३६ महिला र बालबालिका आइएसको अपहरणमा

बेरुत, साउन १५ । इस्लामिक स्टेट्स आतङ्ककारी समूह (आइएस) ले सिरियाको दक्षिणी भागमा पर्ने स्वेदा प्रान्तमा ३६ जना महिला र बालबालिका अपहरण गरेको छ । मानव अधिकारवादी समूहले ३६ महिला तथा बालबालिका आइएसको अपहरण गरेको सोमबार जानकारी दिएको छ ।

केही दिनअगाडि मात्र इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी स्वेदा प्रान्तमा २५० भन्दा बढीका मृत्यु भइसकेको छ । यी आक्रमणहरूमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएका अब्जरभेटरी प्रमुख रामी अब्देल रहमानले बताएका थिए।

सरकारको बलियो प्रभाव रहेको सिरियाको दक्षिणी भागमा पर्ने स्वेदामा प्रान्तका केही दिनदेखि लगातार आत्मघाती आक्रमण, गोलाबारी र अपहरण जस्ता घटना जारी रहेको छ । सिरियामा सन् २०११ को मार्च महिनादेखि शुरु भएको रक्तपातपूर्ण गृहयुद्धबाट तीन लाख ५० हजारको मृत्यु भइसकेको छ, र तुलनात्मकरूपमा शान्त देखिएको स्वेदा प्रान्तमा पहिलोपटक भीषण आक्रमण भएको हो ।

सिरियाली राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएको थियो । विश्वका महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र रुस तथा युरोपेली युनियन आबद्ध मुलुकहरू र अरब मुलुकको राजनीतिक, आर्थिक, सामरिक तथा हातहतियारको प्रत्यक्ष, अप्रत्यक्ष सहयोगका कारण यहाँको गृहयुद्धबाट ठूलो मानवीय क्षति पुगेको हो । गृहयुद्धको चपेटामा परेर लाखौँको सङ्ख्यामा मानिस घाइते हुनाका साथै लाखौँ सर्वसाधारण देश बाहिर शरणार्थी बन्न बाध्य भएका छन् । रासस÷एएफपी

विश्वकप सकियो, क्रोएसियाली राष्ट्रपतिको चर्चा चुलियो !

काठमाडौं, साउन १ । विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४-२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ। अत्यन्तै रोमाञ्चक खेलअवधि जति रमाइलो र हेर्न लायक थियो, त्यति नै विश्वकप समापन समारोह पनि । समापन समारोहमा विश्वकप आयोजक राष्ट्रका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों र क्रोएसियाली राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकलगायतका अति उच्च व्यक्तित्वको सहभागिता रहेको थियो । निर्धारित समय सकिएलगत्तै जब रेफ्रीले सिठ्ठी फुके, मैदानबाहिर रहेका फ्रान्सेली फुटबलका खेलाडी, प्रशिक्षक र टिम सदस्य मैदानमा छिरेर जितको रमाइलो गर्न लागे । सबैलाई आश्चर्यचकित पार्दै पहिलो पटक विश्वकप फाइनलमा पुगेको क्रोएसियाका खेलाडी भने, कोही रुन थाले, कोही निरास भएर मैदानमै लडिरहेका थिए । फ्रान्सको सर्मथनमा रहेका दर्शकमा जति खुसीयाली थियो, क्रोएसियाको समर्थन गरिरहेका दर्शक त्यति नै निराश । पुरस्कार वितरण समारोह सुरु हुनेबित्तिकै पानी पर्न थालेको थियो । जति पुरस्कार वितरणको रौनकताले विश्वभरका दर्शकलाई तानिरहेको थियो, त्यत्ति नै, क्रोएसियाली राष्ट्रपति कोलिन्दाको प्रस्तुतिले विश्वभरका मानिसलाई नतमस्तक बनाइरहेको थियो । नागरिक दैनिकमा खबर छ ।

पाकिस्तानमा आत्मघाती बम आक्रमण, १२८ जनाको मृत्यु

एजेन्सी, असार ३० । पाकिस्तानको दक्षिण-पश्चिमी प्रान्त बलुचिस्तानमा आत्मघाती बम आक्रमण हुँदा कम्तिमा १२८ जनाको ज्यान गएको छ । बलुचिस्तानको मास्तुङ्ग जिल्लामा भएको एक चुनावी र्‍यालीमा शुक्रबार आत्मघाती बम आक्रमण भएको हो । घटनामा सयौँ मानिस घाइते भएका छन् । पछिल्लो चार वर्षमा पाकिस्तानमा भएको यो सबैभन्दा ठूलो आक्रमण रहेको सरकारी अधिकारीले बताएका छन् । घटनामा ज्यान गुमाउनेमा आउँदो चुनावका लागि मास्तुङ्गबाट उठेका उम्मेदवार पनि रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मेवारी लिएको छ । बलुचिस्तान अवामी पार्टीका नेता नवाबजादा सिराज रईसानीको पनि घटनामा ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् । आक्रमण क्वेटी नेहसाना राजमार्गको उक्त पूर्व तथा क्वेटाबाट झण्डै ३५ किलोमिटर पर भएको हो । विस्फोटका लागि ८ देखि १० किलो विस्फोटक पदार्थ प्रयोग भएकाले ठूलो क्षति भएको हो । सिराज रईसानी बलुचिस्तानका पूर्व मुख्यमन्त्री नवाब असलम रईसानीका भाइ हुन् र आउँदो चुनावका लागि सिराजले असलम विरुद्ध नै उम्मेवारी दिएका थिए । उनले गरेको चुनावी र्‍यालीमा आक्रमण भएको हो र धेरैको ज्यान गएको छ ।

खस क्षत्री सेवा समाज कतारको आठौं स्थापना दिवस सम्पन्न

दोहा ,असार २९।खस क्षत्री सेवा समाज कतारको आठौं स्थापना दिवस दोहा स्थित एक होट्लमा शुक्रबार सम्पन्न भएको छ । समाजको आठौं स्थापना दिवस अन्तरक्रिया तथा बिबिध सास्कृतिक कार्यक्रम सहित शालीमार दरबार रेस्टुरेन्टमा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन खस क्षत्री सेवा समाजका प्रमुख संरक्षक एवं कार्यक्रमका प्रमुख अतिथि टिबि कार्की, संरक्षक हंसराज ढकाल लगाएत अतिथिले ब्यानर अनावरण, दिप प्रज्वलन तथा केक काटेर भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै समाजका प्रमुख संरक्षक टिबि कार्कीले खस क्षत्री सेबा समाज कतार बिसुद्द सामाजिक संस्था रहेकोले कोहि समुदायको विरुद्ध नभइ नेपाली बिचको आपसी एकता लागि गठन भएको बताए । खस क्षत्री सेवा समाजको आवश्यकता अझै रहेको भन्दै खत्रीले सम्पुर्ण सामाजिक संघसंस्था बिच समन्वय गरि निरन्तर समाज सेवामा लागि रहने बताए। स्थापना दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा समाजको स्थापना उदेश्य, समाजमा क्षत्रीको भुमिका बारे समाजका प्रमुख संरक्षक टिबि कार्की,समाजको कार्ययोजना र प्रगति बारे समाजका संरक्षक हंसराज ढकाल , कतारमा नेपाली ब्याबसायिको अबसर र चुनौतीका बारे संस्थापक सल्लाहकार सागर नेपालले र खस क्षत्रीहरुको इतिहास को बारेमा समाजका सल्लाहकार निगम कार्कीले प्रशिक्षण प्रदान गरेका थिए । समाजका अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षता मा सम्पन्न कार्यक्रममा संस्थापक उपाध्यक्ष पुर्ण केसि, सल्लाहकार तेज कटुवाल, भोजपुर सेवा समाजका अध्यक्ष गोपाल बस्नेत, प्रबासि कटुवाल बन्दु सेवा समाजका अध्यक्ष गोपाल कटुवाल लगाएतले सुभकामना मन्तव्य राखेका थिए। सो अवसरमा समाजका सल्लाहकार संयोजक रेशम बस्नेतले कविता बाचन गरेका थिए भने समाजका कार्यसमिति सदस्य भरत केसी लगाएत दाङ देउखुरी सेबा समाजको सास्कृतिक बिभागका कलाकारहरुले विभिन्न गित, नृत्य तथा हास्य प्रसन प्रस्तुति गरेका थिए। खस क्षत्री सेवा समाजका उपाध्यक्ष बिश्व बन्दु थापाले स्वागत गरेको कार्यक्रम महासचिव रामजि खत्रीको संचालनमा सम्पन्न भएको समाजका प्रवक्ता सन्तोष क्षत्रीले बताए।

रोल्पाका दिलबहादुरलाई बचाउन मलेसियाबाट सहयोग

काठमाडौं, असार २९ । ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन मलेसियामा एक लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । रोल्पा घर भई मलेसियामा रहेका पृथ्वीप्रसाद रानामगरको पहलमा संकलित एक लाख ४५५ रुपैयाँ ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण गरिएको छ । ‘दिलबहादुरको जीवन रक्षाका लागि हामीले सहयोग अभियान जारी राखेका छौँ । यसैक्रममा मलेसियाबाट थप एक लाख रकम अभियान मूल समितिलाई प्राप्त भएको छ,’ अभियान मूल समितिका संयोजक दिपेश पुनले भने, ‘म आर्थिक सहयोग गर्ने सबै सबै साथीहरुलाई समितिको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’ मलेसियाबाट यसअघि पनि तीन लाख भन्दा बढी रकम मूल समितिलाई हस्तान्तरण गरिसकेको छ । संयोजक पुनले दिलबहादुरको जीवन रक्षाका लागि ओमनबाट हेमराज चलाउनेको पहलमा १८ हजार ४४१, कतारबाट कविराम बानियाँको पहलमा १२ हजार ७१५ रुपैया, दुबईमा रहेका कमल महरले ३१ हजार २५६, जोर्डनमा रहेका गोविन्द पुनले १५ हजार १८, साउदीमा रहेका गणेश रोका र प्रशान्त रोकाले १० हजार ९९८, दलप्रसाद विकले १६ हजार ८११ रुपैया मूल समितिमा आईपुगेको जानकारी दिए ।

एनआरएनए युएईको पहलमा दुई महिलाको उद्दार

युएई ।युएईमा लामो समय देखि दलालले बन्धक बनाइ राखेका दुई नेपाली महिलालाई एनआरएनए युएईले उद्दार गरी बुधबार स्वदेश फिर्ता गरेको छ। युएईको अलऐन स्थित एउटा घरमा बिगत एक बर्ष देखि बन्धक बनाइ राखेको अबस्थामा पीडित मध्ये एक महिलाले सामाजिक संजाल मार्फत आफ्नो उद्दारको लागि पहल गरिदिन अपील सहितको भिडियो हाले पछी एनआरएनए युएईले प्रहरीको सहयोगमा ठेगाना पत्ता लगाई पीडितको उद्दार गर्न सफल भएको एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन्। यसरी अलपत्र पर्नेहरुमा बर्दिया घर भएकी रेनुका र उनकी साथी भुप कुमारी रहेकी छिन भने अर्कि एक महिलालाई दलालले भगाउन सफल भएको भए पनि नेपाली दूतावास युएईले सम्पर्क गरी हाल दूतावासको सेल्टरमा राखेको दूतावासले बताएको छ। अलपत्र मध्ये रेनुका र भुप कुमारीलाई एनआरएनए युएईले आवश्यक प्रकृया पुरा गरी बुधबार हवाई टिकटको ब्यबस्था मिलाई स्वदेश फिर्ता गरेको छ भने अर्की एक महिलालाई दूतावासले केही दिनमा नेपाल फर्काउने तयारी गरेको दूतावास स्रोतले जानकारी दिएको छ। पछिल्लो समय युएईमा रहेका सँघसस्थाहरु खासगरि एनआरएनए युएईले मजदुर हितमा उल्लेखनीय काम गर्दै पीडितलाई न्याय दिलाउन महत्त्वपूर्ण भुमिका खेलेको भन्दै नेपाली दूतावास युएईका कार्यबाहक राजदूत सागर फुयाँलले सहयोगी सबैलाई धन्यवाद दिएका छन् ।

युएईमा सुपरभाइजरबाट कुटिएकी नेपाली महिलालाई दूतावासले दिलायो न्याय

युएई, असार २७ । युएईमा आफ्नै कम्पनीको सुपरभाइजरले कुटपिट गर्दा घाइते भएकी सोलुखुम्बुकी गङ्गा बास्तोलालाई नेपाली दूतावास युएईले न्याय दिलाएको छ । गत मंग्लवार कम्पनीमा काम गर्न जादा मादक पर्दाथ सेवन गरि गएकी गङ्गालाई कम्पनीका एक भारतीयन सुपरभाइजरले गाडीमा राखी कम्पनी होस्टेल फर्काउदै गर्दाबीचच बाटोमा गाडी रोकि कुटपिट गरेको भिडियो सामाजिक संजाल फेसबुक मार्फत भाइरल बनेपछि दूतावासले घटनाबारे चासो दिएको थियो । युएईको सोनापुरस्थित एक प्रतिष्ठित कम्पनीमा क्लिनिङ काम गर्दै आएकी बास्तोलाले मादक पदार्थ सेवन गरि सामान्य भनाभन गरेकै भरमा बिच बाटोमा घाइते हुने गरि कुटपिट गर्नु नितान्त कानुन बिपरित रहेको भन्दै दूतावासले घाइतेको उपचारसहित कम्पनीसँग क्षतिपूर्ती दाबी गरेको राजदूत सागर फुयालले बताए । ‘मादक पदार्थ सेवन गरि काममा जानू झगडा गर्नु नितान्त गलत हो तर त्यसो भन्दैमा महिलामाथी हातपात गर्ने लाई हामी त्यसै माफ दिन सक्दैनौं कम्पनीले सुपरभाइजरलाई कारबाही गरेको छ बास्तोला उपचार पछी नेपाल जादैछिन,’ राजदुत फुयालको भनाइ छ। पछिल्लो समय युएईमा मादक पदार्थ सेवन गरि होहल्ला गर्ने, झैझगडा गर्ने जस्ता काममा नेपाली महिला तथा पुरुषको सङ्ख्या बढेको देख्दा दुख लागेको बताउदै स्वाभिमानी नेपालीको शिर झुकाउने काम नगर्न समेत दूतावासले अनुरोध गरेको छ ।

ब्रह्माण्ड ध्वस्त हुँदैछ भनी भविष्यवाणी गर्ने नेतालाई मृत्युदण्ड

जापान । पृथ्वी ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने एक जना व्यक्तिलाई मृत्युदण्ड दिइएको छ । ब्रह्माण्ड समाप्त हुँदैछ भनी अफवाह फैलाउने र २३ वर्षअघि टोकियोको एक सब-वेमा गरिएको रसायनिक ग्यास आक्रमणको मुख्य योजनाकार सोको आसहारालाई मृत्युदण्ड दिइएको हो । आसहारासहित ७ जनालाई टोकियोको हिरासत घरमा शुक्रबार बिहान मृत्युदण्ड दिइएको हो । आसहारा ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने अम सिनरिक्यो समूहका नेता हुन् । उनी सन् १९९५ को २० मार्चमा स्नायू प्रणालीमा असर पुर्‍याउने रसायनिक ग्यास आक्रमणको मुख्य योजनाकार हुन् । जापानको अहिलेसम्मकै हिंसात्मक मानिने उक्त आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए । त्यसपछिका महिनाहरूमा उक्त सम्प्रदायका सदस्यहरूले विभिन्न स्थानमा हाइड्रोजन साइनाइडको प्रयोग गरी आक्रमण गर्ने प्रयास गरेका थिए । कम अपराध हुने र सामाजिक एकताको नमूना देश मानिने जापान उक्त आक्रमणपछि स्तब्ध बनेको थियो । उक्त घटनामा संलग्न भएको भन्दै दर्जनौंलाई अभियोग लगाइएको थियो । उनीहरुमध्ये मुख्य योजनाकार आसहारा सहित १३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो । अझै ६ जना मृत्युदण्डको मिति कुरेर बसेका छन् । -एजेन्सी

कतारमा १७ नेपालीलाई आममाफी !

कतार, असार १९ । कतारका विभिन्न जेलमा बन्दी जीवन विताइरहेका १७ नेपालीलाई आममाफी दिइएको छ । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको अवसरमा कतारस्थित कारागारमा बन्दी जीवन बिताइरहेका नेपाली कैदी बन्दीहरुलाई आममाफी दिइएको नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावास, दोहाले कतार सरकार समक्ष गरेको अनुरोध बमोजिम निजहरुको चालचलन तथा कैद भुक्तानीको आधारमा कतारका अमिरबाट रमदानको अवसरमा १७ नेपाली कैदीलाई आममाफीसहित रिहाइ गरिएको दुतावासले विज्ञप्तिमार्फत जनाएको छ । साथै २९ जना कैद भुक्तानीको क्रममा रहेको पनि दूतावासले जनाइएको छ ।

खरो बन्दै महाथिर सरकार, समस्यामा अवैधानिक कामदार

क्वालालम्पुर । नयाँ सरकार बनेसँगै मलेसियामा कार्यरत अवैधानिक कामदारहरु संकटमा परेका छन् । ‘रुखो प्रशासन र चोखो राजस्व’ को आक्रामक तयारी सहित ‘फिल्ड मार्शलमा’ उत्रिएको मलेसियाली प्रशासनको मुख्य निशाना अवैधानिक कामदार पनि हुन् । बिहानीले दिनको छनक देखाउँछ भनेझैँ ‘मोहमद महाथीर’को सरकारले निर्वाचित भएको पाँच दिनपछि नै ५० अर्ब डलर ‘कालो–धन’ जफत गरेको थियो। विमानस्थल र बन्दरगाहमा शिलबन्दी गरेर ‘भ्रष्ट मन्त्रीलाई पक्राउ, कमिशनखोर र माफियाहरूलाई घेराबन्दी लगायतका काम गरिसकेको महाथिर सरकारले १४४ जना ‘कालाबजारिया व्यापारीहरु’ लाई कारबाही समेत गरिसकेको छ। त्यस्तै गत महिनामा ५० जना ‘भ्रष्टचारी न्यायाधीश र २०० बढी रिश्वतखोर पुलिस’ लाई जेल चलान समेत गरेको छ। हाल अवैधानिक रुपले कार्यरत कामदारहरुलाई ‘धरपकडको चरण’मा प्रवेश गरेको यहाँको प्रशासनले विभिन्न कम्पनी तथा कामदार बस्ने आवासहरुमा छापा मारिरहेको छ । पक्राउ कार्यलाई जुलाई एक तारीख अर्थात आजैदेखि तीव्र बनाइने भएको मलेसियामा स्थिति प्रशासनले जनाएको छ। मलेसियाले अवैधरुपमा बसिरहेका कामदारलाई आगामी अगस्टसम्ममा फर्किसक्न समय तोकेको थियो । यता मलेसिया स्थित नेपाली राजदूतावासले पनि गैरकानुनी रुपमा मलेसियामा बस्दै आएका नेपालीलाई यही समयभित्र स्वदेश फर्कन आग्रह गरेको छ । अहिले पनि हज्जारौंको संख्यामा नेपाली कामदारहरु अवैधानिक तरिकाले मलेसियाका विभिन्न स्थानमा कार्यरत छन् । नेपालबाट भिसा लगाएर आएको कम्पनिमा भने अनुसारको तलब सुविधा नहुँदा नेपाल लगाएत अन्य देशका कामदारहरु अवैधानिक बन्ने गरेका छन् । यसअघि बेला–बखतमा यहाँको सरकारले वैधानिक हुन वा घर फर्किन समय दिने गरेको थियो। तरपनी आफ्नो आग्रहको बेवास्ता गरेको भन्दै मलेसियाको नयाँ सरकारले आइतबारदेखि उनीहरुलाई पक्राउ गर्न अभियान नै चलाउन लागेको हो। वैधानिक हुन र घर फर्किने योजनामा सामेल नहुने कामदार सहित उनीहरुका रोजगारदातालाई पनि कारबाही गरिने मलेसिया सरकारले जनाएको छ ।

नेपाली दूतावास साउदीद्वारा सुरक्षा ,सचेतना तथा स्वास्थ्य परीक्षण

साउदी अरबमा कार्यरत नेपाली श्रमिकको सुरक्षा ,सचेतना तथा स्वास्थ्य परिक्षण सम्बन्धि एक दिने कार्यक्रम सप्पन्न भएको छ। नेपाली राजदुतावास साउदीको आयोजनामा रियादको हायलमा बिहिवार आयोजना गरिएको कार्यक्रममा झन्डै १सय १०जना भन्दा धेरै नेपालीहरुको उपस्थिति रहेको दूतावास स्रोतले जानकारी दिएको छ। उक्त कार्यक्रममा अलनुर मेडिकल कम्प्लेक्स, हायल र नेपाली प्रवासी समाज हायलको सहयोग तथा समन्वय रहेको थियो ।अलनुर मेडिकल कम्प्लेक्सले निःशुल्क सभाहल तथा नेपाली श्रमिकको स्वास्थ्य परीक्षण कार्यमा सहयोग गरेको थियो भने प्रवासी नेपाली समाज हायलको समन्वयमा कार्यक्रममा उल्लेख्य सहभागीता रहेको थियो । निःशुल्क स्वास्थ्य परीक्षणवाट ६० जनाले लाभ लिएका छन । कार्यक्रममा नेपाली श्रमिकका समस्या र समाधानका उपायहरू, दूतावासले दिने सेवा र तिनको कार्यविधि एवं वितीय साक्षरता सम्बन्धी अलग अलग श्रोतव्यक्तिवाट जानकारी दिदै सहभागी वीच अन्तरक्रिया समेत भएको थियो ।

मलेसियामा बस दुर्घटनाः ३६ नेपाली घाइते

मलेसिया, असार ११ । मलेशियाको पेनाङ राज्य स्थित पया टेर्‍वोङमा कामदार बोकेको बस दुर्घटना हुँदा ३६ नेपाली घाइते भएका छन। विभिन्न देशका गरि ६० जना यात्रु सवार बस सोमबार बिहान स्थानीय समयनुसार साढे ५ बजे प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जाने क्रममा बस दुर्घटना हुँदा ३६ जना नेपाली कामदार समेत घाइते भएका छन् । दुर्घटना लगत्तै पुगेको उद्धार टोलीले घाइतेलाई तत्काल अस्पताल पुर्याएको बताइएको छ । स्रोतका अनुसार अधिका‌ंशको टाउको, हात र खु्ट्टामा चोट लागेको छ । केहि सामान्य घाइते रहेका छन् । घाइतेहरुको पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको छ । घाइते भएको विस्तृत विवरण आउन बाँकी छ । अहिलेसम्म दुर्घटनामा कोको परे र उनीहरु कहाँका हुन जानकारी आएको छैन । घटनाबारे नेपाली दूतावास मलेसियालाई पनि जानकारी गराइएको बताइएको छ ।

रवि लामिछानेलाई लागेको आरोपबारे अमेरिकाबाट प्रेम बाँनिया यस्तो भन्छन्

काठमाडौं, असार ७ । केही दिनयता रबि लामिछानेबारे विभिन्न टिका-टिप्पणी भइरहेका छन् । उनलाई विभिन्न आरोप लागेका छन् । एउटा टेलिभिजन कार्यक्रमबाट जनताको मन जित्न सफल भएका लामिछानेलाई अमेरिकी नागरिक देखि थुप्रै आरोप लागेका छन् । यतिसम्मकी रबिलाई जेल हाल्नेसम्मका टिप्पणी आइरहेका छन् । यसैविच उनका साथी तथा पत्रकार प्रेम बाँनियाले अमेरिकाबाट रबिमाथि लागिरहेको आरोपको कडारुपमा खण्डन गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुक मार्फत उनले रबिबारे लागेको आरोपको कडा खण्डन गरेका हुन् । देशको प्रगति देख्न नचाहने तत्वका कारण रबिलाई यस्तो आरोप लागिरहेको बाँनियाले लेखेका छन् । उनले लेखेका छन्, ‘आज रबि जीमाथि आक्रमण गरिरहेका छन् तिनकै कारणा  मजस्ता धेरैलाइ देश छोड्न बाध्य बनायो ।’ उनी अझै अगाडी लेख्छन्, ‘ति तत्वहरुले अझ के-के समाप्त पार्ने हुन् भनी साध्य छैन्, यस्तै प्रवृतिका पात्रहरुका कारण आज मेरो देशको हालत खराब छ !’ बाँनियाले आफ्नो फेसबुकमा रबिबारे यस्तो लेखेका छन्ः एउटा उल्कापात ! एउटा बज्र !! वा एउटा सकारात्मक बिध्वंश !! रबि लामिछानेलाई देशप्रवृति, पत्रकारिताप्रवृति र जीवनका धेरै अनुभव, लडाईंजुधाई र सत्यहरु सुम्पिएर र यताका केही ग्रहण गरेर केही समयको लागि  विदेसिएको पात्र हूँ म । आज रबिजी त्यही स्टुडियोबाट बोलिरहेका छन् जसका लागि एकएक इटा संकलन गरेर, जग हालेर र त्यसलाई जीवन्त बनाएर हिंडेको हूँ म । आज रबिजी माथि आक्रमण गरिरहेका यिनै पिप्साहरुले हिजो मजस्ता धेरै-धेरैलाई देश छोड्न बाध्य पारेका छन्, कति-कतिको के-के समाप्त पारेका छन् भनीसाध्य छैन । यस्तै प्रवृतिका पात्रहरुका कारण आज मेरो देशको हालत खराब छ ! यो एक प्रकारको ओपनसेक्रेट हो । उनीहरु भनिरहेका छन्- रबिले वर्कपरमिट लिएन, यसो गर्यो त्यसो गर्यो, जेल हाल्नुपर्छ’ आदि । तर, बिचराहरुलाई के थाहा रबिजीले अमेरिकाको नागरिकता वा पासपोर्ट नै अमेरिकी सरकारलाई बुझाएको कति भयो ? अनि त यति ढिलो आएर (पत्रकारहरु) ‘डेट एक्सपाएर्ड न्यूज’को खेती गरिरहेका छन् ! आज प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम हेर्न नभुल्नु होला र थाहा पाउनुहोला कि यो देशमा दुईचार दाना कुहिएका आलुहरुले सिंगै बोरालाई कसरी दुर्गन्धित बनाइरहेका छन् ? हरपल कुरा भइरहन्छ र भनिरहेको छु रबिजी, कुनै पनि समय, जीवनको कुनै पनि मूल्य चुकाएर देशको लागि परिवर्तनका जबर्जस्त अगुल्टाहरु भएर अघि बढ्नैपर्छ र हमेशा म तयार छु अब त हामी झन् तयार भएका छौं विश्वभरीबाट !  फोटोः पत्रकार बाँनियाको फेसबुकबाट

साउदीमा अबैधानिक हुँदा १५ हजार रियल जरिवाना भिजिट भिसामा नजान दूतावासको अनुरोध

रियाद। साउदी अरबको अध्यागमन बिभागले गैरकानुनी रूपमा साउदिमा बसोबास गरे १५ हजार रियल सम्म जरिवाना तिर्नुपर्ने नियम लागू गरेको छ। पछिल्लो समय विभिन्न देश बाट भिजिट भिसामा साउदी जाँदै अबैधानिक रूपमा लुकेर काम गर्नको सङ्ख्या बढे सङ्गै यस्तो नियम लागू गरिएको हुन सक्ने नेपाली दूतावास साउदिले जानकारी दिएको छ। बुधबार एक सुचना जारि गर्दै दूतावासले कुबेत हुँदै भिजिट भिसामा साउदी जाने नेपालीहरु अबैधानिक रूपमा रहदा १५ हजार रियल जरिवाना तिर्नुपरेको बताउदै भिजिट भिसामा गयर अबैधानिक नबन्न अनुरोध गरेको छ। अबैधानिक बनेका ४ महिलाको उद्दार नेपाली दूतावास साउदीले कुबेत हुँदै भिजिट भिसामा साउदी पुगि लामो समय देखि अबैधानिक बनेका ४ जना महिलालाइ उद्दार गरि स्वदेश फर्काएको छ।   भिजिट भिसामा साउदी पुगि अबैधानिक बनेका उनीहरुलाई दूतावासको सेल्टरमा राखी आवश्यक प्रक्रिया पूरा गरि बुधबार स्वदेश फिर्ता गरिएको दूतावास द्वारा जारी सुचनामा उल्लेख छ। यसरी अबैधानिक बनी स्वदेश फर्कने हरुमा झापाकी दिपिसा लिम्बू ,चितवनकि पुष्पा बिक ,चितवनकै सुकमाया बिक र काभ्रेकि सुमिच्या लामा रहेका छन। उनीहरुलाई स्वदेश फर्काउन नेपाली जन -सम्पर्क समिति साउदीले हवाई टिकट उपलब्ध गराएको थियो भने साउदी स्थिति परराष्ट्र मन्त्रालयले आबस्यक कानुनी सहयोग गरेको दूतावासले जानकारी दिएको छ।

एक हप्तापछि शव आउँदा सिंगो गाउँ नै शोकमा

पर्वत, असार ५ । साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसी (नसिब) को शव तीन हप्तापछि नेपाल ल्याइएको छ । पर्वतको मोदी गाउँपालिका-५, बाजुङ धमिलपानी गाउँका मृतक केसीको शव सोमबार बिहान घरमा आएको हो । गत जेठ १५ गते साथीहरुले कुटेरै केसीको हत्या गरेका थिए । मृतक केसीको सोमबार बिहान मोदीखोलामा दाहसंस्कार गरिएको छ । बाबु भीमबहादुर केसीले कान्छा छोरा नसिबको शवमा दागबत्ती दिनुभयो । रोजगारीका लागि विदेश गएका युवाको अल्पायुमै आफ्नै साथीले कुटेर हत्या गरेपछि सिंगो गाउँ शोकमा डुबेको छ । मृतकको शव गाउँमा आएपछि सयौँ गाउँले श्रद्धाञ्जलि दिन पुगेका थिए । “सिंगो गाउँ नै शोकमा डुबेको थियो”, स्थानीयवासी तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, पर्वतका नेता भक्त कँुवरले भन्नुभयो “शव देखेपछि आँशु नझार्ने कोही भएन ।” रोजगारीकै लागि मलेसिया पुगेका पूर्वी नेपालका चारजनाले नसिवमाथि आक्रमण गरेका थिए । सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका केसीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । साथीहरुले रडले प्रहार गर्दा केसीको पेटमा गहिरो चोट लागेको थियो ।     मृतक किशोरको तस्वीर बीस महिनाअघि रोजगारीका लागि मलेसिया पुगेका केसी परिवारका कान्छा सन्तान हुन् । उनी अविवाहित थिए । उनका पिता भीमबहादुर केसी पनि वैदेशिक रोजगारीमा जाने आउने गरिरहनुभएको थियो । केसी कुटपिट गरी हत्या गर्ने साथीहरु चारैजना प्रहरी नियन्त्रणमा रहेपनि एकजनालाई दोषी देखाएर अन्य उम्केको पाइएको छ । चारैजना दोषी भएपनि एकजनालाई जिम्मेवारी स्वीकार गर्न लगाई अन्य रिहा भएको सूचना आएको नेता भक्त कँुवरले बताउनुभयो । उहाँले भन्नुभयो, “अपराधमा चारैजना संलग्न भएकाले उनीहरुका विरुद्ध कानूनी लडाइँ लड्नु पर्ने अवस्था आएको छ ।” रासस

युएईमा एक नेपाली महिलाले गरिन् आत्महत्या

युएई । आइतबार युएईमा काभ्रेको बनेपाकी एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् । रोजगारीका लागि संयुक्त अरव ईमिरेट्स (युएई) आएकी कृष्णा परियारले युएईको रसअल खैमाह स्थित क्लिनिङ कम्पनीमा आत्महत्या गरेको उनका सहकर्मी साथीले जानकारी दिएका छन्। मुस्लिम धर्मावलम्बीहरुको महान चाड ईदको छुट्टी मनाएर कम्पनीको कोठामा फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा साथीहरुले फेला पारेका थिए । उनी आइतवार बिहान १ बजेसम्म फोनमा गफ गरिरहेको उनीसगै कम्पनीमा कार्यरत निर्मलाले बताइन् । उनका सहकर्मीका अनुसार १७ तारिख बिहान ४ बजे साथीहरूले आत्महत्या गरेको अवस्थामा कृष्णाको शव फेला पारेको थियो ।उनले के कति कारणले आत्महत्या गरेकी हुन भन्ने कारण भने खुलेको छैन। घटनापछि कम्पनीले प्रहरीलाई खबर गरेको र यसवारे प्रहरीले अनुसन्धान गरिरहेको छ। परियारको ७ बर्षिया एक छोरी छिन् । मृतक उनको शव अहिले पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको छ।