चीनमा फल्दैछन् माओको अनुहार भएका लौका, अरु अनुहारका पनि पाइन्छन्

बजारमा तरकारी किन्न जाँदा पसलेले “कस्तो अनुहारको लौका दिऊँ?” भन्यो भने तपाईं के उत्तर दिनुहोला? लौकाको अनुहार नै के भन्नु र? हो, आकार भनेको खण्डमा भने लाम्चो, गोलो, डल्लो या फर्सीजस्तो केही छनौटहरू उपलब्ध होलान् ।

तर अचेल प्रविधिमा नयाँ नयाँ प्रयोग गरिरहने चीनले भने त्यहाँका तरकारी पसलेहरूलाई “कुन अनुहारको लौका दिऊँ?” भन्ने प्रश्नको उत्तरमा अध्यक्ष माओ जस्तो, बुद्ध जस्तो, कन्फ्युसियस, लाओत्से या येसु ख्रीष्ट जस्तो भन्ने छनौटको अवसर प्राप्त भएको छ ।

त्यसैले अचेल चीनमा केही लौकाहरू विश्वका अन्य भागभन्दा एकदम फरक छन् र यिनीहरूको फरकपन भनेको तिनको अनुहार हो । यस्तो हुनुका पछाडिको कथा पनि कम रोचक छैन । र यो कथा सुरु हुन्छ सी ल्यु झी भन्ने व्यक्तिको एउटा भ्रमणबाट ।

बागबानीमा रुचि राख्ने ल्यु झी एकपटक चीनको सिचुआन प्रान्तमा अवस्थित हजार वर्ष पुरानो मन्दिर पुग्छन् र त्यहाँ एउटा बौद्ध भिक्षुले उनलाई आफूले देखेको सपनाका बारेमा बताउँछन् ।

ती भिक्षुले सपनामा प्रसिद्ध देवताहरूका अनुहार भएका लौका देखेका रहेछन् । यस सपनाको बारेमा सुन्ने बित्तिकै ल्यु झीको दिमागमा कलात्मक लौका फलाउने इच्छा जाग्छ र त्यहाँ देखी सुरुवात हुन्छ रचनात्मक बागबानीको यस रोचक कथाको ।

त्यसपछि सीले आफ्नो बारीमा विभिन्न अनुहारका लौका फलाउने गरेका छन् । यिनमा विविधता छ । उपभोक्ताले अध्यक्ष माओ देखि येसु ख्रीष्ट, बुद्ध देखि भाग्यका देवतासम्म र लाओत्से देखि सान्ता क्लाउससम्म फरक फरक अनुहारका लौका छानीछानी घर लैजान सक्छन् ।

तर यति हुँदाहुँदै पनि उनले बारीमा कुनै पनि प्रकारको कीटनाशकको प्रयोग गर्दैनन् । यसको अर्थ सीले फलाएका लौका पूर्णतया जैविक छन् र खानका लागि सुरक्षित छन् ।

चीनमा यस्ता कलात्मक लौकाको प्रयोग तरकारी खानभन्दा पनि बालबालिकालाई ऐतिहासिक हस्तीहरूको पहिचान दिन पनि प्रयोग गर्न थालिएको छ । बच्चाहरूलाई चीनको इतिहास र यसमा विभिन्न व्यक्तिहरूको योगदानबारेमा सिकाउन समेत यी लौका सहायक सिद्ध भएका हुन् ।

सीले फलाउने यी लौका त्यत्तिकै फाल्ने भने होइनन् यसमा उनको रचनात्मकता प्रष्टसँग झल्किन्छ । उनले लौकालाई चिचिलामै प्लास्टिकको साँचो भित्र राख्ने गर्दछन् जसले गर्दा त्यो हुर्किंदा साँचो अनुरुप हुर्किन्छ र सो अनुरुप नै त्यसले आकार प्राप्त गर्दछ ।

सीबाट नै सिकेर अचेल चीनका अन्य किसानहरूले पनि अनुहार भएका लौका फलाउन सिकेका छन् ।

अब यो प्रयोग नासपाती लगायत अन्य फल्हारूमा समेत पगरिन थालेको छ ।

चिनियाँ संस्कृतिमा लौकालाई सौभाग्य र समृद्धिसँग जोड्ने गरिएको छ ।  यिनीहरूलाई विभिन्न चिनियाँ देवीदेवताहरूकोमा भोग पनि लगाइन्छ ।

यतिमात्र होइन चीनमा लौकालाई पवित्र मान्ने गरिएको छ ।  चीनमा लुकामा चित्रहरू पोतेर राख्ने परम्परा समेत रहिआएको छ र सीले फलाएका लौकाहरूले अब नयाँ परम्परा सुरु गर्न बेर छैन ।

हो, अब यदि चीन जानु भयो र लौका किन्ने विचार गर्नु भयो भने कुन अनुहारको लौका चाहिन्छ भन्न नहिच्किचाउनुस् । कुनै प्रसिद्ध राजनेताको, धर्मगुरुको, देउताको, सिने कलाकारको या कुनै सुन्दरीको सुगठित शरीरको आकारको, सब पाइन्छ !

