महाभारत गाउँपालिकामा आर्थिक उपार्जनको माध्यम बन्दै कफीखेती

धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडाका सिकान शङ्खलाल थोकर विदेशबाट फर्केपछि कफीखेती गर्दै आएका छन् । उनीसँगै गाउँका अरु किसानले पनि कफीखेतीलाई आर्थिक उपाजर्नको माध्यम बनाएका छन् ।

अहिले कफीको दाना टिप्ने मौसममा डाँडैभरि कफीको बगैँचाका बोटभरि लटरम्म फलेका फलले बोट लर्केको देख्न पाइन्छ । मकै, कोदोलगायत खेतीभन्दा कफीबाट आम्दानी बढी हुने भएकाले थोकरले कफीखेतीलाई निरन्तरता दिँदै आएको बताए ।

उनी अहिले कफी टिप्ने, पल्पिङ गर्ने र सुकाउने काममा व्यस्त छन् । यस वर्ष करिब रु २५ लाखसम्म आम्दानी हुने अनुमान गरिएको थोकरले उल्लेख गरे । “गत वर्षभन्दा यो वर्ष प्रशस्त मूल्य पाइएको छ”, उनले भने, “खाना, लाउन र छोराछोरीलाई पढाउन सबै खर्च व्यवस्थापन हुँदै आएको छ ।” गाउँमा थोकरको परिवारले पहिलोपटक व्यावसायिक कफीखेती सुरु गरेकाे हाे ।

सोही ठाउँका ज्ञानबहादुर बोम्जनले छ वर्षदेखि व्यावसायिक कफीखेती गर्दै आएका छन्। “कोदो, मकै लगाउँदा वर्षभरि खट्नुपर्छ, कफीखेतीमा तीन महिना खट्दा लाखौँ आम्दानी हुन्छ”, उनले भने, “छ रोपनी जग्गामा करिब दुई हजार बोट रोपेर त्यसबाट आम्दानी लिँदै आएको छु ।” गत वर्ष रु पाँच लाख आम्दानी गरेको जनाउँदै उहाँले यस वर्ष करिब रु १० लाख आम्दानी हुने बताए।

महाभारतको महादेवराटका पातली माया घिसिङले धान रोप्न छोडेर कफीखेती गरेकी छिन् । दश वर्षदेखि खेती गर्दै आएकी उनले धानभन्दा दोब्बर आम्दानी हुने भएकाले कफीखेतीलाई प्राथमिकता दिएको बताएन् । “पहिलापहिला मकै, कोदो रोप्दा खानालाई मात्रै ठिक हुन्थ्यो । छोराछोरीलाई पढाउन ऋण लिनुपर्ने अवस्था थियो । त्यसलाई छोडेर कफीखेती गर्न थालेपछि खर्च कटाएर मनग्य आम्दानी हुन्छ”, उनले भनिन् । उनका अनुसार वर्षको करिब एक हजार ५०० किलोसम्म कफी उत्पादन हुन्छ ।

गाउँपालिकाका कृषि शाखा प्रमुख खिम डाँगीले विसं २०७८ देखि कफीको बिरुवा वितरण गर्न थालेकामा अहिलेसम्ममा तीन लाख ३१ हजार वितरण गरिसकिएको बताए । उनका अनुसार गाउँपालिकाको चार हजार ५०० रोपनी क्षेत्रफलमा कफीखेती हुँदै आएको छ । पालिकाका एक हजार ९२० परिवारले कफीखेती गर्दै आएका जनाउँदै पछिल्लोसमय यसप्रति किसानको आकर्षण बढ्न थालेको उनले बताए।

किसान कफीखेतीमा आकर्षित भएपछि गाउँपालिकाको समन्वयमा बगमती प्रदेश सरकारको सहयोगमा समुदायमा आधारित ‘एक वडा एक कृषि कफी उत्पादन कार्यक्रम’समेत सञ्चालन हुँदै आएको कृषि शाखा प्रमुख डाँगीले जानकारी दिए ।

उनका अनुसार उक्त कार्यक्रमअन्तर्गत अहिलेसम्म ३८ हजार कफीका बिरुवा, पाँच हजार छहारीका बिरुवा, १२ थान मिनी टिलर, चार थान कफी पल्पर मेसिन, ५० थान ड्रम, दुई रोपनी क्षेत्रफलमा थोपा सिँचाइ, दुई रोपनी क्षेत्रफलमा प्लास्टिक मल्चिङसहित कफी बगैँचा, एउटा कफी नर्सरी र तीन वटा सिँचाइ पोखरी कार्यक्रम सम्पन्न भएका छन् ।

यहाँका अधिकांश किसान कफीखेतीतर्फ आकर्षित हुन थालेपछि गाउँपालिकाले अनुदानमा कफीका बोट र आवश्यक उपकरण वितरण गर्नुका साथै एक बोट बराबर रु २० का दरले अनुदानसमेत दिन थालेका कृषि शाखा प्रमुख डाँगीले बताए ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले विगत केहीवर्षदेखि माटो परीक्षण गर्ने, किसानलाई अनुदानमा बिरुवा तथा कफी प्रशोधन गर्ने उपकरण वितरण गर्नेदेखि कफीको बोट रोप्ने किसानलाई ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ बीसको नोट’ कार्यक्रमसहित प्रतिबोट रु २० का दरले अनुदान दिने गरिएको जानकारी दिए ।

एकातिर पालिकाको सहयोग अर्कोतर्फ कफी खरिदका लागि घरआँगनमा आउन थालेपछि किसानमा उत्साह छाएको छ । कफीबाट किसानलाई आत्मनिर्भर बनाउने योजनाका साथ काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।

महाभारत गाउँपालिकाबाहेक अन्य सरोकार भएका निकायले पनि आवश्यक सहयोग र समन्वय गरेकाले कफीखेतीतर्फ आकर्षित हुन थालिएको किसानको भनाइ छ । टिपेर काँचै बिक्री गर्न सकिने र पेलेर, सफा गरेर पनि बिक्री गर्न सकिने भएकाले सबैले कफीखेती गर्न थालेका किसानहरू बताउँछन् ।

पछिल्लो समय यहाँ कफी टिप्ने मौसम भएकाले आपसमा आलोपालो गरेर दैनिकजसो पाकेको कफी टिप्ने, पल्पर मेसिनमा हालेर बोक्रा फाल्ने र चेरी सुकाउने काममा किसानको व्यस्तता बढेको छ ।

पहिलादेखि खेती गर्दै आएको भए पनि पछिल्लो समयमा बजारीकरण र सडक सञ्जाल खुलेपछि अधिकांशको आम्दानीको स्रोत कफीखेती भएको छ । पछिल्लो समयमा डाँडापारि क्षेत्रमा उत्पादन भएको कफी खरिदका लागि विदेशी सङ्घसंस्थाका प्रतिनिधिहरू बगैँचासम्म पुग्ने गरेका छन् ।

दाङमा विस्तार हुँदै स्ट्रबेरी खेती

दाङ । हरेक वर्ष स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी गर्दै आएका वीरेन्द्र खड्काले यस वर्ष पनि स्ट्रबेरी खेतीलाई निरन्तरता दिएका छन् ।  चार वर्षदेखि व्यावसायिक स्ट्रबेरी खेती गर्दै आएका खड्काका अनुसार हाल बोटमा फल लाग्न सुरु भएको छ । “धेरै जसो बोटमा फल लागिसकेको छ,” उनले भने, “अबको आठ/दस दिनभित्रै खानलाई तयार हुन्छ ।”  रोल्पा माडी गाउँपालिका–१, जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिँगौरामा स्वर्गद्वारी आश्रमको एक बिघा जग्गा लिजमा लिएर ‘एग्रोमार्ट फार्म’ दर्ता गरी व्यावसायिक स्ट्रबेरी खेती गर्दै आएका छन् । गत वर्ष १६ कट्ठामा खेती गरेका खड्काले यस वर्ष सोही ठाउँमा थप चार कट्ठासहित एक बिघामा स्ट्रबेरी खेती बढाएको जानकारी दिए ।  उनले गत वर्ष झन्डै २५ लाख रुपियाँ बराबरको कारोबार भएको र यस वर्ष गत वर्षभन्दा राम्रो आम्दानी हुने अपेक्षा गरेको बताए । उनले घोराहीमा स्ट्रबेरीको खेती राम्रो भएपछि यसै वर्षदेखि तुलसीपुरमा पनि पाँच कट्ठामा र गृहजिल्ला रोल्पामा पनि आठ रोपनी जग्गामा व्यावसायिक रूपमा खेती गर्दै आएको बताए ।  “बिरुवा खरिद, थोपा सिँचाइ र मल्चिङ विधि अपनाउँदा सुरुमा आठ लाख रुपियाँभन्दा बढी खर्च भएको थियो,” उनले भने, “अहिले त्यसैले काम गरिरहेकाले त्यति खर्च भएको छैन तर तुलसीपुर र रोल्पामा चाहिँ करिब त्यस्तै लगानी पुगेको छ ।”  उनका अनुसार स्ट्रबेरी दुई महिनादेखि तीन महिनाको बिचमा उत्पादन दिन सुरु हुन्छ । खड्काले यस वर्ष आफूले दुई चरणमा स्ट्रबेरी रोपेको जानकारी दिए । “पहिलो चरणको असोजको अन्त्यतिर रोपेको थिएँ,” उनले भने, “दोस्रो चरणको कात्तिकको पहिला साता रोपिएको हो, यी दुवै चरणमा रोपिएका बिरुवाले अहिले उत्पादन दिने तयारीमा छ ।” उनले स्ट्रबेरी प्रतिकिलो आठ सय रुपियाँका दरले बिक्री गर्दै आएको जानकारी दिए । 

