चाैधरीलाई शपथकाे निर्णयविरुद्ध सर्वोच्चमा रीट दायर गरिने

काठमाडौं। टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदाले पनि अभियुक्त चौधरीको मुद्दा अदालतले किनारा नलगाएकै अवस्थामा शपथ गराइएकोमा अापत्ति व्यक्त गरेकी छिन ।

नागरिक दैनिकका अनुसार, शपथ गराउने निर्णयविरुद्ध उनले सर्वोच्वमा रिट दायर गर्ने पनि बताइन्। ‘अदालतको मुद्दा किनारा नलाग्दै शपथ गराइनुले हामी पीडितमाथि झन् अन्याय भएको छ’, उनले भनिन्, ‘भोलि नै सर्वोच्वमा रिट हाल्छौं।’ अदालतमा मुद्दा विचाराधीन रहेकाले अहिले नै अन्तर्राष्ट्रिय अदालत जान सक्ने अवस्था नरहेको उनको भनाइ छ। ‘न्यायका लागि अन्तिमसम्म देशभित्रै लडिरहन्छौं’, उनले भनिन्, ‘केही नलागे अन्तर्राष्ट्रिय अदालतमा पनि जान्छौं।’

कैलाली र कञ्चनपुरसहितको थरुहट राज्य हुुनुपर्ने माग राखेर आन्दोलन गरिरहेका थरुहट पक्षधर प्रदर्शनकारीले २०७२ भदौ ७ गते टीकापुर नगर प्रवेश गर्ने क्रममा पशु हाटबजार नजिक प्रहरीमाथि आक्रमण गर्दा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी मारिएका थिए। त्यस्तै आँगनमा खेलिरहेका डेढ वर्षीय टेकबहादुर पनि मारिएका थिए।

घटनाको दिनदेखि प्रहरीको फरार सूचीमा रहेका चौधरी अघिल्लो वर्षको मंसिरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका थिए। चुनाव जितेको दुई महिनापछि उनी फागुन १४ गते कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए। त्यसै दिन न्यायाधीश पर्शुराम भट्टराईको इजलासले उनलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको थियो

३४८ थान बन्चरोसहित तीन भारतीय नागरिक पक्राउ

राजविराज, पुस १६ । सप्तरीको बोदेबर्साइन नगरपालिका–९, श्वर्णपट्टीबाट बरामद गरिएका बन्चरासहित तीन भारतीय नागरिकलाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । प्रहरीचौकी देउरीबाट खटिएको गस्ती टोलीले भारतबाट भन्सार छली नेपालतर्फ बोरामा बोकी ल्याउँदै गरेका ३४८ थान बन्चरोसहित तीन भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । पक्राउ परेका मानिससहित बन्चरा तिलाठीस्थित भन्सार कार्यालय कुनौलीमा बुझाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको नाम भने खुलाइएको छैन । बरामद गरिएका बन्चरा अन्दाजी रु एक लाख ३९ हजार मूल्य बराबर रहेको बताइएको छ । रासस

गाली गरेको बदला लिन बाउ-छाेरा मिलेर हत्या

पोखरा,  । कास्की प्रहरीले पर्वतका ७३ वर्षीय दिलबहादुर सार्कीको हत्यामा संलग्न कास्कीका तीनजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका क्ल्युका ३१ वर्षीय बुद्धिमान सार्की, उनका ६० वर्षीय बाबु निमबहादुर सार्की र ७२ वर्षीय माइलोबाबु लालसिं सार्कीलाई सार्वजनिक गरिएको हो । गएको पुस ८ गते साँझ तीनजना मिलेर दिलबहादुरको हत्या गरेको उनीहरुले स्वीकार गरेको प्रहरीले जनाएको छ । गाली गरेको बदला लिन हत्या गरेको उनीहरुले बताएको प्रहरीको भनाइ छ । एक साताअघि अन्नपूर्ण गाउँपालिका–१०, खुम्ब्रुखुस्थित मोदीखोलामा एक शव भेटिएको थियो । मृत शरीरभरि चोटैचोट थियो । प्रहरीले अनुसन्धानकाक्रममा उक्त शव पर्वतको मोदी गाउँपालिका–२, देउपुर स्थायी घर भएका ७३ वर्षीय दिलबहादुर सार्कीको रहेको पत्ता लगायो । त्यसपछि प्रहरीले तीन अभियुक्तहरुलाई पक्राउ गरेको हो ।