 

एकतामा ढिलाइ गर्नै हुन्न: अध्यक्ष प्रचण्ड

काठमाडौँ, वैशाख २१ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने बताउनुभएको छ । ‘कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह समिति’ ले आज यहाँ आयोजना गरेको ‘आजको मार्क्सवाद, लोकतन्त्र, समृद्धि र समाजवाद’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उहाँले नेकपा (एमाले) सँगको एकता केही दिनभित्रमा नै हुने बताउनुभयो । अध्यक्ष दाहालले यसमा ढिलाइ भए मुलुक पुनः अराजकता र असफलताको भूमरीमा फस्ने बताउँदै कतिपय विदेशी वुद्धिजीवीले नेपाल राष्ट्र नै असफल हुनसक्छ भनी गर्ने गरेका विश्लेषणलाई गलत सावित गर्न एकता गरेर आफूहरुले विश्वलाई नयाँ सन्देश दिने खोजेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “पार्टी एकतापछि नेपाल राष्ट्र झन् शक्तिशाली भएर समृद्धिको यात्रामा अगाडि बढ्नेछ, हामी एमाले र माओवादी केन्द्र विघटन गरेर नयाँ पार्टी निर्माणको चरणमा छौँ, पुरानो आग्रह र पूर्वाग्रहबाट मुक्त भई नयाँमा रुपान्तरण हुन आवश्यक छ ।” अध्यक्ष दाहालले एमालेसँगको एकतामा एकाध बाहेक सबै कम्युनिष्ट केन्द्रित हुन आइपुग्ने अवस्था आउने पनि बताउनुभयो । एमालेका वरिष्ठ नेता झलनाथ खनालले उपभोक्तावादी चिन्तन र बुर्जुवा संस्कृतिलाई अन्त्य गर्दै समाजवादको आधारशीला खडा गर्न कम्युनिष्ट एकीकृत हुनुको विकल्प नभएको बताउनुभयो । एमालेका नेता माधवकुमार नेपालले शान्तिपूर्ण रुपान्तरण र समाजवाद उन्मुख प्रणालीमार्फत् समृद्धि हासिल गर्ने विचार, मूल्य, मान्यता र सिद्धान्तमा कुनै विवाद नभएकाले एकतामा अवरोध नआउने धारणा व्यक्त गर्नुभयो । एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपालमा आजको माक्र्सवादको सम्मान नै पार्टी एकता हो भन्नुभयो । समितिका अध्यक्ष एवं एमालेका उपमहासचिव घनश्याम भुषालले दुई दिनसम्म चल्ने गोष्ठीमा माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवादबारे विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिनुभयो । उहाँले १० हजार युवालाई माक्र्सवादबारे प्रशिक्षण दिने तयारी भएको पनि बताउनुभयो । रासस

पत्नी-पीडित पति रुँदै प्रहरीको शरणमा पुगेपछि

हाम्रो जस्तो पितृसत्तात्मक समाजमा महिला हिँसाका घट्ना दिनहुँ जस्तो सुनिन्छन्। कार्यान्वयन पक्ष जतिसुकै फितलो भएपनि यसको न्यूनीकरणका निम्ति कानुन छ। तर हाम्रो जस्तै सामाजिक परिवेश भएको देशमा कुनै महिलाले लगातार पुरुषमाथि हिंसा गरेर उसलाई प्रहरीको शरणमा जान वाध्य पर्दाछिन् भने अचम्म नै मान्नु पर्ने हुन्छ। यस्तै घटना घटेको छ भारतको उत्तर प्रदेश राज्यमा। त्यहाँको ग्रेटर नोएडा क्षेत्रको दनकौर प्रहरी चौकीमा एकजना पुरुष रुँदै प्रहरीको शरणमा पुगेका छन् र यसको कारण थियो उनकी श्रीमतीद्वारा उनलाई दिइएको प्रताडना । तीन वर्ष अघि ती महिलासँग विवाह गरेका उनले त्यहाँ पुगेर आफ्नी पत्नीलाई कारबाही गरिदिनु पर्ने माग गरेका थिए । ती पतिले रुँदै रुँदै आफ्नी पत्नीले घरको सारा काम लगाएर आफू मालिक्नी बन्ने गरेको गुनासो गरे । बिहे गरेर ल्याएदेखि नै पत्नीले कपडा धुन, खाना बनाउन र कुचो लगाउनेसहितका सारा काम पत्नीले आफूलाई लगाएर नोकर बनाएको पनि उनले उजुरीमा उल्लेख गरेका छन् । पत्नीले आफूलाई सताएको कुरा ससुरालीमा बताउँदा आफूमाथि झन् हिंसा भएको दाबी ती पुरुषले गरेका छन् । यस कुराको गुनासो ससुरालीमा गर्दा आफूमाथि झनै हिंसा बढेको गुनासो ती पुरुषले गरेका छन् । उनले ससुरालीमा यस्तो गुनासो गरेपछि पत्नीले घर पनि आफैँलाई पुछ्न लगाएर थप सास्ती दिएको दाबी गरेका छन् । यतिमै पत्नीको हिंसा रोकिएन, उनले पतिमाथि झुटो मुद्दा लगाएर फसाइदिने धम्की समेत दिएकी थिइन् । घरको काम गर्नुपरेपछि कार्यालयमा जान ढिलो हुँदा जागिर पनि गुमाउनुपरेको गुनासो उनले प्रहरीसँग गरेका छन् । पत्नीको हिंसाबाट आजित भएका उनले मंगलवार अबेर साँझ पत्नीमाथि कारबाहीको माग गर्दै पुलिसमा उजुरी दिएका हुन् । पुलिसले पीडितको उजुरी दर्ता भएपछि घटनाबारे अनुसन्धान थालिएको जानकारी दिएको छ।  

स्थानीय तहमा ठूलो संख्यामा सहसचिवहरु सरुवा

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा सहसचिवहरुको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालयका सहसचिवको सरुवाको लिष्ट तयार भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । ६० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवासँगै बुधवार मन्त्रालयले ६ जना सहसचिवको सरुवा गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको आग्रहमा सहसचिव सरुवा गरिएको स्रोतले जनाएको छ । लोकसेवा आयोगमा कार्यरत झकप्रसाद आचार्यलाई अर्थ मन्त्रालय सरुवा गरिएको छ । त्यस्तै गृह मन्त्रालयका श्यामप्रसाद भण्डारी पनि अर्थमा सरुवा भएका छन् । अर्थ मन्त्रालयमा कार्यरत मुकुन्द निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा गरिएको छ । त्यस्तै सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव प्रकाश दाहाल श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएका छन् । अर्थ मन्त्रालयमै कार्यरत शोभाकान्त पौडेल लोकसेवा आयोगमा सरुवा भएका छन् भने गृह मन्त्रालयका विनोदप्रसाद सिंह सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा भएका छन् । अनलाइनखबरबाट

३२ चिनियाँको उत्तर कोरियामा मृत्यु

बेइजिङ, वैशाख १० । चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको चीनले जनाएको छ । चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार जना उत्तर कोरियाका नागरिक रहेका छन् । आइतबार भएको दुर्घटनामा परी अरु दुई जना चिनियाँ घाइते पनि भएका अधिकारीहरुले जानकारी दिएका छन् । उत्तर कोरियाको राजधानी प्योन्योङदेखि दक्षिणतर्फपर्ने ठाउँमा दुर्घटना भएको चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले पत्रकारलाई बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले घटनाका बारेमा अनुसन्धान गरिरहेका छौं, पूर्ण विवरण आउन बाँकी नै छ ।” चिनियाँ राज्यद्धारा सञ्चालित सञ्चार माध्यम सिजीटीएनले शुरुमा ३० भन्दा बढीको मृत्यु भएको समाचार संप्रेषण गरेपनि पछि भने समाचार नै हटाएको छ । समाचार अनुसार उत्तर कोरियाको एउटा पुलबाट पर्यटक बस तल झरेर दुर्घटना भएको हो ।

प्रदिप नेपालको पुस्तक विमोचन गर्दै सभामुख महराले भने- साहित्य समाजको एेना र परिवर्तनको दर्शन हो

