युएईमा सिर्जना बरालको हत्या !नेपालीको बदनाम, मदिरा सेवन प्रमुख कारण
युएई,कार्तिक १६। युनाईटेड अरब ईमिरेट्स (युएई) को शारजाहमा गत शुक्रबार २६ अक्टोबरका दिन काठमाण्डौ घर भएकी सिर्जना बरालको हत्या भयो । सविना तामाङ (सोनी) ले छुरी प्रहार गरी सिर्जनाको हत्या गरेकी हुन् ।
शारजाहको ईण्डस्ट्रिअल एरिया १२ नम्बरमा तान्जिफ्को ईमिरेट्स कम्पनीमा कार्यरत २७२ जना नेपाली महिलाहरुको क्याम्प छ । सोही घटनामा क्याम्पमा रहेकी सर्लाही घर भएकी ममता चौधरी सख्त घाईते भएकी छिन् । उनको अहिले दुबईको अल कासिमी अस्पतालमा उपचार भईरहेको छ । सामान्य घाईते सलिना मगर र आशा दर्जी दुबईकै कुबेती अस्पतालमा उपचार पछी डिस्चार्ज भएका छन् ।
सिन्धुली माईत र नुवाकोट घर भएकी विवाहित सोनी एक बर्ष अघी शारजाहको ईण्डस्ट्रिअल एरिया १२ नम्बरमा रहेको क्याम्पमा बस्न आईपुगेकी हुन् । उनी २ जना सन्तानको आमा हुन् । ३ बर्ष अघी युएई आएकी उनी रस अल खैमह र फुजैराह हुँदै शारजाह बस्न आईपुगेकी थिईन् । झगडा गरिरहने भएकोले कम्पनीले सोनीलाई रस अल खैमह र फुजैराहमा लामो समय नराखी शारजाह सरुवा गरेको थियो । ३९ बर्षिय सोनी मानसिक रुपमा बिच्छिप्त देखिन्थिन् । सधैं झगडा गरिरहने र साथीहरुलाई हातपात गरिरहने कारणले उनलाई कम्पनीले पटक पटक चेतावानी समेत दिएको थियो । केही दिन अघी मात्र उनले एक जना बङ्लादेशी केटालाई हिर्काएकी थिईन् । उनी अत्यधिक मात्रामा मदिरा सेवन गर्थिन् ।

अत्यधिक मदिरा सेवन गर्ने बानी भएकोले नै कम्पनीले मदिरा नपाउने एरिया भनेर शारजाहमा सरुवा गरेको थियो। तर पनि उनले मदिरा पिउन छोडिनन् ।
क्याम्प एरिया भित्र मदिरा ल्याउन र पिउन निषेध छ । त्यसैले उनीहरु क्याम्प देखि केही पर बालुवा घारीमा वा अन्य कतै छेलिएर एकान्तमा बसेर मदिरा पिउने गर्थे । मदिरा पिईसके पछी क्याम्प फर्कन्थे । उक्त स्थानमा बाङ्लादेशीहरुले गैर कानुनी रुपमा लुकीछिपी मदिरा बिक्री बितरण गर्दै आएका छन् ।
घटना गत शुक्रबार राती ११ बजे तिरको हो । क्याम्पमा रहेका लक्ष्मी राई, आशा दर्जी, सिर्जना बराल र सविना तामाङ पहिले झै बाहिर गएर रक्सी पिएर कोठा फर्के । बगरमा बसेर रक्सी पिउँदा सधैं झै उनिहरुमा बिबाद भयो । सविनाको मुख्य बिबाद र झगडा लक्ष्मी राईसँग भएको थियो ।
उनिहरु बिचको झगडामा सिर्जनाले लक्ष्मीको समर्थनमा बोलेकी थिईन् । रक्सी पिएको स्थानमा उनिहरु बिच सामान्य ठेलाठेल र भनाभन मात्र भयो । भनाभनको क्रममा लक्ष्मीले सविनालाई ’हिँजडा’ र ’भालु’ आदि उपनामले गाली गरिन् । रिसालु सविनालाई ती शब्दहरु मुटुमै गढे ।

राती ११ बजे क्याम्पमा कोलाहल मच्चियो । पल्लो कोठामा बस्ने ममता चौधरी कुदेर झगडा भएको कोठामा पुगिन । उनी पुग्दा सविनाले सिर्जनालाई छुरी प्रहारी गरिसकेकी थिईन् । सिर्जना भने भुइमा ढलेर ऐया ऐया भनेर चिच्याईरहेकी थिईन् ।
सविनाले खासमा लक्ष्मीलाई प्रहार गर्न खोजेकी हुनुपर्छ।
लक्ष्मीलाई नभेटे पछी उनले सिर्जनालाई प्रहार गारिन् । प्रहार गर्नु अघी उनिहरु बिच कपाल लुछालुछ भएको थियो। सविनाले पहिले नै भान्सामा प्रयोग हुने छुरी कम्मरमा लुकाएर ल्याएकी रहिछिन् । तर उनले छुरी ल्याएको बारे कसैलाई पनि थाहा थिएन् । उनले कम्मरबाट छुरी निकालिन् र सिर्जनाको तिघ्रा, योनी हुँदै पेट सम्म घोपिन् । सविनामा महाकालीको रुप उत्रिसकेको थियो । कोठाका अन्य साथीहरुले बचाउन सक्ने स्थिती नै भएन । अस्पतालमा पुर्याए पछी डाक्टरले बचाउने धेरै प्रयास गरे पनि अत्यधिक रक्तश्राबको कारण सिर्जनाको मृत्यु भयो । उनको १० बर्ष जतिकोे छोरो रहेको छ ।

सविनाले ममतालाई पनि छुरी हानिन् । ममतालाई पहिले पछाडिबाट टाउकोमा छुरी प्रहार गरिन् भने उनी ढले पछी ढाडमा ३ पटक प्रहार गरिन् । उनी झगडा छुट्याउन र सविनालाई रोक्न पुगेकी थिईन् । छुट्याउने क्रममा सँगै गएकी सलिनालाई तिघ्रामा चोट लागेको छ।
लक्ष्मी, आशा, सिर्जना र सविना ४ जनाले रक्सी सेवन गरेका हुन् । ममता र सलिना उक्त झगडामा सामेल थिएनन् र रक्सी पनि खाँदैनन् । साथीहरुको झगडा मिलाउने क्रममा घाईते भए । बिभिन्न समाचारहरुमा आएको जस्तो ग्यांग फाइट पनि हैन । झगडा सविना र लक्ष्मी बिचको हो ।
क्याम्पमा २७२ जना नेपाली महिला छन् । ती मध्ये एक दुई जना खराब भए पनि सबै खराब छैनन् । खाडीमा आएर क्लिनिङको काम गर्नुमा सबैको आफ्नो आफ्नो बिबशता र बाध्यता छ । हाम्रो पनि घर, परिवार र समाज छ । सिर्जनाको हत्याले सबैजना शोकाकुल छौं । त्यो भन्दा पनि धेरै चिन्तित आफुहरु बद्नाम भएकोमा छौं । हामी रक्स्याहा महिला हैनौ भनेर लेखिदिनुस् है !
(कम्पनीमा कार्यरत नेपाली महिला र घाइतेसँग गरेको कुराकानीको आधारमा)सहयोगि :मेघराज सापकोटा
नेपाली मजदुरका समस्या समाधान गर्न कतारमा संयुक्त अभियान सुरु
दोहा,असोज २६।कतारमा नेपाली मजदुरका समस्या प्रति दूतावासले चासो देखाउन छोडेको भन्दै मजदुर समस्या समाधानका लागि संयुक्त अभियान सुरु गरिएको छ। विशेषगरि मानव तस्करी,ठगी र आजाद भिषाको नाममा नेपाली लाई कतार पुर्याइ अलपत्र पार्न गिरोहका विरुद्ध एक भएर लाग्न कतारमा रहेका ५ राजनीतिक दलका भातृ संगठनका प्रतिनिधि हरुले संयुक्त कार्यदल बनाइ काम सुरु गरेको कतार बाट बिबि खरालले जानकारी दिएका छन्। रोजगारीका लागि कतार पुगेका धेरै नेपालीहरु दलाल बाट ठगिदा समेत दूतावासले ठोस कदम नचाले पछी आफुहरुले संयुक्त अभियान संचालन गरि दलाल विरुद्ध लड्न लागेको खरालको भनाइ छ। बिहिवार कतारको राजधानी दोहा स्थित तरबारगेट नजिक रहेको बम्बे चौपाटी रेस्टुरेन्टमा विभिन्न संगठनका प्रतिनिधि सहितको भेलाले ७ जनाको कार्यदल गठन गरेको छ । उक्त भेलामा मजदुरहरुको आवाज उठाइरहने मजदुर नेता बि बि खराल नेकपाका प्रतिनिधि रामहरि गैरे,पुर्ब एमाले प्रबासी मंचका अध्यक्ष ,उपाध्यक्ष अब्दुल मिया ,संघीय समाजबादी फोरमका नेता हिराधन राई ,नयाँ शक्ती पार्टीका अध्यक्ष देब परियार ,बिबेकशिल साझाका कतार अध्यक्ष सुरेश आश्रति भट्ट ,नेकपा बिप्लब जनप्रगतिशिल मोर्चाका माहसचिब जेपि किशोर यादब,जिफन्ड कतारका मजदुर संगठनका अध्यक्ष बसन्त बिक , जनप्रगतिशिल मोर्चाका सल्लाहकार संयोजक रमेश गिरि ,नयाँ शक्ति कतारका सल्लाहकार दोय शिशिर सुवेदी ,ध्रुब क्षेत्री सहित२१ जनाको उपस्थिती रहेकोे थियो। भेलाले एक कमिटी गठन गरि उक्त कमिटीलाई मजदुर समस्या पहिचान त समाधान अभियानको रूपमा संचालन गर्न जानकारी दिएको छ। कमिटीले नेपाल सरकार ,नेपाली दूतावास र सरोकारवाला निकाए लाई कतारमा कार्यरत मजदुरको अवस्था र समस्या बारे जानकारी गराउदै समस्या समाधानको लागि तत्काल पहल गराउने जनाएको छ।
बिदेश पठाइदिने भन्दै दलालले भारतमा बन्धक बनाएर राखेका ८ नेपाली महिलाको उद्दार
नयाँ दिल्ली,असोज २५।रोजगारीका लागी बिदेश लैैैजान्छु भन्दै भारतको नयाँ दिल्ली स्थित एक होटेलमा बन्धक बनाइ राखिएका ८ नेपाली महिलाको उद्दार गरिएको छ। भारतको नयाँ दिल्लीस्थित पहाडगंजको एक होटलबाट बन्धक रहेका नेपाली महिला तथा किशोरीहरुको के. आई. नेपाल, दिल्ली महिला आयोग र दिल्ली पुलिसको संयुक्त प्रयासमा बिहीबार उद्दार गरिएको हो। १९ देखि ३७ बर्ष उमेरका उक्त महिला तथा किशोरीहरुलाई विभिन्न बहानामा कुवेत तथा इराकमा रोजगारीका लागि पठाइदिने भन्दै ३ दिनदेखि १ महिनासम्म नेपालका विभिन्न जिल्लाहरुबाट दिल्ली पुर्याई बन्धक बनाएर राखिएको जानकारी के.आई. नेपाललाई प्राप्त भए पश्चात उद्धार प्रकृया अगाडि बढाइएको थियो भने उद्धार गरिएका महिला तथा किशोरीहरुलाई दिल्ली महिला आगोगको सहकार्यमा दिल्ली स्थित पुनस्र्थापना केन्द्रमा राखी परामर्श दिने कार्य भईरहेको जानकारी के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले दिएका छन्। उद्धार गरिएका महिला तथा किशोरीहरुले लामो समयको बन्धकबाट मुक्त भई नजिकिदै गरेको दशैको अवसरमा घर तथा परिवारमा पुनर्मिलन हुने आशमा खुशी व्यक्त गरेका छन् भने ती महिला तथा किशोरीहरुलाई आवश्यक कानुनी प्रकृया पुरा गरी स्वदेशफिर्ती गरी परिवारमा पुनर्मिलन गराइने जानकारी दिल्लीस्थित के. नेपालका प्रतिनिधिले दिएका छन। के. आई. नेपालले गत साउन ९ गते भारतको नयाँ दिल्लीस्थित मुर्निकाको एक कोठाबाट १६ जना नेपाली महिला तथा किशोरीको उद्धार गरेको थियो ।भने सोही साताको साउन १५ गतेका दिन भारतको नयाँ दिल्लीस्थित पहाडगंजबाट ३९ जना महिला तथा किशोरीको उद्धार गरी ५२ जना महिला तथा किशोरीहरुलाई स्वदेशफिर्ती पश्चात परिवारमा पुनर्मिलन गराउन सफल भएको थियो । नेपाल सरकारले रोजगारीका लागि घरेलु कामदारका रूपमा बिदेश जान प्रतिबन्ध लगाए पश्चात् वैदेशिक रोजगारीका बर्सेनि हजारौं महिला दिल्लीको बाटो हुँदै विभिन्न देशमा लुकुछिपी जाने गरेका छन्।
यूएइमा एक नेपालीलाई ५ वर्ष जेल
काठमाडौं, असोज २४ । यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई ५ वर्ष सजाय र २ लाख दिराम ब्लडमनिको फैसला सुनाएको छ । जोशीलाई आबुधाबीको केन्द्रीय कारागारमा राखिएको छ । यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासका अनुसार जोशीले जेल सजाय भुक्तान गरी पीडित परिवारलाई २ लाख दिराम ब्लडमनि बुझाएपछि मात्रै स्वदेश फिर्न पाउने छन् । फिलिपिनोको हत्या २० अगस्ट २०१४ मा भएको थियो । सर्वोच्चको पूर्ण इजलासले फैसला सुनाएको हो । जोशी सुपरभाइजर थिए । कान्तिपुर दैनिकमा खबर छ ।
मलेशियामा मृत्यु भएका १३ नेपालीको सम्झनामा दूतावास द्वारा शोक सभाको आयोजना
मलेसिया,असोज २३। बिषादियुक्त मदिराको सेवनबाट मलेशियामा ज्यान गुमाएका १३ जना नेपालीको सम्झनामा नेपाली दूतावास मलेशियाले शोक सभाको आयोजना गर्ने भएको छ। गत असोज १ गते देखि मलेशियाका विभिन्न ठाउँमा बिषाक्त मदिराको सेवन बाट असोज २३ सम्म १३ जना नेपालीले ज्यान गुमाएको पुष्टि गर्दै दूतावासले मृत्यु हुने नेेपालीको सम्झनामा आउँदो २६ तारीख शुक्रबार कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिएको छ। वैदेशिक रोजगारीका लागि मलेशिया आएका नेपालीले अनाहकमा ज्यान गुमाएको देख्दा हामी निक्कै दुखित छौ ।त्यो एउटा ठुलो घटना थियो आगामी दिनमा हामी सबैलाई सचेत रहन आग्रह गर्छौ दूतावास स्रोतको भनाइ छ।
नासर अल अली इन्टरप्राइसेसका ६० कामदारले सुनको सिक्का पाए
कतार, असोज २३ । आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत साठीजना कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले ५–५ ग्रामका दरले ३०० ग्राम सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेका छन् । कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई सो सुनको सिक्का हालै प्रदान गरेका हुन् । सुनको सिक्का पाएर खुशीले दङग भएका कामदारहरुले आफुले पाएको यो सुनको सिक्का पुरस्कार घरमा श्रीमतिलाई पठाउने बताए । यसैगरी १ देखि ६ वर्षसम्म निरन्तररुपमा सोही कम्पनीमा काम गरिरहेका कामदारहरुलाई पनि कम्पनी मालिकअलीले प्रमाणपत्र प्रदान गरेका थिए । सुनको सिक्का पाउने मध्येका एक कामदारले आफु २००८ मा यस कम्पनीमा हेल्परको रुपमा आएको र पछि ट्रेड वर्कर (मेसन) मा पदोन्नती भएको बताउँदै सो कम्पनीमा काम गरेर आफ्नो आर्थिक स्थितिमा समेत आफुले सुधार गर्न सकेको बताए । सुनका सिक्का पुरस्कार पाउने कामदारहरुका अनुसार नासर अल अली इन्टरप्राइसेस आफैमा राम्रो कम्पनी भएको र कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले उनले कामदारहरु सबैसँग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारहरुका लागी उनी मालिक नभएर अविभावक हुन् । आफनो घरपरिवारमा आर्थिक समस्या परेको वेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेका कम्पनी मालिक नासर अल अलीले कामदारहरुलाई कहिले नहप्काउने तर सवैलाई मित्रवत व्यवहार गर्ने गरेको अनुभव त्यस कम्पनीमा कार्यरत् सवै कामदारहरुको रहेको छ । आफनो कार्यालयको ढोका कामदारहरुका लागि सधै खुला रहेको र आफना कामदारहरुलाई कुनै पनि समस्या भए सिधै आफनो कार्यालयमा आएर आफनो समस्या बताउन सक्ने बताउँदै कम्पनी मालिक नासर अल अलीले आफुले मालिकको भन्दा पनि अविभावकको रुपमा व्यवहार गर्ने गरेको हुनाले कामदारहरुको कुनै समस्या भए अविभावकको रुपमै आफु समाधान गर्न सघाउने गरेको बताए । समय समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार स्वरुप दिएर कम्पनी मालिक नासर अल अलीले आफना कम्पनीको कामदारहरुको हौसला र मनोवल बढाउदै आइराखेको छ ।
साउदीमा नेकपाको प्रवासी नेपाली एकता मंच गठन
साउदी,असोज २०।नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवास संगठन “प्रवासी नेपाली एकता मंच साउदीमा पनि गठन भएको छ। साउदी अरबका कृयाशिल दुई प्रबास संगठन प्रबासी नेपाली मञ्च र नेपाली जन प्रगतिशील मञ्चबीच एकीकरण भइ प्रबासी नेपाली एकता मञ्च गठन भएको हो । पार्टी केन्द्रको निर्देशन अनुसार प्रवासमा रहेका दुबै पार्टीका जन बर्गिय संगठनहरु बिच एकता प्रक्रिया सुरु भएको थियो। नेकपाले साउदी अरबमा एकीकरणको लागि बलराम गिरी ,कमल साही (निर्मल), राजु खनाल ,र बाबुलाल बुढा रहेको चार सदस्यीय कार्यदल वनाएको थियो । कार्यदलको पटक पटक बैठक बसि नेतृत्वको लागि दुबै मंचको दाबी यथावत रहेकोले नेतृत्व चयन हुन नसकेको कार्यदलका एक सदस्यले बताए । नेतृत्वको लागि दुई दुई जनाको नाम सिफारिस गरि आबश्यक निर्णयार्थ पार्टी केन्द्रमा पठाइएको छ । संयोजक र सचिबबाहेक ३१ जना केन्द्रीय सदस्य निर्बिरोध चयन भएको छ कमल साही (निर्मल) ले जानकारी दिएका छन्। नेपालमा पार्टी एकता भएको लामो समय बितिसक्दा पनि प्रवासमा रहेका संगठनहरु बीच एकता हुन नसके पछी नेकपाको बिदेश बिभागले सकभर सहमतिमा र यदि सहमति हुन नसके कायर्दल बाट केन्द्रमा नेतृत्वको नाम सिफारिस गर्न निर्देशन दिएको थियो।
प्रतिस्ठानको सहयोगार्थ कतारमा विविध सास्कृतिक कार्यक्रम सम्पन्न
सन्तोष क्षत्री दोहा,असोज २०।राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको निर्माणधिन भवनको लागी आर्थिक सहयोगार्थ कतार शाखाको आयोजनामा बिजया दशमी तथा सुभ दिपावलीको सुभकामना आदानप्रदान सहितको विविध संस्कृति कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पङ्गेनीले नेपालको पुर्ब देखि पश्चिम र हिमाल देखि तराई सम्मका लोक संस्कृतिको संरक्षणको लागि भवन निमार्ण गर्न लागीएको बताए । अध्यक्ष पङ्गेनीले विभिन्न भुभाग, भाषाभासी र भूगोलमा छरिएर रहेको मैलिक लोक संस्कृतिका बाजा देखि कलाकार सम्मको अभिलेख तथा संग्रहालय रहने गरि महत्त्वपूर्ण योजना सहित आफुहरु लागेको भन्दै सबैलाई सहयोगको लागि आह्वान गरे । आफ्नै कार्यकालमा भवन निर्माण गरि सक्ने लक्ष्य रहेको भन्दै अध्यक्ष पङ्गेनीले नेपालीले बिदेशमा रहेर पनि मातृभुमिमा आइपर्ने हरेक दुख सुखमा निरन्तर साथ दिदै आएको भन्दै प्रतिस्ठानको भवन निर्माणमा पनि सहयोग प्रदान गर्न आग्रह गरे । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कतार शाखा अध्यक्ष कृष्ण बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए आइसिसी मध्यपुर्व संयोजक आर के शर्मा, एनआरएनए आइसिसी सदस्य बिमल सुबेदी, प्रवासी नेपाली मन्चका अध्यक्ष चानक पोख्रेल,नेपाली जनसम्पर्क समितीका महामन्त्री मोहमद अजिज अलि,नेपाली जनप्रगतिशील मन्च कतार पाँचौ महाधिवेशन आयोजक समितिका उप-संयोजक राजु डुम्रे,तराइ मधेस लोकतान्त्रिक मन्चका अध्यक्ष हुसेन खान,एनआरएनए एनसिसि कतारका महासचिव बुधवल गुरुङ, नेपाल पत्रकार महासङ्घ कतार शाखाका अध्यक्ष करिम बक्स मिया, सम्पुर्ण सामाजिक संघसंस्थाको तर्फबाट पर्वत युवा सेवा समाजका अध्यक्ष चिन्तामणी पौडेल, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कतार शाखाका प्रमुख सल्लाहकार दुर्गा पङ्गेनी, सल्लाहकार ईश्वर पोख्रेल, अन्तरास्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष प्रेम प्रसाद भट्टराई, नारायण समाजसेवी लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागीलाई स्वागत गर्दै कार्यक्रम संयोजक शक्ति क्षत्रीले “हाम्रो अभियान लोक संस्कृतिको संरक्षण ,श्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन “ भन्ने मूल नाराका साथ स्थापित संस्थाले आफ्नै भवन निर्माण गर्ने पवित्र उदेश्यले कार्यक्रम आयोजना गरेकोले सहयोगको लागि आग्रह गरे । कार्यक्रमको प्रमुख आकर्षण समेत रहेका चर्चित लोक तथा दोहोरी गायक बद्री पङ्गेनी र गायिका तुलसा जिसि क्षत्रीको लाइभ दोहोरीमा दर्शक झुमेका थिए । कार्यक्रममा नेपाल बाट आएकी मोड्ल रोजि बस्नेत संगै रित कुमार श्रेष्ठ, लेखनाथ रिमाल, पुष्पा लिम्बु, सपना थापा, दिपेन्द्र सुनार लगाएतका कलाकारको प्रस्तुति रहेको थियो । साथै प्रदेशिएका हरुको बास्त्विकता बोकेर पछिल्लो समय चर्चित बनेको गित `बोल माया´ मा आधारित कलाकारको अभिनयले दर्शक दिर्घामा सन्नटा छाएको थियो । कार्यक्रमको संचालन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कतार शाखा सचीव रित कुमार श्रेष्ठ र सचिवालय सदस्य तिलुशर्मा पौडेलले गरेका थिए ।
मलेसियामा एक किशोरको उद्धारमा गएका ६ जनाको डुबेर मृत्यु
मलेसिया, असोज १८ । मलेसियाको एउटा खानीमा भएको पोखरीमा हराएका एक किशोरको उद्धार गर्न गएका ६ गोताखोरको पानीमा डुबेर मृत्यु भएको छ। बुधवार दिउँसो साथीहरूसँग माछा मार्न गएका ती १७ वर्षीय किशोर पोखरीमा खसेपछि उनको खोजी गर्न उद्धारकर्मीहरू परिचालित थिए । अधिकारीका अनुसार उद्धारकर्मीहरू पोखरीभित्र एउटा भुमरीमा फसेका र अकस्मात् शक्तिशाली जलप्रवाहले उनीहरूका उपकरणलाई छुट्यार्इ दिएका थिए। हराएका किशोरको खोजी अभियान बिहीवार फेरि थालिएको छ । उक्त घटना सेलाङ्गोर प्रान्तको सेपाङ जिल्लामा भएको हो । प्राप्त विवरणका अनुसार माछा मार्न सुरु गर्न लाग्दा ती किशोर पोखरीमा खसेका थिए । ती उद्धारकर्मीहरूले सुरक्षाका लागि आवश्यक सबै उपाय अवलम्बन गरेको सेपाङका प्रहरी प्रमुख अब्दुल अजिज अलीले बताए । शक्तिशाली जलप्रवाहले सबै उद्धारकर्मीलाई पानीमा फन्फनी घुमाइदिएको उनले मलेशियाको सरकारी समाचार संस्था बेर्नामालाई बताएका छन् । त्यसो हुँदा उनीहरूले बोकेका उपकरण छुट्टिएका थिए । अग्नि नियन्त्रण र उद्धार विभागका महानिर्देशक मोहम्मद हम्दान वाहिदलाई उद्धृत गर्दै न्यू स्ट्रेट टाइम्स पत्रिकाले लेखेको छ, ‘त्यहाँ भुमरी परेको थियो र उद्धारकर्मीहरूले त्यसबाट उम्कन संघर्ष गरेको देखिएको किनारामा रहेको टोलीले बताएको छ।’ ती उद्धारकर्मीहरू ३० मिनेटजति भुमरीमा फसेका थिए। अरू सहकर्मीले बाहिर निकाल्दा उनीहरू सबै अचेत थिए । कृत्रिम श्वासप्रश्वास गर्दा पनि उनीहरू बौरिएनन् । ‘६ जना कर्मचारीको मृत्यु भएको यो पहिलोचोटी हो’, उनले बेर्नामालाई भने, ‘यो हाम्रा लागि अन्त्यन्तै दुःखद दिन हो ।’ वाहिदका अनुसार प्रारम्भिक अनुसन्धानले बाढी रोक्न बनाइएको पर्खालले वर्षापछि आएको भेल रोक्न नसकेको देखाएको छ । बुधवार दिउँसो सो क्षेत्रमा ठूलो पानी परेको र त्यसका कारण पानीको वेग बढेको अनुमान गरिएको छ । बीबीसीबाट
मलेशियामा २६ नेपाली ठगिको आरोप लागेका शेर्पा विरुद्ध दूतावासमा संयुक्त उजुरी
मलेशिया,असोज ११।मलेशियामा रहेका २१ वटा नेपाली सस्थाहरुले मजदुर ठगी विरुद्ध एकजुट हुँदै नेपाली दूतावासमा कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन। मलेशियन सरकारले दिएको आममाफी कार्यक्रम गत अगस्ट ३१तारीखमा सकिय लगत्तै नेपाल पठाउछु भनेर २६ जना नेपालीलाई अलपत्र पार्न नेपाल आदिवासी जनजाती महासघ मलेशियाका पुर्व अध्यक्ष समेत रहेका फूपू तेम्बा शेर्पालाई प्रतिब्यक्ती २ हजार रिंगेट लिएर मजदुर ठगी गरेको आरोप सहित दूतावासमा उजुरी परेको छ। आममाफी कार्यक्रममा सहभागी हुन नसके पछी सेर्पाले आफ्नो मातहत बाट नेपाल पठाइदिने भन्दै अबैधानीक रूपमा रहेका उनिहरु संग रकम ठगी गरेर मौन बसेको पीडितको आरोप छ।रकम बुझाएका उनिहरु मलेशियाको राजधानी आसपासका विभिन्न होटेल तथा आफन्तको सरणमा घर फर्किने आसा लिएर बसेका छन ।भने यता मलेशिया स्थित नेपाली दूतावासले जारी गरेको एक तर्फी यात्रा अनुमती पत्र को मिति समेत गत १९ तारीख नै सकिए पछी यत्तिखेर उनिहरु बिचल्लीमा परेको बताउछन। यता पीडितले आफू ठगिएको उजुरी मलेसिया स्थित नेपाली दूतावासमा दिए पछी नेपाल आदिवासी जनजाती महासघ मलेसियाले शेर्पालाइ गत १९ तारीख नै पदबाट निलम्बन गरेको थियो भने बिहिवार विभिन्न संघसस्थाले शेर्पालाइ कारबाहीको माग गर्दै दूतावासको समेत ध्यानाकर्षण गराएका छन। हाल अलपत्र अवस्थामा रहेका २६ जना नेपालीहरुले शेर्पा लाई स्वदेश फर्काउन बारम्बार आग्रह गर्दा पनि बेवास्ता गर्दै आश्वासन मात्र दिए पछि पीडितहरुले मलेशियामा गठित नेपाली सघ सस्थाहरु लाई गुहारेका थिए। एन आरएनए मलेशियाको नेतृत्वमा सयुक्त ध्यानाकर्षण पत्र सहित दूतावास पुगेको टोलीले मजदुर ठगी बारे छानबिन गरेर दोषी देखिए शेर्पालाइ कडा कारबाही गर्न दूतावास समक्ष माग गरेका छन। सयुक्त ध्यानाकर्षण पत्र बुझ्दै नेपाली दूतावास मलेशियाका कार्यवाहक राजदूत कुमार राज खरेलले पीडितहरुले मलेशिया स्थित स्थानीय प्रसासनमा समेत गएर ठगीको उजुरी दिएमा तत्काल कारबाही हुने बताएका छन । यता मजदुर ठगीको आरोप लागेका शेर्पाले आफ्नो चरित्र हत्या गरी विभिन्न मिडियामा समाचार सम्प्रेषण गरेका पत्रकार तथा समाजसेवी घनश्याम चौधरी(आर.एन)बिरुद्ध मलेशियन प्रशासनमा मानहानीको मुद्दा दर्ता गरेको बताएका छन्। समाचार लेखेको भन्दै धम्की आएपछी घनश्याम चौधरी द्वारा जिवनरक्षाका लागि दूतावासमा निबेदन हमर सैनेश डटकमका प्रधान सम्पादक तथा थारु समाज मलेशियाका संरक्षक तथा नेपाल आदिबाशी जनजाती पत्रकार महासघ साखा मलेशियाका सचिब समेत रहेका चौधरीले नेपाली दुतावास मलेशियामा आफ्नो जीवन रक्षाको लागि निबेदन दिएका छन। केही दिन अगाडि शेर्पाले नेपाली मजदुरलाई ठगी गरि अलपत्र पारेको भन्दै विभिन्न अनलाइनमा समाचार सम्प्रेषण गरे पछि चौधरी लाई आरोपित फूपू तेम्बा शेर्पाले धम्क्याएका थिए। आफूले गलत काम नगरेको र कुनै मजदुर लाई नठगेको सामाजिक सन्जालमा किटान गर्दै बारम्बार स्ट्याटसहरु लेख्दै हिडेका शेर्पाले आफू लाई गुण्डा लगाउन सक्ने र आफू असुरक्षित महसुस गरेको कारण जिवनरक्षाका लागि निवेदन दिएको निबेदनमा उल्लेख।
मलेसियामा बेपत्ता सुकमाया थेबेको खोजी गरिदिन परिवारको आग्रह
मलेसिया,असोज ११। रोजगारीका लागि मलेशिया पुगेकी मगुरमादि ४ झापाकि सुकमाया थेबे बेपत्ता भएकी छन। कम्जोर आर्थिक अवस्थाका कारण ८ बर्ष अघि काठमाडौको S V म्यानपावर बाट मलेसिया पुगेकि थेबे परिवारको सम्पर्कमा नआए पछी खोजी गरिदिन परिवारले अनुरोध गरेका छन। मलेसिया गएको केही समय सम्म परिवारको सम्पर्कमा रहेकी उनी आफ्नो काम मन्त्री को घरमा रहेको र काम अलिक धेरै गर्नुपर्ने, पारिश्रमिक समयमा नमिल्ने तथा सम्झौता अनुसार भनेको काम अनि नपाए नभएको भन्दै आफु अबैधानिक भएर काम गर्दै आएको बताएकी थिइन्। केहि दिन सम्पर्क बाहिर रहेर पुनः श्रीमान डम्बर बहादुर आदाङ्बे लाई आफू मन्त्री को घर बाट भागेर अबैधानिक रूपमा नेपाली होटल मा काम गर्न थालेको बताएकि उनी ७ बर्ष एता सम्पर्कमा नभएको पारिवारिक स्रोतले बताएको छ। श्रीमती बाट धन सम्पत्तिको कुनै आपेक्षा नरहेको भन्दै कहि फेला परेमा (9803812998)नम्बरमा खबर गरिदिन आदाङ्बेले अनुरोध गरेका छन्।
मालदिभ्समा नेपाली युवतीको मृत्यु
झापा, असोज ६ । जिल्लाको मेचीनगर नगरपालिका-१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स गएकी उनको गत भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिए । सङ्गीताको शव आज बिहान घर ल्याइ पुर्याएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । सङ्गीताको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको मृतककी मामा राजकुमार राजवंशीले बताए । मालदिभ्स्बाट श्रीलङ्काको कोलम्बो हुँदै सङ्गीताको शव शुक्रबार साँझ काठमाडौँ विमानस्थलमा ल्याइएको थियो । अविवाहित सङ्गीता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि मालदिभ्स गएकी थिइन् । -रासस
अमेरिकामा एक नेपालीसहित तीन जनाको हत्या
वाशिङ्टन, असाेज ६ । अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली महिलाको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुईको निधन भएको शुक्रबार स्थानीय अधिकारीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका थिए । हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोगमा ल्याएको जानकारी दिए । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा काम गर्ने नौ नेपालीमध्ये एक वृन्दाको गोली लागेर निधन भएको थियो भने अर्का नेपाली ४५ वर्षीय प्रेम आचार्य घाइते भएका थिए । सो घटनामा सण्डे अगुडा र हेलेन रेइसको पनि मृत्यु भएको थियो । आफ्ना श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै अाएकी वृन्दाले तीन महीना अगाडि मात्र त्यहाँ काम गर्न थालेकाे उनीहरुको पारिवारिक स्रोतले जानकारी दिएको छ । अमेरिकामा हुने ‘मास सुटिङ’ त्रासदी पूर्ण हुने र यसमा नेपाली पनि पर्नु दुःखद् भएको प्रतिक्रिया दिदैं अमेरिकाको मूलधारको राजनीतिमा लागेका एचवी भण्डारीले शुक्रबार कानूनी प्रक्रिया पूरा गरेर आइतवार सद्गत गर्ने तयारी भएको राससलाई जानकारी दिए। पर्वतमा जन्मनुभएकी वृन्दाकी आमा तिलकुमारी, दुई दाजुभाइ सरोजकृष्ण र सुमनसमेत मेरिल्याण्डमा नै लामो समयदेखि बस्दै आएका छन् । -रासस
मलेसियामा मदिराको सेवन नगर्न स्वास्थ सेवा बिभागको अपिल ,विभिन्न ठाँउमा अनुगमन तीब्र