यसरी पाईलैपिच्छे घुस लिइन्छ गुणस्तर तथा नापतौल विभागमा

काठमाडौं माछापोखरीस्थित नेपाल गुणस्तर तथा नापतौल विभाग पस्ने वित्तिकै देखिन्छ आकर्षक नारा । लेखिएको छ– गुणस्तरीयता, सन्तुष्टि, सुरक्षा र विश्वसनीयता । तर, विभागका कर्मचारीले मापन गरेवापत खुलमखुला घुस लिने गरेका छन् । याे समाचार अाजकाे अन्नपुर्ण दैनिकबाट लिईएकाे हाे । आइतबार विहान ११ :२० बजे ट्याक्सीको मिटरमा सिल लगाइदिने कर्मचारीले चालकसँग घुस मागे । सरकारी पोषक लगाएका ती कर्मचारीले भने, ‘चिया खर्च दिनुस् ।’ चालक अनकनाए । कमाइ नभएको भन्दै गुनासो गरे । तर ती कर्मचारीले चालकलाई छाड्दै छाडेनन् । चालकले ५० रुपैयाँ थमाएपछि बल्ल छाडे । ती चालक विभागभित्र काम सकाएर गेटतर्फ मोडिए । गेट नजिकै पुगे तर गेट खोलिएन । गेटमा बस्ने कर्मचारी उनको नजिक आए । अनि हाकाकाकी भने, ‘चिया खर्च दिनुस् पहिला ।’ चालकले पहिल्यै ५० रुपैयाँ बुझाइसकेको बताए । विहानैदेखि एकसुको कमाइ नभएको भन्दै गुनासो गरे । तर गेट खुल्दै खुलेन । कर्मचारी भन्दै थिए, ‘हामीलाई पनि हेर्नुपर्यो नि ।’ गेट खुलेन । चालकले एकसयको नोट निकालेर कर्मचारीको हातमा थमाइदिए । बल्ल गेट खुल्यो । ‘मनपरी हुन्छ यहाँ । पाइलैबिच्चै घुस खुवाउँनुपर्छ ।’ चालक रिसाउँदै गोंगबुतर्फ लागे । मिटर चेक गर्ने ठाउँ नजिकै कसैलाई जान दिइदैन । नजिकै गयो भने झपारेर पठाइन्छ । भित्तामा सुचना टाँसिएको छ, ‘ट्याक्सीमा एकजना मात्रै चढ्नु होला ।’ मिटर जाँच गरिसकेपछि मास्क लगाएका ती कर्मचारीले भन्छन्, ‘यसो बिचार गर्नुस है ।’ एकजना ट्याक्सी चालकले भने ‘मिटर चेक गर्ने ठाउँमा हावा कम छ भनेर ५० रुपैया माग्यो । मैले दिएँ ।’ उनी रिसाउँदै बाहिरिए । जता गयो उतै माग्छन् दिउँसो ११ :१५ देखि १२ :१५ सम्म विभागमा जम्मा २५ वटा ट्याक्सी भित्रिए । यही अवधिमा २० ट्याक्सी गेटबाट बाहिरिए । बाहिरिने मध्ये १७ वटाले आफ्नो काम बनेको बताए । तीमध्ये १२ वटा ट्याक्सी चालकले गेटका कर्मचारीलाई १० रुपैयाँदेखि १ सय रुपैयाँसम्म घुस दिएर गए । कर्मचारीले सिधै घुस मागे पनि ५ ट्याक्सी चालकले भने दिएनन् । कोही बिहानदेखि कमाइ नभएको भन्दै झर्किँदै गए । कोही ‘सरकारले दिन्छ । हामीसँग किन माग्या ? ’ भन्दै थर्काएर गए । गेटमा बस्ने कर्मचारीको घुस माग्ने तरिका अचम्मको थियो । ट्याक्सी हुँइकिएर गेटमा आइपुग्थ्यो । कर्मचारी गेटको एउटा ढोका बन्द राखेर ट्याक्सीलाई रोक्थे । जबसम्म ती कर्मचारीलाई चालकले पैसा थमाइदिँदैन थिए, तबसम्म गेट बन्द हुन्थ्यो । रुपैयाँ हात परेपछि ढोका खुल्थ्यो । ट्याक्सी चालक जगत श्रेष्ठले ती कर्मचारीलाई २० रुपैयाँ थमाएर बाहिरिए । उनी भन्दै थिए, ‘गेटमा बस्ने, मिटर जाँच्ने, सिल मार्ने जहाँसुकै बस्नेले सिधै घुस माग्छ ।’ अढाइ दशकदेखि टेम्पो र ट्याक्सी चलाउँदै आएका श्रेष्ठले विभाग कहिल्यै नसुध्रिएको बताए । उनले भने, ‘यहाँ आउँदा प्रत्येक पटक पैसा दिएको छु । कहिल्यै सुध्रिएन यो कार्यालय ।’ प्रविन थपलिया ट्याक्सीको मिटर जाँच्न विभाग पुगे । उनलाई विभागको अवस्थाबारे पूर्वजानकारी थियो । उनले विहानै खुद्रा पैसा स्टेरिङ छेउको सानो डिकीमा हाले । अपशोष ! मिटर रिड नगरेका कारण उनको काम बनेन । उनले भने, ‘आज पैसा चढाउनु परेन । अब अर्को पटक आउँदा चढाउनुपर्छ ।’ -अन्नपुर्ण पाेष्टबाट   विभागका महानिर्देशक विश्ववावु पुडासैनीले घुस माग्ने कर्मचारीलाई तुरुन्तै बोलाएर स्पष्टिकरण लिइने बताए । उनले भने, ‘अहिले तुरुन्तै बोलाएर स्पष्टिकरण लिन्छु । कार्यालयमा यस्तो काम गर्न छुट छैन । पहिला पनि कारबाही गरिसकेका छौं ।’