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दैनिकी राप्ती नदीको बगरमाथिको चिसो बालुवामा फलाइएको सखरखण्ड खन्नमै बित्ने गरेको छ । पुसको चिसो बिहान, कुहिरो र सिरेटोबीच रामपति दैनिक जीवनको जिम्मेवारी बोकेर बगरमा आइपुग्छन् । छोराछोरीलाई खाना खुवाएर बिहान ८ बजेसम्म उनी सखरखण्ड खन्ने ठाउँमा पुग्छन् । बिहानदेखि बेलुकासम्म कठोर श्रम गरेर उनी दैनिक ६०० रुपैयाँ कमाउँछन् । “दिनभरिको कमाइले घर व्यवहार चलाउन सकेको छु”, उनले भने । गाउँकै व्यक्तिले बगरमा सखरखण्ड लगाएका थारुले बताए । सखरखण्ड बालुवाबाट केलाएर झेउवामा हाल्ने र बिक्रीका लागि थुप्रो बनाउने काम रामपतिले दिनहुँ गर्छन् । रामपति जस्तै सोही पालिका वडा नम्बर ६ मेहमानपुरका वीरबहादुर थारुको पनि यही दैनिकी बनेको छ । उनी पनि राप्ती नदीको बगरमाथिको बालुवामा लगाइएको सखरखण्ड खन्न दिनहुँ आइपुग्छन् । दैनिक करिब १० घण्टा काम गरेर उनले पनि रामपतिले जस्तै रु ६०० कमाउँछन् । “घरमा पनि गर्ने खेती नै हो । अहिले खेतीको सिजन छैन । गाउँकै साथीले लगाएको हुनाले खाली समय काम गरेर कमाउन आएको हुँ”, उनले भने, “दैनिकी ज्याला थोरै भयो । तर खाली बस्नुभन्दा त यही पनि ठुलो कुरो हो ।” जाडो याममा धेरै व्यक्ति आगो तापेर घरभित्रै बस्न चाहन्छन् । तर डाँडाटपरीका नन्कु गदिया भने बिहानै सखरखण्ड खन्न बगरतर्फ लाग्छन् । उनी पनि रामपति र वीरबहादुर जस्तै दैनिक ज्यालामा काम गरेर परिवारको गुजारा चलाउँदै आएका छन् । सखरखण्ड खनेर कमाएको पैसाले परिवार र घर खर्च जोहो गर्न सहज भएको उनी बताउँछन् । “यो समय यसै पनि किसानहरू खाली बस्ने समय हो । तर यो समयमा सखरखण्ड खनेर भए पनि पैसा कमाउन पाएको छु”, उनले भने, “यसले मेरो घर खर्च चल्न सजिलो बनाएको छ ।” बिहानको चिसो सिरेटोसँगै रामपति, वीरबहादुर र नन्कु जस्तै अन्य कामदार पनि सखरखण्ड खन्न राप्ती नदीको बगरमा आइपुग्छन् । यही बगरमा डाँडाटपरीका ४५ वर्षीय फत्तेसिंह थारुले विगत ९ वर्षदेखि करिब २५ कट्ठा क्षेत्रफल जग्गा भाडामा लिएर सखरखण्ड खेती गर्दै आएका छन् । “मैले २०७४ सालमा बगरमाथिको यो जग्गा भाडामा लिएर सकरखण्ड खेती गर्दै आएको छु”, उनले भने, “सुरुआती वर्षहरूमा नदीले डुबान पारेर बगरमा लगाएको सखरखण्ड सबै डुबाइदियो । त्यति बेला मलाई लगभग ६०–७० हजार रुपैयाँ जति घाटा लागेको थियो ।” फत्तेसिंहका अनुसार उनी सखरखण्डसँगै तरबुजा खेती पनि गर्दै आएका छन् । सुरुआती वर्षहरूमा नदीको बहाव नियन्त्रण गर्न नसक्दा ठुलो घाटा बेहोर्नु परेको उनी बताउँछन् । “पहिला पहिला त खासै अनुभव थिएन । नदीको बगरमा लगाएको हुनाले नदीको बहावले मलाई धेरै घाटा बनायो । अहिले काम गर्दै जाँदा नदीको बहावलाई कसरी रोक्ने भन्ने कुराको अनुभव भयो र अहिले खासै घाटा भएको छैन”, फत्तेसिंहले भने। रु ४५ हजारको लगानीमा लगाएको सखरखण्ड फत्तेसिंहले यस वर्ष ६५ क्विन्टल उत्पादन गरिसकेका छन् । हाल सखरखण्ड प्रतिकिलो ६० का दरले किसानबाट खरिद भइरहेको छ भने बजारमा रु ८० देखि रु १०० सम्ममा बिक्री भइरहेको छ । “अरू खेतीको तुलनामा यो खेती गर्न धेरै सजिलो छ । तर नदीको बहावको धार फर्काउन सक्नुपर्दछ”, उनले भने, “यसको बिरुवा उमार्न पनि खासै गाह्रो छैन । उम्रिसकेपछि फल्न फलाउन धेरै मेहनत गर्नु पर्दैन । तर यसलाई लगाउन कामदार धेरै चाहिन्छ र समय पनि धेरै खर्च हुन्छ ।” फत्तेसिंहले फलाएको सखरखण्ड नेपालगन्ज, काठमाडौँ, पोखरा, धनगढी, विराटनगर, इटहरी, सुर्खेत, दाङलगायत ठाउँमा बिक्रीका लागि पुग्ने गरेका छन् । सखरखण्ड खरिद गर्न अहिले व्यापारी राप्ती नदीको बगरमा आउने गरेका छन् । फत्तेसिंहले सखरखण्डका बिरुवा आफ्नै घरमा उमार्ने गर्दछन्।

