संविधानमा माओवादीको सबैभन्दा ठूलो लगानी छ, यसलाई कमजोर बनाउन दिइन्न  : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा नेकपा (माओवादी केन्द्र)को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताए ।

“यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन,” प्रधानमन्त्री प्रचण्डले भने, “उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।”

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौ । राष्ट्रियसभाको बैठक सूचना टाँस गरेर स्थगन भएको छ । बिहीबार १ बजेर १५ मिनेटका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगन गरिएको हो ।  सोसम्बन्धी जानकारी विज्ञप्ति जारी गर्दै महासचिव पद्मप्रसाद पाण्डेयले दिए । “राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षले मिति २०८१ असार ३० गते आइतबार अपराह्न १ः१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,” पाण्डेयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।  आजको बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल गरी पारित गर्ने तयारी रहेको थियो । यस्तै, भन्सार महसुल विधेयक प्रतिनिधिसभामा पठाउने प्रस्ताव प्रस्तुत गर्ने लगायतका सम्भावित कार्यसूची रहेका थिए ।

संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले संघीय  लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए । “दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ,” उनले भने ।  महामन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताबीच भएको सात बुँदे समझदारी पालना गरिने उल्लेख गरे ।  पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने उनको भनाइ थियो । महामन्त्री थापाले सात बुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत् छलफल भएको र यसलाई पार्टीले स्वीकार गरेको उल्लेख गर्दै लिखित समझदारीलाई कसैले पनि हलुका रूपमा लिन नहुने बताए । रासस

सीता दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी सीता दाहालको निधन भएको एक वर्ष पुगेको छ । सिता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित  ‘श्रद्धाञ्जली’कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित उनका परिवारका सदस्य, आफन्तजन तथा सुवेक्षुकहरूले सीता दाहालको तस्बीरमा पुष्पगुच्छा एवं माल्यार्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नी सापकोटा,  पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरे । कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा एवं नागरिकको उपस्थिती रहेको थियो। क।सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धीको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे । सीता परिवर्तनका योद्धाका रूपमा सँधै स्मरणमा रहने बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गरे । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारसमेत रहनुभएकी क।सीता दाहाल विसं २०२८ देखि कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो भने विसं २०५२ देखि पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गर्नुभएको जनयुद्धमा सहभागी थिए ।

भरतपुर महानगरले वितरण गर्‍यो १ करोड अनुदानको कृषि उपकरण

चितवन। भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गरेकी छिन् । महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए। उपकरण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरले कृषि उत्पादनलाई जोड दिएकाले वर्षेनी यस्ता यन्त्र उपकरण हस्तान्तरण गर्ने गरेको बताइन् । महानगरपालिकाले यसअघि कृषिमा आधुनिकीकरणलाई जोड दिने भन्दै आएपनि अहिले भने कार्यान्वयन गरेर अघि बढ्न थालिएको प्रमुख दाहालले बताइन्। यन्त्र उपकरणको उच्चतम प्रयोग गरी उत्पादनलाई वृद्धि गर्दै भरतपुरलाई कृषिमा आत्मनिर्भर बनाउने गरी नीति तथा कार्यक्रमहरु अघि बढाइएको उहाँले बताउनुभयो । नारायणी लिफ्ट सिँचाइलाई १२ महिना सञ्चालन गरी कृषिलाई ३ बाली खेती गर्न मिल्ने व्यवस्था मिलाउन लागेको उहाँको भनाई थियो । महानगरले सो कार्यक्रममा ट्रयाक्टर ४ थान, हाते ट्रयाक्टर ६ थान, धान तथा गहुँ काट्ने रिपर १२ थान, थ्रेसर ३ थान, रोटाभेटर २ थान, मकै छोडाउने कर्न सेलर १७ थान, तेरी मिल ३ थान हस्तान्तरण गरेको हो । यस्तै मकै रोप्ने मेज प्लान्टर ३ थान, घाँस टुक्राउने च्याफ कटर १२ थान, राइस मिल १ थान, मिल्क एनालाइजर ६ थान, चिलिङ भ्याट २ थान, माछाको दान बनाउने मिशेन १ थान, बलेरो पिकअप २ थान र ३ पाङ्ग्रे अटो २ थान हस्तान्तरण गरिएको थियो । कार्यक्रममा महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, उप–सचिव उपेन्द्रराज पौडेलको उपस्थिति रहेको थियो ।

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो रहनेछ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ।  प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।  राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने कार्यसूची छ।  अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूची छ।  अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्नेछन्।  भन्सार महसुल विधेयक, २०८१ दफावार छलफल गर्न र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूची छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ मा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गर्न र सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

सचिवालय बैठकपछि देउवा भेट्न बूढानीलकण्ठमा ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी सचिवालय बैठक च्यासलमा सम्पन्न गरेका छन् । बैठकमा आफ्नै समर्थनमा बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिएर ढाल्ने निर्णय गरेका उनी देउवा निवास पुगेका छन् । कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बन्ने भएपछि राखिएको पार्टी सचिवालय  बैठकले शक्ति बाडफाँडका विषयमा लिने भनेको निर्णय नलिई सत्ता ढलाउने निर्णय मात्रै गरेको थियो।  नयाँ सरकार निर्माण र शक्ति बाँडफाँडबारे पछि निर्णय लिने गरी उठेको सचिवालय बैठक पछि ओली देउवासँग छफल गर्न बहुमत सचिवालय सदस्य लिएर देउवा निवास बूढानीलकण्ठ पुगेका हुन्  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष के.पी.शर्मा ओलीबिच बूढानीलकण्ठस्थित देउवा निवासमा झण्डै दुई घण्टा भेटवार्ता गरेका छन् । भेटमा केके सहमति बन्यो खुलेको छैन । बैठकमा नेताहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, रमेश लेखकलगायत सहभागी सहभागी रहेका थिए।

प्राचीन तथा ऐतिहासिक मुद्राको बहुआयामीक महत्वको छ : मन्त्री तामाङ

काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री मन्त्री हित बहादुर तामाङले नेपालको प्राचीन तथा ऐतिहासिक मुद्रा पुरातात्विक सम्पदा राष्ट्रियतासँग सम्बन्धित बहुआयामिक महत्वको भएको बताएका छन् । नेपाल मुद्रा संकलक संघद्धारा पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँगको सहकार्यमा आयोजित बाल संकलक लक्ष्यजीत मल्लद्धारा संकलित नेपालको प्राचीन तथा ऐतिहासिक मुद्रा तथा  विश्व रेकर्ड होल्डर दिपेन्द्र रत्न शाक्यको १९३ मुलुकको सिक्काहरुको प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री तामाङले बुद्धकालिन देखि लिच्छवि काल, राजतन्त्रीय कालदेखि गणतन्त्र काल सम्मको मुद्रा संकलन गरेर प्रदर्शनी गर्न सफल बाल संकलकद्धयको प्रशंशा समेत गरे । यो महत्वपूर्ण कार्य भएको भन्दै यस्तो कार्य बिरलै मान्छेले मात्र गर्न सक्ने मन्त्री तामाङको भनाई छ ।  देशी विदेशी सबैले अहिले सम्म छापेका मुद्राहरु संकलन उत्कृष्ट कार्य भएको चर्चा गर्दै मन्त्री तामाङले यस्ता कार्यहरुले विदेशीहरु माझ नेपालको पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्न पनि मद्धत पुगेको र यस्ता कार्यक्रमहरु निरन्तर गर्न उहाँले सबैलाई आग्रह गरे ।

समाजवादी मोर्चाको बैठक: विश्वासको मत नपाए ७६(३) बमोजिमकै सरकार बन्छ !

काठमाडौँ ।समाजवादी मोर्चाकोको बैठक बालुवाटारमा सम्पन भएको छ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार साँझ समाजवादी मोर्चामा रहेका दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्। नेताहरुबीच समाजवादी मोर्चाको पुनर्गठन,पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल भएको हो । सो क्रममा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग सरकारलाई निरन्तरता दिने वचन दिएर काँग्रेससँग सरकार बनाउने सहमति गरेको विषयमा बैठकमा ब्रिफिङ गरेका छन् ।  बैठकमा विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६(३) बमोजिमको सरकार बन्ने संकेत समेत प्रधानमन्त्रीले गरेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवलगायत नेताहरु सहभागी थिए।

कम्युनिष्ट पार्टीबीचको सहकार्य उचित हुन्छ ठानियो तर ओलीले धोका दिए : अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धोका दिएको बताएका छन्। माओवादी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दाहालले ओलीले स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने कसम खाएको केही समयमै धोका दिएको टिप्पणी गरेका हुन्। प्रचण्डले कम्युनिष्ट पार्टीबीचको सहकार्य उचित हुने ठानेर सहकार्य गरेको भए पनि ओलीले धोका दिएको बताउँदै माओवादीले विश्वासको मत प्राप्त नगरे विपक्षमा रहेर जनताको पक्षमा लड्ने बताएका हुन् । प्रचण्डले राजीनामा दिएर नभाग्ने भन्दै संसदको फेस गर्ने अधिकार प्रधानमन्त्रीमा रहेकाले फेस गर्ने बताएका थिए। उनले अन्य राजनीतिक दललाई पनि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न अनुरोध गरेको एक सांसदले जानकारी दिए।

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ ।  प्रमुख सचेतक हितराज पाण्डेका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, विश्वासको मत लगायत विषयमा बैठकमा छलफल गरेको छ । नेकपा एमाले र नेपाली कांग्रेसबिच सत्ता सहकार्य गर्ने समझदारी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमत परेसँगै प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिँदै छन् ।

एमाले सचिवालय बैठक : सरकार ढलाउने निर्णय, बनाउनेबारे पछि छलफल गर्ने

काठमाडौं। नेकपा(एमाले)को संसदीय दल बैठक सम्पन्न भएको छ । बैठकले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई विश्वासको मत नदिएर सरकार ढलाउने निर्णय गरेको छ भने बनाउनको लागि पछि बैठक बस्ने बताएको छ ।  नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको जानकारी दिए।  प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ।एमालेले ह्विप जारी गर्दै उक्त दिनको बैठकमा आफ्नो पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित भएर सरकार ढलाउने प्रक्रियामा समेल हुन निर्देशन पनि दिएको छ। यद्यपी एमालेले सरकार बनाउने विषयमा भने पछि छलफल गर्ने भएको छ । त्यसैले मन्त्रीहरु क-कसलाई के बनाउने  र सत्ता शक्ति बाडफाडबारे भने बैठकले केही निर्णय लिएको छैन् ।

ओलीले फेरे बोली -'संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन'

काठमाडौँ । नेपाली कांग्रेस-एमालेबिच संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको भनिएपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोली फेर्दै सो सहमति नभएको बताएका छन्।यसअघि संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा आयोग बनाउने तयारी गरेको बताइएको थियो । तर बुधवार(आज) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि कांग्रेस र एमालेबिच आयोग बनाउने सहमति नभएको बताए।  उनले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको बताए। अध्यक्ष ओलीले निश्चित बुँदा तोकेर निष्कर्षमा नपुगेको पनि बताए । उनले आयोग कसैको नेतृत्वमा पनि नबनेको उल्लेख गर्दै आयोग बन्ने भन्ने कुरा नभएको बताए । उनले राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उल्लेख गरे ।  ओलीले एमाले र नेपाली कांग्रेस मिल्दा संविधान अराजकता, अन्यौलता र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैल्याउनका लागि बोलिएको बताए । उनले प्रदेशहरूमा महिना दिनमा सरकार बनाउने, अस्थिरता निम्त्याउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र कांग्रेस मिलेको बताए । उनले विकास निर्माण र जनताका आवश्यकता तथा कामलाई केन्द्र भागमा नराख्दा भ्रष्टाचारतिर देशलाई लैजाने काम भएपछि आफूहरु मिलेको बताए । ओली स्वार्थलाई अग्र भागमा भएको र सङ्घीयतालाई सफल बनाउने दिशामा नगएकाले समीकरण फेर्नुपरेको बताए । उनले संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने चेतावनी दिए । ‘अनुभवहरूले के कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो । यो यो बुँदामा भन्ने निष्कर्षमा पुगिसकेका छैनौँ । कसैको नेतृत्वमा आयोग बनेको छैन ।  मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ त्यो संशोधन गर्ने भनेको हो’ उनले भने, ‘एमाले र नेपाली कांग्रेस मिल्दा संविधान अराजकतातिर गयो, अन्योलतिर, अस्थिरताको स्थितितर्फ जाने भन्ने कुरा भ्रम फैल्याउनका लागि भनिएका हुन् । प्रदेशहरूमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, कहिले यसकातिर, कहिले उसकातिर जाने, यस्ता खालका अस्थिरता, बार्गेनिङ, आफ्ना निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर जाने काम भयो ।’ अध्यक्ष ओलीले संविधान गतिशील, समाजको पथप्रदर्शक भएकाले संविधानको समयानुकूल परिमार्जन हुने बताए।

आधा काम नहुँदै ओलीले उद्घाटन गरेको धरहरा निर्माणको म्याद सातौं पटक थपियो

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ वैशाखमै तामझामका साथ उद्घाटन गरेको धरहराको निर्माणनसकिएपछि फेरि म्याद थपिएको छ। ०७२ वैशाखको भूकम्पले धरहरा भत्किएर नयाँ बनाई उद्घाटन गरिसकेको ३ वर्षसम्म पनि बाँकी काम सम्पन्न नहुँदा सञ्चालनमा आउन सकेको छैन। ओलीले उद्घाटन गर्दा समग्र आयोजनाको प्रगति ४२ प्रतिशत मात्र थियो। सातौँ पटक २०८१ असोज २० गतेसम्मका लागि म्याद थप गरिएको सम्बन्धित निकायले जनाएको छ।यसअघि छैटौँ पटक थप गरिएको म्याद गत वर्षको माघ ४ गते सकिएको थियो।  सहरी विकास मन्त्रालयको भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास)का प्रमुख कोषनाथ अधिकारीका अनुसार सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनमा टेकेर धरहरा पुनर्निर्माणका लागि अन्तिम पटक म्याद थप गरिएको हो ।   आयोजना प्रमुख अधिकारीका अनुसार म्याद थप गरिएको यस अवधिमा निर्माण सम्पन्न हुन सकेन भने निर्माण कम्पनीले सरकारलाई जरिबाना तिर्नुपर्ने हुन्छ।कुल सम्झौता रकमको ०.०१ प्रतिशत प्रतिदिनका दरले जरिबाना बुझाउनुपर्ने हुन्छ । सम्झौता रकम तीन अर्ब ४९ करोड रुपियाँ रहेको छ।  अधिकारीका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत र आर्थिक प्रगति ८९ प्रतिशत छ । २०७५ पुसदेखि निर्माण सुरु भएको धरहराको २०७७ असोज ६ गते पहिलो पटक नौ महिनाका लागि २०७८ असार १६ गतेसम्म म्याद थपिएको थियो । पहिलो पटक थपिएको म्यादको अन्तिमतिर धरहराको उद्घाटन भएको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७५ असोज १४ गते तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी जिआइइटिसी–रमण (संयुक्त) बिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।   सम्झौता अनुसार २०७७ असोज २० गतेसम्म आयोजनाको निर्माण अवधि रहेको थियो । सम्झौतापछि निर्माण कम्पनीले २०७५ कात्तिकदेखि निर्माण सुरु गरेको थियो भने पुस १२ गते धरहराको शिलान्यास गरिएको थियो । त्यसै गरी २०७८ वैशाख ११ गते उद्घाटन भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको शिलान्यास र उद्घाटन गरेका हुन् । मुख्य संरचनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । मेकानिकलसम्बन्धी काम बाँकी छन् । त्यसै गरी विद्युतीकरण, प्लम्बिङ, सिसिटिभी जडान, रङरोगन, फिनिसिङका काम बाँकी छ ।  तत्कालीन राजा रणबहादुरकी पत्नी ललित त्रिपुरा सुन्दरीले १८८२ सालमा निर्माण गर्न लगाएको धरहरा १८९० सालको भूकम्पमा परी भत्कियो । पुनर्निर्माण गरिएको सो धरहरा १९९० सालको भूकम्पमा फेरि भत्कियो । १९९० सालको भूकम्पमा भत्किएर पुनर्निर्माण गरिएको धरहरा २०७२ साल वैशाख १२ गतेको भूकम्पमा पूर्ण रूपमा ध्वस्त भएको थियो । ११ तले धरहरालाई १९९० सालपछि पुनर्निर्माण गर्दा नौतले बनाइएको थियो ।  त्यसबखत ६१.८८ मिटर अग्लो धरहरा निर्माण गरिएको थियो ।  अहिलेको डिजाइन अनुसार बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहराको भित्री संरचना २२ तलाको छ ।

धारा ७६ (३)आव्हान नगरे राष्ट्रपतिमाथि संवैधानिक नैतिकताको प्रश्न उठ्छ : संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली

काठमाडौं । संविधानविद् डा. चन्द्रकान्त ज्ञावालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसके राष्ट्रपतिले संविधानको धारा ७६ (३) बमोजिम पहिलो दललले सरकार बनाउँ भनेर आह्वान गर्नुपर्ने बताएका छन्। संविधानको धारा ७६(२) अन्तर्गत बनेको प्रधानमन्त्री प्रचण्डको सरकारलाई विश्वास नरहेको बताउँदै नयाँ सरकार गठनको तयारी भैरहेका बेला संविधानविद ज्ञावालीले सो कुरा बताएका हुन् । राष्ट्रपतिले सो आह्वान नगरे राष्ट्रपतिमाथि गम्भिर रुपमा संवैधानिक नैतिकताको प्रश्न उठ्ने उनले बताएका छन् । उनले भने -'अब यदी प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गरेन भने राष्ट्रपतिले संविधानको धारा ७६ (३) बमोजिम पहिलो दललले सरकार बनाउँ भनेर आह्वान गर्नुपर्ने हुन्छ । यदी राष्ट्रपतिले सो आह्वान गर्नु भएन भने राष्ट्रपतिमाथि गम्भिर रुपमा संवैधानिक नैतिकताको प्रश्न उठ्छ ।' संविधानको परिकल्पना अनुसार पाँच पटकसम्म सरकार गठनको अवसर प्रतिनिधिसभालाई हुने बताउँदै उनले एउटै धाराबाट पटकपट दल फेर्दै सरकार गराउने कुरालाई संविधानले नमानेको बताएका हुन् ।  'त्यहि धाराबाट सरकार बन्ने आधार मैल देख्दिन । संविधानको संरचना र बनावट, संविधानसभाको दुई चोटिका प्रतिवेदन र संविधानसभाले दोस्रो संविधान बनाउँदा कहि कतै एउटै धारा दोहोरी दोहोरी सरकार बनाउने परिकल्पना गरेको छैन । फेरि फर्केर त्यही धारा अन्तर्गत अर्को प्रधानमन्त्री बन्छ भन्ने परिकल्पना संविधानले गरेको छैन्',उनले भने । उनले कुनै दलले एउटा धाराबाट सरकार बनाएर त्यसलाई गिराउँदै फेरि सोहि धाराबाट अर्को सरकार बनाउने कुराको परिकल्पना नगरेको बताए। उनले सो कुरा संविधानवाद,त्यो संविधानको मनसाय र भावना नरहेको हुँदा परिकल्पना नरहेकाले अस्वभाविक मानिने र असंवैधानिक हुने बताए।

माओवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको नेकपा माओवादी केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दिएको जानकारीअनुसार बैठकमा शुक्रबार प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत सम्बन्धमा छलफल हुनेछ ।