नेपाली मुस्लिमहरुको अन्तर्राष्ट्रिय समाज गठन

दोहा, चैत्र  ३ । कतारको राजधानी दोहामा भएको मुस्लिम बुद्दिजिवीहरुको एक भेलाले अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको गठन गरेको छ।

वैदेसिक रोजगार लगायत विभिन्न कारणले विदेसमा रहेका नेपाली मुस्लिमहरुलाई एउटै थलोमा ल्याई संगठितरुपमा समुदाय तथा राष्ट्र सम्वृद्दिको अभियानमा सकृय रहन समाजको गठन प्रक्रिया बढाईएको अन्तर्राष्ट्रिय संयोजकमा चयन भएका प्रोफेसर रमजान अली मियाँले बताए।

समाज गठनको प्रारम्भिक पक्षलाई पुरा गरी आगामी शुक्रबार विशेष पत्रकार सम्मेलन मार्फत समाज गठन तथा उद्देश्यबारे प्रकाश पारिने नवगठित समितिका अध्यक्ष मुक्तदा मुसलमानले जानकारी दिएका छन्।

नेपाली मुस्लिम समुदाय विशेषगरि भाषा, भूगोल र रितिस्थितिका हिसाबले तीन फरक सभ्यतामा परापुर्व कालदेखी बसोबास रहँदै आएको यथार्थलाई मध्यनजर गरि समाजको ढाँचा निर्माण गरिने महासचिव मोहम्मद मजीद मियाँले बताए। उनले भने “भाषाको हिसाबले नेपाली मुस्लिम समुदाय मिथिला, अवध र मियाँ भाषी छन्, यसैलाई मध्यनजर गरि हामीले तीन उपाध्यक्षको अवधारणा सहित संगठन निर्माण गर्नेछौं।”

उक्त भेलाले प्रोफेसर रमजान अली मियाँलाई अन्तर्राष्ट्रिय संयोजक तोकेको छ।

कार्यसमितिमा मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा एक्काईस सदस्सीय प्रारम्भिक समिति चयन गरेको छ। जसमा उपाध्यक्षहरु अब्दुल करीम मियाँ, अख्तर हुसैन गद्दी, मौलाना अब्दुल खालीक रहेका छन्। महासचिवमा मोहम्मद मजीद मियाँ- सचिवमा अलिबाबु पौडेल र मोहम्मद तनवीर आलम, महिला संयोजकमा अमीना खान, अन्तर्राष्ट्रिय कोषाध्यक्षमा सोहैल अख्तर अन्सारी र सहकोषाध्यक्षमा रहमत हुसैन रहेका छन् ।

त्यसैगरी भेलाले करिम बक्स मियाँको संयोजकत्वमा सात सदस्सीय सल्लाहकार समिति चयन गरेको छ। सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकार मोहम्मद हुसैन खान, सल्लाहकारहरुमा मोहम्मद अजीज अली, मोहम्मद याकुव राईन, मौलाना अयुब अली, र अब्दुल बासीद चयन भएका छन्।

प्रवासी नेपालीले होली मनाए

अमेरिका । अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा बस्ने नेपालीले भव्यरुपमा होली पर्व मनाएका छन् । नेपाली हेरिटेज युनियन (एनएचयु)ले आयोजना गरेको होली पर्वमा अमेरिकामा बस्दै आएका थुप्रै नेपालीको उपस्थिति रहेको थियो । अमेरिकामा बस्दै आएका नेपालीबीच सम्बन्ध सुमधुर बनाउने उद्देश्यले होलीको आयोजना गरेको संस्थाका अध्यक्ष विदुर दवाडीले जानकारी दिनुभयो । उक्त अवसरमा नेपालबाट अमेरिका आउँदा, यहाँ आइसकेपछि भोग्नुपर्ने समस्या, यहाँ बसोबास गरिरहेकाहरुको समस्या, त्यसको समाधान र नेपाली भाषा, संस्कृति जोगाउनेबारे छलफल गरिएको सो संस्थाका कोषाध्यक्ष दीपेन्द्र गौतमले बताउनुभयो । एनएचयुको स्थापना सन् २०१७ मा भएको हो । उक्त संस्थाले अमेरिकामा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । त्यसैक्रममा एनएचयुले होली पर्वको आयोजना गरेको हो । रासस

हेल्प मधेसीको अध्यक्षमा ठाकुरलाई चयन गर्दै पहिलो साधारण सभा सम्पन्न

काठमाडौं, फागुन २० । वैदेशिक रोजगारीको सिलसिला कतारमा कार्यरत मधेसी नेपालीहरुको साझा संस्था हेल्प मधेसीको पहिलो साधारण सभाले अध्यक्षमा पवन ठाकुरलाई चयन गर्दै सम्पन्न भएको छ । अन्य पदाधिकारीमा निम्नानुसार रहेका छन् उपाध्यक्ष स् विशश्वर यादब, रामेश्वर राय, सचिब सतिशकुमार यादव, सहसचिव सुरेन्द्र कुमार शाह, प्रदिप कुमार ठाकुर, राम अधीन यादब, रामकुमार यादव ,ललित धानुक मन्डल, कोषाध्यक्ष राम कल्याण महतो, सह कोषाध्यक्ष सरोज कुमार शाह, देबेन्द्र कुमार ठाकुर, गिरिधारी गुर्मेता, बिनोद शाह चयन भएका छन् । त्यस्तै सदस्यहरूमा रामसिंह शाफी, मोहम्मद सन्नाउल्लाह राईन, उपेन्द्र प्रसाद शाह, धर्मनाथ ठाकुर, राम दयाल यादब, राम सुबन यादब, जिबछ पासवान ,लाल बाबू यादब, सन्तोष शाह, शिबलोचन यादब, देब नारायण महतो, बिकाश शाह, अशोक कुमार शाह ,मनोज कुमार सिंह , सुनिलकुमार महतो, नगेन्द्र मन्डल , राकेश कुमार राय, सुरेश यादब चयन भएका छन् । २ मार्च  सहानिया पार्क , हेल्प मधेसी कतार, पहिलो साधारण सभा अध्यक्षता सस्थापक सरयुग यादब, बिशेष अतिथि इन्जिनियर रामचन्द्र शाह, एनआरएनए सिसि कतारका सचिब युबराज शर्मा, तराई मधेस प्रबासी मंच अध्यक्ष हुसैन खान,नेपाल पत्रकार महासंघ कतार अध्यक्ष करिम बक्समिया, नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य गणेश बन्जाडे, नेपाल इन्जिनियर एसोसियसन उपाध्यक्ष राकेश चौधरी, गैर आवासीय मधेसी संघ शम्भु साह,सिरहा समाज अयुब खान, श्री रामबाबू यादब, धानुक समाज सुरेश यादब लगायत मधेसका सम्पुर्ण संघसंस्था, हेल्प मधेसीका दाजुभाइ दिदी बहिनीको सहभागिता थियो। कतारमा यसरी प्रत्यक्ष नेपालीपनमा होली खेलेर एकअर्कामा भाईचाराको सम्बन्ध बढाएको यो पहिलो कार्यक्रम हो । बिशेष अतिथिको रामचन्द्र शाहले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘तराई मधेस नेपालको महत्वपूर्ण ठाउँ हो। जो सबै नेपालीको आत्मियता र पहिचान झल्कने बिबिधतामा रहेको छ।’ नेपालीहरुको होली र हेल्प मधेसीको पहिलो साधारण सभाको शुभकामना पनि उनले दिए । बिशेष अतिथी एनआरएनए सिसि कतारका सचिब युबराज शर्माले हेल्प मधेसी संस्थाले सबैजनालाई समेटेर होली पर्बको आयोजना गरेकोमा धन्यवाद दिए। होली पर्वले सबैको मित्रता अनि सहकार्य बढाउने भएकोले होली पर्व महत्वपूर्ण रहेको बताउदै पहिलो साधारण सभाको शुभकामना पनि दिए । त्यस्तै बिशेष अतिथी तराई मधेस प्रबासी मंचका अध्यक्ष हुसैन खानले तराई–मधेसको हकहितको लागि प्रबासबाट पनि आबाज उठाउनु पर्ने बताए । उनले होली र पहिलो साधारण सभाको शुभकामना पनि उनले दिए । त्यस्तै अर्का अतिथी नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम बकस मियाले हेल्प मधेसी संस्थाले नौलो किसिमको आयोजना गरि नेपाली दाजुभाइ दिदिबहिनीबिच भाईचारा कायम गरेको बताए । हरेक सकारात्मक भूमिकामा नेपाल पत्रकार महासंघ कतार, हेल्प मधेसी सङ्ग हातेमालो गरि अगाडि बढ्ने उनले बताए ।   त्यसैगरी, वरिष्ठ सल्लाहकारमा दिलिपकुमार जयसवाल ,बिरेन्द्र शाह,रामजनम शर्मा, रामकुमार यादब, शिवकुमार महतो, रामनन्द गुप्ता, दिनेश शाह, अभय ठाकुर, बद्री यादब, मो मुहरम नदाफ रहेका छन् । कार्यक्रमको सहजीकरण मैथिली कवि बिन्देश्वर ठाकुरले गरेका थिए। कार्यक्रमको अन्त्यमा सभा अध्यक्षले उपस्थित सबैजनालाई हार्दिक धन्यवाद दिए।  

एनआरएनए कतारले विभिन्न संघसंस्थासंगको सहकार्यमा नयॉ वर्ष २०७५ मनाउने

दोहा, फागुन १९ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले संघ संस्थाहरुसंगको सहकार्यमा संयुक्त रुपमा रक्तदान कार्यक्रम ३० मार्चमा र नेपाली नया“ बर्ष २०७५ पनि आयेजना गर्ने भएको छ । नेपाली नयाँ वर्ष २०७५ को कार्यक्रमको मिति भने संघसंस्थाहरुसंगको छलफलबाट तय गरिने भएको छ । त्यसै गरी एनआरएनए एनसीसी कतारले ४ मे २०१८ सम्ममा आयोजना गर्ने कार्यक्रमहरुको पनि निर्णय गरी सार्वजनिक गरेको छ । कार्यक्रमहरु संस्थाको २७ फेब्रुअरी, २०१८ मा कार्यवाहक अध्यक्ष तेज कटुवालको अध्यक्षतामा बसेको सचिवालयको ७ औं बैठकले निर्णय गरेको हो । त्यसै गरी एनसीसी कतारले युवा वर्गलाई लक्षीत गरी “युवा जागरुक्ता र शसक्तिकरण” विषयक गोष्ठि ०६ अप्रील २०१८ मा र श्रमिकहरुको हक हितको लागि “आप्रवासी नेपाली कामदारका चुनौति र अवसरहरु” विषयक कार्यशाला गोष्ठि ०४ मे २०१८ मा आयोजना गर्नेछ । बैठकले यस कार्यक्रमहरु सम्पन्न गर्नको लागि कार्य विभाजनहरु समेत गरेको छ । स्मरण रहोस, एनआरएनए एनसीसी कतारले आफ्नो २ बर्षे कार्ययोजना १९ जनवरी २०१८ मा बसेको समितिको तेश्रो पूर्ण बैठकले पारित गरिसकेको छ । कार्ययोजनामा कतारबाट पत्रकारिता गर्ने पत्रकारहरुको लागि र कतारमा कार्यरत साहित्यीक श्रष्ठाहरुको लागि प्रत्येक २ बर्षमा एक एक जनालाई पत्रकारिता पुरस्कार र साहित्यीक पुरस्कार प्रदान गरिने ब्यवस्था पनि गरेको छ ।  