चिराइतो बिक्री नहुँदा किसान चिन्तित

ताप्लेजुङ । यहाँ उत्पादित चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रु ६५ हजारसम्ममा खरिद बिक्री भएको चिराइतो यस वर्ष कारोबार ठप्प छ । मिक्वाखोला गाउँपालिका–५ पापुङका तेन्जिङ पेर्शाले गत वर्ष रु ४० हजारमा २० मन चिराइतो बिक्री गरे । व्यापारी घरमै आएर चिराइतो खरिद गरे । तर यस वर्ष भने चिराइतो सङ्कलन गरे पनि अहिलेसम्म खरिदका लागि व्यापारीहरू सम्पर्कमा नआएको शेर्पाले बताए । उनले भने, “चिराइतो सङ्कलन गरेर राखिएको छ । खै कति छ दाम थाहा छैन । बिक्री हुने कि नहुने थाहा छैन ।” फक्ताङलु गाउँपालिका–६ आहाले गाउँका रामबहादुर ताम्मादेन विगत १५ वर्षदेखि चिराइतोखेती गर्दै आएका छन् । उनले बीचमा चिराइतोखेती गर्न छाडेर वैदेशिक रोजगारीमा समेत गए । आफ्नै गाउँघरका पाखोबारीमा प्रशस्त मात्रमा खेती गर्न सकिने चिराइतो राम्रो सम्भावना देखेर वैदेशिक रोजगारीदेखि पुनः आफ्नै गाउँमा चिराइतोखेती गर्न फर्किए । गाउँमा आएर चिराइतो खेतीसँगै चिराइतो खरिद बिक्रीसमेत गर्न थाले । ताम्मादेनले गत वर्षमात्र १२५ मन चिराइतो खरिद गरेर चीनको तिब्बत निर्यात गरे । उनले तिब्बतमा रु ४० देखि ६५ हजारमा चिराइतो बिक्री गरेको बताए । तर यस वर्ष भने चिराइतोको कारोबार शून्यजस्तै रहेको ताम्मादेनले बताए । उनले भने, “गत वर्षको तुलनामा यस वर्ष चिराइतो उत्पादनसमेत कम छ । गत वर्ष एउटा गाउँबाट २०० केजी सङ्कलन हुनेमा अहिले १०० केजी पनि चिराइतो सङ्कलन भएको छैन ।” गाउँघरमा प्रतिमन (४० केजी) को रु १७ देखि १८ हजारमा खरिद बिक्री हुँदै आएको चिराइतो व्यापारी राम ताम्मादेनले बताए । गत सातामात्र चीनको तिब्बतका र भारत निर्यात गर्ने व्यापारीसँग सम्पर्क गरेको ताम्मादेनले बताए । भारतीय व्यापारीले भन्दा चीनका व्यापारीले राम्रो मूल्य दिने भएकाले धेरै चिराइतो तिब्बत हुँदै चीन निर्यात हुँदै आएको छ । विगतमा गाउँकै धेरै चिराइतो उत्पादन गर्ने फक्ताङलुङ गाउँपालिका–६ किसोङवा गाउँका केरसिं लिम्बू अहिले चिराइतोखेती गर्न छाडेका छन् । लिम्बूले विगतमा ७५ मनसम्म चिराइतो उत्पादन गर्दथे । चिराइतोको बजार मूल्य निश्चित नहुने प्रत्येक वर्ष बजार मूल्य उतारचढाव भइरने भएकाले किसानले चिराइतोखेती गर्न छाड्दै गएका उनले बताए । विगतमा राम्रो चिराइतो सङ्कलन हुने किसोङवा, लुङथुङ, लावाजेनजस्ता गाउँमा अहिले न्यून मात्रामा मात्र चिराइतो उत्पादन हुँदै आएको लिम्बूले जानकारी दिए । नेपालको पूर्वी क्षेत्रमा उत्पादन हुने चिराइतो ताप्लेजुङको तिप्ताला नाका हुँदै चीनको तिब्बत निर्यात हुँदै आएको छ । चिराइतो व्यापारीले विगत छ वर्ष अगाडि सङ्खुवासभा, भोजपुर, तेह्रथुम, इलामका चिराइतो हेलिकप्टरमार्फत ओलाचुङगोलासम्म ढुवानी गरेका थिए । विगत कोभिड–१९ का कारणले टिप्तालानाका बन्द हुँदा प्रत्यक्ष असर चिराइतो किसानलाई परेको थियो । नाका बन्द हुँदा किसानले उत्पादन गरेका चिराइतो तिब्बत हुँदै चीन निर्यात हुन सकेन । चिराइतोको बजार नपाएसँगै धेरै किसानले चिराइतोखेती गर्नसमेत छाडेर अन्य पेसा अँगाल्न पुगेका छन् । तर गत वर्षदेखि भने तिप्तालानाका खुलेसँगै चिराइतो चीन निर्यात हुन थालेको व्यापारीको भनाइ छ । विगत तीन वर्ष आगाडि फुङलिङ नगरपालिका–१० टेकमान भट्टराईले प्रतिकेजी रु एक हजार १२५ का दरले सात क्विन्टल चिराइतो घरबाटै बिक्री गरेका थिए । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ का चिराइतो खरिद बिक्री गर्दै आएका व्यापारी टासी शेर्पाले प्रतिमन रु ४५ हजारमा ५० मन चिराइतो सङ्कलन गरेर झापाको विर्तामोडमा लगेर बिक्री गरेका थिए । गाउँमा उत्पादित चिराइतो बजारसम्म लैजान डिभिजन वन कार्यालयमा प्रतिकिलो रु १५ राजस्व बुझाउनुपर्छ । गत आव ताप्लेजुङबाट पाँच हजार ८२० केजी चिराइतो निकासी भएको डिभिजन वन कार्यालयले जनाएको छ । आव २०७९/८० मा पाँच हजार ८०० केजी ताप्लेजुङमा चिराइतो उत्पादन भएको थियो भने चिराइतोबाट रु ८७ हजार राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । वन कार्यालयको तथ्याङ्कअनुसार ताप्लेजुङमा आव २०७७/७८ मा १६ हजार ३०० केजी चिराइतो सङ्कलन भएकामा यसबाट रु दुई लाख ४४ हजार ५०० राजस्व जम्मा भएको थियो । विगतका तुलानामा चिराइतो उत्पादन क्रमिक घट्दै गएको देखिन्छ । चिराइतो सङ्कलन गरेर जिल्ला बाहिर लैजान अनेक प्रक्रियागत झन्झट रहेको व्यापारी बताउँछन् । झार वर्गको यो वनस्पति सङ्कलनका लागि २८ महिनामा मात्रै योग्य हुने गरेको छ । तर एकपटक लगाएपछि बर्सेनि लगाउनु भने पर्दैन । पाकेको फूल आफैँ झर्छ र त्यहीँ उम्रन्छ । पहिलो वर्ष काण्ड वृद्धि नभई त्यसबाट पात पलाई मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउने र यसमा फूल फुल्ने र बीउ लाग्ने किसान बताउँछन् । दुई वर्षमा सप्रेको बोट १।५ मिटरसम्म अग्लो हुने किसानको भनाइ छ । नेपालमा कुल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने बताइएको छ । बाँकी २० प्रतिशत चीन, स्वीडेन, हल्यान्ड, मलेसिया, सिङ्गापुर, जर्मनी, इटाली, फ्रान्स, स्वीटजरल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, अमेरिकालगायत देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ । यो जडीबुटी विभिन्न प्रकारका रोग निको पार्न प्रयोग गरिन्छ । परम्परागत चिकित्सा पद्धतिजस्तै आयुर्वेद, युनानी, होमियोप्याथी, सिद्धा, सोवारिग्पामा घरेलु औषधिका रूपमा चिराइतोको प्रयोग हुने गर्छ । मुख्यगरी यसको प्रयोग बलवर्द्धक, ज्वरोनाशक र कब्जियत खुलाउनका लागि प्रयोग हुने वनस्पति विभागले जनाएको छ । तिब्बती चिकित्सा पद्धतिमा चिराइतोको प्रयोग पित्त र ज्वरोको प्रयोग हुने उल्लेख गरिएको छ । महिलामा हुने महिनावारी गडबडी, कब्जियत, पित्तनाशक, शरीर सुन्निएको ठाउँमा, श्वेत प्रदर, छालारोग, दाद निको पार्न/गर्न प्रयोग गर्न सकिन्छ भने चिराइतोबाट ब्याक्टेरिया, ढुसी आदि पनि निर्मूल गर्न सकिन्छ । वनस्पति विभागका अनुसार नेपालको पूर्वी भेग ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरदेखि मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरालगायत जिल्लामा प्राकृतिक रूपमै चिराइतो हुने गर्दछ ।

