अमेरिकाबाट ४८ जना नेपाली डिपोर्ट, दुई महिनामा २३१ जना फर्काइए

काठमाडौं । अमेरिकाले हालै ४८ जना नेपाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकाले अप्रिल ७ मा चार्टर्ड उडानमार्फत यी ४८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो । डिपोर्ट भएकाहरू सबै पुरुष रहेका छन् ।

प्राप्त तथ्यांकअनुसार सोमबार डिपोर्ट भएकामध्ये २ जना ग्रिन कार्ड बाहक रहेका छन् । यसैगरी, २३ जनासँग कुनै वैध ट्राभल डकुमेन्टसमेत नभएको अध्यागमन विभागका स्रोतले जानकारी दिएका छन् ।

डिपोर्ट भएका दुई जना ग्रिन कार्डबाहकमध्ये एक जना ‘ड्रिङ्क एन्ड ड्राइभ’ (मापसे) मुद्दामा पक्राउ परेका थिए भने अर्का ग्रिन कार्डबाहक डिपोर्ट हुनुको कारण खुलेको छैन ।

सन् २०२६ को दुई महिनामा २३१ जना डिपोर्ट

अध्यागमन विभागका अनुसार सन् २०२६ को पहिलो दुई महिनामा मात्र २३१ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् । विभागका तथ्यांकअनुसार फेब्रुअरी महिनामा मात्र १३० जना डिपोर्ट भएका थिए । फेब्रुअरीमा डिपोर्ट हुनेमा १२४ जना पुरुष र ६ जना महिला थिए ।

फेब्रुअरीमा चार्टर विमानमार्फत मात्र ९५ जना फर्काइएका थिए, जसमध्ये ३ जना महिला थिए ।

त्यस्तै, जनवरी महिनामा १०१ जना डिपोर्ट भएका थिए । जसमध्ये ४ जना महिला र बाँकी सबै पुरुष थिए । जनवरीमा एकै पटक ८० जना नेपाली चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइएका थिए ।

डिसेम्बर २०२५ मा एकै दिन ७५ जना (६९ पुरुष र ६ महिला) डिपोर्ट भएका थिए ।

ट्रम्पको दोस्रो कार्यकालमा ७१८ जना डिपोर्ट

राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि हालसम्म कुल ७१८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् ।

डिपोर्टेसन प्रक्रिया तीव्र : नेपाली दूतावास

अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले डिपोर्टेसन प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । उनले ट्राभल डकुमेन्ट नभए पनि विद्युतीय प्रमाणीकरण (इलेक्ट्रोनिक भेरिफिकेशन) मार्फत यात्रा सम्भव रहेको जानकारी दिए ।

ट्राभल डकुमेन्ट नहुँदा प्रक्रिया कसरी अघि बढ्छ भन्ने प्रश्नमा आरणले भने, “धेरै अवस्थामा डकुमेन्ट नभएको जस्तो देखिए पनि वास्तवमा त्यस्तो हुँदैन । पहिले जारी भएको डकुमेन्टको म्याद सकिएको हुन सक्छ । यस्तो अवस्थामा पनि विद्युतीय प्रमाणीकरणबाट यात्रा गर्न मिल्छ ।”

दूतावासले डिपोर्ट हुने व्यक्तिहरूको विवरण प्रमाणित गरी सम्बन्धित मन्त्रालय र अध्यागमन विभागसँग समन्वय गरेर नेपाल पठाउने प्रक्रिया अघि बढाउने गरेको उनले बताए ।

किन बढ्दै छ डिपोर्टेसन ?

कार्यवाहक राजदूत आरणका अनुसार डिपोर्टेसन बढ्नुका मुख्य कारणहरूमा एसाइलम (शरणार्थी) आवेदन अस्वीकृत हुनु, भिसा खारेज हुनु, गैरकानुनी रूपमा काम गर्नु र विभिन्न कानुनी उल्लङ्घन रहेका छन् ।

“अध्यागमन अदालतले ‘फास्ट ट्र्याक’ मा मुद्दा टुङ्ग्याइरहेको छ । लामो समयदेखि पेन्डिङ रहेका केसहरू छिटो निष्कर्षमा पुग्दा डिपोर्ट हुने संख्या बढेको हो,” उनले भने ।

उनका अनुसार दक्षिण अमेरिका र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने प्रवृत्ति लगभग शून्यमा झरेको छ । यसले नेपालीहरूलाई मानव तस्करी र आर्थिक ठगीबाट जोगाउन सहयोग पुगेको छ ।

ग्रिन कार्ड वा नागरिकता प्राप्त गरे पनि कानुन उल्लङ्घन गरेमा त्यस्ता सुविधा खारेज गरी डिपोर्ट हुन सक्ने जोखिम रहेको उनले स्पष्ट पारेका छन् । नक्कली विवाह, झुटो विवरण पेस गर्ने जस्ता गतिविधिमा संलग्न भए कडा कारबाही हुने चेतावनीसमेत उनले दिएका छन् ।

