नेतृत्वमा पुग्न अमेरिकी एनआरएनमा गरियो विभाजन, डा.पौडेल भन्छन ‘प्यानल खडा गर्दीन’

वासिङ्टन डिसी । अमेरिकी डायस्पोरामा रहेका नेपालीभाषीहरुलाई जोड्ने साझा संस्थाका रुपमा स्थापना गरिएको गैरआवासीय नेपाली संघ (एनआरएन)लाई दिनानुदिन नेपाली राजनीतिक दलको भ्रातृ संगठनबीचको प्रतिस्पर्धा गर्ने थलो बनाउन थालिएको छ ।

नेपाली राजनीतिक दलको भ्रातृ संगठनबीचको प्रतिस्पर्धाको थलो बनाउन पछिल्लो पटक एनआरएन अमेरिकाको निर्वाचनमा गौरीराज जोशीले प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएपछि यसको पुष्टि भएको हो ।

हुन त एक कार्यकाल पूर्णरुपमा राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्मा काम गरेपछि मात्र अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पाउने स्पष्ट विधान हुँदाहुँदै एक कार्यकाल पनि पूर्णरुपमा काम नगरेका जोशी बल मिच्याइँको भरमा अध्यक्ष पदमा प्रतिस्पर्धामा उत्रिएका छन् । जोशीले नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अमेरिकाका कार्यकर्तालाई टिममा राखेर प्यानल बनाएका कारण अहिले डायस्पोरालाई जोड्नेभन्दा तोड्ने काम भएको भर्जिनियाबासी एक नेपालीले बताएका छन् । यद्यपि, अध्यक्षको एक कार्यकाल सफलतापूर्वक काम गरिसकेका पुनः अध्यक्षका प्रत्यासी डा. केशव पौडेलले भने डायस्पोरालाई विभाजन गर्न नहुने भन्दै हालसम्म उनले आधिकारिक प्यानल खडा गरेका छैनन् ।

बाहिर बाहिर गैरआवासीय नेपालीको मुद्दालाई उठान गर्दै उनीहरुको हितमा काम गर्ने उद्देश्य भनिए पनि त्यसविपरीत गैरआवासीय नेपाली संघको नेतृत्वमा आउन चाहने स्वयम्ले नेपाली राजनीतिक दलका भातृ संगठनको साथ–समर्थन गुहारिरहेको अवस्थाले संस्थाको उद्देश्यविपरीत गैरआवासीय नेपाली संघमा राजनीतिक रंग देखिन थालेको छ ।

आसन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचनमा पार्टीका प्रवास संगठनको समर्थनदेखि नेपालका राजनीतिक दलका नेताहरुको साथ आफूलाई रहेको भनी प्रचार गर्न उम्मेदवारहरुबीच प्रतिस्पर्धा नै देखिन थालेको छ । चुनाव जित्नका लागि कांग्रेस र एमाले दुवै हँु भनेर प्रष्ट्याउन खोज्ने कामसमेत नेतृत्वका आकांक्षीबाट हुने गरेको देखिएको छ ।

अध्यक्षका आकांक्षी जोशीले पछिल्लो समय आफू एमाले निकट नभई कांग्रेस निकट नै भएको देखाउन चितवन जिल्लामा सहयोग गरेको विवरणसहितको नेपाली कांग्रेस, चितवनको लेटरप्याडसमेत प्रयोग गरेर सामाजिक सञ्जालमार्फत प्रचारमा ल्याए ।

अर्कोतर्फ गुट नै बनाएर महिना दिन अघिदेखि नै चुनावी अभियान थालिनुले समेत चुनाव सकिएपछि त्यसले पछिसम्म एनआरएन अमेरिकामा विभाजनको बीउ रोप्ने भन्दै एनआरएन अमेरिकाका अभियन्ताहरु तथा एनआरएनएलाई माया गर्नेहरु समेत चिन्तित हुन थालेका छन् ।

गैरआवासीय नेपाली संघलाई सबैको साझा र एकताबद्ध संस्था बनाउन सक्दा मात्रै त्यसले सबैको हित गर्न सक्दछ । एनआरएनएका अभियानमा जोडिएका एक अग्रजले भने– ‘तर अहिले त महिनौं दिन अघिदेखि प्यानल बनाएर जाने काम भएको छ, कित्ताकाट भइरहेको छ ।’ यसले संस्थालाई सही ठाउँमा लान नसक्ने उनले दाबी गरे । ‘प्रजातान्त्रिक अभ्यासमा जानुपर्छ त्यसमा कसैले नराम्रो मान्नुपर्ने छैन,’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने– ‘तर, यो कुनै सरकारी ओहोदा वा संसदीय चुनाव हो र, यसरी कित्ताकाट गर्ने ? अझ हुँदा हुँदा आफूलाई नेपालका दल तथा नेताहरुको नजिक छु भनेर प्रचारलाई अघि बढाउँदा भोलि नेपाली डायस्पोरा कता पुग्छ, के त्यसको ख्याल गर्नुपर्दैन ।’

एनआरएन अमेरिकाको चुनावी माहौल अघि बढिरहँदा अमेरिकामा रहेका नेपालीमा विभाजनको बीउ रोपिने त होइन भन्ने चिन्तासमेत बढेको देखिन्छ । प्यानल प्यानलमा नेपालीहरु बाँडिदा एकताबद्ध र सशक्त एनआरएनए अभियानमा त्यसले बाधा पुग्ने र भोलि नेपाली समुदाय कमजोर बन्नेतर्फ आफूलाई उभ्याउन गरेको प्रयासले देश बाहिर रहेका आम नेपालीमा फुट ल्याउनेतर्फ आम नेपालीको चिन्ता देखिन्छ ।

पछिल्लो समय अमेरिकामा रहेका नेपालीका सामाजिक सञ्जालमा एनआरएन अमेरिकाकै चर्चा चुलिएको छ । सामाजिक सञ्जालमा भोटको आशा मात्रै होइन मेरो समूह यो हो भनेर चित्रित गर्दै म अरुभन्दा यो कारणले बलियो छु भन्नेदेखि लिएर आन्तरिक रुपमा अर्को पक्षलाई गिराएर नेपालको दलीय राजनीतिको प्रभावस्वरुप भोटको राजनीतिसमेत गर्न थालिएको छ ।

एनआरएन अमेरिकाको चुनावमा यसरी पार्टीगत रुपबाट समुदाय विभाजन गर्न खोजिएकोमा अमेरिकामा रहेका नेपाली चिन्तित मात्र छैनन्, उनीहरुमा एक हदसम्मको आक्रोश पनि देखिन थालेको छ । सामाजिक सञ्जालहरुमा एनआरएन अमेरिकाको भोलिको गन्तव्यप्रति प्रश्न गर्दै अहिले नै यस्तो देखिएपछि भोलि नेतृत्वमा आए सबैको हितमा के काम हुन सक्दछ भन्ने खालका आक्रोशजन्य अभिव्यक्तिहरुसमेत पोष्ट हुन थालेका छन् । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ता अमेरिकाका नेपालीहरुले नेपालमा राजनीतिकै कारण अवसर र सम्भावना गुमेका कारण प्रवासमा आउन परेको अवस्थामा यहाँ पनि नेपालकै पार्टीगत राजनीति नै गर्ने हो भने एनआरएन अमेरिका आवश्यकता नै किन जरुरी रहने भन्ने आशयसम्मका भनाइ अभिव्यक्त गर्ने गरेका छन् ।