महोत्तरीका उखु किसानलाई अहिले धपेडी

महोत्तरी । महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने बेला घर्कँदै गर्दा खुट्टी (दोस्रो वर्षको बाली) उखु काटेर चिनी उद्योगमा पुर्‍याउन र पेलेर सख्खर बनाउन किसानलाई धपेडी परेको हो । भङ्गाहा–४ प्रेमनगरका किसान रामविलास महतोले पुस तेस्रो साताभित्र चैतेबाली लगाइसक्नुपर्ने भएकाले आफूहरू त्यसैमा लागेको बताए । उनले भने, “समयको चाप छ, त्यसैले हाल मुटु कँपाउने जाडो पनि नभनी उखुको काममा जोतिनुपरेको छ ।” यता एक पटक लगाइएको उखु खेतीबाट दुई वर्ष बाली लिइन्छ । पहिलो वर्षको बालीलाई ‘मुडन’ र दोस्रो वर्षकोलाई ‘खुट्टी’ भनिन्छ । हाल खुट्टी उखु भएको जग्गामा तत्काल चैते (चैती) बाली लगाउनुपर्ने बाध्यता छ । “गहुँ त पुस २२ सम्म लगाइसक्नुपर्छ, वैशाखी –चैत र वैशाखमा उत्पादन लिइने तरकारी पनि ढिलोमा पुसभरिमा लगाइसक्नुपर्छ”, बर्दिबास–७ चौखिका किसान जगन्नाथ महतो भन्छन्, “उखु व्यवस्थापन नगरी चैतेबाली नलाग्ने हुँदा हाल हामीलाई सास फेर्ने फुर्सतसमेत नभएको अवस्था छ ।” जिल्लाको उत्तरी क्षेत्रको जग्गा चाँडै रुखो हुने हुँदा पुस महिनाभित्रै बाली लगाउन नपाए छ महिना बाँझो पर्ने चिन्ताले किसान दिनरात नभनी उखु व्यवस्थापन लागेका उनले बताए । जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले गत सोमबारदेखि उखु ‘क्रसिङ’ सुरु गरिसकेको छ । हाल किसानले धमाधम उद्योगमा उखु पुर्‍याइरहेका छन् । कतिपयले घरआँगनमै उखु पेलेर सख्खर बनाउन थालेका छन् । गौशाला–१२ कालीपुरका किसान भोगेन्द्र महतोले भने, “मुडन उखु त झण्डै चैतसम्मै काट्दा पनि हुन्छ, खुट्टी काट्ने समय भने बितिसक्यो । खुट्टी उखु काटेरमात्र नभइ त्यसलाई पेल्ने र सख्खर बनाउनेसम्मको चाँजो सँगसँगै गर्नुपर्ने हुँदा भ्याइनभ्याइ परेको छ ।” जिल्लामा यसपालि नौ हजार ६०० बिघामा रहेको उखुखेतीमध्ये पाँच हजार बिघामा खुट्टी छ । उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले मङ्सिर १५ भित्रै खुट्टी उखु कटान गर्न चिनी उद्योग सञ्चालन हुन पर्नेमा त्यसमा ढिलाइ हुँदा किसानलाई केही धपेडी परेको बताए । “हामीले सरकारलाई प्रत्येक वर्ष कात्तिक १५ भित्र चिनी उद्योग, उखु उत्पादक किसानका प्रतिनिधि र सरकारबिचको सहमतिमा उखुको मूल्य निर्धारण र मङ्सिर १५ बाट क्रसिङ सञ्चालन हुनुपर्ने माग राख्दै आएका छौँ”, उनले भने, “सोअनुसार तालिका कार्यान्वयन नहुँदा किसानलाई कठिनाइ भइरहेको छ ।” सरकारले यसपालि निकै ढिलो गरी मङ्सिर २२ मा मात्र उखुको मूल्य निर्धारण गरेको थियो । आगामी वर्ष समयमै तालिका कार्यान्वयन गर्न सरोकार भएकाहरू सबै हालैदेखि लाग्नुपर्ने अध्यक्ष कुशवाहाको भनाइ छ ।

काभ्रेमा कृषि–पर्यटन प्रवर्द्धनार्थ ‘सुन्तला–हाइकिङ’

काभ्रेपलान्चोक । यहाँ कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । विभिन्न निकाय तथा सङ्घ–संस्थाको आयोजनामा यस पटक परीक्षण र प्रवर्द्धनका रूपमा कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ । होटल एसोसिएसन अफ नेपाल (हान) काभ्रेपलान्चोक च्याप्टरको आयोजना र धुलिखेल नगरपालिका पर्यटन परिषद्को विशेष सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसमा जिल्लास्थित नेपाल युवा उद्यमी मञ्च र रोटरी क्लब अफ धुलिखेलले सहकार्य गर्ने जनाइएको छ । यस्तै कार्यक्रम १५ वर्षअघि पनि सञ्चालन गरिएको थियो । त्यो कार्यक्रम केही वर्षपछि सुस्ताएको थियो । हानका जिल्लाध्यक्ष प्रह्लाद प्याकुरेलले उक्त कार्यक्रमलाई पुनः सञ्चालन गर्न लागिएको बताए । उनले जिल्लाको कृषि र पर्यटनलाई जोड्ने उद्देश्यका साथ डेढ दशकपछि ‘सुन्तला–हाइकिङ’ कार्यक्रम पुनः सञ्चालनमा ल्याइने बताए । डेढ दशकअघि सन् २०१० को नोभेम्बरमा नेपाल पर्यावरण तथा पर्यटन जागरण आधारशीला (नेटिफ) ले नेपाल पर्यटन बोर्डको सहयोगमा नमोबुद्ध–बल्थली ‘सुन्तला–हाइकिङ’ कार्यक्रम आयोजना गरेको थियो । यस पटक पाँच वर्षपछि भएको हान काभ्रेपलान्चोक च्याप्टरको अधिवेशनसँगै कार्यक्रम बुँत्याइएको जनाइएको छ । जिल्लामा सुन्तलाखेतीको प्रचुर सम्भावना रहेकाले यसै सिजनमा नयाँ स्वरूपमा कार्यक्रम ब्युँताइने धुलिखेलस्थित होटल सारथीका प्रबन्ध निर्देशकसमेत रहेका प्याकुरेलले बताए । क्रिसमसको दिन पारेर (आज) बिहीबार औपचारिक रूपमा कार्यक्रम सञ्चालनमा ल्याइने उनले जानकारी दिए । कार्यक्रमअन्तर्गत पदयात्रा मुख्यतया जिल्लाको पर्यटकीय क्षेत्र नमोबुद्धबाट बल्थलीसम्म ‘रुट’ तय गरिएको छ । पदयात्रीले पहेँलपुर सुन्तला बगैँचाको दृश्यावलोकन गर्दै यात्रा गर्न पाउनेछन् । साथै स्थानीय बगैँचाका बोटबाटै ताजा सुन्तलासमेत खान पाउनेछन् । यात्रामा नमोबुद्धको धार्मिक वातावरण र बल्थलीको प्राकृतिक सुन्दरताको अनुभव लिँदै बल्थलीस्थित लड्केश्वर महादेवस्थान परिसरको विश्वकै अग्लो त्रिशूललगायतका धार्मिक तथा पर्यटकीय विकासबारे अवलोकन गर्न सकिने जनाइएको छ । क्रिसमसको बिदाको दिन भएकाले पैदल यात्रामा पर्यटन व्यवसायी, उद्योगी, जनप्रतनिधि, सञ्चारकर्मी, कन्टेन्ट क्रियटर, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, ट्राभल एजेन्सीलगायत कृषि सम्बद्ध पदाधिकारी गरी १०० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ । यसपटकको प्रवर्द्धनात्मक ‘सुन्तला हाइकिङ’ को अनुभवले आगामी वर्षदेखि सुन्तलाको सिजन (नोभेम्बर र डिसेम्बर) मा एक महिनाकै ट्राभल प्याकेज बनाउने लक्ष्य लिएको हानले जनाएको छ । यसमा होटल–रिसोर्टका ट्यारिफमा विशेष छुट्का साथै अन्य आकर्षण थप्ने योजना बनाएको छ । आगामी वर्षदेखि सुन्तला सिजनमा कम्तीमा एक हजार जना पर्यटक काभ्रेपलान्चोक आउने र ‘सुन्तला हाइकिङ’ मा रमाउने गरी व्यवस्थापन गर्ने तयारी हुने हानले जनाएको छ । यसबाट स्थानीय होटल, रिसोर्ट, होमस्टे र कृषि क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । करिब डेढ सयमध्ये हाल जिल्लामा ३२ वटा स्तरीय होटल तथा रिर्सोट हानमा आबद्ध छन् । यसैबिच जिल्ला कृषि विकास कार्यालयले यस वर्ष काभ्रेपलान्चोकमा सुन्तला उत्पादन १० देखि १५ प्रतिशतसम्म बढ्न सक्ने प्रक्षेपण गरेको छ । गत वर्ष भने बाढी पहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो । हाल सुन्तला पकेट क्षेत्रमा उत्पादनको लगत लिने काम भइरहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार प्रारम्भिक लगतका हिसाबले गत वर्षाभन्दा १० देखि १५ प्रतिशतसम्म सुन्तला उत्पादन बढ्न सक्ने प्रक्षेपण गरिएको हो । कार्यालयका अनुसार जिल्लामा विसं २०८१ मा सात हजार ५०० मेट्रिकटन सुन्तला उत्पादन हुने प्रक्षेपण गरिए पनि बाढी पहिरोका कारण बगैँचामा क्षति पुर्‍याउँदा ५०० मेट्रिकटन गिरावट भएको थियो । जिल्लाको कुल क्षेत्रफलमध्ये करिब एक हजार ३०० हेक्टर अर्थात् करिब ३० हजार रोपनी क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यस वर्ष भने करिब आठ हजार मेट्रिकटन सुन्तला उत्पादन हुने जनाइएको हो ।