एनआरएनएको १२औँ विश्व सम्मेलन आजदेखि काठमाडौंमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आज शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनको उद्घाटनपछि साँझदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । अध्यक्ष पदमा बेलायतका डा. हेमराज शर्मा र अमेरिकाका रविनराज बज्राचार्य मुख्य प्रतिस्पर्धी छन् । अर्का उम्मेदवार रोविनप्रसाद शेरचनले डा. शर्मालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेका छन् । दुवै उम्मेदवारले आफ्नो प्यानलसहित मत मागिरहेका छन् तर सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी छ । वर्तमान अध्यक्षद्वय बद्री केसी र महेश कुमार श्रेष्ठले अध्यक्ष तथा महासचिवजस्ता मुख्य पदमा सहमतिको अधिकतम प्रयास भइरहेको बताएका छन् । निर्वाचनमा विश्वभरका ४ हजार २ सय ८६ प्रतिनिधिले भौतिक तथा अनलाइन माध्यमबाट मतदान गर्नेछन् । केही पदहरूमा निर्विरोध निर्वाचन भइसकेको छ । जसमा उपाध्यक्ष (महिला) रोजिना प्रधान राई, सचिव (महिला) राधिका गुरुङ, कोषाध्यक्ष (महिला) संगीता मरहठ्ठा, अफ्रिका क्षेत्र संयोजक चक्रबहादुर थापा, ओसियाना क्षेत्र संयोजक दीपक शर्मा, मध्यपूर्व क्षेत्र संयोजक मनोजकुमार श्रेष्ठ आदि छन् । विश्वका ८० भन्दा बढी देशबाट प्रतिनिधि काठमाडौंमा उपस्थित छन् । सम्मेलनले वैदेशिक लगानी, नागरिकताको निरन्तरता तथा प्रवासी नेपालीका हकहितका मुद्दामा छलफल गर्नेछ । सहमति भए मुख्य पदाधिकारीसहित कार्यसमिति निर्विरोध चयन हुन सक्ने सम्भावना छ ।

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन दूतावासकाे  अनुरोध

काठमाडाैं । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिमा साउदी अरेबियामा रहेका सम्पूर्ण नेपालीलाई आधिकारिक निकायबाट जारी हुने समाचार/निर्देशन/सूचना बमोजिम सजग रहन अनुरोध गरेको छ । दूतावासले बुधबार जारी गरेको अनुरोधपत्रमा भनिएको छ, “आधिकारिक रूपमा पुष्टि नभएका कुनै पनि प्रकारका समाचार, सूचना, जानकारी तथा फोटो, भिडियो सामाजिक सञ्जालमा नराख्न, सेयर र पोष्ट नगर्न र सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने स्थान वा बस्तुको फोटो नखिच्न र भिडियो नबनाउन अनुरोध गर्दछौँ ।” दूतावासले साउदी अरेबियाका आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट आएका समाचारलाई मात्र विश्वास गर्न र पुष्टि नभएका हल्लाकोपछि नलाग्न र राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ । दूतावासले ०११४६१११०८, ०११२८८३७९५, मोबाइल नम्बर ह्वाट्सएप +९६६५०००२५९७३ र  ९६६५३४३४३२१३ सम्पर्क गर्न अनुरोध गरेको छ । त्यसैगरी नेपाली महावाणिज्य दूतावास, जेद्दास्थित फोन नं. ०१२६२२६६६५, ०१२६२२६६८३, मोबाइल नम्बर: ह्वाट्सएपः+९६६५३५०२४१६९. ९६६५५९७४४२५३, ९६६५३१२५४०९९ र +९६६५३१३२८९५७ मा सम्पर्क गर्नपनि अनुरोध गरेको छ ।