काठमाडौं, वैशाख ८ । सभामुख कृष्णबहादुर महराले साहित्य समाजको यथार्थता देखाउने र परिवर्तन गर्ने दर्शन भएको बताउनुभएको छ । साहित्यकार प्रदीप नेपालद्वारा लिखित ‘देशको खोजी’ कथा संग्रहको आज (शनिबार) पुल्चोकस्थित साझा प्रकाशनको कार्यालयमा आयोजित पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले साहित्य समाजको यथार्थता देखाउने दर्शन भएको बताउनुभएको हो । ०३७/३८ सालतिर आफूले साहित्यकार प्रदीप नेपालको कथा सञ्जय थापाको नामबाट पढ्ने मौका पाएको भन्दै सभामुख महराले आफू निकै प्रभावित भएको बताउनुभयो । ‘मैले सञ्जय थापाको ‘दमाईको दुकानमा चिया खाइयो’ भन्ने कथा पढेको थिएँ, सभामुख महराले भन्नुभयो, ‘त्यसले मलाई निकै प्रभावित बनाएको थियो ।’ त्यतिबेला जातीय छुवाछूत विरुद्ध आवाज उठाउन निकै गाह्रो रहेको सम्झदै महराले भन्नुभयो, ‘त्यस्तो बेला लेखिएको त्यो कथाले सबैलाई निकै प्रभावित बनाएको थियो ।’ आफूलाई माक्र्सवादी दर्शनतर्फ प्रेरित गर्ने व्यक्तिहरु पनि साहित्यकार नै भएको चर्चा गर्दै महराले मोहन वैद्य ‘किरण’ र कृष्ण सेन इच्छुकले आफूलाई राजनीतिक क्षेत्रमा लाग्न प्रेरित गरेको बताउनुभयो । ‘साहित्यकार कृष्ण सेन इच्छुक मेरो एकदम मिल्ने साथी हुनुहुन्थ्यो । मलाई माक्र्सवादी दर्शनतर्फ प्रेरित गर्नेमा उहाँको ठूलो भूमिका छ’ महराले भन्नुभयो, ‘चिनजान नभए पनि हामीबीच झण्डै दुई सयजति पत्रहरु आदान प्रदान भएका थिए ।’ आफूलाई नयाँ दृष्टिकोण बनाउन र माक्र्सवादी दर्शनतर्फ प्रेरित गर्न सेनका साहित्यिक पत्रहरुले निकै भूमिका खेलेको भन्दै सभामुख महराले हरेक राजनीतिक व्यक्तिको प्रस्थानविन्दू अर्थात् अन्तरचक्षु साहित्यभन्दा पर हुन नसक्ने बताउनुभयो । त्यस्तै, अर्को प्रसंगमा सभामुख महराले साझा प्रकाशन जनताको साझा सम्पत्ति भएको बताउनुभयो । जनताको सम्पत्ति जोगाउन जनता नै जागरुक हुनुपर्ने भन्दै सभामुख महराले साझा प्रकाशन टिकाउन सरकार, निजी क्षेत्रलगायतको सबैको सहयोग जरुरी रहेको बताउनुभयो । सभामुखको हैसियतले आफूले सहयोग गर्न कुनै कसर बाँकी नराख्ने भन्दै महराले साझा प्रकाशनले साहित्यप्रेमी सांसदहरुलाई बोलाएर बृहत अन्तरक्रिया गर्न सके राम्रो हुने सुझाव दिनुभयो । यसैबीच सोही कार्यक्रममा साहित्यकार तेजेश्वरबाबु ग्वगःद्वारा लिखित ‘रङ्ग अभिज्ञान’ निबन्ध संग्रहको शताब्दी पुरुष सत्यमोहन जोशीले लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा डा. लक्ष्मणप्रसाद गौतमले रङ्ग अभिज्ञान निबन्ध संग्रहको समीक्षा गर्नुभएको थियो भने प्रा.डा. दयाराम श्रेष्ठ र खगेन्द्र राईले देशको खोजी कथा संग्रहको समीक्षा गर्नुभएको थियो । कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझाको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टऱ्यो ठुलो दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा ठुलो दुर्घटना हुनबाट जोगिएको छ । १ सय २३ यात्रु बोकेको काठमाडौँबाट क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्डो एयरको जहाज बिहीबार राति ठूलो दुर्घटनाबाट जोगिएको छ। उड्न धावनमार्गतर्फ गुडिरहेको मालिन्डो एयरको जहाजको टायरमा समस्या आएपछि पाइलटले टेक अफ नगरी तत्कालै पार्किङतर्फ मोडेपछि जहाज दुर्घटनाबाट जोगिएको हो। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार जहाजको चक्कामा समस्या आएपछि पाइलटले तत्काल पार्किङतर्फ लगेकाले दुर्घटना टरेको हो।

शिक्षा नीति व्यवसायमुखी बनाउँछु : मुख्यमन्त्री भट्ट

धनगढी, चैत्र ३० । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको शिक्षा नीति व्यवसायमुखी वनाउन आफुले बिशेष पहल गर्ने बताउनु भएका छन् । नेपालको शिक्षा नीति व्यवसायमुखि नभएकै कारण बेरोजगारीको समस्या सुल्झन नसकेको बताउदै मुख्यमन्त्री भट्टले जागीर गर्नलाई मात्र पढ्नुपर्छ भन्ने मान्यता सही नभएको बताएका छन् । शुक्रबार कैलाली बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सव समारोहमा बोल्दै मूख्यमन्त्री भट्टले गरिव र निमुखा समुदायलाई पनि उच्च शिक्षाको पहुचमा पुर्याउन प्रदेश सरकार लागि पर्ने बताए । प्रदेशको चमत्कारी विकास ५ वर्षमै गर्न नसकिए पनि सही विधि र पद्धति स्थापित गर्न आफु अहोरात्र लागि पर्ने बताए । साथै यस अभियानमा प्रदेशवासीको पनि पूर्ण सहयोग रहने मुख्यमन्त्री भट्टको विश्वास छ । प्रदेशका सबै तह र तप्का विद्यार्थीहरुको सहज पहुचमा रहेको कैलाली क्याम्पसको स्तरोन्नतीका लागि प्रदेश सरकार कटिवद्ध रहने उहाँले बताउनु भयो । यस्तै समारोहमा बोल्दै सामाजिक विकास मन्त्री दिर्घ सोडारीले सुदूरपश्चिम विश्व विद्यालय प्रदेश सरकारको मताहतमा ल्याउन पहल भइरहेको बताउनु भयो । टोलटोलमा क्याम्पस खोल्ने चलन ठिक नभएको बताउदै उहाँले क्याम्पस मर्जको नीति ल्यायर व्यवस्थित क्याम्पस वनाउन सामाजिक विकास मन्त्रायल लागि परेको जानकारी दिए । ३८ औं वार्षिकोत्सव समारोहको समापन शत्रमा क्याम्पसमा लामो समय अध्यापन गराएका प्रध्यापकहरुलाई सम्मान समेत गरेको छ । सामुदायिक क्याम्पसहरुमा कैलाली बहुमुखी क्याम्पस देशकै नमुना क्याम्पस मानिन्छ । २०७४ सालमा देशकै उत्कृष्ट क्याम्पसको रुपमा यो क्याम्पस पुरस्कृत समेत भएको थियो ।

प्रचण्डद्वारा पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त

चितवन, चैत्र २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनका पार्टी कार्यकर्ता स्वर्गीय महाप्रसाद पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्र चितवनका सदस्य पौडेलको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले आफू गुमनाम भएर पनि पार्टीप्रति महत्वपूर्ण भूमिका निर्वाह गर्ने पौडेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । ‘हिजो पञ्चायत कालदेखि जनयुद्धकाल हुँदै जनआन्दोलनसम्म आफू गुमनाम भएर पनि पार्टी, आन्दोलन र नेतृत्वप्रति सधैँ इमानदारीतापूर्वक भूमिका निर्वाह गर्ने पौडेल परिवारका सदस्य महाप्रसादको निधनले हाम्रो पार्टीले ठूलो क्षति व्यहोरेको छ’, उहाँले भन्नुभयो । चितवन कल्याणपुर निवासी पौडेलको गत चैत्र २३ गतेका दिन निधन भएको थियो । स्वर्गीय पौडेल पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालका माइला भाइ हुनुहुन्थ्यो । उहाँको निधनले व्यक्तिगत भन्दा पनि पार्टीगत पीडा बढी भएको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो – ‘व्यक्तिगत नाता सम्बन्धका कारण एउटा पीडाबोध हुनु स्वाभाविक हो, तर त्यो भन्दा बढी पीडा एक जना इमानदार सदस्य गुमाउँदा भएको छ ।’ इमानदार कार्यकर्ताको निधनले पार्टीलाई ठूलो क्षति पुगे पनि पीडालाई शक्तिमा बदलेर सामाजिक सेवामा लाग्न अध्यक्ष प्रचण्डले नेता कार्यकर्ता र परिवारलाई आग्रह गर्नुभयो ।

मेलम्ची सुरुङको अन्तिम ‘ब्रेक थ्रु’ २९ चैतमा : मन्त्री बिना मगर

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुरुङ खन्ने कामको अन्तिम ‘ब्रेक थ्रु’ चैत २९ गते हुने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र, ७ नम्बर प्रदेश–काठमाडौं संघीय जनसम्पर्क मञ्चले काठमाडौंमा गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री मगरले निरन्तरको ‘फ्लोअप’ र निर्देशनले आयोजना ‘ब्रेक थ्रु’को चरणमा पुगेको बताउनुभयो । ‘मन्त्रालयमा आएपछि मैले सुरुङ खन्ने कामको निरन्तर फ्लोअप गरे, प्रगति विवरण लिए,’ उहाँले भन्नुभयो । कामको प्रगति हेर्दा आगामी दशैंअघि वैकल्पिक मार्गबाट काठमाडौसम्म मेलम्चीको पानी पुर्याउन सकिने बताउनुभयो । जनताको घरदैलोमा स्वच्छ खानेपानी पुर्याउने प्राथमिकता सँगसँगै अन्तर्राष्ट्रिय बजारमा खानेपानी बेचेर आयस्रोत बढाउने विषयमा समेत योजना बनाउने मन्त्री मगरले बताउनुभयो । ‘हिमश्रृङ्खलाबाट बगेको पानीलाई विदेशमा महंगो मूल्यमा बेच्न सकिन्छ,’ मन्त्री मगरले भन्नुभयो, ‘यसरी सोच्दा खानेपानी उद्योग स्थापना हुने, रोजगारी सिर्जना हुने र आयआर्जन बढ्ने हुन्छ ।’ हिमश्रृङ्खलाबाट बगेको पानीको गुणस्तरलाई अन्तर्राष्ट्रिय बजारमा रुचाउने गरिएको उहाँले बताउनुभयो । वर्तमान सरकारमा ७ नम्बर प्रदेशबाट एक्लै मन्त्री भएकाले जनताको धेरै आशा पूरा गर्नु चुनौतिपूर्ण भएपनि स्यावासी पाउने गरी काम गर्ने मन्त्री मगरले बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै नेकपा माओवादी केन्द्र ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले मन्त्री बिना मगरलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । ‘भेटघाट गर्ने मन्त्रालयमा भीडभाड गर्दा मन्त्रीलाई काम गर्न अप्ठ्यारो हुन्छ,’ उहाँले भन्नुभयो, ‘पार्टी पद्धतिबाट योजना ल्याएर ७ नम्बर प्रदेशलाई समृद्ध बनाउने गरी काम गर्नुपर्छ ।’ पार्टीका नेता कार्यकर्ताले सिंहदरबारमा दिन बिताउनुभन्दा जनताको घरदैलोमा गएर काम गर्नुपर्ने पूर्वमन्त्री समेत रहनुभएका भट्टले सुझाव दिनुभयो । कार्यक्रममा बोल्नुहुँदै मञ्चका सल्लाहकार संयोजक गोकर्ण भट्टले मन्त्री बिना मगर ७ नम्बर प्रदेशका लागि खानेपानी मन्त्री मात्रै नभएर सबै मन्त्रालयको मन्त्री रहनुभएको बताउनुभयो । कार्यक्रममा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा कैलालीका व्यवसायी नासिर अलि बेग माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । मञ्चका अध्यक्ष हेमन्त जोशीले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा ७ नम्बर प्रदेशका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

