सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर
भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको हो ।
विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भर पर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले बताए । हाल २२ रोपनी क्षेत्रमा करिब २०० वटा सुन्तलाका बोट लगाएर व्यावसायिक खेती गर्दै आएका राईले वार्षिक रूपमा करिब पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
“अहिले सुन्तलाको मुख्य सिजन हो,” उनले भने, “गाउँभरि सुन्तला बिक्री भइरहेको छ । मैले प्रत्येक वर्ष करिब पाँच लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्दै आएको छु ।”
यस क्षेत्रका करिब १२० घरपरिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । बगान नै एकमुष्टमा ठेकेदारलाई बिक्री गर्न पाइने भएकाले खुद्रा बिक्रीको झन्झट कम भएको राईको भनाइ छ । सडकका कारण गाउँघरमा फलेको सुन्तला धरान, इटहरी, बिर्तामोड, विराटनगर, काठमाडौँलगायतका मुख्य सहर, बजारमा जाने गरेको छ । एक पटक रोपिसकेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले सुन्तला खेती किसानको रोजाइमा परेको हो ।
सुन्तला खेती वडाबासीको प्रमुख आम्दानीको स्रोत बनेपछि खेती प्रवर्द्धनका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेको टेम्केमैयुङ–५ का वडाध्यक्ष सुनिल राईले जानकारी दिए । उनका अनुसार सुन्तला खेतीलाई प्राथमिकतामा राख्दै पकेट क्षेत्र निर्धारण गरेर वडाले सहयोग गर्दै आएको छ । वडाध्यक्ष राईले भने, “यहाँका किसानले सुन्तलाको बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । खेती प्रवर्द्धनका लागि वडाले आवश्यक सहयोग गरिरहेको छ ।”
कृषि पकेट कार्यक्रम अन्तरगत गत वर्ष वडाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरी किसानलाई उन्नत जातका सुन्तलाका बिरुवा वितरण गरेको थियो ।
भोजपुर जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरी टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुने गर्छ ।
कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार गत वर्ष जिल्लामा छ हजार २९३ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । हाल उत्पादन बजारमा बिक्री भइरहेकाले विवरण सङ्कलन भइरहेको छ ।
यस्तो छ रासायनिक मल आयातको अवस्था
काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको स्पष्ट पारेको छ । चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य निर्धारण गरेको छ । रासायनिक मल आयातका लागि चालु आर्थिक वर्षमा रु २८ अर्ब ८२ करोड बराबरको बजेट विनियोजन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार यही मंसिर महिनाको दोस्रो सातासम्म दुई लाख ६६ हजार पाँच सय १० मेट्रिक टन रासायनिक मल आपूर्तिको क्रममा छ । त्यसमा कृषि सामग्री कम्पनीले एक लाख ८० हजार चार सय ९१ मेट्रिक टन र साल्ट टे«डिङ कर्पोरेसनले ८६ हजार १६ मेट्रिक टन रासायनिक मल आयात गरिरहेको छ । कृषि सामग्री कम्पनीले ८८ हजार दुई सय १३ मेट्रिक टन युरिया, ९२ हजार दुई सय ७८ मेट्रिक टन डीएपी मल आयात गरिरहेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले २४ हजार चार सय ९८ मेट्रिक टन युरिया, ५३ हजार सात सय ९५ मेट्रिक टन डीएपी र सात हजार सात सय २५ मेट्रिकटन पोटास आयातको क्रममा रहेको जनाएको छ । यस्तै, कूल ८६ हजार तीन सय ३३ मेट्रिक टन रासायनिक मल गोदाममा मौज्दात छ । मौज्दातमा रहेको मध्ये कृषि सामग्री कम्पनीमा ५७ हजार आठ सय १८ मेट्रिकटन र साल्ट टेडिङ कर्पोरेशनमा २८ हजार पाँच सय १४ मेट्रिक टन उपलब्ध छ । यस्तै, आयातको क्रममा बाह्य मुलुकका विभिन्न मार्गमा एक लाख २० हजार पाँच सय ९७ मेटिकटन रहेको मन्त्रालयले जनाएको छ । खेतीपातीका लागि सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सबै प्रकारका उपाय अबलम्बन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।
रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै
बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएको माटो तथा मल परीक्षण प्रयोगशाला खजुराका माटो विज्ञ खिमबहादुर केसीले बताए। नि:शुल्क माटो जाँच शिविरको प्रतिवेदनले माटोमा क्षारीयपन बढी रहेको पाइएकाले माटोको उर्भरशक्ति कमजोर बन्दै गएको उनको भनाइ छ । माटोमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रासमेत कम देखिएको जनाउँदै उनले यसले उत्पादनमा ह्रास आउने उल्लेख गरे। “युरिया, डिएपीलगायत रासायनिक मलको अत्यधिक प्रयोग गरिएको पाएका छौँ । रासायनिक मल मनपरी ढङ्गले प्रयोग गरिँदा माटोमा रहने विभिन्न तत्वमा गम्भीर असर परेको छ”, उनले भने, “प्राङ्गारिक पदार्थ तथा मलको मात्रा नबढाउँदासम्म माटो सुध्रिदैन, माटोको परीक्षण गरेर रिपोर्टका आधारमा सन्तुलित मात्रामा रासायनिक मलको प्रयोग गर्नुपर्छ ।” प्राङ्गारिक मलको विकल्पमा किसानले रासायनिक मलको प्रयोग गर्दा उत्पादन घट्नुका साथै माटोको सन्तुलनमा नकारात्मक असर पर्दै गएको प्रयोगशालाका प्रमुख आशीष पाठकले बताए। खेतबारीमा पराल जलाउने, रोटाभेटरको प्रयोग गर्ने, प्राङ्गारिक मलको प्रयोग नगरी रासायनिक मल असन्तुलितरूपमा प्रयोग गर्नाले माटोको अवस्था बिग्रिँदै गएर उत्पादकत्व कम हुँदै गएको उनको भनाइ छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा विनोद घिमिरेले माटोको अवस्था सुधार नगरे आगामी पुस्ताले प्राङ्गारिक र जैविक उत्पादनको अनुभव लिन नपाउने जोखिम बढ्दै गएको बताए। जिल्लामा माटो परीक्षण नि: शुल्क शिविर सञ्चालन गरी गरिएको भए पनि किसानमा उत्साह नदेखिएकाले सचेतना जगाउन आवश्यक रहेकामा उनले जोड दिए। कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र खजुराका प्रमुख श्रीधर ज्ञवालीले बिग्रेको माटोमा रासायनिक मल हालेर मात्रै उत्पादन शक्ति नबढ्ने भएकाले प्राङ्गारिक पदार्थको मात्रा बढाउन जरुरी रहेको बताए । उनका अनुसार यहाँको माटोमा नाइट्रोजन, फस्फोरस, पोटास र प्राङ्गारिक पदार्थ मध्यम देखि कम पाइएको छ । यस्तो, अवस्थामा अनावश्यकरूपमा रासायनिक मल खेतमा प्रयोग गरिँदा माटोमा रहेका ती तत्वको सन्तुलन बिग्रिएर उत्पादकत्व क्षमता कमजोर हुँदै जाने उनले उल्लेख गरे।
धानको रैथाने जात संरक्षण गर्दै बाँकेका गङ्गानारायण
बाँके । बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका किसान गङ्गानारायण चौधरी धानको परम्परागत रैथाने जात संरक्षण गर्दै आएका छन् । कृषि ज्ञान केन्द्रको सहयोग र समन्वयमा चौधरीले विगत पाँच वर्षदेखि रैथाने कालानमक जातको धानखेती गर्दै आएका छन् । यो वर्ष ३२ कठ्ठा क्षेत्रफलमा लगाएको धानखेतीबाट ४० क्विन्टल कालानमक धान उत्पादन भएको गङ्गानारायणले जानकारी दिए । “उत्पादन अझ धेरै हुने अनुमान गरिए पनि अन्य धान स्याहारी सकेकोले कालानमक धानमा चरा, मुसा र कीराको सङ्क्रमण बढेर समस्या भयो”, उनले भने,“ करिब छ महिनामा तयार हुने भएकाले यसमा रोग सङ्क्रमणको जोखिम हुन्छ ।” यसको उत्पादनमै बढी खर्च लाग्ने भएकाले मूल्य महङ्गो पर्ने गरेको छ । यो धान असारमा रोपेपछि मङ्सिरको पहिलो साता मात्रै काट्न तयार हुन्छ । सिँचाइ पनि पर्याप्त चाहिन्छ । करिब छ महिनामा तयार हुने भएकाले यसमा रोग सङ्क्रमणको जोखिम हुन्छ । अन्य धान असोज–कात्तिकमा भित्र्याउँदा त्यहाँका पतेरा किरा कालानमकमा जाने र धान पोकट बनाउने समस्या हुने गरेको कृषक चौधरीले बताए । कालानमक चामल बिक्रीमा भने समस्या छैन । बजारमा लैजाना साथ राम्रो मूल्यमा बिक्री हुने चौधरीले बताए । अन्य धानको दर करिब रु तीन हजार ५०० क्विन्टल हुँदा कालानमक भने प्रति क्विन्टल रु दश हजारमा बिक्री हुने गरेको छ । बाँकेमा किसानले रैथाने धानको तुलनामा धेरै फल्ने र छिट्टै पाक्ने रामधान, राधा ४, एमपी ६०, गोरखनाथ लगायतको हाइब्रिड धान रोप्दै आएका छन् । किसान व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएपछि परम्परागत रैथाने कालानमक धानको जात हराउँदै गएको छ । लगानीअनुसारको प्रतिफल नपाएको भन्दै कृषकहरूले लगाउन छाड्दै गएपछि यो धान लोप हुने अवस्थामा पुगेको हो । सिँचाइ र स्याहार सुसार बढी गर्नुपर्ने र रोग तथा कीराको प्रकोप बढी देखिने भएकाले कृषकहरु यसको साटो हाइब्रिड धानतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ वागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए । उनका अनुसार ‘भिआइपी’देखि पर्यटकहरूको रोजाइ भए पनि लागतअनुसार कम उत्पादन हुने भएकाले कृषकहरू कालानमक धानको साटो अन्य धान लगाउन थालेका हुन् । मसिनो र बास्नादारको सुचीमा पर्ने यो धान कालो भएकाले यसलाई कालानमक भनिएको हो । यो करिब १४० दिनमा तयार हुन्छ । “विगतमा बाँके र बर्दियामा यसको खेती हुन्थ्यो, तर अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै उत्पादन गरेर लाभ लिनतिर लागे”, सूचना अधिकारी पाठकले भने, “कालानमकको खेती शून्य प्रायः भएपछि अहिले यसको प्रवद्र्धन र प्रचारमा लागेका छाैँ ।” बाँकेमा परम्परागत रैथाने धानको जात कालानमक संरक्षणको लागि कृषि ज्ञान केन्द्रले कृषकस्तरमा लगाएर प्रचार प्रसारको थालनी गरेको छ । कृषि अनुसन्धान परिषद् खजुराबाट प्राप्त गरेको बीउलाई बाँकेको बैजनाथ–८ टिटिहिरियामा प्रयोग गरिएको उनको भनाइ छ ।
मङ्सिरदेखि मूल्यमा अलैँचीकाे मूल्य लगातार ओरालो लाग्दै
ताप्लेजुङ । पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ । मङ्सिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ । गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन (४० केजी) अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । जुन यस वर्षको सबैभन्दा उच्च मूल्य मानिन्छ । तर यो मूल्य २४ घण्टाभन्दा बढी टिक्न सकेन । त्यसयता क्रमशः घट्दै आएको मूल्य आज प्रतिमन ९२ हजार रुपैयाँमा झरेको छ । बुधबार प्रतिमन ९३ हजारमा व्यापार भएको अलैँची एक दिनमै एक हजार रुपैयाँले घटेको व्यापारी कमल बरालले जानकारी दिए । असोज दोस्रो सातासम्म प्रतिमन ८५ हजारमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनामै १५ देखि १७ हजार रुपैयाँले वृद्धि भएर नयाँ उत्पादन सुरु भएको ८० हजार प्रतिमनबाट एक लाख दुई हजार रुपैयाँसम्म पुगेको थियो । तर उच्च मूल्य नटिकी फेरि तीव्र गतिमा गिरावट आएको हो । अन्तरराष्ट्रिय बजारको माग र मूल्यअनुसार अलैँचीको भाउ निर्धारण हुने भएकाले उतारचढाव भएको व्यापारीहरु बताउँछन् । कोशी प्रदेशमा हाल सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा काँकरभिट्टा नाकाबाट मात्र सात अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा अलैँची निर्यात ३३ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ । साउन, भदौ र असोज महिनामा काँकरभिट्टा नाकाबाट रु एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार बराबरको एक हजार ७२ मेट्रिकटन अलैँची भारत निर्यात भएको जनाएको छ ।
उखु किसानकाे आन्दाेलनले चिनी मिल सञ्चालनमा ढिलाइ
काठमाडौँ । उखु किसानले अनुदान र समर्थन मूल्य तोक्न सरकारलाई दवाब दिँदै आन्दोलन चर्काएपछि महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिल र सर्लाहीको इन्दुशङ्कर चिनी मिल सञ्चालनमा ढिलाइ भएको छ । किसान आन्दोलनका कारण यस वर्ष चिनी मिलहरू नियत समयभन्दा ढिलो चल्ने भएका छन् । गत वर्ष मंसिर २६ देखि फागुन २९ सम्म सञ्चालनमा रहेको एभरेस्ट मिलले ३१ लाख ४ हजार १६३ क्विन्टल उखु क्रसिङ गरी २ लाख ७० हजार ५८८ क्विन्टल चिनी उत्पादन गरेको थियो । यस वर्ष भने आन्दोलनका कारण पुसपछि मात्र क्रसिङ सुरु हुने सम्भावना मिलले जनाएको छ । एभरेस्ट चिनी मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार यस वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिइएको छ । आंदोलनले वातावरण अन्योलपूर्ण भए पनि मिल सञ्चालनका तयारी तीव्र रूपमा भइरहेको उनले बताए । उखुको समर्थन मूल्य तोक्न सरकारले ढिलाइ गर्दा सर्लाहीका किसान निराश बनेका छन् । मूल्य निर्धारण नहुँदा किसानले उखु काट्न नसकेको र मिल सञ्चालन पनि प्रभावित भएको उद्योगीहरूको भनाइ छ । सर्लाहीस्थित इन्दुशङ्कर चिनी उद्योगले मिल सञ्चालनअघि डोङ्गा पूजा सके पनि मूल्य निर्धारण नहुँदा सञ्चालनबारे अन्योल कायम छ । उखु काट्न तयार किसान र उखु पेल्ने तयारीमा रहेका उद्योगी दुबै पक्ष समर्थन मूल्य घोषणाको प्रतीक्षामा छन् । बरहथवा नगरपालिका–३ का किसान नन्दु चौरसियाले मूल्य निर्धारण नभएकाले उखु काट्न नपाएको बताउँदै सरकारले मूल्य तोक्नासाथ काट्न थालिने जानकारी दिए । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष श्यामबाबु रायका अनुसार कृषिमन्त्री र कृषि सचिवलाई मंसिर २९ भित्र मूल्य तोक्न आग्रह गरिएको छ । गत वर्षको बाँकी ३५ रुपियाँ अनुदान भुक्तानी गर्ने र यस वर्ष मूल्य निर्धारणमा किसानको लागत समावेश गर्ने सरकारी आश्वासन भएको उनले बताए । इन्दुशङ्कर चिनी उद्योग हरिवनका उद्योगपति राजेश केडियाले कम र उच्च रिकभरी हुने उखुको अलग–अलग मूल्य तोक्न माग गर्दै सरकारले वैज्ञानिक मूल्य निर्धारण गर्नुपर्ने आवश्यकता औँल्याए ।
वर्षाले देशभर तरकारीमा डेढ अर्ब रुपैयाँको क्षति
काठमाडौं । बेमौसमी वर्षाका कारण देशभर दुई महिनाको अन्तरालमै डेढ अर्ब रुपैयाँ बराबरको तरकारी बाली नष्ट भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत असोज र कात्तिक महिनामा परेको असामयिक वर्षाले २२ हजार मेट्रिक टन तरकारी बाली नष्ट हुँदा करिब एक अर्ब ४९ करोड रुपैयाँ बराबरको क्षति पुगेको हो । मन्त्रालयका तथ्यांकअनुसार तीन प्रदेशका करिब १ हजार ९४७ हेक्टर क्षेत्रफलमा लगाइएका तरकारी बालीमा क्षति पुगेको छ। यसको ठूलो प्रभाव असोज १७ देखि १९ गतेसम्म भएको वर्षाले पारेको मन्त्रालयले जनाएको छ । सो अवधिमा मात्र १ हजार ३६१ हेक्टरमा लगाइएको १६ हजार १२० मेट्रिक टन तरकारी बाली नष्ट हुँदा करिब एक अर्ब २५ करोड ७१ लाख रुपैयाँको क्षति भएको छ । त्यसबाहेक कात्तिक १५ देखि १७ गतेसम्म परेको बेमौसमी वर्षाले ५८६ हेक्टर क्षेत्रफलमा उब्जिएको ६ हजार ८३६ मेट्रिक टन तरकारी बालीमा करिब २२ करोड २३ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको छ । सबैभन्दा धेरै असर कोशी, मधेश र गण्डकी प्रदेशमा परेको मन्त्रालयले जनाएको छ । कोशी प्रदेशको सुनसरी तथा मधेश प्रदेशका सबै १० जिल्लामा उल्लेख्य नोक्सानी भएको छ । तरकारी बालीमा व्यापक क्षति पुगेपछि बजारमा आपूर्ति घटेर मूल्य अस्वाभाविक रूपमा बढेको छ । माग अनुसार आपूर्ति नहुँदा हरियो तरकारीको मूल्य तेब्बरसम्मले वृद्धि भएको व्यापारीको भनाइ छ । तिहारपछि निरन्तर बढ्दो मूल्य अहिले पनि स्थिर हुन सकेको छैन । खुद्रा बजारमा हरियो तरकारी प्रतिकेजी १०० देखि १५० रुपैयाँमा बिक्री भइरहेको छ । काउली र भिन्डी प्रतिकेजी १५० रुपैयाँ, गोलभेँडा १४०, सिमी १५०, आलु ८०, भन्टा १००, हरियो फर्सी ११० र साग प्रतिमुठा ५० रुपैयाँमा बिक्री भइरहेको व्यापारीले बताएका छन् । यसैबीच असोज दोस्रो साताको वर्षाले १९४ हेक्टर क्षेत्रफलमा लगाइएको दुई हजार ९९९ मेट्रिक टन फलफूलमा पनि करिब ५६ करोड ८८ लाख रुपैयाँ बराबरको क्षति पुगेको मन्त्रालयले जनाएको छ । तर, तरकारीको तुलनामा फलफूलमा भने क्षति तुलनात्मक रूपमा कम देखिएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।
बाँकेमा साढे सात हजार क्विन्टल धान खरिद
बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग हालसम्म साढे सात हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कात्तिक २३ देखि सुरु गरिएको धान खरिद अभियान अन्तर्गत मङ्सिर १४ सम्म सात हजार ५०३ क्विन्टल धान खरिद भएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख रामशरण लामिछानेका अनुसार खरिद भएको धानमध्ये मोटा धान दुई हजार ५०४ क्विन्टल तथा मध्यम धान पाँच हजार क्विन्टल छ । सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्य अनुसार प्रतिक्विन्टल मोटा धान तीन हजार ४६४ रुपियाँ र मध्यम धान तीन हजार ६२८ रुपियाँको दरमा खरिद गरिएको हो । यसरी जम्मा दुई करोड ६८ लाख १२ हजार २०९ रुपियाँ बराबरको धान खरिद गरिएको लामिछानेले बताए । यस वर्ष नेपालगन्ज कार्यालयलाई २० हजार क्विन्टल धान खरिद गर्ने कोटा छुट्याइएको छ, जसमा १५ हजार क्विन्टल मोटा धान र पाँच हजार क्विन्टल मध्यम धान समावेश छ । प्रमुख लामिछानेका अनुसार मध्यम धानको कोटा पूरा भइसकेकाले अब मध्यम धान खरिद बन्द गरिएको छ । हाल मोटा धान खरिद भइरहेकाले १५ हजार क्विन्टल पुग्नेबित्तिकै खरिद कार्य बन्द गरिने जनाइएको छ । धान जोखाइ र तौलाइका लागि कार्यालयले तीन वटा काँटा सञ्चालनमा ल्याएको छ । स्टोरकिपर दीपक शर्माका अनुसार मजदुरको अभावका कारण तीन वटा काँटा मात्रै सञ्चालन गर्न सकिएको भए पनि मजदुर थपेर काँटा सङ्ख्या बढाउने तयारी भइरहेको छ । जोखाइ तौलाइका मजदुरलाई प्रतिक्विन्टल ४० रुपियाँ प्रदान गरिँदै आएको छ । हालसम्म ६५५ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराएका छन्, जसमा २०१ किसानसँग धान खरिद भइसकेको छ । एक किसानबाट बढीमा ४० क्विन्टल धान मात्र खरिद गरिने व्यवस्था छ । किसानलाई भुक्तानी बैङ्कमार्फत उपलब्ध गराइँदै आएको छ भने धान बिक्रीका लागि किसानको बैङ्क खाता, मोबाइल नम्बर र स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ । गत वर्ष कार्यालयलाई ४० हजार क्विन्टल धान खरिद कोटा दिइएको थियो । किसानको चाप बढेपछि थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्ने गरी लक्ष्य ५५ हजार क्विन्टल पुर्याइएको थियो । सोमध्ये ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गर्न कार्यालय सफल भएको थियो ।
गुल्मीको छत्रकोटमा बाँझो जग्गा उपयोग गर्दै सामूहिक कृषि अघि बढ्दै
गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले पालिका भित्रका बाँझो जग्गा उत्पादनमूलक बनाउन सामूहिक र व्यवसायिक कृषिलाई प्राथमिकता दिएर नयाँ कार्यक्रम अघि सारेको छ । संघीय सशर्त कार्यक्रमअन्तर्गत कृषियोग्य बाँझो जमिन भाडामा दिन इच्छुक जग्गाधनी र खेती गर्न चाहने कृषकबाट आवेदन मागिएको गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेले जानकारी दिए । २१ दिनभित्र आवेदन दिनुपर्ने गरी सुरु गरिएको यो कार्यक्रम बसाइँसराइ र श्रमशक्ति बाहिरिनुका कारण लामो समयदेखि बाँझै रहेका उर्वर जमिनलाई पुनः उत्पादनमा ल्याउनका लागि महत्वपूर्ण हुने जनाइएको छ । स्थानीय युवालाई गाउँमै कृषि व्यवसायतर्फ आकर्षित गर्दै रोजगारी सिर्जना गर्नु कार्यक्रमको मूल उद्देश्य रहेको प्रमुख पाण्डेले बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामसुन्दर पोख्रेलका अनुसार, आवेदन दिने जग्गाधनी वा कृषकले आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयको सिफारिस पेश गर्नुपर्नेछ । लामो