मध्यपूर्व युद्धको प्रभावः १७ लाखभन्दा बढी नेपाली जोखिममा, एकको मृत्यु, १४ घाइते

काठमाडौं । मध्यपूर्व क्षेत्रमा चर्किँदै गएको युद्ध र सैन्य तनावले त्यहाँ रहेका १७ लाखभन्दा बढी नेपाली नागरिकको सुरक्षाप्रति गम्भीर चिन्ता उत्पन्न भएको छ। अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य आक्रमणपछि क्षेत्रीय द्वन्द्व तीव्र बन्दै गएको छ, जसको प्रत्यक्ष प्रभाव खाडी तथा पश्चिम एसियामा रोजगारी र बसोबास गर्दै आएका नेपालीमाथि पनि पर्न थालेको छ। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म उक्त द्वन्द्वका क्रममा एक नेपाली नागरिकको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन्। मन्त्रालयले दिएको विवरणअनुसार इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी गरेको ड्रोन र मिसाइल आक्रमणका क्रममा ती नेपाली घाइते भएका हुन्। घाइतेमध्ये अधिकांश संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपाली कामदार रहेका बताइएको छ। उनीहरू आक्रमणको समयमा आफ्नो कार्यस्थल नजिकै रहेका बेला विस्फोट र आक्रमणको असरमा परेका थिए। घाइतेहरूलाई तत्काल स्थानीय अस्पतालमा उपचार गरिएको र उपचारपछि उनीहरू पुनः आफ्नो काममा फर्किसकेको मन्त्रालयले जनाएको छ। यसैबीच, इरानले गरेको आक्रमणका क्रममा केही दिनअघि युएईमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। गोरखा घर भएका ती नेपाली श्रमिकको मृत्यु मिसाइल आक्रमणबाट भएको प्रारम्भिक जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ। मृतकको पहिचान र पार्थिव शरीर नेपाल ल्याउने प्रक्रियाबारे सम्बन्धित नेपाली दूतावासले पहल गरिरहेको बताइएको छ। अमेरिका–इजरायलको आक्रमणपछि युद्ध चर्कियो मध्यपूर्वको वर्तमान तनाव फागुन १६ गते अमेरिका र इजरायलले इरानमाथि अचानक सैन्य आक्रमण गरेपछि तीव्र रूपमा बढेको हो। उक्त आक्रमणपछि इरानले त्यसको प्रतिशोधस्वरूप इजरायलसँगै मध्यपूर्व तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी लगातार ड्रोन र मिसाइल आक्रमण गर्दै आएको छ। सुरक्षा विश्लेषकहरूका अनुसार इरानले खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई मुख्य लक्ष्य बनाउँदै आक्रमण विस्तार गरेको छ। विशेष गरी युएई, साउदी अरब, कतार, कुवेत, ओमान, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य संरचनाहरूलाई लक्षित गरी इरानले बारम्बार आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसका कारण मध्यपूर्वको सुरक्षा अवस्था अत्यन्त संवेदनशील बन्दै गएको छ। विभिन्न देशहरूले हवाई सुरक्षालाई उच्च सतर्कतामा राखेका छन् भने कतिपय अन्तर्राष्ट्रिय उडानहरू समेत प्रभावित भएका छन्। १७ लाखभन्दा बढी नेपाली मध्यपूर्वमा परराष्ट्र मन्त्रालयका अनुसार हाल मध्यपूर्व र खाडी क्षेत्रमा १७ लाख २९ हजार २८८ भन्दा बढी नेपाली नागरिक रोजगारी, व्यवसाय वा अध्ययनका लागि बसोबास गरिरहेका छन्। यीमध्ये ठूलो हिस्सा वैदेशिक रोजगारीका लागि गएका श्रमिकहरूको रहेको छ। सबैभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका छन्। मन्त्रालयको तथ्यांकअनुसार युएईमा करिब सात लाख नेपाली बसोबास वा कार्यरत छन्। त्यस्तै साउदी अरबमा तीन लाख ८४ हजार ८६५ नेपाली रहेका छन् भने कतारमा तीन लाख ५७ हजार ९१३ नेपाली कार्यरत छन्। कुवेतमा करिब एक लाख ७५ हजार नेपाली रहेको तथ्यांक छ। ओमानमा २५ हजार, बहराइनमा २८ हजार, इराकमा करिब ३० हजार र साइप्रसमा १७ हजार नेपाली रहेका छन्। यसबाहेक इजरायलमा करिब ६ हजार ५०० नेपाली कार्यरत वा बसोबास गरिरहेका छन् भने इजिप्टमा करिब ५००, लेबनानमा एक हजार ५०० नेपाली रहेको मन्त्रालयले जनाएको छ। इरानमा भने हाल जम्मा ६ नेपाली मात्र रहेको जानकारी मन्त्रालयले दिएको छ। विशेषज्ञहरूका अनुसार खाडी क्षेत्रमा रहेका नेपाली श्रमिकहरू निर्माण, सेवा, होटल, सुरक्षा तथा अन्य विभिन्न क्षेत्रमा काम गर्दै आएका छन्। युद्ध चर्किँदै जाँदा उनीहरूको सुरक्षा, रोजगारी र आवागमनमा प्रत्यक्ष असर पर्ने जोखिम बढ्दै गएको छ। नेपालीमा बढ्दो त्रास युद्धको जोखिम बढ्दै जाँदा खाडी क्षेत्रमा रहेका नेपालीहरूमा त्रास बढेको छ। कतिपय नेपालीहरूले सामाजिक सञ्जालमार्फत आफूहरू असुरक्षित महसुस गरिरहेको र स्थिति बिग्रिएमा उद्धारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। विशेष गरी अमेरिकी सैन्य अड्डा नजिकका क्षेत्रहरूमा कार्यरत नेपालीहरू बढी चिन्तित देखिएका छन्। आक्रमणको जोखिमका कारण कतिपय कम्पनीहरूले आफ्ना कामदारलाई सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको जानकारी प्राप्त भएको छ। सरकारको चासो बढ्यो मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाबारे नेपाल सरकारले विशेष चासो देखाउन थालेको छ। परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा ‘इमरजेन्सी रेसपोन्स टिम’ (ईआरटी) गठन गरिएको छ। उक्त टोलीले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा, हित र कल्याण सुनिश्चित गर्न आवश्यक समन्वय र पहललाई निरन्तरता दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ। मंगलबार परराष्ट्र मन्त्रालयमा बसेको ईआरटीको दोस्रो बैठकले क्षेत्रीय अवस्थाबारे विस्तृत समीक्षा गर्दै आवश्यक तयारीलाई तीव्र बनाउने निर्णय गरेको छ। बैठकले आवश्यक परेमा नेपाली नागरिकको उद्धारका लागि हवाई उडान सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन गर्ने निर्णय गरेको छ। साथै विदेशस्थित नेपाली दूतावास, कन्सुलर कार्यालय तथा इमरजेन्सी कन्ट्रोल रुममार्फत सम्पर्कमा आएका नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइने जनाइएको छ। ५७ हजार नेपालीले टिपाए विवरण मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकको अवस्था बुझ्न सरकारले अनलाइन दर्ता प्रणाली सञ्चालनमा ल्याएको छ। कन्सुलर सेवा विभागले सुरु गरेको उक्त प्रणालीमा हालसम्म ५७ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म ५७ हजार १०० नेपालीले आफ्नो व्यक्तिगत विवरण, बसोबासको स्थान, कार्यस्थल तथा सम्पर्क विवरण प्रणालीमा टिपाएका छन्। सरकारले यो विवरणलाई प्राथमिकताका साथ अध्ययन गर्दै आवश्यकताअनुसार सुरक्षा, समन्वय तथा सम्भावित उद्धार कार्यको तयारी गरिरहेको जनाएको छ। मन्त्रालयका अधिकारीहरूका अनुसार यदि मध्यपूर्वको युद्ध अझै विस्तार भयो वा अवस्था गम्भीर बन्यो भने नेपाल सरकारले आवश्यकताअनुसार आफ्ना नागरिकको उद्धारका लागि विशेष योजना लागू गर्न सक्नेछ। हालका लागि भने विदेशस्थित नेपाली दूतावासहरूलाई सतर्क रहन, नेपाली नागरिकसँग नियमित सम्पर्कमा रहन तथा सम्भावित आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