समूहभन्दा पनि अघि बढी गुट बनाएर, दलीय आधार खोजेर फुट ल्याएर चुनाव जितेर एकताबद्ध एनआरएन अमेरिका बन्न सक्दैन, यसको हेक्का नेतृत्वमा उठेकाहरुमा हुनु जरुरी छ ।

‘तिमीहरु नेपालीलाई यही मारेर बालुवामा फ्याँकिदिन्छु भन्ने कपिलबाट मुक्त भए १० नेपाली युवाहरु

सुनौलो सपना बोकेर वैदेशिक रोजगारका लागि एक वर्ष अघि साउदी अरब पुगेका १० जना नेपालीहरु आज यमराज जस्तो मालिकबाटज्यान जोगाएर स्वदेश फर्कन सफल भएका छन् । लक्की एचआर मेनपावर कम्पनीबाट गत सालको जुलाईमा साउदी अरबको सलमान हसन अल मार्थु कम्पनीमा पठाइएका ती युवाहरुयमराज जस्ता कपिल ९मालिक०को पञ्जाबाट ज्यान जोगाउनु नै ठुलो कुरा सम्झेर आज विहान ९ बजे साउदी अरबबाट एयर अरबिया जहाजमार्फत नेपाल फर्केका हुन । आज राती ८।३० बजे नेपाली भूमिमा अवतरण गर्ने छन् । उनीहरुलाई नेपाली साझा मंच र साथी अभियानकोसक्रियता र समन्वयमा नेपाली राजदुतावासका स्थानीय कर्मचारी हरि घिमिरेले आउटपास र एक्जिट भिसा मंगलबार दिलाएपछि रमेनपावर कम्पनीले टिकट उपलब्ध गराएपछि उनीहरु नेपाल फर्कन पाएका हुन् । ती युवाहरुका अनुसार साउदी अरबको कतिफक्षेत्र अन्तर्गतको अवमियामा राखिएका उनीहरुलाई पुगेकै दिनदेखि दुई दिनमा एक छाकमात्रै खाना दिने र बोलेमा कुटपिट गर्ने र पेस्तोल देखाएर ूतिमीहरु नेपालीलाई यही मारेर बालुवामा फ्याँकिदिन्छु१ू भनि कपिलले बारम्बारधम्की दिने गरेका थिए । तीन जना कपिल रहेको र उनीहरुको घरमा काम लगाउने साथै कुटपिट गरिरहने गर्दथे । त्यस्तो उत्पीडन सहननसकेर उनीहरु आफूले पाउनु पर्ने ७ महिनाको तलब माया मारेर फर्केका हुन । गत विहिबार १ बजे राती कपिलले उनीहरुलाई राखेको अवमियाको मजरामा आई मेनपावरलाई किन खबर गरिस्, काम गर्न जान्छेस् किजान्नस् भनि सोध्दा खाना र तलब नदिएसम्म जानौ भनेपछि कुटपिट गरेर “तेरो नेपाल जाने बाटो यही हो, जता जान्छेस् जा । फर्केर आईस्भनेर मारेर फालिदिन्छु” भनेर पेस्तोल देखाएर केहीलाई अज्ञात स्थलमा पुराई छाडेर अलपत्र पारिएको थियो । त्यसपश्चात् उनीहरु शुक्रबारविहान अन्य व्यक्तिको साहारा र मंचका साथीहरुको सल्लाहमा दम्मामको सिको गार्डेन पुगेका थिए । मंचका साउदी संयोजक कृष्ण पुरीलेउनीहरुलाई खान बस्नका लागि मेनपावरका कापरीसंग समन्वय गरेर त्यहाँ व्यवस्था गरेका थिए । तलब माग्यो कि कुट्ने र मार्ने धम्की एक वर्ष अघिदेखि चरम शोषण र उत्पीडन गरेर बँधुवा मजदुर बनाएका उनीहरुलाई कुटपिट गरेर लखेटेको त्यस कम्पनीले उल्टो कम्पनीछाडेर भागेको आरोप ९हुरुप० लगाई भगौडा करार गरिदिएका कारण उनीहरुले पाउनु पर्ने पारिश्रमिकका लागि न्याय खोज्न पनि सकेनन् । स्थानीय कर्मचारी घिमिरेका अनुसार उनीहरुले पारिश्रमिक पाउन मुद्दा लड्नु पर्ने र सोको फैसला हुन ७–८ महिना लाग्ने गर्दछ । “हाम्रा नेपालीहरुले बेर्खची भएर त्यतिका समय पर्खन सक्दैनन् बरु रित्तो हात फर्किनु ठिक हुन्छ” घिमिरे भन्छन् । “तलब माग्यो कि कुटेर ढुटो पारी हाल्थ्यो अनि मारेर फालिदिन्छु भन्थ्यो” उनीहरुले आँखाभरी आँशु पारे भने “घरमा भने काम नै छैन,कपिलले तलब दिएको छैन भनेर ढाँट्थ्यौ । हामीले हाम्रो अवस्था भन्दा घरमा चिन्ता होला भनेर पनि ढाँट्यौ ।” त्यहाँ पुराइएका उनीहरुलेअन्य कम्पनीमा काम गर्न पाउदा मात्रै अघाउञ्जेल खाना खान र आरामले सुत्न पाउँथे तर तलब भने पाउदैनथे । एक वर्षसम्म मानसकि–शाररिक यातना र आर्थिक शोषण उत्पीडन झेलेर फर्केका पीडितहरु भन्छन् “नोभेम्वरसम्ममा त्योपनि सम्झौताविपरितको काम गराएर उसैले तोकेको कम तलब पनि बल्लतल्ल तीन महिनाको दियो । डिसेम्बरदेखि भने एक हलाला दिएन, उल्टो कुटेरमारेर फ्याँकी दिने धम्कीले त्रसित भएर ज्यान बचाउने उपाय मात्रै सोच्यौ । कपिलको व्यवहार र तलब नपाएका सम्बन्धमा आएकैमहिनादेखि मेनपावर कम्पनीका प्रकाश अधिकारी र ऋषी शर्मालाई पटकपटक जानकारी गराएका हौ । नेपाल प्रहरीको हटलाईनमा पनिपटक पटक उजुरी गरेका हौ । “हुन्छ, हुन्छ, गर्छौ गर्छौ” भन्दै हामीलाई त्यस नर्कमा बस्न बाध्य तुल्याइयो, हाम्रो उद्धार भएन । जबहामीलाई सप्लाई गरेर काम गर्न अर्को कम्पनीमा दुई महिना अघि पठाइएको थियो, त्यसबेला त्यहाँका साथीहरु मार्फत नेपाली साझा मंचमाहाम्रो सम्पर्क भयो, त्योपनि जुनको अन्तिम समयमा । हाम्रो कम्पनीसंगको सम्झौता समाप्त भएर हामीलाई जुन २७ मा हाम्रै कम्पनीमाफर्काइदै थियो । साझा मंचका दाइहरुले हाम्रो समस्याका सम्बन्धमा भिडियो बनाएर मिडियामा