कुनैसमय खाना खाने पैसा नभएर भोकै सुतेका टंकको रेष्टुराँमा सुनको चुल्हो

पोर्चुगल, फागुन १५ । कुनै बेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन् । घरमा बिहेको कुरा चलेपछि आफ्नो अध्ययनलाई बीचमै छाडेर ढाई दशक अगाडि युरोप हानिएका बाग्लुङ्ग दमके–६, पोखरीका ४३ वर्षीय टंक सापकोटा इटालियन खाना बनाएरै युरोपमा चर्चित बनेका हुन् । इटालियन खानाका लागि सापकोटा युरोपमा बादशाह जतिकै प्रख्यात छन् । इटालियन सेफका रुपमा चर्चित सापकोटा युरोपेलीमाझ निकै लोकप्रिय छन् । इटालियन खानाका पारखीहरुलाई उत्कृष्ट स्वाद पस्किएर चकित नै पारेका सापकोटा सेफ मात्र होइनन् युरोपका एक सफल व्यवसायी पनि हुन् । सापकोटाले आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिस्बनमा तीन वटा इटालियन र दुई नेपाली गरी पाँच ठूला रेष्टुराँ पनि सञ्चालन गरेका छन् । आफैंले केही गरेपछि मात्र बिहे गर्ने सोच बनाएका सापकोटालाई बुबाआमाले बिहे गर्न करकाप गरे तर उनी बिहे नगरी १८ वर्षकै उमेरमै विदेशिए । उच्च शिक्षा हासिल गरी नेपालमै केही गर्ने सोच बनाएका कानुनका विद्यार्थी सापकोटा सन् १९९२ मा गाउँकै एक छिमेकी दाइसँग जर्मनी छिरेका थिए । बिहान जर्मनी ओर्लेका सापकोटाले त्यही दिन साँझदेखि एक इटालियन रेष्टुराँमा काम गर्न थाले । केही सीप नभएकै कारण शुरुमा सापकोटाले दैनिक १२ घण्टा भाँडा माझ्ने काम गरे । उनलाई यो कामदेखि निकै ग्लानि भयो । तर युरोपमा श्रमको उच्च सम्मान भएकै कारण काम गर्दै जाँदा सामान्य जस्तै लाग्यो । नयाँ ठाउँ, भाषाको समस्या, त्यसमाथि सीप नभएकै कारण निकै दुःख भोग्नुपरेको स्मरण गर्दै सापकोटाले विगत सुनाउनुभयो । “सीप नभएकै कारण करिब डेढ महिना भाँडा माझ्ने काम गरेँ, भाषा नबुझेर कति दिन त भोकै पनि सुतें,” सापकोटाले भने – “धेरै दुःख भोगें । विदेश आएकामा कता कता पश्चाताप पनि लाग्यो । त्यसबखत स्वदेश फर्केर अध्ययनलाई निरन्तरता दिऊँ कि जस्तो पनि भयो ।” श्रमको उच्च सम्मान अनि सबैले उस्तै मेहनत गरेको देख्दा आफूलाई पनि काम गर्ने जोश, जाँगर र उत्साह आएको सापकोटा सम्झिन्छन् । उनी दायाँबायाँ नलागेर पाक कलामै आफ्नो भविष्य खोज्न तल्लीन भए । सानो छँदा आमाले मीठो–मीठो पकाएर खुवाएको स्मरण गर्दै सापकोटाले भने – “बाल्यकालदेखि नै आमासँग खाना पकाउन सिकेको थिएँ । यसैकारणले पनि मलाई विदेशी खानाबारे थप जिज्ञासा, रुचि र मोह बढ्दै गयो । पाक कलामै सफल हुने अठोटका साथ मेहनत गर्दै गएँ ।” काम गर्ने फरक शैली, इमान्दारिता, लगनशीलता र जिज्ञासु स्वभावका कारण सापकोटा रेष्टुराँ सञ्चालकको नजरमा उत्कृष्ट ठहरिँदै गए । सापकोटाको कामप्रतिको लगाव र मेहनत देखेर रेष्टुराँ मालिकले उनलाई एक पछि अर्को जिम्मेवारी दिँदै गए । भाँडा माझ्ने कामदारका रुपमा उक्त रेष्टुराँमा प्रवेश गरेका सापकोटा किचन हेल्पर, वेटर हुँदै तीन वर्षमै इटालियन सेफ बन्न सफल भए । परिश्रमले नै आफूलाई सफल सेफ बनाएको ठान्ने सापकोटाले भने – “यही क्षण नै मेरो जिन्दगीको सबैभन्दा महत्वपूर्ण क्षण हो । ५५० युरोबाट पारिश्रमिक वृद्धि भई एक हजार १०० युरोसम्म पुगेको थियो ।” निरन्तर चार वर्षसम्म उक्त रेष्टुराँमा काम गरेपछि उनी नयाँ सोच र सपना बुनेर सन् १९९६ मा पोर्चुगल हानिए । पोर्चुगल आएपछि फेरि अर्को संर्घष शुरु भयो । मासिक ३०० युरोमा काम शुरु गरेका सापकोटाले तीन वर्षपछि आफ्नै लगानीमा इटालियन रेष्टुराँ खोले । उनमा खानाबारे व्यावहारिक ज्ञान भए पनि सैद्धान्तिक ज्ञान थिएन । त्यसपछि उनी इटालीको रोमस्थित गाम्बेरो रोस्सो एकेडेमीमा इटालियन परिकारसम्बन्धी दुई वर्षे कोर्ष पढ्न शुरु गरे । ज्ञानले खारिएका सापकोटाले पोर्चुगलको राजधानी लिस्बनमा थप दुई वटा इटालियन रेष्टुराँ सञ्चालन गरे । सापकोटाले सञ्चालन गरेका कोमे प्रिमा, र्फोनो दे ओरो र इल मेर्कातो युरोपमै चर्चित इटालियन रेष्टुराँ हुन् । सापकोटाका अनुसार र्फोनो दे ओरो रेष्टुराँ विश्वकै उत्कृष्ट २० पिज्जेरिया अर्थात् पिज्जा बनाउने रेष्टुराँमध्येको एक हो जहाँ सुनको चुल्होमा खाना पकाइन्छ । सुनको चुल्होमा खाना पकाइने उक्त रेष्टुराँ विश्वकै दोस्रो रेष्टुराँ भएको सापकोटाको दाबी छ । सोही सुनको चुल्होमा सापकोटाले दैनिक इटालियन पिज्जा पकाउँछन् । अन्य रेष्टुराँ भन्दा पृथक, दाउराको चुल्होको प्रयोग र विशुद्ध इटालियन परिकार पाइने भएकै कारण आफ्नो रेष्टुराँ इटालियन खानाका पारखीहरुको रोजाइमा परेको सापकोटाको भनाइ छ । सापकोटा स्वयं अहिले पनि दैनिक १६ घण्टा खट्छन् । सापकोटाले गरेको मेहनत देखेर पोर्चुगिज नागरिकहरुले समेत उनलाई उच्च सम्मान र प्रशंसा गर्छन् । उनलाई भेट्न आउने जो कोहीले पनि उनी सेफ पोशाकमै खाना पकाइरहेको देख्न सक्छन् । इटालियन खाना बनाउँदा छुट्टै आनन्द र रोमाञ्चको अनूभुति हुने उनको भनाइ छ । पछिल्लो समय अन्य उत्कृष्ट पेशामा झैं खाना बनाउने कलामा विशेषज्ञता हासिल गर्नेहरुको मोह विश्वमै क्रमिक रुपमा बढ्दै गएको सापकोटाको अनुभव छ । युनेस्कोले इटालीको प्रख्यात ‘न्यापोलितान पिज्जा’ बनाउने (दाउरा बालेर ईंटाको ताप्केमाथि पिज्जा बनाउने अद्वितीय सांस्कृतिक र खानपानको परम्परा) कलालाई हालै मात्र विश्व सम्पदा सूचीमा समावेश गरेको छ जसमा पोर्चुगलबाट छनौट भएका चार इटालियन पिज्जा रेस्टुराँमध्ये दुई वटा सापकोटाले सञ्चालन गरेका रेष्टुराँ परेका छन् । न्यापोलितान पिज्जाका दुई परिकार ‘मारिनारा र मागएरिता’ विश्वभरका पिज्जा पारखीहरुमाझ निकै प्रख्यात छ । सापकोटाका अनुसार मीठो, स्वादिष्ट, स्वस्थकर, पकाउने सरल विधि र सबैको पहुँचमा भएकै कारण विश्वबजारमा इटालियन खानाको माग दिनप्रतिदिन बढ्दो छ । विश्व बजारमा निकै महंगो संसारकै सीमित रेष्टुराँहरुमा पाइने च्याउका प्रजातिबाट बनाइने खाना, आधुनिक वैज्ञानिक विधिबाट निश्चित तापक्रममा पकाइने मासुका परिकार, पिज्जा, पास्ता, चाउचाउ लगायतका खानासापकोटाले बनाउने विशेष इटालियन परिकारहरु हुन् । उनको रेष्टुराँमा युरोपका शीर्ष नेता, प्रधानमन्त्री, विभिन्न देशका राजदूत, गायक, कलाकार र खेलाडी नियमित जस्तै खाना खान आउँछन् । पोर्चुगलका प्रधानमन्त्री त उनका नियमित ग्राहक नै हुन् । साउदी अरबकी राजकुमारीले समेत आफ्नो रेष्टुराँमा आएर खाना खाएको सापकोटा सुनाउँछन् । उनले इटालियन खानामा दर्जनौं पुरस्कारसमेत जितेका छन् । इटालियन खानामा अद्भूत कौशल प्रदर्शन गरेकै कारण इटाली सरकारले सापकोटालाई उत्कृष्ट अवार्ड नै प्रदान गरेको छ । सन् २०१६ मा उनी पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी समेत घोषित भए । सापकोटाले आफूले आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई समेटेर इटालियन र नेपाली खानाका विषयमा ‘सिँ सेफ’ नामक पोर्चुगिज भाषामा पुस्तक समेत लेखेका छन् । उनले नेपालको पहिचान, कला, सँस्कृति र नेपाली खानाको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानी लिस्बनमै दुई वटा नेपाली रेष्टुराँ पनि सञ्चालन गरिरहेका छन् जहाँ परम्परागत र आधुनिक नेपाली खानाका परिकारहरु पाइन्छ । उनले सञ्चालन गरेको प्रत्येक रेष्टुराँमा प्रतिदिन ३०० देखि ३५० जनाले खाना खान्छन् । पाँच वटा रेष्टुराँका मालिक सापकोटाले ६० नेपाली र २० विदेशी गरी ८० जनालाई रोजगारी समेत दिएका छन् । सापकोटाले पोर्चुगलमा पाइने ओलिभ, चेरी लगायतका वनस्पति बाग्लुङ्गमा र नेपालमा पाइने धनियाँ, तुलसी, मरहटी पोर्चुगलमा परीक्षण खेती समेत शुरु गरेको राससलाई बताउनुभयो । आफ्नो यो सफलताको श्रेय भने जर्मनीका रेष्टुराँ मालिक सँगै आफ्नो बुबाआमा र श्रीमतीलाई दिन चाहन्छन् उनी । सपरिवार पोर्चुगल बस्दैआएका सापकोटालाई उनकी श्रीमती सीता सापकोटाले व्यवसायमा सघाउने गरेकी छन् । नेपालीहरुप्रति युरोपेलीहरुको हेराइ निकै राम्रो भएको उनको बुझाइ छ । समाजसेवीका रुपमा समेत परिचित सापकोटा गैर आवासीय नेपाली संघ पोर्चुगलका संस्थापक समेत हुन् । पोर्चुगल आउने धेरै नेपालीलाई रोजगारीको व्यवस्था मिलाइदिने, पीडित नेपालीहरुलाई सहयोग गर्ने जस्ता काममा पनि उनी अग्रसर हुन्छन् । सापकोटाले आफ्ना बुवा जगुपति सापकोटाको इच्छा अनुरुप हरिहर सन्न्यास आश्रम देवघाटलाई ५१ लाख ५१ हजार १०१ रुपैयाँ सहयोग प्रदान गरेका छन् । यस्तै उनले बाग्लुङ जिल्लाको सरस्वती प्राविलाई ३ लाख, कालापातल प्राविलाई १ लाख २० हजार र सुन्तलाचौर उच्च माविलाई १ लाख २० हजार बराबरको शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गरेका छन् । आफ्नो सीप, क्षमता र कलामार्फत विश्वमाझ नेपाल र नेपालीलाई चिनाउन आगामी दिनमा थप प्रयत्न गर्ने अठोट उनी व्यक्त गर्छन् । आफूसँग रहेका पाक कलालाई नेपालमा समेत प्रवद्र्धन गर्ने उनको योजना छ । रासस

संस्कृति बचाउन अमेरिकामा नेपाली संघसंस्थाहरु सामुदायिक भवन बनाउँदै

मधुकर अधिकारी अमेरिका । अमेरिकामा रहेका नेपाली संघसंस्था पछिल्ला वर्षमा लाखौं अमेरिकी डलरको सम्पत्ति जोड्न सफल भएका छन् । अहिले नेपाली अमेरिकीहरुले आफ्नो उपस्थिति बाक्लो भएको टेक्सास, क्यालिफोर्निया, मेरिल्याण्ड, न्यूयोर्क जस्ता राज्यहरुमा सामुदायिक भवन बनाउने क्रमलाई तीव्रता दिँदै आएका छन् । सम्पत्ति जोड्न सकिएबाट यी संस्थाले नेपाली कला र संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान दिनसक्ने विश्वास गरिएको छ । सन् २०११ मा न्यूयोर्कको एल्मस्र्टमा युनाइटेड शेर्पा एशोसियशनले किनेको जग्गा तथा भवनको मूल्य २५ लाख अमेरिकी डलर रहेको अध्यक्ष उर्गेन शेर्पाले राससलाई जानकारी दिनुभयो । शेर्पा भन्नुहुन्छ – “यो भवन खरिद गर्न सकेका कारण केही दिन अगाडि मात्र स्थानीय सडक समेत बन्द गर्ने अनुमति लिएर हामी ल्होसारमा शेबु्र नाच नाच्न सफल भयौं । यो हाम्रो संस्कृति जगेर्नाको महत्वपूर्ण पक्ष हो ।” “नेपाली मूलका शेर्पा समुदायबाट यो भवनको खरिद तथा सञ्चालन भएबाट अमेरिकाको न्यूयोर्क जस्तो विशाल शहरमा नेपालीहरुलाई एकताबद्ध गर्न सकिएको छ” – शेर्पा अगाडि थप्नुहुन्छ । यसैगरी नेपालीहरुको बाहुल्यता रहेको क्यालिफोर्नियामा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरलाई गत शिवरात्रिको दिन प्राणप्रतिष्ठासहित सञ्चालनमा ल्याइएको छ । करिव १६ लाख अमेरिकी डलरमा खरिद गरिएको उक्त भवन तथा सामुदायिक भवनको मर्मत तथा सम्भारपछि सञ्चालनमा ल्याउने काम भएको हो । समितिका सभापति भक्त थापा समुदायमा रहनुभएका नेपालीहरुको आठ वर्षको अथक प्रयासपछि यो मन्दिरको निर्माण सम्पन्न भएको बताउनुहुन्छ । समितिको कार्यसमितिमा रहनुभएका एकराज पाण्डे एक्लैले एकलाख २६ हजार २६६ डलर प्रदान गर्नुभएको थियो । पाण्डे यसरी दान गर्ने नेपालीहरुको सूचीमा शीर्ष स्थानमा रहनुभएको छ । पाण्डेले भन्नुभयो – “मातृभूमि छाडेर प्रवासमा जीवन बिताइआए पनि हाम्रो कला, संस्कृति र धर्मको निरन्तर संरक्षण र सम्वद्र्धन गर्न यस्ता भवनहरुले हामीलाई आत्मीयताको भाव दिएका हुन्छन् ।” टेक्सासमा सन् २००७ मा स्थापना भएको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र रहको भवनलाई सन् २०१३ मा ८ लाख अमेरिकी डलरमा खरिद गरिएको महासचिव सुरेश चन्द्र पोख्रेलले राससलाई जानकारी दिनुभयो । “सांस्कृतिक र आध्यात्मिक कर्मलाई आत्मसात् गर्दै हामीहरुको भावी पिँढीलाई सही मार्गनिर्देश गर्न यस्ता सांस्कृतिक केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने छ,” पोख्रेलले भन्नुभयो –“यसले सामाजिक रुपमा एकता ल्याउने गरेको छ । हामीहरुबीच विश्वास र पारिवारिक मूल्य मान्यता जगाउँदै अमेरिकाको प्रतिस्पर्धी वातावरणमा भावी पिँढीलाई मजबुत बनाउन यसले बल पु¥याउने मेरो विश्वास छ ।” यता, मेरिल्याण्डमा बन्दै गरेको नेपाली अमेरिकन कल्चरल सेन्टर अफ बाल्टिमोरले आफ्नो वैधानिक प्रक्रिया पूरा गरेको छ । उक्त भवन खरिद कार्यमा संयोजन गर्दै आउनुभएका कृष घिमिरेका अनुसार करिव १५ लाख अमेरिकी डलरमा खरिद गरिएकोे उक्त सामुदायिक भवन तथा मन्दिर आगामी ६ महिनाभित्र सञ्चालनमा आउने छ । बाल्टिमोर एशोसियशन अफ नेप्लीज (वाना) ले हालै मात्र खरिद गरी सञ्चालनमा ल्याएको भवनको मूल्य ३ लाख अमेरिकी डलर रहेको समितिका उपसभापति सुबोध पन्तले जानकारी दिनुभयो । अधिकांश नेपाली मन्दिर र भवनको निर्माण भाषा कक्षाको सञ्चालन र विभिन्न रीतिरिवाज तथा चाडपर्वको बेला एकठाउँमा भेला हुने उद्देश्यले गरिएका हुन् । अमेरिकामा झण्डै चालीस वर्षदेखि बस्दै आउनुभएका पुराना अभियन्तामध्येका एक डा श्याम कार्की नेपालीहरुबाट भवन खरिद तथा निर्माण हुँदा नेपालका बारेमा सोधखोज गर्ने व्यक्तिहरुलाई सहयोग पुग्ने र नेपालीहरुबीच अपनत्वको भावना विकास हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो – “अमेरिकामा जति पनि नेपालीहरुको प्रयासमा साझा सामुदायिक भवन निर्माण भएका छन् यसले भावी पिँढीका लागि धर्म, संस्कृति र भाषाको जगेर्ना गराउन मद्दत पुग्ने छ ।” नेपाली संघसंस्थाले जग्गा खरिद र सामुदायिक भवन तथा मन्दिर निर्माणका लागि करिव १ करोड डलर खर्च गरिसकेका छन् । मन्दिर बनाउने उद्देश्यसहित गत वर्ष बोस्टन, न्यूयोर्कको रिजऊड लगायतका ठाउँमा महायज्ञ लगाइएको थियो । यस्ता सामुदायिक भवन तथा केन्द्रहरुमा चाडवाडका दिन भेला हुने तथा विवाह, व्रतवन्ध जस्ता कर्मकाण्डका कार्य गरिँदै आइएको छ । यसैगरी, नेपाल सम्वत्, दशैं, तिहार, फागु, म्हः पूजा जस्ता कार्यक्रमहरु पनि आयोजना गर्ने गरिएको छ । पछिल्ला वर्षहरुमा यहाँ नेपालीहरुको व्यवसाय विस्तार भएसँगै सामुदायिक भवन निर्माणले पनि तीव्रता पाएको बताइन्छ ।

सर्वोच्च अदालतले भन्योः सवारी साधनबाट हुने प्रदुषण रोक

काठमाडौं । सवारी साधनबाट हुने प्रदुषण गम्भीर भएको जनाउँदै यसलाई नियन्त्रण गर्न भारतको सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चदले प्रदुषणले यो पुस्तालाई मात्रै नभई भावी पुस्तालाई पनि असर गर्ने भएकोले कदम चाल्न आदेश दिएको छ । सर्वोच्च अदालतको सोमवारको फैसलामा प्रदुषण नियन्त्रणका लागि आवश्यक पर्ने सबै कदम चाल्नु पर्ने औल्याएको छ । प्रदुषण नियन्त्रणका लागि उचित कदम नचालिए स्वास्थ्य सम्बन्धी सरकारी योजना विफल हुने आदेशमा जनाएको छ । न्यायाधीशद्वय मदन बी लोकुर र दीपक गुप्ताको संयुक्त इजलासले यस विषयलाई सामान्यरुपमा नलिन सरकारको ध्यानाकर्षण गरेको छ । (एजेन्सीहरु)

ओछ्यानबाटै ट्वीट गर्छन अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना कामले भन्दा बढी ट्वीटले चर्चा पाउछन् । सञ्चारमाध्यमको त आलोचना गर्छन नै आफ्ना विपक्षीलाई पनि ट्वीटबाटै गाली गर्न पछि पर्दैनन् । उनी पत्रकार सम्मेलन गर्दैनन् । अन्तरवार्ता पनि खासै दिदैनन् । ट्वीटबाटै आफ्ना कुरा राख्छन, जो समाचार बनिहाल्छ । उनके एउटा ट्वीट फेरी समाचारको विषयको बनेको छ । उनले कहिले काँही ओछ्यानबाटै ट्वीट गर्ने गरेको बताएका छन् । उनले ट्वीटमा भनेका छन, ‘कहिले काँही ओछ्यानम पल्टिएरै ट्वीट गर्छु ।’ ७१ वर्षीय ट्रम्प आफ्ना ट्वीटका कारण हासोको पात्र पनि बन्ने गरेका छन् । उनी खाना खाने समयमा पनि ट्वीट गर्ने गरेका छन् । उनी कस्तो खाना खाए भन्ने समेत ट्वीट गर्न छोड्दैनन् । उनले ट्वीट गरेका छन, ‘म सबै भन्दा राम्रो खाना खान्छु । संसारका उत्कृष्ट कुकको हातबाट बनेको खाना । मलाई लाग्छ, साच्चिकै राम्रो खाना खान्छु ।’  

यस्ता छन् गैरकानुनी रुपमा अमेरिका छिर्ने नेपालीका दुःख

न्युयोर्क/अमेरिका, मंसिर २० । नेपालदेखि स्थलमार्ग हुँदै गैरकानुनी ढंगले अमेरिका छिर्नेहरू दैनिक तीनदेखि चार जना न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास आइपुग्ने गरेका छन् । तीमध्ये खुट्टामा जीपीएस (व्यक्ति कहाँ पुगेको छ भनेर पत्ता लगाउने मेसिन) बाँधिएका एक जना छन् । स्थलगत मार्गबाट आउने केही छुटपुटबाहेक सबै दूतावासको सम्पर्कमा आउने गर्छन् । उनीहरू नेपाली दलालमार्फत नेपालबाट हिँडेर विभिन्न मुलुकका दलाल भेट्दै पैसा बुझाउँदै आइपुगेका हुन्छन् । यसरी नेपालबाट क्यारेबियन मुलुक, साउथ अमेरिका, मेक्सिकोको बोर्डर हुँदै अमेरिका आइपुग्न तीन महिनादेखि नौ महिनासम्म लाग्छ । कतै मरुभूमिमा हिँड्दै, मालवाहक ट्रकमा कोचिएर, महिनौं दिनसम्म पानीमात्रै पिएर, कतै पानीजहाज चढ्दै, कतै लुकेर धेरै दुःख झेल्दै आइपुगेका हुन्छन् । एउटा व्यक्ति यहाँसम्म आइपुग्दा सामान्यतया ४० देखि ५० लाख खर्च भएको हुन्छ । ‘७५ लाखसम्म दलाललाई बुझाएर आएको मान्छे भेटियो’, दूतावासका एक अधिकारीले भने, ‘ताप्लेजुङको फुङलिङबाट ६ महिना लगाएर, त्यत्रो पैसा खर्च गरेर आइपुगेको मान्छेले कहिले त्यो ऋण तिरिसक्ने ? सुरुका केही महिना त काम गर्न पनि पाउँदैनन् । उनीहरूलाई खान र बाँच्नकै लागि समस्या हुन्छ ।’ उनीहरू अमेरिका छिर्नेबित्तिकै आत्मसमर्पण गर्छन् । इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले हिरासतमा राख्छ र अन्तर्वार्ता लिएर असाइलम (राजनीतिक संरक्षण) फाइल गर्छ । यसरी आइपुगेका सबैले असाइलम फाइल गर्न पाउँछन् । त्यसपछि आइसका अधिकारीहरूले केही रकम धरौटी लिएर मुद्दाअनुसार केहीलाई खुट्टामा जीपीएस लगाएर छोडिदिन्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले आप्रवासी नीतिमा कडाइ गर्न थालेपछि त्यसरी धरौटी बुझाउनुपर्ने रकमको दर बढेको छ । पहिले मुद्दा हेरेर पाँचदेखि १० हजारसम्म बुझाउनुपथ्र्यो भने अहिले १० हजारभन्दा बढी रकम बुझाइरहेका छन् । आइसले अन्तर्वार्ता लिँदा ती नागरिकसँग केही कागजात हुँदैन । ‘उसले नेपाली हुँ भनेको भरमा आइसले सानो नोट दिएर पठाएको हुन्छ । कतिपय खुट्टामा जीपीएस बाँधेकाहरू रुँदै दूतावास आइपुग्छन्’, ती अधिकारीले भने, ‘उनीहरूले पासपोर्ट प्राप्त गर्नका लागि आवश्यक कागजात लिएर आए भने मात्रै हामीले पासपोर्टको प्रक्रिया अघि बढाउँछौं ।’ दूतावास पुग्नेमा दलाललाई ४० देखि ७५ लाखसम्म बुझाएर आएका र खुट्टामा जीपीएस लगाएका पनि छन् । खुट्टामा जीपीएस बाँधेका व्यक्ति कहाँ पुगे र त्यो ठाउँमा कति समय बिताए भन्ने रेकर्ड हुन्छ । उनीहरूले काम गर्न पाउँदैनन् । नेपालबाट कागज मगाएर दूतावासमा पेस गरेपछि दूतावासले पार्सपोर्टका लागि पहल गर्छ । पासपोर्ट आइपुग्न तीन÷चार महिना लाग्छ । त्यसपछि मात्रै उनीहरूले ‘वर्क परमिट’ पाउँछन् । काम गरेर पैसा कमाउन नपाएपछि यो तीन÷चार महिनाको अवधिमा उनीहरूले चरम आर्थिक अभाव झेल्नु परिरहेको छ । हाल न्युयोर्कस्थित दूतावासले नौवटा राज्यका नेपालीको मुद्दा हेर्ने गरेको छ । न्युजर्सी, कनेक्टिकट, म्यासाचुसेट, न्युह्यामसायर, भर्नन, फिलाडेल्फिया, रोड आइल्यान्ड, मेनलगायत राज्यमा आइपुग्ने नेपालीहरू न्युयोर्कस्थित दूतावास आइपुग्ने गर्छन् । अरू राज्यहरूमा आइपुग्ने वासिङ्टन डीसीस्थित नेपाल एम्बेसीमा पुग्ने गरेका छन् । अवैध रूपमा आउनेको संख्या दैनिक बढिरहेको बारे दूतावासले नेपाल सरकारलाई पत्राचार गरिरहेको छ । ‘यसलाई नियन्त्रणका लागि हामीले यहाँबाट केही गर्न सक्दैनौं । नेपाल सरकारलाई पत्राचार गरिरहेका छौ’ दूतावासका महावाणिज्य दूत मधुकुमार मरासिनीले भने, ‘यसलाई नियन्त्रण गर्नेबारे सरकारले बेलाबखत कार्यक्रम गरिरहेको छ । केही नीतिगत निर्णय गरेर नियन्त्रण गर्ने पहल पनि गरिरहेको छ तर यहाँ आउनेको संख्या घटेको छैन । दलालले कतिबेला कहाँबाट पठाउँछ पत्तै हुँदैन।’

अष्टमी गुरुङको आत्महत्या छानबिनको माग गर्दै दूतावासलाई ज्ञापनपत्र

युएई, मंसिर १३ । नेपाली जन प्रगतिशिल मञ्च युएई अबुधाबी क्षेत्रीय समितिले अष्टमी गुरुङको आत्महत्याबारे छानबिन गरि सत्यतथ्य बाहिर ल्याउन माग गर्दै नेपाली दूतावास अबुधाबीलाई ज्ञापनपत्र बुझाएको छ । वैदेशिक रोजगारीका लागि काठमाडौंको प्यारामाउन्ट म्यानपावर प्रालिबाट युएईको अबुधाबीस्थित एक प्रतिष्ठित कम्पनीमा काम गर्न आएकी गोरखा २ आरुघाटकी गुरुङले नोभेम्बर ४ तारिखका दिन कम्पनीको होस्टेलमा आत्महत्या गरेकी थिइन । हत्या भएको केही समयपछि विभिन्न सञ्चारमाध्यम मार्फत अष्टमी गुरुङले मोबाइलमा रेकर्ड गरेको भिडियो बाहिरिएको थियो । उक्त भिडियोमा अस्टमीले आफूमाथि बलात्कार भएपछि बाध्य भएर आत्महत्या गर्नु परेको उल्लेख गरिएको छ । यता मञ्च युएई अबुधाबीले घटना बाहिरिएसँगैं तत्काल घटनाको छानबिन गरि दोषीलार्इ कारबाही दिलाउन आवश्यक कानुनी पहल गरिदिन नेपाली दूतावास अबुधाबी कार्यबाहक राजदुत कृष्ण अर्यालसँग माग गर्दै मन्चका अध्यक्ष दिपक न्यौपानेसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै अर्यालले घटनाले सबैलाई अत्यन्तै दुखी बनाएको भन्दै दूतावास मार्फत घटनाबारे छानबिन गर्न आवश्यक पहल भै रहेको र केही दिनमै सत्यतथ्य बाहिर आउने जानकारी दिए ।

मलेसियामा एक नेपालीको मृत्यु

राजविराज, कात्तिक २९ । वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरीले मंगलबार राति खाना खाएर सुतेका र बिहान उनलाई साथीहरुले उठाउन जाँदा मृत फेला परेको मृतक चौधरीका भान्जा पर्ने बिटुकुमार मिश्रले जानकारी दिए । दुई वर्ष अगाडि वैदेशिक रोजगारीका क्रममा चौधरी मलेसिया पुगेका थिए । अन्जनीको मृत्युको खबरले अहिले सिंगो तिलाठी गाउँका युवा शोकमग्न भएका छन् । यता मृतकको शव मलेसियाबाट चाँडो नेपाल फर्काइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई उनका परिवार जनले आग्रह गरेका छन् । योसँगै वैदेशिक रोजगारीका क्रममा जानथाले देखि सप्तरीबाट विदेशमा ज्यान गुमाएका युवाको संख्या २९ पुगेको बताइएको छ ।  

वाम गठबन्धनलाई स्वागत गर्दै भारतमा भब्य कार्य्रकम गर्ने निर्णय

नयाँदिल्ली, कात्तिक २३ । नेपाली कम्युनिष्ट आन्दोलनको यात्रामा १७ असोज २०७४ नेपाली जनताको लागि वडा दशैंको उपहार सहितको महान उपलब्धिको दिन सावित भएको छ । अप्रत्याशित र अपत्यारियो यो महान कार्यको थालनी गर्ने माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्ड र एमाले अध्यक्ष कमरेड केपी शर्मा ओली श्रमजिवि नेपाली मात्र हैन, विश्वकै श्रमजिवि नेताको अन्तराष्ट्रिय आकर्षण बन्न सफल भएका छन । नेपाली जनताले अलग, टुटफुट र विभाजनको सिकार भएका नेपाली कम्यूनिष्ट आन्दोलनलाई एकत्रित गर्ने यात्रा ७ बुँदे लिखित प्रतिवद्धता सार्वजनिक गर्ने नेता कमरेडहरु प्रति श्रमजीवि र उत्पिडित प्रवासी नेपाली जनताले लालसलामसँगै हृदयदेखि धन्यवाद ज्ञापन गरेका छन् । नेपालको राष्ट्रिय राजनैतिक दल माओवादी केन्द्र र एमाले पार्टीको जनवर्गीय सङ्गठन अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सचिव आरबी खड्काको नेतृत्वमा क्षेत्रिय अध्यक्ष ज्ञानबहादुर केसी, केन्द्रीय सदस्य अर्जुन दयाल, केन्द्रीय सदस्य मानु क्षेष्ठ र प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारीको नेतृत्वमा केन्द्रीय उपाध्यक्ष सीता अधिकारी, केन्द्रीय सल्लहाकार कवि कार्की, केन्द्रीय सदस्य बेधप्रसाद भण्डारी राज्य सचिब बिमलप्रसाद पौडेल लगायतको उपस्थिति थियो । बाम गठबन्धनलाई स्वागत गर्दै भारतको राजधानी नयाँ दिल्ली होटल स्टार फ्लावर इन पहाडगञ्जमा बिहीबार एमाले निकट प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारीको नेतृत्वमा संयुक्त बैठकले नेपालमा आसन्न प्रतिनिधी र प्रदेशसभाको चुनावलाई लक्षीत गरी संयुक्त कार्य्रकम गर्ने निर्णय गरिएको छ ।

महाकवि देवकोटाको १०८ औं जन्मजयन्ती भब्य रुपमा सम्पन्न

दोहा, कात्तिक २१ । कतारमा क्रियाशिल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, नेपाली साहित्य समाज कतार च्याप्टर , नबोदित साहित्यिक वाचनालय कतार , सन्ध्या ग्रुप अन्तर्गत मुग्लानी सौगात त्रैमासिक पत्रिका र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अन्तर्गत साहित्य विभागको संयुक्त आयोजनामा एकै दिनमा एउतै मंचमा अनेसास नबोदितको नियमित साहित्यिक वाचनको ७५ औ श्रृखंला, नेपाली कला केन्द्रका कलाकारहरुको सांगीतिक प्रस्तुति , नेपालबाट आमन्त्रित कबि उपेन्द्र सुब्बाको एकल कविता वाचन , गायक तथा साहित्यिक सर्जक हरिबिनोद अधिकारीको गिती एल्बम ‘पन्चे बाजा’ को लोकार्पण र चलचित्र निर्देशक प्रकाश आङ्देम्बे द्वारा निर्देशित चलचित्र ‘देश खोज्दै जादा’ को प्रदर्सन गरी फरक फरक ५ वोटा कार्यक्रमहरु संम्पन्न भए । पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यकममा नेपाली कला केन्द्रका कलाकारहरुले लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित ‘कुन मन्दिरमा जान्छौ यात्री’ र मुना मदन खण्ड काब्यका गित गायका थिए । महाकवि देबकोटाको जीवनी “अडियो रेकर्ड ” मार्फत प्रस्तुत गरिएको थियो । नेपाली साहित्यका साथै अभिनय क्षेत्रमा पनि आफ्नो छुट्टै पहिचान बनार्इ सकेका तथा “खोलाको गित” ,“लाटो पहाड” आदि जस्ता कबिता संग्रह समेत प्रकासित गरी सकेका कबि उपेन्द्र सुब्बाले आफ्नै कबिता संग्रह “खोलाको गित” बाट केहि कबिता वाचन गरेका थिए । बिषय बस्तु र परिस्थितिलाई जस्ताको तस्तै कबिता मार्फत उतार्न सक्ने खुबी भएका कबिले निकै हसिलो शैलीमा “सायद , जडयहाको तर्क ,समान अन्तर , आमाको नाम , ढुंगाको मन , भेडेटारको पिकनिक आदि शिर्षकका रमाइला कबिताहरु सुनाएका थिए । बिगत केहि वर्षदेखि कतारमा स्थापित भइ बिबिध साहित्यिक गतिविधिहरु संचालन गर्दै आइरहेका अनेसास कतार र नबोदित साहित्यिक वाचनालय साहित्यिक सस्थाले कवि उपेन्द्र सुब्बा र चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई संस्थाको मानार्थ सदस्यता प्रदान गरेका थिए । भुटानबाट नेपाल आई शरणार्थी जीवन बिताइरहेका भुटानी शरणार्थीहरुको कस्टकर जीवन र उनीहरुले आफ्नो स्वदेश फर्कन गरेको संघर्षलाई बिषय बस्तु भएको चलचित्र “ देश खोज्दै जाँदा” को प्रदर्शनले उपस्थित दर्शकहरुलार्इ निकै भाबुक र गम्भीर बनाएको थियो । मानिसले जस्तो सुकै कठिन परिस्थितिमा आफू जन्मेको माटो र आफ्नो जन्म भूमीप्रतिको मायालार्इ कहिल्यै विर्सन सक्दैन भन्ने कुरालाई चलचित्रमा देखाइएको छ । नेपाली दूतावास कतारका द्वितीय सचिव हरिप्रसाद अर्यालको प्रमुख आतिथ्यता तथा कार्यकम संयोजक श्यामराज रानाभाटको सभापतित्वमा सम्पन उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ, विभिन्न राजनीतिक दलका भ्रातृ संगठन, जिल्ला सस्था, मातृ संस्था आदिका पदाधिकारीहरु तथा थुप्रै सामाजिक अभियन्ताहरु, बुद्दिजीबी, पत्रकार आदिको ठूलो उपस्थिति रहेको थियो ।

बाम गठबन्धनले दुईतिहाइ बहुमत ल्याउने प्रवासी मञ्चको दावी

युएई, कात्तिक १८ । नेकपा एमाले तथा माओवादी केन्द्र निकट प्रबासी भ्रातृ संगठनहरु प्रबासी नेपाली मञ्च युएई र नेपाली जनप्रगतिशिल मञ्च युएईले नेपालमा भएको बाम गठबन्धनको स्वागत र समर्थन गरेका छन । शुक्रबार संयुक्त बिज्ञप्ती जारी गर्दै यी दुई संगठनले राजनैतिक स्थायित्वको साथै बैदेशिक हस्तक्षेपलाई निरुत्साहित गर्नको लागि नेपालमा कम्युनिस्ट पार्टीहरुको एकता अपरिहार्य रहेकोमा जोड दिएको छन । प्रबासी नेपाली मञ्चका अध्यक्ष श्याम कंडेल र नेपाली जनप्रगतिशिल मञ्च युएईका कार्यबाहक अध्यक्ष बाबुराम विश्वकर्माद्वारा हस्ताक्षरित संयुक्त बिज्ञप्तीमा पार्टी एकता गर्ने उद्देश्यसहित भएको बाम तालमेल प्रकृयाले विश्व कम्युनिस्ट आन्दोलन र नेपाल राष्ट्रलाई २१ औ शताब्दीमा समाजबादको दिशामा डोर्याउने विश्वाश लिएको जनाईएको छ । नेपालका कम्युनिस्ट पार्टीहरुले बिगतका तिता घटनाहरुबाट सिक्दै एक भई अघी बढ्नु पर्ने बिज्ञप्तीमा बताईएको छ । बिज्ञप्तीमा बाम गठबन्धनमा उम्मेद्वारहरुलाई मतदान गरी संघीयसभा र प्रदेशसभामा बहुमतले बिजयी गराउन अपील समेत गरिएको छ । दुई संगठनका प्रतिनिधिहरु उपस्थित भएको सचिबालय स्तरीय बैठकले उक्त निर्णय गरेको हो । बिज्ञप्तीपछि संक्षिप्त प्रतिकृया दिदै कंडेलले बामपन्थी गठबन्धनले दुईतिहाइ बहुमत प्राप्त गर्ने विश्वास ब्यक्त गरेका छन् ।

कामदारको न्युनतम तलब तोक्न कतार तयार

कतार, कात्तिक १० । नेपाली कामदारको प्रमुख गन्तब्य रहेको कतारले आप्रवासी कामदारको न्युनतम तलब तोक्न तयार भएको छ । कतारमा ४ लाख नेपाली कार्यरत छन् । कतारको मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले आप्रवासी कामदारको न्युनतम तलब तोक्ने निर्णय गरेको हो । ‘न्युनतम तलब तोक्ने निर्णय नेपालीको लागि निकै महत्वपूर्ण छ । यो निर्णयलाई यथासक्य छिटो कार्यान्वयन गर्ने हामीलाई जानकारी दिइएको छ,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने, ‘यो निर्णय कार्यान्वयनमा आउन साथ नेपाली कामदारले प्रमुख रुपमा भोग्दै आएको दोहोरा करारपत्र बोकाउने समस्या हट्नेछ ।’ कतारले रोजगारदाता र कामदारबीच सहमति भएको तलबलाई मात्रै कार्यान्वयन गर्दा नेपालले निर्धारण गरेको न्युनतम तलब लागु भएको छैन ।   पछिल्लो पटक नेपालले ६ वर्ष अघि सामान्य कामदारको न्युनतम तलब खानासहित १२ सय रियाल (झन्डै ३६ हजार रुपैयाँ) निर्धारण गरेको थियो ।   तर वैदेशिक रोजगार व्यवसायीसँगको मिलोमतोमा कतारका कम्पनीहरुले १२ सय रियाल दिने सर्तमा श्रम स्वीकृति गराउने र कतारमा पुगेपछि ७ सय वा ८ सय रियाल दिने गरेका छन । नेपालले तोकेको न्युनतम लागु नभएपछि सरकारले बजारभाउ उच्च हुँदा पनि नयाँ तलब तोकेको थिएन । राजदूत कोइरालाका अनुसार कामदारले तलब पाउने अवस्था सुनिश्चित गर्न कतारले ‘कामदारलाई सहयोग र बिमा कोष’ स्थापना गर्ने घोषणा गरेको छ । रोजगारदाताबाट तलब नपाएमा त्यस कोषबाट कामदारलाई तलब उपलब्ध गराउने श्रम मन्त्रालयले जनाएको छ । ‘तलब नपाउने कामदारहरु त्यतिकै स्वदेश फर्किनुपर्ने अवस्था छ । यो कोषबाट पीडितलाई तलब दिने अवस्था आए कामदारलाई ठुलो राहत हुनेछ,’ उनले भने । कतारी श्रम मन्त्री इशा अलनुएमीका अनुसार कोषबाट बाँकी बक्यौता तलब भुक्तानी हुनेछ ।   कामदारको हितको पक्षमा कतारलाई निरन्तर दबाब दिंदै आएको अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटियुसी)ले कतारको यो घोषणा एउटा क्रमभंगता भएको टिप्पणी गरेको छ । ‘कतारी सरकारको पछिल्लो छलफल र प्रतिबद्धताहरुले औद्योगिक वातावरणलाई सामान्य बनाउन र कामदारको अधिकार प्रत्याभुति गर्न सहयोग गर्छ,’ आईटियुसीका महासचिव शरन बुरोले भनिन् । आइटियुसीले कतारले यसलाई जतिसक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।

कतारमा एक नेपालीको मृत्यु

राजविराज, कात्तिक १ । वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो । मण्डल छ महिना अगाडि रोजगारीको लागि कतार जानुभएको थियो । उहाँको गएराति अज्ञात सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको र गाडीको नम्बर खुल्न नसकेको बताइएको छ । सप्तरीकै किसुन मण्डलको सहयोगमा अलि ओभरसिज इटहरीमार्फत २०७३ चैत महिनामा उहाँ कतार जानुभएको थियो । उहाँको शव नेपाल ल्याइदिनको लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवारले आग्रह गरेका छन् ।