मध्यपूर्वमा युद्धको असर : इराकमा कार्यरत १५० नेपाली सुरक्षित स्थानमा सारिए

काठमाडौं । मध्यपूर्वमा अमेरिका/इजरायल र इरानबीच चर्किएको युद्धको प्रभाव इराकसम्म फैलिँदा त्यहाँ कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ। इराकको कुर्दिस्तान क्षेत्रस्थित एर्बिल सहरमा रहेको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपालीहरूलाई संभावित सुरक्षा जोखिमका कारण उद्धार गरी सुरक्षित होटेलमा राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मंगलबार (फागुन १९) आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले “एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत १५० नेपालीलाई सो स्थानबाट उद्धार गरेर सुरक्षित होटेलमा राखिएको अवस्था छ,” उनले भने । क्षेत्रीय तनाव तीव्र बन्दै गएपछि इरानले युनाइटेड अरब इमिरेट्स, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान, इराक र जोर्डन लगायतका देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेको बताइएको छ। यही अवस्थाले एर्बिल विमानस्थल क्षेत्र असुरक्षित बनेपछि नेपाली कामदारहरूलाई तुरुन्तै सुरक्षित स्थानमा सारिएको हो। इराकसम्बन्धी कूटनीतिक कार्य हेर्ने जिम्मेवारी कुवेतस्थित नेपाली दूतावासको रहेको छ भने कतारको दोहास्थित दूतावासमार्फत प्राप्त सूचनाका आधारमा परराष्ट्र मन्त्रालयले आवश्यक समन्वय गरेको जनाएको छ। सरकारले इराकसहित मध्यपूर्वका प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा अवस्थामाथि निरन्तर निगरानी राखिएको र आवश्यक परे थप उद्धार तथा समन्वयका कदम चालिने स्पष्ट पारेको छ।

इरानी आक्रमणमा मारिने नेपाली गोरखाका २९ वर्षीय दिवस

अबुधाबी । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा घर भएका २९ वर्षीय दिवस श्रेष्ठ रहेको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार श्रेष्ठ ‘मध्य पूर्व कम्पनी’ मा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए। घटनाबारे यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको दूतावासले पुष्टि गरेको छ। घटनाको प्रकृति र थप विवरण सम्बन्धित निकायबाट सार्वजनिक हुने जनाइएको छ। दूतावासले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ भने शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। परिस्थिति सहज भएपछि श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता ल्याउन आवश्यक सम्पूर्ण सहजीकरण गरिने दूतावासले जनाएको छ। यसैबीच, दूतावासले यूएईमा रहेका नेपाली नागरिकलाई संयमता अपनाउन, सुरक्षित स्थानमा बस्न तथा यूएई सरकारले जारी गरेका सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

गैरआवासीय तथा प्रवासी नेपालीको हक–अधिकार र लगानी प्रवर्द्धनमा नेकपा प्रतिबद्ध

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि जारी गरेको प्रतिबद्धता पत्रमा गैरआवासीय तथा वासी नेपालीहरूको ज्ञान, सीप, पूँजी, अनुभव र योगदानलाई राष्ट्रिय विकासमा उपयोग गर्न नीतिगत रुपमा प्रतिबद्ध रहेकाे बताएकाे छ । सरकारी स्रोतका अनुसार, वासी नेपाली नागरिकको सामाजिक सुरक्षा लगायतका अधिकार सुनिश्चित गर्न विशेष पहल गरिने जनाएकाे छ । गैरआवासीय नेपालीमार्फत देशमा लगानी भित्र्याउन संघीय सरकारले विशेष योजना बनाउने तयारीमा रहेको पनि उल्लेख प्रतिबद्धता पत्रमा छ । त्यस्तै, गैरआवासीय नेपाली नागरिकलाई थप अधिकार प्रदान गर्न आवश्यक कानुन बनाउने पनि सरकारले जनाएको छ । वासी कामदारका लागि सामाजिक सुरक्षाको व्यवस्थापन गरी समयसापेक्ष लाभ सुनिश्चित गरिनेछ । नेकपाले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको हक, सुरक्षा र सामाजिक सुरक्षाको पूर्ण व्यवस्था गर्ने पनि सरकारी प्राथमिकतामा रहेको प्रतिबद्धता पत्रमा उल्लेख गरेकाे छ । नेकपाकाे सरकार बनेपछि यो पहलले नेपाली कामदार र गैरआवासीय नागरिक दुवैको हक–अधिकार सुदृढ पार्दै देशभित्रको लगानी वातावरणलाई समेत प्रोत्साहित गर्ने विश्वास व्यक्त प्रतिबद्धता पत्रमा गरेकाे छ । 

दौरा सुरुवालमा ७ महादेश ७ दिन ७ म्याराथन: बाल जोशीले गरे गिनिज रेकर्ड कायम

मायामी : नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवाल लगाएर विश्व म्याराथन च्यालेञ्ज (७७७) पूरा गर्दै इतिहास रचेका छन्। उनले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका छन्। शुक्रबार मायामीमा सम्पन्न यो चुनौतीपूर्ण प्रतियोगिताको समापनमा गिनिज बुकका प्रतिनिधिले जोशीलाई प्रमाणपत्र प्रदान गरे। चुनौती अन्टार्कटिकाबाट सुरु भएर क्रमशः अफ्रिका (केप टाउन), अष्ट्रेलिया (पर्थ), एसिया (दुबई), युरोप (म्याड्रिड), दक्षिण अमेरिका (ब्राजिल) हुँदै उत्तर अमेरिका (मायामी) मा सातौं दिन समापन भएको थियो। जोशीले नेपाली जन्मभूमि र सम्पदाप्रतिको सम्मानस्वरूप दौरा सुरुवाल (काठमाडौंका विश्व गौतमले तयार गरेको) मा दौडेका थिए। प्रतियोगितामा ३२ देशका ५६ धावक सहभागी थिए। यो '७ म्याराथन ७ महादेश ७ दिन' च्यालेञ्ज २०१५ देखि सञ्चालन हुँदै आएको छ, जसमा कुल २९४ किमी दौडिनुपर्छ। जोशीले नेपाली संस्कृति विश्वमाझ चिनाउने उद्देश्यले यो उपलब्धि हासिल गरेका हुन्।

