रक्सीको झोंकमा नेपालीले गरे नेपालीको घाँटी रेटी हत्या

मलेसिया, असार ४ । मलेसियामा नेपालीले नेपालीकै घाँटी रेटेर हत्या गरेका छन।

मलेसियाको जलान इपो लेबस सिटीस्थित एक कम्पनीमा कार्यरत बर्दिया सूर्यपटुवा ओराली बजारका रोशन थापाको आइतबार राती सोहि कम्पनीमा कार्यरत अर्का नेपालीले घाँटी रेटि हत्या गरेको स्रोतले जानकारी दिएको छ।

गैरकानुनि (अवैधानिक) रुपमा एकै ठाउँमा काम गरिरहेका उनीहरु आइतबार दिउँसोसंगै बसेर मदिरा सेबन गरेका थिए ।

मदिरा सेवनपछी काठमाडौ घर भएका सोनाम मगरसँग रोशनबीच सामान्य विवाद भएको थियो । विवादपछि हात हालाहाल हुँदा सोनाम मगरले घाटीमा तरकारी काट्ने चक्कु प्रहार गरेको र रोशनको घटना स्थलमै मृत्यु भएको स्रोतले बताएको छ।

घटनापछि प्रहरीले चक्कु प्रहार गर्ने सोनाम मगरलाई नियन्त्रणमा लिइसकेको र शवलाई पोस्टमार्टमको लागि नजिकैको अस्पतालमा लगेको सोही कम्पनीमा कार्यरत मृतकका साथी बर्दियाकै दिनेश खड्काले जानकारी दिए।

मृतक थापा बिबाहित हुन उनको घरमा एक छोरी र श्रीमती छन।
घटनाबारे नेपाली दूतावासलाई जानकारी गरार्इ सकिएको र आवश्यक प्रक्रिया पूरा गरि मृतको शव नेपाल पठाउने तयारी रहेको खड्काले जानकारी दिएका छन।

सुनुवार सेवा समाज मलेसियाको अध्यक्षमा तिर्थ बहादुर सुनुवार

मलेसिया । सुनुवार सेवा समाज शाखा मलेसियाको चौथो साधारण सभा सम्पन्न भएको छ। नयाँ कार्य समिति चयन गर्दै समाजको चौथो साधारण सभा मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न भएको हो । सभाले पूरानो कार्य समितिलाई बिघटन गर्दै तिर्थ बहादुर सुनुवार अध्यक्ष रहने गरी नयाँ कार्य समिति चयन गरेको छ । समितिले उपाध्यक्षमा मिना सुनुवार, वरिष्ठ उपाध्यक्ष भक्तबहादुर सुनुवार, सचिब वीर बहादुर सुनुवार , सहसचिब अर्जुन सुनुवार र कोषाध्यक्षमा चेत बहादुर सुनुवारलाई चयन गरेको छ । यस्तै, सदस्यमा बिमल सुनुवार, धिमाल सुनुवार, सङ्गिता सुनुवार, कमल बहादुर सुनुवार, इन्द्र बहादुर सुनुवार, होमबहादुर सुनुवार, मिथुन सुनुवार, गणेशबहादुर सुनुवार, यमर सुनुवार, मान बहादुर सुनुवार, गिता सुनुवार, टिकाराम सुनुवार, डम्बरबहादुर सुनुवार चयन भएका छन् । त्यस्तै, प्रमुख सल्लाहकारमा राजकुमार सुनुवार, वरिष्ठ सल्लाहकारमा पुष्कर सुनुवार ,सल्लाहकारमा कमल सुनुवार चयन भएका छन्। साधारण सभाको अवसरमा संस्थालाई पुर्याएको योदानको कदर गर्दै नेपाल फर्किन लागेका सक्रिय सदस्य होम बहादुर सुनुवारलाई बिदाईसमेत गरेको छ । साथै, संस्थाले आजीवन साधारण सदस्यता पत्रसमेत बितरण गरेका छ । साधारण सभा संस्थाका पूर्व अध्यक्ष इन्द्रबहादुर सुनुवारको सभापतित्वमा सम्पन्न भएको हो ।

ब्लडमनि तिर्न नसक्दा साउदी जेलमा रहेका थानेश्वर  जेल मुक्त,केहि दिनमा नेपाल पठाइने 