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेका छन् । शर्माले १६ रोपनी क्षेत्रफलमा जैविक विधिबाट व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गरेका हुन्। गाईभैँसीको गहुँतलाई भकारोबाट पाइपमार्फत ड्रममा सङ्कलन गरी त्यसमा तितेपाती, असुरो, वनमारा र खिर्रोको पात मिसाएर विषादी बनाई सुन्तला र तरकारीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेको शर्माले बताए। “रासायनिक मल र विषादीको विकल्पमा जैविक मल उत्पादन गर्न फार्ममै एक भैँसी, तीन गाई र १४ वटा बाख्रा पालेको छु”, उनले भने, “जैविक विषादीको प्रयोगबाट दिगो कृषि, स्वस्थ्य उपज उत्पादनका साथै पर्यावरण सन्तुलन कायम राख्न सहयोग पुगेको छ ।” जैविक विषादीलाई पानीको मात्रा मिलाएर सुन्तलाको बोट र तरकारी बालीमा छर्कँदा मल र शत्रुजीव नष्ट गरी दोहोरो फाइदा गर्ने शर्माको अनुभव छ । पर्यावरण सन्तुलनका लागि व्यावसायिक रूपमा खाद्यबाली, फलफूल र तरकारीखेती गर्ने किसानले एकीकृत कृषि गर्नुपर्ने उनको सुझाव छ । सन् २००२ मा रोजगारीका लागि युएई गएका शर्माले १० वर्ष त्यहाँ बिताएपछि सन् २०१२ मा स्वदेश फर्किएर बिसम कृषि तथा पशुपालन फार्म स्थापना गरेका थिए। “घर फर्किएलगत्तै विदेश जानुअघि लगाएका एक सय ५० सुन्तलाका बोटलाई स्याहारसुसार गरेर उत्पादन दिने बनाउनुका साथै बाँझिएको पाखोबारीमा तीन सय नयाँ बिरुवा लगाएँ”, उनले भने, “यो वर्ष प्रतिकिलो रु ७० का दरले ७० क्विन्टल सुन्तला चितवनका व्यापारीलाई बगैँचाबाट बिक्री गरेँ ।” विदेशमा गर्ने मेहनत र परिश्रम आफ्नै खेतबारीमा गर्न सकेमा घरपरिवारसँगै बसेर आयआर्जन गर्न सकिने शर्माको अनुभव छ । सुन्तलाखेतीबाट आम्दानी हुन थालेपछि रोजगारीका लागि विदेश जाने सपना त्यागेको उनले बताए । शर्मालाई श्रम तथा रोजगार मन्त्रालयले गत वर्ष वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गरेकामा पुरस्कृत गरेको थियो । कृषि विकास कार्यालयले गत असार र मालिका गाउँपालिकाले गत फागुनमा उत्कृष्ट कृषकका रूपमा सम्मान गरेको थियो । शर्माले सुन्तलाका बिरुवा उत्पादन गर्ने नर्सरी पनि स्थापना गरेका छन् । गत वर्ष रु ८० हजार मूल्यबराबरको सुन्तलाका बिजु (बियाँबाट उत्पादन गरेको) बिरुवा बिक्री गरेका शर्माले यस वर्ष आठ हजार नयाँ बिरुवा तयार पारेका छन्। बगैँचामै सडक सुविधा पुगेका कारण कृषि उपज बजारीकरणमा समस्या छैन । नजिकै पानीको स्रोत भएकाले सिँचाइको सुविधा पनि सहज छ । शर्मासँगै उनका छिमेकी लक्ष्मण गौतम, तेजेन्द्र शर्मालगायत किसानले पनि गहुँ, मकै, धान, कोदोलगायत परम्परागत खाद्यबाली छाडेर व्यावसायिक सुन्तलाखेती गरेका छन् ।

भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । अगुवा किसान दलबहादुर थापाले यस वर्ष रु १६ लाखको सुन्तला बिक्री गरेका छ । अघिल्लो वर्ष रु १३ लाखको सुन्तला बिक्री गरेका उनले यस वर्ष रु तीन लाख बढी आम्दानी लिएको बताए । उनले भने, “भिरालो जग्गामा अन्य खेतीभन्दा सुन्तला उपयुक्त हुन्छ भनेपछि यसलाई नै निरन्तरता दिइरहेका छौँ । बाबुबाजेले पनि सुन्तलाखेती गर्नुभयो । म पनि त्यसकै निरन्तरतामा छु ।” आफू २० वर्षदेखि यसैलाई निरन्तरता दिइरहेको उनको भनाइ छ । भिरालो जग्गा रहेकाले यहाँ अन्य खेती गर्न समस्या भएपछि यहाँका कृषकहरू सुन्तलाखेतीमा लागेको उनले जानकारी दिए । उनले भने, “मकै, कोदोखेती गर्न त मिल्छ, तर सुन्तला लगाउनका लागि उपयुक्त रहेकाले सबै जना सुन्तलाखेतीमै आबद्ध हुनुहुन्छ ।” थापाले बेनीकोटमा विगत केही वर्षदेखि सुन्तलाका बोट मर्ने समस्या रहेको गुनासो गरे । थापाका अनुसार यहाँ उत्पादित सुन्तला काठमाडौँ कालीमाटीमा बिक्री गरिन्छ । बजारीकरणको कुनै समस्या नरहेको बताउँदै उनले भने, “प्रतिकेजी सुन्तला रु १०० सम्म बिक्री हुने गरेको छ । विगतका वर्षमा रु ९५ सम्म बेच्थ्यौँ, यो वर्ष मूल्य केही बढी पाएका छौँ ।” बेनीकोटका १०० भन्दाबढी कृषक सुन्तलाखेतीमा आबद्ध छन् । यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । यहाँका कृषकले रु २० हजारदेखि रु १६ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट भएको हो । “मौसमको अनियमितताले धानखेती गर्ने किसान सबैभन्दा बढी प्रभावित भएका छन्”, उनले भने । तथ्याङ्कअनुसार गत वर्ष ३७ हजार ७९० मेट्रिक टन धान उत्पादन भएको भोजपुरमा यस वर्ष ३६ हजार ९९८ मेट्रिक टनमात्र उत्पादन भएको छ । यस्तै, गत वर्ष १२ हजार १५४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा यस वर्ष ११ हजार ५०० हेक्टरमा मात्र खेती विस्तार भएको छ । बेमौसमी वर्षाका कारण करिब ७८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा आंशिक तथा पूर्ण क्षति पुगेको केन्द्रले जनाएको छ । जिल्लाभर करिब ९६ प्रतिशतमात्र रोपाइँ भएको थियो । जिल्लाका सबै स्थानीय तहका तल्लो भेग तथा बेँसी क्षेत्रमा धानखेती हुने गरेको छ । कतिपय उपयुक्त बेँसी क्षेत्रमा किसानले वर्षमा दुई बाली धान उत्पादन गर्दै आएका छन् । तर यस वर्ष मौसम प्रतिकूल हुँदा उत्पादन घटेको किसानको भनाइ छ ।

व्यावसायिक रूपमा बेसारखेती गर्दै बैतडीका महिला

बैतडी । बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । बिगतमा घरयासी प्रयोजनका लागि मात्रै बेसारखेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका हुन् । खाद्यबाली जङ्गली जनावरले क्षति पुर्‍याउन थालेपछि बेसारखेती गरिरहेको पाटन नगरपालिका–६ की कलसा लुहारले बताइन् । “बाँदरले अन्य बालीमा क्षति पुर्‍याउन थाल्यो । बाँझो जमिनको सदुपयोग गर्दै व्यावसाहिक रूपमा अघि बढ्न बेसारखेती गरिरहेका छौँ”, उनले भनिन् ।  जिल्लाको पाटन नगरपालिका, सिगास र सुर्नया गाउँपालिकाका महिला उद्यमी समूहमा आवद्ध ४४ महिलाले बेसारखेती गरिरहेका छन् । घरका लागि मात्रै बेसार उत्पादन गर्दै आएकामा अहिले व्यावसायिक रूपमा खेती गर्न थालेका सुर्नया गाउँपालिका–६ की पवित्रा शाहले बताइन् । ‘सारथी नेपाल’ले ‘दिगो आम्दानीमार्फत महिला उद्यमीको सशक्तीकरण’ परियोजनाअन्तर्गत बीउ र प्राविधिक सहयोग गरेपछि बेसारसँगै लसुनखेती समेत गरिरहेको उनले जानकारी दिइन् । सारथी नेपालले पाटन नगरपालिका–६, ८ र ९, सिगास गाउँपालिका–१ र २ तथा सुर्नया गाउँपालिका–६ उक्त परियोजना सञ्चालन गरेको छ । परियोजनामार्फत महिला उद्यमी समूहमा आवद्ध महिला किसानलाई बीउ र प्राविधिक सहयोग गर्र्दै आएको परियोजनाका फिल्ड सुपरभाइजर दिपेश धामीले बताए । बाँझो जमिनको सदुपयोग गरी महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउन सारथी नेपालले बीउबिजन तथा अन्य सहयोग गर्दै आएको छ । परियोजनाअन्तर्गत महिलाले बेसारसँगै अदुवा, लसुन र टनेलभित्र गोलभेँडाखेती समेत गरिरहेका कार्यक्रम संयोजक भुपाल बोहराले बताए । “महिलाले राम्रै मेहनत गरिरहनुभएको छ । साढे तीन सय क्विन्टल बेसार उत्पादन हुने अपेक्षा गरेका छाैँ, उनले भने, “बेलाबेला प्राविधिकसहित बारीमा पुगेर समस्याबारे छलफल गर्छांै र समाधान पनि खोज्छौँ ।”

कञ्चनपुरका किसानलाई उखु काट्न भ्याइनभ्याइ

कञ्चनपुर । जिल्लामा चिनी तथा गुण उद्योगले उखु क्रसिङ सुरु गरेसँगै कञ्चनपुरका किसान यतिवेला खेतबारीमा व्यस्त देखिएका छन् । बेलौरी–१० शिवनगर, पुनर्वास नगरपालिका–२ दशरथ बस्ती तथा बेलडाँडीका गुण उद्योगहरूले उखु क्रसिङ थालेपछि दक्षिणी क्षेत्र बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीका किसान उखु काट्न सक्रिय भएका हुन् । नगदे बालीका रूपमा रहेको उखु बिक्रीका लागि किसान बिहानदेखि साँझसम्म खेतमै समय बिताइरहेका छन् । सरकारले चालू आर्थिक वर्ष ०८२/८३ देखि उखुको मूल्य प्रतिक्विन्टल ३५ रुपैयाँले बढाएर ६२० रुपैयाँ कायम गर्नुका साथै ७० रुपैयाँ अनुदान दिने निर्णय गरेपछि किसान उत्साहित भएका छन् । उखु उत्पादक किसान हकहित तथा संरक्षण समिति कञ्चनपुरका कोषाध्यक्ष चेतनकुमार राईले अपेक्षाअनुसार मूल्य नबढे पनि अघिल्लो वर्षभन्दा सुधार भएकाले किसान खुसी भएको बताए । उनले अनुदान भुक्तानीमा ढिलासुस्ती नगर्न सरकारसँग माग गरे । जिल्लाको दक्षिणी क्षेत्रमा चिनी उद्योग स्थापना भएपछि उखुखेती किसानका लागि घरदैलोमै रोजगारी र आम्दानीको मुख्य स्रोत बनेको छ । १५ वर्षअघि बेलौरी र १० वर्षअघि पुनर्वासमा चिनी उद्योग सञ्चालनमा आएपछि उखुखेती विस्तार भएको छ । पहिले किसान भारतमा सस्तोमा उखु बेच्न बाध्य भए पनि अहिले स्वदेशमै बिक्री सहज भएको छ । बेलडाँडी–४ का युवा किसान दिलप्रसाद शर्माले उखुखेतीलाई स्वरोजगारको माध्यम बनाएको बताए । उनले आठ बिघा कञ्चनपुर र छ बिघा बर्दियामा उखुखेती गर्दै वार्षिक करिब एक करोडको कारोबार गर्दै आएको बताए । त्यस्तै, पुनर्वास नगरपालिका–९ का उखु किसान नारायणप्रसाद जैसीले उखु नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्ने बताए । बेलौरी–१० का किसान चक्रहादुर कडायतले ३२ बिघामा उखुखेती गर्दै वार्षिक ५०–६० लाखको उखु बिक्री गर्दै आएको जानकारी दिए । किसानहरूले मल, बिउ, औषधि र सरकारी अनुदान प्रक्रियामा झन्झट भएको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका दुवै चिनी उद्योगले दैनिक २५ हजार क्विन्टलभन्दा बढी उखु क्रसिङ गर्दै आएका छन् ।

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको अनुभव नभए पनि तीन वर्षअघि उनले सुरु गरेकाे तरुलखेतीबाट अहिले २२ जनाको जीविकोपार्जन सुनिश्चित बनेको हो । खेमराजले सुन्दरहरैँचा–७ को ७५ बिघा भन्ने ठाउँमा तीन बिघा जमिन भाडामा लिएर सुरु गरेका हुन् । “जिन्दगीमा खेतीको नाममा केही पनि जानकारी थिएन, तर तीन वर्षको प्रयासपछि तरुलखेतीबाट २२ जनालाई रोजगारी दिनुका साथै आत्मनिर्भर बनाउन सफल भएको छु”, उनले भने ।  सुन्दरहरैँचा–७ को ‘७५ बिघा’ भन्ने ठाउँ वर्षौँदेखि पानीको कमी र जगङ्ली जनावारको आतङ्कले ग्रस्त थियो । धान र मकै सुक्ने, बोरिङको पानीले मात्रै पुग्ने अवस्था थिएन । “पहिले केराखेती पनि हुन्थ्यो । तर हात्तीको आतङ्कले बोटहरूमा क्षति भइरहन्थ्यो”, खेमराजले भने । त्यस्तो अवस्थामा उनले वैकल्पिक खेतीकाम रूपमा तरुल छनोट गरेको उनको भनाइ छ । खेमराजले भने, “साथीभाइले सुरुमा गरेको देखेपछि मलाई पनि रहर लागेर आयो । तीन बिघा जमिन भाडामा लिएर तरुल लगाएँ, आज सात बिघामा विस्तार भएको छ ।” उनिसँगै उभिएका जग्गाधनी प्रकाश उप्रेतीले भने, “पानी नै नभएर सबै बाली सुक्थ्यो । पूर्वाञ्चल विश्वविद्यालय बनेपछि बाटोको छेउ परेपछि झन पानी आउने विकल्प नै रोकियो । तर तरुल भने सुकेको जमिनमा पनि उत्पादन हुँदो रहेछ ।” तरुलखेतीबाट प्रशस्त आम्दानी हुने देखिएपछि यहाँका किसानमा पुनः आशा पलाएको उनको भनाइ छ । उप्रेतीका अनुसार तरुलको एउटै बोटले तीन–पाँच किलोसम्म फल दिने, बजारमा माघेसङ्क्रान्तिसम्म माग बढ्ने भएकाले किसानको मुहारमा उत्साह देखिएको छ । सफलतासँगै जङ्गली जनावरको सास्ती भने कायम नै रहेको स्थानीय किसान बताउँछन् । “यस क्षेत्र कहिले बँदेल, कहिले मृग र कहिलेकाहीँ हात्ती आइरहन्छन्”, खेमराजले भने, “बँदेलले बोटै उखेलेर खाइदिन्छ । तरुल जोगियो भने सुन फल्दो रहेछ । तर जोगाउनै चुनौतीपूर्ण बनेको छ ।” उनले बिघाको रु ६० हजारका दरले सात बिघाको भाडा तिर्दै आएको बताए । सबै खर्च काट्दा वर्षको करिब रु सात लाख बचत हुने जनाउँदै उनले यहाँबाट २२ जनाले रोजगारी पाएका उल्लेख गरे ।  केराबालीमा रोगको समस्या बढेपछि विकल्पका रूपमा आफूले तरूलखेती रोजेको उनले जानकारी दिए । पहिले आफ्ना लागि मात्र रोपिने तरुल अहिले व्यावसायिक खेतीका रूपमा विस्तार हुँदै गएको छ । स्थानीय दोमट माटो, सुख्खा भू–परिवेश र अनुकूल हावापानीका कारण तरुलखेती यस क्षेत्रका लागि उपयुक्त मानिएको किसान खेमराजले बताए । धान, मकै र केरा जस्ता बालीमा हात्तीको उपद्रो बढ्दै गएपछि किसान वैकल्पिक नगदे बालीतर्फ आकर्षित भएका उनको भनाइ छ ।  “तरुलको बाक्लो झाँडीभित्र हात्ती पस्न नसक्ने भएकाले यो खेती सुरक्षित छ”, खेमराजले भने । बँदेलले भने केही नोक्सानी पुर्‍याउने गरेको किसानको गुनासो छ । उनका अनुसार बारीबाटै प्रतिकिलो रु ४५ का दरले तरुल बिक्री हुँदै आएको छ । व्यापारीहरू दैनिक गाउँगाउँमा जुटका बोरा बोकेर आउने भएकाले खनेर बोरा भर्ने मात्रै काम गर्नुपर्ने किसान खेमराजले बताए । “बिक्री नहोला कि भन्ने चिन्ता लिनुपर्ने अवस्था छैन”, उनले भने ।  गत मङ्सिर १५ देखि पुस २७ सम्म तरुल खन्न सकिने भएकाले विशेषतः माघे सङ्क्रान्तिका लागि बढी खपत हुन्छ । सोही कारणले किसानले पुस २७ भित्र सबै तरुल बजारमा पठाउने तयारी गरेका छन् । एउटा बोटबाट करिब १० किलोसम्म उत्पादन हुने खेमराजले जानकारी दिए ।  सिँचाइ, बजार व्यवस्थापन र जङ्गली जनावर नियन्त्रणमा स्थानीय सरकारबाट सहयोग भएमा सुन्दरहरैँचा नगरपालिका तरुलखेतीका लागि मुलुककै नमूना बन्न सक्ने किसान खेमराजको बुझाइ छ । उनका अनुसार तरुल नगदेबाली मात्र नभएर सङ्घर्ष, सम्बन्ध र सम्भावनाको प्रतिक बनेको छ ।  यहाँका किसानको पसिनाले बाँझो जमिनलाई फेरि उत्पादनशील बनाइरहेको उनले बताए । यहाँ तरुलखेती गर्ने किसानले भोगेका सङ्घर्ष, सफलताको कथा किसान र स्थानीय समाजबीचको सहकार्य, आत्मनिर्भरता र रोजगारीको मार्ग बन्दै गएको किसानको भनाइ छ । 

स्याङ्जामा कोदो, मकै फल्ने बारीमा सुन्तलाकाे बगैँचा

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यसवर्ष सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका छन् । ५७ वर्ष पहिला कोदो, मकै फल्ने बारीमा बुवाले थालेको सुन्तला खेतीलाई बिस्तार गर्दै उनले आम्दानी लिन थालेका हुन् । कोदो, मकैबाटभन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने सम्भावना देखेर थालिएको सुन्तला खेती अहिले आम्दानीको मुख्य स्रोतकोरूपमा रहेको छ । विसं २०७५ सालदेखि व्यावसायिक रूपमा सुन्तला खेती गरेका सेनले सुन्तलाको बगैँचा विस्तारमा जोड दिँदै हाल ३६ रोपनीमा व्यावसायिक रूपमा खेती गर्दै आएका छन् । उनले यसवर्ष ३०० सुन्तलाका बोटमा फलेको सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका हुन् । “३६ रोपनी क्षेत्रफलमा फैलिएको सुन्तला बगैँचामा रहेको बोटहरुमध्ये यसवर्ष ३०० बोटमा मात्रै उत्पादन भएको हो” उनले भने, “स्थानीय स्याङ्जाकै सुन्तला व्यापारीलाई बोट नै १५ लाखमा ठेक्कामा दिएको हुँ ।” स्थानीय सुन्तला व्यापारीले बगैँचाबाट सुन्तला टिप्ने, ढुवानी तथा बजारीकरणको काम गरेका हुन् । बगैँचामा पुराना ३०० र नयाँ एक हजार ५० गरी एक हजार ३५० वटा सुन्तलाका बोट रहेका छन् । नयाँ बोट फल्नेक्रममा रहेकाले आगामी वर्षमा उत्पादन र आम्दानी सँगसँगै वृद्धि हुँदै जाने उनले बताए । उनको बगैँचामा स्थानीय जातका सुन्तला र धनकुटाबाट ल्याएर लगाएका ‘खोकु’ जातका सुन्तलाका बोटहरु छन् । “यहाँ उत्पादन भएको सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन” उनले भने, “उत्पादन हुनुपर्‍याे । स्थानीय तथा पोखरालगायतका ठाउँका व्यापारी बगैँचामै आउने गरेका छन् ।” किसानले सुन्तलाको बोट नै वा फुटकरमा दुबै तरिकाले सुन्तला बिक्री गर्ने गरेका छन् । बारीमा निर्वाहमुखी रूपमा उत्पादन हुने कोदो तथा मकैले गुजारा चलाउँदै आएका स्थानीय कोदो तथा मकैको विकल्पका रूपमा गरिएको सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गईरहेका छन् । “बुवाले सुरुमा परीक्षणका रूपमा २५ वटा बोट लगाउनुभएको थियो, केही वर्ष राम्रो फल्यो अनि बिस्तारै बोट मर्दै गए” उनले भने, “पहिला लगाएका बोटहरु मरेपछि फेरी मैले गोरखाबाट कलमी बेर्ना ल्याएर लगाएँ त्यो पनि ५/६ वर्षमै बोटहरु मरे, २८७ वटा बोट जरैदेखि फालिदिएँ ।” सुन्तला कृषक सेनले जस्तै ठुलाडिहीका ३१ घर परिवार व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । प्रत्येक घरले एकदेखि १५ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गर्दै आइरहेका छन् । सुन्तलामा पटक–पटक असफल हुँदै गर्दा पनि हरेस नखाइ निरन्तर रूपमा अगाडि बढ्नुभएका सेनले कृषि प्राविधिकको सल्लाह बमोजिम बेर्ना तथा अन्य सरसल्लाहअनुसार पुनः सुन्तला खेती गरेका थिए । 

जुम्लामा १८ हजार मेट्रिक टन स्याउ उत्पादन

जुम्ला । जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिक टन स्याउ उत्पादन हुँदा रु ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यहाँका आठवटै स्थानीय तहका २४ हजार ८३८ परिवारमध्ये १९ हजार १५० परिवार स्याउ खेतीमा संलग्न छन् । जिल्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर रहेको कार्यालयले जनाएको छ । त्यसमध्ये स्याउखेती गरिने क्षेत्रफल आव २०८१/८२ मा चार हजार ३२५ हेक्टर रहेकामा चालु आवमा बढेर चार हजार ४४५ हेक्टर पुगेको कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आवमा दुई हजार १२५ हेक्टरमा मात्रै स्याउ फलेको हो । पछिल्लो समय जिल्लामा स्याउखेती गर्ने किसान बढ्दै गएका छन् । आव २०८१/८२ मा स्थानीय जातका र उच्च घनत्व (फुजी) स्याउको कूल उत्पादन आव २० हजार ५१२ मेट्रिकटन भएको थियो । चालु आवमा उत्पादन घटेर १८ हजार २४५ मेट्रिकटन भएको कृषि विकास कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार यो वर्ष असिना र वेमौसमी वर्षाले गर्दा १० प्रतिशतले उत्पादन घटेको हो । अहिले एक हजार ७६५ मेट्रिकटन स्याउ भण्डारगृहमा राखिएको छ । यो वर्ष जिल्लामा स्याउ बिक्रीमा संलग्न किसान सात हजार ३५० र व्यापारी ६०३ रहेका कृषि विकास कार्यालय प्रमुख अधिकारीले बताए । नासो र कोसेलीमार्फत दुई हजार ६४८ मेट्रिकटन स्याउ जिल्लाबाट निर्यात भएको उनले जानकारी दिए । जिल्लामा हाल ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा उच्च घनत्वको स्याउ उत्पादन हुने गरेको छ । यो वर्ष जिल्लामा ५८६ मेट्रिकटन उच्च घनत्व जातको स्याउ उत्पादन भएको जनाउँदै उनले त्यसमध्ये ४२७ मेट्रिकटन निर्यात भएको बताए । जिल्लामा हाल उत्पादित स्याउका जातहरूमा ‘रेडडेलिसियस’, ‘रोयलडेसियस’, ‘गोल्डेन डेलिसियस’, ‘रिचारेड’ र ‘जनाधन’ रहेका कृषि विकास कार्यालयले जनाएको छ । हाल उत्पादित उन्नत जातमध्ये फुजी गाला (इटालियन जात)को स्याउखेती हुने गरेको प्रमुख अधिकारीको भनाइ छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले नयाँ सिफारिस गरेका जातमध्ये ‘स्टारकिमसन’, ‘डेलिसियस’, ‘बाइट एन अर्ली’ र ‘स्टार्क स्पर गोल्डेन’ जात रहेका भन्दै उनले सोको खेतीबारे अध्ययन भइरहेको जानकारी दिए । गत वर्षको तुलनामा स्याउ उत्पादन कम भए पनि यो वर्ष किसानले मूल्य पाएकाले आम्दानी भने बढी भएको अनुमान गरिएको उनले बताए ।