बेलायतमा सप्तरीका एक विद्यार्थीको मृत्यु

लन्डन  । बेलायतमा अध्ययनरत २२ वर्षीय नेपाली विद्यार्थी विवेकानन्द मण्डल (सप्तरी, हनुमाननगर-१०) को सन्डरल्याण्ड रोयल अस्पतालमा उपचारका क्रममा निधन भएको छ । एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीका अनुसार, कम्प्युटर साइन्समा स्नातक पढ्न २०२३ सेप्टेम्बरमा बेलायत आएका मण्डल केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्या भोगिरहेका थिए । आइतबार समस्या बढेपछि छिमेकीको सुझावमा अस्पताल पुगे पनि सोमबार मृत्यु भयो । विश्वविद्यालयको बाँकी शुल्क नतिरेका कारण निष्कासित भएका उनी नेपाल फर्कने तयारीमा थिए । परिवारको आग्रहमा शव नेपाल पठाउने प्रक्रिया सुरु गरिएको छ । पुडासैनीले नेपाली विद्यार्थीहरूलाई स्वास्थ्यमा ध्यान दिन, समस्या भए तुरुन्त अस्पताल जान तथा जीपी दर्ता गर्न आग्रह गरेका छन् । उनले भने, “बेलायत हेर्दा राम्रो देखिन्छ तर आर्थिक अवस्था कमजोर भएकाहरूका लागि जीवन निकै कठिन छ । नयाँ वातावरण, जागिर अभाव र आर्थिक भारले धेरै विद्यार्थी मानसिक समस्या तथा आत्महत्याको जोखिममा छन् ।”

अमेरिकी भिसाको दुरुपयोग नगर्न नेपाली दूतावास अमेरिकाको अनुरोध

न्यूयोर्क— संयुक्त राज्य अमेरिकामा रहेका नेपाली नागरिकहरूलाई अमेरिकी सरकारले प्रदान गर्ने सहुलियतपूर्ण स्वास्थ्य उपचार, आवास, परिवार सहायता, शैक्षिक सहायता जस्ता सुविधाहरू अवैधानिक रूपमा वा गलत विवरण पेश गरी प्रयोग नगर्न नेपाली दूतावासले अत्यन्त जरुरी सूचना जारी गरेको छ। यस्तो कार्यले भिसा वा ग्रिनकार्ड स्टाटस रद्द हुन सक्ने तथा नेपालप्रति अमेरिकी भिसा नीति थप कडा हुन सक्ने चेतावनी दिइएको छ।   दूतावासका अनुसार, अमेरिकी अधिकारीहरूबाट प्राप्त जानकारीअनुसार विभिन्न प्रयोजन (अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय वा परिवार भेटघाट) का लागि अमेरिका पुगेका नेपालीहरूले गैरकानुनी तवरले वा झूटा विवरण दिएर यस्ता सहुलियत सुविधा लिँदा प्रत्यक्ष रूपमा आप्रवासन स्टाटसमा असर पर्ने र रद्द समेत हुन सक्छ। सन् २०२४ मा अमेरिका गएका नेपालीहरूको तथ्यांकले नै नेपालीहरूलाई अमेरिकी सरकारी सहायता लिनेहरूको उच्च सूचीमा राखेको उल्लेख गर्दै दूतावासले यो चेतावनी दिएको हो। यसै सन्दर्भमा अमेरिकी सरकारले हालै नेपाली नागरिकहरूका लागि आप्रवासी (इमिग्रेन्ट) भिसा जारी गर्न स्थगित गरेको छ। जनवरी २१, २०२६ देखि लागू हुने गरी उच्च दरमा सार्वजनिक सहायता (पब्लिक बेनिफिट्स) प्रयोग गर्ने जोखिम भएका ७५ देशहरू (नेपालसहित) का नागरिकहरूका लागि इमिग्रेन्ट भिसा जारी गर्न पूर्ण रूपमा रोकेको छ। यद्यपि, आवेदन दिन र अन्तर्वार्ता दिन सकिन्छ तर भिसा जारी गरिने छैन। यो निर्णय अमेरिकी करदाताको खर्चमा सहायता लिने जोखिम उच्च भएका राष्ट्रियताहरूको समीक्षा गर्नका लागि गरिएको हो। थप कडाइस्वरूप, बी१/बी२ (पर्यटक/व्यवसायिक) भिसाका लागि नेपाली आवेदकहरूलाई जनवरी २१, २०२६ देखि लागू हुने गरी अमेरिकी डलर ५,००० देखि १५,००० सम्मको रिफन्डेबल भिसा बन्ड (धरौटी) राख्नुपर्ने प्रावधान लागू गरिएको छ। यो पाइलट कार्यक्रमअन्तर्गत उच्च ओभरस्टे दर भएका देशहरूमा लागू भएको हो, जसमा नेपाल पनि समावेश छ। योग्य ठहरिएका आवेदकहरूलाई अन्तर्वार्ताको समयमा कन्सुलर अफिसरले बन्डको रकम निर्धारण गर्छन् र भिसा जारी हुनुअघि Pay.gov मार्फत भुक्तानी गर्नुपर्छ। यदि समयमै अमेरिका छोडेमा यो रकम फिर्ता हुन्छ। दूतावासले बी१/बी२ भिसामा ओभरस्टे गर्ने, तोकिएको भन्दा फरक काम (जस्तै रोजगारी) गर्ने जस्ता दुरुपयोगका घटनाहरू बढेको उल्लेख गर्दै यसले नेपालको छविमा गम्भीर नकारात्मक असर पार्ने र भविष्यमा अमेरिका जान चाहने नेपालीहरूलाई भिसा प्राप्ति अझ कठिन हुने बताएको छ। दूतावासको अनुरोध : संयुक्त राज्य अमेरिकामा रहेका सबै नेपाली नागरिकहरूलाई गैरकानुनी रूपमा वा गलत सूचना दिएर कुनै पनि सहुलियत सुविधामा निर्भर नहुन/नगराउन तथा बी१/बी२ भिसाको दुरुपयोग नगर्न हार्दिक अनुरोध गरिएको छ। यस्ता कार्यले व्यक्तिगत आप्रवासन स्टाटस मात्र होइन, समग्र नेपाली समुदाय र मुलुकको प्रतिष्ठामा पनि दीर्घकालीन असर पार्न सक्छ।  

रास्वपाले यूएईबाट प्रेमराज ढकाललाई समानुपातिक तर्फ सर्वसम्मत सिफारिस

यूएई । राष्ट्रिय स्वतन्त्र पार्टीको विदेशस्थित सम्पर्क विभागअन्तर्गतको प्रवास नेपाली सम्पर्क विभाग यूएईले सामाजिक सेवामा दीर्घकालीन तथा प्रभावकारी योगदान पुर्‍याएको आधारमा प्रेमराज ढकाललाई आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ। विभागले जारी गरेको सिफारिस पत्रमा आपतकालीन अवस्थामा नेपाली नागरिकको उद्धार तथा राहत व्यवस्थापन, नेपालका विभिन्न जिल्लामा उपचारबाट वञ्चित नागरिकलाई आर्थिक सहयोग, कोभिड–१९ महामारीका समयमा स्वास्थ्य सामग्री तथा खाद्य सामग्री वितरण, साथै खेलकुद प्रवर्द्धनमा पुर्‍याएको योगदानलाई उच्च मूल्याङ्कन गरिएको छ। यी कार्यहरूमा ढकालको नेतृत्वदायी भूमिका अत्यन्तै उल्लेखनीय र उदाहरणीय रहेको उल्लेख गरिएको छ। सन् २००८ देखि यूएईमा निरन्तर बसोबास गर्दै आएका भोजपुर जिल्लाको अरुण गाउँपालिका–५, याकू निवासी ढकालले सामाजिक उत्तरदायित्व वहन गर्दै प्रवासी नेपाली समुदायको प्रतिष्ठा अभिवृद्धि गरेको विभागको निष्कर्ष छ। सोही आधारमा उनलाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिएको स्पष्ट पारिएको छ। कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयमा ढकालले भोजपुर जिल्लामा अक्सिजन सिलिन्डर, मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेका थिए भने झापाको कन्काई नगरपालिका–६ मा खाद्य सामग्री वितरण गरेका थिए। यसका साथै यूएईमा रहेका नेपाली समुदायका १५० भन्दा बढी नागरिकको राहत तथा उद्धार कार्यमा सक्रिय योगदान पुर्‍याएका छन्। हालै सम्पन्न वेस्ट इन्डिज र नेपालबीचको Unity Cup 2025 आयोजना सफल बनाउनसमेत उनले विशेष सहयोग पुर्‍याएको जनाइएको छ। श्रमिकका रूपमा सन् २००७ मा साउदी अरबबाट आफ्नो वैदेशिक यात्रा सुरु गरेका ढकाल पछि यूएई आएका हुन्। आफ्नो कार्यक्षमता र व्यवस्थापकीय क्षमताका कारण सन् २०१२ मा यूएईको अल–फुतैम कम्पनीमा म्यानेजरको जिम्मेवारी सम्हाल्दै हाल आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। प्रवासमा आर्जन गरेको अनुभव, ज्ञान, सीप र प्रविधिलाई संविधान तथा कानुन निर्माण प्रक्रियामा उपयोग गर्ने उद्देश्यसहित उम्मेदवारी अघि सारेको ढकालको भनाइ छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीको कतारस्थित सम्पर्क विभागले अब्दुल करीम र साउदी अरबस्थित सम्पर्क विभागले भूपाल भण्डारीलाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरेको जानकारी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वका विभिन्न मुलुकबाट सिफारिस आह्वान गरेसँगै विदेशस्थित सम्पर्क विभागहरूले उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाएका छन्। हाल मध्यमपूर्वका विभिन्न मुलुकमा करिब २० लाख नेपाली कार्यरत रहेका छन्। निर्वाचन नजिकिँदै जाँदा विदेशस्थित सम्पर्क विभागहरूले मतदाता तथा कार्यकर्तालाई निर्वाचनमा सहभागिता जनाउन नेपाल जान सहज हुने वातावरण निर्माणका लागि आवश्यक समन्वय तथा पहल गरिरहेका छन्।

