वैदेशिक रोजगारीबाट आएका युवक एक महिनादेखि सम्पर्कविहीन

नवलपरासी । वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल उत्रिएपछि सम्पर्कविहीन भएका छन् ।

कतारबाट गत फागुन ११ गते हिमालय एयरलाइन्सको जहाजबाट काठमाडौँ विमानस्थलमा उत्रिएका घिमिरे अहिले एक महिनासम्म पनि परिवारको सम्पर्कमा नआएको परिवारिक स्रोतले जनाएको छ ।

घिमिरे एउटै कम्पनीमा काम गर्ने सर्लाहीका साथी सोनेलाल दाससँग काठमाडाँैसम्म आएको घिमिरेका बुबा मोहोनीलालले बताउनुभयो । उनले तीन वर्षदेखि कमाएको रकम एकमुष्ट बोकेर फर्किएका थिए ।

चार वर्षअघि वैदेशिक रोजगारीका लागि कतार गएका घिमिरे कतारको अल बैयाद कम्पनीमा काम गर्थे । कम्पनीमा रहँदासमेत घिमिरे परिवारको सम्पर्कमा आएका थिएनन् ।

रोजगारीमा रहँदा सम्पर्कमा नआएपछि परिवारले खोजी गर्दै कम्पनीमा सम्पर्क गरेको र कम्पनीले परिवारको आग्रहमा घर पठाएको घिमिरेका बुुबाले जानकारी दिनुभयो । घिमिरे कतारबाट नेपाल आएको १३ दिनपछि मात्र परिवारले उनी नेपाल आएको जानकारी पाएका थिए ।

छोरो लामो समयसम्म घर नआएपछि कम्पनीमा सम्पर्क गर्दा नेपाल फर्किएको जानकारी पाएपछि कम्पनीले उपलब्ध गराएको पासपोर्ट, हवाई टिकटको प्रतिलिपी लिएर विमानस्थल पुगेर सिसिटिभी फुटेज हेर्दा छोरो नेपाल आएको र साथीको बीचमा ठूलो लगेज घिसार्दै बाहिर निस्केको देखिएको मोहोनीलालले बताउनुभयो ।

बाबु मोहोनीलालले छोराले रकम नेपाल नपठाइ एकैपटक बोकेर आउँदा समस्यामा परेको हुनसक्ने अनुमान गर्नुभएको छ । मेरो छोरालाई सँगै आउने साथीहरुले अपहरण गरेको आशंका छ घिमिरेले भन्नुभयो । उसलाई साथीले नै अपहरण गरेको हुनसक्ने भन्दै प्रहरीमा निवेदन दिएको मोहोनीलालले बताउनुभयो ।

उनी नेपाल उत्रिएर पनि घर नपुगेपछि परिवारले खोजीका लागि अरुणखोला र चोरमारा प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएका छन् । तर त्यहाँबाट खासै कुनै उपलब्धि नभएपछि परिवारले काठमाडौँ गएर गौशालामा प्रहरीलाई निवेदन दिएका छन् । रासस

उद्योग वाणिज्य संघमा शर्मा विजयी

पर्वत । पर्वत उद्योग वाणिज्य संघको आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्षमा केदारनाथ शर्मा विजयी हुनुभएको छ । गए राति घोषणा भएको अन्तिम मतपरिणामअनुसार केदारनाथ शर्माले ८१५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका लेखनाथ शर्माले ४५७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै महिला सदस्यमा प्रमिला शर्मा र चन्द्रकला शर्मा विजयी हुनुभएको छ । संघका सदस्यमा ठाकुर बी पौडेल, रमेश शर्मा लामिछाने, सागर श्रेष्ठ, राजन गुरुङ, तिला गिरी ‘कृष्ण’, कमलबहादुर जिसी, सुनिल भुसाल, गणेश लामिछाने, राजनकुमार जोशी, शेरबहादुर चोचाङ्गी, कृष्णप्रसाद भुसाल, मीनप्रसाद शर्मा, विकास विश्वकर्मा, चित्रबहादुर अधिकारी गोपाल, नारायणप्रसाद पौडेल, मानसिंह भण्डारी, जगन्नाथ अधिकारी, कृष्णप्रसाद रेग्मी, दीपक अधिकारी र शिवशर्मा पौडेल विजयी हुनुभएको छ । विजयीमध्ये शिवशर्मा पौडेल, मानसिंह भण्डारी र राजनकुमार जोशी लोकतान्त्रिक गठबन्धनका उम्ेमदवार हुनुहुन्थ्यो भने अन्य सबै बाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको हो । अध्यक्षसहित २३ जनाको कार्यसमितिका लागि ४४ जनाले उम्मेदवारी दिएका थिए । रासस

