गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सबै ढोका खोलियो

नवलपुर। लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ। बिहान ९ गते ब्यारेजमा ३ लाख ९५ हजार क्युसेक पानीको प्रवाह छ ।

पानीको बहाव उच्च भएपछि २ लाख ६० हजार क्युसेक बहाव हुँदा ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको थियो। तर , पानीको सतह भने बढ्दै गएको छ। बिहान ७ बजे पानीको बहाल ४ लाख १५ हजार क्युसेक मापन गरिएको गण्डक ब्यारेजका भुआर्जन अधिकृत काशीनाथ हरिजनले जानकारी दिए। 

नारायणी नदीले देवघाटमा खतराको सतह पार गरेपछि ब्यारेजमा पानीको सतह थप बढ्ने हरिजनले बताए।

मधेसमा जनमत र एमाले बाहेकका सबै मन्त्री बर्खास्त

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गरेका छन्।मुख्यमन्त्री सिंहले सबै मन्त्रीलाई राजिनामा दिन आग्रह गरेपछि राजिनामा दिन नमानेपछि सबैलाई बर्खास्त गरिएको बताए।  मधेस सरकारमा माओवादीबाट संसदीय दलका नेता भरत साह अर्थ मन्त्री र युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री, नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिला चौधरी श्रम तथा रोजगार र नेपाल संघीय समाजवादी पार्टीकी पनि एक्ली सांसद विमला अन्सारी गृह तथा सञ्चार मन्त्रीलाई बर्खास्त गरिएको हो । 

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं ।नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक आइतबार बिहान १० बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बताइएको छ । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा कांग्रेससँगको सत्ता समीकरणको सहमतिबारे सांसदहरुलाई जानकारी गराउने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । गत सोमबार राति कांग्रेससँग सत्ता समीकरणको सहमतिसँगै एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिसकेको छ । यस्तै, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । कांग्रेस र एमालेबीच सरकारको नेतृत्व आलोपालो, संविधान संशोधन लगायतका विभिन्न बुँदामा सहमति भएको छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको आज बस्दै छ।संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने कांग्रेसले जनाएको छ। बैठक पछिल्लो राजनीतिक घटनाक्रमा केन्द्रित हुने बताइएको छ। कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ।एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।  प्रधानमन्त्री प्रचण्डले असार २८ गते सदनमा विश्वासको मत लिने भएका छन्। सदनमा कसरी प्रस्तुत हुनेलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ। 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आज सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले सोमबार र बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन्। बैठकले २६ वटा निर्णय गरेको छ ।

एकीकृत समाजवादीद्वारा वामपन्थी एकताको आह्वान

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बृहत वामपन्थी एकता र सहकार्यको आह्वान गरेको छ। सो पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले विभिन्न समसामयिक प्रस्तावहरू पारित गर्दै वामपन्थी एकता र सहकार्यका लागि आह्वान गरेको हो । नेता गङ्गालाल तुलाधरले प्रस्तावहरू पढेर हलमा सुनाए। ‘नेकपा एकीकृत समाजवादीले समीकरण परिवर्तन गर्दै सैद्धान्तिक आधारविना सत्ता स्वार्थका लागि जोसँग र जतिखेर पनि जस्तोसुकै सम्झौता गरेर अस्थिरता निम्त्याउने काम दक्षिणपन्थी अवसरवाद हो भन्ने यो महाधिवेशनको निष्कर्ष छ’, एकीकृत समाजवादीले भनेको छ, ‘वर्ग संर्घषलाई सहि दिशा र गति दिन तथा समाजवादी क्रान्तिका वापन्थीहरुबिच बृहत् एकता र सहकार्य अगाडि बढाउन सबै कम्युनिस्ट शक्तिलाई आह्वान गर्दछ।’  त्यस्तैभ्र,ष्टाचार नियन्त्रण, सहकारी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रधानमन्त्री ‘प्रचण्ड’र माधव नेपालबीच भेट

काठमाडौँ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न सिंहदरबार पुगेका छन्। महाधिवेशनमा केन्द्रीय कमिटी घोषणा लगत्तै नेपाल र प्रधानमन्त्रीबीच भेट भएको हो । नेकपा एसले भने प्रधानमन्त्रीको पक्षमा उभिने भन्दै आफूहरू सरकारबाट नहट्ने प्रष्टीकरण दिइसकेको छ ।

यी हुन् सर्वसम्मत भएका एकीकृत समाजवादीका ९३ सदस्य (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति सदस्यमा ९३ जना सर्वसम्मत भएका छन्। एकीकृत समाजवादीले १८ पदाधिकारी चयन गर्न बाँकी छ। केन्द्रीय समितिको बैठक भोलि केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।  २९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । बाँकी केन्द्रीय सदस्य बढीमा १० दिनभित्र टुंगो लगाइने उनले समाजवादीले जनाएको छ।

संवैधानिक बाटोमा प्रधानमन्त्री, असार २८ गते विश्वास मत लिने

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिने भएका छन्।प्रधानमन्त्रीको सचिवालयअनुसार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको असार २८ गते बस्ने बैठकमा विश्वास मत लिन लागेका हुन् ।प्रधानमन्त्रीले संवैधानिक बाटोबाट नै अगाडि बढ्ने निर्णय लिएका हुन् ।

एकीकृत समाजवादीले घोषणा गर्‍यो ९३ केन्द्रीय समिति सदस्य

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा केन्द्रीय समिति सदस्य पनि सर्वसम्मतीमा चयन गर्ने भएको छ। जसअन्तर्गत केन्द्रीय समितिका ९३ जनाको नाम घोषणा गरिएको छ ।  बाँकी केन्द्रीय सदस्य यही कमिटीले छनोट गर्ने बताइएको छ।एकीकृत समाजवादीले १८ पदाधिकारी चयन गर्न बाँकी नै छ । केन्द्रीय समितिको बैठक भोलि केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।  २९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । बाँकी केन्द्रीय सदस्य बढीमा १० दिनभित्र ढुंगो लगाइने उनले बताए।  समाजवादी पार्टीले राष्ट्रिय महाधिवेशनबाट माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भुसालले महासचिव निर्वाचित गरेको छ ।

संसदमा एमाले प्रतिपक्षमा बस्ने

काठमाडौं । आफ्नै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन लागेको नेकपा एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको कुरा संसदलाई जानकारी गराएको छ।   एमाले प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद सचिवालयका महासचिवलाई पत्राचार गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।  उनको पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा (एमाले)को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ।जानकारी सम्माननीय प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा हाम्रो दल नेकपा (एमाले)संसदमा प्रतिपक्षमा रहने व्यहोरा जानकारी गराइन्छ।’

सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्को सामना गर्न आँट गर्नुपर्ने बताएका छन्।  शुक्रबार महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गरे। “यो सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छ,” उनले भने ।  उनले पार्टीहरूबीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताए। सबै राजनीतिक दलले संसद्लाई बलियो बनाउन र अहिलेको परिपाटीलाई बचाउन मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।  उनले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न र परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए।  अध्यक्ष नेपालले राष्ट्रिय सरोकारका विषयमा परामर्श गरेर मात्रै अघि बढ्न आवश्यक रहेको धारणा राखे। 

कार्यक्षेत्र नछाड्न गृहको प्रजिअलाई निर्देशन

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय पालिकासँग सहकार्य एवम् समन्वय  गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिएको मन्त्रालयले जनाएको छ । विपद् व्यवस्थापनमा पालिकाको भूमिका महत्त्वपूर्ण रहने भएकाले प्रजिअहरूले पालिकासँगका समन्वयमा जोड दिनुपर्ने गृहसचिव अर्यालले निर्देशनमा बताए। ‘स्थानीयस्तरमा विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा पालिका नै रहने भएकाले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वय महत्त्वपूर्ण छ”, उनले भने, “यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिनुहोला ।’ यसैगरी मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकप्टरदेखि अन्य प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई उनले अनुरोध गरे । जिल्लामा काम गर्ने सिलसिलामा असहजता भएका मन्त्रालयसँग समन्वय गर्न र सहजिकरणका लागि तत्काल तयार रहेको उनले बताए। गृहसचिव अर्यालले विपद्बाट मानवीय क्षति व्यहोर्ने पुगेका परिवारहरूमा आफैँ उपस्थित भई आवश्यक सहयोग गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका थिए।

राष्ट्रियसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ स् १५ बजेका लागि बोलाइएको छ ।  बैठकको कार्यसूची भने संसद् सचिवालयले सार्वजनिक गरेको छैन । 

सरकारले नेपाल संस्कृति विद्यालयको सम्पत्ति खोज्ने,  समिति गठन

काठमाडौँ । सरकारले नेपाल संस्कृति विद्यालयको सम्पत्ति खोज्न र व्यवस्थापन गर्न समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल संस्कृति विद्यालयको सम्पत्ति खोज्न र व्यवस्थापन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।  उच्च अदालतका पूर्वन्यायाधीश शेखर प्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय समिति गठन गर्ने सरकारले निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति हो : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति रहेको बताएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजना दुवै देशको हित हुनेगरी अघि बढाउने व्यवस्था पनि समझदारी पत्रमा उल्लेख गरिएको बताए । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो परियोजनामा अनुदान र ऋण दुवै हुनेगरी योजनाहरु अघि बढाउने व्यवस्था गरिएको बताए । दुवै देशको हितमा हुनेगरी बीआरआई परियोजना अघि बढाउने विषयमा नेपाल–चीनबीच समझदारी भईसकेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । उनले भने, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा २०१७ मा समझदारी पत्रमा हस्ताक्षर गर्यौ। त्यस पछाडि त्यसको व्याख्यात्मक रुप त्यस विषयमा लगातार छलफल हुँदै आयो । र त्यसको मस्यौदा तयार भयो। त्यो मस्यौदा तयार भईसकेपछि त्यो मस्यौदा करिवकरिव अन्तिम स्थितिमा पुगेको अवस्था हो । र त्यसलाई हस्ताक्षर गर्ने हाम्रो नीति छ ।’