कम सुत्ने गर्नाले ज्यान जान सक्छ

“यदि तपाईँ लामो र स्वस्थ्य जीवन जिउन चाहनुहुन्छ भने मीठो निन्द्रामा समय खर्च गर्नुहोस्,” निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर भन्छन्।

युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा सहभागी भएका लाखौँ मनिसको तथ्याङ्क अध्ययन गरेका छन्।

“निद्रा सबैभन्दा प्रजातान्त्रिक र निःशुल्क उपलब्ध सबैभन्दा राम्रो स्वास्थ्य सेवा प्रणाली हो,” उनी भन्छन्।

पचास वर्षको अध्ययन एवम् अनुसन्धानपछि अबको विषय ‘निद्राले हामीलाई के गर्छ’ भन्ने होइन कि ‘निद्राले फाइदा नगर्ने केही छ कि’ भन्नेमा केन्द्रित हुन थालेको छ।

निद्राले हामीलाई के गर्छ?

अहिलेसम्म अध्ययनकर्ताहरूले निद्राले फाइदा नगर्ने स्वास्थ्यसम्बन्धी कुरा पत्ता लगाउन सकेका छैनन्।

विज्ञानले अहिलेसम्म पत्ता लगाएको कुरो भनेको निद्राको अभावमा हाम्रो शरीर र मस्तिष्कमा नाटकीय असर गर्छ भन्ने हो।

विकसित मुलुकमा मानिसहरूको ज्यान लिइरहेको अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेशन, चिन्ता र आत्महत्याको पनि निद्राको अभावसँग केही न केही सम्बन्ध पाइएको छ।

निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको ‘नवीकरण’ हुन्छ। निद्रा पुगेन भने तिनमा असर पर्छ।

तर निद्रा भने प्राकृतिक हुनुपर्छ। निद्राको औषधिले क्यान्सर, सङ्क्रमण र मृत्युको सम्भावना बढाउँछ।

कम सुत्न थाले मानिस

निद्रा हाम्रो लागि अत्यावश्यक छ।

तर विकसित मुलुकको तथ्याङ्क हेर्दा हिजोआज मानिसहरू कम सुत्न थालेको स्पष्ट हुन्छ। हिजोआज मानिसहरू एक सय वर्षअघिको भन्दा औसतमा कम सुत्छन्।

दैनिक सातदेखि नौ घण्टा सुत्दा पर्याप्त निद्रा पुग्छ।

पर्याप्त सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै होइन, रचनात्मकता र सृर्जनशीलताका लागि पनि महत्त्वपूर्ण छ।

सात घण्टाभन्दा कम सुत्ने मानिसहरूको शरीर र मस्तिष्कमा असर हुन थाल्छ र रोगको प्रतिरोध गर्ने क्षमतामा असर गर्छ।

मीठो निद्रा कसरी पार्ने?

निदाउनु भनेको तकियामा टाउको राख्नु मात्रै होइन। विश्वका धेरै मानिसहरूलाई निदाउन गाह्रो हुन्छ।

विश्वका धेरै ठाउँमा हिजोआज अँध्यारो हुँदैन। किनभने हामी धेरैजसो कृत्रिम उज्यालोमा समय बिताउछौँ । अहिले हाम्रो जीवनमा धेरै धपेडी पनि हुन्छ।

अनि हामी नपुगेको निद्रा पुर्‍याउन खालि समयको सदुपयोग पनि गर्दैनौँ। “गएको समय गयो,” प्रा. वाकर भन्छन्।

तर निदाउनका लागि हामी आफैँलाई प्रशिक्षित गर्न सक्छौँ। वैज्ञानिकहरू भन्छन् – हामीले आफ्नो बानी परिवर्तन गर्‍यौँ भने राम्रो परिणाम तुरुन्तै देखिन्छ।

‘ह्वाई वी स्लीप (हामी किन सुत्छौँ)’ पुस्तकका लेखक प्रा. वाकरले निम्न सुझाव दिएका छन्:

.सुत्ने र उठ्ने समय नियमित बनाउनुहोस्

थाल्न सजिलो छ: सधैँ एउटै समयमा सुत्न जानुहोस् र उठ्ने समय पनि नियमित होस्।

सबैभन्दा महत्त्वपूर्ण कुरा जागा रहने समय निश्चित राख्नु हो। यसले गर्दा शरीरले सुत्ने समयमा निद्रा पार्न सहयोग गर्छ।

. अँध्यारोमा बस्नुहोस्

निद्राका लागि आवश्यक महत्त्वपूर्ण हार्मोनका लागि शरीरले अँध्यारो खोज्छ।

विकासको एउटा नराम्रो पक्ष भनेको हामी निरन्तर उज्यालोमा हुन्छौँ। सुत्नुअघि कोठाको उज्यालो कम गरेर हामी अँध्यारो बनाउन सक्छौँ।

यसको अर्थ मोबाइल वा टीभी वा कम्प्युटरको स्क्रीनबाट पर रहनु पनि हो। स्क्रीनले ‘नीलो प्रकाश’ निकाल्छ जसले निद्राको हार्मोन मेलटोनिनको प्रभावलाई निस्तेज पारिदिन्छ।

त्यसैले सुत्नुभन्दा एक घण्टा पहिल्यै नीलो प्रकाशका स्रोतहरू बन्द हुनुपर्छ।

.तापक्रम घटाउनुहोस्

प्राकृतिक रूपमै तापक्रम २४ घण्टाभित्र कहिले कम कहिले बढी हुन्छ। तापक्रम घट्दा निद्रा पनि पर्छ।

तर हिजोआज हामी एउटै तापक्रममा बस्न खोज्छौँ।

निद्रा पर्न हाम्रो मस्तिष्क र शरीरको भित्री तापक्रम झन्डै एक डिग्री सेल्सियसले घट्नुपर्छ।

त्यसैले तापक्रम नियन्त्रण गर्न मिल्ने अवस्थामा १८ डिग्री सेल्सियसमा सुत्नुहोस्।

. ओछ्यान सुत्नका लागि मात्रै

सुत्न र अन्य सीमित क्रियाकलापका लागि मात्र ओछ्यानमा जानुहोस्। खाना खान, पढ्न वा खेल्न होइन।

हाम्रो मस्तिष्कले छिट्टै दुई वस्तुबीच सम्बन्ध स्थापित गर्छ। त्यसैले हामीले ‘ओछ्यान सुत्नका लागि हो’ भन्ने सन्देश दिनुपर्छ।

यदि ओछ्यानमा २० मिनेटसम्म निदाउन सकिएन भने उठेर केही बेर हिँड्ने, पढ्ने वा अरू केही काम गरेर अलमलिनुपर्छ। त्यसो गर्दा फेरि सुत्न सजिलो हुन सक्छ।

. कफी कम खानुहोस्

दिउँसो हामी कोला, कफी, चिया वा अन्य पेयपदार्थ पिउँछौँ। तिनमा हुने क्याफिन र थिनजस्ता तत्त्वले हाम्रो स्नायुप्रणालीमा रमाइलो प्रभाव देखाउँछन्।

तर प्राध्यापक वाकरको सल्लाह यस्तो छ: सुत्नु १२ घण्टाअगाडि मात्रै कफीजस्ता पेय पदार्थ पिउनुहोस्।

कफीको ‘हाफ लाइफ’ हुन्छ। त्यसैले यसको प्रभाव छ घण्टासम्म आधा र नौ घण्टासम्म तीनचौथाइ एक्प्रेसो खाएजति बाँकी हुने उनी बताउँछन्।

त्यसैले सुत्ने बेलामा रगतमा कफीको मात्रा बाँकी नभएकै राम्रो हुन्छ।

. मदिराबारे विचार गर्नुहोस्

प्राय: मानिसहरू मदिराले निद्रा पार्छ भन्छन्।

तर यो सत्य होइन।

मदिरा पिएर लागेको निद्राले स्वास्थ्य र सपनालाई राम्रो गर्दैनन्।

बिबिसी

नेपाल आइडलका ‘टप फाइभ’ लाई जापानमा भव्य सम्मान (फोटोफिचर)

काठमाडौं, पुष २३ । नेपाल आइडल सिजन-२ का विजेता रवि ओडसहित आइडलका अन्य प्रतिस्पर्धीलाई जापानको टोकियोमा भव्य विदाई तथा सम्मान गरिएको छ । उनीहरुलाई टोकियोको सिनओकुबोमा  अछाम सरोकार मन्च जापान र सुदूरपश्चिमेली समाज जापानले  विदार्ई एवं सम्मान गरेको हो । अछाम सरोकार मन्च जापानका तर्फबाट मन्चका गैरआवासीय संघ जापानका केन्द्रीय सदस्य आशिस रावल, अध्यक्ष लोकेन्द्र जंग कुँवर ‘लोचन’ र सुदूरपश्चिमेली समाजका पूर्व अध्यक्ष तथा संचारकर्मी पूर्ण चलाउनेले आइडलका प्रतिस्पर्धीलाई खादा तथा सम्मानपत्र प्रदान गरेका थिए । साथै, सुदूरपश्चिमेली समाजका तर्फबाट समाजका अध्यक्ष एकेन्द्र थापा र महासचिब दिनेश अधिकारीले खादासहिद सम्मानपत्र प्रदान गरेका थिए ।  कार्यक्रममा सिजन २ का विजेता रवि ओड, उपविजेता बिक्रम बराल, सेकेण्ड रनरअप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारी र ‘टप फाइभ’ मा पुग्न सुफल अमित बराललाई मायाको चिनो स्वरुप उपहार पनि प्रदान गरिएको थियो । उक्त कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा ब्यक्तिहरुबाट पनि सम्मानका साथै बिभिन्न उपहारहरु प्रदान गरिएको थियो । उक्त कार्यक्रममा नेपाल आइडलका टप ५ प्रतिस्पर्धी रवि, बिक्रम, अस्मिता अधिकारी, सुमित पाठकका साथै अमित बरालले कार्यक्रममा आफ्ना सांगीतिक प्रस्तुति दिएर दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए । कार्यक्रममा बोल्दै उनीहरुले सबै नेपालीको माया र साथ पाएर आफुहरु बिजेता बनेकाले  सबैको साथ लिएर अझै सांगितिक क्षेत्रमा केही योगदान दिने प्रतिबद्धता ब्यक्त गरे ।    

निभादेखि प्रियङ्कासम्म- यस्ताे छ घाेडा प्रजनन केन्द्रकाे कथा

विष्णु नेपाल  चितवन, (रासस) निभाले यसै हप्ता पहिलो सन्तानलाई जन्म दिँदैछिन् । एघार महीना पुग्न एकहप्ता मात्र बाँकी छ । पिता भीष्म र माता भवानीको पहिलो सन्तान हुन् तीन वर्षीया–निभा ।  सुत्केरी हुन लागेकी निभालाई माता पिताको कुनै अत्तोपत्तो छैन । निभाका बारेमा माता पितालाई पनि जानकारी छैन । तर निभाका अहोरात्र हेरचाहमा खटिनुभएका प्राविधिक गणेश केसी राति ननिदाउनु भएको एकहप्ता नाँघिसक्यो ।  प्राविधिक केसीले हसिलो मुद्रामा भन्नुभयो, “निभाको सुत्केरी हुने दिन आउन लाग्यो । कहिलेकाहीँ नर्मल समयभन्दा अगाडि सुत्केरी हुन सक्छ । कुन बेला उनी प्रश्रव पीडामा पुग्छिन् भन्न सकिन्न । प्रश्रव पीडाका समयमा सहयोग गर्नुपर्छ । यही भएर नसुतेको एक हप्ता भो ।” उसो त गण्डकीको पनि सुत्केरी हुने समय नजिकिँदै छ । “निभा र गण्डकीले छोरा÷छोरी (भाले अथवा पोथी) जे जन्माए पनि खुशी नै हुन्छाँै”, प्राविधिक केसी बताउनुहुन्छ ।  तपाईंलाई लाग्न सक्ला निभा, गण्डकी नाम मानवीय होलान् । होइनन् यी त यहाँस्थित नेपालको पहिलो घोडा प्रजनन् केन्द्रमा रहेका घोडाका स्थानीय नाम हुन् । नेपाली सेनाद्वारा सञ्चालित प्रजनन् केन्द्रमा हाल ६८ वटा विभिन्न जातका घोडा र सात वटा गधा रहेका छन् । ती मध्ये ४८ वटा बुडमियर पोथी घोडा रहका छन् । केन्द्र स्थापनाको ३४ वर्षको अन्तरालमा यस वर्ष सबैभन्दा बढी १९ वटा घोडा सुत्केरी हुँदैछन् । यसलाई हालसम्मको सबैभन्दा ठूलो उपलब्धि मानिएको छ ।  सुत्केरी हुने घोडालाई केन्द्रले विशेष स्याहारसुसारमा ध्यान दिने गरेको छ । गर्भवती भएपछि नजन्मिएसम्म विशेष आहार तथा पौष्टिक तत्वमा दाना खुवाउन तथा दैनिक स्वास्थ्यमा ध्यान दिएको प्राविधिक बताउँछन् ।  उनीहरुका अनुसार तीन वर्ष पूरा भएपछि घोडा गर्भवती तथा प्रयोगमा ल्याउनयोग्य हुन्छ । एउटा माउले १७ वर्षसम्म बच्चा जन्माउन सक्छे । पोथी घोडाको गर्भ समय ११ महीनाको हुन्छ । जन्मिएपछि बच्चाले छ महीनासम्म आमाको दूध तथा हल्का पौष्टिक दाना खान्छ । तीन वर्षमाथि पुगेपछि दाना खानेक्रम विशेषरुपमा बढ्छ । तीन वर्षमा घोडा पूर्णरुपमा तयार हुन्छ । तयार भएको भाले घोडालाई ‘स्टालियन’ तथा पोथीलाई ‘बुडमियर’ भनिन्छ । घोडाको औशत आयु नेपालमा करीब २८ वर्षसम्म रहेको छ । केन्द्रमा तृष्णा, अम्बिका र डमरु नामका घोडा २८ वर्षसम्म बाँचेका थिए ।  पहिलो घोडा प्रजनन केन्द्र ः माग बढी आपूर्ति कम  विशेष गरी नेपाली सेनालाई आवश्यक पर्ने घोडा आफैँ उत्पादन गर्ने ध्येयले विसं २०४१ पुस १४ गते सो केन्द्र यहाँ स्थापना गरिएको थियो । भारत, पाकिस्तान, अष्ट्रेलियालगायतका देशबाट माउ तथा भाले जातका घोडा ल्याई प्रजनन कार्य शुरु गरिएको प्राविधिक बताउँछन् ।  पछिल्लो समयमा मनाङ र मुस्ताङमा पाइने ‘पोनी’ जातका घोडा पनि यहाँ ल्याइ राखिएको छ । केन्द्रले ‘हाइब्रिड’ घोडा भने उत्पादन गरेको छैन । प्राविधिक केसीले भन्नुभयो, “हामीले एउटै जात (ब्रिड)मा क्रस गरेर बच्चा उत्पादन गर्ने गरेका छौँ । हाडनाता पर्ने घोडाबाट बच्चा उत्पादन गराइँदैन, गर्नु पनि हुँदैन ।”  यसका लागि केन्द्रले प्रत्येक घोडाको तीनपुस्ते वंशावली विवरण राख्ने गरेको छ । उहाँ भन्नुहुन्छ, “हरेक घोडाका आमाबुबा, हजुरबुबा, हजुरआमा नामसहितको वंशावली विवरण राख्छौँ ।” विदेशबाट ल्याइएका घोडाको ‘वंशावली’ नै हुन्छ । यसमा तीनपुस्ते विवरण, जन्ममिति, लगाइएका खोपलगायतको विवरण उल्लेख गरिन्छ । ब्रिड गर्न सजिलो होस् भन्नाका केन्द्रले लागि वंशावली राख्ने गरेको छ । यो अन्तर्राष्ट्रिय प्रचलन पनि हो ।  नेपाली सेनाका लागि वार्षिकरुपमा विभिन्न सभा, समारोह, उत्सव तथा प्रतियोगिताका लागि मात्र थप २५ वटा घोडा आवश्यक पर्छ । तर केन्द्रले वार्षिक मुस्किलले १५ वटा मात्र घोडा नेपाली सेनाअन्तर्गतकै नेपाल क्याबलरीलाई दिने गर्दछ ।  केन्द्रले तयार गरेका घोडा नै क्याबलरीले प्रयोग गर्दै आएको छ । नेपाली सेनाको घोडाचढी कलाका लागि क्याबलरी प्रशिद्ध रहेको छ । यस वर्ष सबैभन्दा बढी २० वटा दिने तयारीमा केन्द्र जुटेको छ । “क्रमशः माग पूरा गर्नेतर्फ हामी अगाडि बढेका छौँ । निकट भविष्यमा पोथी घोडा थप गर्ने लक्ष्यसमेत रहेको छ”, प्राविधिक केसीले जानकारी दिनुभयो ।  करीब २८ बिघामा जमीनमा सो केन्द्र रहेको छ । ती घोडाका लागि हाल नेपाली सेनाका विभिन्न तहका ६४ जना जनशक्ति खटिएका छन् । ती घोडाका लागि मात्र मासिकरुपमा सात÷आठ लाख खर्च लाग्ने बताइन्छ ।  निभादेखि प्रियङ्कासम्म  सेनासँग घोडा हुनु अनिवार्य मानिन्छ । सेना कति समृद्ध छ भनेर मापन गर्ने विभिन्न तत्वमध्ये घोडाको सङ्ख्यालाई हेर्ने गरिन्छ । शुभकार्यमा घोडाको अग्र साइत शुभ मानिन्छ । नेपालमा विशेषगरी विशेष कार्यक्रम (संसद् अधिवेशनको शुरुका दिन राष्ट्रप्रमुखको संसद् भवनमा आवागमन तथा फिर्ता), राष्ट्रप्रमुखसमक्ष विदेशी राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र हस्तान्तरण, सैनिक दिवस तथा घोडेजात्रालगायतका दिनमा घोडा तथा बग्गीको प्रयोग गरिँदै आएको छ । ऐतिहासिक हनुमानढोका र गोरखा दरबारलगायतका ठाउँमा अहिले पनि एउटा घोडा राख्ने चलन विद्यमान रहेको बताइन्छ ।  गत वर्ष भारतीय दूतावासले नेपाली सेनालाई उपहारस्वरुप प्रदान गरेका सात वटा प्रियङ्का, श्वेता, आँचल र सङ्गीतालगायतका नामका घोडा यस केन्द्रमा रहेका छन् । स्याहारकर्ताका अनुसार दिउँसो खुला चौरमा आआफ्नै समूह बनाई घोडा रमाउँछन् । बेलुकी अलगअलग तबेलामा राखिन्छ । प्रजनन केन्द्रका घोडाको आआफ्नै नामाकरण गरिएको छ । केन्द्रमा नै जन्मिएकालाई नेपाली र विदेशबाट आएकालाई विदेशीलाई उताबाटै नाम राखिएको छ ।  भारतबाट विसं २०६९ वैशाखमा केन्द्रमा ल्याइएका घोडाका नाम बाबु शर्मा, लण्डन ब्वाई रहेका छन् । “हामीले वैज्ञानिक नामाकरण गर्ने प्रयासमा गरौँ तर यहाँ जन्मिएपछि राखिएका नाम नै बढी सजिलो हुँदो रहेछ”, प्राविधिक केसीले भन्नुहुन्छ ।  नेपालले हालसम्म कुनै देशलाई घोडा उपहारस्वरुप प्रदान नगरेको बताइन्छ । तर केन्द्रले नै उत्पादन गरेका दश वटा नेपाली जातका घोडा नेपाली सेनाले ट्राफिक प्रहरीलाई केही वर्ष अगाडि उपहारस्वरुप प्रदान गरेको थियो ।  केन्द्रले विशेष गरी डफ्ट र लाइट जातका घोडा उत्पादन गर्ने गरिरहेको छ । डफ्ट हर्स बग्गीतान्न र लाइट चढ्न र कुद्न (राइडिङ र रनिङ)मा प्रयोग हुने गर्दछ । पछिल्लो समय घोडेजात्रामा प्रयोग हुने घोडा नेपाली आफ्नै जातको हुने गर्दछ ।  देवीदेवताको प्रतीकका रुपमा घोडालाई त्यहाँ राख्ने गरिएको बताइन्छ ।  ––– 

डिभोर्स, अवैध सन्तान र तेश्रो बिहेः विवादमा रवि लामिछाने

काठमाडौं, पुष २० । टेलिभिजनकर्मी रवि लामिछानेले आफ्नो सम्बन्ध विच्छेद भएको रहस्य खोलेका छन् । उनले आफ्नो निजी जीवनलाई लिएर बदनाम गर्ने प्रयास भएको भन्दै शुक्रबार फेसबुकमा लामो स्टाटस लेख्दै यस्तो रहस्य खोलेका हुन् । रविले आफूले २४ वर्षअघि नै ईशासँग विवाह गरेको र अहिले सम्बन्ध विच्छेद भएको बताएका छन् । उनले भनेका छन्, ‘मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा विवाह गरेको थिएँ र हालसालै सम्बन्ध विच्छेद पनि भैसकेको छ ।’ रविले वर्षौंसम्मको मतभेद र अलग बसाइका कारण आफूहरुको सम्बन्ध टिक्न नसकेको बताएका छन् । लामो समयसम्म पत्नीसँग बोलचाल पनि नभएको बताएका रविले आफ्नै राजीखुशीले सबै अधिकार लिएर पत्नीले सम्बन्ध विच्छेद गरेको स्पष्ट गरेका छन् ।  त्यस्तै रवि लामिछानेले आफ्नो विदेशी मूलकी एक प्रेमिकासमेत भएको खुलासा गरेका छन् । विदेशी मूलकी प्रेमिकासँग आफ्नो एक सन्तानसमेत भएको बताउँदै रविले अहिले उनीसँग पनि छुट्टिएको जानकारी दिएका छन् । रविले आफूलाई बदनाम गराउन अनेक प्रयास भएको बताउँदै आफूले वर्षौंको एक्लो जीवन र असफल सम्बन्धहरुबाट पाठ सिक्दै अघि बढ्ने बताएका छन् । उनी आफू कतै नभागेको बताउँदै हरेक मंगलबार, बिहीबार र शनिबार टेलिभिजनमार्फत आउने बताएका छन् । पहिले पढ्नुस् रविकी पूर्व पत्नीको भनाई …………………………….. इशा लामिछानेको बयान ‘नमस्कार म ईशा लामिछाने, रवि लामिछानेको पुर्वपत्नी ।” म्यासेन्जरको आवाजसंगैको म्यासेज थियो । परिचयसहित रिप्लाई नहुँदै ईशाको म्यासेज आयो, “मसंग रविका बारेमा केही भन्नुछ तपाईले मिडियामा छापेर सहयोग गरीदिनुहुन्छ भने ।” तुरुन्तै ईशाको फेसबुक वालमा नजानुको विकल्प थिएन् । केही पोष्टहरु थिए जस्ले ईशा र रवि लामिछानेको सम्बन्धलाई प्रष्ट्याउथे । रवि अर्थात उनै रवि जो अहिले सामाजीक सञ्जालमा छाईरहेका छन् । सिधा कुरा जनतासंग प्रशारणसंगै बेथीति र समाजका कर्तुतबारे चर्को आवाज गर्ने कार्यक्रम प्रस्तोता । ३ करोड नेपालीका भगवान भनेर सामाजीक सञ्जाल फेसबुकतिर बनेका उनका नामका पेजबारे पनि अनविज्ञ छैन् । ईशा लामिछाने नाम गरेको केटीले एउटा म्यासेज गर्दैमा पत्याईहाल्ने कुरा पनि भएन । उनको म्यासेज यसरी आएको थियो कि त्यसको रिप्लाई मैले एउटा गर्न नपाउदै अरु थुप्रै कुरा उनले लेखीसकेकी हुन्थीन् । केही समयअघि मात्र नेपाल आएर अमेरीका उडीसकेकी ईशाले अमेरीकाबाट च्याटमा केही तस्विरहरु पठाएकी थिईन् । २५ बर्षअघि रवि र ईशाको बिहे भएको उनको भनाई छ । २३ बर्ष र १५ बर्षका दुईवटी छोरी ईशासंगै छन् । ईशाले बाउछोरीको फोटो पठाईन् । “मलाई झुक्काएर र दबाब दिएर अस्ति मंसिरमा डिभोर्स गरायो । उसको दबाबका कारण म नेपाल आएर डिभोर्स पेपरमा साईन गरेर मंसिरको १० गते अमेरीकाका लागि उडेँ ।” उनले थप प्रष्ट पारिन फोनमा । रवि लामिछानेले आफुलाई मात्र नभई अरु महिलालाई पनि बबार्द पारेको उनको दावि छ । “मसंगै हुँदा पनि उस्ले अरु दुईवटा महिलाहरु राखेको थियो । एकजना अमेरीकी महिलाको नाम लैला सर्जाद हो । त्यो महिलातर्फ पनि रविको एउटा छोरो छ ।” ईशाले यसरी भनिरहेकी छन् की, मैले पत्याउन सकिरहेको छैन् । किनकी रविले यस्तै अन्यायमा परेका महिलाहरुलाई टेलीभिजनको स्किृनमा बसेर अन्याय गर्नेलाई लाईभ स्ट्रीमिड्डमा ल्याएर, झपारेर, थर्काएर, धम्काएर भएपनी माफी मगाएका छन्, कारबाही दिलाएका छन् । रुदैँ स्टुडीयो पसेका महिलालाई न्याय टप्प थमाईदिएका छन् । ईशाले मुख फोरिन, “म संग डिभोर्स गरेकै बेला निकिता पौडेलसंग ईङ्गेजमेन्ट गरेको छ ।” केही आत्तीएको भावमा उनले बोलीन सायद अब केही दिनमा बिहे गर्छ होला, उस्ले बिहे गरोस् मेरो कुनै गुनासो रहेन तर मलाई २५ बर्षसम्म किन चिटिङ गरिरह्यो । दुई दुई वटी छोरीको भविष्यमाथी खेल्यो किन खेल्यो ।” निकिता पौडेल अर्थात चलचित्र विकास बोर्डकी अध्यक्ष, उनका वुवा उद्धव पौडेल गोपिकृष्ण हलका मालिक । निकिता संगको बिहेको कुरामा ईशाको यती जोड थियो कि उनी बबार्द भएर रविले यता अर्को लगनगाँठो पार्दैछन् जुन उनका लागि पिडादायक थियो । रविबाट आफुलाई अन्याय भएको भनीरहेकी ईशाले थपिन, “तपाईहरुलाई थाहा छैन, रविको असली रुप २५ बर्षसम्म मैले भोगेको छु ।” रविले अहिले गरिरहेको काम र उनको लोकप्रियताबारे जानकार ईशाले आफुलाई गरेको अन्यायबारे दुनियाले थाहा पाउनुपर्ने बताउदै थिईन् ।” “रविले म संग गेम रच्यो रु म संग खेल्यो, मैले उसका लागि गरेको कुनै अर्थ नै भएन् ।” ईशाले बोलीरहिन्, “रविले आफ्नो परिवारलाई रुवाएर दुनियालाई भाषण दिएर हिँडेको छ ।” ईशा र माईतीमा टर्चर “रविले पैसा दिएर मलाई डिभोर्सका लागि दवाव दिएको हो ।” केही महिनाअघिमात्र आफै डिभोर्स पेपरमा साईन गरेर जानुभएको होईन भन्ने प्रश्नमा उनको जवाफ । “तिमिहरुको ममिले डिभोर्स नदिए अमेरीकाको सबै घर मै लिन्छु, अनी तिमिहरुको बिजोग हुन्छ भनेर छोरीहरुलाई धम्कायो ।” उनले भनिन्, त्यसपछि मैले छोरीहरुको मुख हेरेर, उनीहरुको भविष्य सम्झेर मेरा खुसी डिभोर्स पेपरमा बन्धक राखेँ ।” ईशासंग केहीदिनदेखी उनको समस्या र पिडाबारे कुरा चलीरहेको थियो । लेख लेख्नु अघिल्लो रात ईशाले माईतीमा रविले टर्चर दिन थालेकोे सुनाईन । “मेरो दाईलाई र परिवारलाई टर्चर दिएको छ, मैले मिडियामा बोल्न थालेँ भनेर ।” “न्युज नछाप्न भन्दै दाईले अहिले को को लाई फोन गर्दै बस्नुभएको छ ।” उनले भनिन् । उनले रवि र आफ्नो छोडपत्र गराउन चलचित्र बोर्डकी अध्यक्ष निकिता पौडेल, विज्ञापन व्यवसायी निर्मल पौडेल र रविका सहयोगी दिपक बोहोर हात धोएर लागेको बताईन् । “मलाई रातदिन च्याटमा रविलाई छाडि दे रविलाई छाडिदे भन्नेहरु यी नै हुन् ।” निकिता र दिपकतर्फ संकेत गर्दै उनले भनीन्, “उनीहरुले पनि पैसामा मलाई पन्छाउन लागि परेका हुन् ।” रविले आज स्टाटस लेख्दै यस्तो प्रतिक्रिया दिएका छन्– श्रीमान्, म जीउँदै छु  ! नचाहँदा नचाहदैपनि आफ्नो ब्यक्तीगत कुरा गर्नु पर्यो। मलाई पाईलै पिच्छे लडाउन,देश बाटै निकाला गर्ने लगायतका प्रयास बिफल भएपछि अब मेरो निजि जिवनमा प्रवेश गर्ने प्रयास हुदै रहेछ। लामो समय सम्म बैचारिक लडाइ लड्दै अलग अलग बसेको र पछी कानुनी रुपमा नै अलग भएको मेरो बैवाहिक सम्बन्धलाई लिएर ठुलै खोजी चालिरहेको थाहा पाएपछि बाध्य भएर आफ्नो नितान्त निजि जीवन बारे लेख्न बाध्य भएको छु। मेरी पुर्व पत्नीलाई प्रयोग गरि मेरो वास्तविक रुप अर्कै हो भन्ने प्रमाणीत गर्न दिन रात लाग्नु हुने साथीहरुलाई मैले पहिलापनि भनेकै थिए कि टाईम खर्च गर्नै पर्दैन, सिधै मलाई सोध्नुहोस, मै बताईदिन्छु सबै कुरा। मलाई खोक्रो आदर्श र झुठो जिन्दगी बाच्नु छैन र म त्यति आदर्शवान मानिसपनि होइन। मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा बिवाह गरेको थिए र हालसालै मेरो सम्बन्ध बिच्छेदपनि भैसकेको छ। तर बर्षौ सम्म मतभेद, अलग बसाइ र बोलचाल समेत नभएपछि राजी खुशीले आफ्ना सबै अधिकार लिएर म सङ सम्बन्ध बिच्छेद गरेकी पुर्व पत्निले आफू म बाट अन्यायमा परेको र मेरो कर्तुत सर्वजनिक गर्नु पर्यो भनेर केही पत्रकारलाई सम्झिछ्न । लगभग २४ वर्ष अघि भएको बिवाहमा आएका अनेकौं घुम्तीलाई बजारमा लिलाम गर्ने उनको मनशाय आफ्नै मगजको उपज हो वा कसैबाट प्रयोजित हो त्यो म जन्दिन तर कसै कसैले “रबिको कर्तुत” वा “रबिको असलीरुप” जस्ता शीर्षक “रेडि टु पब्लिस” अवस्थामा राखेको थाहा पाएकोले उहाँहरु सबैको काम सजिलो पार्दै म आफै आफ्ना कर्तुतहरु कबुल गर्दैछु। अमेरिका मै छदा म परिवार भन्दा अलग बस्ने गर्थे।सम्बन्ध सुधार गर्ने मेरो बारम्बारको प्रयास असफल भएपछि म एक बिदेशी प्रेमिका सङपनि बसेको थिए ।६र७ वर्ष पुरानो यो घटनाको कारण उजागर गरेर म मेरा सन्तानको प्रतिष्ठामा ठेस पुर्याउन चाहन्न। मलाई त ब्यक्तीगत बिषयमा एक शब्दपनि बोल्न मन थिएन। र सम्भावत यो मेरो जिवनको पहिलो र अन्तिम स्तरहिन टिप्पणी वा क्तबतगक हुनेछ। हेडलाईन नै हेरेर धारणा बनाउनेहरुले मलाई एक मिनेटमा नै ठुलै अपराधी बनाउनेछन। मान्छे दुनियाँसङ लड्न सक्छ तर आफन्त सङ सक्दैन । अमेरिका मै रहदा अलग बसेका हामी बिगत १० वर्ष देखि नै अलग छौ । कारण र घट्ना एउटा होइन अनेक छ्न।जति छ्न ती अत्यन्तै लाज मर्दा छन । ती बिदेशी मुलकी पुर्व प्रेमिका र मेरो बिचमा एक सन्तानपनि छ। यत्त्ति कुरा थाहा पाएर बाहिर ल्याउन न्वारन देखिको बल लाउनै पर्दैन। तर उनको र मेरो बाटो अलग भएको धेरै वर्ष भैसक्यो।हाम्रो सम्बब्ध लामो समय टिकेन। सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुदैन रहेछ। दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिन होला र।तर उनले हेर्दा मैले र मैले हेर्दा उनले बारम्बार आफ्नो त्यही गल्तीलाई निरन्तरता दियौ जुन गल्तीले सारा घटनाहरु घटे र हाम्रो बिवाह भएको वर्षहरु त बढे तर सम्बन्ध कहिलेपनि अघि बढेन। ज्यादै अप्रिय बिगतलाई टुंगोमा पुर्याउने अन्तिम उपाय कानुनी उपचार नै हो र हामिले वर्षौको अशान्ति र असन्तोषलाई सहमति मै टुंगोमा पुर्यायौ, परिवारका सदस्यको उपस्थितिमा, कानुन ब्यवसायीहरुको मद्दतमा, उनले भनेका हरेक शर्तहरुको पुरै पालना गरेर। ईजलासमा प्रस्तुत सम्बन्ध बिच्छेदको मिलापत्र हेर्दै न्यायाधीश श्रीमानले सोध्नुभयो, सबै कुरा आफ्नी श्रीमतीलाई दिनु भएछ, सन्तानको जिम्मापनि आफैले लिनु भएछ, अमेरिकामा उहाँहरु बस्ने घर र उहाँहरुको खर्चपनि तपाईं कै जिम्मामा लगाईएछ। अब तपाईं सङ के बाकी छ तरु मैले जवाफ दिएको थिए, श्रीमान म जीउँदै छु। कुनै पत्रकारलाई म्यासेज मार्फत मेरि पुर्व पत्निले मलाई परिवारलाई रुवाएर भागेर नेपाल गएको भनेर लेखिएको र मेरो वास्तविक रुप देखीए जस्तो नभएको भनी लेखेर पठाएको थाहा पाए। बिहानै देखि केही पत्रकारहरुको फोन आउन शुरु भएको छ। उनको म्यासेज कुनैपनि समयमा सार्वजनिक हुने क्रममा छ। जिवनमा भएका घटनाहरु मात्र बताएर अतीतका कथा कहाँ पूरा हुन्छ्न र । अनेकौ घटना बिच २४ वर्ष बितेका हुन जसलाई खोतल्दा सन्तानको मानसिकतामा असर गर्दछ। पछिल्ला वर्षहरुमा पुर्व पत्नी सङ बोल चाल समेत नभएको अवस्थामा मैले एक्लै बस्ने वा उठेर फेरि हिड्ने भन्ने निर्णय गर्नु नै थियो। बाहिर को वाह वाही तर घर भित्रको एक्लोपनले म कयौ पटक बिरामी परे र झण्डै डिप्रेशन को शिकार नै भएको थिए। माया र बिश्वास बर्षौ सम्म मरेको सम्बन्धलाई सहमतिमा र अदालतबाटै टुंगो लगाएर गए पछि उनलाई मैले छ्ल गरेको कसरी लागेछ,म बुझ्न सकिरहेको छैन। अब मसङ बाकी रहेको थोरै नाम र इज्जत छ। त्यस्मापनि आँखा लागेछ। त्यसैले,आज त्यो पनि दिन चाहन्छु। मेरो “नकाब” उतार्न र आफ्ना कर्तुतहरु सर्वजनिक गरि मलाई सिध्याउन लागि पर्ने मित्रहरूलाई र पुर्व पत्नीलाई म आफै खुलेर सहयोग गर्न चाहन्छु। मन परेको हेडलाईन हालेर स्वाद अनुसारको मसला मोलेर पस्क्नुहोला। यति मै मेरा कर्तुतहरु सकिदैनन, बाकी सुन्न रिपोर्टर खटाउनै पर्दैन मै खुलासा गरिदिउला। दुर्गममा परिवारको बिचल्ली पारेर मानिस युरोप अमेरिका भागेका छन, मैले आफ्नी पुर्व पत्नी सहित, आफ्ना सन्तानलाई अमेरिका जस्तो देशमा (उनिहरु नेपाल आउन नमानेपछी) आफू नेपाल बसेर,सम्पुर्ण आफ्नो जायजेथा सुम्पेर,अझै अमेरिका बस्दाको पुरै ब्यवस्थापन यतिबेला सम्मपनि गर्दै आएको छु। अदालतमा न्यायाधीशका सामुन्ने राजी खुशीले, म सङ भएको र शायद भविष्यमा समेत हुन सक्ने सबै लिएर आफ्ना वकिल र उनका आफ्ना परिवारका सदस्यको रहोबरमा सम्बन्ध बिच्छेद गरेर अमेरिका गएकी उनलाई के अन्याय भो मैले बुझिन । अब म बर्षौको एक्लो जीवन र असफल सम्बन्धहरुबाट पाठ सिक्दै अघि बड्न चाहन्छु । कसैमाथी अन्याय नगरी म आफू माथीपनि न्याय गर्न चाहन्छु । म भागेको छैन,प्रत्यक मंगलबार बिहिवार र शनिबार राति ८ः४५ मा news 24 टेलिभिजनमा प्रत्यक्ष आउछु । भोलि रातिपनि आउदैछु। सदाझै उहीँ जोश, उहीँ उमंगका साथ। श्रीमान, म जीउँदै छु।

चिरिबाबुले ‘बुढेसकालमा बाग्मतीमा हाम फाल्न पाए हुन्थ्यो’ भनेपछि ओलीको यस्तो टिप्पणी

काठमाडौं, ‘अब बुढेसकालमा भएपनि यो बाग्मतीमा एकचोटी हाम फाल्न मन छ ।” ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले माइकमा यसो भन्दा मञ्चमा बसेका प्रधानमन्त्री मज्जैले हाँसे । सहभागी नहाँस्ने त कुरै थिएन । कुरा हाम फाल्ने थियो तर यता चौतर्फी हाँसो । चिरिबाबु खानेपानी मन्त्रालय अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयद्वारा आयोजित पानी प्रशोधन केन्द्रको उद्घाटन समारोहमा बोल्दै थिए । प्रसंग थियो प्रशोधन केन्द्र निर्माणको । चिरिबाबुले बाल्यकालल स्मरण गर्दै बाग्मतीमा कुनै बेला पौडी खेल्न तछाडमछाड हुने गरेको बताउँदै हाम फाल्ने कुरा गरेका थिए । “म सानो छँदा स्कूलमा हाफ टाइम हुनेबित्तिकै या छुट्टी हुने बित्तिकै यही खोलामा आएर पौडी खेलिन्थ्यो । अनि तिर्खा लागे त्यही खोलाको पानी पनि कति चोटी खाइयो ।” चिरिबाबुले भने, “तर अहिले पुल तर्दा समेत नाक थुन्नुपर्ने अवस्था छ । तर गर्यौं भने नहुने केही छैन । मलाई यो बुढेसकालमा भएपनि एकचोटी बाग्मतीमा हाम फाल्न मन छ ।” चिरिबाबुले राजधानी उपत्यकाका नदीहरु फोहोर भएकोमा चिन्ता व्यक्त गर्दै नदीहरु सफा गर्न महानगर र सरकार सबैले गम्भीररुपमा लाग्नुपर्ने बताए । चिरिबाबुपछि कार्यक्रमको अन्तिममा प्रधानमन्त्री केपी ओलीको पालो थियो सम्बोधनको । प्रधानमन्त्रीले चिरिबाबुको प्रसंगलाई किन छोड्थे र ? उनले भनिहाले, ‘अघि चिरिबाबुले हाम फाल्ने भन्नुभयो, अब बाग्मती हाम फाल्ने, पौडिने, लुगा धुने, नुहाउने बन्छ । तर पानी चाहिँ नखानु होला नि ?’ फेरी हाँसो । चिरिबाबु मुस्कुराए ओलीका शब्द सुन्दै । “हैन, खान पनि हुन्छ, हामी त्यति सफा गर्छौ ।’ प्रमले प्रसंग अगाडि बढाए, “तर खोलाको पानी खान योग्य नै भने हुँदैन । तर पौडी खेल्नुहोला मज्जाले ।” प्रधानमन्त्रीले प्रकृतिले हरेक विकारलाई प्रशोधन गर्ने आफ्नै प्रणाली विकास गरेपनि मानिसले प्रकृतिको चक्रमा आक्रमण गर्दा त्यसले प्रदुषण निम्त्याएको बताए । नेपालका सबै नदीहरु स्वच्छ र सफा राख्न सरकार प्रतिबद्ध भएको उनको जिकिर थियो ।

त्यानमेन चोकमा घुमघामः माओको अगाडि घोक्रेठ्याक

कृष्ण बजगाई । बेइजिङको मुटुमा रहेको मिन्जु होटेलबाट बाहिर निस्कियौं । कोलाहालयुक्त सडक हाम्रो अगाडि थियो । गाडीभन्दा साइकलको भिड, साइकलभन्दा मान्छेको भिडले निसासिएको थियो सडक । सैनिक जवान जस्ता अनुसाशित साइकल चालकहरू थिए सडकमा । मानौं ती कुनै साइकल दौड प्रतियोगितामा भाग लिइरहेका छन् । न त गाडीका चर्का हर्न न त साइकलको टिङ टिङ घन्टी ! शान्त नदी जस्तै सलल बगिरहेका गाडी र साइकलको ताँतीलाई एक छिनसम्म हेरिरहेँ । सडकका पेटीमा हामीले पाइला राख्यौं । दुवै पट्टिका पेटीमा मानिसहरूको भिड पनि उस्तै थियो । हामी पनि त्यही हुलमा मिसिएर अगाडि बढ्यौं । ‘हामो गन्तव्य त्यानमेन चोक । अध्यक्ष माओको स्मृति भवन र वरपरका अरु ऐतिहासिक भवन हेर्ने कार्यक्रम ।’ यु फुङ दाइले अघिल्लो दिन नै कार्यक्रमको रूपरेखा सुनाउनु भएको थियो । यु फुङ दाइ चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली विभागका पूर्व निर्देशक हुनु हुन्थ्यो । चिन यात्रामा उहाँ मेरो दोभासेका रूपमा हुनु हुन्थ्यो । उहाँ विद्वान् पत्रकार, रेडियोमा मिठो भाषामा नेपाली कार्यक्रम चलाउने प्रस्तोता, समाचार वाचक र सम्पादक । बहुआयामिक व्यक्तित्वलाई दोभासेको रूपमा पाउँदा म गौरवान्वित भएँ । उहाँ मेरो दोभासे भन्ने कुरा बुझेपछि हामी बेइजिङबाट छन्दु जाने जहाजमा बस्यौं अनि मैले उमेरमा मभन्दा निकै जेठा हुनुको फाइदा समेत उठाएँ । त्यसपछि यात्राभर हाम्रो सम्बन्ध दाजुभाइकै रूपमा रह्यो । ‘त्यानमेन चोक हामी बसेको होटेलबाट कति पनि टाढा छैन । पैदलै हिँडेर जाने हो भने करिब पन्ध–बिस मिनेट जति लाग्छ । के गरौं ?’ उहाँले प्रश्न गर्दा मेरो मनकै कुरो सोधे जस्तो लाग्यो । गाडीमा गए मिलिक्कै पुगिन्थ्यो । हिँड्दै गए बाटामा चिनका वास्तविक तस्बिरहरू देख्न पाइन्छ र रमाइलो पनि हुन्छ । त्यसैले पैदलै जाने कुरामा मैले सहमति जनाएको थिएँ । पारिलो घाम लागेको थियो । सडकका दुवै किनाराका हरियालीहरूखुसीयाली मनाइरहेका थिए । फक्रेर हाँसिरहेका फूलहरूले बाटामा सुन्दरता थपेका थिए । सडक पेटीमा हिँडिरहेकी चिनियाँ सुन्दरीहरूलाई त्यही फूल टिपेर दिऊँ दिऊँ लाग्ने मादक वातावरण थियो । अत्यन्त सफा थिए सडक । यस्तो लाग्दथ्यो कि ती फूल र सुन्दरीहरूलाई मैल्याउँछ भनेरै सफा राखिएको होला सडक । त्यत्रा मानव सागरको चलायमान भिड ! कसरी सुरक्षित रहेका होलान् ती कुमारी फूलहरू सडकमा ? पूmलले सिँगारिएको सडक पेटीबाट हिडिरहँदा यु फुङ दाइलाई जिस्क्याउँदै भनेँ– ‘पूmलहरूबाट वासना त आएको छैन नि ! यी फूलहरू प्लास्टिकका हुन् कि साँच्चैका ?’ ‘प्रकृतिको निरन्तरता बेइजिङको सडकमा सधैँ देख्न पाइन्छ ।’ उहाँले कूटनैतिक जवाफ दिनु भयो । ‘यत्राविधि यी फूलहरू मेरै स्वागतका लागि त होलान् नि ?’ पन्ध–बिस मिनेटको यात्रालाई रमाइलो बनाउने मुडमा थिएँ । दाइलाई फेरि जिस्क्याएँ । उहाँले लामै हाँसो छाडनु भयो र भन्नु भयो– ‘यो सबै अक्टोबरमा पर्ने चिनको राष्ट्रिय दिवशको तयारी हो ।’ म सन् १९९४ सेप्टम्बरको अन्तिम सातामा बेइिजिङमा थिएँ । चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको दुई साताको निमन्त्रणा भ्रमणमध्येको तिब्बतको एक साताको भ्रमण भर्खरै सकेर बेइजिङको सडकमा पाइला चाल्दै थिएँ ।अन्ततः मेरा हरेक जिज्ञासालाई शान्त पार्दै यु फुङ दाइले विशाल ठुलो चोकमा ल्याइपुर्याउनु भयो । चारैतिर चिनयाँ र विदेशी पर्यटकको भिड थियो । ‘अब हामी त्यानमेन चोक आइपुग्यौं’ –यु फुङ दाइले भन्नु भयो । म संसारको सबैभन्दाठुलो तथा फराकिलो चोकमा पाइला टेक्दै थिएँ । त्यस चोकमा एकै पटकमा एक करोड मान्छे अटाउन सक्छन् रे । अहो ! कत्रो फराकिलो चोक ! आजभन्दा तिन सय पचास वर्ष अगाडि बनाइएको रहेछ त्यो चोक । उतिखेरै यति धेरै मानिसहरू अटाउने हिसाबले यत्रो ठुलो चोक बनाएछन् ? भविष्यमा हुने जनसङ्ख्या वृद्धिका बारेमा चिनियाँहरू पहिलेदेखि नै सचेत रहेको कुरा अनुमान गरेँ । उसो त त्यहाँका हरेक चोक, सडक, भवन, ट्रेन स्टेसन लगायत सबै ‘एक्स्ट्रा एक्स्ट्रा लार्ज’ साइजका देखिन्थे । यस्ता निर्माण कार्यलाई सरकारको दूरदर्शी योजनाको रूपमा बुझेँ । त्यानमेन चोकलाई चिनियाँहरूतीर्थस्थल नै मान्दा रहेछन् । गरिबी, शोषण र अत्याचारबाट चिनियाँ जनतालाई मुक्ति दिलाएर आधुनिक चिनको जग बसाल्ने प्रण त्यही चोकबाट भएको हो । त्यानमेन चोकमा उभिएर अध्यक्ष माओले सन् १९४९ अक्टोबरमा जनगणतन्त्र चिनको घोषणा गर्नुभएको थियो । त्यस चोकमा पाइला राख्न चिनियाँहरू लालायित हुँदा रहेछन् । ऐतिहासिक भवन र राज्यसत्ता सञ्चालनको मुख्यालय पनि वरिपरि भएकाले राजनैतिक रूपमा त्यस चोकको विशेष महत्त्व रहेको ठानेँ मैले । ‘त्यानमेन’ शब्दको नेपाली अनुवाद हुँदो रहेछ स्वर्गीय शान्तिको प्रवेश द्वार । चोकको पूर्वपट्टि अवस्थित एउटा प्रवेश द्वारको नामले नै यस चोकको नामाकरण भएको रहेछ । सो प्रवेश द्वारबाट चिनका पुराना सम्राट््को दरबार ‘फरविडन सिटी’ पुगिँदो रहेछ । प्रवेश द्वारमाथि माओको बडेमानको रङ्गीन तस्बिर राखिएको देखेँ । मलाई लाग्दछ माओको सबैभन्दा बढी छापिएको तथा वितरित तस्बिर त्यही होला । माओको ब्याच, रेड बुक र माओका पुस्तक आदिमा सोही फोटो नेपालमै प्रशस्त देखेको थिएँ । त्यसलाई पृष्ठभूमिमा पारेर फोटो खिचाउने साम्यवाद विरोधी पश्चिमाहरूको झुन्ड देख्दा छक्क परेँ । मलाई लाग्यो कम्युनिस्ट सिद्धान्त मन नपरे पनि माओको लोकप्रियता पश्चिमा मुलुकमा अझै पनि कायमै छ । मैले पनि त्यहाँ केही फोटा खिचेँ । त्यहाँबाट प्रवेश द्वारको दक्षिणतिर लाग्यौं । ढकमक्क फुलेका फूलले चोकको सौन्दर्यमा वृद्धि गरेको थियो । कहिल्यै नदेखिएका विभिन्न जातका फूलहरूले आकर्षित गर्यो मलाई । फूलको नजिकै पुगेँ । फूलमा सुन्दरता थियो तर वासना थिएन । फूलका सुवास गाडीको धुँवामा मिसिएर हराइरहेको थियो । अग्ला अग्ला पोलमा टाँगेका चिनको पाँचतारा अङ्कित राता झन्डाहरू फरफराइरहेका थिए । झन्डाकै छेउमा लस्करै राखिएका पानीका फोहराहरूका जलनृत्यमा एक छिन आँखा रमाए । अक्कासिँदै जाने पानीका फोहराले ती राता झन्डालाई स्पर्श गर्न खोज्ने असफल प्रयास केही बेर हेरेँ । त्यहाँको सुन्दरताले निक्कै बेर अलमल्यायो मलाई । यु फुङ दाइले भन्नु भए अनुसार हरेक बिहान सूर्य उदाउनुभन्दा अगि त्यहाँ विशेष कार्यक्रम हुन्छ । त्यो कार्यक्रम पर्यटकहरूको प्रमुख आकर्षण हुँदो रहेछ । सैनिक टुकडीको सलामी सहित हरेक बिहान सूर्योदयभन्दा अगाडि राष्ट्रिय झन्डा माथि उठाइँदो रहेछ । हरेक ठाउँमा चिनियाँहरूको देशभक्ति र राष्ट्रप्रेम जगाउने कार्यक्रम देख्दा चिन राष्ट्रवादीहरूको देश रहेछ भन्ने लाग्यो । त्यही चोकमा उभिएरै सम्झिएँ पनि–‘हामो देशका विदेशी भक्त केही दलाल नेताहरू र बिकाउ कर्मचारी तन्त्र । अनि कहाँबाट बन्छ त देश?’ पराया मुलुकबाट आफनो देशबारे नराम्रो देख्नु र सोच्नुपर्दा अमिलो मन भयो । त्यहाँबाट निस्केर हामी चोकको दक्षिणपट्टि पुग्यौं । ‘ग्रेट हल अफ द पिपुल्स’ हाम्रो नजिक थियो । त्यहाँ दस हजार मानिस अटाउने क्षमता भएको एउटा विशाल हल रहेछ । अर्को हलमा त पाँच हजारवटा सिट नै रहेछन् । चिनयाँ जन कङ्ग्रेसको भेला त्यहीँ हुँदोरहेछ । चिनको राजनैतिक तथा कूटनैतिक गतिविधि सञ्चालन त्यहीँबाट गरिँदो रहेछ । विश्व राजनीतिको ध्यान तान्ने उक्त भवन हेरिसकेपछि हामी फेरि त्यानमेन चोकमा आयौं । त्यानमेन चोकमा जति वेला पनि चिनियाँ तथा विदेशी पर्यटकको भिड हुँदो रहेछ । थकाइ मार्न त्यस चोकमा एक छिन बसेर हामीले चिनको संस्कृतिका बारेमा कुराकानी गर्यौं । गफ सँगसँगै मेरा नयन चलायमान थिए । झलक्क हेर्दा हामीले उस्तै देख्ने चिनियाँहरूको विविध भेषभूषा, अनुहार र जीवन शैलीको भिन्नता त्यहाँ देखेँ । चिनका विभिन्न प्रान्तका विविध जातिका मानिसहरू र तिनका पहिरनको विविधता देख्दा थाहा लाग्यो नेपाल जस्तै विशाल चिन पनि विभिन्न जातजातिको सुन्दर फूलबारी रहेछ । जुँगा पालेको एक युवा मलाई देखेर मुस्कुरायो । नेपाली नै होला भनेर मैले पनि मुस्कानबाटै जबाफ फर्काएँ । उसले चिनियाँ भाषामा कुरा गरेपछि म अक्क न बक्क भएँ । अङ्ग्रेजी भाषामा के भन्नु भएको हो भनेर सोधेँ । फेरि चिनियाँ भाषामै केही भन्यो । त्यसपछि हाँस्दै यु फुङ दाइले दोभासे भएर संवाद गराइदिनु भयो । त्यो मान्छे त चिनियाँ पो रहेछ ! उसले मेरो जुँगा देखेर उसैको प्रान्तको चिनियाँ ठानेको रहेछ । म पनि झुक्किएर नेपालको पहाडी क्षेत्रमा बसोबास गर्ने आर्य मूलको मानिस सम्झेको थिएँ । चिनको भ्रमणमा पहिलो पटक हो जुँगा पालेको चिनियाँ भेटेको । उसो त चिनियाँहरूको दाह«ी जुँगा हुँदैन त भन्न मिल्दैन तर हुनेमा पनि साह्रै कमले मात्र दाह्री जुँगा पाल्दछन् । समय लिएर सुरु गर्ने हो भने तिनका दाह्रीजुँगा गन्न पनि सकिन्छ । तर, त्यो मानिसको चेहराको बनौट तथा जुँगा दाह्री हाम्रै जस्तो थियो । मैले यु फुङ दाइसँग ठट्टा गर्दै भनेँ –‘पक्कै पनि त्यो चिनियाँ नेपाली कलाकार अरनिको अर्थात् बलवाहुको सन्तान हुनु पर्दछ ।’ त्यसपछि उहाँ खुब हास्नु भयो । चोकमा आएदेखिनै चारैतिर स्पिकरबाट गीत बजेको सुनिरहेको थिएँ । पहिलेदेखि नै मलाई खुलदुली भइरहेको थियो । यु फुङ दाइलाई सोधँे ‘मधुर आवाजमा यो कुन खालको गीत बजिरहेको छ दाइ ?’ ‘यो देशभक्ति गीत हो’ –उहाँले जवाफ दिनु भयो । चिनियाँहरूको देशभक्ति जतातै पोखिएको र गुन्जिएको थाहा पाएर खुसी लाग्यो । तर मेरो मन एकै छिन नेपाल पुगेर दुःखी भयो । उता नेपालमा सरकारी टेलिभिजन र रेडियोले हिन्दी र अङ्ग्रेजी गीत बजाएर सरकारको पैसा नास गरिरहेको सबैलाई थाहा छ । सरकार हाँक्नेले देश कता लैजादै छन्? सरकारको चाला सम्झेर एक छिन मुरमुरिएँ पनि । हामी बिस्तारै चोकको मध्यभागमा आइसकेका थियौं । त्यानमेन चोकमा सन् १९८९ भएको राजनैतिक प्रदर्शन तथा त्यहाँ भएको घटनाका बारेमा अलिकति कुरा कोट्याएँ । त्यो घटना भएलगत्तै नेपालबाट तत्कालीन नेपाल पत्रकार महासङ्घका सभापति मञ्जुरत्न शाक्य आउनु भएको रहेछ । यु फुङ दाइ नै उहाँको पनि दोभासे हुनुहुँदो रहेछ । त्यस घटनाका बारेमा उहाँले निकै सोधीखोजी गर्नुभएको थियो रे । घटना भर्खरै घटेको, त्यो पनि विदेशी पत्रकारलाई एउटा सरकारी पत्रकारले भन्नुपर्दा डराउनु भयो रे । ‘अफ दि रेकर्ड’ भन्दै उहाँले मसँग चाहिँ खुलेर कुरा गर्नुभयो । उहाँलाई मेरो दोभासेभन्दा पनि नजिकको दाइकारूपमा मानिसकेको थिएँ । हामी दुवै जना ल्हासा, सिगात्से, छन्दु र बेइजिङको भ्रमणमा सँगसँगै घुमेका र सँगै बसेका थियौं । त्योभन्दा पनि पहिले नेपालमै उहाँसँग चिनजान थियो । दोभासे भएर बताउन नमिल्ने कतिपय कुरा दाइको नाताले भन्नु भयो । मैले त्यस घटनाका बारेमा प्रकाशमा नआएका धेरै कुरा थाहा पाएँ । त्यानमेन चोकमा निकै अगिदेखि परैबाट एउटा अग्लो स्तम्भ देखिरहको थिएँ । बल्ल त्यसको हेर्ने पालो आयो । करिब चालिस मिटर अग्लो जननायकहरूको स्मारक सगौरव त्यानमेन चोकमा उभिएको थियो । त्यस स्तम्भमा राखिएको शिलामा अध्यक्ष माओले आफैले कुँदेका हरफहरू रहेछन् । ‘जननायकहरू अमर रहन्छन् ।’ माओले कुँदेका वाक्य यु फुङ दाइले अनुवाद गरेर सुनाउनु भयो । त्यो अनुवाद सुनेपछि मनमा एकखालको तरङ्ग पैदा भयो । माओले आफैं लेख्नु भएको सो वाक्य धेरै शक्तिशाली र मन छुने खालको थियो । चिनियाँ क्रान्तिका योद्धाहरूरुलाई क्रान्ति नायकबाट कति धेरै उच्च सम्मान मिलेको रहेछ त भन्ने कुरा प्रस्ट रूपमा देखेँ । क्रान्ति नायक हुनु त यस्ता ! त्यसको छेउमा एउटा अग्लो भवन थियो । ‘अध्यक्ष माओ स्मृति भवन’ यही हो भनेर यु फुङ दाइले जानकारी दिनु भयो । त्यानमेन चोकमा पर्यटकका लागि सबैभन्दा आकर्षणको केन्द्र भनेको नै माओ स्मृति भवन लाग्यो मलाई । त्यस भवनभित्र चिनियाँकम्युनिस्ट पार्टीको अध्यक्ष माओको पार्थिव शरीर सुरक्षित तवरले राखिएको थियो । त्यो हेर्नलाई सयौं मिटर लामो लाइन लाग्नु पर्ने रहेछ । हामी पनि लाइनमा बस्यौं । क्यामरा लैजान नपाइने, ठुलो स्वरले बोल्न नपाइने आदि कडा नियम बाहिरै सुनाइएको थियो । सम्पूर्ण शरीरको जाँच गरेपछि मात्र भित्र पस्न पाइयो । जिउँदो मान्छेको भन्दा पनि बढी कडा सुरक्षा व्यवस्था देखेर अचम्म लाग्यो । उनको पार्थिव शरीरलाई सेनाले चारैतिरबाट चौबिसै घण्टा पहरा दिएको हुँदो रहेछ । एउटा जिउँदो राष्ट्र प्रमुखलाई भन्दा पनि बढी सुरक्षा ! कस्तो कडा पहरा भने सिधा आँखाले टक्क अडिएर पार्थिव शरीर हेर्नैं नदिने; हिँड्दै हेर्नुपर्ने । मृत शरीरलाई हेर्न पनि के यस्तो कडा नियम ?चिनियाँ जनताका प्रिय नायकलाई उनको जीवन कालमा भेट्न चाहँदा पनि यति कडा सुरक्षा थिएन । त्यस्तो कडा नियम मलाई चित्त बुझेन । नबुझेर के गर्नू ? चुपचाप यु फुङ दाइसँगै लाइनमा बसिरहेँ । लाइनमा बसेका मानिसहरू कछुवाको गतिमा अगाडि सरिरहेका थिए । करिब एक घण्टा जतिमा बल्ल पालो आयो । बिस्तारै हामी माओको पार्थिवशरीर राखेको कोठा भित्र पुग्यौं । नजिकैबाट माओको पार्थिवशरीर देखियो । उनको पार्थिव शरीरलाई एउटा सिसाको बाकसभित्र राखिएको थियो । सिसा जस्तो देखिए पनि त्यो वास्तवमा त्यो सिसा नभएर क्रिस्टल रहेछ । उनको पार्थिव शरीरमाथि कम्युनिस्ट पार्टीको हँसिया हथौडा अङ्कित झन्डा ओढाइएको थियो । झट्ट हेर्दा चिर निद्रामा सुतेका कुनैवेला उठी पो हाल्छन् कि जस्तो लाग्यो । उनको मुखाकृतिमा खुसीको लहर दौडिरहेको देखँे । सायद मरणको समयमा उनलाई कुनै असन्तोष वा पीडा भएन होला । र त, त्यस्तो हँसिलो अनुहार छ । मलाई यस्तै अनुभूति भयो ।   हामीभन्दा अगाडिका एक जना चिनियाँ युवा माओको पार्थिवशरीरअगाडि पुगेपछि बडो भावविह्वल भए । सुँक्कसुँक्क गर्दै उनको आँखाबाट आँसुका धारा चुहिन थाल्यो र माओलाई एकटक लगाएर हेर्न थाले । मलाई लाग्दछ उनले त्यहाँको नियम बिर्से । पहरा दिइरहेको सैनिकले ठुलो स्वरमा चिनियाँ भाषामा केही भन्यो र तुरुन्तै उनलाई घोक्र्याएर निकाल्यो । माओको ठिक सामुन्ने पुगेर उनलाई धित मरुन्जेल हेर्ने मेरो इच्छा थियो तर त्यहाँको कडा नियम प्रत्यक्ष रूपमा देखेर डराएँ । मेरा हात खुट्टा लुला भए । आँखीभौँ तल दोब्रिए । घोक्र्याइमा परिने पो हो कि भन्ने डर भयो । हतार हतारमा अध्यक्ष माओलाई श्रद्धासुमन अर्पण गरेर फुत्त बाहिर निस्किहालेँ । समकालीन साहित्यबाट साभार

यी हुन् सन् २०१८ का महत्वपूर्ण परिघट्ना (तस्बिर सहित)

काठमाण्डौ, पुस १६ । आज वर्ष २०१८ को अन्तिम दिन । सधैँका वर्ष झैँ यस वर्ष पनि थुप्रै महत्वपूर्ण घटनाहरू भए, जुन लामो समयसम्म विश्व इतिहासको स्मरणमा रहने छन् । वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशहरूमा पनि विभिन्न त्यस्ता घटनाहरू भए । वर्षभरीका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा सधैँ झैँ राजनीतिक घटनाहरु नै बढी रहेका छन् । त्यस बाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाहरु पनि चर्चाको शिखरमा पुग्न सफल भएका छन् । यस बर्षका मुख्य केही घटनाहरुको यहाँ संक्षेपमा स्मरण गरिएको छ । १.इन्डोनेसियामा दुई हजारको ज्यान लिने भूकम्प यस बर्षको सम्भवतः सबैभन्दा ठूलो विनासकारी घटनाको रुपमा इन्डोनेसियाको भूकम्पलाई लिन सकिन्छ । सेप्टेम्बर २८ तारिखका दिन आएको ७.४ म्याग्नीच्युडको भूकम्पले दुई हजार भन्दा बढीको ज्यान लिएको छ भने झण्डै सात सय जना अझै पनि बेपत्ता छन् । सुलावेसीलाई केन्द्रबिन्दु बनाएर आएको यस भूकम्पमा परी १७ सय घाइते भएका थिए भने लाखौँको भौतिक संरचनामा क्षतिग्रस्त भएका थिए । २.अनपेक्षित ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएको दुई बर्ष बितिसक्दा पनि राष्ट्रपतिका रुपमा अपेक्षित भन्दा पनि अनपेक्षित भूमिकाहरु धेरै देखाए । सञ्चार माध्यमहरु, आफ्नै मन्त्री र कर्मचारीहरुलाई पनि पूर्ण विश्वास कहिल्यै गरेनन् । उनले यो अवधिमा झण्डै डेढ दर्जन मन्त्री तथा मुख्य कर्मचारीहरुलाई बर्खास्त गरे भने अन्य देशहरुसँगको सम्बन्धमा पनि विश्वास बढाउन सकेनन् । उत्तर कोरियाका नेता किम जोङ उनसँगको वार्ता बाहेक उनको प्रशंसायोग्य भूमिका कमै भएको अधिकांशको ठम्याई छ । पछिल्लो समयमा केही ठाउँमा भएको निर्वाचनको नतिजा र मेक्सिको पर्खालको बजेट पारित नभएपछि कर्मचारी तलबबिहिन भएका घटनाले धक्का दिएको छ । ३.ब्रेजिक्टमै अल्झियो बेलायत युरोपेली संघसँग बाहिरिने निर्णय गरेको बेलायतले त्यसको प्रक्रियालाई टुङ्गोमा पुऱ्याउन निकै मेहेनत गर्नु परेको छ । प्रधानमन्त्री थेरेसा मेले नयाँ अन्तर्राष्ट्रिय सम्बन्धहरुमा धेरै ध्यान दिन भ्याइनन् भने ब्रेक्जिट मामिलामा दुई जना विदेश मन्त्रीसहित अन्य केही मन्त्री र वरिष्ठ अधिकारीहरुले समेत उनलाई साथ दिएनन् । सन् २०१६ को जुनमा भएको जनमत सङ्ग्रहमा ५२ प्रतिशत अर्थात् १ करोड ७४ लाख मतदाताले ब्रेक्जिटको पक्षमा मतदान गरेका थिए । ४८ प्रतिशत अर्थात् १ करोड ६१ लाख मतदाताले भने बेलायत (युरोपियन युनियन) इयूकै सदस्य हुनुपर्छ भन्ने मत दिएका थिए । साढे दुई बर्ष बितिसक्दा पनि इयू छाड्ने प्रक्रिया टुङ्गिन्छ भन्ने विश्वासमा नै अझै पनि अनिश्चितामा बेलायत छ । ४.उत्तर कोरिया र अमेरिकाको नाटकीय सम्बन्ध लामो समयदेखि एक अर्कालाई प्रमुख दुश्मन मान्ने उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा सन् २०१८ मा नाटकीय परिवर्तन भयो । एक अर्कालाई सिध्याउने चेतावनी दिएको केही महिनामै ती देशका नेताहरुले गत जुन १२ का दिन सिङ्गापुरमा भएको शिखर सम्मेलनको क्रममा एकअर्कालाई अङ्गालो हालेको भिडियो सार्वजनिक भएपछि विश्व समूदाय नै अचम्भित भएको छ । यो सम्भव बनाउने मुख्य श्रेय भने दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनलाई जान्छ । सम्बन्ध सामान्यीकरण गर्ने र कोरियाली द्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने अभियान सन् २०१९ मा पनि जारी राख्ने प्रतिबद्धता तीनै देशबाट व्यक्त भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमको दोस्रो शिखर बैठक सन् २०१९ को शुरुमै गर्ने तयारी हुँदैछ भने उत्तर कोरियाली नेता कीमले दक्षिण कोरियाको भ्रमण गर्ने योजना छ । ५.नेतृत्व त्याग्ने मार्केलको घोषणा  जर्मनीको सत्तारुढ दल क्रिश्चियन डेमोक्रेटिक पार्टीमा १८ बर्षदेखि एकछत्र नेतृत्व गरेकी चान्सलर एन्जेला मर्केलले यस वर्ष पार्टी नेतृत्वबाट बिदा लिएकी छिन् । यसलाई पनि एउटा महत्वपूर्ण घटनाको रुपमा लिइएको छ । मर्केलले चान्सलरका लागि आफूले चौथो कार्यकालको अन्त्यपछि उम्मेदवारी नदिने घोषणा गरिसकेकी छिन् । उनको चौथो कार्यकाल आगामी सन् २०२१ मा सकिने छ । ६.पुटिन चौथो कार्यकालका लागि निर्वाचित  रुसको राष्ट्रपतिका रुपमा भ्लादिमिर पुटिन यस बर्ष चौथो कार्यकालका लागि निर्वाचित हुनु अर्को चर्चाको विषय बन्यो । गत मार्च १८ मा भएको निर्वाचनबाट उहाँ अर्को ६ वर्षे कार्यकालका लागि राष्ट्रपति बनेकी हुन् । रुसमा एउटै व्यक्ति दुई कार्यकालमात्र राष्ट्रपति बन्न पाउने कानुनी प्रावधान रहेकाले पुटिन विगत १८ वर्षदेखि रुसमा राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा सत्तामा छन् । अहिले ६५ वर्ष पुगेका पुटिनको यो कार्यकाल सन् २०२४ सम्मको जोड्दा उनको शासन २५ वर्षको हुनेछ । ७.पत्रकार खशोग्जीको हत्या साउदी अरबका पत्रकार जमाल खशोग्जीको गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित महावाणिज्य दूतावास भएको हत्याको विषय लामो समयसम्म विश्वव्यापी चर्चामा रह्यो । दशकौँसम्म साउदी राजपरिवारको सल्लाहकार भएका तर पछि सम्बन्ध बिग्रेपछि अमेरिका बस्दै आएका खशोग्जीले अमेरिकी पत्रिका द वासिङ्टन पोस्टमार्फत् साउदी युवराज मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गर्दै आएका थिए । ८.अमेरिकी सेनाको फिर्ती सिरियामा तैनाथ दुई हजार अमेरिकी सेनालाई इस्लामिक स्टेट विरुद्धको युद्ध समाप्त भएको भन्दै डिसेम्बर १९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना फिर्ता लैजाने घोषणा गरे । तर, इराक र अफगानिस्तानमा रहेका अमेरिकी सेनाको फिर्ती कहिले हुन्छ भन्ने अन्यौल कायमै छ । ९.विश्वकप फुटबलको २१औँ सस्करण एक्काइसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो । फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । फ्रान्सले सुनको ट्रफिसँगै रु चार अर्ब १० करोड पुरस्कार प्राप्त गरेको छ । विश्वकप फुटबल २०१८ को कुल पुरस्कार राशी रु ४३ अर्ब रहेको थियो । एक महिनासम्म चलेको प्रतियोगितामा ३२ देशका ७३६ खेलाडी प्रतियोगितामा सहभागी थिए । क्रोएसियाका कप्तान लुका मोड्रिक फिफा विश्वकप २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । १०.श्रीलंकामा असफल सत्ता फेरबदल श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गत अक्टोबर २६ मा बहालवाला प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरी पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरेपछि झण्डै सात हप्ता राजनीतिक सङ्कट उत्पन्न भयो । बाहलवाला प्रधानमन्त्रीलाई बर्खास्त गर्ने र अर्को व्यक्तिलाई नियुक्त गर्ने उनको दुवै निर्णय अवैध भएको भन्दै अदालत र संसदले खारेज गरिदिएपछि अहिले फेरि पुरानै अवस्थामा पुगेको छ । अवैध कदम अहिलेको संसारमा टिक्न सक्दैन भन्ने सन्देश दिनेगरी टुङ्गिएको यो घटना यस वर्ष दक्षिण एसियामा चर्चामा रह्यो । ११. यमन युद्धबिराम  संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा यमनको होडेडामा हुथी विद्रोही र सरकारबीच डिसेम्बर १९ मा युद्धबिराम भएको छ । दश हजारभन्दा बढीको मृत्यु र लाखौं मानिस विस्थापित गराइसकेको यमन गृहयुद्धले मानवीय सङ्कट निम्त्याएको राष्ट्रसङ्घको भनाइ छ । १२. इरानी आणविक सम्झौताबाट अलग भए ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक सम्झौताप्रति इरानी सत्ता जवाफदेही नरहेको भन्दै मे ८ मा फिर्ता हुने तथा इरान विरुद्ध आर्थिक नाकाबन्दी लगाउने घोषणा गरे । अमेरिकाले प्यालेस्टिनीको विरोधका बाबजूद मे १४ मा इजरायलमा रहेको राजदूतावास जेरुसेलममा स्थानान्तरण गरेको थियो । त्यसैगरी जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन, मि–टु अभियान, अमेरिका र चीनको व्यापार युद्ध, सिरिया, यमन, अफगानिस्तान आदिमा जारी द्वन्द्व, पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज शरिफलाई छोरीसहित जेलमा राखिएको छ भने विश्वविश्यात क्रिकेट खेलाडी इमरान खानले सत्तारोहण गरेका छन् । मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले ९२ बर्षको उमेरमा फेरि देशको नेतृत्व सम्हालेका छन् भने पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारको आरोपमा काराबासमा छन् । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनालाई चौथो पटक कार्यकाल सम्हाल्दै गर्दा उनकी चिरप्रतिद्वन्द्वी खालिदा जियाले ७३ बर्षको उमेरमा अस्वस्थ अवस्थामा जेलभित्रै छटपटाइरहेकी छिन् । यस्तै उतारचढाबका बीच बर्ष २०१८ को विदाई र नयाँ बर्ष २०१९ को स्वागत गरिएको छ । रासस

यी नेपाली महिला हुन्, जो उद्यममा चम्किएका छन्

देशभरका उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा भवानी राणा छिन् । महासंघको नेतृत्वमा पुग्ने उनी नै पहिलो महिला हुन् । राणाजस्तै उद्यममा चम्केका महिला भने अरू पनि छन् । कसैले पाँचतारे होटेल चलाएका छन्, कोही विश्वका प्रिमियम ब्रान्ड हाँकिरहेका छन् । युवा महिलादेखि वृद्धासम्म उद्यममा चम्केका छन् । स्थापित हुन आफ्नै पौरख केही दशकअघिसम्म नेपाली सोच थियो– महिलाहरू व्यवसाय गर्न सक्दैनन्, घरधन्दामै ठीक छन् । तर, अहिले केही महिलाले समाजको त्यो सोच भत्काइदिएका छन् । चुलोचौकामा अल्झिएका आममहिलाका लागि एकाध महिलाको पौरख उदाहरण बन्यो । एकपछि अर्को गर्दै महिला सानो–ठूलो व्यवसायमा होमिए । कोही त देशमै नयाँ व्यवसायको ‘ट्रेन्ड सेटर’समेत बने । महिलासँग सम्बन्धित व्यवसायमा धेरै महिला उद्यमी रहे पनि निर्माणदेखि वित्तीय संस्थासम्म महिला नेतृत्व फैलिएको छ । ट्राभल एजेन्सीको सानो व्यवसायबाट काम थालेकी अम्बिका श्रेष्ठले द्वारिकाज होटेल स्थापित गरिन् । उनी नयाँ पुस्ताका महिलाका लागि पनि रोल मोडेल हुन् । शारदा रिजाल, श्वेता खड्का, छाया शर्मा, नीरा श्रेष्ठ, रीता भण्डारी, कमला श्रेष्ठ पनि आफ्नै पौरखले चम्केका उद्यमी हुन् । छोरी–बुहारीले सम्हाल्दै पारिवारिक बिरासत ठूला व्यावसायिक घरानामा पनि बाबुछोरा व्यवसाय सम्हाल्थे । छोरी–बुहारी घरधन्दामै हुन्थे । तर, अब यहाँ पनि परिस्थिति बदलिएको छ । ठूला घरानाका अर्बौँ लगानीका कम्पनी पनि छोरी–बुहारीले हाँक्न थालेका छन् । छोरीलाई विदेश पढ्न पठाएर दक्ष बनाउने, अनि स्वदेशमै फर्काएर कम्पनी जिम्मा लगाउने व्यावसायिक घराना धेरै छन् । गोल्छा अर्गनाइजेसनकी बुहारी सीमा र छोरी एकताले परिवारको बिरासत धानिरहेका छन् । चौधरी ग्रुपकी छोरी मेघा पनि बुबा वसन्तको उत्तराधिकारी भएर काम गरिरहेकी छिन् । भवानी राणा पारिवारिक व्यवसाय अँगाल्ने एक अग्रणी महिला हुन् । भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ राणा परिवारमा बिहे गरेर भित्रिएपछि भवानी राणा औपचारिक रूपमा बिजनेसमा जोडिइन् । होटेल, कृषि, ट्राभल, व्यापारलगायतमा सक्रिय छिन् । नेपाल उद्योग वाणिज्य महासंघको पहिलो अध्यक्ष महिलाको स्थान लिन सफल भइन् । श्रीमान् असितको व्यवसायमा भवानीले साथ दिइरहेकी छिन् । कतिपय व्यवसाय आफ्नै पहलमा सुरु गरेकी छिन् । नेपालगन्जमा ६० कोठाको तीनतारे होटेल छ । उनी भन्छिन्, ‘हामी हेल्थ प्रोडक्ट उत्पादनमा पनि गइरहेका छौँ ।’ उनी ट्याक्टरको व्यापारमा संलग्न छिन् । यस्तै, बर्दियाको ठाकुरद्वारमा होटेल खोल्ने तयारी भइरहेको बताइन् । रितुसिंह वैद्य, प्रबन्ध निर्देशक, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि रितुसिंह वैद्य, सन् १९९१ की मिस इन्डिया । नयाँदिल्लीमा जन्मिएकी रितु नेपालको प्रतिष्ठित व्यावसायिक घराना ‘वैद्यज अर्गनाइजेसन’को बिरासत थामेर बसिरहेकी छिन् । सन् १९९४ डिसेम्बरमा सुरज वैद्यकी श्रीमती बनेर भित्रिएकी रितु जापानिज टोयोटा ब्रान्डको प्रबर्द्धनमा खटिन्छिन् । नेपालमा प्रिमियम टोयोटा गाडी भित्रिएको ५० वर्ष पुगिसकेको छ । सुरज वैद्य लामो समय व्यवसायीको राजनीतिमा व्यस्त रहे । नेपाल उद्योग वाणिज्य महासंघ, सार्क चेम्बर अफ कमर्सको नेतृत्वमा रहे । दर्जनौं सामाजिक संस्थाको बोर्डमा छन् । अहिले उनलाई सरकारले भिजिट नेपाल २०२० को संयोजकको जिम्मेवारी सुम्पिएको छ । व्यवसायमा त्यति समय दिन भ्याउँदैनन् । परिवारको व्यवसाय सबै रितुले सम्हालिरहेकी छिन् । उनले सनवड ब्रान्डको निर्माण औजार (हेभी मेसिन) को बिक्री पनि सुरु गरेकी छिन् । दरबारमार्गमा ‘स्पा प्राना’ पनि चलाइरहेकी छिन् । यो व्यवसायमा छोरी सभानाले पनि सघाइरहेकी छिन् । सीमा गोल्छा निर्देशक, हिम इलेक्ट्रोनिक्स गोल्छा अर्गनाइजेसनकी बुहारी सीमा गोल्छा बिजनेसमा सक्रिय छिन् । उनले हिम इलेक्ट्रोनिक्स हेर्छिन् । हिम इलेक्ट्रोनिक्सअन्तर्गत सामसुङ, हिमस्टार, बजाजको मिक्सर ग्राइन्डरलगायत ब्रान्डहरू छन् । उनको माइती पक्ष व्यवसायमा थिएन, जागिरमा थियो । विवाहअघि उनले भने भारतको एड एजेन्सीमा काम गरेकी थिइन् । शेखर गोल्छासँग विवाह गरेर व्यावसायिक घरानाको बुहारी बनेपछि जिम्मेवारीअनुसार व्यवसाय राम्रोसँग हाँकिरहेकी छिन् । परिवारको सहमति लिएरै इलेक्ट्रोनिक्स व्यापार थालेको उनी बताउँछिन् । सामसुङ प्लाजामा झन्डै ९५ प्रतिशत कर्मचारी पनि महिला नै छन् । सिर्जना राणा कार्यकारी निर्देशक, होटेल अन्नपूर्ण नेपालको पहिलो पाँचतारे होटेल अन्नपूर्णको कार्यकारी निर्देशक हुन् सिर्जना राणा । १० वर्षदेखि श्रीमान् कपिल राणालाई सघाउँदै होटेल व्यवस्थापनमा सक्रिय छिन् । श्रीमान्ले योजना बनाउने र आफूले कार्यान्वयन गर्ने उनले सुनाइन् । सिर्जनाले पोखराको फेवाताल किनारमा ‘फिस्टेल लज’ र चितवनमा ‘जगतपुर लज’समेत सञ्चालन गरिरहेकी छिन् । उनी होटेल संघ नेपाल (हान) को वरिष्ठ उपाध्यक्ष पनि हुन् । कमला श्रेष्ठ अध्यक्ष, सौन्दर्य कला व्यवसायी संघ नेपालमा ब्युटिपार्लर (सौन्दर्यकला) भन्नेबित्तिकै नराम्रो नजरले हेरिन्थ्यो । छोरी–बुहारीलाई पार्लर खोल्न दिइँदैनथ्यो । तर, पछिल्लो समय समाजले पार्लर व्यवसायलाई हेर्ने नजर फेरिएको छ । पार्लर व्यवसायमा लाग्ने छोरी–बुहारीको संख्या बढ्दै छ । यो व्यवसायलाई अहिलेको अवस्थामा ल्याइपुर्‍याउने श्रेय जान्छ, कमला श्रेष्ठलाई । थाइल्यान्डमा दुई वर्ष तालिम लिएर ०३६ मा कुपन्डोलमा सयाम इन्स्टिच्युट खोलिन् । सुरुमा सैलुन मात्र थियो । उनले २६ वर्षदेखि ब्युटिपार्लर ट्रेनिङ दिँदै आइरहेकी छिन् । ब्युटिपार्लर व्यवसायको ट्रेन्डसेटर श्रेष्ठ भन्छिन्, ‘अहिले देशभर ३ लाख हाराहारी पार्लर व्यवसायी पुगिसकेका छन् ।’ उनी नेपाल सौन्दर्य कला व्यवसायी संघको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पनि हुन् । छाया शर्मा कलेज सञ्चालक नेपाल कलेज अफ ट्राभल, टुरिजम एन्ड म्यानेजमेन्टकी संस्थापक छाया शर्मा शैक्षिक क्षेत्रमा आबद्ध छिन् । नेपालमा निजी क्षेत्रबाट पर्यटनसम्बन्धी पहिलो कलेज नै आफूले स्थापना गरेको उनी बताउँछिन् । सन् १९९५ मा एनसिसिटिएम सुरु गर्दा ५ जना मात्रै विद्यार्थी थिए, अहिले ५ सय पुगेका छन् । उनको अरू केही विद्यालय र कलेजमा पनि लगानी छ । आफ्नो लगानी रहेको कलेज र विद्यालयमा कुल दुई सयजनाले प्रत्यक्ष रोजगारी पाइरहेका छाया बताउँछिन् । अहिले हस्तकला उत्पादनको व्यवसाय पनि सुरु गरेकी छिन् । ज्योत्सना श्रेष्ठ मेरिगोल्ड ज्वेलर्स मेरिगोल्ड सयपत्री ज्वेलर्सकी प्रोपाइटर ज्योत्सना श्रेष्ठ रत्न, आभूषण तथा सुनचाँदी व्यवसायमा आवद्ध छिन् । उनी सञ्चालक रहेको गरगहना सोरूम काठमाडौंको न्युरोड र दरबारमार्गमा छन् । रत्न, आभूषण तथा गरगहना उनको पुख्र्यौली व्यवसाय हो । तर, उनी आबद्ध भएको करिब अढाई दशक भएको छ । ज्योत्सना पर्यटन व्यवसायमा पनि प्रवेश गर्दै छिन् । झापामा पाँचतारे होटेल सञ्चालन गर्दै छिन् । सलुजा आचार्य सिइओ, एभिओन्ते प्रालि करिब १९ वर्ष अमेरिका बसेर फर्किएकी सलुजा आचार्य आइटी कम्पनी एभिओन्तेको प्रमुख कार्यकारी अधिकृत छिन् । सन् २०१३ मा नेपाल फर्किनेबित्तिकै एभिओन्तेको व्यवस्थापनमा रहेर काम सुरु गरिन् । उनले कम्पनीमा ६० जनाभन्दा बढी आइटी इन्जिनियरलाई जागिर दिइरहेकी छिन् । उनको कम्पनीले वल्र्ड क्लास’ सफ्टवेयर उत्पादन गर्छ । अमेरिकामा रहँदा उनी हेल्थ इन्स्योरेन्स कम्पनी ब्लुक्रस ब्लुसिल्डको अफिसरका रूपमा काम गर्थिन् । एप्लिकेसन डेभलपरका रूपमा कम्पनीमा छिरेकी उनले १५ वर्षजति काम गरिन्, विभिन्न ओहोदामा रहेर । प्रमिला आचार्य रिजाल निर्माण र लघुवित्त साउथ एसियन वुमन डेभलपमेन्ट फोरमकी संस्थापक अध्यक्ष प्रमिला आचार्य रिजाल अढाई दशकदेखि व्यवसायमा आबद्ध छिन् । २२ वर्षअघि बुटिक व्यवसाय सुरु गरेकी उनले निर्माण, वित्तलगायत विभिन्न व्यवसायमा हात हालिन् । सफलतासँगै उनी अहिले निर्माण कम्पनी ‘प्रतिष्ठा कन्स्ट्रक्सन’की अध्यक्ष छिन् । दक्षिण एसियाका महिलाले उत्पादन गरेका वस्तुको बजार व्यवस्थापन तथा प्रबर्द्धन गर्ने संस्था ‘सार्क चेम्बर क्राफ्ट भिलेज मार्केटिङ सेन्टर’की संस्थापक सदस्य तथा सञ्चालक पनि हुन् । उनको मनुषी माइक्रो क्रेडिट बैंक पनि छ । मेघा चौधरी प्रबन्ध निर्देशक, नर्भिक हस्पिटल उद्यमी वसन्त चौधरीकी एक मात्र छोरी हुन्, मेघा चौधरी । अहिले नर्भिक इन्टरनेसनल हस्पिटल मेघाकै काँधमा छ । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा दिइरहेको नर्भिकमा नेपालका हाइप्रोफाइल बिरामी पुग्छन् । नर्भिकलाई मुलुककै पहिलो नम्बरको हस्पिटल बनाइराख्न मेघा खटिइरहेकी छिन् । विदुषी राणा निर्देशक, गोल्डस्टार जुत्ता नूरप्रताप राणाले स्थापित गरेको गोल्डस्टारको बिजनेसमा बुहारी विदुषी राणा सक्रिय छिन् । ६ वर्षजति कुमारी बैंकको मार्केटिङ म्यानेजर बनेकी उनले पछिल्लो दुई वर्षदेखि गोल्डस्टारको ब्रान्डिङ र मार्केटिङ हेर्दै आएकी छिन् । गोल्डस्टार नेपालको लोकप्रिय ब्रान्ड हो । नेपालमा उत्पादित गोल्डस्टार जुत्ता सबैभन्दा बढी निर्यात हुन्छ । भारतमा पनि गोल्डस्टार लोकप्रिय छ । छिटै भैरहवास्थित सेजबाट पनि गोल्डस्टारले उत्पादन सुरु गर्दै छ । गोल्डस्टारलाई उचाइमा पुर्याउने अमिर राणाको अभियानमा श्रीमती विदुषीले साथ दिइरहेकी छिन् । उनीहरूको युनिभर्सल ग्रुप अफ कम्पनीभित्र कुमारी बैंक, गोल्डस्टार, हात्तीछाप चप्पल, त्रिशूल ग्यास, युनिभर्सल फर्मास्युटिकल्स छन् । शोभा गुरुङ गलैँचा उद्योग शोभा गुरुङले अढाई दशकदेखि गलैँचा उद्योग सञ्चालन गर्दै आएकी छिन् । उनको हिमालयन डेकोर रक्स प्रालि उद्योगले गलैँचा उत्पादन तथा निर्यात गर्दै आएको छ । यो उद्योगमा करिब ३ सयले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्षसमेत रहेकी उनी गलैँचाबाहेक हस्तकला र प्राकृतिक धागोको व्यवसाय गर्ने तयारीमा समेत छिन् । सिर्जना ज्योति, चिफ ब्रान्डिङ अफिसर, स्याकार ट्रेडिङ प्रालि ज्योति समूहकी बुहारी सिर्जना ज्योति पनि बिजनेसमै संलग्न छिन् । उनी चिफ ब्रान्डिङ अफिसर भएर काम गरिरहेकी छिन् । होन्डा कार र बाइकको बजार प्रवद्र्धनको जिम्मेवारी उनकै काँधमा छ । उनले विज्ञापन र प्रमोसनल योजना बनाउनुपर्छ । बिहानदेखि बेलुकासम्म उनी बिजनेसमै सक्रिय रहन्छिन् । श्वेता खड्का, उद्यमी आममान्छे श्वेता खड्का भन्नेबित्तिकै अभिनेत्री सम्झन्छन् । उनले ‘कहाँ भेटिएला’, ‘कोहिनूर’जस्ता हिट फिल्म दिइन् । तर, उनको व्यावसायिक जीवनबारे धेरै कमलाई थाहा होला । कफीको अम्मली श्वेताले कफीसप नै चलाएकी छिन् । उनले हिमालयन जाभाको फ्रेन्चाइज लिएकी छिन् । उनको इन्जिनियरिङ कम्पनी पनि छ, जसले भवन निर्माण, इन्टेरियर, एक्स्टेरियर डिजाइनको काम गर्छ । उनी इन्द्रेणी हिमालय होटेलमा पनि पार्टनर छिन् । उनी फिल्मबाट हिट भइन् । तैपनि व्यवसाय पहिलो प्राथमिकता हो । शारदा रिजाल, हस्तकला उद्यमी महिला उद्यमी महासंघको अध्यक्ष शारदा रिजाल करिब तीन दशकदेखि व्यवसायमा आबद्ध छिन् । ०४६ मा मिलन गार्मेन्ट सुरु गरेकी उनी हस्तकला र फेल्टमा फड्किइन् । अहिले उनले ‘लिमन नेपाल’ नामक निर्यात गर्ने कम्पनी र ‘युनाइटेड नेपाल फेल्ट इन्डस्ट्रिज’ नामक उत्पादक कम्पनी सञ्चालन गरिरहेकी छिन् । ३० महिलालाई प्रत्यक्ष रोजगारी दिएकी छिन् भने ५० जनाबाट आउटसोर्सिङ गर्छिन् । नीरा श्रेष्ठ सञ्चालक, भिक्ट्री लङ एन्ड बार युवा उद्यमी नीरा श्रेष्ठ उमेरले २६ मात्रै लागिन् । तर, उनको व्यावसायिक सफलता कुनै पुरानो उद्यमीको भन्दा कम छैन । बुबा आसामका कोइला व्यापारी, नीरा पनि उतै जन्मे–हुर्केकी । स्कुले पढाइ सकाएर नेपाल छिरेकी उनले दरबारमार्गमा ‘भिक्ट्री लङ एन्ड बार’ र ‘ब्रान्डेड कस्मेटिक सप’ सञ्चालन गरिरहेकी छिन् । दरबार रेस्टुरेन्टमा पनि लगानी थियो, हात झिकिन् । क्लब डेजाभुमा पनि लगानी छ । भिक्ट्री सुरु गर्दा २२ वर्ष मात्रै भएकी थिइन् । अन्य साथीहरू समेटेर भिक्ट्री सञ्चालनमा ल्याइन् । अहिले क्लब व्यवसायमा नीरा परिचित नाम हो । ‘भर्खर व्यवसाय सुरु गर्दा त बिहान ६ बजेसम्म पनि क्लबमै हुन्थेँ,’ नीराले संघर्षको कथा सुनाइन् । अब लक्जरी रिसोर्ट खोल्ने तयारीमा छिन् । अञ्जना ताम्राकार नेपाली कागज हाते कागज र सहकारी व्यवसायमा आबद्ध अञ्जना ताम्राकार लामो समयदेखि महिला उद्यमशीलता विकासमा सक्रिय छिन् । आफू मात्रै उद्यम गर्दिनन्, महिला उद्यमशीलता विकासका लागि तालिमसमेत प्रदान गर्छिन् । उनले इजरायल, क्यानडालगयात मुलुकबाट महिला उद्यमशीलता विकास प्रशिक्षण तालिम लिएकी छिन् । ०५४ तिर नेपाल कागज कारखाना खोलिकी हुन् । हाल उनी वुमन क्रिएसन र क्रिएटिभ वुमन क्राफ्टकी सञ्चालक पनि हुन् । रिता भण्डारी, नेपाली कागज करिब ३० वर्षअघि नर्सरी उद्यम सुरु गरेकी रिता भण्डारी अहिले हाते कागज, मौलिक परिकार उत्पादन तथा बिक्री–वितरणलगायत व्यवसायमा आबद्ध छिन् । उनले सञ्चालन गरेको नेपाल पेपर क्राफ्टस् प्रालिले लोक्ताबाट कपडासमेत उत्पादन गर्छ । ४ वर्षअघि रिताले सुरु गरेको माही इन्टरप्राइजेजले अर्डरअनुसारका मौलिक परिकार तयार गरी बिक्री–वितरण गर्छ । उनले अहिले हुम्ला, जुम्ला, बाजुरालगायत दुर्गम क्षेत्रबाट लप्सी, कागतीलगायत विभिन्न प्रकारका फल ल्याएर अचार बनाई बिक्री–वितरण गरिरहेकी छिन् । आस्था र आरजु बस्नेत बुद्ध एयर बुद्ध एयर प्रालिका उत्तराधिकारी हुन्, आरजु र अस्था बस्नेत । आरजुको सानैदेखि बुटिकमा सोख थियो, त्यसैले बुटिक पनि चलाइरहेकी छिन् । जावलाखेलस्थित बुद्ध एयरको मुख्यालयमा रहेको बुटिक राम्रोसँग चलिरहेको छ । सुरुमा आरजु र आस्था मिलेर बुटिक सुरु गरेका थिए । आस्था एयरलाइन्समै आकर्षित थिइन् । त्यसैले स्नातक सिध्याउनेबित्तिकै बुटिक दिदीलाई जिम्मा लगाएर जनवरी २०१७ देखि बुद्ध एयर छिरिन् । उनकै अगुवाइमा बुद्ध एयरले बनारसमा नियमित उडान सुरु गर्‍यो । बनारसको बजार अध्ययन र मार्केटिङमा उनी मजाले खटिइन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि तत्कालै अन्तर्राष्ट्रिय उडान भर्ने योजनामा छ, बुद्ध एयर । यो जिम्मेवारी सम्हाल्दै छिन् आस्था । ‘बनारस अन्तर्राष्ट्रिय उडानको पहिलो खुड्किलो हो,’ उनी सुनाउँछिन् । एकता गोल्छा गोल्छा अर्गनाइजेसन गोल्छा अर्गनाइजेसनकी चेली एकता गोल्छाले बुबा राजकुमार गोल्छालाई बिजनेसमा सघाउन थालिसकेकी छिन् । राजकुमारको भागमा अरिहन्त मल्टिफाइबर र रघुपति जुट मिललगायत परेको छ । अक्सफोर्ड विश्वविद्यालय पढेर फर्किएकी एकता आइटी बिजनेस हेर्छिन् । व्यावसायिक घरानाकी चेली एकता परिवारको व्यवसायलाई निरन्तरता दिन नेपाल फर्किएकी हुन् । सुरुचि ज्योति ज्योति समूह रूप ज्योतिकी छोरी सुरुचि हिरो बाइक र फिलिप्स इलेक्ट्रोनिक्स हेर्छिन् । उनी हिरोको नेपाली विक्रेता कम्पनी नेपाल जेनेरल मार्केटिङ (एनजिएम) को उपाध्यक्ष हुन् । उनले हिरो र फिलिप्सको मार्केटिङ र सेल्स हेर्छिन् । सुरुचिले पारिवारिक व्यवसायलाई निरन्तरता दिइरहेकी छिन् । लतिका गोल्यान निर्देशक, गोल्यान ग्रुप गोल्यान ग्रुपले कलंकीमा ‘हायात प्यालेस’ नामको भव्य पाँचतारे होटेल बनाउँदै छ । नेतृत्व गरिरहेकी छिन् लतिका गोल्यानले । ‘१५६ कोठा हुने १३ तले होटेलमा दुई अर्ब ८० करोड रुपैयाँ लगानी हुनेछ,’ लतिकाले भनिन् । होटेलको छेवैमा लक्जरी रेसिडेन्सियल अपार्टमेन्ट पनि बन्दै छ । सहरका उच्च वर्गलाई लक्षित गरिएको अपार्टमेन्ट निर्माण र बजार प्रवद्र्धनमा पनि लतिका सक्रिय छिन् । उनको एयरपोर्टनजिकै अर्को लक्जरी होटेल खोल्ने योजना छ । अम्बिका श्रेष्ठ सञ्चालक, द्वारिकाज होटेल नेपालका लक्जरी बुटिक होटेलमा द्वारिकाज पहिलो नम्बरमा पर्छ । विदेशी पर्यटकको पहिलो रोजाइ द्वारिकाज होटेल नै हुन्छ । यो होटेलले काठमाडौंमै सबैभन्दा महँगो मूल्यमा कोठा बिक्री गर्छ । काभ्रेको धुलिखेलस्थित द्वारिकाजको रिसोर्ट पनि मुलुककै महँगोमा पर्छ । द्वारिकादास श्रेष्ठले इतिहास बोकेका पुराना कलात्मक झ्याल, ढोका र काठका टुक्रा प्रयोग गरेर बत्तिसपुतलीमा हेरिटेज बुटिक होटेल खोलेका थिए । उनको निधन भइसक्यो । श्रीमती अम्बिकाले होटेलको व्यवस्थापन सम्हाल्दै आएकी छिन्, कुशलतापूर्वक । अम्बिका सिक्किममा जन्मे–हुर्केकी । विवाहपछि सन् १९६९ मा द्वारिका र अम्बिकाले काठमाडौंमा ‘ट्राभल एन्ड टुर्स’ कम्पनी खोले । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को संस्थापक अध्यक्षसमेत हुन्, अम्बिका । सन् १९७६ मा व्यापार विस्तार गर्दै २६ कोठाको द्वारिकाज होटेल सञ्चालनमा ल्याए । अम्बिका उमेरले ८६ पुगिन् । अझै पनि उत्तिकै सक्रिय देखिन्छिन् । उनले हाँकिरहेको द्वारिकाज बुटिक होटेलको प्रेरक बनिरहेको छ । नयाँ पत्रिका दैनिकबाट साभार

आमासँग खुसी पनि साट्न पाएनन् रविले !

काठमाडौं, पुष ११ । संसारभरिका नेपालीको मायालु बनेका रवि । नेपाल आइडल फिनालेका दिनहरु आउँदै गर्दा झनै चर्चामा आए उनी । सबैको अपेक्षा रवि नै नेपाल आइडल बन्ने थियो । र, यही अनुरुप उनले उपाधि पनि जिते । केहीले भने यो उपाधिलाई क्षेत्रीयतासँग पनि नजोडेका होइनन । तर जुन क्षेत्रको कुरा आलोचकहरुले गरेका थिए, त्यो क्षेत्र बाहिरका प्रशंसक नै रविको पक्षमा खुलेर देखिएपछि आलोचना गर्नेहरुको मुख बन्द भएको थियो । राजधानीबाट रवि आफ्नो गृह क्षेत्र पुगे । सुदूरपश्चिम प्रदेशले उनको भव्य स्वागत र सम्मान गर्यो । धनगढीबाट रवि सोझै अतरिया हुँदै कञ्चनपुर लागे । बाटैमा पर्छ उनको घर । तर रविलाई प्रसंसकले यसरी पछ्याएका थिए कि उनी घर जानु भन्दा पनि कृष्णपुर हुँदै लागे महेन्द्रनगर महेन्द्रनगरमा जनसागर नै ओर्लियो । रविलाई हेर्न, उनलाई बधाई भन्नेहरुको ओइरो । भीमदत्त नगरपालिकाले सम्मान गर्यो रविलाई । रवि यही खुशीको माहौलमा थिए । खुशी, खुशी र खुशी…। तर उनको खुशी… यही खुशीबीच आज बिहानै रविले अकल्पनीय समाचार सुने । अकल्पनीय, अविश्वसनीय…। जीवनमा पहिलोपटक यसरी खुशी पाएका थिए रविले । भन्थे– बुवाले धेरै दुख गरे, नेपाल फर्काउन निकै कोशिस गरे तर सकिनँ । अब भने नेपाल फर्काउँछु । रविको योजना बुवालाई नेपाल फर्काएर हाँसीखुसी जीवन बिताउने थियो । जीवनमा आमाको पीडा त उनले बाल्यकालदेखि नै भोग्दै आए । तर कान्छी आमा आएपछि उनको पीडामा कान्छी आमाको मायाले साथ दिएको थियो । आर्थिकरुपमा जे जस्तो भएपनि टुहुरो भनेर हेपिनु परेको थिएन । तर आज बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा उनकी आमाको मृत्यु भयो करेन्ट लागेर । सेती अञ्चल अस्पताल धनगढी पुर्याउँदा बिहान पौने ९ बजे चिकित्सकहरुले मृत घोषित गरे । रविले खुसी त के अन्तिम समयमा सास छँदै आमाको मुहार सम्म हेर्न पाएनन् । जीवनमा कतिखेर के आइपर्छ भन्न सकिन्न । रविको जीवनमा पनि यस्तै भए । अब परिवारको थप जिम्मेवारी पनि उनको काँधमा थपिएको छ । एकातिर नेपाल आइडलले ल्याएको जिम्मेवारी, अर्कोतर्फ आमा नहुँदा र बा भारत भएकोले घरको दायित्व । रविको जीवनको यो संघर्ष जति दारुण छ, त्यति लोभलाग्दो उनको कला । अब यो कलाले उनको पीडामा मल्हम लगाउन सकोस जीवनका पीडा बिर्सेर संघर्षपथमा अघि बढन साहस देओस हार्दिक श्रद्दासुमन रविको आमाप्रति

गर्भवती महिलाले फाँसी लगाइन, झुण्डिएकै अवस्थामा बच्चा जन्मियो सकुशल

कटनी, मप्र (बिबिसी) । भारतको मध्य प्रदेशस्थित कटनी जिल्लामा एकजना महिलाले फाँसी लगाएपछि बच्चा जन्मेको घटना सार्वजनिक भएको छ । महिलाको मृत्यु भएपनि बच्चाको अवस्था राम्रै रहेको बताइन्छ । शुक्रबारका दिन शहरको कोतवाली खिरहनी चौकी क्षेत्रमा लक्ष्मी सिंह नाम गरेकी गर्भवती महिलाले अज्ञात कारणवश फाँसी लगाइन । र, फाँसीमा झुण्डिदै गर्दा उनले एउटा बच्चा जन्म दिइन । बच्चा आमाको प्लेसेन्टा (गर्भनली)बाट आमाको गर्भाशयसँग जोडिएको थियो । यो देखेर तत्कालै प्रहरी र अस्पतालमा खबर गरेपछि बच्चा बाँच्न सफल भएको हो । मृत महिलाबाट जन्मिएको बच्चालाई तत्कालै अस्पताल लगियो । चिकित्सकहरुले बच्चाको अवस्था गम्भीर देखेपछि तत्कालै आइसियूमा राखेपछि बच्चाको अवस्थामा सुधार भएको छ । इमरजन्सी एम्बुलेन्स सेवासँग जोडिएका डा. माखनलालका अनुसार, एकजना महिलाले फाँसी लगाएको र उसको बच्चा फसेको खबर पाएपछि उनीहरु त्यहाँ पुगेका थिए । त्यहाँ पुग्दा बच्चाको डेलिभरी भइसकेको र बच्चा प्लेसेन्टामा झुण्डिएको अवस्थामा भेटिएको उनले जनाए । तत्काल बच्चालाई आमाबाट अलग गरेको उनले जानकारी थिए । सिभिल अस्पताल कटनीका सिभिल सर्जन डा. यशवन्त बर्मा भन्छन, “महिला नवौं महिनाको गर्भावस्थामा थिइन । बच्चा दुई किलो जति थियो । महिला फाँसीको डोरी झुण्डिएपछि बच्चा गुरुत्वका कारण तल खस्न पुग्यो ।” डा. बर्माले थप भने, “हामी जिउँदो अवस्थामा भने धेरै कुरा रोकेर राख्न सक्छौं तर मृत्युपछि त्यसमा हाम्रो नियन्त्रण हुँदैन । त्यसैले फाँसीमा चढेपछि बच्चा तल आउन पुग्यो ।” महिलाका श्रीमान सन्तोष सिंहले परिवारमा सबै कुरा ठीकठाक चलिरहेको बताए । उनले भने, “सधैंंजसो हाम्रो परिवार खाना खाएर सुतेको थियो । म बिहान ६ बजे उठदा उसलाई देखिनँ ।” बिहान अरु बच्चा सुतिरहेको र श्रीमतीलाई नदेख्दा उनी गोठमा गएका थिए । गोठमा फाँसीको फन्दा झुण्डिएको अवस्थामा श्रीमतीलाई देखे पछि उनले चिच्च्याएर छिमेकी बोलाएका थिए । त्यसपछि प्रहरी र अस्पतालमा खबर गरिएको थियो । सन्तोषका दुई छोरा र दुई छोरी छन । महिलाका भाई अजमेर सिंहले पनि आत्महत्याको कारणबारे अनभिज्ञता जनाए । कटनी प्रहरीले अहिले के कति कारणले आत्महत्या गरियो भन्ने कुरा अनुसन्धान गरिरहेको बताएको छ ।

आत्महत्या गरिरहेका युवकलाई रेडियो प्रस्तोताले यसरी बचाए

लण्डन । रेडियो प्रस्तोताले प्रत्यक्ष प्रशारणबाटै आत्महत्या गरिरहेको अवस्थाबाट बेलायतमा एकजना एक व्यक्तिलाई बचाएका छन् । लायन ली नाम गरेका रेडियो प्रस्तोताले चलाखीपूर्ण रुपमा आफ्नो फोन कलरलाई बचाएका हुन् । क्रिस नामका एक पुरुषले ड्रग्सको ओभरडोज लिएर रेडियो प्रस्तोता लायनलाई आफू अबको केही बेरमै मर्ने भन्दै फोन गरे । लायनले ३० मिनेटसम्म ती पुरुषसँग कुराकानी गरिरहे । यस क्रममा लायनले उनलाई प्रेरणादायी वाक्य बोलेरै अनेक प्रयत्न गरे । उनी रहेको ठाउँ पत्ता लगाए र कस्तो अवस्थामा रहेको सबै बुझिसकेका थिए । लायनले फोनमा भनेका थिए, ‘ठ्याक्कै कुन गल्लीमा बस्छौ तिमी ? म तिमी यो रातभर रहेको देख्न चाहन्छु र भोलि मसँग कुरा गर भन्ने चाहन्छु । तिमी यही रात मरेको देख्न चाहन्नँ म । किनकी म तिमीलाई माया गर्छु । म तिमीलाई माया गर्छु भाइ । म तिमीलाई माया गर्छु १’ यसरी लालित्यपूर्ण कुरामै क्रिसलाई अलमल्याएर उद्धारकर्मी त्यहाँ पठाउन चाहन्थे लायन । यही क्रममा लायनका प्रोड्युसरले आपतकालिन सेवाका लागि फोन गरेर क्रिसको ठाउँ र हुलियाबारे जानकारी गराए । केही बेरमै प्रहरी अधिकारीहरु क्रिसलाई बचाउन पुगे । अन्ततः एकजना रेडियो प्रस्तोताकै पहलमा क्रिसको उद्धार भयो । एजेन्सी

गृह प्रदेशमा रवि ओडको भव्य विजयी उत्सव [फोटोफिचर]

काठमाडौं, पुष ७ । रवि ओड नेपाल आइडल सिजन २ को विजेता बनेसँगै उनको र्गह प्रदेश सुदूरपश्चिममा खुसीयाली छाएको छ । उनको विजयीमा साथ दिदैं त्यहाँका विभिन्न ठाउँमा विजयी र्यालीको आयोजनासमेत गरिएका छन् । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा रविको नाममा विजयी र्याली निकालिएका हुन् । यसैबीच, कैलालीका अत्तरियामा पनि उनी आइडलको विजेता घोषित भएसँगै भव्य र्याली निकालिएको छ । धनगढीमा हिजो साँझ नै उनको विजयीमा साथ दिदैं समर्थकले दीप प्रज्वलनसमेत गरेका छन् ।

‘ढुंगाको काप फोडेर पनि उम्रन्छ पिपल’

काठमाडौं, पुष ६ । केही सातादेखि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको थियो । जुन तस्बिरमा म्यादी प्रहरीको पोशामा थिए भविष्यका लागि संघर्ष गरिरहेका एकजना युवा । उनी अरू कोही नभएर गरिबीसँग जुध्दै अनेक संघर्षका साथ हुर्किएका दोस्रो नेपाल आइडल बन्न सफल उनै रवि ओड । नेपालको पश्चिमी सीमामा अवस्थति कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित टाउको निहुराएर छिर्न पनि मुस्किल पर्ने एउटा सानो टायलको झुपडीमा जन्मिएका थिए । उनै रवि, शुक्रबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा भएको नेपाल आइडल सिजन २ को ग्रान्ड फिनालेका विजेता घोषित भए । वि.सं. २०५४ साल चैतमा टायलको त्यही सानो झुपडीमा जन्मिएका रवि बुवा राजेन्द्र र आमा उमा ओडका तेस्रो सन्तान हुन्। उनका बुवा राजेन्द्र अहिले पनि भारतमा पालेको काम गर्छन्, परिवार पाल्नका लागि । रविका हजुरबुवा पहाडी जिल्ला छामबाट बसाइँ सरेर कञ्चनपुर झरेका थिए। रविका हजुरबुवा र बुवा जीविका चलाउने गतिलो स्रोत खोज्दै अछामको साँफेबगर नगरपालिका (साविक बुढाकोट गाविस) बाट कञ्चनपुर झरेका थिए । गरिबीकै कारण उनका बुवा र हजुरबुवाले भारतमै ‘पाले’को काम गरेर दुई चार पैसा कमाउँदैछन् । कमजोर आर्थिक हैसियत भएका रविलाई उनको सपनाको उडान भर्न पैसाले रोकेन । हजुरबुवाको प्रेरणाले संगीतमा लागेका रवि यसअघि नै सेलिब्रेटी भइसकेका थिए । नेपाल आइडल सिजन २ को विजेता बनेसँगै अब आर्थिक रूपमा पनि उनको जिन्दगी फेरिएको छ । नेपाल आइडलको धनगढीमा भएको अडिसनमा पुग्नुअघि उनी गाउँमै हुने सांगीतिक प्रतियोगितामा भाग लिन्थे भने धनगढी पुगेर दोहोरी साँझमा गाएर पैसाको जोहो गर्थे। सुदूरपश्चिमबाट अन्तिम चारमा पुगेका एक्ला प्रतिस्पर्धी उनलाई जिताउन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अभियान नै चलाइएको थियो । फाइनलमा जित्नका लागि भोटमात्रै निर्णायक थिएन, जजको पनि मन जित्दै उनले नेपाल आइडल सिजन २ मा आफूलाई सर्वोत्कृष्ट गायक सावित गरे । उनले आफ्नो क्षेत्रक देउडा गीतलाई नेपाल आइडलको मञ्चमार्फत् संसारभर फैल्याए । उनी देउडा जति सुमधुर गाउँथै उति नै पोख्त थिए पप र आधुनिक विधाका गीतमा पनि । संघर्षपूर्ण बाल्यकालबाट गुज्रिएका उनी जब गाउँथे सबैलाई बाँधेर राख्न सक्थे । संगीतको औपचारिक शिक्षा नलिएर पनि रविले ‘ढुंगाको काप फोडेर पनि उम्रन्छ पिपल’ भन्ने नेपाली भनाइलाई साँच्चिकै चरितार्थ गरिदिएका छन् । रविको जीवन कम्ता संघर्षपूर्ण थिए । उनी २०७० सालको संविधानसभा निर्वाचनमा म्यादी प्रहरी भएका थिए भन्दा जोकोहीले पत्याउँदैन । परिवार पाल्न र आफ्नो दैनिक खर्चका लागि उनी २०७० सालको संविधान सभा निर्वाचनमा म्यादी प्रहरी पनि बनेका थिए । उनले म्यादी प्रहरी बनेर राष्ट्रको सेवा त गरे नै त्यससँगै केही आम्दानी पनि गरे जसले उनको जीवन चलाउन केही समय सहज भयो । हजुरबाको प्रेरणाले बालकालदेखि नै गुनगुनाउने रविको गीत सुन्न उनलाई जन्म दिने आमा अहिले यो दुनियाँमा छैनन् । तर उनलाई जुन आमाले हुर्काइन् जन्म दिने आमाको कहिल्यै कमी हुन दिइन्न । भारतमा पाले बनेका बाबुले रविलाई जिताउन भोट माग्दै हिँडेका थिए । परदेशमा रहेका बुवाले यो खबर सुनेपछि पक्कै हर्षका आँसु बगाए । अन्नपूर्ण पोस्ट् दैनिकबाट

फेसबुकबाट प्रेम नगर्नुस्, नत्र…..

मुम्बई । “फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताए। सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक जना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’ मा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान हुँदै पाकिस्तान पुगेका भारतीय इन्जिनियर हमिद नेहाल अन्सारीले बताए। तर सामाजिक सञ्जालमार्फत आफूले प्राप्त गरेको ठेगाना पछ्याउँदै अन्सारी पाकिस्तानी किशोरीको घरमा पुग्दा त्यहाँ पाकिस्तानी प्रहरी तैनाथ थिए र उनलाई त्यहीँबाट पक्राउ गरियो। उनलाई पछि जासूसी गरेको र नक्कली कागजात बनाएको अभियोगमा छ बर्षको जेल सजाय तोकियो। “अपरिचित व्यक्तिसँग भावनामा नडुब्नुस् र फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत् ‘माया जाल’ मा नफस्नुस्,” अन्सारीले आफू रिहा भई भारत फर्केको तीन दिनपछि एएफपीसँगको कुराकानीमा भने। पाकिस्तानी जेलमा छ बर्षको बसाइपछि मङ्गलबार घर फर्किएका इन्जिनियर अन्सारीले भारतीय सीमानामा पुगेपछि भावुक मुद्रामा आफ्नी आमासँग गलामा गला जोडेको र जन्मभूमिलाई पुरै घोप्टो परेर ढोगेको श्रब्यदृश्य स्थानीय सञ्चारमाध्यमहरूले उच्च महत्वका साथ प्रशारण गरेका छन्। उक्त दृष्य सामाजिक सञ्जालमा पनि भाइरल’ बनेको छ। “निर्वासित हुन पाउनु मेरो जीवनका लागि सबैभन्दा खुशीको क्षण भएको छ,” तेत्तीस बर्षीय अन्सारीले मुम्बईस्थित आफ्नो घरबाट फोनमा बताए। उनले भने, “अब मैले एउटा व्यवसाय शुरु गर्छु। विवाह गर्छु। आफ्नो र परिवारको सुखमा रमाउँछु। मलाई थप सामाजिक बन्नु छैन।” क्षेत्रीय प्रतिस्पर्धी भारत र पाकिस्तानबीच सन् १९४७ मा बेलायतबाट उनीहरू स्वतन्त्र भएपछि तीन ठूला युद्ध भएका छन्। उनीहरूले फरक फरक समय र परिस्थितिमा एक अर्काका नागरिकलाई जासूसी आरोपमा पक्राउ गर्ने र थुन्ने बिषय सामान्यजस्तै देखिँदै आएको छ। एएफपी

आजदेखि सूर्य धनु राशीमा, थाहा पाउनुस् तपाइको राशीमा के प्रभाव पर्छ ?

पं. अशोक पँवार ‘मयंक’ सूर्यलाई नवग्रहहरुको राजाको उपाधि पनि दिइएको छ । यो आत्मा, बुवा र सरकारी सेवाको कारक पनि मानिन्छ । सिंह राशिीका स्वामित्व सूर्यलाई प्राप्त हुन्छ । यो मेश राशीमा उच्च र तुला राशीमा निम्न मान्छि । १६ डिसेम्बर २०१८ का दिन सूर्य बिहान ९ बजेर २० मिनेटमा धनु राशीमा प्रवेश गर्ने छ । यो २०१९ को १४ जनवरी, सोमबार राती ८ बजेसम्म यो राशीमा हुने छ । सूर्यलाई मान प्रतिष्ठा, प्रसिद्दी तथा पिताको कारक ग्रह मानिन्छ । यसले शासकीय अधिकारीहरुमाथि प्रभाव पनि पार्ने भनिन्छ । त्यसैले सुर्य एक राशीबाट अर्कोमा जाँदा बिभिन्न राशीको सफलता र सामाजिक सम्मानका दृष्टिले महत्वपूर्ण मानिन्छ । कुन राशीमा कस्तो प्रभाव ? मेषः मेश राशीका जातकहरुलाई यो निकै शुभ समय हुने छ । सूर्य तपाईको राशीबाट पंचमेश भएर नवौं भावबाट गोचर भ्रमण गर्ने छ । सूर्यको प्रभावबाट तपाईका सन्तान र पिताको मान सम्मानमा बृद्धि हुने छ । तपाईको कार्यमा पनि एउटा नयाँ पहिचान पाइने छ । भाग्य हरेक कार्यमा साथ दिनेछ र यसैबाट तपाईलाई सफलता पाइने छ । यो अवधिमा गरिएका कार्यको शुभ फल पाइने छ । जो तपाईका लागि लाभकारी रहनेछन । वृषः यो राशीमा सूर्यको गोचरीय भ्रमण अष्टम भावबाट हुने छ । यसले पारिवारिक विषयमा सावधानी राख्नुपर्ने देखिन्छ । परिश्रमको लाभ त अवश्य नै पाइन्छ तर गरेको परिश्रमबाट उत्साहित हुने किसिमको फल भने नपाइन सक्छ । धर्म कर्ममा आस्था कम हुने छ । विवादबाट जोगिनुहोला । स्वास्थ्यको ध्यान राख्नुहोला । मिथुनः सूर्य यो राशीबाट सप्तम भाव भएर गोचरीय भ्रमण गर्ने छन । त्यसैले अधिक परिश्रम गरेर मात्रै लाभ पाउने आशा राख्न सक्नुहुन्छ । दाम्पत्य जीवनमा मेलजोलसँगै केही विवादको सम्भावना पनि हुन सक्छ । कार्यक्षेत्रमा विवाद र तनावको सामना गर्नुपर्ने हुन सक्छ । दैनिक व्यवसायमा सतर्कता राख्नुपर्ला । स्वास्थ्यको ध्यान राख्नुस । कर्कटः तपाईको राशीबाट सूर्यको गोचरीय भ्रमण षष्ट (छैठौं) भावबाट हुने भएकोले आफ्नो वाणी अर्थात बोलीमा संयम राख्नुहोला । स्वास्थ्यका विषयमा सतर्क हुँदा वेश । भाग्यमा केही व्यवधान र ढिलाई हुने हुनसक्छ । तर परिश्रमको लाभ भने पाउनु नै हुने छ । नौकरी र व्यवसायसँग जोडिएका कार्यमा सहयोग पाइने छ । शत्रुवर्ग भने प्रभावहीन हुने छन । सिंहः सूर्यको भ्रमण पञ्चम भावमा छ । त्यसैले सन्तान पक्षबाट प्रसन्नता हुने छ । जीवनसाथी या प्रेम सम्बन्धमा अनुकूल स्थिति पाउनुहुने छ । मानसिक सुख शान्ति मिल्ने छ । महत्वपूर्ण काममा अनुकुल सफलता पाइनेछ । तर स्वास्थ्यप्रति सजगता अपनाउनु जरुरी छ । वाद विवादमा विजयी हुने योग छ । कन्याः सूर्य तपाईको राशीबाट चौथो भावमा भ्रमण गर्ने भएकोले पारिवारिक जीवनमा परेशानी आउन सक्छ । जीवनसाथीसँग मनमुटाव हुनुबाट जोगिनु पर्नेछ । नौकरी, व्यापार, व्यवसायमा सफलताका सार्थ उन्नतीको पनि योग छ । जनतासँग सम्बन्धित कार्य बन्नेछन । राजनीतिज्ञ भने अलि होशियारीपूर्वक हिँडनुपर्ने देखिन्छ । तुलाः यो राशीबाट तेश्रो भावमा सूर्य गोचर भ्रमण गर्ने भएकोले पराक्रमद्वारा तपाईलाई आर्थिक लाभको योग बन्ने छ । सामाजिक जीवन तथा कार्यक्षेत्रमा तपाई अनुकुलको सफलता पाइने छ । मानसम्मान बढने तथा भाग्यले पनि साथ दिने छ। पराक्रममा बृद्धि हुनुका साथै इष्टमित्रको पनि सहयोग पाइने छ । वृश्चिकः तपाईको राशीबाट सूर्यको गोचरीय भ्रमण द्वितीय भावमा भएकोले वाक चातुर्यताको लाभ पाइने छ । आर्थिक लाभको योपनि बन्न सक्छ । बुवाको सहयोगका साथै लाभको पनि यो बन्ने छ । स्वास्थ्यका दृष्टिले उत्तम समय छ । कुटुम्बहरुको सहयोग पनि मिल्नेछ । शत्रु पराजित हुने छन । धनुः सूर्य तपाईको राशीमा गोचर भ्रमण गर्दैछन । तपाईमो प्रभावमा बृद्धि हुने छ । महत्वाकांक्षा पुरा गर्न समर्थ हुने योग छ । भाग्यको साथ मिल्ने भएकोले मानसम्मान पनि बढने छ । व्यापार व्यवसायमा पनि उन्नती हुने छ । नौकरीपेशा मा अनुकूल अवस्था हुने छ । बुवा आमाको सहयोग पाइने छ । मकरः सूर्य तपाईको राशीबाट बाह्रौं स्थानबाट भ्रमण गर्ने भएकोले शत्रु प्रभावहीन हुने छन । यात्राको योग छ तर सावधानी राख्नु जरुरी । स्वास्थ्यका दृष्टिबाट राम्रो नराम्रो दुबै छ । बाहन चलाउँदा होस पुर्याउनु पर्ला । सकेसम्म यो अवधिमा ऋण नलिएकै राम्रो हुने छ कुम्भः यो राशीदेखि सूर्यको गोचर भ्रमण एकादश भावमा हुने भएकोले जीवनसाथीबाट सहयोग पाइने छ । दैनिक व्यापार व्यवसायमा प्रगति हुने छ । स्त्री पक्षको सहयोग सराहनीय रहने छ । आर्थिक स्थिति मजबूत हुने र धनलाभ पाइने छ । उच्च अधिकारीहरुसँग सम्बन्ध राम्रो हुने छ र यसबाट लाभको अवसर पनि पाइने छ । घर या परिवारमा कुनै मांगलिक कार्य हुन सक्छ । मीनः सूर्य तपाईको राशीबाट दशौं भावमा भ्रमण गर्ने भएकोले मिश्रित परिणाम दिने छ । व्यापार व्यवसायमा स्वप्रयत्नहरुबाट लाभको योग छ । नौकरीपेशामा पनि लाभ पाउन सक्षम हुनुहुने छ । प्रमोशन पनि हुन सक्छ । तर स्वास्थ्यको दृष्टिले सावधानी राख्नु जरुरी छ । वेभदुनियाबाट अनुदित

काठमाडौँको वायुमण्डलमा विष; मर्निङ वाक नजान चेतावनी !

काठमाडौँ , पुस १ । राजधानीको वयुमण्डलमा प्रदूषणको मात्रा अत्यधिक पाइएपछि चिकित्सकहरूले मर्निङ वाक र इभनिङ वाकमा ननिस्कन सुझाव दिएका छन् । वायु प्रदूषणले स्वास्थ्यमा पारेको असरबारे अध्ययन गरेका स्वास्थ्य अनुसन्धान परिषदका डा. खेमबहादुर कार्कीले सुक्खायाममा झनै २.५ माइक्रो मिटर र त्योभन्दा साना कण धेरै समयसम्म वायुमण्डलमा तैरिएर बस्ने गरेकाले बिहान र बेलुकीको समयमा हिँडडुल गर्नु घातक हुने बताएका हुन् । ‘हिँडडुल गर्ने क्रममा पीएम २.५ व्यास र त्योभन्दा साना कण सिधै फोक्सोमा छिर्ने भएकाले चिसो याममा मर्निङ र इभिनिङ वाक नगर्नु राम्रो हुन्छ,’ कार्कीले भने, ‘मुटु र फोक्सोका रोगीलाई झन् घातक हुन्छ।’ सर्वसाधारणको अत्यधिक चाप हुने काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रदूषण मापदण्डभन्दा कैयौं गुणा बढी पाइएको बताईएको छ । सन् २०१७/१८ को १२ महिनाको आँकडाअनुसार काठमाडौंको रत्नपार्कमा मापदण्डभन्दा ४ गुणा बढीसम्म पीएम २.५ र त्योभन्दा साना धुलोका कण रेकर्ड भएको छ। पीएम २.५ को मात्रा सन् २०१७ मा प्रतिघनमिटर हावामा १ सय ३२ र सन् २०१८ मा प्रतिघनमिटर हावामा १ सय ३६ माइक्रोग्रामसम्म रेकर्ड भएको हो। यो आँकडा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदण्डभन्दा झन्डै ६ गुणा बढी हो। डब्लूएचओले पीएम २.५ को मात्रा प्रतिघनमिटर हावामा २५ माइक्रोग्राम (२४ घण्टाको औसत) मापदण्ड तोकेको छ। सरकारले पनि २.५ माइक्रो मिटर वा सोभन्दा कम व्यास भएका धूवाँ र धुलोका कण (पीएम २.५) को मात्रा प्रतिघनमिटर हावामा ४० माइक्रो ग्रामभन्दा कम हुनुपर्ने मापदण्ड तोकेको छ। विकसित देशमा वायुको गुणस्तर मापदण्डभित्रै सीमित हुने गरेको छ। आँखाले देख्न नसकिने यी कण सिधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिन्छन्। क्यान्सरसमेत निम्त्याउन सक्ने केमिकल मिसिएका यी कणले रक्तसञ्चार प्रणाली र मुटुलाई आघात पुर्‍याउने जानकारहरू बताउँछन्। वायु प्रदूषणको अवस्था थाहा पाउन काठमाडौंमा ७, पोखरामा २, नेपालगन्ज, भक्तपुर, दाङ, सुनसरी, सिमरा, लुम्बिनी र धुलिखेलमा गरी १९ वटा वायु गुणस्तर मापन केन्द्र राखिएको छ। तीमध्ये १४ वटा वन तथा वातावरण मन्त्रालयमातहतको वातावरण विभाग र अरू अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा अमेरिकी दूतावासको सहयोगमा सञ्चालन भएका छन्। सबै मापन केन्द्रको आँकडा सरकारले तोकेको र डब्लूएचओको मापदण्डभन्दा बढी छ। जानकारहरू चिसोसँगै वायु प्रदूषण पनि बढदै जाने बताउँछन्। चिसो याममा श्वासप्रश्वास, रूघाखोकी, दम तथा निमोनियाजस्ता रोगीको संख्या अस्पतालमा बढ्ने गरेको पाइन्छ। काठमाडौं उपत्यकामा वायु प्रदूषणको वहन क्षमतामा विद्यावारिधि गरेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रामप्रसाद रेग्मीले जाडोयाममा काठमाडौंको वायुमण्डलमा प्रदूषण बहन क्षमता न्यून हुने जानकारी दिए। ‘यही अवधिमा वायु प्रदूषण उत्सर्जनका गतिविधि भने बढी हुन्छ,’ उनले भने। रेग्मीका अनुसार उपत्यकावरिपरिको होचो क्षेत्रले वायु प्रवाहलाई आफूतिर खिच्ने गर्छ। उपत्यकाको वायुमण्डलमा तल्लोभन्दा माथिल्लो सतह तातो हुन्छ। ‘यस्तो अवस्थामा उत्सर्जित वायु प्रदूषण आकाशतिर फिँजिन पनि नसक्ने र उडेर उपत्यकाबाट बाहिरिन पनि नसक्ने भएकाले प्रदूषणको मात्रा अत्यधिक बढ्न पुग्छ,’ उनी भन्छन्, ‘बिहानको समयमा सबैभन्दा उच्च हुने गरेको छ।’ मध्याह्नतिर सतहको प्रदूषणको मात्रा विस्तारै घट्न थाल्छ। रेग्मीका अनुसार वागमती नदीको तीरैतीर तराईबाट दक्षिण–पश्चिमी, थानकोट र भीमढुंगा भन्ज्याङ हुँदै धादिङबाट तथा मुड्खु र तीनपिप्ले भन्ज्याङ हुँदै त्रिशूली उपत्यकाबाट उत्तर–पश्चिमी हावा काठमाडौं प्रवेश गर्छ। ‘काठमाडौं उपत्यका घेर्ने डाँडाहरूको ठीकमाथि स्थिर किसिमको वायुमण्डलीय सतह बन्ने गर्छ,’ उनी भन्छन्, ‘त्यसले उपत्यकालाई बिर्को लगाएजस्तै गरी प्रदूषण आकाशतिर फिँजिएर जाने प्रक्रियालाई रोक्छ।’ त्यस्तो अवस्थामा उत्सर्जित वायु प्रदूषण उपत्यकाभित्र जम्मा हुन थाल्छ। ६ महिनाअघि वातावरण विभाग तथा त्रिभुवन विश्वविद्यालयको नारेल प्रयोगशालाको सहकार्यमा विशेषज्ञ परिचालन गरी ‘काठमाडौं उपत्यका तथा लुम्बिनी क्षेत्रमा उत्सर्जित वायु प्रदूषण डिस्पर्सन मोडेलिङ एवं नियन्त्रण पद्धति विकास’ सम्बन्धी अनुसन्धान गरिएको थियो। उक्त अनुसन्धानको प्रतिवेदनमा काठमाडौं उपत्यका तथा लुम्बिनी क्षेत्रको वायुमण्डलीय अवस्था, वायु प्रदूषण उत्सर्जनका गतिविधि एवं वायु प्रदूषण प्रसार तथा विस्तार प्रक्रियालाई मापदण्डभित्र ल्याउन स्पष्ट बाटो देखाइदिएको छ। काठमाडौंको हकमा सुन्धारालाई केन्द्रविन्दु मानेर चारैतिर ७०/७० किलोमिटर क्षेत्रफलमा भइरहेका वायु प्रदूषणका स्रोतका आधारमा प्रतिवेदन तयार गरिएको छ। उक्त अनुसन्धानको नेतृत्व प्राध्यापक रेग्मीले नै गरेका थिए। अनुसन्धानमा जापान र जर्मनीका विशेषज्ञसमेत संलग्न थिए। अनुसन्धानले ओगटेको क्षेत्र (सुन्धारा) बाट ७० किलिमिटर क्षेत्रफलभित्र नाइट्रोजन अक्साइड, सल्फर अक्साइड, कार्बन मोनोअक्साइड र टोटल सस्पेन्डेड पार्टिकुलेटस (टीएसपी) प्रतिदिन क्रमश: ३३.९०, १८.७४, ६५६.२६ र १२६.०१ मेट्रिक टन उत्सर्जन भइरहेको देखाएको छ। सर्वसाधारणको अत्यधिक चहलपहल र आउजाउ हुने उपत्यकाका मुख्य भागबाट उत्सर्जन अधिकतम पाइएको छ। अनुसन्धानमा पहिलो पटक ड्रोन प्रयोग गरी काठमाडौं उपत्यकामा उत्सर्जित पीएम २.५ प्रदूषण जमिनबाट आकाशतिर फिँजिएर जाने प्रक्रिया मापन गरिएको छ। त्यसबाट साँझ घाम डुब्ने बेलादेखि बिहान झन्डै ९ बजेसम्म हावा नचल्ने यो अवधिमा उत्सर्जित प्रदूषण जमिनबाट २ सय मिटरमाथिसम्म पनि फिँजिन सक्दैन भन्ने पुष्टि भएको छ। काठमाडौँ तथा लुम्बिनी क्षेत्रमा जाडोयाममा रहने वायुमण्डलीय अवस्थितिका कारण वायु प्रदूषण बहन क्षमता अत्यन्त न्यून रहेको र त्यसको क्षमताभन्दा हाल उत्सर्जित वायु प्रदूषणको मात्रा धेरै गुणाले बढी रहेको अनुसन्धानले देखाएको छ। ‘उपत्यकाले बहन गर्न सक्ने क्षमताभन्दा धेरै प्रदूषण छ,’ रेग्मीले भने, ‘तोकिएको मापदण्डभित्र ल्याउन चाल्नुपर्ने कदमबारे हामीले स्पष्ट उल्लेख गरेका छौं।’ प्रतिवेदनमा वायु प्रदूषणको स्तर मापदण्डभित्र ल्याउन काठमाडौंमा उत्सर्जन भइरहेको प्रदूषणलाई घटाउनुपर्ने उल्लेख छ। घरायसी क्रियाकलापबाट भइरहेको प्रदूषणलाई ८० प्रतिशत, यातायातका क्रियाकलापबाट उत्सर्जितलाई ७० प्रतिशत र औद्योगिक क्रियाकलापबाट उत्सर्जित प्रदूषणलाई ६० प्रतिशत घटाउनुपर्ने त्यसमा जनाइएको छ। लाखौं संख्याका सवारी साधन, इँटाभट्टा, कृषि प्रयोजन, अस्पतालका इन्सिनेटर र खुला स्थानमा फोहोर जलाउँदा निस्कने धूवाँ वायु प्रदूषणका मुख्य स्रोत हुन्। अनुसन्धानकर्ता रेग्मी उत्सर्जन क्रियाकलाप नियन्त्रणमा खासै काम नभएको बताउँछन्। ‘बरु उत्सर्जनका नयाँ–नयाँ स्रोत थपिएका छन्,’ उनी भन्छन्, ‘केही दिनअघिको छलफलमा वायु प्रदूषण नियन्त्रण गर्ने उपाय सुनाउँदा वातावरणमन्त्रीज्यूले उल्टै सम्भव छ र भन्ने प्रश्न गर्नुभयो।’ दाउरा, मट्टितेल, गुइँठाको साटो सरकारले बिजुली सहज र सस्तो उपलब्ध गराउने हो भने घरघित्रबाट उत्सर्जन हुने प्रदूषण घट्ने उनले बाए। ‘सार्वजनिक यातायातलाई प्रभावकारी र विद्युतीय प्रणालीयुक्त बनाउने हो भने यातायातबाट हुने उत्सर्जन घट्छ,’ उनले भने। प्रदूषणमा मुख्य दोषी पुराना सवारी साधन उपत्यकाबाट विस्थापित गर्ने सरकारी घोषणा अझै कार्यान्वयन भएको छैन। सडकको धुलो नियन्त्रण, यातायातका साधनको उचित मर्मतसम्भार र भार नियन्त्रण, इन्धनमा शुद्धीकरण, फोहोर बाल्न प्रतिबन्ध, विद्युतीय सवारी साधनलाई प्रोत्साहन र इँटाभट्टाहरूको उत्सर्जनलाई नियमन गर्नसके लक्ष्य हासिल हुनसक्ने प्रतिवेदनमा छ। वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेल विशेषज्ञहरूले दिएका सुझाव मननयोग्य भए पनि विभाग एक्लैले कार्यान्वयन गर्न नसक्ने बताउँछन्। ‘वायु प्रदूषणका मुख्य स्रोत सवारी साधन हुन् तर तिनलाई हामीले नियमन गर्न मिल्दैन’, पौडेलले भने, ‘त्यो क्षेत्र यातायात व्यवस्था विभागले हेर्छ। हरियो स्टिकर पनि उसैले दिन्छ।’ सवारी साधनको प्रदूषण जाँच्ने जिम्मेवारी यातायात विभागकै हो। वातावरण विभागसँग प्रदूषण जाँच गर्ने मेसिन एउटा मात्र छ। विश्व वातावरण दिवसका अवसरमा एक साता विभागले सडकमा सवारी साधनको प्रदूषण जाँचसमेत गरेको थियो। गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी गराएर सुरु गरिएको उक्त अभियान एक साता पनि टिक्न सकेन। वातावरण विभागले वायु प्रदूषणका हकमा १९ वटा प्रदूषण मापन केन्द्रले दिने सूचना/तथ्यांक नियमन गर्नेबाहेक अरू केही गर्दैन। वन तथा वातावरण मन्त्रालयले मंसिर ३ मा सूचना प्रकाशित गरी खुला ठाउँमा फोहोर नजलाउन उद्योगहरूलाई आग्रह गरेको छ। वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगानाले अहिलेको वातावरण ऐनमा सवारीसाधन नियमन गर्ने व्यवस्था नभएकाले ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए। ‘सवारीसाधन नियमन गर्ने र हरियो स्टिकर दिने व्यवस्था वातावरण ऐनमै हुनुपर्छ भनेर छलफल थालिएको छ,’ उनले भने, ‘एकद्वार प्रणाली भयो भने नियमन सहज हुन्छ।’ अहिले यातायात व्यवस्था विभागले सानो भर्‍याङ, टेकु र एकान्तकुनामा प्रदूषण जाँच गरी हरियो स्टिकर दिने गरेको छ। बेला–बेलामा चर्चा वायु प्रदूषणका हिसाबले नेपाल बेला–बेला चर्चामा आउने गरेको छ। गत वर्ष विख्यात येले र कोलम्बिया युनिभर्सिटीले ‘वल्र्ड इकोनोमिक फोरम’ सँगको साझेदारीमा सार्वजनिक ‘इन्भायरोमेन्ट पर्फरमेन्स इन्डेक्स २०१८’ (ईपीआई) प्रतिवेदनअनुसार वायु प्रदूषण बढी भएका मुलुकमध्ये नेपाल अग्रस्थानमा थियो। उक्त प्रतिवेदनले विश्वका १ सय ८० देशको सूचीमा नेपाललाई १७६ औं स्थानमा राखिएको थियो। वातावरणीय र स्वास्थ्यका १० ‘पार्टिकुलेट्स’ लाई आधार मानेर १ सय ८० देशको वातावरणीय अवस्थाबारे अध्ययन गरिएको थियो। दक्षिण एसियाका नेपालसहित भारत र बंगलादेशको वायु प्रदूषणको गुणस्तर सबैभन्दा खराब पाइएको छ। वायुको गुणस्तरका हिसाबले नेपाललाई ३१.४४ स्तर दिइएको थियो भने भारतको ३०.५७ र बंगलादेशको २९.५६। त्यस्ता अध्ययनले पनि वायु प्रदूषणलाई विश्वमै प्रमुख वातावरणीय स्वास्थ्यको खतराको सूचकका रूपमा व्याख्या गर्ने गरेका छन्। विगतमा गरिएका विभिन्न अध्ययनले पनि नेपाल (काठमाडौं) सहित भारत (नयाँदिल्ली) र बंगलादेश (ढाका) वायु प्रदूषणका हिसाबले अग्रस्थानमा रहेको देखाउने गरेका थिए। कान्तिपुरबाट