प्रशारण गर्नु भएपछि मात्रै हामीलाईमेनपावरले सोधी खोजी गरेर उद्धार गरेको हो ।” “हामी जाँदा लिएको ऋण पनि तिर्न सकेका छैनौ । हामीसंग ७०–८० हजार रुपैयाँ लिएर राम्रो कम्पनी भनेर पठायो तर कुकुरले नपाउनेदुःख पायौ । हामीलाई फसाउनेलाई कारवाही र हामीले क्षतिपूर्ति पाउनु पर्छ” उनीहरुले एउटै स्वरमा माग गरेका छन् । सकुशल फर्काउनु नै ठूलो कुरो साउदी अरबको द्वन्द्व र हिंसाग्रस्त क्षेत्रका रुपमा परिचत अवमियामा सरकारी कर्मचारी समेत जाँदैनन् । त्यहाँ दिउँशै बारुदको गन्ध आउनुअनि बम र बन्दुक पड्केको आवाज आउनु सामान्य मानिन्छ । पीडितहरुका अनुसार उनीहरुको कपिल समेत खुँखार सरदार भएको रपटकपटक दोहोरो भिडन्तमा परेर थुप्रै पटक घाईते भएका रहेछन् । त्यहाँका घरहरु सबै गोली र बमले प्वाल परेका र भत्केका छन् । त्यहाँसाउदी सरकारले सैनिकहरुको घेरामा मात्रै आफ्नो परियोजनाहरु संचालन गरिरहेको छ । त्यहाँ कार्यरत परियोजनाका कामदारहरुलाईउद्धार गर्न पनि सैन्य भिड़न्त हुने गरेका सामाचारहरुमा उल्लेख छ । कामदारहरुको उद्धार गर्ने क्रममै गत मेमा भएको सैन्य कारवाहीमाएक पाकिस्तानी सहित २ जनाको मृत्यु र १० जनाबढी घाईते भएका थिए । त्यस्तो क्षेत्र र कपिलको पञ्जाबाट मुक्त भएर आउनु अनि त्यहाँको मजराबाट ती पीडित नेपालीहरुलाई सकुशल फर्काउनु सक्नु नै ठूलो कुरोभएको छ । त्यहाँ फसेका अन्य नेपालीहरुको समेत खोजी गरेर उद्धार गर्नुपर्ने आवश्यकता रहेको मंचका अध्यक्ष महेश श्रेष्ठ बताउछन् । श्रेष्ठले मंचकोसाथी अभियान अन्तर्गत पीडितहरुको सकुशल उद्धार हुनुमा वैदेशिक रोजगार विभाग, नेपाली राजदुतावास, मेनपावर, पीडित परिवार रसंचारकर्मिहरुको सहयोग समन्वयले मात्रै सम्भव भएको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । नेपाली साझा मंच राष्ट्रिय समन्वय समिति साउदी अरबको सम्पर्कमा गत जुन २६ मा पुगेका उनीहरुको उद्धारका लागि मंचले नेपालीराजदुतावासमा लिखित अनुरोध गर्नुका साथै नेपालबाट राष्ट्रिय मानव अधिकार आयोग, वैदेशिक रोजगार विभाग र कन्सुलर सेवा विभागमापनि अनुरोध गरेको थियो । मंचले साथी अभियान अन्तर्गत संयोजक शारदा भुषाल झाको नेतृत्वमा पीडितहरुको परिवारलाई काठमाडौंबोलाई वैदेशिक रोजगार विभागमा थप उजुरी समेत दर्ता गराइएको थियो । विभागले गत सोमबार मेनपावरका संचालक ऋषी शर्मा रपीडितका परिवारका बीचमा पीडितहरुलाई यथाशिघ्र उद्धार गरेर नेपाल ल्याउने लिखित सहमति गराएको थियो । यसैबीच मंचले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुप्रति भइरहेको चरम शोषणका विषयमा मानव अधिकार कर्मि र आयोगकोध्यानाकर्षण गराउन प्रयास गरेको मंचका नेपाल महासचिव ङामुक हाङ बताउछन् । ती पीडितहरुप्रति अमानवीय व्यवहार भएकासम्बन्धमा मंचले मानव अधिकार आयोगको ध्यानाकर्षण गराउन खोजेको भएपनि आयोगले वैदेशिक रोजगारप्रति नै हालसम्म कुनै चासोव्यक्त गरेको छैन । साथी अभियानकी सदस्य निता कार्की भन्छिन “यो कुरा मिडियामा हामीले नल्याएको भए अझै उनीहरुको अवस्था थप दयनीय हुने थियो ।हामीले ठूलो आँट गरेर उनीहरुको भिडियो सार्वजनिक गरेका थियौ । उनीहरुको यति चाडो उद्धार हुनुमा मिडिया र हाम्रो साथीअभियानकी संयोजक शारदा दिदीको महत्वपूर्ण योगदान छ । उहाँहरु सकुशल आउनु पाउनु भएकोमा हामीलाई धेरै खुसी लागेको छ,उहाँहरुको परिवारहरु पनि खुसी छन् ।” “पीडित १० जना नेपालीहरुलाई सूचना प्राप्त भएको १५ दिनभित्रमा सकुशल उद्धार गर्न सफल हुनु महत्वपूर्ण कुरा हो । साथी अभियानमाजोडिनु भएका मिडिया कर्मिहरुको यस सफलतामा महत्वपूर्ण सहयोग छ, साथै वैदेशिक रोजगार विभागका सरहरुलाई पनि धेरैधेरैधन्यवाद”संयोजक झाले भनिन् । पीडित हुनेहरूमा जनकबहादुर खत्री जाजरकोट, बमबहादुर बस्नेत दैलेख,मानसिंह कामी बाँके, मानबहादुर कामी दैलेख, लेखबहादुरविश्वकर्मा दाङ, गोविन्द ताम्राकार मोरङ, जितबहादुर जोगी तेह्रथुम, रुद्र माझी मोरङ, पूर्णबहादुर तामाङ संखुवासभा र नविन विष्ट रुकुमरहेका छन् । उनीहरु सकुशल नेपाल फर्कन पाएकोमा खुसी हुँदै सबैलाई धन्यवाद ज्ञापन गरेको नेपाली साझा मंच साउदी अरबकासंयोजक कृष्ण पुरीले जानकारी दिए । उनीहरुलाई विमानस्थलमै विहानको चिया नास्ता मंचले गराएको थियो । उनीहरुलाई विदाई गर्न संयोजक पुरी, सदस्यहरु अकल प्रधान, ईन्ताज अन्सारी लगायतको टोली उनीहरुलाई विदाई गर्न आज दम्मामएयरपोर्ट पुगेको थियो ।

किँन घट्दैछ कतार जाने कामदारको संख्या !

काठमाडौं, असार २४  ।  कतारमा आधिकारिक रुपमा तीन लाख नेपाली श्रमिक रहेको बताइन्छ।  वैदेशिक रोजगारीका लागि नेपालीहरुको आकर्षक गन्तव्य रहेको कतारमा उत्पन्न पछिल्लो संकटसँगै त्यहाँ जाने कामदारहरुको संख्या गत एक महिनामा उल्लेख्य रुपमा घटेको वैदेशिक रोजगार विभागले जनाएको छ।गत एक महिनामा कतार जाने श्रमिकको संख्या झन्डै ४० प्रतिशतले घटेको अधिकारीहरुले जनाएका छन्। आन्तरिक संकटका कारण कतारबाट नयाँ रोजगारीका मागहरु समेत आउन छाडेको नेपाली अधिकारीहरु बताउँछन्। रोजगारीको अनिश्चितता वा द्वन्द्व बढ्न सक्ने आशंका जस्ता कारणले श्रम स्वीकृति लिइसकेका कामदारहरु समेत कतार जान हिचकिचाउन थालेको बताइएको छ। चिन्ता चार महिना लामो छुट्टी मनाउन आएका महोत्तरीका मोहम्मद अख्तर बिदा सकेपछि कतार जाने श्रम स्विकृती लिन ताहाचालस्थित वैदेशिक रोजगार विभागमा बिहीबार पुगेका थिए। तर गत महिनादेखि कतार र उसका छिमेकी देशहरुबीचको सम्बन्ध बिग्रिएको कारण आफ्नो जागिरमा असर पर्ने चिन्ताले उनी ढुक्क हुन सकेका छैनन्। उनी भन्छन्, “म एक लाख रुपैयाँ तिरेर जाँदैछु त्यो कम्पनीले मलाई फर्काइदियो भने म डुब्छु भन्ने चिन्ता लागेको छ।” म एक लाख रुपैयाँ तिरेर जाँदैछु त्यो कम्पनीले मलाई फर्काइदियो भने म डुब्छु भन्ने चिन्ता लागेको छ वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कतारविरुद्ध साउदी अरेबिया र संयुक्त अरब एमिरेट्स लगायत अन्य छिमेकीले नाकाबन्दी लगाउनु अगाडी त्यहाँ एक महिनामा सरदर १० हजारको हाराहारीमा नेपाली कामदारहरु जाने गर्दथे। घट्दो तर पछिल्लो एक महिनामा त्यो संख्या झन्डै ६ हजारमा झरेको छ। वैदेशिक रोजगार विभागको कतार शाखाका अधिकृत हिमालय जिवी उपाध्यायका अनुसार कतार जान चाहने श्रमिकको सख्या दिन प्रतिदिन घटिरहेको छ। उनी भन्छन्, “कतारमा समस्या भएपछि कामदार पठाउने क्रम एकदम घटेको छ, पहिला दैनिक ५०० देखि ६०० को संख्यामा कामदारहरु कतार जाने गरेका थिए भने अहिले त्यो १५० को हाराहारीमा झरेको छ।” त्यहाँ द्वन्द्व चर्कने हो कि भन्ने त्रासका कारण नयाँ कामदारहरु आकर्षित हुन कम भएको र श्रम स्वीकृति लिइसकेकाहरु पनि पर्ख र हेरको स्थितिमा रहेको बताइन्छ। पहिला दैनिक ५०० देखि ६००को संख्यामा कामदारहरु कतार जाने गरेका थिए भने अहिले त्यो १५० को हाराहारीमा झरेको छ माग साथै कतारस्थित कम्पनीहरुले पनि पछिल्लो समय कामदार मगाउन कम गरेको वैदेशिक रोजगार व्यवसायीहरु बताउछन्। एकजना वैदेशिक रोजगार व्यवसायी भुवन श्रेष्ठ भन्छन्, “मानिसहरुलाई डर छ त्यही भएर सम्झाएर पठाउनुपर्छ। अर्को तर्फ कामदारको माग पनि कम हुन थालेको छ।” कतारमा हाल आधिकारिक रुपमा साढे ३ लाख नेपालीहरु रहेको र त्यो त्यहाँको जनसंख्याको १३ प्रतिशत रहेको बताइन्छ। यसरी त्यहाँ रोजगारीमा जानेको संख्या घटेमा नेपाल भित्रिने रेमिट्यान्स अर्थात विप्रेषणमा पनि प्रत्यक्ष असर पर्ने देखिन्छ। – याे समाचार बिबिसिबाट  लिर्इएकाे हाे । 

युएइमा खेलाडी सम्मानित

निमकान्त पाण्डे दुबई, असार १४ । एभरेष्ट यूएई मार्शल आर्ट एंड स्पोर्ट्स क्लबले एक कार्यक्रमको आयोजना गरी विजयी नेपाली खेलाडीहरुलाई सम्मान गरेको छ । अन्तरास्ट्रिय खेल अन्तर्गत १२ औ नेसनल कराँते च्याम्पियनशिप जे.के.एस.कप २०१७ खुल्ला कराते र बुडोकन कराते (२०१७ अन्तरास्ट्रिय कप प्रतिद्धन्दीलाई हराउन सफल बिजेता नेपाली खेलाडीहरुलाई हौसलाका निम्ति सम्मान गरिएको हो । युएइका बिभिन्न शहरमा भएका खेलहरुमा राम्रो चुनौती दिदै करिब आधा दर्जन रास्ट्रका खेलाडी माझ नेपाली खेलाडीको उपस्थितिमा कप तथा मेडल पदक बिजेता बनेका थिए । क्लबले कराँते लगायत अन्य विधाका खेलहरु र हालै मात्र राष्ट्रिय खेलको मान्यता पाएको भलिबल खेलाडीहरु तथा जुडो, ट्रेक एंड फिल्ड र शारीरिक सु–संगठन खेलाडीहरुलाई एकै साथ सम्मान गरिएको थियो भने अन्तराष्ट्रिय रुपमा बैधानिकता पाएका रेफ्री तथा प्रशिक्षक एकै पटक सम्मान गरिएको थियो । नेपाली राजदुतावासका कार्यवाहक राजदुत महामहिम नेत्र बहादुर टन्डन को प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बिभिन्न विधाका खेलाडीहरु तथा अफिसियल पत्रकारहरु, कलकार समाज सेबीहरु को उपस्थिति रहेको थियो ।

साउदीमा दुई नेपालीको मृत्यु

असार ७ । साउदी अरबको जुवेलमा दुई नेपाली युवकको मृत्यु भएको छ । ग्लोबल इन्भारोमेन्टल म्यानेजमेन्ट सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका ४३ वर्षीय वालकृष्ण बस्नेत र दाङका झवेन्द्रप्रसाद बन्जाडेको जुन १८ मा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावासका अनुसार वस्नेतको घटनास्थलमा र बन्जाडेको अस्पताल लैजाने क्रममा बाटोमा ज्यान गएको हो । दुवै जनालाई कम्पनीका ‘सेफ्टी अफिसर’ले बेहोस अवस्थामा फेला पारेका थिए । ‘कम्पनीमा चुहिएको ग्याँसलाई नष्ट गर्दा सुरक्षित कोठामा बस्नुपर्थ्यो । त्यसो नगरी गाडी भित्रै एसी लगाएर सुत्नुभएछ,’ कम्पनीमा कार्यरत एक नेपालीले भने, ‘विपरीत दिशाबाट आएको हावा उहाँहरु सुतेकौ तिर आएछ । एसीले त्यही बिषाक्त हावा लिदा उहाँहरु बित्नुभयो ।’ दुवै जना उक्त कम्पनीमा चालक थिए ।

जन प्रगतिशील मंच युएइले गर्यो बरिस्ठ उपाध्यक्षको बिदाइ

सुसान आचार्य /युएइ नेकपा माओवादी केन्द्र अन्तर्राष्ट्रिय बिभाग अन्तर्गत नेपाली जनप्रगतिशील मञ्च युएईका बरिष्ठ उपाध्यक्ष तथा प्रेस सेन्टर नेपाल युएइका सल्लाहकार अर्जुन सुबेदीलाई मञ्चले एक कार्यक्रम आयोजना गरि गत शुक्रबार बिदाई गरेको छ । युएईको रोजगारी लाई बिट मार्दै जन्मभुमी फर्किने तयारीमा रहेका सुबेदीलाई ९ जुन २०१७ का दिन दुबईको एक होटलमा बिदाई कार्यक्रममा आयोजना गरिएको थियो मञ्चका अध्यक्ष हेमन्त पौडेलको सभापतित्वमा सम्पन्न बिदाई कार्यक्रममा नेकपा (माओबादी केन्द्र)का महाधिबेशन आयोजक समिति सदस्य हरी नेपाली प्रमुख अतिथी रहेका थिए । बिषेश अतिथीमा अन्नपुर्ण टेलीभिजनका महाप्रबन्धक दिल निसानी मगर तथा मजदुर अन्लनईनक निबर्तमान प्रधानसम्पादक निमकान्त पाण्डे अतिथी रहेका थिए । उक्त कार्यक्रममा मञ्चका सचिब मिलन गुरुङ, प्रबक्ता अनिस तामाङ, शारजाह क्षेत्रिय अध्यक्ष सरिता तामाङ लगायत मञ्चका थुप्रै सदस्यहरुको उपस्थिति रहेको थियो । लामो समय सम्म मंचमा रहेर काम गरेका सुबेदीलाई खादा ओडाएर सम्मान पत्रको साथमा बिदई गरिएको थियो । बिदाई कार्यक्रममा अध्यक्ष पौडेल, महाधिबेशन आयोजक समिति सदस्य हरी नपाली र बिषेश अतिथी दिल निशानी मगरले बरिष्ठ उपाध्यक्ष सुबेदीले मञ्चको लागी खेलेको भुमिकाको प्रसंशा गर्दै युएईको बसाईलाई बिट मार्दै नेपाल फर्किएर पनि देश र जनताको पक्षमा सधै लागी पर्ने अपेक्षा सहित सफल यात्राको शुभकामना सहित बिदई गरेका थिए ।

जन प्रगतिशील मंचको अधिवेशन हूँदै, नारायणक

सुसान आचार्य /युएइ नेकपा माओवादी केन्द्र निकट बिदेश बिभाग संगठन नेपाली जन प्रगतिशील मन्च ओमनको पहिलो महाधिवेशन आउदो जुलाई ७ तारीख हुने भएको छ । ” अन्यायविरुद्ध एकताबद्ध हुने हाम्रो सङ्कल्प ,देश बिकासका लागि आर्थिक क्रान्ति आजको विकल्प “भन्ने मुल नारा सहित गर्न लागिएको महाधिवेशनमा प्रमुख अथितिका रूपमा नेपाल बाट माओवादी केन्द्रका बरिस्ठ उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख नारायण काजी श्रेष्ठ (प्रकाश )र अथितिका रूपमा जनबादी गायक नवीन खड्का को उपस्थिति रहने जानकारी महाधिवेशन प्रचार प्रसार समित सम्योजक तुला गिरि ले दियका छन। ओमन स्थित अल रिफ होटलमा आयोजना गरिएको उक्त कार्यक्रम मा विभिन्न सघ सङठनका प्रतिनिधि तथा नेपाली कुटनैतिक नियोगका ब्यक्ति हरुको समेत रहने जानकारी गिरिले दियका छन । महाधिवेशनले बिदेशी भुमि ओमनमा रहेर पनि गोलबन्द हुँदै पार्टी र क्रान्ति लाई बिसेस सहयोग पुर्याउने र नेपाली श्रमिक माथी हुने अनन्याय अत्याचार साथै अफ्ट्यारो स्थितिमामा सङठनले ठुलो भुमिका खेल्ने बताउदै छरियर रहेका सबैलाई सङठ्न ले जोडेर लैजाने गिरिले बतायका छन । झन्डै ५०० भन्दा बढी विभिन्न कमिटीका सदस्य तथा विभिन्न सङठनका प्रतिनिधि पत्रकार तथा समाजसेबिहरु को उपस्थिति रहने अनुमान गरियको उक्त कार्यक्रम सम्पन्न गरि तत्काल पार्टीको कमिटी समेत गठन गरिने छ ।

उमेर ढाँटेकाले भारतमा एक विद्यार्थी पक्राउ

नयाँदिल्ली, जेठ २० । पूर्बी भारतको विहार प्रदेशको एउटा परीक्षामा सर्वोच्कृष्ट अङक ल्याएका एक जना विद्यार्थी प्रहरी नियन्त्रणमा परेका छन् । उमेर ढाँटेको अभियोगमा ती विद्यार्थीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । गणेश कुमार नामका एक विद्याथीले यस वर्षको कक्षा १२ को बोर्ड परीक्षामा विहान प्रदेश मै सबैभन्दा धेरै अङ्क ल्याएका थिए । दुई सन्तानका बाबुसमेत रहेका उनले आफ्नो उमेर ४२ वर्ष भएपनि ढाँटेर २४ बनाएको अभियोग लगाइएको छ । “उहाँले विहार विद्यालय परीक्षा बोर्डमा आफ्नो उमेर ढाँटेर दुरुपयोग गरेको पाइएको छ,” एक जना वरिष्ठ प्रहरी अधिकारीले शनिबार भन्नुभयो । बोर्डका अध्यक्ष आनन्दकिशोरले सञ्चारकर्मीहरुसँग भन्नुभयो, “कुमार, जो कक्षा १२ को परीक्षामा सबै भन्दा धेरै अङक ल्याउनुभएको थियो, उहाँको उमेरका बारेमा टिप्पणी गर्दै उजुरी परेपछि उहाँलाई प्रहरीले पक्राउ गरेको हो ।”

एनआरएनए यूके युवा संयोजकले गरे नेपालीलार्इ ठगी

बैशाख २२ । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) का युवा संयोजक हरि आचार्यलाई त्यहाँका नेपालीहरुलाई ठगी गरेको आरोप लागेको छ । वर्क परमिट निकालिदिने भन्दै बेलायतमा रहेका कयौं नेपाली विद्यार्थीबाट झण्डै ५० हजार पाउण्ड (करिब ६५ लाख रुपैयाँ) ठगेको उजुरी एनआरएनए यूकेसम्म पुगेको छ । एनआरएनए यूके युवा संयोजकविरुद्ध दिनप्रतिदिन सर्वसाधारणको उजुरी परेपछि उनलाई पटक पटक सचेत गराइएको र उनले भने अटेर गरी हाल गुमनाम नै रहेका छन् । युवा संयोजकको जिम्मेवारी लगत्तै आर्थिक शोषणतिर लागेका उनी ठगीबाट उम्कन अहिले समुदायबाटै गायब छन् । अचेल संघ र अन्य नेपाली समुदायका कुनै पनि कार्यक्रममा उनको सहभागिता देखिन्न । लन्डन उलवीचमा रहेको क्याप्स कन्सल्टेन्सीमार्फत आचार्यले वर्क परमिट निकालिदिने भन्दै शुरुमै ५ देखि १० हजार पाउण्ड लिने गरेको र प्रमाण रहने भएर रकम पनि आफ्नो खाताको सट्टा अर्काको खाता प्रयोग गर्ने गरेको खुल्न आएको छ । उनले पैसा पाएपछि मोबाइल र सामाजिक सञ्जालबाट क्लाइन्टलाई ब्लक गरि सम्पर्कबाटै टाढिने गर्दथे । काम गरेको देखाउन केहीलाई उनले नक्कली सर्टिफिकेट अफ स्पोन्सरसीप (सिओएस) राखिदिएर विद्यार्थी झन् घर न घाटका भएका छन् । उनले राखिदिएको नक्कली सर्टिफिकेटका कारण कयौं विद्यार्थी समातिएर नेपाल फर्किए भने कति अहिले पनि अदालतमा मुद्दा खेपिरहेका छन् । आचार्यले विद्यार्थीबाट पैसा लिएपछि आवेदन प्रक्रिया बेलायतको वकिङस्थित स्पेश इन्टरनेशनल लिमिटेडका विष्णुप्रसाद खरेलसंग गर्थे । खरेल सतहमा नदेखिइ आचार्यलाई दलालको भूमिकामा अघि सारेर दुई जनाले विद्यार्थीका हजारौं पाउण्ड रकम असुलेको आरोप छ । आचार्यले धोका दिएपछि विद्यार्थी खरेललाई खोज्न घरैसम्म पुगेका उदाहरण समेत छन् । ठगीपछि क्याप्स कन्सल्टेन्सीले आचार्यलाई एजेन्टबाट निकालिसकेको छ ।

नेपालको सम्मेलन दिल्लीमा हुने

वैशाख २० । नेपालमा लगानी गर्ने क्षेत्रबारे विदेशी दातृराष्ट्रलाई जानकारी दिन भारतमा दुईदिने सम्मेलन हुने भएको छ । विदेशी लगानीकर्तालाई नेपालको ऊर्जा, व्यापार र पर्यटनको क्षेत्रमा लगानी गर्न प्रेरित गरिने उदेश्यले आइएसएसआरले परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासको सहकार्यमा सो सम्मेलन गर्न लागेको जनाएको छ । आइएसएसआरले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । भारतको दिल्लीमा यही वैशाख २२ र २३ गते हुने कार्यक्रममा त्यहाँ रहेका नेपालको कूटनीतिक सम्बन्ध रहेकामध्ये ८२ राष्ट्रका राजदूत एवं प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । कार्यक्रमको पहिलो दिन उद्घाटनसत्र र दोस्रो दिन प्राविधिकसत्र सन्चालन हुनेछ । सम्मेलनमा करिब ३०० विशिष्ट प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ ।

कोरियामा एक नेपाली सुतेको अवस्थामा मृत फेला

काठमाडौं, वैशाख १५ । दक्षिण कोरियामा काम गरिरहेका एक नेपाली सुतेको अवस्थामा नै मृत फेला परेका छन् । नेपालबाट इपिएस प्रणाली अन्तर्गत हजारौं नेपाली कोरियामा काम गरिरहेको छन । कान्तिपुर अनलाइनले जनाए अनुसार,दक्षिण कोरियामा इपिएस मार्फत काम गर्न आएका खोटाङ चिप्रिइ गाविस-१ घर भएका कल्याण राईको बिहीबार साँझ सुतेकै अवस्थामा अचानक निधन भएको सोलस्थित नेपाली दूतावासले जनाएको छ । राति काम सकेर आएपछि सुतेका राई साँझ उठाउँदा मृत भेटिएको सँगै काम गर्ने साथीले जनाए । छुइछइ बुक्दो प्रान्तको खेसान गुन स्थित धागो सम्बन्धी एसएनएस नामक उद्योगमा  काम गर्दै आएका राई चार वर्ष १० महिने अवधी सकेर नेपाल फर्कने बेला भएको खोटाइ सेवा समाज कोरियाका अध्यक्ष अमृत राईले जनाए  । राईले मे १३ तारिख नेपाल फकर्ने हवाई टिकट पनि लिइसकेको थिए । मृतकबारे सोल राजदूतावासमा प्रहरीद्वारा औपचारीक जानकारी आइसकेको कार्यबाहक राजदूत किरण शाक्यले जानकारी गराए । कोरियामा यस अघि मार्च २७ तारिख तपिन कटुवाल र एप्रिल १० तारिख सुनसरीका चुडाराज आलेको सुतेकै आवस्थामा अचानक निधन भएको थियो । पछिल्लो समय कोरियामा सुतेकै अवस्थामा अचानक मृत्यु हुने संख्या बढ्न थालेपछि नेपाली कामदारहरु चिन्तित बन्न थालेका छन् । कोरियामा रहेका नेपाली कामदारहरुले राति सुतेपछि बिहान उठ्ने हो की हैन सुतेको सुतेकै पो हुने होकी भन्दै फेसबुक सञ्जालमा चिन्ता व्यक्त गरेका छन् ।

सिरियामा मृत्यु भएकी नेपाली युवतीको शव त्यही गाडियो

वैशाख १४ । तीन महिनाअघि सिरियामा मृत्यु भएकी लामाटोल–९, थाक्पालढाप्प सिन्धुपाल्चोककी २४ वर्षीया माया तामाङको शबलाई मालिकले त्यही गाडिदिएको छ । गत जनवरी २८ हृदयघातबाट तामाङको मृत्यु भएको सिरियाको अपराध बिभागको रिपोर्टले जनाएको छ । सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दुताबासलाई तामाङकी मालिककी छोरी लिना अब्देल घानीले युद्धग्रस्त अवस्थाको शबलाई निकाल्न नमिल्ने भएकोले गाडिदिएको सुचना दिएकी थिइन् । दुताबासका प्रवक्ता सुजन विडारीले पीडितको परिवारलाई क्षतिपुर्ति दिन पहल भइरहेको बताए । मायाले आफ्नो इच्छाविपरीत सिरिया पठाएको र घर मालिकले पिट्ने, तलव नदिने र मानसिक यानता दिने काम भइरहेले आफुलाई उद्धार गर्न संयुक्त अरव इमिरेट्स (युएई)स्थित नेपाली दुताबाससँग नियमीत सम्पर्क गर्दै आइरहेकी थिइन् । मायालाई दुवाईको अज्मानस्थित टोम लेवर रिक्रुटमेन्टले सिरियाको नुवेला इल साम म्यानपावरमा कामका लागि पठाइएको थियो ।

अमेरिकामा नेपाली बिद्यार्थीको डुवेर मृत्यु

न्यूयोर्क, बैसाख १२ ।  अमेरिकाको मिनिसोटा राज्यमा नेपाली विद्यार्थी अर्बिन थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । साउथवेस्ट मिनिसोटा स्टेट युनिर्भर्सिटीमा अध्ययनरत थापा पौडी खेल्ने क्रममा शनिबार नदीमा बेपत्ता भएका थिए । आइतबार मात्र उनको शव फेला परेको थियो । लमजुङको सुन्दरबजार ३ भोटेओडार स्थायी घर भएका थापा दुई बर्षअघि स्टुडेन्ट भिसामा अमेरिका गएका थिए । यो खबर आजको कान्तिपुरमा छ ।

