मन्त्री तथा ठेकेदार पाण्डेको अमेरिकामा ग्रीन कार्ड र घर, नेपालबाट अमेरिका कारोबार गर्ने खुलासा

म्यारिल्याण्ड, देउबा सरकारका वन मन्त्री बिक्रम पाण्डेले अमेरिकाको ग्रीन कार्ड लिएको खुलासा भएको छ ।

राप्रपा नेपालका उपाध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका पाण्डेले अमेरिकामा अस्थायी बसोबासको प्रवेशाज्ञा (ग्रीन कार्ड) पाएको तथ्य सार्वजनिक भएको हो ।

पाण्डेका छोरा अमेरिकाको म्यारिल्याण्डस्थित व्हाइट मार्समा बस्दै आएका छन् ।

सार्वजनिक भएको जानकारी अनुसार, अमेरिकी ग्रीन कार्ड पाएका उम्मेदवार तथा मन्त्री पाण्डेको भिआईपी क्षेत्रमा घर समेत रहेको छ । पाण्डेका छोरा तथा श्रीमती अमेरिकामा बस्दै आएका छन् । पाण्डे समेत बेलाबखत छोरा भेटन अमेरिका जाने गरेका छन् ।

नेपालमा बसेर क श्रेणीको निर्माण कम्पनी चलाउँदै आएका पाण्डे यतिखेर चितवन क्षेत्र नं. ३ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चुनावी प्रतिष्पर्धा गर्दैछन् । चितवन र नेपालका कतिपय उद्योगहरुमा समेत लगानी गरेका पाण्डेको अमेरिकी ग्रीन कार्डका बारेमा छानबीन भएको खण्डमा उनको उम्मेदवारी समेत प्रभावित हुन सक्ने देखिन्छ ।

मन्त्री पाण्डेले छोरामार्फत नेपालबाट अमेरिकामा समेत आर्थिक कारोबार गर्ने गरेको थप खुलासा भएको छ । नेपालमा आर्जन गरेको रकमको कर छल्न तथा कारोबारको बिस्तार गर्न अमेरिकामा उनको लगानी रहेको थप तथ्य समेत सार्वजनिक भएको हो ।

तस्वीरमा मन्त्री पाण्डे आफ्नो छोरासँग उभिएका देखिन्छन् । म्यारिल्याण्डस्थित नेपालीहरुले उपलब्ध गराएको तस्वीरमा उनका छोरा लक्झरी कारछेउ उभिएको देखिन्छ । ््

चितवन क्षेत्र नं. ३ मा उम्मेदवार बनेका पाण्डे पार्टीभित्रका नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेपछि झन संकटमा परेका छन् । गत शनिबार मात्रै पाण्डेका दाहिने हात मानिने चितवनका प्रभावशाली राप्रपा नेता बद्री तिमिल्सिना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । तिमिल्सिनाले सार्वजनिकरुपमा नै पाण्डेको विकासको कुरा बाहिर देखिने मुकुण्डो मात्र भएको बताउँदै उनले आम जनतालाई ढाँट्दै आएको बताएका थिए । प्रचण्ड विजय अभियानको उदघाटन समारोहमा बोल्दै तिमिल्सिनाले पाण्डेले गरीबलाई सहयोग गरेको बताएपनि जनतासँग हात मिलाएपछि घीन मानेर एकछिन पनि धुने गरेको समेत आरोप लगाएका थिए । यतिमात्र होइन, चितवनमा आफूले गरेका कतिपय विकास निर्माण र जनतालाई प्रत्यक्ष प्रभाव पार्ने काम समेत पाण्डेले गरेको भन्ने झूठो प्रचार गरिएको उनको भनाई थियो ।

विगतमा एमाले नेता लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री हुँदा सार्वजनिक पद धारण गर्ने व्यक्तिले ग्रीन कार्ड लिएको पाइए कार्वाही गरिने विषयले चर्चा पाएको थियो । नेपालमा बसेर अर्को देशको स्थायी या अस्थायी बसोबास या नागरिकता लिनु राष्ट्रिय स्वाभिमान र नैतिकताबिरोधी भएको बताउँदै पाण्डेले डिभी परेका र ग्रीन कार्ड लिएका कर्मचारीहरुविरुद्ध कानुनी उपचारका लागि पहल गरेका थिए । ग्रीन कार्ड, पिआर लिएर देशको प्रशासनिक क्षेत्र, सुरक्षा अङ्ग, आर्थिक क्षेत्रमा बसेकाले देशलाई माया नगरी देशको पसिनाबाट तलब खाएर बसेको देशको दुश्मन भएको टिप्पणी गरेका थिए ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका छोराको ग्रीन कार्ड भएको खुलासा भएपछि सो विषयले समेत व्यापक चर्चा पाएको थियो । लगत्तै नेता रामचन्द्र पौडेलले आफ्ना छोरा चिन्तन पौडेललाई गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्षबाट राजीनामा गराएर अमेरिका पठाएको समाचार सार्वजनिक भएको थियो ।

