सुनको भाउ तोलामा २ लाख ५० हजार नाघ्यो, चाँदी पनि बढ्यो
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिनको तुलनामा एकैदिन ५ हजार ९ सय रुपैयाँले बढेको हो। यसअघि अघिल्लो दिन २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको भाउ प्रतिऔंस ४२०० डलर नाघेको छ। यसअघि ४३८१ डलरसम्म पुगेर रेकर्ड बनेको थियो। नेपाली बजारमा असोज ३१ गते तोलामा २ लाख ५८ हजार रुपैयाँको उच्च रेकर्ड बनेको थियो।
चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनभन्दा १७० रुपैयाँले वृद्धि भएर प्रतितोला ३३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यसअघि असोज ३१ गते चाँदीको रेकर्ड ३३५० रुपैयाँ थियो।
आज चार हजार आठ सयले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला चार हजार आठ सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला दुई लाख ५३ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ । यसअघि शुक्रबार दुई लाख ५८ हजार रुपियाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा ७५ रुपियाँ घटेको हो । शुक्रबार प्रतितोला तीन हजार ३५० रुपियाँमा कारोबार भएको चाँदी आज तीन हजार २७५ रुपियाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेपछि नेपाली बजारमा प्रभाव देखिएको हो ।
सुनको मूल्य उच्च भएपछि बजारमा कृत्रिम अभाव
काठमाडौं । तिहार नजिकिँदै गर्दा बजारमा सुनको उच्च मूल्य तथा कृत्रिम अभावको समस्या थपिएको छ । तिहारमा सुनको माग उच्च हुने हुँदा व्यवसायी अभाव देखाएर बढी मूल्य लिने गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले तिहारमा सुनको माग उच्च भएकाले सुनको अभाव कायम रहेको जानकारी दिए । चोरीतस्करीबाट भित्रिएको सुनमा तोलामा पाँच हजारदेखि आठ हजार रुपियाँ महँगोमा लिएर बिक्री गर्ने गरेको पाइएको उनले जानकारी दिए । बजारमा सुनको मूल्य बढे पनि माग धेरै हुँदा बैङ्कबाट ल्याएको सुन सकिएकाले अभाव कायम रहेको उनको भनाइ छ । बुधबार तोलामा दुई लाख ४८ हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बिहीबार दुई हजार रुपियाँ बढेर दुई लाख ५० हजार नौ सय रुपियाँ पुगेको महासङ्घले जनाएको छ । सुनको मूल्य बढ्दै गएपछि उपभोक्ताले महँगो मूल्यमा खरिद गर्नु परेको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔँस सुनको मूल्य चार हजार दुई सय अमेरिकी डलर पुगेको छ । व्यवसायीका अनुसार तिहारको बेलामा चारदेखि पाँच सय किलो सुनको कारोबार हुने गर्दछ । चाँदीका सामानसँगै धनत्रयोदशी (धनतेरस) मा सुनको पनि बिक्री बढ्ने वज्राचार्यको भनाइ छ । दैनिक २० केजीका दरले विभिन्न वाणिज्य बैङ्कले सुनको आयात गर्दै आएका छन् । हालै नेपाल राष्ट्र बैङ्कले सुनको कोटा बढाएर दैनिक २५ किलो पुर्याएको छ । कोटा बढेको सुन तिहारपछि मात्र आइपुग्ने भएकाले पनि तत्काल प्रयोग गर्न नपाएको उनले जानकारी दिए । सुनको मूल्य निरन्तर बढ्दै गएपछि लगानीकर्ता सुनमा लगानी गर्न थालेपछि बजारमा अभाव भएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जानकारी दिए । मूल्य बढ्दै गएपछि अन्तर्राष्ट्रिय बजारमा सुन सुरक्षित लगानीको क्षेत्र बनेकाले नेपालमा समेत लगानीकर्ता आकर्षित बन्दै गएको उनको भनाइ छ । बजारमा ढिका सुनको माग धेरै रहेको उनको भनाइ छ । कानुनी रूपमा ढिक्का सुन बिक्री नभए पनि गैरकानुनी ढङ्गले बिक्री भइरहेको उनको भनाइ छ । चोरी तस्करीबाट भित्रिएको ढिक्का सुन खुलेआम बिक्री भइरहेको उनको भनाइ छ ।
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन बढ्यो आठ हजार एक सय
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार मात्रै सुनको मूल्य तोलामा ८ हजार १ सय रुपैयाँले वृद्धि भएको छ । महासङ्घका अनुसार आज छापावाल सुन तोलाको मूल्य २ लाख ४८ हजार ५ सय रुपैयाँ कायम भएको छ । सोमबारसम्म यो मूल्य २ लाख ४० हजार ४ सय रुपैयाँमा सीमित थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको कारण त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको महासङ्घले जनाएको छ । यसैबीच, चाँदीको मूल्य पनि मङ्गलबार बढेर तोलामा ३ हजार ३२५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो । सोमबार चाँदी तोलामा ३ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले नयाँ रेकर्ड तोड्यो