बिराेधका बीच १५ हजारले भरे समायाेजन फारम

काठमाडौँ — निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र अन्य संगठनले आफ्ना सम्पूर्ण माग पूरा नभएको भन्दै कर्मचारी अध्यादेशको विरोध गरिरहे पनि सोमबारसम्म देशभरबाट १४ हजार ८ सय ४० जनाले समायोजनमा जान फाराम भरेका छन् । याे समाचार अाजकाे कान्तिपुर दैनिकमा प्रकाशित छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले संघ, प्रदेश र स्थानीय तहका निजामती कर्मचारीले फारम भरिरहेकाले समायोजनको माहोल बन्दै गएको बताए । सरकारले गत बुधबार समायोजनमा जान २१ दिने सूचना जारी गरेको थियो । कर्मचारी समायोजनसम्बन्धी अध्यादेशमा समायोजन भएको २१ दिनभित्र खटाएको स्थानमा हाजिर नहुनेलाई स्पष्टीकरणको अवसर दिएर बर्खास्त गर्न सक्ने व्यवस्था छ । अध्यादेशले निजामती कर्मचारीको वृत्ति विकास रोकेको भन्दै ट्रेड युनियनहरूले सच्याउन दबाब दिएपछि सरकारले संघीय निजामती सेवा ऐनमार्फत् वृत्ति विकास खुला गर्ने आश्वासन दिएको छ । ट्रेड युनियनका पदाधिकारीले प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारीको संघसम्मै सरुवा र बढुवा खुला गर्ने व्यवस्था लिखित रूपमै हुनुपर्ने माग राखेका छन् । आइतबार सामान्य प्रशासन मन्त्रालयसहितको टोली र ट्रेड युनियनका पदाधिकारीबीच वार्ता भएको थियो । मंगलबार निर्णायक वार्ता गरी कर्मचारीले उठाएका माग सम्बोधन गरिने प्रवक्ता अधिकारीले बताए । सोमबार निजामती कर्मचारीले अध्यादेशको विरोधस्वरूप सिंहदरबारभित्रै कालोपट्टी बाँधेर काम गरेका थिए । ‘प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी पनि संघमा सरुवा भई माथिल्लो तह (मुख्य सचिव) सम्म पुग्न खुला गर्नुपर्छ भन्ने उहाँहरूको मागलाई ऐनमा सम्बोधन गरेर गाँठो फुकाइनेछ,’ प्रवक्ता अधिकारीले कान्तिपुरसँग भने, ