरकारी बेच्न जान्छु,” उनी गर्वका साथ भन्छन्, “कृषि पेसालाई सही तरिकाले गरे जीवन नै बदलिने रहेछ ।” तरकारीखेतीले उनको जीवनस्तरमा ठुला परिवर्तन ल्याएको छ । पहिले कच्ची टायलको घरमा बस्ने राना अहिले चारकोठे पक्की घरमा परिवारसहित बस्छन् । उनले तरकारीखेतीकै कमाइबाट दुईवटा मोटरसाइकल पनि खरिद गरेका छन् । रानाको नर्सरीका बिरुवा अहिले कञ्चनपुरको दैजी, सिसैया, महेन्द्रनगर र झलारीसम्मका किसानले बारीमै पुगेर खेतमा रोप्नका लागि लैजाने गरेका छन् । “गुणस्तर बीउको प्रयोग गरी बिरुवा तयार हुने भएकाले बजार खोज्न पर्दैन,” उनी भन्छन्, “किसान आफैँ बारीसम्मै नगदमा बिरुवा खरिद गरेर लैजान्छन् ।” परिवारका सबै सदस्य खेतीमा सघाउँछन् । श्रीमती र छोरा दुवै जनाले तरकारीखेती र नर्सरीको काममा साथ दिन्छन् । “परिवारकै सदस्य मिलेर काम गर्दा खर्च घट्छ र आम्दानी बढ्छ,” उनी भन्छन् । बजार विस्तारसँगै उनले खेती आधुनिक बनाउन तालिमहरू पनि लिएका छन् । कृषि ज्ञान केन्द्र र बेदकोट नगरपालिकाले आयोजना गरेको तालिमबाट उनले बीउ छनोट, माटो सन्तुलन, रोग–कीरा नियन्त्रण र आधुनिक खेती प्रविधि सिकेका छन् । “तालिमले मलाई नयाँ सोच दियो, अहिले म अरू किसानलाई पनि सिकाउन सक्छु,” उनी भन्छन् । रानाको तरकारीखेतीप्रतिको लगाव देखेर कृषि ज्ञान केन्द्र र नगरपालिकाका तर्फबाट कृषि औजार र यन्त्रहरूमा अनुदान पनि पाएका छन् । भविष्यमा थप जग्गामा तरकारीखेती विस्तार गर्ने योजना बनाएका रानाले युवालाई कृषिप्रति आकर्षित हुन आग्रह गरेका छन् । “युवाले वैदेशिक रोजगारी होइन, कृषि रोजे देश आत्मनिर्भर बन्छ,” उनी भन्छन्, “मजदुर भएर काम गरेँ, अब म आफैँ रोजगार दिने किसान बनेको छु ।”
म्याग्दीका दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्दैनन् । आवाजको भरमा मान्छे चिन्नुहुन्छ । हिँडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ । शारिरीक रूपमा अशक्त भए पनि इन्द्रप्रसादले कृषि फार्म सञ्चालन गरेर सफल उद्यमीको पहिचान बनाएका छन् । कृषि फार्म सुरु गर्नुअघि इन्द्रप्रसादले रोजगारीका लागि १३ वर्ष कतार, साउदी र मलेसियामा श्रम र पसिना बगाए। विदेशमा सोचेजस्तो सफलता मिलेन । विदेशमा मेसिनरी उपकरणमा काम गर्ने क्रममा आँखाको दृष्टि गुम्यो । आँखामा समस्या देखिएपछि स्वदेश फर्किएका इन्द्रप्रसादले १० वर्षअघि कृषि फार्म स्थापना गर्ने योजना सुनाउँदा धेरैले विश्वास गरेनन् । “विदेशबाट फर्केर आएपछि मेरा आँखा बिग्रिए पनि हिम्मत हारिन”, उनले भने, “खेतालाहरूलाई आइडिया दिएर काम गराइरहेको छु ।” कृषि पेसाबाटै आत्मनिर्भर बनेका इन्द्रप्रसाद र उनकी श्रीमतीले सञ्चालन गरेको इन्द्रदेवी कृषि फार्मले पाँच जनालाई आंशिक रोजगारी दिएको छ । कृषि फार्मबाट भएको आम्दानीले घरव्यवहार चलाउने र छोरीलाई काठमाडौँमा विज्ञान विषयमा स्नातक तह अध्यापन गराएका छन् । तरकारी बेचेर भएको आम्दानी उनले आँखाको उपचारमा खर्चिए पनि सफल भएको छैनन् । इन्द्रप्रसादका अनुसार आँखाको समस्या नै पहिचान नहुँदा ठुला अस्पताल र नेत्ररोग विशेषज्ञहरूकहाँ पुगे पनि उपचार सफल नभएको हो । इन्द्रप्रसादलाई कामदार खोज्न भौँतारिनु पर्दैन । कामदार काम खोज्दै घरमै आउँछन् । घरवरपरको २० रोपनी पाखोबारीमा सुन्तला बगैँचा छ । हुर्कँदै गरेका सुन्तला बगैँचाभित्रको जमिनलाई सदुपयोग गरेर बन्दा, काउली र अदुवाखेती गरेका छन् । नजिकै ३० रोपनीमा व्यावसायिक आलुखेती गरेका छन् । गत वर्ष रु चार लाख मूल्य बराबरको ८० क्विन्टल आलु बिक्री भएको इन्द्रप्रसादले बताए । मौसमी र बेमौसमी तरकारीबाट थप आम्दानी हुन्छ । भैँसी र बाख्रा पनि पालेका छन् । गाउँमै कच्ची सडक पुगेको हुँदा उत्पादन भएको तरकारी बजार पुर्याउन समस्या छैन । फोनमार्फत माग सङ्कलन गरेर बेनी, कुश्मा र बागलुङका व्यापारीलाई तरकारी पठाउँछन् । व्यापारीले खातामै पैसा पठाउँछन् । शारीरिक रूपमा अशक्त भए पनि हिम्मत नहार्ने हो भने सफलता हात पार्न सकिने सन्देश इन्द्रप्रसादले दिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । “आँट र साहस हुने तथा परिवारका सदस्यले साथ दिने हो भने व्यवसाय र उद्यम गर्न शारीरिक अशक्तता बाधक बन्दैन भन्ने उदाहरण इन्द्रप्रसाद हुनुहुन्छ”, उनले भने, “गाउँपालिकाले उहाँलाई खेतीका लागि प्राविधिक र आर्थिक सहयोग गरेको छ ।” पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले सुन्तला खेतीका लागि बिरुवा खरिद, खाडल खन्न, उपकरण खरिद र पोखरी निर्माण गर्न ५० प्रतिशत अनुदान सहयोग गरेको उपाध्यक्ष आचार्यले बताए।
मोन्था चक्रवातको प्रभावले धानखेती गर्ने देशभरका किसान मारमा
काठमाडौं । बङ्गालको खाडीमा उत्पन्न मोन्था चक्रवातको प्रभावले देशभर वर्षा र हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मधेशमा धान भित्र्याउने समयमै वर्षा र हुरी आएपछि किसान चिन्तित बनेका छन् । बाराका किसानको काट्नै लागेको धान खेतमै भिजेको छ । बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जैसवालका अनुसार खेतमा ढलेको धानले ठूलो क्षति पुर्याएको छ । हिउँदे मकै लगाउने तयारी पनि रोकिएको छ । गण्डकी प्रदेशका पर्वतका किसानको धान पनि वर्षाले डुबाएको छ । स्थानीय पालिकाले क्षतिको विवरण सङ्कलन र राहतको आश्वासन दिएको छ । हिमाली भेगमा निरन्तर वर्षा र हिमपातका कारण हवाई सेवा ठप्प छ । खुम्बु र मुस्ताङका किसानले भित्र्याएका आलु, फापर र स्याउ बजार पुर्याउन नसकेका छन् । कृषि अनुसन्धान परिषद् (नार्क) ले किसानलाई मौसम सामान्य भएपछि मात्र धान काट्न र खेतमै रहेको धान छापो हालेर जोगाउन सुझाव दिएको छ । यस वर्षाले हिउँदे तरकारी र आलुका बेर्नालाई भने लाभदायी बनाएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मोन्था चक्रवातको प्रभाव शुक्रबारसम्म रहन सक्ने र शनिबारदेखि मौसम सुधार हुने अनुमान गरिएको छ । लगातारको वर्षाले बाढी–पहिरोको जोखिम बढेकाले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दुरीका सवारीसाधन तीन दिनका लागि नचलाउन आग्रह गरेको छ । सिन्धुली, काभ्रे र नवलपरासीमा सवारी सञ्चालनमा पनि रोक लगाइएको छ । यस मौसमी प्रणालीले हिउँदे तरकारी बालीलाई भने राहत दिने छ । सुक्खा पाखोबारीमा लगाइने हिउँदे तरकारी बालीका लागि यो वर्षा अमृत सरह हुने छ । किसानले भर्खरै रोपेका आलु र अन्य तरकारीका बेर्नाका लागि पनि यो वर्षाले राहत दिने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मोन्था चक्रवातमा अन्य थप दुई साना चक्रवातको शक्ति मिसिएपछि यो झन् शक्तिशाली बनेकाले नेपालका केही स्थानमा ठुलो वर्षा र हिमपात गराउने सम्भावना बढाएको छ । त्यसैले बिहीबारसम्म गण्डकी प्रदेशसम्म सक्रिय रहेको मोन्थाको असर अहिले सुदूरपश्चिम प्रदेशसम्म नै फैलिएको छ । शुक्रबार देशका अधिकांश स्थानमा मोन्था चक्रवातको असरले निरन्तर वर्षा कायम रहने मौसमविद् बिनु महर्जनले जानकारी दिइन । शनिबार मध्याह्नदेखि भने बिस्तारै मौसममा सुधार हुँदै जाने छ ।
यस वर्ष पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान
पर्वत । यस वर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ । कुन स्थानमा कुन प्रजातिको धान खेती गर्दा प्रशस्त उत्पादन हुन्छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिएको हो । राष्ट्रिय धानबाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान गरेको हो । फलेवास नगरपालिका–६ देवीस्थानमा रहेको शक्ति कृषि तथा पशुपन्छी फर्म र नमूना कृषि सहकारीको सहकार्यमा धानका स्थानीय आठ जातको धानको मूल बीउ उत्पादन गरिएको छ । पोखरेली जेठोबुढो, रामधान चैते पाँच, हर्दिनाथ, सुुक्खा धान, स्थानीय धानको बीउ उत्पादन गरिरहेको छ । अहिले राष्ट्रिय धान अनुसन्धान कार्यलयको सहयोगमा आइआर १६, एल ७०४ र आइआर १६, ए ३७०८, आइआर २२८ एल, आइआर १३/२०८४, यसभिआइएन ३६८ नयाँ प्रजातिको धानको मूल बीउ अनुसन्धान गरिएको हो । यसैबिच, कृषि प्राविधिकमार्फत धानको बीउ परीक्षणपछि बीउ गरिने अर्जुन श्रेष्ठले बताए । धानको बीउ तथा अन्य अन्नबालीको बीउ बिक्रीमा फलेवास नगरपालिकाले सहयोग गर्दै आएको उनले बताए । गत वर्ष यस क्षेत्रको धानको बीउ फलेवास नगरपालिका, जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, कृषि विकास मन्त्रालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र पर्वतलगायतका सरकारी निकायमा रु आठ लाख बराबरको बिक्री भएको थियो । बर्सेनि तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तन, सिँचाइको अभाव, बाँदर आतङ्कजस्ता कारणले कृषकहरूको धानतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिस गरेपछि धानखेतीतर्फ आकर्षण बढ्ने विश्वास फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्रीले गरेकी छन् । केन्द्रले यसअघि गत हिउँदमा फलेवास नगर पालिका ६ देवीस्थानका १२ जना किसानको खेतमा गहुँबालीको पनि अनुसन्धान गरेको थियो ।
गाेरखामा किसानलाई उत्पादनमा आधारित अनुदान
गोरखा । जिल्लाको गण्डकी गाउँपालिकाले कृषि अनुदानको उचित व्यवस्थापन गर्न ‘उत्पादनमा आधारित अनुदान’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । पालिकाले आर्थिक वर्ष २०८०/८१ बाट उक्त कार्यक्रम लागू गरेको थियो । कार्यक्रमलाई थप व्यवस्थित बनाउन पालिकाले हाल उत्पादनमा आधारित अनुदान व्यवस्थापन सफ्टवेयर सञ्चालनमा ल्याएको छ । सफ्टवेयरमार्फत कृषकले दैनिक रूपमा बिक्री वितरण गर्ने कृषि सामग्रीको परिमाण अद्यावधिक गरिने पालिकाको प्रमुख प्रशासकीय अधिकृत भुवन चापागाईँले बताए । उनका अनुसार कृषि सफ्टवेयरबाट दैनिक रूपमा कुन किसानले कति परिमाणको कृषि सामग्री बिक्री वितरण गर्यो भन्ने तथ्याङ्क राख्न सकिन्छ । सोही तथ्याङ्कका आधारमा अनुदान वितरण गर्न उत्पादनमा आधारित अनुदान व्यवस्थापन सफ्टवेयर सञ्चालनमा ल्याएको उहाँले जानकारी दिए । यसअघि हामीले म्यानुअल रूपमा तथ्याङ्क सङ्कलन गर्ने गर्थ्यौ। सङ्कलित तथ्याङ्क वडा हुँदै पालिकासम्म आउँथ्यो अनि त्यसलाई फेरि कम्प्युटरमा इन्ट्रगरेर कसले कति कृषि सामग्री सङ्कलन गर्यो, कति अनुदान पाउने भन्ने हिसाब निकाल्नु पर्थ्यो”, उनले भने, “पहिलाको अनुदान प्रक्रिया लामो र झन्झटिलो भएकाले सफ्टवेयर सञ्चालनमा ल्याएका हौँ । सफ्टवेयरले अनुदान कार्यक्रममा सूचीकृत कृषकले दैनिक रूपमा कुन कृषि सामग्री, कति परिमाणमा बिक्री गरे भन्ने हिसाब राख्छ ।” कृषकले पालिकाबाट सूचीकृत कृषि सहकारीबाट मात्रै कृषि सामग्री बिक्री वितरण गर्नुपर्ने पालिकाको प्रमुख प्रशासकीय अधिकृत चापागाईँ बताउँछन् । उनी भन्छन्, “यस कार्यक्रमका लागि हामीले छुट्टै कार्यविधि नै बनाएका छौँ । कार्यविधिअनुसार सूचीकृत कृषकले कृषि सहकारीमार्फत आफ्नो कृषि सामग्री बिक्री गर्छ । सहकारीले कुन किसानले कति परिमाणको कृषि सामग्री बिक्री गर्यो भन्ने हिसाब राखेर पालिकाको सफ्टवेयरमा इन्ट्री गर्छ ।” कृषि सामग्रीको परिमाणका आधारमा एककिलो बराबर निश्चित रकम अनुदान दिने उनले बताए । “जुन कुनै जातको तरकारीमा केजीको दुई रुपैयाँ, फलफूलअन्तर्गत सुन्तलामा केजीको चार रुपैयाँ, खाद्यान्न बालीअन्तर्गत कोदोमा केजीको पाँच रुपैयाँ, अण्डा प्रतिक्रेट पाँच रुपैयाँ र मासुमा प्रतिकेजी रु १० अनुदान दिने प्रावधान छ”, उनले भने । उत्पादनमा आधारित अनुदान कार्यक्रममा पालिकाभित्रका एक हजार बढी कृषक आबद्ध रहेको उहाँले जनाकारी दिनुभयो । गत वर्ष मात्र यही कार्यक्रममार्फत केही किसानले डेढ लाखसम्म अनुदान पाएको पालिकाको प्रमुख प्रशासकीय अधिकृत भुवन चापागाईँको भनाइ छ । यसअघि सञ्चालनमा आएका कृषि अनुदान कार्यक्रम लक्षित वर्गसम्म नपुगेका र ती कार्यक्रमको उचित व्यवस्थापन नहुँदा अनुदानको दुरुपयोग भएकाले उत्पादनमा आधारित कृषि अनुदान कार्यक्रम सञ्चालन गरेको गण्डकी गाउँपालिकाले जनाएको छ ।
पाल्पामा धान भित्र्याउने बेला वर्षाले समस्या
पाल्पा । घर भित्र्याउन ठिक्क पारिएको धान वर्षाले बिगारेपछि यहाँका किसान चिन्तित बनेका छन् । मानो रोपी फलाएको मुरी भित्र्याउने बेला काटेका धान स्याहार्न नपाउँदै पानी परेपछि समस्या भएको छ । यहाँका विभिन्न फाँटमा पाकेका धान किसानले तिहार पर्व मनाएपछि काटेर खेतमै राखेका थिए, तर भित्र्याउन नपाउँदै पानी पर्यो । दिउँसो काटेको बाली राति परेको पानीले बर्बाद बनाएको माडीफाँटका किसान विक्रम कुमालले सुनाए । खहरेकी तारा रायमाझीले पनि खेतमा थुप्रो बनाएर राखिएको धान वर्षाका कारण भित्र्याउन नपाएको बताए । “बुधबार धान स्याहार्ने योजना बनाएको थिए । मंगलबार बिहानदेखि परेको पानीले भिजेको छ । तीन दिनपछि मात्रै पानी आएको भए पनि धान भित्र्याइसक्थेँ”, उनले भने । यस्तै, अर्गेलीका भीम खनालको घर आँगनमा थुपारेको धान पनि भिजेर समस्या भएको छ । “सोमबार अलिकति धान स्याहारेका थियौँ, बाँकी मङ्गलबारलाई राखेका थियौँ, पानी आइहाल्यो”,उनले भने, “पानी परेकाले धान स्याहार्न नसकिएको हो, आज आँगन भिजेको छ ।” पोखराथोककी मीना कुमालले अधियाँ गरेको जमिनमा मजदुर लगाएर रोपाइँ गर्नुभएको थियो, तर भित्र्याउने बेला पानीले क्षति पुर्याएपछि उनी चिन्तित छन्। “धान स्याहारेर वर्षभरिको जोहो गर्ने र बचेको धान बेचेर केटाकेटीको पढाइलगायत अन्य काममा खर्च गर्छु भन्ने सोच बनाएकी थिएँ, बेमौसमी वर्षाले सबै सपना चकनाचुर पारिदियो”, कुमालले भने, “दुःख गरेर फसल उब्जाए पनि स्याहार्न पाइँदैन, आफ्नो जग्गा छैन । ठेक्कामा लिएर काम गरे पनि प्रकृतिले ठग्छ । काटेर खेतमा राखेको धान खेतमै पानीले भिजायो ।” बाली भित्र्याउने बेला पानीले क्षति पुर्याएपछि यहाँका अधिकांश किसान चिन्तित बनेका छन् । कतिपय किसानले तिहारअघि र कतिपयले पछि पाल्पाको रामपुर, माडी, झडेवा, कचल, पूर्वखोला, अर्गली, गेझालगायतका फाँटमा पाकेका धान भित्र्याँदै थिए । केहीले पानी पर्ने भन्दै हतारहतारमा धान काटे, तर आज बिहानैदेखि परेको वर्षाका कारण काटेको धानबालीमा क्षति पुग्यो । कृषि ज्ञान केन्द्रकी प्रमुख अमिता पाण्डेले जिल्लामा हालसम्म आठ प्रतिशत धान काटिसकिएको र वर्षा जारी रहेका कारण क्षतिको विवरण आइनसकेको बताउनुभयो । उनले जिल्लाका १० वटै पालिकाका कृषि इकाइमार्फत क्षति विवरण सङ्कलनका लागि आग्रह गरिएको बताए । केन्द्र प्रमुख पाण्डेले भनिन्, “स्थानीय तहले पहिलेदेखि नै पानी पर्ने सूचना गरेकाले ठुलो क्षति हुनबाट भने बचेको छ । के कति क्षति भयो भनेर जिल्लाका सबै पालिकाबाट विवरण सङ्कलन भएपछि विवरण सार्वजनिक गर्नेछौँ । ” बिहीबारसम्म पानी पर्ने मौसम विभागले जनाएकाले काटिसकिएको धानमा केही क्षति भने हुनसक्ने केन्द्रले जनाएको छ । जिल्लामा ३६ हजार ५३७ हेक्टरमा धानखेती हुँदै आएकामा आठ हजार ६२० हेक्टरमा वर्षे धान, ७०५ हेक्टरमा चैते धान र २७ हजार २१२ हेक्टरमा अन्य खेती हुँदै आएको छ । यस वर्ष भने आठ हजार २१० हेक्टरमा मात्र वर्षे धान लगाइएको कृषि ज्ञानको तथ्याङ्क रहेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा शीतभण्डार नहुँदा किसान मर्कामा
कञ्चनपुर । शीतभण्डार (कोल्डस्टोर) को अभाव हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसान मर्कामा परेका छन् । जिल्लामा एकमात्र निजी क्षेत्रबाट सञ्चालित शीतभण्डार बन्द भएपछि किसानले उत्पादन गरेका कृषिजन्य वस्तु भण्डारणमा समस्या भएको हो । तरकारी उत्पादनमा संलग्न किसानले आलु, काउली, बन्दागोभीलगायत मौसमी बाली राख्ने ठाउँ नहुँदा बिक्री, व्यवस्थापनमा कठिनाइ भोग्नु परेको गुनासो गरेका छन् । व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका किसान सबैभन्दा बढी प्रभावित बनेका हुन् । अगुवा किसान चेतराज चौधरीका अनुसार जिल्लामा शीतभण्डार नहुँदा तरकारी भण्डारण गर्न कैलालीतर्फ लैजानुपर्ने बाध्यता रहेको बताए । “टाढाको शीतभण्डारमा तरकारी पुर्याउँदा ढुवानी खर्च बढी लाग्छ, त्यसपछि भण्डारण शुल्क पनि तिर्नुपर्छ, बजारमा लैजाँदा लागत धेरैपर्ने भएकाले प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ”, उनले भने। कृषक चामबहादुर डगौरले विगतमा शीतभण्डार हुँदा आलुको बीउ सुरक्षित राख्न सजिलो भएकामा अहिले त्यो सुविधा नहुँदा बाह्य क्षेत्रबाट महँगो दरमा बीउ खरिद गर्नुपरेको बताए । “घरमै राख्दा आलु कुहिने भएकाले उत्पादन भएका बेला सस्तोमा बेच्न बाध्य भयौँ, अहिले दोब्बर मूल्यमा बीउ किन्नुपरेको छ”, उनले गुनासो गरे । शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले किसानको हितका लागि स्थानीय तहले पालिकास्तरमै मिनी शीतभण्डार स्थापना गर्नुपर्ने बताए । यसका लागि कार्यपालिका बैठकमा कुरा राख्ने प्रतिबद्धता उनले व्यक्त गरे । “एक गाउँ एक मिनी शीतभण्डारको व्यवस्था गर्न सके किसानले उत्पादन सुरक्षित राखेर उचित मूल्यमा बिक्री गर्न सक्नेछन्”, उनले भने, “त्यसका लागि सबै पालिकाले चासो दिनुपर्छ ।” शुक्लाफाँटा नगरपालिकाका कृषि शाखा प्रमुख करनसिंह बुढाऐरले तरकारी उत्पादनमा लागेका किसानका लागि शीतभण्डार आवश्यक रहेको बताए। “शीतभण्डार अभावले किसानलाई समस्या परेको हामीले बुझेका छौँ”, उनले भने, “पालिकाले सहकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी मिनी शीतभण्डार स्थापनाको योजना अगाडि बढाउनु उत्तम हुन्छ, त्यसका लागि शाखाकोतर्फबाट हुने सहयोगका लागि तत्पर छौँ ।” उनका अनुसार पालिकाभित्र तरकारी उत्पादन विस्तार हुँदै गए पनि भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा चुनौती बढ्दै गएको छ । समयमै आवश्यक पूर्वाधार निर्माण गर्न नसकिए किसान निरुत्साहित हुने खतरा रहेको उनको भनाइ छ । नगरपालिकाले प्रत्येक वर्षको नगरसभाबाट शीतभण्डार निर्माणका लागि बजेट विनियोजन गर्दै आए पनि स्थान छनोट गर्न नसक्दा कार्य अगाडि बढाउन सकेको छैन । स्थान छनोट नहुँदा प्रत्येक वर्ष विनियोजन गरेको बजेट थन्किने गरेको छ ।
परम्परागत खेती छाडेर गुल्मीका किसान किबीखेतीमा रमाउँदै
गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिक रूपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रूपमा मकै र कोदोखेती मात्र खेती गरिँदै आएको उनले बारीमा किबीका बोट देख्न सकिन्छ । उनले किबी खेतीबाट मात्रै वार्षिक रु ६ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताए । सत्यवती गाउँपालिका–८ मा वडा सदस्य समेत रहेका थापाले विगत ११ वर्षअघि व्यावसायिक रूपमा किबीखेती गर्न सुरु गरेका हुन् । उनले हाल आठ रोपनीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो र मोन्टी गरी ६ वटा किबीका जात लगाएका छन् । जलवायु र भौगोलिक संरचनाका हिसाबले भार्से किबीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ । उनले गत वर्ष किबी र बिरुवा गरी रु छ लाख आम्दानी गरेका थिए । अहिले गत वर्षको तुलनामा अझै राम्रो हुने अपेक्षा गरिएको थापाले बताए । किबीले खेती गरेको तीन वर्षबाटै उत्पादन दिन थालेपछि थापालाई किबीखेती गर्ने उत्प्रेरणा जागेको हो । उनको बारीमा एउटै बोटमा ५० देखि एक क्विन्टलसम्म किबी फल्ने गरेको छ । बारीमा अहिले १५० वटा किबीका बोट छन् । सुरुमा थापाले तार, पाइप र खम्बा बनाउनका लागि रु आठ लाख खर्चेर व्यावसायिक रूपमा किबीखेती गर्न सुरु गरेका हुन् । “त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहुवर्षीय भएको कारण एकपटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु”, उनले भने । किबीमा अन्य जातका फलफूलमा भन्दा रोग खासै नलाग्ने भएको उनले बताए । “वर्षमा दुई पटक हाँगाहरु काँटछाँट गर्नुपर्छ, गोठेमल मात्र प्रयोग गर्दैैै आएको छु, त्यसैअनुसार उत्पादन पनि राम्रो हुँदै गएको छ”, थापाले भने । उत्पादित किबी बजारमा रु २०० देखि ३०० सम्ममा बिक्री भइरहेको छ । भार्सेको किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गर्दछ । उनले किबीलाई प्रशोधन गरेर गत वर्षदेखि किबीको वाइन बनाउन सुरु गरेका छन् । बजारमा किबीको वाइनको राम्रो माग भएको थापाले बताए । किबी बिक्री गर्न बजारको खासै समस्या नभएको थापाको भनाइ छ । उनले पाँच वर्षदेखि किबीको नर्सरीसमेत गर्दै आएका छन् । उनको नर्सरीमा यतिबेला आठ हजार किबीका नयाँ बिरुवा छन् । एउटा बिरुवालाई रु १५० देखि २०० सम्म पर्ने गर्दछ । सत्यवती गाउँपालिकाले भार्से गाउँलाई किबीको पकेटक्षेत्र घोषणा गरी कृषकलाई उत्प्रेरित गर्दै आएको छ । किबीखेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकताअनुसारको तालिम, टनेल, नर्सरी तथा विरुवामा अनुदान उपलब्ध गराउँदै आएको सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताए । किबीका अन्य जातमध्येमा गोल्डेन र रेड किबी सबैभन्दा राम्रो मानिन्छ । यसको मूल्य अन्य जातको किबीकोभन्दा रु एक सय बढी पर्दछ । यस पटक गोल्डेन किबीले राम्रो मूल्य पाएको छ । भार्सेमा पाँच वटा किबी समूह रहेका छन् । उक्त समूहमा हाल ८० जना कृष आबद्ध छन् । त्यहाँका कृषकको घरमा दशदेखि एक सय ५० बोटसम्म किबीका बोट छन् । उक्त क्षेत्रमा अहिले ४० हेक्टर क्षेत्रफलमा किबी उत्पादन हुँदै आएको छ ।
लेकाली भेगका किसानका लागि सतुवा खेती आम्दानीको स्रोत
भोजपुर । जिल्लाका लेकाली भेगका किसान पछिल्ला वर्षहरूमा व्यावसायिक सतुवा (जडीबुटी) खेतीतर्फ आकर्षित भएका छन् । मनग्य आम्दानी र औषधीय उपयोगका कारण यो खेती किसानको प्रमुख रोजाइ बन्दै गएको हो । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा, वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौछा, षडानन्द नगरपालिका–९ किमालुङ र वडा नं १० साम्पाङ, आमचोक गाउँपालिका–४ र साल्पासिलिछो गाउँपालिका–४ खाटम्मालगायत क्षेत्रमा किसानले सतुवाको व्यावसायिक खेती विस्तार गरेका छन् । किसानको भनाइअनुसार सतुवा ‘यार्सागुम्बा’ जस्तै शक्तिवर्द्धक जडीबुटी हो । यो क्यान्सर, ग्यास्ट्रिक, पेट दुख्ने, पोल्ने, काट्ने वा पाकेको घाउ, बान्ता, पखाला तथा घाँटी दुख्ने रोगमा उपयोगी मानिन्छ । सर्पको टोकाइ वा विषसेवनका अवस्थामासमेत यसको उपयोग हुने बताइन्छ । सतुवा करिब एक हजार ४०० मिटर उचाइभन्दा माथिका लेकाली भेगमा राम्रो फस्टाउने गर्दछ । चिस्यानयुक्त, ओसिलो र मलिलो माटो तथा उत्तर–पश्चिम मोहोडा भएको भूभाग यसको खेतीका लागि उपयुक्त हुने किसान बताउँछन् । यस जडीबुटीको गानो अदुवाजस्तै देखिन्छ । प्रायः एउटा बोटमा एक डाँठ पलाए पनि राम्रो फस्टाएको बोटले धेरै वटा दिन सक्छ । किसानले यसको बिरुवा तथा गाना बिक्री गरेर आम्दानी लिँदै आएका छन् । सतुवाखेती लेकाली भेगका किसानाको रोजाइको खेती बन्दै गएको षडानन्द नगरपालिका–१० भिरथाप्लाका निमा शेर्पाले बताए । भदौ–असोजमा फुलेर डाँठ सुक्ने सतुवाको गानो माघ–फागुनमा पुनः पलाउँछ । दुईदेखि तीन वर्षमा फुल्ने सतुवाको एउटै बोटबाट ५० देखि १०० बिरुवा उत्पादन हुन्छ । स्थानीय व्यवसायीका अनुसार सतुवा मुख्यतः भारत र चीन निर्यात हुने गर्छ । यसका बीउ र बिरुवाको माग सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङजस्ता पहाडी जिल्लाबाट पनि आइरहेको किसानको भनाइ छ । औषधीय गुण, बजार मूल्य र फाइदाका कारण सतुवाखेती भोजपुरका लेकाली भेगका किसानका लागि नयाँ सम्भावना बनेको छ ।
सिन्धुलीमा बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित
सिन्धुली । जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका क्षेत्रमा जुनार बगैँचामा रोगका कारण समस्या भएको छ । बोटमा लटरम्म फलेका जुनारका फल कुहिएर भुईँमा झर्न थालेपछि किसान चिन्तित बनेका छन् । गोलञ्जोर गाउँपालिका–४ का जुनार कृषक लोकबहादुर आलेमगरले बिक्रीका लागि बजार पठाउने बेला पछिल्ला दिनमा कुहिएर भुईँमा झरेको दुःखेसो गरे । उनले भने, “बिक्रीका लागि बजार पठाउने बेला समस्या भएको छ । पहिला यस्तो भएको थिएन । खै, यस्तो के रोग लाग्यो ? रोगको पहिचान गरी समस्या समाधान गरिदिन सरकारसँग हाम्रो आग्रह छ ।” कृषकको आग्रहअनुसार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ, सिन्धुली र गोलञ्जोर गाउँपालिका कृषि विकास शाखाको संयुक्त टोलीले असोज २८ गते जुनार पकेट क्षेत्र आलेगाउँ, माझकुभिण्डे र मालिङ्गे क्षेत्रका १५ जना कृषकका जुनार बगैँचाको स्थलगत अवलोकन तथा कृषकसँग अन्तरक्रिया गरेको थियो । अवलोकनका क्रममा जुनार फल तल्लो भागबाट कुहिन सुरु भएको र कुहिएको फल भुईँमा झरेको पाइएको गोलञ्जोर कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताए । उनका अनुसार बोटको तल्लो भागमा रहेका फल बढी कुहिएर झरेको देखिएको छ । अवलोकन गरिएका स्थानमध्ये आलेगाउँ क्षेत्रमा रोगको प्रकोप सबैभन्दा बढी देखिएको छ । शाखा प्रमुख चौधरीले भने, “हामीले जुनार बगैँचामा देखिएको रोगबारे अनुसन्धान गर्न सम्बन्धित निकायसँग सहयोग माग गरेका छौँ । कृषकले बगैँचा सफा राख्नुपर्छ, झरेका फल तुरुन्त सङ्कलन गरी खाल्डोमा पुर्नुपर्छ भनेका छौँ ।” राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम एकाइ प्रमुख यामकुमार श्रेष्ठले प्रारम्भिक विश्लेषण गर्दा ढुसीजन्य रोग हुनसक्ने अनुमान गरिएको बताए। रोगको थप अनुसन्धान र पुष्टि गर्न फलको नमुना बुधबार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) पठाइएको उनले बताए । गोलञ्जोरका केही क्षेत्रका जुनार बगैँचामा रोग देखिन थाले पनि अन्यत्र भने विगतका वर्षमा देखिएका रोगसमेत नियन्त्रण हुँदै गएको एकाइ प्रमुख श्रेष्ठले बताए । जुनार उत्पादनका लागि गोलञ्जोर गाउँपालिकालाई मुख्य केन्द्र मानिन्छ । पालिकाका छ वडामा जुनारको व्यावसायिक उत्पादन भइरहेको छ । रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ जुनारको व्यावसायिक उत्पादन र निर्यात हुँदै आएको छ । “गोलञ्जोरको भूमि जुनार उत्पादनका लागि अत्यन्त उपयोगी मानिन्छ । यसको खेती हाम्रो प्राथमिकतामा छ”, गाउँपालिका प्रमुख शङ्कर राज बरालले भने, “प्रत्येक वर्ष विभिन्न रोग र किराको समस्याले उत्पादनमा असर पुर्याइरहेको छ । रोग र किराको नियन्त्रणका लागि अनुसन्धान र दीर्घकालीन समाधानका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिरहेका छौँ ।” जुनारमा देखिने रोग नियन्त्रण गर्न सरकारी तवरबाट प्रयास नै नभएको होइन, तर हाल भएका प्रयास र जुनार प्रवर्द्धनका लागि आवश्यक व्यवस्थापन अपुग भएको स्थानीय जुनार किसान बताउँछन् । कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको तथ्याङ्कअनुसार जिल्लामा एक हजार ३१८ हेक्टरभन्दा बढीमा जुनार र सुन्तला खेती हुँदै आएको । त्यसमध्ये ७९४ हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएका बोटले उत्पादन दिइरहेका छन् । जिल्लामा बर्सेनि रु ५२ करोड बराबरको जुनार र सुन्तला बिक्री हुने गरेको बताइन्छ ।
दाङका किसानलाई धान काट्ने चटारो
दाङ । लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै थिइन् । धान काट्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, “अहिले मौसम खुलेको छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।” चौधरीले भनिन्, “देउखुरी क्षेत्रमा अधिकांश ठाउँमा सिँचाइ सुविधा पुगेकाले समयमै धान रोपाइँ हुने र छिट्टै पाक्दा दसैँ लगत्तै धान काट्न तथा काटेको धान सुकाएर दाइँ गर्न थालिसकेका छौँ ।” दसैँअगाडि नै धान पाकेर पहेँलै भएकाले किसानले काट्न सुरु गरेका छन् । अहिले मौसम अनुकूल भएपछि भित्र्याउन सुरु गरेको उनीहरूको भनाइ छ । धान स्याहार्ने समयमा दाङसहित देशका विभिन्न ठाउँमा परेको अविरल वर्षाले पाकेको धानमा केही क्षति पुगेको किसान बताउँछन् । वर्षा भए पनि बाढी नआएकाले ठुलो नोक्सानी व्यहोर्नु नपरेको चौधरी बताउँछिन् । “अहिले त्यस्तै वर्षा भएमा ठुलो क्षति हुने डरले बिहानदेखि बेलुकासम्म धान काट्न व्यस्त छौँ”, उनले भनिन् । सीतामात्र होइन अहिले देउखुरी क्षेत्रका अधिकांश किसान बिहानैदेखि बेलुकासम्म धान काट्न तथा बाली भित्र्याउन व्यस्त देखिन्छन् । तिहारको समय नजिकै आइरहँदा किसानलाई धान काट्न चटारो छ । उनीहरूले काटेको धान चाँडै भित्र्याउनका लागि खेतसँगैका सडक किनारामा सुकाउन थालेका छन् । यतिखेर दाङको देउखुरी क्षेत्रमात्र नभई सिँचाइ सुविधा पुगेका जिल्लाका अन्य क्षेत्रमा पनि बिहानैदेखि बेलुकासम्म किसान खेतमा धान काट्न व्यस्त देखिन्छन् । कतै काटेको धान थ्रेसरबाट दाइँ गर्न लागेका देखिन्छन् । बिहानैदेखि खेतमा धान काट्न आउने गरेको र बेलुका मात्र घर फर्कने गरेको लमही नगरपालिका–३ का ६० वर्षीया सावित्रा भण्डारी बताउँछिन्। उनी भन्छिन्, “मौसम परिवर्तन भई पानी परेमा पाकेको धानमा क्षति हुन्छ । वर्षभरि खानपुग्ने खेती बिग्रिएमा कसरी परिवार पाल्ने भन्ने पिरलो लाग्छ । तिहारका लागि रोटी पकाउने, घर सरसफाइलगायतका सबै काम छाडेर सबै जना बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त छौँ ।” देउखुरीमा मात्र होइन, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, पश्चिम दाङका दङ्गीशरण, शान्तिनगर, बबई गाउँपालिकामा पनि धान पाकेर पहेँलै भएको छ । त्यहाँका किसानले पनि धान काट्न सुरु गरिसकेका छन् । दङ्गीशरण गाउँपालिका–३ रावत गाउँका माइली चौधरी बिहानैदेखि धान काट्न सुरु गरेको बताउँछिन् । तीन बिघा जमिन भाडामा लिएर धानखेती गरेको बताउने उनी पानी पर्छ कि भन्ने डरले बिहानैदेखि बेलुकासम्म खेतमै हुने गरेको बताइन् । जिल्लामा ३७ हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यहाँका किसानले यस वर्ष सावित्री, राधा–४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२ लगायतका वर्णशङ्कर जातका धान लगाएका थिए । यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२, सुक्खा–३ जातका धान लगाएका थिए ।