समयदेखि प्रयोगमा नआएका जमिनलाई व्यवस्थित खेतीयोग्य अवस्थामा ल्याई कृषि उत्पादन बढाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइिएको उनले बताए । यसैबीच, उखुको पकेट क्षेत्रका रूपमा पहिचानिएको छत्रकोट गाउँपालिकाले उखु खेती प्रवर्द्धनलाई निरन्तरता दिने भएको छ । पालिकाले यस वर्ष पनि ५० प्रतिशत अनुदानमा उखुको बीउ वितरण गर्ने निर्णय नेपाल जलवायु नमुना कार्यक्रमअन्तर्गत सञ्चालन हुने यस योजनामा सहभागी हुन इच्छुक कृषक, समूह तथा सहकारी संस्थाले १५ दिनभित्र वडा कार्यालयमा आवेदन दिनुपर्नेछ । गाउँपालिकाका अनुसार, बाँझो जमिनको प्रभावकारी सदुपयोग र उखुजस्ता नगदे बालीको प्रवर्द्धनमार्फत कृषकको आम्दानी वृद्धि हुने, स्थानीय उत्पादनमा बढोत्तरी हुने र कृषि क्षेत्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गर्दै लालबाबु
जलेश्वर । महोत्तरीको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक रु सात लाख बचत गरिरहेका छन् । करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उनले वार्षिक रु सात लाख बचत गर्दै आएका छन् । अहिले लालबाबुको दैनिकी बिहान ५ः०० बजेदेखि बेलुकाका ५ः०० बजेसम्म फूलखेतीमा बित्ने गरेको छ । गाउँको दुई स्थानमा १०-१० कट्ठामा क्षेत्रफलमा सयपत्री फूलखेती गरेका लालबाबुले दिनभरि फूलको बिरुवा हेरचाह, सिँचाइ, मलखाद्य र फूल टिप्ने कार्यमा बिताउँछन् । फूलखेतीमा उनलाई छोराद्वय विकास र आकाशले पनि सघाउँछन् । भारतको मुज्जफरपुरबाट सयपत्री फूलको बिरुवा प्रतिवटा भारु दुईमा ल्याएर रोपाइँ गर्ने गरेका लालबाबुले बताए । उनका अनुसार एउटा बिरुवा हुर्कन २० देखि ४० दिन लाग्छ । “एउटा बिरुवा सप्रिएपछि तीन–चार महिनासम्म फूल दिने गर्दछ । दश कट्ठामा लगाइएको एक हजार २०० बिरुवाले एकैपटक फूल दिँदा एक दिनमा ५० किलोसम्म हुन्छ”, उनले भने । उनले दुई स्थानमा फरकफरक समयमा फल्ने सयपत्री लगाएका छन् । एक स्थानमा उत्पादित फूल सकिन लाग्दा अर्को स्थानमा फूल्न थाल्ने भएकाले वर्षभरि बिक्री गर्न सक्ने लालबाबुले बताए । सयपत्री फूलको माग वर्षभरि हुने भएकाले सधैँ आपूर्ति गर्न सफल भएको उनको भनाइ छ । “एउटा सयपत्री फूल उनेको मालाको रु ५० देखि रु ७० पर्छ । घरमा आएका व्यापारीलाई रु ४० मा बिक्री गर्छौँ । यसबाट दैनिक रु पाँच हजारसम्म आम्दानी हुने गरेको छ”, लालबाबुका छोरा विकासले भने । थोकमा प्रतिकिलो रु चारदेखि रु ५०० सम्ममा बिक्री गर्दा दैनिक रु दुई हजारदेखि रु पाँच हजारसम्म आम्दानी हुने उनले जानकारी दिए । लालबाबुले घरमा ‘जयमा फूल भण्डार’ नाममा पसल सञ्चालन गरेका छन् । वर्षभरिको घरखर्च, छोराहरूको पढाइ र अन्य खर्च कटाएर रु सात लाखसम्म बचत हुने गरेको उनले जानकारी दिए ।
तोरीले पहेँलपुर बेथानचोकका बारी
धुलिखेल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ गैह्रीभञ्ज्याङको बारीका पाटाभरि अचेल तोरी फुलेर यहाँका दृश्य निकै आकर्षक देखिएको छ । स्थानीय किसान हरिप्रिया सापकोटाको बारीमा तोरी फूलले गाउँकै सुन्दरता थपेको छ । उनले बारीभरि फुलेका तोरीले त्यहाँ पुग्नेहरुको मन लोभ्याउने गरेको बताइन् । “बारीमा पहेँलपुर देखिने गरी तोरीको फूल फुलिरहेको छ, केही कालो तोरीको बोट हुर्किंदै छन् । केही भागमा भने मिश्रित रुपमा आलुखेतीसमेत छ । यसले यहाँको सुन्दरता थपेको छ”, सापकोटाले भनिन्, “गाउँलाई सुन्दर बनाउने मात्रै होइन, यहाँको उत्पादन राम्रो आम्दानीको स्रोत भएको छ । त्यसैले नगदे बाली तोरीखेतीलाई निरन्तरता दिँदै आएका छौँ ।” सोही वडाका अर्का किसान एवं माउण्ट महाभारत ‘होमस्टे’का सञ्चालक कमल नेपालले घरायसी प्रयोग र बिक्रीबाट आम्दानी हुने भएकाले किसानहरू यसतर्फ आकर्षित भइरहेको बताए । “कृषकले खाद्यान्न बाली मकै भित्र्याएपछि नगदे बालीको रूपमा तोरीखेती गर्दै आएका छौँ”, उनले भने, “जसले फुल्ने बेला वातावरणलाई सुन्दर बनाउने मात्रै होइन उत्पादक कृषकलाई घरायसी प्रयोग र बिक्रीबाट आम्दानी पनि भइरहेको छ ।” पर्यटकीय हिसाबले प्रसिद्ध सो ठाउँमा भएको तोरीखेतीको आकर्षक दृश्यले स्वदेशी तथा विदेशी पर्यटकलाई थप आकर्षिक बनाउने गरेको नेपालले बताए । बेथानचोक गाउँपालिका कृषि शाखाका नायब प्राविधिक सहायक मधुसुदन दाहालका अनुसार गाउँपालिकाको ४० देखि ४५ हेक्टर क्षेत्रफलमा तोरीखेती भइरहेको छ । यसबाट प्रतिहेक्टर क्षेत्रफलमा एक दशमलव दुई मेट्रिक टन तोरी उत्पादन हुँदै आएको उनले बताए । गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिकाको सबैजसो वडामा तोरीखेतीको राम्रो उत्पादन हुँदै आएको बताइन् । पालिकाको केही क्षेत्रमा तुषारोले समस्या पार्नेबाहेक सबैजसो ठाउँमा अधिकांश किसानले यसबाट लाभ लिँदै आएको उनको भनाइ छ । “अझ गाउँपालिकाको वडा नं १ च्याम्राङबेँसी माथिल्लो गाउँका किसानमध्ये एक घरले वार्षिक रूपमा १०/१२ मुरिसम्म उत्पादन गर्दै आएका छन्”, उनले भनिन्, “त्यसरी खेती गर्ने किसानको समस्यालाई सम्बोधन गर्नका लागि पालिकाले पनि प्रोत्साहन गर्दै आएको छ । नीति कार्यक्रम बनाउनुअघि छलफल गरेर अगाडि बढ्ने गरेका छौँ ।” हाल तोरीको फूल फुल्ने मौसम भएकाले पालिकाको सबैजसो बारीका पाटाभरि पहेँलपुर हुनेगरी फूल फुलेको देख्न पाइन्छ । यहाँका किसानले तोरीका अतिरिक्त आलु र अन्य तरकारीखेती गर्दै आएका छन्, जबाट मनग्य आम्दानी हुने गरेको छ ।