नेपाली समाज यूएईद्वारा क्षमता अभिवृद्धि तालिम सम्पन्न

दुबई ।नेपाली समाज यूएईले गत आइतबार दुबईस्थित अरबियन कोर्टयार्ड होटलको द बोधी लाउन्ज हलमा सार्वजनिक भाषण, माइन्युट लेखन तथा आधारभूत पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ। नेपाल पत्रकार महासंघ यूएई शाखाको समन्वयमा आयोजित उक्त तालिममा यूएईमा क्रियाशील विभिन्न सामाजिक संघ–संस्थाका सचिव तथा महासचिवहरूलाई लक्षित गरिएको थियो। आयोजकका अनुसार तालिमको उद्देश्य सामाजिक अभियन्ताहरूको नेतृत्व, सञ्चार र व्यक्तित्व विकासमा योगदान पुर्‍याउनु हो। कार्यक्रममा अनुभवी प्रशिक्षक निमेश गिरी, लक्ष्मण खनाल र मेघराज सापकोटाले प्रशिक्षण प्रदान गरेका थिए। तालिममा ७० भन्दा बढी सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूलाई आरम्भ लाइफजेन स्पिच हब प्रा. लि. तर्फबाट प्रमाणपत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ। तालिममा सहभागी स्याङ्जा समाजका बिष्णु गैरेले आफुहरुले तालिमबाट धेरै कुरा सिक्न पाएको बताए। एनआरएनए यूएईकी उपाध्यक्ष शोभा शर्माले पब्लिक स्पिकिंग तालिमले आफुलाई बोल्न आत्मबल मिलेको भन्दै आयोजकलाई धन्यबाद दिएकी छिन्।  पार्षद अध्यक्ष कमल गिरीले निकट भविष्यमा अझ बृहत तालिम कार्यक्रमको आयोजना गर्ने बताए । कार्यक्रम आवश्यक र महत्वपूर्ण रहेछ भन्ने महशुस भएको र छिट्टै नै अर्को कार्यक्रमको आयोजना गरिने भन्दै नेपाल पत्रकार महासंघलाई सहयोगको लागि धन्यबाद दिए।  नेपाली समाजका सल्लाहकार गोबिन्द ढकालले तालिममा सिकेको कुरा कार्यन्वयनमा ल्याउन जोड दिए।   नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानले यूएईमा सामाजिक संस्थाहरूको सक्रियता बढ्दै गइरहे पनि व्यक्तित्व विकास र सञ्चार सीप अभाव महसुस भएको बताए। उनले भविष्यमा अझ व्यापक र प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उल्लेख गरे।

नखिल गोर्खा फुटबल क्लबले जित्यो दोस्रो ज्योलुकास एक्सचेन्ज धरान हेल्पिङ ह्याण्ड्स कप–२०२५

दुबई । दोस्रो ज्योलुकास एक्सचेन्ज धरान हेल्पिङ ह्याण्ड्स फुटबल प्रतियोगिता–२०२५ को उपाधि अबुधाबीस्थित नखिल गोर्खा फुटबल क्लबले हात पारेको छ।  धरान हेल्पिङ ह्याण्ड्स र धरान युनाइटेड क्लब यूएईको संयुक्त आयोजना तथा यूएई नेपाली फुटबल संघ (UNFA) को संयोजनमा दुबईको डल्सको खेल मैदानमा सम्पन्न फाइनल खेलमा नखिल गोर्खाले ग्रीन सिटी इलामलाई २–० गोलले पराजित गर्दै च्याम्पियन बनेको हो।   यूएईको नेपाली समुदायमा सबैभन्दा ठूलो पुरस्कार राशी राखिएको प्रतियोगितामा विजेता नखिल गोर्खाले ८ हजार ४ सय ११ दिराम र उप–विजेता ग्रीन सिटी इलामले ४ हजार चार सय ११ दिराम प्राप्त गरे ।  त्यसैगरी धरान युनाइटेड एफसी ले फेयर–प्ले अवार्ड हासिल गर्यो ।  विशेष सम्मान र पुरस्कार वितरण विजेता–उपविजेता टोलीलाई ट्रफी तथा पुरस्कार प्रदान गरिएको कार्यक्रमको विशेष आकर्षणको रूपमा यूएईमा नेपाली फुटबल विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने १२ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो।   सम्मानित व्यक्तिहरूमा UNFA अध्यक्ष अनिल शेर्पा, संरक्षक मुक्ति गुरुङ र कूल लेप्चा, वरिष्ठ खेलाडी राजु तमाङ, पूर्व राष्ट्रिय खेलाडी सुरज बिक, कप्तान सुमन लिम्बु, क्लब हेड स्विकार राई, मानधोज आले, खेमनसिंह गुरुङ, गुप्त शेखर पौडेल, अजय मगर र डुर्गा बहादुर थापा रहेका थिए। व्यक्तिगत पुरस्कारतर्फ ग्रीन सिटी इलामले उत्कृष्ट प्रदर्शन गर्दै बेस्ट प्रशिक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट मिडफिल्डर र बेस्ट स्ट्राइकर का उपाधि जित्यो। यस्तै उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, बेस्ट म्यानेजर र बेस्ट डिफेन्डर उपाधि पनि सम्बन्धित खेलाडीहरूले प्राप्त गरे। यूएईका विभिन्न नेपाली व्यवसायिक संस्थाहरूको सहयोगमा सम्पन्न प्रतियोगिता आगामी वर्ष पनि निरन्तरता दिइने आयोजक समितिले जनाएको छ। आयोजकका अनुसार, प्रतियोगिताले यूएईमा नेपाली खेलकुद, प्रतिभा पहिचान, समुदायिक एकता र फुटबल उत्साह बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।  

