ओलीको भिडियो भाईरल

काठमाडौ। सत्तामा रहेको दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले मध्यरातमा नेपाली कांग्रेससँग सत्ता सहकार्यको सहमति गरेपश्चात अहिले नेपालको राजनीति निकै नै तातेको देखिन्छ। 

यसै पनि तातिरहेको राजनीतिमा तरंग त त्यतिबेला आयो जब प्रधानमन्त्री प्रचण्डले राजिनामा नदिने बरु धोका भएकाले संसद फेस गर्ने घोषणा गरे। प्रचण्डले राजिनामा नदिएर संसद फेस गर्छु भनिसकेपछि नेकपा एमालेका अध्यक्ष ओलीले पार्टी र संसदीय दलको बैठक नै राखेर प्रचण्डलाई राजिनामा दिनैपर्छ भनिरहेका छन्।

संवैधानिक व्यवस्था अनुसार नै सत्ता सहकार्य गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र विश्वासको मत लिनुपर्ने प्रधानमन्त्रीको अधिकार नै हुँदा हुँदै र प्रधानमन्त्रीले पनि म संसद फेस गर्छु विश्वासको मत लिन्छु भन्दा भन्दै एमाले र एमालेका अध्यक्ष ओली किन आत्तिएर राजिनामाको बालहठ गरिरहेका छन् त भन्ने प्रश्नमा प्रधानमन्त्री ले विश्वासको मत लिनु नै ओली प्रधानमंत्री बन्ने बाटो बन्द हुनु हो भन्ने कुरा राजनीतिक पण्डितहरु बताउँछन्। 

केपी ओली आत्तिनुको मुख्य कारण उनको आफ्नै ब्याख्या पनि रहेछ। गत फाल्गुण २९ गते प्रचण्डलाई विश्वासको मत दिने पुर्वसन्ध्यामा आफ्ना सॉसदलाइ संसदीय दलको बैठकमा धारा ७६ (२) अन्तर्गतको प्रधनमंत्रीले विश्वासको मत पाएनन भने धारा ७६ (३)मा जाने र अक्षम व्यक्ति (ठुलो दलका नेता देउवा) को नेतृत्वमा सरकार बन्ने जुन आफुहरुल् नचाहेको भन्ने भिडियो अहिले सामाजिक संजालमा भाईरल भईरहेको छ।

पुर्वन्यायधिश हुन् वा वरिष्ठ अधिवक्ता वा संविधानविद् सबैको भनाई धारा ७६ (२) पछि ७६ (३) नै आउने भन्ने नै आईरहेका बेला केपी ओलीको भिडियो सार्वजनिक भएपछि राष्ट्रपतिले धारा ७६ (३) नै प्रयोग गरेर संविधान च्यात्नबाट जोगाउने एक माओवादी नेताले बताए।

रुसी सेनामा कार्यरत सबै भारतीयलाई फिर्ता पठाइने

ऐजेन्सी ।रूसी सेनामा कार्यरत सबै भारतीयको स्वदेश फिर्तीको बाटो खुलेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यो मुद्दा राष्‍ट्रपति भ्लादिमिर पुटिनसँग उठाएपछि निर्णय भएको हो। मोदीको प्रस्‍तावलाई राष्‍ट्रपति पुटिनले स्वीकार गरेका छन्। रूसका राष्‍ट्रपति पुटिनले प्रधानमन्त्री मोदीलाई आफ्नो निवासमा निम्ता गरेका थिए। जहाँ दुई नेताबीचमा भएको वार्ताका क्रममा प्रधानमन्त्री मोदीले रूसी सेनामा काम गरिरहेका भारतीयको मुद्दा उठाएका थिए। यसक्रममा पुटिनले प्रधानमन्त्री मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बनेकोमा बधाई दिएका थिए। प्रधानमन्त्री मोदी र पुटिनबीच चियावार्ताका क्रममा कयौँ मुद्दामा कुरा भएको छ। यस क्रममा पुटिनले प्रधानमन्त्री मोदीलाई लामो समयदेखिको मिहिनेतका कारण तेस्रो पटक प्रधानमन्त्री बनेको भन्दै प्रशंसा गरे।

नयाँ गठबन्धन निर्माणको उदेश्य संविधानको तोडफोड गर्नु : मन्त्री बस्नेत

काठमाडौँ। ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्नु रहेको बताएका छन्।मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने कुरामा आफूहरू लागेको बताए । उनले मुलुकका दुई ठुला दल संविधानलाई दोष देखाएर जनताको अधिकार सीमित गर्ने प्रयासमा लागेको बताए। उनले भने, ‘‘अहिले जुन नयाँ समीकरणको कुरा आइरहेको छ, यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ छैन। यो सोचको कुरा हो, दृष्टिकोणको कुरा हो।’ सरकारमा कुन पार्टी छ वा छैन भन्नेकुरा गौण विषय भएको बताउँदै उनले नयाँ समीकरणको कुरा आइरहेको भएपनि यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ नभएको बताए ।नयाँ गठबन्धन बनाउने कुरा जनताको अधिकार कुण्डित गर्ने दृष्टिकोणबाट प्रेरित भएर बनेको उनले बताए ।

नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि : सांसद पाण्डे

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ सरकार भ्रष्टाचार ढाकछोप गर्ने उदेश्यका साथ बनेको बताएका छन्।  मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार गिरिबन्धु प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका प्रकरणहरू छोप्नका लागि बनेको बताए। संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग गठबन्धन नरहेको आफूहरूको बुझाइ रहेको स्पष्ट पारे । प्रमुख प्रतिपक्षको जिम्मा पाएको राजनीतिक दल नै जिम्मेवारी छोडेर सरकारमा सहभागी हुनुले शंका उब्जिएको उल्लेख गरे।  “गिरिबन्धुको छोप्नुपर्ने भयो, एकजना भाउजूको पनि छोप्नुपर्ने भयो। भुटानी शरणार्थी काण्डको छोप्नुपर्ने भयो । यस्ता कुरा भन्ने आइरहेको छ। त्यो नहोस्। त्यो उहाँहरूमाथि लागेको आरोप गलत ठहरियोस्। तर, आम रूपमा संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग सम्बन्धित होइन। प्रमुख प्रतिपक्षको जिम्मै छोडेर सरकारमै बस्न पुगेपछि हाम्रो रक्षा कसले गर्दछ । प्रमुख प्रतिपक्षको जिम्मेवारी पाएको पार्टी नै सरकार सम्हाल्न हिँडेपछि। गलत कुरा छोप्न हो की भन्ने शंका सबैको छ,” उनले भने ।  सांसद पाण्डेले एमाले र कांग्रेस सरकारमा आफूहरू सम्मिलित हुनेकुरा नसोचेको र आफूहरूको आवश्यकता पनि दुई दललाई महसुस नभएको अनुभव आफूले गरेको बताए।

आफ्नै प्रस्तावमा बनेको गठबन्धन भत्काउनुको कारण ओलीले प्रष्ट पार्नुपर्छ : सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले कांग्रेस–एमालेबीचको सहमतिलाई प्रतिगामीको संज्ञा दिएका छन्।  मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संविधान संशोधनको एजेण्डासहित गरिएको भनिएको ७ बुँदेले देशलाई फाइदा नगर्ने उनले बताए ।   माओवादी युवा नेता दाहाललले एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा एमाले–माओवादी केन्द्रको समीकरण बनेको भएपनि बिना कारण समीकरण भत्काइएको बताए।  उनले समीकरण सुरू गर्नुको उद्देश्य र भत्काउनुको कारणका बारेमा ओलीले प्रष्ट पानुपर्ने बताए। ‘प्रश्न गर्नुपर्छ, केपी ओलीलाई। यहाँले जुन उद्देश्यसहित सहकार्य सुरु गर्नुभयो। अहिले कुन उद्देश्यसँग केन्द्रीत भएर यो सहकार्य तोड्नु भयो? जुन उद्देश्यसहित केन्द्रीत रहेर सत्ता सहकार्य सुरु गर्‍यौँ, जतिबेला हामीले सत्ता सहकार्य सुरु गरेका थियौँ प्रचण्डले लिनुभएको सुशासन, समृद्धि र सामाजिक न्यायको केन्द्रीय कार्यभार पूरा गर्ने सङ्कल्प पछि हटेको थिएन। उहाँलाई थाहा थियो,’ उनले भने, ‘पछिल्लो समय के कारणले हामी बिचको समीकरण तोडियो ? यो त जवाफ दिनैपर्छ। के कारणले सहकार्य सुरु गर्‍यौँ ? र के कारणले हाम्रा समीकरण भत्किए? चार महिनाको बीचमा प्रधानमन्त्रीको तर्फबाट के गर्नुपर्थ्यो र के गर्नु भएन ? भन्ने विषयमा पनि यहाँले जवाफ दिनैपर्छ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यभार पूरा गरिरहेको अवस्थामा समीकरण तोड्नुको कारण के हो ? भनी प्रश्न गरे।   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नर्गनाले वा बेचन झा र प्रतिक थापालाई पक्राउ गर्नाले समीकरण भत्काएको हो भनेर उनले प्रश्न समेत गरे।   चुनावी घोषणापत्रमा संविधान संशोधनको मुद्दा राखेको भएमात्रै संविधान संशोधन गर्न पाउने भन्दै सांसद दाहालले जनतालाई नझुक्याउन चेतावनी उनले दिए। ‘के धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्न सकिएन त्यसकारण सहकार्य टुट्यो? भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै जाने क्रममा बेचन झा र प्रतिक थापाको गिरफ्तारी भयो। त्यही कारणले सहकार्य टुट्यो? जवाफ त दिनैपर्छ,’ उनले भने।

अब बन्ने सरकारमा जाने मेरो रुचि छैन : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अब बन्ने सरकारमा जान आफ्नो रुचि नभएको बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनाउने सहमति गरेको कांग्रेसले पार्टीको नेतृत्व गरेर सरकारमा कसलाई पठाउछ भन्ने जिज्ञासा भइरहेका बेला सिटौलाले आफ्नो रुचि नरहेको बताएका हुन्। ‘अब बन्ने सरकारमा जाने मेरो रुचि छैन। अरु साथीहरुले चर्चा गरेर भएन नि, मेरो आफ्नै रुचि छैन,' उनले भने   

कांग्रेस सांसद पौडेलको प्रश्न -'केपी ओली दुई पटक प्रधानमन्त्री हुनुभयो, देशले के प्राप्त गर्‍यो?'

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति नरहेको बताएका छन्।  सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले अहिले अध्यक्ष ओलीलाई दुई वटा अवसर प्राप्त भएको भन्दै देश र जनताले प्राप्त गर्ने गरी काम गर्न आग्रह गरे।उनले अध्यक्ष ओली जीवन र राजनीतिको उत्तरार्द्धमा रहेको भन्दै देश र जनताको लागि काम गर्न आग्रह गरे।  ‘केपी ओलीज्यूलाई दुई वटा अवसर प्राप्त भएको छ। दुई तिहाइको प्रधानमन्त्री हुनुभयो, त्योभन्दा अघि पनि प्रधानमन्त्री हुनुभयो। प्रधानमन्त्री भएर देशले के प्राप्त गर्‍यो भनेर उहाँले गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति छैन। उहाँ जीवनको र राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ । परिस्थितिले उहाँलाई फेरि नेतृत्व गर्ने अवसर प्राप्त भएको  छ। झन्डै दुई तिहाईले समर्थन गरेको प्रधानमन्त्री उहाँ हुँदै हुनुहुन्छ । म के आग्रह गर्न चाहन्छु भने यो पटक प्रधानमन्त्री हुँदा देशको लागि हुनुस्, जनताका लागि हुनुस् । गुटको लागि नहुनुस् । पछिल्लो पटक प्रधानमन्त्री हुँदा यो यो गर्नुभयो भनेर भन्नसक्ने, थाहा पाउने गरी नेतृत्व गर्नुस् ।’ सांसद पौडेलले कसैलाई सम्मान नगर्ने, संयोजन गर्न नसक्ने मान्छे भन्दै लाग्ने गरेको आरोपलाई मिथ्या सावित गर्ने गरी काम गर्न आग्रह गरे।

जसपाका मन्त्रीको राजीनामा स्वीकृत, मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीले दिएको राजीनामा स्वीकृत गरेका छन्। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जसपाका ३ मन्त्रीले असार २१ गते साँझ राजीनामा बुझाएका थिए। उनीहरुको राजीनामा स्वीकृत भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले समहाल्नेगरी तोकेका छन्। जसपाबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए। अशोक राई नेतृत्वको जसपाले कांग्रेस एमालेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय गरिसकेको छ। यसअघि एमालेका आठ मन्त्रीले छाडेका मन्त्रालय पनि प्रधानमन्त्री स्वयंले सम्हालिरहेका छन्। 

संगितमय प्रतिनिभिसभा : एमालेलाई माओवादीको जवाफः ‘कति जल्छौं आरिसले, अझै जल्दै गर..’

काठमाडौं ।राजनीतिक दाउपेच चर्को भईरहेका बेला आजको प्रतिनिधिसभा बैठक संगितमय बनेको छ । राजनीति दलका नेता तथा सांसदहरुले विभिन्न गितहरुलाई विम्ब बनाएर एक अर्कोलाई प्रहार गर्दा संसद बैठक नै संगितमय बनेको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिएर नेकपा एमालेका मन्त्रीहरुले राजिनामा बुझाउदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फत्तेमान राजभण्डारीको गित गुन्गुनाएका थिए । ‘‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले....।’ एमालेले धोका दिएको अर्थमा प्रधानमन्त्री प्रचण्डले यस्तो भावुक गित सुनाएका थिए।  आज बसेको संघिय संसदको प्रतिनिधिसभा बैठकमा एमाले सांसद ठाकुर गैरेले प्रचण्डले बरु उडायो सपना सबै हुरीले गित गाए हुने भन्दै ब्यङ्ग्य गरे । एमालेको गितको जवाफ माओवादीका सांसद पूर्णबहादुर घर्तीले दिए । उनले सिलाबहादुर मोक्तानले संगित गरेको कुन्ती मोक्तानको गीत संसद बैठकमा सुनाए। उनले भने, ‘कति जल्छौं आरिसले अझै जल्दै गरे, मत हिड्छु आफ्नै बाटो खुट्टा तान्दै गर...।  त्यस्तै, सोमबारको प्रतिनिधि सभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि प्रधानमन्त्रीलाई गीतबाटै जवाफ फर्‍काए।उनले 'तिमीले पराई ठानेपछि पराई हुनु के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र...' भन्ने अञ्जु पन्तको गीत गाएका थिए ।

प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेश गर्ने सम्भावित कार्यसूची छ।   बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।   यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालय पनि सम्हालेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचारका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। 

चित्रबहादुर केसीको प्रश्न– कांग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरीबन्धु प्रकरणबाट चोखिन हो ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी–इस्टेट प्रकरण ढाकछोप गर्न नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहकार्य भएको भए मान्य नहुने चेतावनी दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले त्यस्ता काण्डबाट आफूलाई चोख्याउन कांग्रेस–एमालेले नयाँ सत्तासमीकरण बनाएको भए त्यो नेपाली जनतालाई मान्य नहुने बताएका हुन् । नयाँ–पुराना सबै दलहरू भ्रष्ट छन् भन्ने जनतालाई थाहा भएको भन्दै उनले विगतमा गरेका गल्ती सच्याएर अघि बढ्न अब बन्ने सरकारलाई सुझाव दिए। एमालेले सरकारको नेतृत्व गर्ने भन्ने चर्चाप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे । संसद्को ठूलो दल कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने उनको भनाइ थियो। अध्यक्ष केसीले नेपाली जनताले राजनीतिक पार्टीप्रति घृणा गरिरहेको उल्लेख गरे । त्यसलाई चिर्ने गरी अब बन्ने सरकारले काम गर्नुपर्ने उनले बताए । यस्तो थियो प्रतिनिधिसभा बैठक चित्रबहादुर केसीको मन्तव्य मैले अहिले यहाँ देखेँ, दोहोरी । कोही यहाँ नयाँ भर्खरै आएका जस्ता, कोहीचाहिँ पुराना । कतिपयचाहिँ सत्तामा बस्दा नेपालमा असाध्यै सुशासन दिएको, भ्रष्टाचार उन्मूलन गरेको, देशको सार्वभौमिकता, अखण्डताको रक्षा गरेको, त्यस्तो गरेकोरनगरेको त नेपाली जनतालाई थाहा छ नि ! अहिले जुन यहाँ पनि कुरा आयो, यदि भ्रष्टाचारलाई छामछुम पार्नका लागि, भुटानी शरणार्थीको काण्डमा र गिरीबन्धु टी–इस्टेटको काण्डमा दुईवटा ठूला पार्टीको सम्झौता हो भने यो नेपाली जनतालाई मान्य हुन्न । त्यसकारण यहाँ कसैले पनि रोस्ट्रमबाट आफ्नो सफाइ दिए पनि नेपाली जनताले भोगिराखेका छन्, देखिराखेका छन् । त्यसकारणले को चोखो छ ? भ्रष्टाचारबाट कुन पार्टी मुक्त छ ? त्यसकारण यसभन्दा पहिलेको जुन गठबन्धन थियो, त्यो गठबन्धन बन्नुको पछाडि के थियो रु हामी २०७४ मा वामपन्थीहरू एकै ठाउँमा भएका थियौँ नि, त्यो वामपन्थीहरूको सरकार भत्काउनुको औचित्य के थियो ? त्यो भत्काएकोमा सर्वोच्च अदालतले बेठिक भयो भनेपछि फेरि अर्कोचोटि पनि भत्काएको होइन रु अनि, त्यसको सफाइ दिने बेलामा चाहिँ एमाले बचाउनका लागि भन्ने कुरा आयो, होइन रु त्यसकारणले सबैको हविगत देखिएको छ । संसद्भित्रका राजनीतिक दलहरू साना, ठूला, नयाँ, पुराना सबैलाई नेपाली जनताले देखेका छन् । जानेका छन् । बुझेका छन् । आफ्नो भ्रष्टाचारलाई लुकाउन, जोगाउनका लागि यो खेल भएको हो भने यो राम्रो कुरा होइन । मैले एक वर्ष पहिले नै भनेको थिएँ– तपाईंहरू संसदीय व्यवस्था मान्नुहुन्छ, सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्नु पर्दैनथ्यो रु किन यसबेला आएर बल्ल निन्द्रा खुल्यो रु त्यो पनि सबभन्दा ठूलाले होइन, माइलो पार्टीले गर्दै छ । यसमा पनि दालमा काला हए ! भोलिका दिनमा नेपाली जनताले बुझ्दै जानेछन् । हाम्रो तपाईंहरूलाई सुझाव के हो भने– राजनीतिक पार्टीहरूप्रति नेपाली जनताको असाध्यै घृणा छ, नेपाली जनताले हामीलाई त्यसै घृणा गरेका हुन् ? किन घृणा गरिराखेका छन् भने राजनीति गर्ने भनेको कमाउने, पैसा जम्मा गर्ने र आउँदो चुनावलाई करोडौँ रकम जम्मा गर्ने । जोसुकै होस्, चाहे नयाँ आएकाका कुरा गरौँ, चाहे पुरानाका कुरा गरौँ, सरकारमा बस्नेहरूबाटै सहकारीमा अर्बौँको हिनामिना भएको होइन र ? यो नेपाली जनताले बुझेका छैनन् ? यो लोकतन्त्र, गणतन्त्र हामीबाटै खतरा छ । अहिलेसम्म जो भयो भयो, विगतका गल्ती–कमजोरीलाई स्वीकार गरेर अघि बढ्नुपर्छ ।

‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन बुझाएको छ । महान्यायाधिवक्ता डा.दीनमाणी पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको सो प्रतिवेदन आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसमक्ष पेश गरेको हो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले कानुनको सुधारका लागि कार्यदल गठन गरिएको स्मरण गर्र्दै प्राप्त सुझावलाई सरकारले गम्भीररूपमा लिएर अगाडि बढाउने बताए।  प्रतिवेदनमा मुलुकी अपराध संहिता, २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४  र फौजदारी कसुर सजाँए निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ लगायत विभिन्न विषयत फौजदारी कानुनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव दिइएको छ ।  महान्यायाधिवक्ता पोखरलेले आफ्नो क्षेत्राधिकार प्रयोग गरेर फौजदारी, कार्यविधि, दण्डसजाँइ र संस्थागत सुधारका विषयमा कार्यदलले प्रतिवेदन तयार पारेको र यसले नीतिगत सुधारमा महत्त्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे।  विसं २०८० माघ १८ गते कार्यदल गठन गरिएको थियो ।

भ्रष्टाचार विरोधी कारबाहीको डरले सरकार फेरबदल : सांसद पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले व्यक्तिगत स्वार्थ र भ्रष्टाचार विरोधी कारबाहीको डरले सरकारको समीकरण र फेरबदलमा लागि परेको बताएका छन् ।  आइतबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले विगत लामो समयदेखि जनतालाई निरन्तर शोषण र लेकका खरी जुकाले रगत चुसेजस्तै चुसिरहेका राजनीतिक दलहरू विपद्का समयमा सत्ताको दाउपेचमा लागि परेको आरोप उनको थियो । जनता पहिरोमा पुरिएको, घरवारविहीन र डुवानका कारण ज्यान गुमाइरहँदा राज्य छ भन्ने महसुस दिन नसकेको उल्लेख गरे ।  “अनि त्यो परिवर्तन आफू र आफ्नाहरूलाई भ्रष्टाचारविरुद्धको कारबाहीबाट बचाउनुबाहेक अरू कुनै स्वार्थ छैन,” उनले भने, “वा १ सम्मानित नेताहरू भाषण त गज्जब गर्नुहुन्छ । प्रतिपक्षमा बस्दा गिरीबन्धुका फाइल खोलियोस् भन्नुहुन्छ । ४७ साल यताका फाइल खोलियोस् भनेर महत्त्वपूर्ण सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउनुहुन्छ ।”  उनले असार १५ मा प्रतिपक्षमा बस्दा गिरीबन्धुका फाइल खोलौँ भन्नेहरू भुटानी शरणार्थी प्रकरणमा अब हामी कोही नबच्ने रहेछौँ है भनेर नयाँ सहमतिको अवसर जुरेको भन्दै आक्रोश पोखे । “असार १५ कै अवसरमा होस् बूढालीलकण्ठबाट बालकोटसम्मको यात्रा तय गर्दैगर्दा तमाम नेपाली जनताले नजिकबाट नियालिरहेका छन्,” उनले भने ।

बेचन झाले ल्याएको बेचैनी र गिरीबन्धु काण्डबाट बच्न नयाँ गठबन्धन बनाइयो : माधव सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता सांसद माधव सापकोटाले कांग्रेस र एमाले मिलेर बनेको नयाँ सत्ता गठबन्धनलाई अनैतिक, अप्राकृतिक र परारदर्शीको संज्ञा दिएका छन् ।   संघीय संसदको प्रतिनिधि सभा बैठकमा विषेश समय लिएर बोल्दै उनले राजनीतिक स्थिरता र संविधानका विषयमा पुनरावलोकन गर्न भनिएपनि मूलत यो गठबन्धन भ्रष्टाचारको ढाकछोप गर्न बनेको आरोप लगाए।   गिरीबन्धु चिया बगानका विषयमा नेकपा एमालेका अध्यक्ष लगायतका नेताहरु मुछिएकाले त्यसबाट बचाउन र नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवासमेत मुछिएकाले उनीहरुलाई बचाउन यो गठबन्धन भएको उनले तर्क गरे।   दिनभरी प्रधानमन्त्रीसँग यही सरकारलाई निरन्तरता दिने हो भनेर सहमति गर्ने र मध्यरातमा अमुक व्यक्तिको घरमा सहमति गर्नुचाँही नैतिकताको प्रश्न हुने उनले तर्क गरे ।   सापकोटाले संसदीय अभ्यास र स्थिरताको कुरा दोस्रो पार्टीले नै सरकारको नेतृत्व गर्ने र आधा आधा कार्यकाल बाढ्ने भनेपछि स्थिरता नआउने उनले बताए। ‘बेचन झाको गिरफ्तारी र उनले दिएको प्रमाणले सरकारमा सहभागि घटक नेकपा एमालेले मुसा प्रबृत्ति देखाएको बताए।  संविधानमा राजीनामा दिनुपर्ने उल्लेख नभएको र विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले पत्राचार नै गरिसकेकाले घटनाक्रमलाई विसयान्तर गर्ने र प्राकृतिक विपत्तिले अप्ठ्यारो परेको बेला यो सरकार फेरबदलको सहमति गर्नु आश्चार्यजनक छ ।

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । प्रतिनिधिसभाको बैठक नयाँ वानेश्वरस्थित संसद भवनमा जारी छ । संसद्मा सांसदहरुले धारणा राखिरहेका छन् ।

कसैले चाहँदैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : लेखनाथ दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैले चाहाँदैमा राजीनामा नदिने बताएका छन्। संघीय संसदको प्रतिनिधि सभामा शुन्य समयमा आफ्नो धारणा राख्दै उनले सरकारले एक महिना भित्र संवैधानिक प्रावधान अनुसार राजीनामा दिने बताए।  “सरकारलाई समर्थन दिइसकेको राजनीतिक दलले विशवासको मत छैन भनेर फिर्ता लिइसकेपछि सरकारले महिना दिनभित्र विशवासको मत लिने संवैधानिक प्रावधान छ। -असार_ २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ,” उनले भने, “संवैधानिक प्रावधानानुसार विश्वासको मत लिन खोज्नु अनैतिक हुनु हो < कसैले चाहँदैमा राजीनामा आउँदैन।” उनले संवैधानिक व्यवस्थाअनुसार अघि बढ्ने भन्दै ‘अनैतिक र भ्रष्टहरू’ले नैतिकताको पाठ सिकाउन जरुरी नभएको बताए। अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिनका लागि समय लिइसकेको र यसलाई नैतिकतासँग जोडेर हेर्नु आवश्यक नभएको उनले बताएका छन्। सरकारलाई समर्थन दिएको दल नेकपा एमाले, जसपा नेपालले समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको छ। एमाले आजैदेखि संसदको प्रतिपक्षी बेन्चमा बसेको छ।