बाँझो जमिन उपयोग गरी पर्वतको जलजलामा सामूहिक आलुखेती

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा सामूहिक आलुखेती सुरु गरिएको छ । हिउँदमा बाँझै रहने ८० रोपनी क्षेत्रफलमा स्थानीय जलजला गाउँपालिकाको सहलगानीमा आलुखेती गरिएको हो । गाउँमा रहेको बाँझो जमिनलाई सदुपयोग गरी रोजगारी सिर्जना गर्ने र किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले आलुखेती सुरु गरिएको गाउँपलिकाका अध्यक्ष राजु आचार्यले बताए । पालिकालाई बीउ आलुमा आत्मनिर्भर बनाउने उद्देश्यले जलजला–बाँसबोट कृषक समूहमार्फत आलुखेती सुरु गरिएको उनले जानकारी दिए । “धाइरिङको बाँसबोटका १६ जना कृषकले यस वर्ष ११५ बोरा आलुको बीउ रोपेका छन् । किसानले व्यक्तिगत रूपमा ५० बोरा आलु रोपेका हुन् । बाँकी ६५ बोरा आलु गाउँपालिकाले सहयोग गरेको हो । गाउँपालिकाले गत वर्ष उत्पादित बीउ पोखरा लगेर चिस्यान गृहमा राखेको थियो । सोही बीउ कृषक समूहलाई दिएर सहलगानीमा खेती सुरु गरिएको हो”, अध्यक्ष आचार्यले भने । दुई वर्षअघि पुर्जाखोला सिँचाइ आयोजना निर्माण सकिएपछि बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । यसअघि हिउँदमा बाँझो हुने बारीमा खेती गरेर हराभरा बनाउन किसान अग्रसर भएका स्थानीय सौगात आचार्यले बताए । बाँझिएको जमिनलाई सदुपयोग, रोजगारी सिर्जना र किसानको आयआर्जन वृद्धिका लागि जलजला गाउँपालिकाले बीउ आलु उत्पादन कार्यक्रममार्फत किसानलाई सहयोग गरेको उनको भनाइ छ । राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको मूल बीउलाई पिविएम प्रविधिबाट (बियाँबाट आलुको बीउ उत्पादन) गरेर जलजला गाउँपालिका बीउ आलुमा आत्मनिर्भर भएको छ । पिविएम प्रविधिबाट उत्पादन भएको बीउ आलु पाँच पुस्तापछि खानयोग्य हुन्छ । यसअघि जलजलाका कृषकले करिब ५० वर्ष पुरानो बीउ प्रयोग गर्दै आएका थिए । पुरानो बीउ लगाउँदा एक बोराबाट सातदेखि १० बोरासम्म उत्पादन हुनेमा नयाँ बीउ लगाउँदा एक बोराले २० बोरासम्म उत्पादन दिने गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । किसानले उत्पादन गरेको बीउ आलुलाई प्रतिकिलो रु ६५ मा खरिद गरेर ५० प्रतिशत ढुवानीमा अनुदान दिएर पोखराको चिस्यान गृहमा भण्डारण गर्ने र प्रतिकिलो रु १५ अनुदान दिएर किसानलाई वितरण गर्ने व्यवस्था मिलाएको उपाध्यक्ष आचार्यले जानकारी दिए । मौसम अनुकूल भएमा अहिले लगाइएको आलुखेतीबाट दुई हजार मेट्रिकटनभन्दा बढी उत्पादन हुने भन्दै यसले कृषकको उपभोग तथा आयआर्जनका लागि ठुलो टेवा पुग्ने उनको भनाइ छ । बाँदरका कारण बालीनाली जोगाउन मुस्किल हुने भएकाले सामूहिक आलुखेती भएको बाँसबोटमा तीन महिनाका लागि बाँदर हेरालु राख्ने गाउँपालिकाले तयारी गरेको छ । तरकारीको पकेट क्षेत्रका रूपमा विकास हुँदै गएको जलजलाको बनौ, शालिजा, लेकफाँट, धाइरिङमा बर्खे आलुखेती हुन्छ । सल्यान, नाग्लीवाङ, मल्लाजमा हिउँदे आलुखेती गरिँदै आएको छ ।

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पादनमा कमी आएको हो । पहिले खेती गर्ने बारीमा हिजोआज किसानले किबी, सुन्तला, कागतीलगायत फलफूलखेती गरेका छन् भने कतिपय जमिन बाँझै छन् । अघिल्लो वर्ष जिल्लामा १० हजार ८०० मेट्रिकटन कोदो उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएकाे छ । यसवर्ष उत्पादन घटेर १० हजार ७३१ मेट्रिकटन भएको केन्द्रका निमित्त प्रमुख कुमार पुनमगरले जानकारी दिएयो । उनका अनुसार गत वर्ष आठ हजार ४६० हेक्टरमा कोदोखेती भएको थियो भने यस वर्ष आठ हजार ४५० हेक्टरमा खेती लगाइएको थियो । बर्सेनि जिल्लामा कोदो उत्पादनमा कमी आइरहेको केन्द्रका निमित्त प्रमुख पुनमगरले बताउनुभयो । कोदोखेती गर्ने क्षेत्र घट्दा उत्पादन पनि घटेको उनको भनाइ छ । पछिल्लो समय किसान कोदोखेती छोडेर नगदेबालीतर्फ आकर्षित भएका उनले बताए ।  कृषि ज्ञान केन्द्रले किसानलाई रैथाने बाली तथा स्थानीयखेतीतर्फ आकर्षित गर्नका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको पुनमगरले जानकारी दिए । अहिले कोदोको माग अत्यधिक बढेपछि बाहिरबाट आयात गर्नुपरेको उनको भनाइ छ । “पछिल्लो केही वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष कोदोको उत्पादन घटेको देखिन्छ, किसानले परम्परागत खेती गर्न विस्तारै छोड्दै छन् । खेती गर्ने क्षेत्र घट्दा उत्पादनमा गिरावट आएको देखिन्छ”, पुनमगरले भने, “अहिले धेरै किसानले कोदो फल्ने बारीमा कागती, सुन्तलालगायत नगदेबाली लगाउन थालेका छन् ।” ग्रामीण क्षेत्रका पाखोबारीमा काम गर्ने जनशक्ति पाइन छोडेपछि कोदोखेती कम हुन थालेको स्थानीय बताउँछन् । कुनैबेला कम खपत हुने बालीका रूपमा रहेको कोदो अहिले सहरबजारका ठूलाठूला होटल तथा रेष्टुरेन्टमा माग हुने गर्दछ । ग्राहकको माग बढ्न थालेपछि होटल सञ्चालकले ग्रामीण क्षेत्रबाट कोदो मगाउन थालेका छन् । मागअनुसार कोदो पाउन मुस्किल पर्ने गरेको होटल व्यवसायी तुलबहादुर थापामगरले बताए । जाडोका बेला ढिँडोका र अन्यबेला कोदोकै सेलरोटीको माग बढी आउने गरेको उनको भनाइ छ । थापाले भने, “सहरबजारबाट आउने पाहुनाले कोदोको ढिँडो भनेर हैरानै पार्छन्, गाउँमा कोदो पाउन छोड्यो, पहिले कोदोको ढिँडो पनि के खानु र भन्थे । अहिले त्यही ढिँडो महत्वपूर्ण बनेको छ । गाउँका बारी जति सबै बाँझो हुँदै गएका छन्, सहरबजारमा बस्नेले ढिँडो खोज्छन् ।” गाउँमा काम गर्ने जनशक्ति नपाउँदा कोदो फलाउने बारी बाँझोमा परिणत हुँदै गएको जैमिनी नगरपालिका–८ श्यामबहादुर थापाले बताए । एकदशक अगाडिसम्म गाउँमा बजारबाट चामल ल्याउन समस्या हुने गरेको भन्दै उनले कोदोको ढिँडो र रोटी खाएर जीविकोपार्जन गर्ने गरिएको स्मरण गरे । उनका अनुसार पहिले कोदोखेती हुने पाखोबारी अहिले सबै बनमाराले ढाकिएको छ ।