नेपालपछि प्रवासमा पनि वाम एकता, यूएई र कतारका संगठनको ऐक्यबद्धता

फडिन्द्र ढकाल, दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा क्रियाशील नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का प्रवासी भातृ संगठनहरूबीच एकता हुने भएको छ। दुवै देशमा रहेका नेपाली जनप्रगतिशील मञ्च र प्रवासी नेपाली एकता मञ्चका अध्यक्षहरूले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा भएका मूल पार्टीहरूको एकतालाई स्वागत गरेका छन्। साथै सबै सदस्यलाई एकतामा समाहित हुन आह्वानसमेत गरेका छन्। कतारमा प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष राजेन्द्र देवकोटाले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्। यसैगरी यूएईमा नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष लक्ष्मण खनाल र प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष विपिन सापकोटाले हस्ताक्षर गरेका छन्। यूएईका प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष सापकोटाले नेपाल र प्रवास दुवै स्थानमा सम्पूर्ण वामपन्थी शक्तिहरू एकीकृत हुनु आवश्यक रहेको बताए। त्यस्तै, मञ्चका अध्यक्ष खनालले प्रवासी भूमिमा रहेर प्रवासी नेपाली समुदायका हक–अधिकार संरक्षण, नेपालको राजनीतिक स्थायित्व, आर्थिक रूपान्तरण र सामाजिक परिवर्तनका अभियानमा निरन्तर योगदान दिँदै आएका नेपाली जनप्रगतिशील मञ्च यूएई र प्रवासी नेपाली एकता मञ्च यूएईले यस ऐतिहासिक एकतालाई राष्ट्रिय हित, जनआकांक्षा र वाम आन्दोलनको रणनीतिक अपरिहार्यता भएको बताएका छन्। यूएईबाट प्रकाशित विज्ञप्तिमा भनिएको छ, “विश्वभर छरिएर रहेका चेतनशील, प्रगतिशील, वर्गीय चेतनाद्वारा लैस तथा परिवर्तनकामी सम्पूर्ण प्रवासी नेपालीहरूलाई नवगठित नेपाली कम्युनिस्ट पार्टीको ऐतिहासिक यात्रालाई सबल, गतिशील र संगठनात्मक रूपमा सक्षम बनाउन गोलबन्द हुँदै अघि बढ्न हार्दिक आह्वान गर्दछौं।” विज्ञप्तिमा अगाडि भनिएको छ, “हामी दुवै मञ्चको तर्फबाट संगठित वाम राजनीतिका वैचारिक उचाइ, संगठनात्मक घनत्व, जनआकांक्षा र वर्गीय हितलाई सर्वोपरि ठान्दै नयाँ उचाइमा पु¥याउने आगामी अभियानमा पूर्ण समर्पण, प्रतिबद्धता र ऐक्यबद्धता व्यक्त गर्दछौं।”  

अमेरिकाबाट दुई सातामै ५० नेपाली निष्काशित

काठमाडाैं । अमेरिकाबाट निष्काशित थप पाँच नेपाली काठमाडौं आइपुगेका छन्। बुधबार साँझ एयर इन्डियाको उडानबाट नयाँ दिल्ली हुँदै पाँच नेपाली काठमाडौं आइपुगेका हुन् । निष्काशितहरुमा दाङ, प्यूठान र रुकुम घर भएका युवाहरु छन् । गत ३ मंसिरमा एकैदिन ३५ नेपालीलाई चार्टर्ड विमानमा काठमाडौं ल्याएर छाडिएको थियो । त्यस्तै, २ मंसिरमा चार र ३० कात्तिकमा पाँच नेपाली अमेरिकाबाट निष्काशनमा परी नेपाल आइपुगेका थिए। दुई सातामा ५० नेपाली अमेरिकाबाट निष्कासनमा परेका छन्। यसरी निष्काशनमा पर्नेहरुमा धेरै जसो अवैध रुपमा अमेरिका प्रवेश गर्ने र प्रवेश गर्न खोज्नेहरू छन् ।  अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडाई गरेसँगै निष्काशनमा पर्ने नेपालीको संख्या पनि बढेको हो।

नेपाली समाज भारतको पहलमा भारतमा रहेका नेपालीले भारतीय बैंकमा खाता खोल्न सक्ने

नयाँ दिल्ली । भारतमा बसोबास गर्ने नेपाली नागरिकहरूले अब नेपाली राहदानी वा नागरिकता प्रमाणपत्रका आधारमा भारतीय बैंकहरूमा खाता खोल्न सक्ने भएका छन्।   नेपाली समाज भारतले सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा  भनिएको छ, “नेपाली समाज भारतको पहलमा अब भारतमा रहेका नेपाली समुदायले नेपाली नागरिकता वा राहदानी (पासपोर्ट) प्रयोग गरेर भारतीय बैंकमा खाता खोल्न सक्ने भएका छन्। यो महत्वपूर्ण सहयोगका लागि इण्डियन बैंक तथा नेपाली राजदूतावासलाई विशेष धन्यवाद व्यक्त गर्दछौँ।” यसअघि भारतमा बस्ने नेपालीहरूले बैंक खाता खोल्न भारतीय आधार कार्ड वा अन्य भारतीय परिचयपत्र अनिवार्य चाहिन्थ्यो, जसले गर्दा धेरै नेपालीलाई समस्या पर्दै आएको थियो। यो नयाँ व्यवस्थाले भारतमा अध्ययन, रोजगारी वा व्यवसाय गरिरहेका हजारौँ नेपालीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। नेपाली राजदूतावास नयाँ दिल्ली र भारतीय बैंकिङ क्षेत्रबीचको सहकार्यले दुवै देशका नागरिकलाई आर्थिक कारोबारमा थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ।