‘काँग्रेस–एमाले गठबन्धन प्रतिगामी’

काठमाडौं । काँग्रेस–एमालेले भ्रष्टाचारका फाईलको डरसँगै परिवर्तन उल्ट्याने योजना सहित गठबन्धन भएको एक कार्यक्रमका वक्ताहरुले जिकिर गरेका छन् । बिहिबार संवाद डबलीमा भएको कार्यक्रममा माओवादीले आफ्नो वर्ग बिर्सिएको परिणाम प्रतिगमनकारी शक्तिहरुले टाउको उठाएको समेत दाबी छन् ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता रामनारायण बिँडारीले भ्रष्टाचार मुद्धाबाट आत्तिएका काँग्रेस–एमालेले सरकारको स्थिरताको नाममा क्रान्ति र परिवर्तनका उपलब्धी उल्ट्याउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । नक्कली भूटानी शरणार्थी प्रकरण र गिरीबन्धु टि स्टेट प्रकरणको कुराले झस्काएपछि मध्य रातमा स्वार्थ मिलनको साइत जुरेको बताउँदै उनले भने, “एमालेले सहकारी र एन्जीयो मार्फत लटु मच्चाएका नेता–कार्यकर्ता जोगाउन र काँग्रसी हाईप्रोफाईलका मान्छे खोरमा जाने डरले यो अवस्ता निम्ताए ।”
संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि प्रचण्डलाई सुझाएको बिँडारीले स्मरण गर्दै भने,“भारतमा १ सय ३ पटक र अमेरिकामा ४ दर्जन पटक संशोधन हुँदा नेपालमा पनि आवश्यक भएको छ, तर परिवर्तनकारीले गर्ने जनपक्षिय हुन्छ, प्रतिगमनकारीले जनअधिकार खोस्न संविधन संशोधन गर्दैछन् ।”
बिंडारीले मन्त्रालयको संख्या घटाउनु पर्ने, समानुपातिक प्रणालीलाई नहटाई प्रतिनिधी सभा सदस्यको संख्या एक सयमा झार्नु पर्ने, न्यायपालिकालाई एकात्मकबाट संघात्मक प्रणालीमा लग्नु आवश्यक रहेको र जुन संविधान संशोधनबाट सम्भव रहेको बताए ।
प्रचण्डले भ्रष्टाचारका फाईल नखोल्ने तथा जनताको लागि महत्वपूर्ण काम गर्न नसक्ने अवस्थामा ३० दिन नकुरी राजीनामा दिनु उचित हुने पनि बिंडारीको सुझाव छ ।
वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक नरेन्द्रजंग पीटरले जनयुद्धको रापतापको कारणले मात्रै काँग्रेस एमालेले परिवर्तनलाई स्वीकारे पनि अहिले मौका आउँदा त्यसलाई उल्ट्याने चेष्टा गरेको आरोप लगाए । संविधान संशोधनका नाममा उनिहरुले उत्पीडित, गरिव जनताको अधिकार खोस्न लागेको आरोप लगाउँदै भने,“पचास लाख टाउकाको मूल्य तोक्ने र बयलगाडेहरुलाई परिवर्तन पचेको थिएन, सुदुर बस्तिबाट संसदमा जनता पुगेको रुचाएका थिएनन्, गरिबले आँखा जुदाएको मन नपरेर त्यही अधिकार खोस्न तल्लिन छन यिनीहरु ।”
पीटरले वर्तमान परिवर्तन सित्तैमा आएको देख्ने काँग्रेस–एमालेका अगाडी १ दर्जनको संख्यामा विभक्त माओवादी एकजुट भएर क्रान्तिका कार्यभार पूरा गर्ने सुनौलो अवसर पनि भएको बताएका छन् ।

माधव नेपाल नेकपा(एस)को अध्यक्षमा सर्वसम्मत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत भएका छन् । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा नेपाल चयन भएका हुन् ।  चार दिनदेखि जारी दशौँ महाधिवेशनबाट मुख्य दुई कार्यकारी पुरानै नेतृत्वमा सहमति जुटेको हो । एकीकृत समाजवादीमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ ।

सहमतिबाटै नेतृत्व चयन हुन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन् । बिहीबार काठमाडौंमा पार्टीका शीर्ष तहका नेताहरूसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।  पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भुसालले अध्यक्षमा दाबी गरेका थिए । वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निष्कर्षमा पुगेको पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले बताए ।  “छलफल चलिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदै छ, दोहोरिने होइन,” अध्यक्ष नेपालले भने ।  अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो भएकाले अध्यक्षमा दोहोरिने नभई नयाँ नेतृत्व चयन हुने उल्लेख गरे ।

संविधान संशोधन गर्न कांग्रेस र एमालेको संख्याले पुग्दैन : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई दलले चाहेर मात्र संविधान संशोधन हुन नसक्ने बताएका छन्।  बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले संविधान संशोधन गर्न कांग्रेस र एमालेको संख्याले मात्रै नपुग्ने बताएका हुन्।  थापाले दुई दल मिल्दै गर्दा संख्याको आधारमा कानुनी शासनमा ध्यान नपुग्ला कि भन्ने चिन्ता रहने बताए। सरकारभन्दा बाहिर बसेका दलले संसद्‌बाटै खबरदारी गर्नेुपर्ने उनको भनाई थियो । 

भारतका विदेशमन्त्री जयशंकर र चीनका विदेशमन्त्री यीबीच भेट

काठमाडौँ ।लद्दाखमा जारी सीमा तनावकाबीच भारतका विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वाङ यीबीच भेट भएको छ । उनीहरुबीच कजाकिस्तानको राजधानी अस्तानामा बिहीबार भेट भएको हो ।   जयशंकर र वाङ कजाकिस्तानमा आयोजित संघाई कोअपरेशन अर्गनाइजेसनको सम्मेलनमा सहभागी हुन आस्तानामा छन् । जयशंकरले भेटबारे जानकारी दिँदै एक्स (ट्विटर) मा लेखेका छन्, ‘आज बिहान अस्तानामा चीनका विदेशमन्त्री वाङ यीसँग भेट भएको छ । भेटका क्रममा सीमा विवादसँग सम्बन्धित मुद्दा छिट्टै समाधान गर्ने बारे कुराकानी भएको छ । कूटनीतिक र सैन्य माध्यमबाट समस्या समाधानका लागि भइरहेका प्रयासहरूलाई दोब्बर बढाउने सहमति भएको छ ।’ जयशंकरले वास्तविक नियन्त्रण रेखाको सम्मान गर्दै सीमा क्षेत्रमा शान्ति र सौहार्द वातावरण सुनिश्चत गर्न आवश्यक रहेको पनि उल्लेख गरेका छन् । संघाई सहयोग संगठन (एससीओ)को २४ औं बैठक आज सुरु हुँदैछ ।  बैठकमा सहभागी हुन चीनका राष्ट्रपति शी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ कजाकिस्तानमा छन् ।

रास्वपाका मन्त्रीहरूले राजीनामा नदिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्।राजीनामा दिने भन्दै बालुवाटार पुुगेका मन्त्रीहरु राजीनामा नदिइ फर्किएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको २ घण्टा लामो छलफलपछि उनीहरू राजीनामा नदिई फर्किएका हुन्। प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने भएकाले रास्वपाले सहयोग गर्नु पर्छ भनेपछि राजीनामा नदिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। बिहीबार बिहान सरकारमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ राजीनामा दिने भनेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक मध्याह्न सवा १२ बजेबाट सुरु हुनेछ ।  बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत  वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालयका विनियोजित शिर्षकहरूमध्ये छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजित शिर्षकहरूमा छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयका विनियोजित शिर्षकहरूमा छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।     

एकीकृत समाजजादीका मन्त्रीले राजीनामा नदिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) बाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । नेकपा एसबाट सरकारमा सहभागी भएका दुई जना मन्त्रीहरुले राजीनामा नदिने भएका हुन् ।  नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीलाई आफ्नो पार्टीको विश्वासको मत रहेको भन्दै पार्टीका मन्त्रीहरुले राजीनामा नदिने बताए । एकीकृत समाजवादी सहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन सहित २ मन्त्रालय लिएर सरकारमा सहभागी छ । सहरी विकास  मन्त्रालयमा धन बहादुर बुढा र सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जोशी छन् । सरकार फेरबदलसँगै नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाएका छन् भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । त्यसैगरी रास्वपाका मन्त्रीहरुले पनि बिहीबार राजीनामा बुझाउने तयारी गरेका छन् । 

रास्वपा महामन्त्री ढकाल पदबाट निलम्बन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं प्रवक्ता मुकुल ढकाल पदबाट निलम्बन भएका छन् ।  बुधबार बसेको केन्द्रीय समितिको बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो । केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले बताए । केन्द्रीय समितिले सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र आफुलाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत दिएको झाले बताए । साथै, ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारवाहीको सिफारिससहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको उनको भनाई छ । बुधबारको केन्द्रीय समिति बैठकमा बोल्न नपाएको भन्दै मुखमा कालो टेप लगाएर बसेका ढकालले आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठक बहिस्कार गरेका थिए । पत्रकारहरुसँग उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । लामिछानेले हिजो गोर्खा मिडियामा भएको गलत कामको दोष जीबी राईलाई लगाएको र अहिले पार्टीमा आफूलाई दोष थुपारेर उम्किन खोजेको ढकालले बताएका थिए । उनले भनेका थिए, ‘मैले चाहिँ कहिल्यै गल्ती गर्दिन भन्ने व्यवहार सभापतिले देखाउनुभएको छ ।’ उनले अगाडि भनेका थिए, ‘जब उहाँ पत्रकार हुनुहुन्थ्यो तब नेता दोषी, जब नेता हुुनुहुन्थ्यो, तब पत्रकार दोषी, जब उहाँ प्रतिपक्ष हुनुहुन्थ्यो, तब सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्थ्यो, तब प्रतिपक्ष दोषी यो प्रकारको व्यवहार चित्तबुझ्दो भएन ।’

एमालेका मन्त्रीहरूले दिए राजीनामा

काठमाडौं । नेकपा (एमाले)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । बुधबार साँझ उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।  एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरूलाई सरकारबाट बोलाएको हो ।प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मतको सामना गर्ने बताएका छन् ।

टिआरसी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक

काठमाडौँ। सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)मा नमिलेका विषयमा सहमति खोज्न गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ। सिंहदरबारमा बुधबार बसेको कार्यदलको पहिलो बैठकले विधेयकमा विमतिका विषयबारे सहमति जुटाउन छलफल अगाडि बढाएको कार्यदलका सदस्य महेश बर्तौलाले जानकारी दिए।  बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिबारे छलफल भएको उहाँले बताए।  “विधेयकमा सहमति जुटाउने गरी छलफल सुरु गरेका छौँ। आज विशेषगरी मानवअधिकारको गम्भीर उल्लङ्घन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा भएका घटना र प्रभावित व्यक्ति तथा महान्यायाधीवक्ताले गम्भीर मानवअधिकार उल्लङ्घनका विषयमा गर्ने मागदाबीलगायत चार विषयमा सहमतिमा छलफल भएको हो। चाँडै असहमतिका विषयलाई निष्कर्षमा पुर्‍याउँछौँ”, वर्तौलाले भने । कार्यदल सदस्य रमेश लेखकले टिआरसी विधेयकमा सहमति जुटाउन बैठकमा सकारात्मक छलफल भएको बताए। अर्का सदस्य जनार्दन शर्माले आजको छलफल सकारात्मक ढङ्गले अगाडि बढेकाले चाँडै असहमतिबारे चाँडै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरे। सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा नमिलेका विषयमा सहमतिका लागि केही दिनअघि सहजीकरण कार्यदल गठन गरिएको थियो। प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताको सहमतिमा कार्यदल गठन गरिएको हो। कार्यदलमा कांग्रेसबाट लेखक, एमालेबाट बर्तौला र माओवादीबाट शर्मा सदस्य रहेका छन् ।  कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका चार बुँदामा छलफल गरी साझा धारणा बनाउने छ।  रासस  

मध्यरात कांग्रेस–एमालेबिच भएको सम्झौता पश्चगामी : देव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको गठबन्धन पश्चगामी भएको बताएका छन्।   बुधबार संवाद डबलीले गरेको कार्यक्रममा बोल्दै गुरुङले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन संविधान संशोधन गर्ने कुरा आएको बताए। गुरुङले भने, ‘संविधानको जग वृहत् शान्ति सम्झौता हो, वृहत् शान्ति सम्झौताको जग जनयुद्ध र जनआन्दोलन हो। मध्यरात षड्यन्त्रमूलक ढङ्गबाट संविधान संशोधनको सहमति गरेर उपलब्धिलाई नै उल्टाउँदै २०४७ सालको संविधान फर्काउन लागेको हो त होइन भन्ने गम्भीर प्रश्न उठेको छ ।’ उनले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन सक्ने तर पछि फर्किने गरी दुई दलबिच भएको सहमतिले देशमा द्वन्द्व निम्त्याउने बताए। महासचिव गुरुङले प्रधानमन्त्री प्रचण्डले राजीनामा नलिने बताए।  उनले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीले विश्वासको मत माग्ने र विश्वासको मत नपाएपछि सोही धाराको (३)अनुसार सरकार गठनको प्रक्रिया सुरु हुने दाबी समेत गरे। गुरुङले कोशी सरकार गठनमा सर्वोच्चले गरेको व्याख्या यहाँ मेल नखाने समेत दाबी गरे।  महासचिव गुरुङले एमालेले अहिले नै समीकरण छोड्नुपर्ने कुनै कारण नभएको बताए। उनले आन्तरिक रूपमा झिना मसिना कुरा भए पनि काँग्रेससँग गठबन्धन गर्नुपर्ने कारण आफ्नो पार्टीले नदेखेको बताए। 

रास्वपा केन्द्रिय समिति बैठकमा महामन्त्री ढकालको राजनीतिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रिय समिति बैठकमा महामन्त्री मुलुक ढकालको राजनीतिक प्रतिवेदन पेस गरिएको छ । बुधबार बसेको सो पार्टीको केन्द्रिय कार्य समिति बैठकमा महामन्त्री ढकालको राजनीतिक प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरे। आफ्नो राजनीतिक प्रतिवेदन प्रत्यक्ष प्रशारण हुनुपर्ने माग सम्बोधन नभएपछि महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बसेको र उनले राजनीतिक प्रतिवेदन सहमहामन्त्री बुर्लाकोटीले प्रस्तुत गर्नुभएको पार्टीका सहप्रवक्ता मनिष झाले जानकारी दिए। प्रतिवेदनमा पार्टीमा व्यापक सुधारको खाँचो औंल्याइएको छ । तर प्रतिवेदन भित्रका कुरा आन्तरिक रुपमा छलफल नभई बाहिर सार्वजनिक गर्न नहुने धारणा केन्द्रिय समितिका सदस्यहरुले राखेपछि महामन्त्री ढकालको सो प्रतिवेदन लाईभ हुन नसकेको रास्वपाले जनाएको छ । यसैबीच, रास्वपाले महामन्त्री ढकाललाई हटाएर सन्तोष परियारलाई महामन्त्री बनाउको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । सहप्रवक्ता मनिष झाले सो समाचारमा कुनै सत्यता नरहेको प्रष्टयाए । उनले सोविता गौतमलाई पार्टी संसदीय दलको प्रमुख सचेतक बनाएको भन्नेकुरा पनि सत्य नभएको बताए।

नेकपा एसको नयाँ नेतृत्व चयन आजदेखि

काठमाडौं । सत्तारुढदल नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनमा आजदेखि नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेको छ। बुधबार बिहान ११ बजेदेखि सुरु हुने बन्द सत्रमा प्रतिवेदनहरूमाथिको निष्कर्ष पेश गरेपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने एक नेताले जानकारी दिए।   महाधिवेशनको वन्त्र सत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेज प्रस्तुत भएका छन्। ती दस्तावेजमाथिको समूहगत छलफलको निष्कर्ष आएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।   अध्यक्ष र पदाधिकारीसहित २९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेपछि महाधिवेशन भोलि (बिहीबार) समापन गर्ने कार्यतालिका छ।एकीकृत समाजवादीको अध्यक्षमा निवर्तमान अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताले इच्छा देखाएका छन्। 

सभापतिमा उम्मेदवारी दिने शशांक कोइरालाको घोषणा

विराटनगर । इटहरी नेपाली कांग्रेसका नेता विपी पुत्र शशांक कोइरालाले आगामी १५औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्। १३औं महाधिवेशनमा महामन्त्री निर्वाचित भएका कोइराला १४औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेर सर्वाधिक मत ल्याएका थिए।    १३औं महाधिवेशनमा तत्कालिन संस्थापन अर्थात् रामचन्द्र पौडेल समूहबाट विजयी भएता पनि सभापति शेरबहादुर देउवाको सहयोगी बनेको आलोचना खेपे ।कोइरालाले बुधबार नेपाल प्रेस यूनियन सुनसरी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भने, ‘१५औं महाधिवेसनमा सभापतिमा उम्मेदवारी दिने योजना छ।’   उनले सभापतिकै तयारीका लागि अहिले देश दौडाहामा लागेको खुलाए । ‘सभापतिमा उठ्दा साथीहरुसँग राय सुझाव लिन हिडिरहेको छु,’ उनले पत्रकार भेटघाटमा भने। नेता कोइरालाले आफू सभापतिमा निर्वाचित भएपछि पार्टीमा अहिले देखिएको समस्या समाधान गर्ने दाबी गरे। ‘म सभापति भएपछि प्रदेश र स्थानीय तहलाई बलियो बनाएर लैजानेछु,’ उनले भने, ‘अहिलेका सभापति शेरबहादुर देउवालाई सल्लाह दिँदा पनि कार्यान्वयन भएन्।  उम्मेदवार छान्दा केन्द्रबाट चुन्ने र बजेट दिँदा पनि संघीय सरकारले निर्धारण गर्ने गरेको छ। यो गलत छ।’ कांग्रेसको विधानअनुसार वर्तमान सभापति देउवाको कार्यकाल ०८२ साल मंसिरमा सकिँदैछ। दुई कार्यकाल सभापति बनेका देउवा अब फेरि सभापतिको उम्मेदवार हुन पाउँदैनन्।देउवा पक्षबाट कृष्णप्रसाद सिटौलालाई सभापतिको उम्मेदवार बनाउने तयारी रहेको स्रोतले बतायो। 

मुखमा कालो टेप टाँसेर रास्वपा महामन्त्री केन्द्रीय समिति बैठकमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा बसिरहेको छ। बैठकमा महामन्त्री डा.मुकुल ढकाल भने मुखमा मास्कमाथि कालो टेप टाँसेर सहभागी छन्। ढकालले आजको बैठक प्रत्यक्ष प्रशारण गर्न सभापति रवि लामिछानेलाई आग्रह गरे पनि त्यसो नगरिएकोमा विरोध स्वरुप मुखमा पट्टी बाँधेर बैठकमा सहभागी भएका हुन्। बैठकमा महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई गत बुधबार बुझाएको समीक्षा प्रतिवेदनमाथि छलफल हुने सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए। महामन्त्री ढकालले पार्टीको गतिविधिबारे देशका ३८ जिल्ला घुमेर समीक्षा प्रतिवेदन तयार पारेका थिए।बैठका पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भइरहेको छ।