पण्डितले छानबीन अघि बढाउँदा विभिन्न तहका झण्डै तीन सय सरकारी कर्मचारीहरुले विदेशी मुलुकको पीआर र ग्रिनकार्ड लिएको प्रमाणित भएको बताएकाथियो ।

स्याङ्जामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ् प्रतियोगिता सुरु

स्याङ्जा, कात्तिक १५ । स्याङजाको सोरेकमा अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता र राष्ट्रिय हवाई खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । बुधबारदेखि स्याङजाको भीरकोट नगरपालिकाको सोरेक मैदानमा सुरु भएको प्रतियोगिता कात्तिक २० गतेसम्म चल्ने छ । बाबु एडभेन्चर क्लवको आयोजना एवं स्याङजाका ११ वटै स्थानीय तह, जिल्ला समन्वय समिति, नेपाल पर्यटन वोर्ड र राष्ट्रिय खेलकुद परिषदको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । पहिलो पटक आयोजना गरिएको प्याराग्लाइडिङ प्रतियोगितालाई आधिकारिकता दिँदै राष्ट्रिय खेलकुद परिषदले सन् २०१८ मा इन्डोनेसियामा हुने एसियाली खेलकुदका लागि हवाई खेलाडी छनौट गर्ने जनाएको छ । जसमा नेपाली खेलाडीले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् । प्रतियोगितामा नेपाललगायत २० देशका तीन सयभन्दा बढी प्यारापाईलटहरुको सहभागिता रहने क्लवले जनाएको छ ।

रोल्पामा दश हजार बढी नयाँ मतदाता थपिए

रोल्पा, कात्तिक १५ । मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभामा रोल्पा जिल्लाबाट १० हजार ८९४ नयाँ मतदाताले मतदान गर्ने भएका छन् । स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख १७ हजार २६१ मतदाता रहेकामा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थप नयाँ मतदातासहित एक लाख २७ हजार ६२९ मतदाताले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाता बढी देखिएका छन् । स्थानीय तह निर्वाचनमा पुरुष मतदाता भन्दा तीन हजार ६८९ महिला मतदाता बढी थिए । प्रतिनिधिसभा र प्रदेशसभामा पुरुष भन्दा दुई हजार १८६ बढी महिला मतदाताले मतदान गर्ने भएका छन् । जिल्लामा ६४ हजार ९०७ महिला र ६२ हजार ७२१ पुरुष मतदाता छन् । तेस्रो लिंगी मतदाता भने हालसम्म एकजना पनि देखिएको छैन । नयाँ मतदाता थपिएसँगै जिल्लामा ६ वटा मतदान केन्द्रसमेत थप भएको छ । स्थानीय तह निर्वाचनमा १५४ मतदान केन्द्र रहेको रोल्पामा मंसिर १० गते हुने निर्वाचनका लागि १६० मतदान केन्द्र र ८० मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिए ।

‘जनयुद्ध’का सहयोद्धा एकै क्षेत्रमा चुनावमा भिड्दै

गोरखा, कात्तिक १४ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दशवर्षे ‘जनयुद्ध’ का सहयोद्धा बन्नुभएका कमला नहर्की र हरिशरण आचार्य गोरखा– २ प्रदेशसभा क्षेत्र (क) मा फरक/फरक पार्टीबाट एक अर्काविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनावी माहौल रोचक बनेको छ । माओवादी जनयुद्धकी एकमात्र महिला बिग्रेड कमाण्डर नहर्की र अनेरास्ववियु क्रान्तिकारीका नेता आचार्यबीचको चुनावी प्रतिस्पर्धा मंसिर १० गते हुने भएको छ । अहिले दुवै उम्मेदवार गोरखा २ (क) क्षेत्रमा चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । उहाँहरूले आफूले जित्ने दाबी गर्दै आउनुभएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामगठबन्धनबाट नहर्की उम्मेदवार बन्नुभएको हो । गोरखाको– २ प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा प्रत्यक्षतर्फ नहर्की मात्रै महिला उम्मेदवार बन्नुभएको छ । नहर्कीसँग अर्को इतिहास पनि जोडिएको छ । उहाँ कारागार तोड्ने व्यक्तिका रूपमा चिनिनुहुन्छ । गोरखा कारागारमा रहेका बेला २०५७ चैत १७ गते सुरुङ खनेर उहाँ बाहिर निस्कनु भएको थियोे । नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी र राप्रपाको गठबन्धनबाट नयाँ शक्तिका आचार्य सोही क्षेत्रको साझा उम्मेदवार बन्नुभएको छ । माओवादीमा रहदा उहाँ तीन पटकसम्म ककारागारमा पर्नुभएको थियो । जनयुद्धका दुबै पूर्व सहयोद्धाले गोरखा क्याम्पस पढ्दा राजनीति शुरु गर्नुभएको थियो । विसं २०५७ देखि ०५९ सम्म माओवादी सचिवालय सदस्य नहर्की र आचार्य एरिया इञ्चार्जसमेत हुनुभएको थियो । नहर्कीको संघर्षपूर्ण यात्रा कारागारबाट सुरुङ खनेर बाहिर निस्कनुभएकी नहर्की त्यसअघि पनि पटक÷पटक कारागार पर्नुभएको थियो । विसं। २०५५ मा माओवादीको पूर्णकालिन कार्यकर्ता बन्नुभएकी उहाँ सोही वर्ष महिलाको राष्ट्रिय सम्मेलनमा जाँदा काठमाडौँंमा एक महिनासम्म कारागार पर्नुभयो भने०५६ मा फेरी पक्राउ पर्नुभएकी उहाँ ०५७ मा कारागरार तोडेर पार्टी सम्पर्कमा पुग्नुभएको थियो । राजनीतिमा संघर्ष गर्दागर्दै उहाँ एरिया कमिटी सदस्य, जिल्ला सदस्य, उपब्यूरो सदस्य, जनमुक्ति सेना १० नम्बर बटालिनको कम्पनी कमिसार हुनुभयो । क्यान्टोनमेन्टमा पुगेपछि बिग्रेड कमाण्डर हुने एकमात्र महिला उहाँ अहिले पोलिटब्यूरो सदस्य हुनुहुन्छ । राजनीतिमा गरेको संघर्ष चुनाव जित्ने गतिलो आधार रहेको बताउनुहुने नहर्की अहिले चुनावमका लागि घरदैलो कार्यक्रममा हुनुहुन्छ । यसअघि स्थानीय तह निर्वाचनका बेला गोरखाको प्रमुख पदका लागि उहाँ टिकटको दाबेदार हुनुहुन्थ्यो तर सो बेला पार्टीले नहर्कीलाई टिकट दिएन, कृष्ण रानाले टिकट पाए पनि काँग्रेसका राजनराज पन्तसँग पराजित हुनुभयो । गोरखा– २ ९क० प्रदेशमा गोरखा नगरपालिका– ८ देखि १४ वडा पालुङटार नगरपालिका पर्छ । राजनीतिमा हरेश नखाएका हरिशरण आचार्य विद्यार्थी नेताको रूपमा चिनिनुहुन्छ । विसं ०५१ मा माओवादी पार्टीको सदस्यता लिनुभएका उहाँ ०५४ मा पूर्णकालिन कार्यकर्ता हुनुभयो । विसं ०५४ मा पहिलोपटक पक्राउ पर्नुभएका उहाँ किसान सम्मेलनमा जाँदा ०५५ मा पक्राउ परी चार महिनापछि छुट्नुभएको थियो । विसं ०५८ मा अखिल क्रान्तिकारीको अध्यक्ष बन्नुभएका आचार्य एक वर्षपछि एरिया इञ्चार्ज भएपछि ०६१ मा पोखरामा पुनः पक्राउ पर्नुभयो । प्रहरीले पक्राउपछि १२ दिन आचार्यलाई बेपत्ता बनाएकामा मानवअधिकारकर्मीको दबाबमा छुट्नुभएको थियो । विद्यार्थी आन्दोलन ०६३ बाट राजनीतिमा थप सक्रिय हुनुभएका उहाँ उपत्यका ब्यूरो सचिवालय सदस्य रहेकै बेला पालुङटार विस्तारित बैठकदेखि डा भट्टराईको विचारमा लाग्नुभयो । नयाँ शक्ति जन्मेपछि गोरखा जिल्ला इञ्चार्ज बन्नुभएका आचार्य स्थानीय निकायको निर्वाचनमा पालुङटारको प्रमुखको टिकटका दाबेदार हुनुहुन्थ्यो तर उहाँको सटृा अशोक देवकोटाले टिकट पाए पनि काँग्रेसका दीपकबाबु कँडेलसँग पराजित हुनुभयो । पालुङटार क्षेत्रमा मात्रै नयाँ शक्तिको मत ३९ सय रहेको स्थानीय तह निर्वाचनमा आएको मतले देखाउँछ । कारागार पर्दै छुट्दै पुनः राजनीतिमा संघर्ष गर्दै अघि बढेकाले आफूले चुनाव जित्ने आचार्य बताउनुहुन्छ । विकास र संमृृद्धिका लागि जनताले भोट दिने आचार्यको विश्वास छ । रासस

पार्टीका उम्मेदवारलाई विजयी गराउन अहोरात्र खटिन वाइसीएलका वरिष्ठ उपाध्यक्ष देवकोटा निर्देशन

चितवन, कात्तिक १२। वाईसीएलका वरिष्ठ उपाध्यक्ष सुमन देवकोटाले आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन अहोरात्र खटिन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन । वाईसीएल चितवनको आयोजनामा पार्वतीपुर बजारमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । साथै क्षेत्र नम्बर ३ (ख) अन्तर्गतका नवनिर्वाचित वडा कमिटीका पदाधिकारीहरुको घोषणा पनि गरिएको थियो ।   सो अवसरमा वाईसीएलका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुमन देवकोटाले युवाहरु सधैं समाजको विकासमा लाग्नुपर्ने बताए । उनले राष्ट्र निर्माणमा युवाजगत वर्गको महत्वपूर्ण भूमिका हुने भन्दै युवाहरु सिर्जनशील कार्यमा लाग्नुपर्ने बताए । साथै, जनभावना अुनसार कार्य गर्न, जनताको पिरमर्का र समस्याहरु समाधान गर्ने कार्यमा खटिनसमेत आग्रह गरे । देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वाईसीएल जिल्ला संयोजक ईश्वर रेग्मी, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुर्य सुवेदी ‘पथिक’, जिल्ला नेता यमबहादुर परियार, वाईसीएल केन्द्रीय सदस्य साजन अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका अतिथिले वाईसिएलले जनताको काम गर्नुपर्नेमा जोड दिँदै समग्र पार्टीको जीतमा युवाहरुको महत्वपूर्ण भूमिका हुने बताए । वाईसिएलले समाजमा सकारात्मक भूमिका निर्वाह गर्दै आइरहेको भन्दै स्थानीय जनताले वाईसिएलको खुलेर प्रसंशा गरेका थिए ।

जसरी तसरी होइन अत्यधिक बहुमतले जित्नुपर्छ : बराल

काठमाडौं कात्तिक १२ । नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बरालले एमाले र माओवादीबीच हुन लागेको पार्टी एकता नयाँ परिस्थितिमा समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि भएको बताएका छन । बाम एकता देशविकासको सुत्र भएको उनको दावी छ । उनले यो कुनै पार्टीमा विलय नभई समाजवादी क्रान्तिको मोडल भएको बताए । ‘यो न कुनै माओवादीको एमालेमा विलय हो न एमालेको माओवादीमा, यो त समाजवादी क्रान्तिको मोडल हो’ काठमाडौंमा आयोजीत कार्यक्रममा उनले भने । बरालले बाम एकता विकासको सुत्र भएको बताए । ‘हामी गुल्मी जिल्लाका आम नेता कार्यकर्ताको विचमा त्यसरी जाने छौँ भन्ने विश्वास दिलाउन चाहन्छौँ’ उनले भने ‘ जसरी तसरी जीतको कुरा होईन कि अत्यधिक मतले जीत्नुपर्छ भनेर प्रतिवद्धता जाहेर गर्नुपर्छ ।’ जिल्लाका ४ प्रदेश र २ संघीय निर्वाचन क्षेत्रमध्ये मध्ये २ प्रदेश क्षेत्र माओवादी र बाँकी ४ एमालेलाई परेकोेले सबैलाई विजयी बनाउन काठमाडौमा बस्नेहरुलाई सन्देश प्रवाह गर्नुपर्ने बताए ।

गर्भावस्थामा के गर्ने, के नगर्ने ? भिडियोमा हेर्नुस डाक्टरको सल्लाह

गर्भावस्था विशेष संवेदनशील अवस्था हो । यो अवस्थामा गरिने बालबच्चाको समग्र अवस्थालाई प्रभावित पार्छ । यो समयमा सही किसिमले खानपिन र दिनचर्या हुन सके यसले प्रसूतिको अवस्थालाई समेत सजिलो पार्छ । गर्भवती महिलाको हरेक गतिविधिको प्रभाव बच्चामा पर्ने भएकाले पनि यो अवस्थालाई निकै महत्वपूर्ण रुपमा लिइन्छ । त्यसैले हरेक परिवारले गर्भावस्थाका बारेमा पर्याप्त जानकारी हासिल गर्नु आवश्यक छ । गर्भावस्थालाई कसरी स्वस्थ र सुन्दर बनाउने त ? स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. मनोर दिन सैयदका टिप्स यस्ता छन् ।

साउदी अरब दियाे रोबोटलाई नागरिकता, यस्तो छ रोबोटको विशेषता

रियाद, कात्तिक १० । साउदी अरब कृत्रिम मानव (रोबोट) लाई नागरिकता दिने पहिलो मुलुक बनेको छ । नागरिकता दिइएको रोबोटको नाम सोफिया राखिएको छ । साउदी अरबको पब्लिक रिलेशन अफेयर्स कमिटीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा यसको जानकारी दिएको हो । ‘रोबोट सोफिया विश्वकै पहिलो रोबोट हो जसलाई साउदी नागरिकता प्राप्त भएको छ,’ ट्विटर ह्यान्डलमा लेखिएको छ । नागरिकता पाएपछि रोबोट सोफियाले पनि धन्यवाद दिएकी छन् । ‘म यस गौरवबाट निकै सम्मानित महसुस गरिरहेको छु,’ सोफियाले भनिन्, ‘पहिलो पटक रोबोटलाई नागरिकताबाट पहिचान गरिनु ऐतिहासिक हो । म मानिसहरुका बीच भरोसा बढाउन काम गर्दछु ।’ सोफियाले रियादमा आयोजना हुने फ्युचर इन्भेस्टमेन्ट समिटमा सभाध्यक्षको भूमिका निर्वाह गरिन् । सम्मेलनमा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले देशलाई आधुनिक बनाउने योजना अन्तर्गत लिबरल इस्लामको पुनर्स्थापना आफूले चाहेको बताए । सोफियालाई हङकङका हेनसन रोबोटिक्सले बनाएको हो । मुहारको एक्सप्रेसन बुझ्ने र जोसूकैसँग सामान्य कुरा गर्न सक्ने क्षमता यो रोबोटमा छ । पत्रकार एन्ड्र्यु सोरोकिनले सोफियाको अन्तरवार्तासमेत लिएका थिए । सोरोकिनको प्रश्नहरुको जवाफ सोफियाले निकै कुशलतापूर्वक दिएकी थिइन् ।

व्हाट्सएपकाे नयाँ फिचर्सले प्रेमी–प्रेमिकाको लाेकेशन सजिलै पत्ता लाग्ने

काठमाडाैं ।  सूचना आदानप्रदानका लागि निकै चर्चित व्हाट्सएपले प्रयोगकर्ताका बारेमा थप नयाँ जानकारी पाउन सक्ने भएका छन् । आफूसँग कुराकानी गरिरहेको व्यक्ति कहाँ रहेको छ भनेर थाहा पाउने यो नयाँ सुविधा व्हाट्सएपले थपेको हो । कम्पनीले जनाए अनुसार, यो सुविधा केही दिनभित्रै एन्ड्रोइड र आइओएसमा पाउन सकिने छ । यसका माध्यमबाट आमरुपमा कुराकानी गर्दा को कहाँ छ भन्ने थाहा हुन सक्ने छ । यसको सबैभन्दा बढी फाइदा भने प्रेमी जोडीहरुले पाउने छन् । यसअघि, पनि वाट्स एपमा वर्तमान लोकेसन पठाउन सकिन्थ्यो। तर, लाइभ अपडेट थिएन। नयाँ फिचरको सहयोगले जसले पनि लाइभ लोकेसन पठाउन सक्नेछन्, जसको अर्थ सबैले साथीभाईलाई आफ्नो लोकेसन सहजै बताउन सक्छन्। तर यो त्यति सजिलो भने छैन । लोकेसनलाइ जतिबेला पनि शेयर भने गर्न नसकिने बताइएको छ । लाइभ लोकेसन आवश्यक परेमा फेरी शेयरको आवश्यकता पर्ने कम्पनीले जनाएको छ । कसैले पनि च्याट वा ग्रुपमा आफ्नो लाइभ लोकेसन पठाउन सक्छन्। यसरी हुनेछ काम – यसका लागि तपाईंले वाट्स एपको च्याटमा गएर एटेच आइकनमा क्लिक गर्नुपर्ने छ। – लोकेसन सेयर गर्दा समय सीमाबारे जानकारी दिनुपर्नेछ। – समय सीमामा १५ मिनेट, १ घन्टा र ८ घन्टाको तीन विकल्प दिइएको हुन्छ। – यो फिचर वाट्स एपको नयाँ अपडेटका साथ दिइएको छ। एजेन्सी