लोकदोहोरी ‘बरको छाँयाले’ सार्वजनिक, भिडियोसहित

काठमाडौं, चैत्र २ । नेपाली लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका चर्चित तथा लोकप्रिय गायक प्रकाश ढकाल र गायिका श्रीदेवी देवकोटाको सुमधुर आवाजले सजिएको कमेडी गीत “बरको छायाले” भर्खरै सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत गायक प्रकाश ढकालकै रहेको छ । भिडियोमा चर्चित मोडल एवं निर्देशक काजिश श्रेष्ठ र करिष्मा ढकाल र सरापेको अभिनय रहेको छ । भिडियोको छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् । दिपक विष्टको सम्पादन रहेको गीतको अडियो र भिडियोलाई गोरखा चौतारी म्युजिकले आफ्नै युटुब चयानल बाट सार्बजनिक गरेको छ ।

गृहमन्त्री थापा र बंगलादेशका मन्त्रीबीच वार्ता, के भयाे कुराकानी ?

काठमाडौं, फाुगन ३० । गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एके एम शाजहान कमलले आज भेट वार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा भएको वार्तामा मन्त्री थापाले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एअरलाइन्सको विमान दुर्घटना र त्यसमा परि भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसका लागि एक समिति गठन गरिएको जानकारी गराउनुभयो । उहाँले दुर्घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र आफू लगायतका सरकारका उच्च अधिकारी दुर्घटनास्थलमा पुगेर राहत तथा उद्धारलाई तीव्रता दिन निर्देशन दिनाका साथै स्रोत र साधनले भ्याएसम्म उद्धारमा कुनै कमी नगरिएको बंगलादेशका मन्त्री कमललाई जानकारी गराउनुभयो । वार्तामा मन्त्री थापाले दुर्घटनामा निधन भएका बंगलादेशी नागरिकको शवको पहिचान तथा शव परीक्षणको प्रक्रिया जारी रहेको र त्यो सकिने वित्तिकै दु्रत गतिमा शव बंगलादेश लैजानका लागि व्यवस्था मिलाइने बताउनुभयो । बंगलादेशका मन्त्री कमलले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटना लगत्तै नेपाली पक्षले राहत तथा उद्धारमा देखाएको तत्परताप्रति धन्यवाद व्यक्त गर्नुका साथै आफूहरुले उद्धारमा कुनै किसिमको कमी भएको महसुस नगरेको स्पष्ट पार्नुभयो । आफूले विमान दुर्घटनामा परी घाइते भएर उपचार गराइरहेका १० बंगलादेशी नागरिकलाई काठमाडौँ मेडिकल कलेज, नर्भिक अस्पताल र ओम अस्पतालमा पुगेर अवस्थाबारे जानकारी लिएको र उपचारमा प्रति आफूहरु सन्तुष्ट रहेको मन्त्री कमलले बताउनुभयो । उहाँले ओम अस्पतालमा उपचारत डा रिजवानलाई थप उपचारका लागि उहाँका परिवारले सिंगापुर लैजान खोजेको र दुर्घटनामा परेका अन्य घाइतेलाई उपचारमा सहयोगका लागि बंगलादेशका हाडजोर्नी सम्बन्धी चिकित्सक र ‘बर्न’ सम्बन्धी चिकित्सकलाई नेपालमा पठाउन चाहेको भन्दै त्यसका लागि वातावरण सहज बनाउन गृहमन्त्री थापासँग आग्रह गर्नुभएको थियो । जवाफमा मन्त्री थापाले त्यस विषयमा नेपालस्थित बंगलादेशको दूतावासबाट प्रक्रिया पु¥याएर आग्रह गरिए सहजीकरण गर्न नेपाल सरकार तयार रहेको बताउनुभयो । वार्तामा दुबै मन्त्रीबीच आगमी दिनमा यस्तो दुर्घटना हुन नदिन र घटनाको छानबिन गर्न सहजीकरण गर्ने सहमति भएको छ । दुर्घटनामा परी ४९ जनाको निधन भएकामा २२ यात्रु र चार चालक दलका सदस्य गरी २६ बंगलादेशी नागरिक, २२ नेपाली र एक चिनियाँ नागरिकको निधन भएको थियो ।