कृषिबाटै तेह्र करोडको सम्पत्ति कमाएका अर्घाखाँचीका बजान्डे
अर्घाखाँची । अर्घाखाँचीका एक कृषक पुष्करनाथ बजान्डेले कृषि पेसाबाटै झन्डै १३ करोड रुपैयाँ बराबरको सम्पत्ति आर्जन गर्न सफल भएका छन् । सन्धिखर्क नगरपालिका–८ का ५८ वर्षीय बजान्डे करिब तीन दशकदेखि व्यावसायिक खेतीमा संलग्न छन् । २०७२ सालतिर केही समय शिक्षा क्षेत्रमा बिताए पनि वास्तविक आम्दानी कृषि क्षेत्रमा नै हुने बुझेर उनले पूर्ण रूपमा कृषिलाई पेशा बनाएका हुन् । हाल उनका काठमाडौँमा एक घर, बुटवल, काठमाडौँ र सन्धिखर्कमा आधा दर्जन घडेरी तथा कृषिबाटै संकलित अन्य सम्पत्ति रहेको छ । बजान्डे भन्छन्, “कृषिले नै छोरालाई चार्टर्ड एकाउन्टेन्ट बनाउन पाएँ, श्रीमतीलाई ४४ तोला सुन जोडिदिन सकेँ ।” उनले २५ रोपनी पाखोबारी र पाँच रोपनी खेतलाई आधुनिक तरकारी तथा कफी फर्ममा विकास गरेका छन् । सिमी हाइटेक टनेल, स्थायी टनेल र आधुनिक सिँचाइ प्रणालीमार्फत काउली, बन्दा, टमाटर, घिरौंला, काँक्रोललगायत मौसमी–बेमौसमी तरकारी उत्पादन हुन्छ । हाल फर्ममा १०–१२ जना स्थायीरूपमा रोजगारीमा छन् । तरकारीसँगै कफी उत्पादन र प्रशोधनमा पनि उनी उत्तिकै सक्रिय छन् । रोस्टर, हेलर, ग्राइन्डर, प्याकेजिङदेखि ल्याब–टेस्टका संरचना दर्ता गरी उनले व्यवस्थित रूपमा कफी व्यवसाय सञ्चालन गर्दै आएका छन् । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासहित सरकारी निकायको सहयोगमा पोखरी र पक्की ट्याङ्की निर्माण गरी वर्षैभरि सिँचाइको प्रबन्ध मिलाइएको छ । बजान्डेको उत्पादन हुने कफी अमेरिका, जापान, कोरिया र अस्ट्रेलिया निर्यात हुने गरेको छ । विदेशी व्यापारीले सिधै सम्पर्क गर्ने भएकाले कफीबाट पर्याप्त आम्दानी भइरहेको उनको भनाइ छ । तर ठूलो परिमाणमा निर्यात गर्न भने चुनौती रहेको उनले बताए । सन्धिखर्क बजारबाट करिब चार किलोमिटर पश्चिम रहेको उनको फर्ममा तरकारी फर्म, फलफूल बगैँचा, कफी खेती, भैँसी तथा गाईपालन गरी दुध उत्पादनसमेत भइरहेको छ । यिनै गतिविधिबाट वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी भइरहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । कृषि शाखा प्रमुख रामबहादुर थापाका अनुसार, “बजान्डे कफी तथा तरकारी उत्पादनमा जिल्लाका अग्रणी उद्यमी हुन् । उहाँबाट किसानले सिक्न सके कृषि क्षेत्रमा ठुलो परिवर्तन ल्याउन सकिन्छ ।” नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ भन्छन्, “उहाँ सफल मात्र होइन, उदाहरणीय कृषक हुनुहुन्छ । उहाँको सीपलाई समूहगत रूपमा किसानमा प्रसार गर्ने योजना छ ।” परिश्रम, सीप र प्राविधिक ज्ञानको संयोजनले पुष्करनाथ बजान्डे आज अर्घाखाँचीका सफलतम कृषकका रूपमा स्थापित भएका छन् । उनी प्रमाणित उदाहरण हुन्—कृषि पेसाबाट पनि करोडौँ कमाउन सकिन्छ ।
देशभर कृषि सर्वेक्षण सुरु
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरकारले कृषि क्षेत्रको विकासका लागि देशभर कृषि सर्वेक्षण सुरु गरेको छ । मन्त्रालयले सबै स्थानीय तह, प्रदेशको कृषि मन्त्रालयलगायत सरोकार भएका निकायसँगको समन्वयमा तथ्याङ्क सङ्कलन सुरु गरेको हो । तथ्याङ्क लिँदा दोहोरो गणना हुन सक्ने भएकाले एकद्वार प्रणालीबाट स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको मन्त्रालयका तथ्याङ्क शाखा प्रमुख रामकृष्ण रेग्मीले जानकारी दिए । उनका अनुसार कृषि उत्पादन, पशुपालन, लागत, बजारीकरण, आम्दानी, सिँचाइ, पूर्वाधारको अवस्थालगायत विस्तृत विषयवस्तुलाई तथ्याङ्क सङ्कलन गरिने छ । गणकले किसानसँग प्रत्यक्ष भेटेर कृषि सर्वेक्षण गरिरहेका छन् । नमूना विधिका माध्यमबाट सङ्कलन गरिने तथ्याङ्कमा पहिलो चरणमा छ लाख किसान छनोट गरिने रेग्मीले जानकारी दिए । तीमध्येबाट ५१ हजार किसान छनोट गरी कृषि क्षेत्रमा उनीहरूको अनुभव तथा सरकारबाट प्रवाह गरिएका सेवा, सहुलियतमा लक्षित वर्गको पहुँच तथा समस्या पहिचान गरी आधिकारिक तथ्याङ्क सङ्कलन गरिने छ । राष्ट्रिय जनगणना र कृषि गणनापछिको महत्त्वपूर्ण राष्ट्रियस्तरको कार्यक्रमका रूपमा कृषि सर्वेक्षणलाई लिइएको छ । देशभर तथ्याङ्क सङ्कलन भएपछि त्यसलाई थप अध्ययन गरी अन्तिम परिणाम आगामी पुससम्म सार्वजनिक गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सर्वेक्षण तथा तथ्याङ्क सङ्कलनका लागि स्थानीय तहमा क्षमता अभिवृद्धि गर्न तालिम तथा आवश्यक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । कृषि नीति तथा योजना तर्जुमा गर्न वैज्ञानिक आधार तयार पार्न तथ्याङ्क महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी गर्दै भाेजपुरकाे पौवादुङमा