एमालेसँग बराबरी हैसियत नभए वाइसीएलले एकता अस्वीकार गर्छ : महासचिव शेर्पाली

बुटवल, चैत्र २३ । नेकपा एमालेसँग हुने लागेको पार्टी एकता सम्मानजनक नभए नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलले अस्वीकार गर्ने भएको छ । बुटवलमा जारी वाइसीएल नेपालको ५ नम्बर प्रदेशको बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै शुक्रबार संगठनका महासचिव सुवोधराज शेर्पालीले ५०५० (बराबरी)मा एकता हुनुपर्ने पक्षमा वाइसीएल रहेको र त्यसैको लागि आफूहरु वैचारिक राजनीतिक रुपमा समेत बहस संघर्ष गर्दै लाग्नुपर्नेमा सबैलार्इ ध्यान दिन नेता कार्यकर्तालाई आह्वान गरे । वाइसीएल सधैं जनजिविका, राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको सवालमा लडदै आएको हुनाले राष्ट्रियताको एजेन्डामा कुनै पनि हालतमा अबिचलित भइ अघि बढ्न जिल्लाका पदाधिकारी भन्दा माथिका कार्यकर्तालाई निर्देशन महासचिव शेर्पालीले निर्देशन दिए । शेर्पालीले भने, ‘अब वाइसीएलको भूमिका बदलिएको छ हामी जनताको सुख दुखको साथी बनेर जनताको बिचमा जानुपर्ने कुरामा ध्यान केन्द्रीत गर्न जरूरी छ । वाइसीएल ५ नम्बर प्रदेशको कार्यक्रममा पूर्व वाइसीएल केन्द्रीय सचिव निर्मल जिसी, वाइसीएल प्रदेश फ्र्याक्सन इन्चार्ज रामप्रसाद बन्जाडे पार्टी केन्द्रीय सचिवालय सदस्य वामदेव क्षेत्रीले सम्बोधन गरेका छन् । कार्यक्रममा ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले युवाहरुको माझमा प्रशिक्षण दिए । त्यस्तै वाइसीएल फ्र्याक्सन इन्चार्ज तथा पार्टीको ५ नम्बर प्रदेश इन्चार्ज मणि थापाले प्रशिक्षण दिएको वाइसीएल नेपाल ५ नम्बर प्रदेश अध्यक्ष जितेन्द्र पुनले जानकारी दिए ।

खानेपानी मन्त्री बीना मगरको क्षेत्रमा पाठेघरको मुख र स्तन क्यान्सर जाँच शिविर

पुनर्वास, चैत्र १८ । खानेपानी मन्त्री बिना मगरले प्रतिनिधिसभा सदस्यमा निर्वाचन जित्नुभएको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका महिलाका लागि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबारे प्रारम्भिक जाच शिविर सुरु गरिएको छ । पुनर्वास नगरपालिका ३ कालिका बजारको श्री जनकल्याण माविमा आईतबार सुरु गरिएको शिविर १ नम्बर निर्वाचन क्षेत्रकै बेलौरी र बेल्डाडीमा समेत भोलि र पर्सि सञ्चालन गरिने छ । शिविर उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बिना मगरले क्यान्सरबाट आफ्नो क्षेत्रका महिलाले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर स्वास्थ्य अवस्थाबारे जान्न शिविर सञ्चालन गरिएको बताउनुभयो । ‘हामी स्थानीय चुनाव लगत्तै शिविर सञ्चालन गर्न चाहन्थ्यौ । तर, व्यवस्थापन नमिलेका कारण मिति सर्दै गयो,’ उहाँले भन्नुभयो, ‘एक पटक जाच गरे ५ वर्ष ढुक्क बस्न सकिन्छ । फेरि यस्ता स्वास्थ्य शिविर सञ्चालन गरिने छन् ।’ दुर्गम क्षेत्रमा आएर शिविर सञ्चालनमा सहयोग गरिरहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको टिमलाई मन्त्री मगरले धन्यवाद दिनुभयो । मन्त्री मगरको परिवारकै दिवङ्गत सदस्य प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा क्रान्तिकारी महिला सञ्जालले शिविर आयोजना गरेको हो । ‘क्यान्सरबाट ज्ञानु दिदीको निधन भएपछि हाम्रा प्रीय प्रकाश दाहालले यस्ता शिविर सञ्चालन गर्नुपर्छ भन्ने योजना बनाउनुभएको थियो’, मन्त्री मगरले भन्नुभयो, ‘उहाँको सपना पूरा गर्न र महिलालाई अकाल मृत्युको मुखबाट बचाउन यस्ता शिविर देशैभरी सञ्चालन गर्ने सोच छ ।’ शिविर सञ्चालन समितिकी संयोजक सरु दाहालले क्यान्सरको संक्रमण देखिएका महिलालाई निशुल्क औषधिको समेत व्यवस्था रहेको बताउनुभयो । ‘पोखरा र काठमाडौबाट औषधि संकलन गरेर ल्याएका छौ,’ उहाँले भन्नुभयो, ‘जटिल अवस्था भएका बिरामीलाई सेती अञ्चल अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि समन्वय गरिने छ ।’ शिविरमा एकै पटक ४ ठाउँमा जाचको व्यवस्था गरिएको र दैनिक ६/७ सय महिलाको जाँच गरिने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्नुहुदै क्यान्सर अस्पतालका निर्देशक डा विजय चन्द्र आचार्यले पाठेघरको मुख र स्तनको क्यान्सर हुनुअघि नै जाच गरेर सावधानी अपनाउन सके अकाल मृत्युबाट वचन सकिने बताउनुभयो । ‘अहिले कुनै समस्या नदेखिएपनि भोलि ज्यान जान सक्छ, त्यसैले समय(समयमा जाच गरेर सावधानी अपनाउनुपर्छ’ उहाँले भन्नुभयो । शिविर सञ्चालनमा अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटा, नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक वीरबहादुर थापाको समेत सहभागिता छ । पुनर्वास, बेलौरी नगरपालिका र बेल्डाडी गाउँपालिकामा हुने शिविरमा २ हजारभन्दा बढी महिलाले क्यान्सर जाच गर्ने अनुमान गरिएको छ । शिविरबाट लाभ लिन बिहानैदेखि महिलाहरु स्कुलमा जम्मा भएका छन् ।