हङकङ । अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र सरकारले आंशिक रूपमा बन्द (सटडाउन) हुने सम्भावनाको चिन्ताबीच लगानीकर्ता सुरक्षित विकल्पतर्फ आकर्षित भएपछि बुधबार सुनको मूल्यले इतिहासमै पहिलो पटक प्रतिऔँस चार हजार डलर नाघेको छ । टेक कम्पनीहरूको तीव्र उकालोले बजार अत्यधिक मूल्याङ्कनमा पुगेको चिन्तासँगै लगानी सुनतर्फ सरेको हो । वर्षभरि व्यापारीहरू विश्वव्यापी आर्थिक अनिश्चितता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति र भूराजनीतिक तनावबीच सुनमा निर्भर रहँदै आएका छन् । फलस्वरूप, यो वर्षको सुरुदेखि हालसम्म सुनको मूल्य ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ । फ्रान्सका प्रधानमन्त्रीको राजीनामा र राष्ट्रपति इमानुएल म्याक्रोनमाथिको राजनीतिक दबाबले पनि सुनलाई थप आकर्षक बनाएको विश्लेषण गरिएको छ । लामो समयदेखि अस्थिरताका समयमा सुरक्षित सम्पत्ति मानिँदै आएको सुन बुधबार प्रतिऔँस चार हजार ३७ डलरसम्म पुगेको छ । यससँगै चाँदीको मूल्य पनि आफ्नै रेकर्ड नजिक पुगेको छ । अमेरिकी सरकारका केही विभाग बन्द हुँदा लगानीकर्तामा अनिश्चितता बढेको छ । यसले रोजगारीसम्बन्धी प्रमुख आर्थिक तथ्याङ्क सार्वजनिक हुने प्रक्रिया रोकिएको छ र अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को ब्याजदरसम्बन्धी निर्णयमा अन्योल पैदा गरेको छ । नेसनल अस्ट्रेलिया बैंकका अर्थविश्लेषक टेलर न्युजेन्टले भने, “सुनको तीव्र वृद्धि एक्सचेन्ज–ट्रेडेड फन्डको बढ्दो आगमन, चीनको बलियो माग र विश्वका केन्द्रीय बैंकहरूको खरिदले समर्थन गरेको हो । राजनीतिक, आर्थिक र मुद्रास्फीति अनिश्चितताका बेला सुन सधैं लाभमा रहन्छ ।” त्यस्तै, पेपरस्टोनका क्रिस वेस्टनले लेखे, “विश्वका कोष र रिजर्भ प्रबन्धकहरूले वित्तीय अस्थिरता, मुद्रा अवमूल्यन र अनपेक्षित सरकारी नीतिबाट जोगिन हेज खोजिरहेका छन् । सुन त्यसको केन्द्रमा छ ।” यसबीच एसियाली बजारमा भने कमजोरी देखिएको छ । कृत्रिम बुद्धिमत्तामा (एआई) लगानीबारे प्रश्न उठेपछि धातु बजार बलियो रहे पनि इक्विटी बजारमा गिरावट आएको हो । एनभिडिया ४० खर्ब डलर मूल्याङ्कनमा शीर्ष स्थानमा रहे पनि ओरेकलको क्लाउड कम्प्युटिङ नाफा अपेक्षाभन्दा कमजोर रहँदा विश्व बजारमा असर पर्यो । एसपिआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले भने, “अत्यधिक मूल्याङ्कन भएका बजारमा नगद प्रवाहमा सानो ढिलाइ पनि अन्तिम चेतावनी जस्तै हुन्छ । व्यापारीहरूले स्पष्टीकरणको प्रतीक्षा नगरी आफ्नो स्थिति घटाउन थालेका छन् । ओरेकलको परिणामले बजारको उत्साह समाप्त त गरेन तर निश्चित रूपमा मौन बनायो ।” एसियाली बजारमा टेक कम्पनीहरूमा बिक्री बढेको छ । हङकङमा अलिबाबा र जेडिडटकम, ताइपेईमा टिएसएमसी र टोकियोमा रेनेसासका शेयरहरू तीव्र रूपमा घटे । हङकङ र ताइपेई बजार सबैभन्दा बढी प्रभावित भए भने सिड्नी, मुम्बई र सिङ्गापुरमा पनि गिरावट देखियो । टोकियोमा सत्तारूढ पार्टीका नेतामा व्यापारमैत्री रूढीवादी साने ताकाइचीको विजयसँगै उकालो लागेको बजार बुधबार केही कमजोर देखियो । लगानीकर्ताहरू थप मौद्रिक सहजता र प्रोत्साहन योजनाको प्रतीक्षामा छन् । यसबीच लन्डन, पेरिस र फ्राङ्कफर्टका बजार स्थिर रहे भने वेलिङ्टन, मनिला, बैङ्कक र जकार्तामा सन्तुलित कारोबार देखियो ।
सुनको मूल्य हालसम्मकै उच्च : तोलाको दुई लाख २१ हजार सात सय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू तीन हजार नौ सय बढेको हो । त्यसैगरी आज चाँदी रू दुई हजार ६८० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।
सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड : प्रतितोला २ लाख १७ हजार ८००, चाँदी २ हजार ६५०
काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आइतबार प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७०० रुपैयाँले बढेर प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला २ हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ६९१ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ ।
सुनचाँदीको मूल्यमा आज कति बढ्याे ?
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबार प्रतितोला रु. दुई लाख १० हजारमा कारोबार भएको सुनको मोल आज रु. दुई हजारले बढेर रु. दुई लाख १२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा रु. १० ले बढेको छ । आज एक तोला चाँदी रु. दुई हजार ५०० मा किनबेच भइरहेको छ । गत बुधबार एक तोला सुन रु. दुई लाख सात हजार ९०० र त्यति नै परिमाणको चाँदी रु. दुई हजार ४८० मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सुन र चाँदीको मूल्यमा नयाँ कीर्तिमान, सुन प्रतितोला २ लाख १० हजार ४००
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भई नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी सङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको छ। यो मूल्य अघिल्लो दिन (बिहीबार) को तुलनामा २,५०० रुपैयाँले बढेको हो, जुन बिहीबार २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। हालैका दिनहरूमा सुनको मूल्य निरन्तर उकालो लाग्दै नयाँ रेकर्ड बनाइरहेको छ। चाँदीको मूल्यमा पनि वृद्धि चाँदीको मूल्यमा पनि शुक्रबार नयाँ रेकर्ड कायम भएको छ। सङ्घका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले बढेर २,४९० रुपैयाँमा कारोबार भएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला २,४८० रुपैयाँ थियो। यो सानो वृद्धि भए पनि चाँदीले पनि नयाँ कीर्तिमान बनाएको छ। मूल्यवृद्धिका कारण र प्रभाव सुन र चाँदीको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारको प्रभाव, माग र आपूर्तिको असन्तुलन, तथा आर्थिक अनिश्चिततासँग जोडिएको विश्लेषकहरूको भनाइ छ। सुनलाई सुरक्षित लगानीको रूपमा लिइने भएकाले विश्वव्यापी आर्थिक अस्थिरताले यसको माग बढाएको छ। नेपालमा यो मूल्यवृद्धिले गहना खरिद, लगानी र बजारको समग्र गतिशीलतामा प्रभाव पार्ने देखिन्छ। उपभोक्ताहरूले बढ्दो मूल्यका कारण सुनचाँदी खरिदमा संयम अपनाउन सक्ने सम्भावना छ, जबकि व्यवसायीहरूले बजारको यो प्रवृत्तिलाई नजिकबाट नियालिरहेका छन्। नेपाल सुनचाँदी व्यवसायी सङ्घले बजारको यो उतारचढावलाई नियमित अनुगमन गरिरहेको जनाएको छ।
नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान कायम गरिरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७,९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो। मङ्गलबार प्रतितोला २ लाख ५,९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २,००० रुपैयाँले बढेको हो। यता, चाँदीको मूल्यमा भने सामान्य ह्रास आएको छ। बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २,४८० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुन प्रतिऔंस ३,५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान कायम गरिरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७,९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो। मङ्गलबार प्रतितोला २ लाख ५,९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २,००० रुपैयाँले बढेको हो। यता, चाँदीको मूल्यमा भने सामान्य ह्रास आएको छ। बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २,४८० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुन प्रतिऔंस ३,५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सुन तोलाको दुई लाख पाँच हजार तीन सय पुग्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर कीर्तिमान कायम गरिररहेको छ । आइतबार स्थानीय बजारमा प्रतितोला रू. दुई लाख तीन हजार ६०० मा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा रू. एक हजार सात सय बढेको हो । आज सुन प्रतितोला रू. दुई लाख पाँच हजार तीन सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू. दुई हजार ४७० पुगेको छ । आइतबार चाँदी प्रतितोला रू. दुई हजार ४२५ मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको छ ।
सुनको मूल्यमा फेरि बढ्यो, तोलामा २ लाख ३ हजार ६०० पुगेर नयाँ रेकर्ड
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। आइतबार छापावाल सुनको मूल्य एकैपटक तोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ३ हजार ६०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ हजार रुपैयाँले वृद्धि भएको हो। यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा २ हजार ३६० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार २ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
सुनको मूल्यले छोयो आकाश: प्रतितोला २ लाख नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। साउन २३ गते बनेको अघिल्लो रेकर्ड तीन सातामै तोडिएको छ। आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सर्वाधिक मूल्य हो। हिजोको तुलनामा सुन प्रतितोला १२ सय रुपैयाँले महँगिएको छ। साउन २३ गते सुनको मूल्य १ लाख ९९ हजार ४ सय रुपैयाँ थियो। यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ। हिजो २३५५ रुपैयाँ रहेको चाँदी आज प्रतितोला ५ रुपैयाँ बढेर २३६० रुपैयाँ पुगेको छ। यो पनि चाँदीको हालसम्मकै उच्च मूल्य हो, नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बजारमा सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा रु. दुई हजार ३०० र चाँदीमा रु. ४० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९७ हजार ५०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु. दुई हजार ३५० मा खरिदबिक्री भइरहेको छ । शुक्रबार एक तोला सुन रु. एक लाख ९५ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु. दुई हजार ३१० मा क्रयविक्रय भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सरकारले सुनमा तहगत विलासिता कर हटायो
काठमाडौं । सरकारले सुनको कारोबारमा लगाइएको तहगत विलासिता कर हटाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनमा दुई प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यका अनुसार तहगत विलासिता कर हटेसँगै अब उपभोक्ताले सुन खरिद गर्दा दुई प्रतिशत मात्र विलासिता कर तिर्नुपर्नेछ । यसअघि बैङ्क, महासङ्घ र व्यवसायीमार्फत हुने कारोबारका प्रत्येक तहमा दुई प्रतिशतका दरले विलासिता कर लगाइँदा उपभोक्ताले प्रतितोला करिब १२ हजार रुपैयाँ बढी तिर्नुपर्ने अवस्था सिर्जना भएको थियो । यस्तै, सरकारले हिरा र पत्थरमा ५० लाख रुपैयाँभन्दा बढीको कारोबारमा मात्र भ्याट लाग्ने व्यवस्था गरेको छ । यसअघि भने साना–ठूला सबै कारोबारमा भ्याट लाग्ने प्रावधान थियो । सुनमा लगाइएको विलासिता करका कारण व्यवसायी र उपभोक्ता दुवै प्रभावित भएका भन्दै सुनचाँदी व्यवसायीले करिब एक महिना व्यवसाय बन्द गरी विरोध गरेका थिए । उनीहरूको मागपछि सरकारले कार्यदल गठन गरी कर पुनरावलोकन गरेको थियो । कार्यदलको सिफारिसअनुसार तहगत कर हटाइएको महासङ्घले जनाएको छ ।
सुन चाँदीकाे मूल्यमा वृद्धि
काठमाडौं । आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १,३०० रुपैयाँ बढेर १,९४,८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य १,६०० रुपैयाँ घटेर १,९३,५०० रुपैयाँमा झरेको थियो । त्यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १,२०० रुपैयाँ घटेको थियो । यद्यपि, सोमबार सुनको मूल्य ८०० रुपैयाँ बढेको थियो । पछिल्लो दुई दिनमा सुनको मूल्य प्रतितोला २,८०० रुपैयाँ घटेको थियो । यही साउन २३ गते सुनको मूल्य हालसम्मकै उच्च १,९९,४०० रुपैयाँ पुगेको थियो । चाँदीको मूल्य पनि आज बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ३५ रुपैयाँ बढेर २,२९० रुपैयाँमा कारोबार भइरहेको छ ।