प्रवासी नेपालीले मनाए नेपाली नयाँ वर्ष

युएई, बैशाख २ । रोजगारीको शिलशिलामा युएईमा रहेका नेपालीहरुले नेपाली नयाँ बर्ष २०७४ धुमधामका साथ मनाएका छन । यसपालीको नेपाली नयाँ बर्षको पहिलो दिन युएईमा साप्ताहिक छुट्टी शुक्रबार परेकोले पनि नेपालीहरुले खुशीका साथ नेपाली नयाँ बर्ष मनाउन पाएका हुन् । अर्घाखाँची संपर्क समिती रस अल खैमाहले युएईकै अग्लो पहाड जब अल जैसमा बनभोजको आयोजना गएर नयाँ वर्ष मनाएको छ । रस अल खैमह क्षेत्र समितीका अध्यक्ष टोमलाल पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समितीका केन्द्रिय अध्यक्ष राजु खड्का, नेपाल पत्रकार महासंघ युएईका सचिव मेघराज सापकोटा लगायतले शुभकामना आदानप्रदान गरेका थिए भने नेपाली आधुनिक र लोक गीतहरुले युएईको सबै भन्दा अग्लो उक्त पहाड गुन्जयमान बनेको थियो । नेपाली गीत संगीत र नेपाली खानाका परिकारहरुको साथमा आयोजना गरिएको उक्त बनभोजमा नेपालीहरुले एक आपसमा शुभकामना साटासाट गरेका थिए । उक्त कार्यक्रममा गैर आबासिय नेपाली संघ रस अल खैमहका जय खत्री, नेपाली जनप्रगतिशिल मंच रस अल खैमहका दीपक बिष्ट,जेएन शर्मा, झापाली समाज तथा दैलेख समाज रस अल खैमह लगायतका संघ संस्थाहरुको प्रतिनिधित्व रहेको थियो । नेपाली नयाँ वर्ष २०७४ को अवसर पारेर काभ्रे सेवा समाज युएईले मोडल रिया श्रेष्ठ, गायक विश्व दोङ, लोक तथा आधुनिक गायिका रिता केसीको सहभागितामा दुबईमा भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । रियाले दुबईका नेपालीहरुलाई मनोरन्जन प्रदान गरिरहेकै बेला युएईको अबुधाबीमा लिःल फङ घले समाज, युएईको आयोजनामा ज्योति मगरले नेपाली दर्शकहरुलाई भरमग्दुर मनोरन्जन प्रदान गरिन । त्यसैगरी माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशिल मंच, नेपाली काङ्रेस निकट नेपाली जनसंपर्क समिती र एमाले निकट प्रबासी मंचले पनि एक आपसमा शुभकामना साटासाट गरेर नयाँ बर्ष मनाएको खबर प्राप्त भएको छ । अर्को एक कार्यक्रममा नेपाली जनप्रगतिशिल मंच युएईले माओवादी केन्द्रका महाधिबेशन आयोजक समितीका केन्द्रिय सदस्य तथा कलाकार विश्व दोङलाई सम्मान गरेको छ । उनी काभ्रे सेवा समाजले आयोजना गरेको नयाँबर्ष सांगितिक कार्यक्रममा भाग लिन युएई आईपुगेका हून् ।

आममाफी पाएका नेपाली कामदारलाई ठगी गर्ने एमाले नेता पक्राउ

काठमाडाैं, २ वैशाख । नेकपा एमाले निकट प्रवासी मञ्च साउदीका कार्यबाहक अध्यक्ष परशुराम मिश्र मजदुर ठगी आरोपमा साउदीमा पक्राउ परेका छन् । लामो समयदेखि साउदी अरबको रियादमा कार्यरत तनहु स्थाई ठेगाना भई हाल चितवन निबासी परशुराम मिश्रले आममाफीको समयमा नेपालीहरुबाट मोटो रकम लिई नेपाल पठाई दिन्छु भन्दै ठगी गरिरहँदा माओवादी केन्द्र निकट जन प्रगतिशील मञ्च साउदिले विशेष सूचनाको आधारमा खोजी गरि नेपाली दूतावासको जिम्मा लगाएको मञ्चका केन्द्रिय सदस्य युवराज पौडेलले जानकारी दिए । साउदी सरकारले अबैधानिक रूपमा कार्यरत आप्रवासी कामदारलाई निर्वाधरूपमा स्वदेश फर्कन पाउने गरि केहि दिन अघिबाट सुरु गरेको आममाफीको सम्पूर्ण प्रक्रिया निःशुल्क रहेको तथा दुताबासलगायत संघ, संस्था एवं सामाजिक अभियन्ता नेपालीहरुको सहयोगमा सजह फिर्ती हुन पाउने अवस्थामा मिश्रले पीडित नेपाली श्रमिकबाटनै रकम ठगी गरेको हुँदा पीडितहरुले फिर्ती प्रक्रियाप्रति नै शंका गर्न थालेको पाैडेलले बताए । यस्तै नेपाली राजदुताबास साउदीको आधिकारिक फेसबुक पेज मार्फत जारि गरिएको विज्ञप्तिमा ३ जना नेपाली नागरिकहरु पूर्णधन राई,राम थापा मगर र कमान सिंह थापासँग परशुराम मिश्रले आममाफीको समयमा नेपाल पठाई दिन्छु भनि मोटो रकम ठगि गरेको उजुरीको विषयमा जन प्रगतिशील मञ्च साउदीको विशेष पहलमा दुवै पक्षलाई राजदुताबासमा बोलाई यथार्थ विवरण बुझ्दा मिश्रले पीडितबाट रकम ठगी गरेको स्वीकार गरेकाले पिडितहरुको रकम असुल उपर गरी मिश्रलाई कानुन बमोजिम कारबाही गर्न स्थानीय प्रहरीको जिम्मा लगाइएको उल्लेख गरिएको छ । पौडेलले मिश्र लामो समयदेखि समाजसेवाको आडमा दुताबाससम्म पहुँच बनाउदै खेलकुद प्रतियोगता देखि विभिन्न कार्यक्रमको आयोजनामा निकै सक्रियताका साथ लाग्ने गरेका भएपनि खेलकुद प्रतियोगिता र सोको आधारमा हुने सम्बन्धको प्रयोग गरि नेपालमा पहेंलो धातुको अबैध तस्करी, हुण्डी लगायतको कार्यमा समेत संलग्न हुँदै आएको रहस्य खुल्न थालेको बताए । त्यस्तै, एनए मिडियाका प्रधान सम्पादक कृष्ण श्रेष्ठले सो प्रकरण सम्बन्धमा नेपाली दुताबासका कार्यवाहक राजदुत आनन्द शर्मासँग गरेको टेलीफोन वार्तामा शर्माले मिश्र दुताबासको गेटसम्म आएका सेवाग्राहीहरुलार्इ समेत नर्गल कुरा लगाई आफ्नो जालमा पार्ने गरेको र ती नेपालीहरुलाई छिट्टो नेपाल फर्काउने लोभ देखाई पैसा माग्ने गरेको बताए । उजुरी परेका मध्ये ३ जना सँग २५००/२५००/१८०० साउदी रियल लिई सकेको र अझै थप ६३०० रकम लाग्ने भनि रकम बार्गेनिग गरि रहँदा पीडितलाई रकम निकाल्न अप्ठ्यारो परेको भनी मञ्च साउदीका केन्द्रिय सल्लाहकार गणेश घटानीको सम्पर्कमा आएका र घटानीले विशेष पहल गर्दै पीडित र पिडक दुबैलार्इ दूतावासमा उपस्थित गराइ बुझ्दा पिडकले उम्कने बहाना खोज्न थालेपछि प्रहरीको जिम्मा लगाउनु परेको पौडेलले बताए । दुताबासले यसअघि नै मिश्रलाई बिगतका गल्तीहरुमा आन्तरिक सहमति बाट छुट दिएको भएपनि मजदुर ठगीको स-प्रमाणमा कुनै माफी नमिल्ने भन्दै दूताबासले नै प्रहरीलार्इ बोलाएको पौडेलले जानकारी दिए । उनका अनुसार मञ्चको पहलमा भएको यस कार्यप्रति नेपाली दूतावास साउदीले खुलेर प्रशंसा गरेको र समाजसेवाको ट्याग भिरेर दलाली गर्नेहरुसँग सजक रहन सबैलाई अनुरोध समेत गरेको छ । खबरडबलीबाट