निर्वाचन आयोग पनि दलजस्तै अस्थिर हुँदा मन्त्रिपरिषद् विस्तार

काठमाडौं, असोज २९ । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शुक्रबार आयोगको आपत्ति, शनिबार सहमति निर्वाचन आयोगले बोली फेरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शनिबार शपथ गराएकी छिन् । त्यसअघि उनले आयोगका पदाधिकारीसँग मन्त्रिपरिषद् विस्तारबाट निर्वाचन आचारसंहिता उल्लंघन भए–नभएबारे सुझाब मागेकी थिइन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले गम्भीर आपत्ति जनाएका थिए । ‘प्रधानमन्त्रीसहित प्रमुख दलहरूले आचारसंहिताको पूर्ण पालना गर्न हस्ताक्षर गरेकै दिन आचारसंहिताविपरीत मन्त्रिपरिषद् विस्तार गर्नु आपत्तिजनक छ,’ उनले शुक्रबार राति नयाँ पत्रिकासँग भनेका थिए । यसअघि स्थानीय तह निर्वाचनको मुखमा मन्त्रिपरिषद् विस्तार हुँदा आयोगले आचारसंहिता उल्लंघन भएको भन्दै सच्याउन पत्र नै लेखेर सरकारलाई निर्देशन दिएको थियो । तर, शनिबार राष्ट्रपतिसँगको छलफलमा भने प्रमुख आयुक्त यादवले मन्त्रिपरिषद् विस्तारले आचारसंहिता उल्लंघन नभएको र शपथ गराउन ठीक हुने सुझाब दिए । दिउँसो १२ बजे अन्य आयुक्त र सचिवसहित उनी राष्ट्रपतिनिवास पुगेका थिए । ‘तपाईंहरूले पहिले पनि मन्त्रिपरिषद् विस्तार हुँदा अचारसंहिता उल्लंघन भयो भन्नुभयो । अझ अघि बढेर निर्णय नै फिर्ता लिनसमेत सरकारलाई निर्देशन दिएर पत्र पठाउनुभएको थियो । तर, त्यो निर्देशन कार्यान्वयन भएन, मन्त्रिपरिषद् विस्तार भयो,’ आयोगका पदाधिकारीसँग राष्ट्रपतिले राखेको जिज्ञासा उद्धृत गर्दै उनका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले भने, ‘अहिले पनि आचारसंहिता उल्लंघन गरेरै मन्त्रीहरूको नियुक्ति भएको छ, यसले निर्वाचनलाई असर गर्छ कि गर्दैन ? मैले शपथ गराउँदा उपयुक्त हुन्छ कि हुँदैन ?’ जवाफमा यादवले मन्त्रिपरिषद् विस्तारले निर्वाचनको तयारीलाई असर नगर्ने र शपथ गराउँदा नै उपयुक्त हुने सुझाब दिएको प्याकुरेलले बताए । अनि रोकियो कानुनी र संवैधानिक परामर्श यसअघि आयोगले मन्त्रिपरिषद् विस्तारको निर्णय रोक्न प्रधानमन्त्रीलाई पत्रै पठाएर निर्देशन दिएका कारण राष्ट्रपति भण्डारी तत्काल मन्त्रीहरूलाई शपथ गराउने कि नगराउने द्विविधामा थिइन् । सोही कारण पहिले आयोगसँग परामर्श गरेपछि संविधानविद् र कानुनविद्हरूसँग परामर्श गर्ने राष्ट्रपति कार्यालयको तयारी थियो । तर, प्रमुख निर्वाचन आयुक्तले नै आचारसंहिता उल्लंघनले निर्वाचनको तयारीमा असर नपर्ने र शपथ गराउँदा उपयुक्त हुने सुझाब दिएपछि राष्ट्रपति संवैधानिक र कानुनी परामर्श लिने पूर्वतयारी स्थगित गर्ने निष्कर्षमा पुगिन् । प्रमुख आयुक्त यादवको अस्थिरता – प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन आचारसंहिता लागू भइरहेका वेला ४ र ६ भदौमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यसवेला निर्वाचन आयोगले आचारसंहिता उल्लंघन भएको भन्दै आपत्ति जनाएको थियो । २५ भदौमा राप्रपा (प्रजातान्त्रिक) का चार मन्त्री थप भएका थिए । त्यतिवेला त आयोगले पत्र नै लेखेर सरकारलाई गल्ती सच्याउन निर्देशन दिएको थियो । सरकारले भने कुनै जवाफ दिएन । – शुक्रबार मन्त्रिपरिषद् विस्तार गरिँदा पनि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले गम्भीर आपत्ति जनाएका थिए । ‘प्रधानमन्त्रीसहित प्रमुख दलहरूले आचारसंहिताको पूर्ण पालना गर्न हस्ताक्षर गरेकै दिन आचारसंहिताविपरीत मन्त्रिपरिषद् विस्तार गर्नु आपत्तिजनक छ,’ उनले शुक्रबार राति नयाँ पत्रिकासँग भनेका थिए । – आयुक्तहरूको टोली लिएर शनिबार शीतलनिवास पुगेका उनै यादवले राष्ट्रपतिलाई सुझाब दिए– ‘मन्त्रीहरूलाई शपथ गराउन आचारसंहिताले रोक्दैन ।’ राष्ट्रपति कार्यालय जानुअघि आयोगका पदाधिकारीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो । छलफलमा प्रमुख आयुक्त यादवले मिडियालाई दिएको प्रतिक्रिया आफ्नो निजी धारणा भएको बताएका थिए । – आयुक्तहरूबीच आचारसंहिता लागू भएपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्ने कानुन र आचारसंहितामा उल्लेख नभएको तर्क उठेको थियो । कानुनी आधार थिएन भने विगतमा मन्त्रिपरिषद् विस्तार हुँदा आयोगले किन आपत्ति जनायो र सरकारलाई पत्र लेख्यो भन्ने प्रश्न यतिवेला उठेको छ ।   विवादमा पर्न चाहिनन् राष्ट्रपति प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरे पनि त्यो उनको जिम्मेवारी हो । त्यसको जस–अपजस कार्यकारी प्रमुखले लिने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त नगरी पहिले मन्त्रीको संख्या थप्ने मध्यमार्गी बाटो अपनाएका छन् । त्यसैले राष्ट्रपति भण्डारी शपथ रोकेर विवादमा पर्न चाहिनन् । ‘उहाँले त अभिभावकीय भूमिकासम्म निर्वाह गर्ने हो, संवैधानिक र कानुनी प्रश्न नउब्जिएसम्म परामर्श गरेर सरकारले गरेको सिफारिस रोक्ने काम गर्न चाहनुभएन,’ राष्ट्रपति कार्यालयकै एक अधिकारीले भने, ‘आचारसंहिता उल्लंघनबाट सरकार बदनाम भए पनि राष्ट्रपतिज्यू विवादमा मुछिन चाहनुभएन ।’ दोस्रो चरणमा उनले माओवादी मन्त्रीलाई हटाउने विकल्प खुला राखेका छन् ।

पुटिनलाई कुकुर उपहार (फाेटाेफिचर)

काठमाडौं, असोज २९ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सोख अनेक छन् । घोडचढीमा रमाउने, गल्फ खेलमा रुचि राख्ने, गर्लफ्रेन्ड बनाउने, हार्मोनियममा झुम्नेजस्ता सोखका कारण उनी चर्चामा रहिरहन्छन् । पुटिन कुकुरको पनि उत्तिकै सौखिन हुन् । उनी विभिन्न जातका कुकुर पाल्न रुचाउँछन् । पुटिनको सोख बुझेरै तुर्कमेनिस्तानका राष्ट्रपति गुर्बांगुली बेर्डिमुखामेडेभले हालै एउटा कुकुरको छाउरो उपहार दिएका छन् । बेर्डिमुखामेडेभले पुटिनको ६५औँ जन्मदिनको अवसरमा कुकुर उपहार दिएका हुन् । दुई समकक्षीबीच भएको भेटमा पुटिनले कुकुर उपहार पाएका हुन् । बेर्डिमुखामेडेभले एक हातले कुकुरको गर्धनमा समातेर उचाल्दै पुटिनलाई दिएका थिए । पुटिनले उपहार ग्रहण गर्दै कुकुरलाई दुई हातले समातेर आफ्नो काखमा च्यापे । कुकुर बोक्दै पुटिनले तुर्कमेनिस्तानका समकक्षीलाई धन्यवाद दिए । पुटिले उपहार पाएको कुकुर ‘अलाबई’ जातको हो । यसलाई संसारकै विलक्षण जातको कुकुर मानिन्छ । उपहार दिने र लिने गरेपछि दुवै राष्ट्रपतिले आफूहरूलाई एक–अर्काको घनिष्ट मित्र रहेको बताए । पुटिनलाई यसअघि जापानी अधिकारीले पनि कुकुर उपहार दिएका थिए । पुटिनको निवासमा कालो रङको कोनी, लामा रौँ भएका बफ्फी र युमेलगायत कुकुर पनि छन् । उनी यी कुकुरहरूसँग फोटोसेसन गरेर वेला–वेलामा सार्वजनिक पनि गरिरहेका हुन्छन् । एकपटक सिएनएनसँगको अन्तर्वार्तामा उनले आफ्ना कुकुरहरूबारे भनेका थिए, ‘म यिनीहरूलाई कोही मान्छेलाई जत्तिकै माया गर्छु ।’  

३३ दलीय मोर्चा पनि हँसिया–हथौडामा निर्वाचन लड्ने

काठमाडौं, असोज १९ । साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्न हँसिया–हथौडामा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकताको निर्णय भएपछि मोर्चाका तर्फबाट बिहीबार सो निर्णय आएको हो । मोर्चाका तर्फबाट संयोजक युवराज सफलले अग्रगामी शक्तिकारुपमा वाम मोर्चा गठन गर्ने दुई ठूला पार्टीको निर्णयको स्वागत गर्दै माओवादी केन्द्रको निर्वाचन चिह्नमा निर्वाचनमा सहभागी हुने र चुनावी तालमेल गर्ने निर्णय भएको जानकारी दिए । उनले सम्पूर्ण देशभक्त र वामपन्थी शक्तिलाई बृहद् वाम एकताको पक्षमा उभिनसमेत आह्वान गरेका छन् । यस्तै, संसदमा क्रियाशील समाजवादी जनता दल र जनजागरण पार्टी नेपालले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् । प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता दल र लोकमणि ढकालको जनजागरण पार्टीको संसदमा एक/एक सदस्य छन् । उता, नेकपा संयुक्तले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । संयुक्तको बुधबारको बैठकले सो निर्णय गरेको नेता पदमराज जोशीले जानकारी दिए । संयुक्तले पनि बृहद् वाम एकतालाई सकारात्मकरुपमा लिँदै एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ ।

शक्तिपीठहरूमा दर्शनार्थीको भीड

पोखरा, असोज १९ । दशैँको अन्तिम दिन आज पोखरा र आसपासका शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)का दिनदेखि कोजाग्रत पूर्णिमासम्म पोखरा र आसपासका शक्तिपीठहरू बिन्ध्यवासिनी, भद्रकाली, शोभा भगवती, भरतपोखरीको कोटभैरव, तनहुँका ढोरबाराही, छब्दी बाराही, अकलादेवी र स्याङ्जाको शतौँ चण्डी मन्दिरमा विशेष पूजाआजा हुन्छ । पोखराको तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा आज मेला लागेको तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मत कुँवरले जानकारी दिए । तनहँुको ढोरफिर्दीस्थित ढोरबराह मन्दिरमा यस अवधिभर टाढाटाढाबाट दर्शनार्थी आउने गरेको दुलेगौडास्थित बालविद्या माध्यमिक विद्यालयका शिक्षक प्रकाश भट्टराईले बताए । उनका अनुसार प्रत्येक आधा घण्टामा रहस्यात्मक लहरी चल्ने पहराको बीच भागमा अवस्थित ढोरबराह मन्दिर धार्मिक एवम् पर्यटकीय आकर्षक गन्तव्य बन्दै गएको छ ।

बृहत वाम एकता र चुनाबी तालमेलबारे जानकारी दिन राष्ट्रिय सभा गृहमा संयुक्त पत्रकार सम्मेलन शुरु

काठमाडौं, असोज १७ । नेकपा माओवादी, एमाले र नयाँशक्ति पार्टीबीचको बृहत वाम एकता र चुनाबी तालमेलबारे जानकारी गराउन राष्ट्रियसभा गृहमा संयुक्त पत्रकार सम्मेलन शुरु हुदैं छ ।

लसभेगास गोलीकाण्डः मृत्यु हुनेको संख्या ५९ पुग्यो, ५२७ जना घाइते

काठमाडौं, असोज १७ । अमेरिकी प्रहरी लसभेगासमा गोलीकाण्ड मच्चाउने हत्याराको नियतको खोजी गरिरहेको छ । जहाँ अन्धाधुन्ध गोली प्रहार गर्दा ५९ जना मारिएका थिए भने ५ सय २७ जना घाइते भएका थिए । गोलीकाण्डबारे अनुसन्धान गरिरहेका प्रहरीले आक्रमणकारीको घरबाट थप हातहतियार पनि फेला पारिएको जनाएको छ । ६४ वर्षीय आक्रमणकारी स्टिभन प्याडकको घरबाट १८ वटा बन्दुक, विस्फोटक पदार्थ र हजारौं राउण्ड गोली फेला पारिएको एक अधिकारीले जनाए । प्याडकले लास भेगस शहरस्थित एउटा होटलको ३२ औं तल्लामा रहेको कोठाबाट त्यहाँ नजिकै आयोजित एक सांगीतिक कार्यक्रम हेर्न भेला भएका भीडमाथि गोली बर्साउँदा ५ सय २७ जना घाईते भएका छन् । आधुनिक अमेरिकी इतिहासमै सबैभन्दा खराब गोलीकाण्ड भनिएको उक्त घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निन्दा गरेका छन् । उनले एकता र शान्तिका लागि अपील गर्दै गोलीकाण्डलाई दुष्टताले भरिपूर्ण क्रियाकलाप भनेका छन् । घटनास्थलबाट थप १० वटा बन्दूक फेला पारिएको छ । गोलीकाण्ड मच्चाईंदा उक्त कन्सर्ट हेर्न २२ हजार मानिस भेला भएका थिए । प्रहरीले घेरेपछि हत्यारा आफैले पनि आत्महत्या गरेका थिए । घटनाको आतंकवादी संलग्नता पुष्टी भएको छैन । यद्यपि, आईएसले भने घटना आफूले गराएको दावी गरेको छ ।

ट्रकको ठक्करबाट घर भत्कियो, दुई जना घाइते

डडेल्धुरा, असोज ९ । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवामा एउटा ट्रक ब्रेक फेल भइ अनियन्त्रीत भएर घरमा ठोक्किँदा दुईजना घाइते भएका छन् । भने घर भत्किएको छ । घटनामा ट्रकका चालक कैलालीका ३३ वर्षीय अर्जुन राना र र सहचालक १६ वर्षीय सुशिल राना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भैरहेको छ । ट्रकको ठक्करबाट बिजुलीको पोलसमेत भाँचिएको छ । धनगढीबाट दिपायलतिर जाँदै गरेको बा ३ ख ८७७७ नम्बरको ट्रक सोमबार दिउँसो साढे ३ बजेतिर रडुवामा ब्रेक फेल भइ दुर्घटना भएको हो ।