भोजपुर । पकेट क्षेत्र घोषणा गरी गाउँपालिकाले लगानी बढाएपछि भोजपुरको पौवादुङमाका किसान व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएका छन् । श्यामशिलाका १७ किसान अहिले सङ्गठित रूपमा किवी उत्पादनमा जुट्दै दिगो आयस्रोतको नयाँ सम्भावना निर्माण गरिरहेका छन् । यहाँका किसानले किवी बेचबिखन गरेर आम्दानीसमेत लिन थालेका छन् । भोजपुर–लेगुवा मुख्य सडकखण्ड आसपासमा पर्ने भएकाले यहाँका किसानले उत्पादन गरेको किवीको बेचविखनमा पनि सहजता छ । गाउँपालिकाले पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी बढाएपछि यहाँका अधिकांशले व्यावसायिक किवीखेती गरिरहेको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । यहाँ गाईपालनको कार्यक्रम सञ्चालन भइरहेकाले उत्पादित गोबरको मलको सदुपयोग गर्दै किसान किवीखेतीमा जुटेको उनको भनाइ छ । “हाम्रो क्षेत्र किवीखेतीका लागि उपयुक्त भूगोल रहेको स्थान हो”, वडाध्यक्ष तामाङले भने, “यहाँ गाउँपालिकाको अनुदान सहयोगमा पशुपालनको कार्यक्रम पनि सञ्चालन गरेका छौँ । त्यही मलको सदुपयोग गर्दै किसानहरूले किवीखेती गर्दै आएका छन् ।” एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै यो क्षेत्रका किसान व्यावसायिक किवीखेतीमा जुटेका हुन् । गाउँपालिकाले किसानको दिगो आयस्रोतका रूपमा विकास गर्न किवीलगायत बहुवर्षीय बाली विस्तारमा जोड दिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । प्रशस्त घाँस पाइने क्षेत्र भएकाले यहाँ उन्नत जातका गाईसमेत वितरण गरिएको उनले जानकारी दिइन् । “हामीले यहाँ पशुपालन र फलफूलखेतीमा जोड दिएका छौँ”, उपाध्यक्ष राईले भनिन्, “पशुपालनबाट उत्पादन भएको मलको सदुपयोग गर्ने लक्ष्यले किवीखेतीमा पनि सहयोग गरेका छौँ । नागरिकलाई आर्थिकसँगै पोषणमा जोड्ने हाम्रो सोच हो ।” गाउँपालिकाले भूगोल सुहाउँदो फलफूल तथा तरकारीखेतीमा जोड दिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । कृषिबाट आत्मनिर्भर बनाउने लक्ष्यका साथ किसानलाई व्यावसायिक खेती प्रणालीमा लाग्न सहयोगका कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ । “किसानको मुख्य आम्दानीको श्रोत नै कृषि हो”, अध्यक्ष राईले भने, “श्यामशिलामा किवीको राम्रो सम्भावना रहेकाले पकेट क्षेत्र निर्धारण गरेका छौँ । अन्य स्थानमा कागती, आभोकाडोलगायत बालीका लागि कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । गाउँपालिकाले सहयोगका कार्यक्रम सञ्चालन गरेसँगै किसान आयआर्जनमा जोडिएका छन् ।” गाउँपालिकाका किसानको मुख्य आम्दानीको स्रोत कृषि रहेकाले किसानलाई आवश्यकता तथा मागका आधारमा गाउँपालिकाले सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । पशुपालनसँगै विभिन्न खेती प्रणालीमा जोडिएका किसानलाई आवश्यक तालिम तथा नियमित प्राविधिक सहयोग गर्दै आएको उनका भनाइ छ ।
सर्लाहीका चुरे भेगका किसान व्यावसायिक तरकारीखेतीमा रमाउँदै
सर्लाही । सर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा परिचित छ । यहाँ उत्पादन भएका तरकारी हरेक दिन काठमाडौँ, चितवन, हेटौँडा, विराटनगरलगायत देशका प्रमुख सहरहरूसम्म पुग्छन् । उत्पादनले सजिलै बजार पाएपछि व्यावसायिक तरकारीखेती गर्ने किसानहरूसमेत बढिरहेका छन् । जिल्लाको लालबन्दी, हरिवन, बाग्मती, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा ठुलो क्षेत्रफलमा, आलु, गोलभेँडा, बोडी, भिन्डी, भान्टा, काउली, बन्दा, खोर्सानी, परबरलगायत तरकारी उत्पादन हुँदै आएको छ । यसले किसानहरूको आयआर्जनमा समेत ठुलो टेवा पुगेको छ । लालबन्दी नगरपालिका–१०, हिरापुरका तरकारी किसान सीयाशरण महतो व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्ने अवस्था रहेको बताउँछन् । उमेरले ३५ लागेका महतोले २० वर्षको उमेरदेखि नै व्यावसायिक तरकारीखेतीमा लागेदेखि कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको बताए । बुबा हजुरबुबाबाट तरकारीखेती गर्न सिकेका महतोले आधुनिक खेती प्रणाली भने आफैँले छ महिने कृषि ‘जेटिए’ कोर्ष गरेपछि सिकेका हुन् । उनले मौसमीभन्दा बढी बेमौसमी तरकारीखेती गर्दै आएको र यसले मौसमी खेतीभन्दा १० गुणासम्म बढी आम्दानी हुने गरेको बताए । “हाल चार बिगाहा खेतमा तरकारी गरिरहेको छु । त्यसमध्ये २५ कट्ठामा गोलभेँडा, सात कट्ठामा हरियो सिमी र आठ कट्ठामा भिन्डी लगाएको छु । यस सिजनको अन्तिममा निस्कने गरी १४ कट्ठा खेतमा कविता जातको टमाटर रोप्ने योजनासहित बेर्ना उत्पादन गरिरहेको छु”, महतोले भने। सुरुमा पढाइपछिको फुर्सदको समयमा बुबाआमालाई खेतीमा सघाउने गर्दागर्दै तरकारीखेती गर्न सिकेको उनले सुनाए । “पहिला बाउबाजेले गरेको देखेरै सिकेको हो,” उनले भने, “पढाइबाट फुर्सद हुने बित्तिकै आमाबुबाले खेतमा काम लगाउनु हुन्थ्यो । पछि बुबाले एउटा छोराले कम्तीमा जेटिए पढे हुन्थ्यो भन्ने धारणा राख्नुभयो । आफूलाई पनि खेतीपातीतर्फ लगाव बढ्यो यतै लागियो । परिवारसँगै बसेर तरकारी बेचेर विदेशको भन्दा राम्रो आम्दानी भइरहेको छ ।” महतोले तरकारीखेतीबाट भएको आम्दानीबाट दुई वर्ष पहिला मात्र पाँच कट्ठा खेत जोडेको सुनाए । “तरकारीखेती मेरो एक मात्र आय आर्जनको माध्यम हो । यसैबाट मैले पाँच कट्ठा खेत जोडेको छु । तरकारी बेचेर महिनाको रु दुई लाखसम्म आम्दानी गरेको अनुभव छ”, उनले भने, “गत वर्ष ‘अफ सिजन’मा सिमी निकाले दुईदेखि तीन हप्तामा रु ६०/७० हजारसम्म भयो । सबै तरकारी बेच्दा महिनाको रु दुई लाखसम्म आम्दानी भयो ।” तरकारी खेतीबाट आफूले वर्षभरिमा मलखाद, बीउबिजन, औषधि, मजदुरी, ढुवानी खर्च सबै कटाएर रु १० लाखसम्म बचत गर्ने गरेको महतोका भनाइ छ । यसमा श्रीमतीले राम्रो सहयोग गरिरहेको उनको भनाइ छ । मौसम र मूल्य सधैँ एकनास नरहने भएकाले आम्दानी तलमाथि भइरहने बताउने महतोले यसै कमाईबाट एक छोरा र एक छोरीलाई राम्रो शिक्षा दिनुका साथै परिवारको लालनपालन भइरहेको बताए । राष्ट्रिय कृषि गणना २०७८ अनुसार सर्लाहीमा १७ हजार ६६२ परिवारले तीन हजार ८४२ दशमलव सात हेक्टर क्षेत्रफलमा विभिन्न तरकारी खेती गर्दै आएका छन् । यहाँ उत्पादन भएका तरकारी जिल्लाको लालबन्दीस्थित थोक तरकारी तथा कृषिउपज सङ्कलन केन्द्रमा जम्मा गरेर देशका अन्य सहरमा निर्यात हुँदै आएको छ ।
तनहुँका कृषकलाई सुन्तला ढुवानी सधैंको समस्या
तनहुँ । देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैंको पिरलो बनेको छ । यहाँबाट करोडौ मूल्यका सुन्तला विक्री हुने गरेपनि ढुवानीको समस्या भने सधैं झेल्नुपरेको हो । यहाँ उत्पादित सुन्तला तनहुँ, पोखरा, चितवन, काठमाडौसम्म पुग्ने गरेको छ । यस वडाको छिपछिपे, बाटक, छापस्वाँरा, दगरा, लुङ्ग्रिङबाट करोडौ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको कृषक रणबहादुर मगरले जानकारी दिए । सुन्तला बजारसम्म पु-याउन भने सधैं समस्या झेल्नुपरेको उनको गुनासो छ । उनले भने, “यहाँका कृषकको मुख्य आम्दानी सुन्तला खेती नै हो । कालीगण्डकी, सेतीमादी र त्रिशुली नदीले घेरिएको उक्त वडामा जान कुनै पनि नदीमा पक्की पुल बनेको छैन । पक्की पुल नहुँदा उक्त उत्पादित करोडौं मूल्यको सुन्तला बजारसम्म पु-याउन सकस हुने गरेको छ ।” सुन्तलाको बोटमा रोग लागेर यसवर्ष उत्पादनमा कमी भएपनि आम्दानी भने गत वर्ष भन्दा ३० प्रतिशत बढि भएको उनले बताए। गत वर्षहरुमा मङ्सिरको दोस्रो साता सुन्तला बजार पठाउने गरिएपनि यस वर्ष भने पहिलो सातामै सुन्तला बजार पठाइएको कृषक प्रेमबहादुर मगरले बताए । उनका अनुसार प्रति क्रेट रु एक हजार चार सयमा सुन्तला विक्री भएको छ । उनले भने, “बजारसम्म सुन्तला पु¥याउन बाटो र पुलको अभाव र भरियामार्फत ढुवानी गर्दा बढी खर्च लाग्ने गर्छ । सुन्तला बजार पु-याउन नाल्दी र गाईघाटमा पुल नहुँदा यहाँका किसानले कोटा, बैदी तथा साराङघाटको बाटो प्रयोग गरी दमौली हुँदै काठमाडौ पठाउने गरेका छन् ।” कृषक भीमबहादुर रानाले सिधा सडक सञ्जाल विस्तार नभएकाले घुमाउरो बाटो प्रयोग गर्दा किसानले दोब्बर भाडा तिर्नुपरेको गुनासो गरे । उनले भने, “केही कृषकले मुग्लिन–नारायणगढ सडकको गाईघाटसम्म जीपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गर्छन् । छापस्वाँरा, दगराका किसानले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा लगेर त्यहाँबाट दमौली हुँदै काठमाडौ लैजाने गरेका छन् ।” सडक पहुँच अभावका कारण यहाँका किसानले बिचौलियाका माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौसम्म बजार विस्तार गर्न बाध्य भएका छन् । यस वडाको लुङ्ग्रिङमा एकै घरबाट रु २० लाखसम्म सुन्तला विक्री हुने गरेको बताइन्छ । यहाँ उत्पादित सुन्तलाका साथै अदुवा, केरा तथा अन्य फलफूल ग्राभिटी रोपवेबाटै राजमार्गसम्म लगेर बजारसम्म पु-याउने गरिएको छ । साथै बाख्रा, कुखुरा तथा अन्य पशुपंक्षीका लागि दाना चोकर पनि त्यहीँबाटै ल्याउने गरिएको छ ।