साउदी, जेठ १४ । ब्लडमनि बापतको रकम तिर्न नसक्दा बिगत ४ बर्ष देखि साउदी अरबको जेलमा रहेका मध्यविन्दु नगरपालिका ८ नवलपरासीका थानेश्वर भुसाल सोमबार जेल मुक्त भएका छन् । उनलाई छुटाउनका लागि थालिएको रकम संकलन अभियानबाट माग गरिएको ब्लड मनि रकम पूरा गरि बुझाएपछी ४ वर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका भुसाललाई अदालतले रिहा गरेको प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले जानकारी दिएको छ। कसरी परे भुसाल जेल ? रोजगारीका लागि ५ बर्ष अघि साउदी पुगेका भुसाल साउदी स्थित एक कम्पनीमा कार्यरत थिए । कम्पनी मालीकले गाडी चलाउँदै गर लाईसेन्स् आउँदै गर्छ भनेपछि मालीकको कुरा काट्न नसकी थानेश्वर भुसाल बिना लाईसेन्स् गाडी चलाईरहे । अचानक एक दिन उनले चलाएको गाडीलाई पछाडीबाट अर्को गाडिले ठक्कर दियो।दुर्घटनामा उनको अगाडी र पछाडीको गाडीमा सवार साउदी नागरिक र भारतीय नागरिकको घट्ना स्थलमै मृत्यु भयो भने उनी आफै गम्भीर घाईते भए । साउदी अरबको ट्राफिक नियम अनुसार बिना लाईसेन्स् गाडि चलाउदा उनी फन्दामा परे । थानेश्वर भुसाल लामो समय देखि साउदीको जेलमा नरकीय जीवन बिताईरहेका थिए । साउदी सरकारको जेद्दा स्थित प्राइभेट राइट न्यायलयले भुसाल र भारतीय नागरिकलाई बराबर दोषी ठहर गर्दै मृतक साउदी नागरिकका परिवारलाई बल्ड मनी बापत १ लाख ५० हजार साउदी रियाल तिर्नुपर्ने फैसला सुनाएको थियो। २०६७ असोज ६ गते साउदी गएका भुसाल २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए। यसरी भुसाल जेल परेपछि परिवारले जीवन रक्षा गरिदिन सबैलाई अपिल गरेसँगै देश विदेशबाट थानेस्वर भुसाल बचाउ अभियान तीब्र रूपमा चलाउदै आवश्यक रकमको लागि आर्थिक सहयोग सङ्कलन सुरु गरिएको थियो । भुसाललाई बचाउन विभिन्न देशका एनआरएनएका शाखासहित विदेशमा रहेका नेपाली कामदारले सहयोग गरेका हुन् । साउदी अरेबियासहित कुवेत, युएई, अस्ट्रेलिया, मलेसिया, कोरिया लगायतका देशबाट पनि ब्लड मनी संकलन भएको थियो। यस्तै भुसाल बचाउ अभियानमा गैर आवसिय नेपाली संघ (एनआरएनए )ले १२ लाख ५० हजार नेपाली रुपैयाँ सहयोग गरेको थियोे। भुसाललाई जेलबाट छुटेपछि जेद्दास्थित महावाणिज्य दूतावासमा ल्याएको पिएनसिसीले जनाएको छ। उनलाई डिपोर्टेसन सेन्टरमा पठाएर नेपाल फर्काउने तयारी हुँदै गरेको जेद्दास्थित महावाणिज्य दूतावासले जानकारी दिएको छ।

नेपाली कामदारसँग लिइएको अतिरिक्त शुल्क हटाउन मलेसियासँग आग्रह

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत अहमद फेडिल इस्मेललाई आज मन्त्रालयमा बोलाई रोजगारका लागि मलेसिया जाने नेपाली कामदारसँग मनोमानीरुपमा लिइएको अतिरिक्त शुल्क हटाउने विषयमा छलफल गर्नुभएको छ । मलेसिया जाने कामदारबाट बायोमेट्रिक, भिएलएन, ओएससी, जिएससी र माइग्रामका नाममा लिइँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने सरकारको निर्णयपछि कामदार र व्यवसायीमा अन्योल देखिएका बेला मन्त्री ज्ञवालीले त्यस्ता शुल्क तत्काल हटाउन आग्रह गर्नुभएको हो । त्यस प्रकारका अवाञ्छित, गैरकानूनी र एकपक्षीय शुल्कले नेपाली कामदारले झण्डै रु १८ हजार रकम तिर्दै आएका छन् । मन्त्री ज्ञवालीले नेपाल सरकारले निःशुल्क प्रवेशाज्ञा र निःशुल्क टिकटमा कामदार पठाउन प्राथमिकता दिएको सन्दर्भमा मलेसियामा जाने कामदारमाथि लादिएको अतिरिक्त शुल्क न्यायोचित नभएकाले यस समस्यालाई तत्काल सम्बोधनका लागि सम्बन्धित सरकारको नेतृत्वलाई सन्देश दिन आग्रह गर्नुभएको हो । नेपाल र मलेसियाबीच श्रम सम्झौता गरेर यस समस्याको समाधान गर्न पनि भेटमा कुराकानी भएको मन्त्रालयका सहसचिव भृगु ढुंगानाले जानकारी दिनुभयो । कार्यबाहक राजदूत इस्मेलले मलेसियाले अन्य मुलुकबाट कामदार ल्याउँदा पनि सोही प्रकारको प्रक्रिया भएको अवगत गराउँदै आफ्नो मुलुकमा नयाँ सरकार आएकाले त्यहाँ सन्देश पुर्याउने बताउनुभएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारमाथि लिइएको त्यस्तो शुल्क खारेज गर्न परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न अनुरोध गरेको थियो । रासस

युएईमा ४ नेपाली अलपत्र, दूतावासद्वारा उद्वारको पहल सुरु

युएई । रोजगारीका लागि युएई आएका ४ नेपाली भने अनुसार काम नपाउदा अलपत्रमा परेका छन । युएईको अलेनस्थित एक क्लिनिङ कम्पनीमा काम गर्न आएका उनीहरूलाई रोजगारदाता कम्पनीले भने अनुसार काम र बिरामी हुुँदा समेत उपचार नगरेपछि उनीहरू अलपत्र परेका हुन । “बिरामी हुँदा काममा जान सकिएन, कम्पनीले बस्दै आएको होस्टेलबाट नै निकालिदियो दुई दिन देखि रुखको फेदमा बसेर रात काट्दै आएका छौँँ ” पीडित मध्ये एक कंचनपुरका भगतु रानाको भनाइ छ। काठमाडौको चप्पल कारखाना नजिक रहेको नेपाल गेट वे मेनपावर प्रालिबाट एक महिना अघि युएई आइपुगेका उनीहरूलाई मेनपावर कम्पनीले नेपालमा राम्रो तलब सुविधा सहितको सम्झौता गरी पठाएको भए पनिप रोजगारदाता कम्पनीले सम्झौता अनुसारको सेवा सुविधा नदिँँदा पीडित बन्न पुगेको उनीहरूको गुनासो छ । यसरी अलपत्र पर्नेहरूमा कंचनपुर बेलौरीका भगतु राना, शिबु राना, विश्व चौधरी र रामचन्द्र राना रहेका छन । यता युएई स्थित नेपाली दूतावासले पीडितका समस्या समाधान गर्न पहल सुरु गरेको छ । दूतावासले मेनपावरको एजेन्ट अशोक मोक्तानलाई सम्पर्क गरी पीडितका समस्या तत्काल समाधान नभए कारबाही गरिने बताएको छ । दूतावासको पहलपछि पीडितलाई कम्पनीले होस्टेलमा बस्न दिएको छ भने केही दिनभित्रै समस्या समाधान गरिने दूतावास स्रोतले जानकारी दिएको छ ।

युएईका जेलमा रहेका ९५३ बन्दीलार्इ जेलमुक्त गर्न राष्ट्रपतिको आदेश

युएई, वैशाख ३१ । युएईमा विभिन्न कारणले जेल जिबन बिताउन बाध्य ९५३ बन्दी लाई युएई सरकारले आम माफी दिने भएको छ । युएईका राष्ट्रपतिको शेख खलिफा विन जायद अल नायानले जेलमा रहेका विभिन्न देशका बन्दिलाइ मुस्लिम धर्मावलम्बीहरुको महान पर्व रमदानको अबसरमा जेलमुक्त गर्न आदेश दिएका हुन । युएईका जेलमा रहेका बन्दी आफ्नो देश फर्केर नयाँ जीवन को सुरवात गर्दै आफ्नो परिवार सङ खुशी साथ रहन सकुन भन्ने उदेश्य सहित जेल मुक्त गर्न लागेको अालाइन पत्रिका गल्फ न्युजमा उल्लेख छ । के कस्ता कारणले जेल परेका र कस्ता कस्ता बन्दी लाई जेल मुक्त गर्न नखुलाइएको भएपनी आदेश भने दिइएको बताइएको छ ।

मलेसियामा ब्लडमनी संकलन अभियान सुरु।

  मलेसिया । साउदी अरबको उच्च अदालत बाट ब्लडमनिको फैसला सुनाइएका रोल्पा धवाङ ५ का दिलबहादुर घर्ती लाई बचाउन आबस्यक ब्लडमनि संकलन अभियान मलेसियामा सुरु भएको छ । साउदी स्थित अल दोआदमी भन्ने स्थानमा कार्यरत रहदा नीजले चलाएको सवारी दुर्घटना भई साउदी नागरिको निधन भएपछि साउदी अदालतमा घर्ती विरुद्ध दायर भएको थियो । अदालतले घर्तीलाई दोषी ठहर गरि ब्लडमनी स्वरुप २ लाख २५ हजार साउदी रियल, अर्थात झन्डै ६५ लाख नेपाली रुपियाँको फैसला सुनाएको हो । साउदी स्थिति नेपाली दुतावासले उक्त फैसलामा पुनरावेदन गर्दा पनि पहिलेकै फैसला सदर गरेपछि देश बिदेश बाट घर्तीको जीवन रक्षाका लागि यतिखेर नेपाली हरुले दिलबहादुर घर्ति बचाउ अभियान चलाएका छन । पारिवारिक आर्थिक अवस्था निकै कमजोर भएकोले “सेवा नै धर्म हो” भन्ने मुल उदेश्यका साथ नेकपा माओवादी केन्द्र निकट प्रबास संगठन नेपाली जनप्रगतिशिल मञ्च मलेसियाका इन्चार्ज रमेश तिवारी, अध्यक्ष प्रेम पाण्डे र एनआरएन आइसीसका सदस्य विश्व राईको विशेष उपस्थितमा गत आइतबार मलेसियामा दिलबहादुर घर्ती बचाउन अभियान २०७५ मुल समिति गठन भएको मंच मलेसियाले जानकारी दिएको छ । नेपालमा सन्चालन गरिएको ब्लडमनि संकलन अभियानका सदस्य रुपधन घर्ती मगर (सुकुमार) र सुगम बुढा मगरको पहल तथा चन्द्र बहादुर घर्ती मगर को सक्रियतामा ब्लडमनी संकलन अभियान संचालन गरिएको हो । अभियानको पहिलो दिन मलेसियन रिङगेट २७ सय ३ रुपैयाँ नेपाली ७२ हजार बराबर संकलन गरिएको जानकारी दिएका छन । मृत्युदण्ड कुरिरहेका दिलबहादुर घर्तीलाई जसरी भएपनि सकुशल नेपाल फर्काउन अभियानलाई सक्रिय र बृहत बनाउने अभियान्ता रुपधन घर्तीले बताएका छन । अभियान बारे जानकारी तथा सहयोग गर्न अभियान्ता हरुले बैंक खाता नम्बर र सम्पर्क नम्बर समेत उपलब्ध गराएका छन ।जस अनुसार मलेसियामा शुगम मगर – 0149856895,रुप धन घर्ती मगर (सुकुमार) 0169781134,अर्जुन घर्ती मगर 01151534127 अथवा सिधै शुगम मगर को CIMB बैंक को एकाउन्ट नम्बर 7057418309 मा पनि रकम जम्मा गर्न ब्यबस्था मिलाएको जानकारी दिएका छन । अभियान लाइ सफल पार्न देश बिदेशमा रहेका सम्पुर्ण नेपाली हरुलाइ सक्दो सहयोग गर्न समेत अभियान्ता हरुले अनुरोध गरेका छन ।

जर्मनीको कोलोन शहरमा २९ औँ ‘नेपाल दिवस’ सम्पन्न

काठमाडौँ । नेपालमा तीनवटै तहको निर्वाचन भई राजनीतिक स्थिरता कायम भएको सन्दर्भमा कसरी आर्थिक सम्वृद्धि हासिल गर्न सकिन्छ भन्ने विषयमा जर्मनीको कोलोन शहरमा हालै सम्पन्न २९ औँ ‘नेपाल दिवस’ का अवसरमा गहन छलफल भएको छ । जर्मन नेपाल मैत्री संघले नेपाल पर्यटन बोर्ड, जर्मनीस्थित नेपाली दूतावास र जर्मनीको म्युजियम कल्चर अफ दि वल्डर्सको सहकार्यमा आयोजनामा गरेको सो समारोहमा विदेशमा रहने नेपाली तथा नेपाललाई सहयोग गर्न चाहने विदेशीलाई कसरी परिचालन गर्ने भन्ने सम्बन्धमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । यस वर्षको नेपाल दिवसको मुख्य विषय ‘अबको बाटो’ रहेको थियो । सो अवसरमा जर्मनीका लागि नेपालका राजदूत रमेशप्रसाद खनालले नेपालमा शान्ति र स्थिरतासँगै अब पर्यटनको विकास र वैदेशिक लगानी आकर्षित गर्न पहल गरिने बताउनुभयो । त्यस्तै कोलोन शहरका लर्ड मेयर हेनरिट्टे रेकर तथा नेपालका लागि जर्मन राजदूत रुडोल्फ सेफरले अब नेपालको विकास शीघ्र हुन सक्ने धारणा राख्दै शुभकामना व्यक्त गर्नुभयो । नेपालका लागि अवैतनिक महावाणिज्य दूत एवम् संघका अध्यक्ष रामप्रताप थापाले समारोहमा मैत्री संघमा आवद्ध थुप्रै सदस्यहरु डाक्टर, इन्जिनियर, राजनीतिक नेताहरु, कलाकारहरु, समाजसेवी सामाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थितिले आगामी दिनमा नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशको सम्बन्ध विस्तारमा पुलको काम गर्ने यो संस्थाले नेपालको दुर्गम भेगमा विभिन्न विकासमूलक कामका साथै सांस्कृतिक उत्थानमा सहयोग पु¥याउदै आएको जानकारी दिनुभयो । समारोहमा नेपालबाट सहभागी हुन जानुभएका वरिष्ठ अधिवक्ता परशुराम कोइरालाले नेपालको मुलुकी ऐनमा हालै भएको संशोधनका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने प्राडा सीतु श्रेष्ठले नेपालको स्वास्थ्य अवस्था, प्राडा मल्लकराज श्रेष्ठले स्वास्थ्य पर्यटन, इन्जिनियर विमलराज गोसाइँले भूकम्पपछिको पुनःनिर्माणको अवस्था र डा चिरन पोखरेलले वन्यजन्तु पर्यटनका बारेमा अवगत गराउनुभएको थियो । जर्मनीमै कार्यरत दिल गुरुङ र सन्तोष भट्टराईले नेपाललाई विश्वकै पर्यटकीय गन्तव्य मुलुकको रुपमा परिचित गराउनुपर्नेमा जोड दिनुभयो भने तथ्यांक विशेषज्ञ वसन्त थापाले नेपाल अब स्मार्ट मुलुकका रुपमा विकास गर्न सकिन्छ भन्ने बारेमा अवधारणा प्रस्तुत गर्नुभएको थियो । जर्मनीको वैदेशिक सहायता मन्त्रालयको नेपाल डेस्क अफिसर आन्नेटे फ्रिकले प्राविधिक शिक्षा, ऊर्जा, स्वास्थ्य क्षेत्रमा जर्मनीबाट नेपालमा भएका विकास सहयोगका बारेमा प्रकाश पार्दै आगामी दिनमा पनि यस किसिमको सहयोग बढाउँदै लैजाने बताउनुभयो । समारोहमा प्रा बियाट्रिस क्नेर, गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने, वर्तमान उपाध्यक्ष कुमार पन्तलगायतका वक्ताहरुले आर्थिक विकाससम्बन्धी प्रस्तुति दिनुभएको थियो । सो अवसरमा जर्मनीका कानूनविद् प्राडा आस्त्री फुन्केको संयोजकत्वमा जर्मन नेपाल लयर्स फोरमको पनि गठन गरिएको थियो । सो अवसरमा नेपालको लोक संस्कृति झल्किने लोक नृत्य प्रस्तुत गरिनुको साथै नेपालसम्बन्धी पुस्तक प्रर्दशनी गरिएको थियो । कार्यक्रममा जर्मनीस्थित विभिन्न प्राज्ञिक तथा व्यावसायिक क्षेत्रका विज्ञ तथा जर्मनीमा वसोवास गर्ने नेपालीको सक्रिय सहभागिता रहेको थियो । जर्मन नेपाल मैत्री संघले नेपाल तथा जर्मनीबीच जनस्तरको सम्बन्ध अरू बलियो पर्ने उद्देश्यले गएको २९ वर्षदेखि आफ्नो स्थापना दिवसको अवसरमा नेपाल दिवस मनाउँदै आइरहेको छ । करिब ४५ वर्षअघि स्व क्रेट्समारले आठ जना सदस्यबाट सुरु गरेको यो संस्थामा अहिले हजारभन्दा बढी सदस्य रहेका छन् । रासस

बिश्वकर्मा समाज युएईको दुबई क्षेत्रीय समिति अध्यक्षमा गगन बिक ।

युएई । बिश्वकर्मा समाज नेपाल युएई अन्तर्गत दुबई क्षेत्रीय समितिमा गगन बिक सर्बसम्मत चयन भएका छन । युएईको दुबई स्थित जावेल पार्कमा ११ मे २०१८ का दिन सम्पन्न समाजको दोश्रो भेलाले समाजको गाम बहादुर बिक (गगन)को अध्यक्षता रहने गरि १५ सदस्यीय कार्यसमिती छनोट गरेको हो । सस्थाका प्रमुख संरक्षक योगेन्द्र सिंह बिश्वकर्मा, संरक्षक बाबुराम बिश्वकर्मा, केन्द्रिय अध्यक्ष देब बिश्वकर्मा लगायतको थुप्रै केन्द्रिय सदस्यहरुको उपस्थितिमा उक्त दोश्रो भेला सम्पन्न भेक थियो । भेलाले अध्यक्षमा गाम बहादुर बिक (गगन) उपाध्यक्षमा हुम बहादुर बिक र टेक बहादुर बिक सचिब हुम कौशल बिक सहसचिव कमला बिक कोषाध्यक्ष भिम सुनार सहकोषाध्यक्ष गोपाल बिक रहेका छन । नव गठित कार्यसमिति सदस्यहरुमा जुना बिक, रिता सुनार, अन्जु रसाइली, सुनिता बिक, महादेब बिश्वकर्मा, दिनेश बिश्वकर्मा, राजन बिक र गोपाल बिक रहेका छन । नवगठित कार्यसमिति लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै समजका प्रमुख संरक्षक योगेन्द्र सिङ बिश्वकर्माले स्वदेश तथा बिदेशमा रहेका बिश्वकर्मा समुदायको हकहितको लागि सबै एक हुनुपर्ने बताए भने सस्थाका सस्थापक अध्यक्ष तथा संरक्षक बाबुराम बिश्वकर्माले समाजले हाल सम्म गरेको राम्रो कामहरुको प्रसम्शा गर्दै नव निर्वाचित कार्यसमिति लाई धन्यवाद सहित बधाई दिएका थिए ।

माओवादी र एमाले निकट प्रवासी नेपाली मञ्चले कतारमा मनाए संयुक्त रुपमा मे दिवस

दोहा । नेपालमा नेकपा माओवादी केन्द्र र एमाले पार्टी एकीकरणको संघारमा रहेका बेलामा यता कतारमा भने दुई पार्टी निकट प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशिल मञ्चले संयुक्त रुपमा १२९ औं अन्तर्राष्ट्रिय मजदुर दिवस भव्य रुपमा मनाएका छन् । सनैयाको रोटाना रेस्टुरेन्टमा भएको उक्त कार्यक्रम नेपाली जनप्रगतिशिल मञ्चका संयोजक रकमध्वज रार्इको सभापतित्व रहेको थियो भने कार्यक्रम प्रवासी नेपाली मञ्चका कार्यवाहक महासचिव प्रभात त्रिपाठीले संचालन गरेका थिए। अतिथिमा प्रवासी नेपाली मञ्चका संस्थापक अध्यक्ष कमलमणि गुरागाईं, नेपाली जनप्रगतिशिल मञ्चका गल्फ संयोजक शनिकुमार वली, युवा नेता बिबि खराल , प्रवासी नेपाली मञ्चका पूर्वअध्यक्ष दिलकिरण खजुम लिम्बू, नेपाली जनप्रगतिशिल मञ्चका पूर्वअध्यक्ष रमेश भट्ट, प्रवासी नेपाली मञ्चका निबर्तमान अध्यक्ष रामहरी गैह्रे, कावा अध्यक्ष चानीलाल राजबंशी, नेपाली जनप्रगतिशिल मञ्चका संस्थापक उपाध्यक्ष प्रेम बिक, प्रवासी नेपाली मञ्चका सागर नेपाल, रेनु कार्की लगायत बामपंथी बुद्धिजीवीले अतिथी आशन ग्रहण गरेका थिए। उपस्थित प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशिल मञ्चका नेता तथा कार्यकर्ता एबम बामपंथी बुद्धिजीवीलाइ जनप्रगतिशिल मञ्चका सह संयोजक राजु डुम्रेले स्वागत भाषण द्वारा स्वागत गरेका थिए। मे दिवसको शुभकामनाका क्रममा दुबै संगठनका संस्थापक तथा अगुवाहरुले बिश्वका मजदुरहरुले विभिन्न कालखण्डमा गरेका मजदुर क्रान्तिको स्मरण गरेका थिए।

मलेसियामा फोनिजको शाखा गठन, अध्यक्षमा सुनाखरी मगर चयन

मलेसिया, वैशाख २३ । मलेसियामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को शाखा गठन भएको छ । द फाइव इलामेन्ट होटल क्वालालम्पुरमा भएको प्रथम अधिवेशनले शाखाको अध्यक्षमा सुनाखरी मगरलाई चयन गरेको छ । आदिबासी जनजाति पत्रकार महासघ केन्द्रीय ब्युरोका संगठन बिभाग सचिब मिलन लिम्बु र लिम्बु पत्रकार महासंघका अध्यक्ष देबेन्द्र खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनले एक सदस्य जना सदस्यपछि थप गर्ने गरि ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा दिपखादी लिम्बु, सचिवमा आरएन चौधरी, सहसचिवमा इशा रानामगर र कोषाध्यक्षमा मजदुर अनलाइन डटकमका कार्यकारी सम्पादक अर्पण मगरलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा नोर्बु तामाङ, बेग आले मगर, सन्तोष योन्जन तामाङ, सबिन राइ र पासाङ तामाङ रहेका छन । आदिवासी जनजाती समुदायहरुको माग मुद्दालाई राज्यको मुलधारका मिडियाहरुले स्थान नदिदा आदिवासी जनजातिहरुले स‌ंचारको बिकल्प छुट्टै पत्रकार सङठनको महसुस गरेर मलेसियामा पनि शाखा बिस्तार गरिएको नव निर्वाचित अध्यक्ष मगर ले बताए । सन् १९९९ मा नेपालमा गठन गरिएको फोनिजले आफ्नो शाखा मलेसिया लगायत खाडीका विभिन्न देशहरुमा बिस्तार गरि सकेको छ ।

मलेसियामा नेपाली माथी तरवार प्रहार

मलेसिया । मलेसियामा स्थानीय तामिल मुलका एक ब्यक्तिले नेपालीमाथि तरवार प्रहार घाइते बनाएका छन । मलेसियामा को सेलाङ्गर राज्यस्थित कापर सेल्टर सेक्युरिटी फोर्समा कार्यरत सिन्धुली गोलन्जोर गापा रत्तचुरा–६ का गणेशबहादुर रार्इमाथि बिहीबार बिहान कम्पनीमा कार्यरत रहेको अवस्थामा अपरिचित स्थानीय ब्यक्तिले तरवार प्रहार गरेका हुन । बिहान करिब ६ः३० बजे काम सकेर कोठामा फर्कन लागेका राईमाथि मोटरसाइकलमा आएका २ जना तामिल नागरिकले एक्कासि तरवारले प्रहार गर्दा राई घाइते भएका छन। साथीहरू सँगै बाटोमा हिडिरहेका राईलाई तरबारले हिर्काउन थालेपछि साथीहरू भागेको र आफू एक्लै भएपनि केहि बेर प्रतिकार गर्न सफल भएको राईको भनाइ छ । आफुमाथि प्रहार गरेको तरबारलाई रोक्न खोज्दा उनको हात र ढाडमा गम्भीर चोट लागेको छ । घटना लगत्तै कम्पनीलाई फोन गरी जानकारी गराउन सफल भएका राइले कम्पनीका प्रतिनिधिका साथमा प्रहरीलाई उजुरी दिएपछी लगत्तै घटनामा सङ्लग्न ब्यक्ति लाइ प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको राइले जानकारी दिएका छन । उपचार पछि राई कम्पनी होस्टेलमा फर्किएका छन भने उनको अवस्थामा अहिले सुधार आएको छ ।

युएईमा संयुक्त बुद्ध जयन्ती मनाइने

युएई, वैशाख २१ ।  युएईमा क्रियाशिल नेपाली संघ, सस्था र ब्यबसायीहरु मिलेर संयुक्त रूपमा २५६२ औ बुद्ध जयन्ती मनाउने भएका छन् । शान्तिका अग्रदुत गौतम बुद्धको सम्झनामा विशेष कार्यक्रम गरि एकता र आपसी भाइचाराको सम्बन्ध लाई प्रगाढ बनाइ बिश्वसामु शान्तिको सन्देश फैलाउने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक डि आर.गुरुङले जानकारी दिएका छन । आउदो मे ११ तारिख अर्थात वैशाख २८ गते शुक्रबार दुबई स्थित अल्कुजको डल्सको हलमा हुन लागेको संयुक्त बुद्ध जयन्ती कार्यक्रममा सबैलाई सहभागीहुन गुरुङले आग्रह गरेका छन् । कार्यक्रम आयोजक समितिले गत सोमबार एक सूचना जारी गर्दै बिगतका बर्षमा जस्तै यस बर्ष पनि सबै मिलेर भगवान गौतम बुद्धको २५६२ औ बुद्ध जयन्ती मनाउन उनले आग्रह गरेका हुन। गत बर्ष युएईमा रहेका वटा ४६ नेपाली संघ, सस्था र ब्यबसायीहरु एकै ठाउँमा भेला भइ बुद्ध जयन्ती मनाईएको उदाहरण दिदै उनले यस बर्ष पनि युएईमा रहेका ब्यबसायी र सामाजिक संघ, सस्था लाई आयोजक बन्न आग्रह गरेका छन् । संयुक्त बुद्ध जयन्ती मनाउन तयार गारिको समितिले हाललाई कामको बाँडफाँट गरेको छ । आयोजक हुन चाहने संघ सस्था र ब्यबसायीहरुसंग समन्वयको लागि मणि भुर्तेल संयोजक रहने गरि पर्शुराम पौडेल, भिम हमाल, फलेन्द्र बलाम्फी मगर र ओम कुमारी खाँड लाई तोकिएको छ । यसौगरि, प्रचारप्रसारको संयोजकमा गोबिन्द ढकाल र मिडिया कोडिनेसनको जिम्मेवारी नेपाल पत्रकार महासंघ युएई शाखालाई दिइएको छ । यस्तै आर्थिक बिभाग प्रमुखमा एकेन्द्र बहादुर थापा रहेका छन ।कार्यक्रम ब्यबस्थापन समितिले आयोजक हुन इच्छुक संघ सस्था वा ब्यबसायी हरुले शुक्रबारभित्र ३०० दिराम सहित सम्पर्क राख्न आग्रह समेत गरेका छन । कार्यक्रमको आयोजक सस्थाले १० टिकट अनिवार्य बेच्नुपर्ने पनि जनाईएको छ । कार्यक्रम लगतै कार्यक्रम नाफामा गएको खण्डमा आयोजकले लगानी गरेको ३०० दिराम फिर्ता गरिने छ । कार्यक्रममा सहभागी हुन चाहाने हरुले २५ दिरामको टिकट खरिद गरि प्रवेश गर्नुपर्ने बताइएको छ । कार्यक्रममा लामा गुरुहरुद्धारा बुद्धको पाठपूजा गर्ने, बुद्धका उपदेशहरु प्रबचन गर्न ,र स्थानीय कलाकारहरुको साथमा झाकी सहितका विभिन्न प्रस्तुतिहरु देखाउने तयारी रहेको आयोजकले जानकारी दिएका छन ।

आदिवासी जनजाति पत्रकार महासंघको शाखा मलेसियामा

मलेसिया, वैशाख २० । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को शाखा मलेसियामा गठन हुने भएको छ। ६ मईका दिन मलेसियाको राजधानी क्वालालम्पुरस्थित द–फाइभ एलिमेन्ट होटेलमा आदिवासी जनजाती पत्रकार संघ मलेसिया गठन हुन लागेको हो । मलेसियामा रहेर पत्रकारिता गरि रहेका र पत्रकारिता गर्न इच्छुक नेपाली आदिवासी जनजाती युवा (युवतीहरु लाई एकजुट गरि आदिवासी जनजातिहरुको माग,मुद्दा र समाचारहरुलाई मुलधारका भनिएका संचारगृह र संचारकर्मीहरु द्वारा न्यायोचित स्थान नदिएको, स्थान दिई हाले पनि मुख्य मुद्दा र बिषयहरुलाई पाखा लगाइ अपुरो समाचार र सन्देशहरु मात्र प्रवाह भैरहेको हुदा आदिवासी जनजातिहरुको माग मुद्दा र गतिविधीहरुलाई प्रभावकारी रुपमा प्रवास बाटै सबै नेपालीहरु समक्ष पुर्‍याउन आदिवासी जनजातिहरुको छुट्टै संगठनको आवश्यकता महसुस गर्दै मलेसियामा पनि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मलेसिया (फोनिज) शाखा गठन गर्न लागेको सम्योजकको भनाइ छ । प्रथम अधिवेशनको उद्घाटनमा नेपालबाट आदिवासी जनजाती पत्रकार महासंघका सङ्गठन सचीव मिलन लिम्बु र लिम्बुवान पत्रकार संघका अध्यक्ष देवेन्द्र खापुङको विशेष उपस्थिति रहने भएको छ । अधिबेशनको तयारी पूरा भैसकेको र मलेसियामा रहेका सम्पुर्ण संघसंस्था,तथा विभिन्न पार्टीका भातृ संगठनहरुलाई समेत पत्राचार गरि सकिएको अधिबेशनका सम्योजक तथा पत्रकार सुनाखरि मगर ले एभरेस्ट दैनिक लाई जानकारी दिएका छन ।

नेपाली कामदारमाथि अमर्यादित काम गर्ने पक्राउ

काठमाडौँ । ओमानको मस्कटमा घरेलु काम गर्दै आइरहेकी एक नेपाली महिला कामदारमाथि अमर्यादित काम गर्ने पाँच अभियुक्तलाई ओमनस्थित नेपाली दूतावासको सहयोगमा पक्राउ गरिएको छ । यही वैशाख १४ गते नयाँ कामको खोजीमा ओमानकै माबेलामा जाँदै गर्दा बुटवल– १३ निवासी युवती आजाद नामको बंगालीको विश्वास गरी नयाँ बन्दै गरेको घरको भूइँतलाको कोठामा बस्न जाँदा उनीमाथि उक्त घटना भएको दूतावासले जनाएको छ । नयाँ घरको उक्त कोठामा साँझ पाँच जनाको हुल आई आफूमाथि अमर्यादित काम भइसकेपछि पोल खुल्ने डरले मारेर फाल्ने योजना पीडितले सुनेपछि शौचालयबाट राति २ बजे प्रहरीलाई खबर गरेकी थिइन् । उक्त खबरपछि ओमान प्रहरीले उद्धार गरी ल्याएको र दूतावासको सक्रियतामा विभिन्न स्थानबाट अभियुक्तलाई पक्राउ गरी कानूनी कारबाही प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ । उनी गत माघ ३ गते कामको खोजीमा भारतको नयाँ दिल्ली, युएई हँुदै ओमान गएकी थिइन् । मालिकले समयमा तलब नदिने, पेटभरी खान नदिने, गाली गर्ने लगायत कारणले उनी काम गर्दै आएको घर छाडी अर्काे घरमा अवैध रुपमा घरेलु काम गर्दै आएकी थिइन् । रासस

आइसीसी अध्यक्षसँग भेटघाट सम्पन्न

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले एनआरएनए आईसीसीका अध्यक्ष भवन भट्टसंग भेटघाट सम्पन्न गरेका छन् । २७ अप्रिल २०१८ का दिन अन्तर्राष्ट्रिय झापाली समाजको निमन्त्रणामा कतारमा सम्पन्न क्षेत्रीय भेला कार्यक्रमका लागि स्पेन हुँदै कतार आइपुगेका अध्यक्ष भवन भट्टसँग एनसीसी कतारले भेटघाट गरेका हुन् । उक्त भेटघाट कार्यक्रममा आईसीसी मध्यपूर्व उप संयोजक, आईसीसी मानार्थ परिषदका सदस्यहरु तथा आईसीसी सदस्यहरू, एनसीसी कतारका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू उपस्थित रहेका थिए । एनसीसीका अध्यक्ष, उपाध्यक्षहरू र महासचिवले संयुक्त रुपमा खदा लगाई फूलद्वारा उनलाई स्वागत गरेका थिए । भेटघाटको क्रममा एनसीसी कतारका अध्यक्ष नविन पोखरेलले एनसीसी कतारको वर्तमान स्थिति, भावी कार्ययोजनाबारे संक्षिप्त जानकारी दिएका छन् भने आईसीसी अध्यक्ष भवन भट्टले आईसीसीको गतिविधिका बारेमा जानकारी दिएका छन् । आईसीसीको अध्यक्ष पदमा निर्वाचित भए पश्चात पहिलो पटक कतार आइपुगेका अध्यक्ष भवन भट्टले एनसीसी कतारको कार्यशैलीको प्रशंसा गर्दै कतार सानो मुलुक भएकाले पनि आवश्यक परेको बेला यहाँ रहेका सबै नेपालीहरु हरेक अभियानमा सबैभन्दा अगाडि रहेको र छिटो छरितो रुपमा सम्पन्न गरेको स्मरण गराए । उनले अगाडि थपे, नेपालीहरुका समृद्धिका लागि एनआरएनए अभियानमा लागेको छु । यस कार्यकालका लागि आफ्नो ब्यवसायिक कार्यकारी जिम्मेवारी अन्य दोस्रो व्यक्तिलाई अख्तियारी दिएको छु र त्यसकारण पनि कतार लगायत हरेक एनसीसीले गरेका हितकारी पहल कदमीलाई आईसीसीको माध्यबाट कति पनि ढिलाई नगरी सम्बन्धित निकायबाट सहयोग गर्न सकिने गरी आईसीसी टीम परिचालित भएकाले कुनै पनि आवश्यक सहयोगका लागि कन्जुसाई नगर्नहुन अनुरोध गरे । त्यस अवसरमा एनसीसी कतार टीमले एनआरएनए अभियानका पछिल्लो गतिविधि र अन्य विविध विषयप्रति जानकारी लिनुका साथै उनीमार्फत सुझावहरू लिएका थिए । अशोक तामाङ, एनआरएनए एनसीसी कतार