लोकतन्त्र मजवुत बनाउन प्रतिपक्ष दल जिम्मेवार हुनुपर्छ : देउवा

काठमाडौं, फागुन ३० । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको सुदृढिकरणका लागि विपक्षी दलको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि काँग्रेसद्वारा आज यहाँ आयोजित अभिमुखिकरण कार्यक्रममा उहाँले विपक्षमा रहेको बेला पार्टीको भूमिका सरकारमा रहेको भन्दा बढी सबल हुने बताउनुभयो । सभापति देउवाले विसं २००७ देखि प्रजातन्त्रका लागि लड्दै आएको काँग्रेस यतिखेर संघीय संसद् र प्रदेशसभामा प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै “संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढिकरणका लागि अहिले काँग्रेसको काँधमा महत्वपूर्ण चुनौती आएको छ, त्यसको सामना गर्न एकतावद्ध भएर र अध्ययनशील हुन आवश्यक छ,” भन्नुभयो । उहाँले भन्नुभयो, “संसद्मा विपक्षीले कस्तो मुद्दा उठाए भनेर जनताले हेरिरहेका हुन्छन, त्यसैले अध्ययन गरेर तर्कका साथ प्रस्तुत हुनुहोला, त्यसैका आधारमा आगामी निर्वाचनमा जनमत बन्ने हो ।” कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा जनताका मुद्दा कसरी उठाउने त्यसका लागि अध्ययनको आवश्यकतापर्ने भन्दै विरोधका लागि विरोध नभइ तर्कका आधारमा जनसावलका मुद्दा उठाउन आग्रह गर्नुभयो । संसद् तथा प्रदेशसभाका प्रक्रियामा प्रभावकारी रुपमा प्रस्तुत हुन आग्रह गर्दै उहाँले भन्नुभयो— “लोकतन्त्र मजवुत बनाउन प्रतिपक्ष दल जिम्मेवार हुनुपर्छ ।” काँग्रेस महामन्त्री डा शशांक कोइरालाले संसद्मा प्रतिपक्ष दलको भूमिका महत्वपूर्ण हुने बताउँदै गुण र दोषका आधारमा मुद्दा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संघीय संसद् र प्रदेशसभाका काँग्रेसका १८९ सदस्य सहभागी हुनुहुन्छ । एक दिने सो अभिमुखीकरण कार्यक्रममा पार्टीका नेताहरु विमलेन्द्र निधि, डा रामशरण महत, डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल र पूर्व सचिव ठाकुरप्रसाद बरालले प्रशिक्षण दिनुहुनेछ ।

बिहे गर्न नमानेपछि कञ्चनपुरमा युवतिमाथि निर्घात कुटपिट

महेन्द्रनगर । आफूसँग बिहे गर्न नमानेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनखेतमा २४ वर्षिय युवति सोनी चन्दमाथि निर्घात कुटपिट गरिएको छ । आज बिहान १० बजे सोनीकै घरमा आएर भीमदत्त नगरपालिका–१० गड्डाचौकीका २७ वर्षिय राकेश चन्दले निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट सोनीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । राकेशले सोनीलाई आफूसँग विवाह गर्न दबाब दिँदै आएको जनाइएको छ । राकेशले घरमै आएर औलाहरूले आँखा घोचेको र अनुहारमा उम्लिरहेको घ्यू फालिदिएको सोनीका आफन्तले बताएका छन् । सोनीको महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको गेटा आँखा अस्पताल रेफर गरिएको छ । घरमा रहेकी आमाले छोरीमाथि कुटपिट हुँदा रोक्न खोजेपछि आमामाथि समेत कुटपिट गरिएको जनाइएको छ । घरमा आमा र छोरी मात्रै बस्ने गरेका थिए । सोनीमाथि कुटपिट गर्ने राकेश चन्दको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

राष्ट्रपति भण्डारीको जीवनी

राष्ट्रपति विद्या भण्डारीको जन्म २०१८ असार ५ गते भोजपुर जिल्लामा आमा मिथिला पाण्डे तथा बाबु रामबहादुर पाण्डेको कोखमा भएको थियो । बेहेरेश्वर प्राथमिक विद्यालय भोजपुरबाट प्राथमिक शिक्षाको सुरुवात गरेकी भण्डारीले विद्योदय व्यवसायिक सेकेन्डरी स्कूल भोजपुरबाटै एसएलसी उत्तीर्ण गरेकी हुन् । भोजपुर क्याम्पसबाट आइएको अध्ययन पूरा गरी भण्डारीले महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरमा बिए अध्ययन गरेकी हुन् । विद्यार्थी जीवनदेखि नै कम्यूनिस्ट राजनीतिमा सक्रिय भण्डारी २०३७ सालमा महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरको स्ववियू कोषाध्यक्ष निर्वाचित भएकी थिइन् । उनको २०३९ सालमा तत्कालीन नेकपा मालेका नेता मदन भण्डारीसँग भूमिगत रूपमा विवाह भयो । पतिको २०५० साल जेठ ३ गते जीप दुर्घटनामा मृत्यु भएपछि भण्डारी राजनीतिमा पुनः सक्रिय भइन् । मदन भण्डारीको निधनपछि रिक्त काठमाडौं क्षेत्र नम्बर १ मा २०५० सालमै भएको उपनिर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि राजनीतिमा भण्डारीको परिचय झन् व्यापक भयो । भोजपुर क्याम्पसमा आइए अध्ययनको थालनीसँगै २०३५ सालदेखि नेकपा मालेको युवा लिगमा संगठित हुँदै भण्डारीले राजनीतिक जीवनको थालनी गरेकी हुन् । भण्डारीले २०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैटौं महाधिवेशनदेखि एमालेको केन्द्रीय कमिटीमा रहेर काम गरेकी हुन् । उनी लामो समयसम्म पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष भइन् । २०६५ सालमा बुटवलमा भएको आठौं र काठमाडौंमा भएको नवौं महाधिवेशनबाट भण्डारी पार्टी उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । भण्डारी २०५४ सालमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी थिइन् भने पछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिन् । मदन भण्डारी सहकर्मी नेता अशोक राईसँग भोजपुर घुम्न जाँदा विद्यासँग पहिलो भेट भएको थियो । पछि विद्या उच्च शिक्षाका लागि विराटनगर झरिन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस त्यतिबेला राजनीतिको एउटा केन्द्र थियो । मदन भूमिगत राजनीति गर्थे । त्यही भूमिगत राजनीतिकै सिलसिलामा विद्या र मदनको सम्बन्ध गहिरिन थाल्यो । कठोर भूमिगत कालमै विक्रम सम्वत् २०३९ सालमा विद्या र मदन वैवाहिक बन्धनमा बाँधिए । भण्डारीका २ छोरी छन् । जसमध्ये जेठी छोरी उषाकिरण भण्डारीको उमेश थापासँग र कान्छी छोरी डा। निशाकुसुम भण्डारीको इन्जिनियर अभिषेक यादवसँग विवाह भएको छ ।

बंगलादेशको रेकर्ड जीत, श्रीलंका स्तब्ध

काठमाडौं । निदाहास ट्रफी टी-२० अंतरराष्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार भएको तेस्रो खेलमा भएको बंगलादेशले रेकर्ड स्कोर पछ्याउँदै श्रीलंकामाथि पाँच विकेटले जीत हासिल गरेको छ । पहिले ब्याटिंग गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । २१५ रनको विशाल लक्ष्य बंगलादेशले २ बल अगावै ५ विकेट गुमाएर पुरा गऱ्यो । उसका ओपनर तामिम इकबालले २९ बलमा ६ चौका र ५ छक्का सहित ४७ रन र लिटोन दासले १९ बलमा २ चौका र ५ छक्का सहित ४३ रनको आक्रामक पारि खेल्दै पहिलो विकेटको लागि ५.५ ओभरमा ७४ रनको साझेदारी गरेका थिए । त्यस्तै मात्र ३५ बलमा ५ चौका र ४ छक्का प्रहार गरेर विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहीमले आफ्नो क्यारियरकै सर्वोत्कृष्ट अविजित ७२ रन बनाए । उनलाई म्यान अफ द म्याच पनि घोषणा गरिएको थियो । खराब बलिंग गरेको श्रीलंकाको लागि नुवान प्रदीपले ३७ रन खर्चेर २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिंग गरेको श्रीलंकाको लागि कुसल परेराले ४८ बलमा ८ चौका र २ छक्का सहित ७४, कुसल मेन्डिसको ५७ रन र उपुल थारंगाले अविजित ३२ रनको मद्दतले २१४ रन जोडेको थियो । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ४८ रन खर्चेर ३ तथा महामदुल्लाहले १५ रन खर्चेर २ विकेट लिए । यो टी-२० अंतरराष्ट्रीयमा चौथो सर्वाधिक स्कोर सफलतापूर्वक पछ्याएको रेकर्ड हो । यस मामलामा बांग्लादेशले अन्य एसियाली क्रिकेट महारथीहरू, भारत, पाकिस्तान र श्रीलंकालाई उछिनेको छ ।

साझाका ‘सेमी लो–फ्लोर’ बस अस्पतालदेखि अस्पतालसम्म

काठमाडौं । साझा यातायातले भोलि बुधबारबाट ‘सेमी लो फ्लोर’ बस सञ्चालनमा ल्याउने भएको छ । युरो ४ मापदण्डको वातावरणमैत्री र कम उचाइका यात्रु पनि सजिलै चढ्नसक्ने उक्त बस नेपालमै पहिलो पटक साझा यातायातले सञ्चालन गर्ने भएको हो । शारीरिक अपाङ्गता भएका, कम उचाइ भएका र जेष्ठ नागरिकको सहज बस यात्राका लागि यस्तो प्रकारको बस उपयोगी र सजिलो हुने साझा यातायातले बताएको छ । “शारीरिक अपाङ्गता भएका, फरक क्षमता भएका, कम उचाइ भएका, अशक्त र जेष्ठ नागरिकलाई सहज रुपमा यात्रा गर्न विशेष गरी यस्तो प्रकारको बस उपयोगी र सजिलो हुन्छ,” साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले भने । बिरामीहरूलाई एक अस्पतालबाट अर्को अस्पतालसम्म पुर्याउन यातायात व्यवस्था कार्यालयबाट सोहीअनुसारको रुट स्वीकृति लिएर बस सञ्चालन गरिएको उनले बताए । बिरामीहरूलाई मध्यनजर गर्दै लगनखेलको पाटन अस्तपाल, जाउलाखेल, कुपण्डोल, त्रिपुरेश्वर आँखा अस्पताल, वीर अस्पताल, जमल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज कान्ति बाल र शिक्षण अस्पताल हुँदै बाँसबारी गङ्गालाल अस्पताल रुटमा बस सञ्चालन हुने पाण्डेयले बताए । चालकसहित ४१ सिट क्षमता रहेको यस ‘सेमी लो फ्लोर’ बसमा दुई सिटको बीचमा रहेको प्यासेजको क्षेत्रफल फराकिलो भएकाले अपाङ्गता भएका यात्रुका लागि ह्विलचियरसमेत बसभित्र नै अटाउने सुविधा रहेको छ । सरकारले तोकेको यात्रा शुल्कबराबरको टिकट दिइने, सिसिटिभिको व्यवस्था रहेको र २० यात्रु उभिन सक्ने यस बसले १ पटकमा ८० भन्दा बढी यात्रु ओसार्न सक्ने क्षमता रहेको साझा यातायातले जानाएको छ । ललितपुर पुल्चोकस्थित साझा यातायातको कार्यालयमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भोलि नै यस बसको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको पाण्डेयले जानकारी दिए । बाह्खरीबाट

बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भएको छ । बैठकमा काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

पाकिस्तानी प्रधानमन्त्री अब्बासी र राष्ट्रपतिबीच भेटवार्ता सुरु

काठमाडौं, फागुन २२ । दुई दिने भ्रमणका लागि नेपाल आउनु भएका पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शिष्टचार भेटवार्ता सुरु भएको छ । राष्ट्रपति भण्डारी र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच भेटवार्ता सुरु भएकाे राष्ट्रपति कार्यलयका प्रवक्ता हरिप्रसाद दवाडीले जानकारी दिए । अब्बासीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा अब्बासीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन छलफल भएको थियो । सन् २०१६ नोभेम्बरमा पाकिस्तानमा हुने सार्क शिखर सम्मेलन भारत–पाकिस्तान मनमुटावका कारण रोकिएको छ । प्रधानमन्त्री ओली र समकक्षी अब्बासीबीच पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको औपचारिक भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री अब्बासीको सम्मानमा सोमबार बेलुका रात्रिभोज आयोजना पनि गरेका थिए । नेपालको भ्रमण पूरा गरी पाकिस्तानी प्रधानमन्त्री मंगलबार नै स्वदेश प्रस्थान गर्नेछन् ।

फोरमले धोका दियाे : राजपा

काठमाडौं, फागुन २१ । मधेस केन्द्रित दलहरु राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच पारपाचुके हुने भएको छ । फोरम सुटुक्क वाम गठबन्धनसँग मिलेर सरकारमा जान लागेको आरोप राजपाले लगाउन थालेको छ । फोरमले मधेसको मुद्धामा धोका दिएर सरकारमा जान लागेकोमा राजपाका नेताहरु रुष्ट भएका छन् । मधेसको माग संविधान संशोधन हो, ओली सरकार संविधान संशोधनमा अनुदार भएकाले सरकारमा जानु नहुने पक्षमा राजपाको एक समुह छ । त्यो समुहले सरकारमा जान छिर्के दाउ हानेर फोरमले धोका दिएको अरोप लगाउन थालेको छ ।, आज प्रकाशित साँघु साप्ताहिकमा यो खबर छापिएको छ ।

दुवै सदनका जेष्ठ सदस्यले राष्ट्रपतिबाट लिए शपथ

काठमाडौं, फागुन २० । प्रतिनिधि र राष्ट्रियसभाका जेष्ठ सदस्यहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन्। प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाका तारादेवी भट्टलाई ज्येष्ठ सदस्यका रुपमा राष्ट्रपति भण्डारीले शपथ ग्रहण गराएकी छन्। अब उनीहरुले आ–आफ्नो सभाका अन्य सदस्यलाई सपथ गराउने छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुको सपथ क्रमश ४ बजे र ५ बजे बानेश्वरस्थित संघीय संसद भवनमा हुने छ। ठाकुरले मैथिली भाषामा शपथ लिएका छन्। भट्टले भने नेपाली भाषामा नै शपथ लिएकी थिइन्।

कार्यालयभित्रै घुस बाँडफाँट नमिल्दा कर्मचारीबीच कुटाकुट

धनगढी । हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँडको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भएको छ । कुटाकुट हुँदा एकजना सख्त घाइते भएका छन् । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको छ । बिहीबार कार्यालय समयमै कर्मचारीबीच घूस रकम बाँडफाँटका विषयमा कुटपिट भएपछि प्रहरीले ६ कर्मचारीलाई पक्राउ गरेको थियो । ‘मालपोत कार्यालयकै एक कर्मचारीले खबर गरेपछि प्रहरीले पक्राउ गरेको हो,’ कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने, ‘पक्राउ परेका सबै कर्मचारीले मदिरा सेवन गरेका थिए ।’ प्रहरीका अनुसार पक्राउ परेका कर्मचारीमध्ये पूर्णानन्द भट्टको दायाँ हात भाँचिएको छ । सँगै जोडिएका मालपोत र नापी कार्यालयमा कुटाकुट हुन थालेको जानकारी पाएपछि वडा प्रहरी कार्यालयबाट गएको टोलीले कार्यालयभित्रै बियर र रक्सीका बोतलसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा नवीन जोशी, पूर्णानन्द भट्ट, महादेव जोशी, वीरेन्द्र सिंह, सागर कुँवर र ज्ञानेन्द्र ओझा छन् । यीमध्ये नापी र मालपोतका कर्मचारी को(को हुन् भन्ने पूर्ण खुलेको छैन । ‘कुन कर्मचारी कुन कार्यालयको भन्ने जानकारी हुन सकेन,’ वडा प्रहरी कार्यालय प्रमुख रामबहादुर चन्दले भने, ‘कार्यालय कम्पाउन्ड भित्रैबाट मदिरा अत्यधिक सेवन गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।’ पक्राउ परेकामध्ये कुटपिटबाट हात भाँचिएका भट्टलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको पनि चन्दले जनाए । पक्राउ परेका कर्मचारीसँग घूस रकम लिएको लाखौं रुपैयाँ रहेको मालपोत कार्यालयका एक कर्मचारीको दाबी छ । ती कर्मचारीले भने, ‘एक सातासम्म उठेको रकमका विषयमा कुरा नमिलेका कारण कुटाकुट भएको हो ।’ उनका अनुसार नापीका २ र मालपोतका ४ कर्मचारी हुन् । होलीका दिन मालपोतको एउटा कोठामा बियर र मदिरा सेवन गर्दै हिसाबकिताब गर्न थालेपछिनापीका कर्मचारीले उठाएको घूस रकमदिन नमानेपछि कुटाकुट भएको कर्मचारी स्रोतको भनाइ छ । ‘मदिरा सेवन गरेका कर्मचारी पक्राउ परेको जानकारी पाएको हुँ,’ प्रजिअ गोविन्द रिजालले भने, ‘कारबाहीका लागि प्रहरीमा पठाइएको हो, त्यसपछिको जानकारी हुन सकेको छैन ।’ पक्राउ परेका कर्मचारीका विषयमा प्रहरीले धेरै कुरा लुकाएको मालपोत कार्यालयका एक कर्मचारीको आरोप छ । ती कर्मचारी भन्छन्, ‘पक्राउ परेका कर्मचारीसँग रहेको घूस रकम हिसाबकिताब गरेको डायरीसमेत प्रहरीले लुकाएको छ ।’ कान्तिपुरबाट साभार

सरकारले भोलिसम्म पूर्णता पाउँछ : प्रचण्ड

सुर्खेत, फागुन १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिसम्म सरकारले पूर्णता पाउने बताउनुभएको छ । सुर्खेतको विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो – “संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले भोलिसम्म सरकारले पूर्णता पाउने छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले चैतको पहिलो हप्तामा एमाले र माओवादी केन्द्रबीच एकता हुने पनि बताउनुभयो ।

शाखा अधिकृत प्रथम चरणको नतिजा प्रकाशित

काठमाडौं । लोकसेवा आयोगले माघ २९ गते लिएको शाखा अधिकृत पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगद्वारा प्रकाशित सूचना अनुसार विज्ञापन नम्बर १६५३०–१६५३६/२०७४–०७५ खुला तथा समावेशी समूहको अप्राविधिक तर्फको लिखित नतिजा प्रकाशन गरिएको हो ।