कतारमा नेपाल पत्रकार महासंघको स्थापना दिवस मनाईयो

घनश्याम पराजुली, दोहा । नेपाल पत्रकार महासंघ कतार शाखाले दोश्रो परिषद भेला २०१७ र महासंघको ६२ औं स्थापना दिवस एकैसाथ सम्पन्न गरेको छ । दोहाको मुन्ताजा स्थित नेपाली आँगन रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवस मनाईएको हो । नेपाल पत्रकार महासंघले गत बुधबार देशभर आफ्नो स्थापना मनाएको थियो । नेपाल पत्रकार महासंघ कतार शाखाले आयोजना गरेको स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथी संस्थाका सल्लाहकार कुमार कार्कीले ८ हजार क्रियाशिल पत्रकार रहेको बताउदै संस्थाको विगत र वर्तमान अवस्था बारे प्रष्ट पारे । ‘विदेशमा नेपालीहरुको संख्या बढ्दै जादा नेपाली पत्रकारीताले समेत गति लिएको छ’ उनले भने ‘समाजका नकरात्मक कुराहरुलाई निस्तेज पार्दै पत्रकारहरुले सकरात्मक भुमिका खेल्नुपर्दछ ।’ कतार शाखाले केन्द्रमा बैदेशिक विभागको अधिकार , हक अधिकार र सुरक्षाको लागी पहल गर्नु पर्ने भन्दै स्थापना दिवसको शुभकामना दिए । कार्यक्रममा विशेष अतिथी तथा सल्लाहकार क्रान्ती सिंले कतारमा सन् २००३ देखी पत्रकारीताको शुरु भएको स्मरण गर्दै सन् २००६ मा बैदेशिक शाखा अन्तरगत कतार शाखा स्थापना भएको बताए । उनले पत्रकारीता जगतको बारेमा प्रष्ट पार्दै कतारमा नेपाली पत्रकारहरु अरु देशमा भन्दा अग्रसर रहेको बताए । व्यानर अनावरण , राष्ट्रिय गान र मौन धारणसँगै शुरु भएको कार्यक्रमलाई सचिव नवराज विकले सन्चालन गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडेले स्थापना दिवसको शुभकामना दिए । कार्यक्रमको समापन गर्दै उनले प्रवासको ठाउमा रहेर पत्रकारिता गर्न सहज नभएको बताउदै सजक भएर सकृय रहन सबैलाई आग्रह गरे । ‘प्रवासमा छौं संबेदनशिल बनेर पत्रकारीता गरौ’उनले भने । दुई लाखको अक्षयकोष स्थापना गर्ने नेपाल पत्रकार महासंघ कतार शाखाले नेपालमा २ लाख बराबरको स्थापना गर्ने भएको छ । शुक्रबार आयोजित कार्यक्रममा कार्यसमितीले गरेको निर्णय उपर छलफल गर्दै नेपालमा २ लाख बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको हो । अक्षयकोष स्थापनाका लागी महासंघमा आवद्घ परिषद सदस्यहरुसँग सहयोगको लागी आवहन गरिएको छ । अक्षयकोषको नियमावली बनाउने जिम्मेवारी कार्यसमितीलाई दिईएको छ । अक्षयकोषको रकमबाट हरेक बर्ष पुरस्कार प्रदान गरिने छ । कुन विद्याको पत्रकारलाई पुरस्कार दिने बारेमा नियमावली बनेपछी स्पष्ट हुने बताईएको छ । अक्षयकोष स्थापना गर्नका लागी परिषद सदस्यहरुबाट सल्लाह सुझाव मागीएको थियो । परिषद सदस्य सिताराम थापाले कतारको कानुनको बारेमा नेपाली कामदारहरु माझ चेतनामुलक कार्यक्रम गर्न सकिने सुझाव दिएका थिए । दोश्रो परिषद भेला नेपाल पत्रकार महासंघ कतार शाखाको वर्तमान कार्यकालको दोश्रो परिषद भेला सम्पन्न भएको । शुक्रबार स्थापना दिवस र दोश्रो परिषद भेला एकै साथ सम्पन्न भएको थियो । कतार शाखामा २९ जना सदस्यहरु रहेका छन । कार्यक्रममा पार्षदहरुले प्रगती प्रतिवेदन र आर्थिक प्रतिवेदन उपर छलफल गरेका थिए । सचिव नवराज विकले प्रगती प्रतिबेदन पेश गरेका थिए भने कोषाध्यक्ष घनश्याम पराजुलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै उपाध्यक्ष दिपक पुडासैनीले पत्रकारीता गर्नेहरुले राजनिती विचारधारा त्यागेर अघाडी बढ्नुपर्र्ने बताउदै स्थापना दिवसको शुभकामना दिए । कार्यसमिती सदस्य करिमबक्स मियाँले मध्यपुर्व सम्मेलनको बारेमा जानकारी दिएका थिए । प्राविधिक कारणवस तोकिएको समयमा मध्यपुर्व सम्मेलन गर्न असम्भव रहेको उनले बताए । कार्यक्रममा कार्यसमिती सदस्य महेन्द्र प्रसाद पोखरेलले कतारको नियम कानुनलाई उल्लंघन नगरी पत्रकारीताको धर्म निभाउनु पर्ने बताए । यहाँका समस्याहरुलाई सम्बन्धीत निकायसम्म पुर्याउने भुमिका निर्वाह गर्नु पर्ने भन्दै खादा ओढ्नकै लागी कार्यक्रममा सहभागी हुने समाजसेवीहरुको बारेमा भन्दा यहाँ समस्यामा परेका नेपालीहरुको बारेमा पत्रकारहरुले कलम चलाउनुपर्ने बताए । परिषद सदस्यहरुको तर्फबाट भानु सुनुवारले शुभकामना मन्तव्य राखेका थिए ।