थाइल्याण्डः बसमा भीषण आगलागी, २१ को मृत्यु, २६ घाइते

बैंकक, थाइल्याण्डको राजधानी बैंकक नजिकै पश्चिमी थाइल्याण्ड राजमार्गमा एउटा बसमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ । घटनामा २६ जना घाइते बनेका छन् । बैंकक पोष्टका अनुसार, म्यान्मार बर्माका मजदूरहरु चढेको बसमा अकस्मात आगो लागेको थियो । आगो के कारणले लागेको थियो भन्ने कुरा खुल्न सकेको छैन । स्थानीय प्रहरीका अनुसार, ताक प्रान्तको तास्किन महारत नेशनल पार्कको राजमार्गमा बसमा आगो लगेको थियो । बस चालकले नशामा रहेको प्रहरीको दावी छ । म्यानमारबाट मजदूर लिएर आइरहेको बस सीमा पार गरेर थाइल्याण्डमा पुग्ने बित्तिकै अकस्मात बसमा आगो लागेको थियो । शुक्रबार दिउँसो डेढ बजे भएको दुर्घटनामा बसबाट यात्रुहरु बाहिर निस्किन नपाउँदै आगोले बस लपक्कै निलेको थियो ।

‘धारामा पानी कुर्दा कुर्दा दिन बित्छ’

भक्तपुर । भक्तपुर नगरपालिकाभित्र खानेपानीको चरम अभाव भएको छ । सुख्खायामको शुरुआतसँगै उत्पादनमा कमी आएपछि काठमाडौँं उपत्यका खानेपानी लिमिटेडले हप्तामा एक दिन मात्र पानी वितरण गर्न थालेपछि नगरभित्र खानेपानीको अभाव चुलिँदै गएको छ । “एघार दिन भइसक्यो धारामा पानी आएको छैन । इनारमा पनि पानी छैन । कति किनेर खानु ?,” बिहीबार पानी आउने आशमा रित्ता गाग्री लिएर धारा कुरेर बसेकी भक्तपुर नगरपालिका–६ का रामकेशरी सुवालले भनिन्, “आज पानी आउँछ रे, त्यही भएर धारा कुरेर बसेको ।” चुनावताका मत माग्न आउँदा सबै समस्याको समाधान गर्ने वाचा गर्ने जनप्रतिनिधिले दैनिक अत्यावश्यक खानेपानीको व्यवस्था गर्न चासो नदिएको गुनासो उहाँले गर्नुभयो । भक्तपुर नगरपालिका–१० का कृष्णेश्वरी अवालले पनि धारामा पानी आउँछ कि भनी कुर्दा कुर्दा दिनै बित्ने गरेको दुःखेसो पोखिन् । ‘धारामा पानी आउने ठेगान छैन । आज आउँछ, भोलि आउँछ भन्दाभन्दै दुई हप्ता नाघिसक्यो, खै के गर्नू ? पानीको समस्याले अरु काम नै लथालिङ्ग भइसक्यो ।” उहाँले भन्नुभयो । सुख्खा मौसमका कारण सार्वजनिक इनारमा समेत पानी सुकेरसमस्या बढ्न थालेपछि टोलका दुई तीन घर मिलेर ट्यांकरको पानी किनी दैनिक गुजारा चलाउनुपरेको उनले बताइन् । बढ्दो सुख्खायामसँगै नगरपालिकाका अधिकाशं क्षेत्रमा पानीको हाहाकार मच्चिएको छ । भएका मुहान सुक्दै गएकाले सार्वजनिक ढुंगेधारा, इनार र पोखरीमा समेत पानी सुक्दै गएको छ । हप्ता दिन बिराएर धारामा पानी आए पनि ढल मिसिएर आउने समस्याले नगरवासी थप समस्यामा परेका छन् । केही सातायता नगरका इताछें, वंशगोपाल, बाराहीस्थान, व्यासीलगायत ठाउँमा धारामा ढल मिसिएको पानी आउने गरेको स्थानीयवासीले बताएका छन् । “धारामा पानी आउँदा कहिले कालो लेदो त कहिले साबुनको फीँज जस्तो पानी आउँछ ।” ब्याँसीकी कान्छी कोजुले भनिन्, “करीब आधा घण्टापछि भने सफा पानी आउँछ तर सफा पानी आएको एकछिनपछि धारा सुक्छ ।” खानेपानी लि भक्तपुरका धारा निरीक्षक दामोदर गिरीले सुख्खायामका कारण भक्तपुरका भित्री क्षेत्रमा पानीमा ढल मिसिएर आउने समस्या देखापर्ने गरेको स्वीकार गरे । नगरका पुराना र जीर्ण पाइप लाइनका कारण ढल मिसिने समस्या देखापर्ने गरेको उनको भनाइ छ । निरीक्षक गिरीले भक्तपुर नगरभित्र जर्मनेली परियोजनाअन्तर्गत ढल विस्तार गर्ने क्रममा खानेपानीका पाइपसँगै ढलका पाइप विस्तार गरेका कारण अहिले समस्या देखा परेको बताए । उनले भने, “ढलका मंगालमै खानेपानीका पाइप छन्, त्यसैले सुख्खा याममा पानीमा ढल मिसिने समस्या देखापरेको छ ।” खानेपानी लिले भक्तपुर नगरलाई दुई भागमा विभाजन गरेर बोडे र मुहानपोखरी स्रोतकेन्द्र नगरकोटको पानी वितरण गर्दै आइरहेको प्रमुख सुरेन्द्र हिमालयले बताए । “नगरको टौमढीदेखि पश्चिम भेगमा बोडेको पानी पाँच दिन बिराएर र पूर्वी भागमा मुहान पोखरीको तीन दिन बिराएर वितरण गर्दै आइरहेका छौंँ, उनले भने,” ‘हाल भक्तपुरमा दैनिक ८० लाख लिटर पानीको माग रहेको छ तर खानेपानी लिमिटेडले ४०÷५० लाख लिटर मात्र पानी वितरण गर्दै आएको छ ।” बढ्दो पानीको समस्या निराकरणका लागि भक्तपुरमा दुई डिप ट्युववेल खनिए पनि पानीमा माटाको मात्रा बढी भएका कारण वितरण गर्न नसकिएको उनको भनाइ छ । उनले मेलम्चीको पानीका लागि पहल भइरहेको जानकारी दिँदै त्यसभन्दा अघि ट्युववेलको पानी प्रशोधन गरी वितरण गर्ने योजना रहेको बताए । रासस

दुई सैनिक पोखरीमा मृत फेला

इटहरी, १३ चैत (रासस) ः नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत कार्यरत रहेका दुई नेपाली सैनिकको मृत्यु भएको अवस्थामा शव परीक्षणका लागि ल्याइएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीभित्र रहेको पोखरीमा दुई व्यक्ति डुबेर मृत अवस्थामा देखिएपछि स्थानीयवासीले हल्ला गरेपछि ती दुवै डुबेका व्यक्तिको शव पोखरीबाट निकालेर बिपी प्रतिष्ठान पु¥याइएको बताइएको छ । मुत्यु हुनेमा अन्दाजी ३० वर्षका दोलखबहादुर चन्द र अर्का सोही उमेरका भरत विक रहेको खुले पनि आधिकारिक रुपमा पृतना मुख्यालयले भने यसको जानकारी दिएको छैन । मृतक दुवैको शव सोमबार राति नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको भने प्रतिष्ठानले खुलासा गरेको छ । नेपाली सेनामा कार्यरत ती दुवै व्यक्तिको के कस्तो कारणले ज्यान गएको हो भन्ने विषयमा आधिकारिक रुपमा जवाफ प्राप्त हुन सकेको छैन । साथै ती दुवै मृतक कहाँका हुन् भन्ने कुरा पनि बाहिर आउन सकेको छैन ।

छनोट चरणको अन्तिम खेलमा आज नेपाल र यमन भिडदै

काठमाडौं, चैत १३ । एएफसी एसियन कप फुटबल छनोट चरणको अन्तिम खेलमा मंगलबार (आज) नेपालले यमनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ बजे तटस्थ मैदान कतारको दोहास्थित सुहिम बिन हमाद रंगशालामा हुनेछ । यमनमा आन्तरिक हिंसा जारी रहेकाले उसको मैदानमा हुनुपर्ने सबै खेलहरु तटस्थ मैदानमा आयोजना गरिँद आएको छ । समूह ‘एफ’अन्तर्गत्को यो खेल नेपालको लागि औपचारिकतामात्रै हुनेछ । एसियन कपका लागि छनोट हुने सम्भावना सकिएकाले यो खेल नेपालका लागि प्रतिष्ठाको लडाइँमात्रै बनेको छ । नेपाल समूहमा आफ्नो पहिलो जितको पर्खाइमा रहेको छ । अर्कोतर्फ नेपाललाई पराजित गर्दै यमन एएफसी एसियन कपमा आफ्नो स्थान सुनिश्चित गर्न चाहन्छ । नेपालले समूहको पहिलो खेलमा फिलिपिन्ससँग ४–१ को हार व्यहोरेको थियो । दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको नेपाल तेस्रो खेलमा ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो । चौथो खेलमा फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको नेपाल पाँचौं खेलमा भने ताजिकिस्तानसँग ३–० ले स्तब्ध भएको थियो । नेपालकै समूहमा रहेको फिलिपिन्स ९ अंकका साथ शीर्ष स्थानमा छ भने यमन ७ अंकसहित दोस्रो तथा समान ७ अंक जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । दुई अंकमात्र जोडेको नेपाल अंकतालिकाको पुछारमा छ ।