मलेशिया,असोज ५ ।मलेशियाको स्वास्थ्य सेवा बिभागले विभिन्न कम्पनीका मदिरामा अखाद्य पदार्थ तथा मेथनोल पाइएकाले तत्काल कुनैपनी कम्पनीको मदिराको सेवन नगर्न अपिल गरेको छ। गत सोमबार देखि मलेशियामा बिषक्त मदिराको सेवन बाट स्थानीय नागरिक सहित दर्जनौं आप्रवासी कामदारको ज्यान गएपछि बिभागले मदिराको सेवन नगर्न अपिल गरेको हो। यस्तै खाद्य गुण तथा सुरक्षा बिभाग र प्रहरीको टोलिले मलेशियाका विभिन्न शहरमा बिहीबार र शुक्रबार अनुगमन गरेको छ।अनुगमनका क्रममा विभिन्न स्टोरबाट छुट्टाछुट्टै कम्पनीका ६ सय ४७ वटा मदिराका बोतलमा अखाद्य पदार्थ पाइएपछी ती स्टोरहरुलाइ बन्द गरि कारबाही प्रक्रिया अगाडि बढाएको स्थानीय संचारमाध्यमले जनाएका छन। बिहीबार बिहान सम्म छुट्टाछुट्टै १४ वटा नयाँ घटनाका गुनासो आएसङ्गै स्वास्थ सेवा बिभाग र खाद्य गुण तथा सुरक्षा बिभागको टोलिले सयुक्त रूपमा अनुगमन सुरु गरेको हो ।अनुगमन कै क्रममा मदिरा बेचबिखन गर्न स्टोर हरुले खाद्य नियमको पालना नगरी अखाद्य मदिराको बिक्रीवितरण गरेको समेत भेटिएको छ। मलेशियामा सोमबार देखि बिषक्त मदिराको सेवन बाट सेलेङ्गरमा १६ क्वालालम्पुरमा ३ र पेराकमा २ गरि २१ जनाको मृत्यु भैसकेको पुस्टि भएको छ। href=”http://www.everestdainik.com/wp-content/uploads/2018/09/20180921_181947.jpg”> मलेशियाको खाद्य नियम १९८३को धारा १३९ अनुसार कुनैपनि कम्पनी वा स्टोरले जनताको स्वास्थ्यमा हानी पुर्याउने खाद्य पदार्थको उत्पादन तथा बिक्री बितरण गरेमा १ लाख रिंगेट जरिवाना सहित १० बर्ष कैद हुने ब्यबस्था गरेको छ।
मलेसियामा नेपाली कामदारहरु मदिरा सेवनबाट ६ को मृत्यु, १६ गम्भीर (नामावलीसहित)
असोज ३ । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ भने १६ जना नेपाली बिरामी भएका छन्। मलेसियाको सेलेङगर सहरका विभिन्न स्थानमा रोजगारीका क्रममा रहेका उनीहरु मंगलबार बेलुकादेखि अस्पताल भर्ना भएका थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए। घटनाबारे जानकारी लिन उनी राति नै अस्पताल पुगेका थिए। उपचाररत जितबहादुर माझी मदिरा सेवनपछि बिरामी भएपश्चात् उनीहरुलाई सुंगाइबुलो, कजांग, क्लाङ, बान्टिङ अस्पताल लगिएको थियो । उपचार गराएर केही नेपाली फर्किइसकेका छन् । घटना सार्वजनिक भएलगत्तै त्यहाँस्थित टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कावा राजदूत खरेलले जानकारी दिए । नेपाललाइभबाट
रक्सी खाँदा मृत्यु हुनेको संख्या १९ पुग्यो, नेपालीसहित ५१ जना बिरामी
काठमाडौं, असोज ३ । मलेसियामा विषाक्त मदिरा खाँदा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । अन्य १४ जनाको अवस्था गम्भीर छ । ज्यान गुमाउने तथा गम्भीर बिरामी परेका अधिकांश नेपाली रहेको अनुमान गरिएको छ। सोमबार विभिन्न तीनवटा ब्राण्डका मदिरा खाँदा उनीहरु बिरामी परेका मलेसियाका सञ्चार माध्यमले जनाएका छन् । मन्डलिया र ग्रेन्ड रोयल ह्विस्की तथा किंगफिसर बियर खाँदा उनीहरुको ज्यान गएको मलेसिया प्रहरीले जनाएको छ । ती रक्सी उनीहरुले विभिन्न पसलबाट खरिद गरेको पाइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले ती क्षेत्रबाट रक्सी परीक्षणका लागि सुंगाई बुहोहा नेशनल प्रयोगशालामा पठाएको स्वास्थ्य निर्देशक डा. नन्द हिमाम अब्दुलले बताए । विषाक्त रक्सी खानेहरुमा पेट दुुख्ने, बमिट गर्नेजस्ता लक्षण देखिएको केहीबेरमै बेहोस हुने लक्ष्यण देखिएको छ । बिरामीहरुको पनि रगत र पिसाबको नमुुना लिएर आवश्यक परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । ५१ जना बिरामी परेकोमा सेलंगरमा ४५ र ६ जनाको कोआलालम्पुरमा परीक्षण भैरहेको छ ।

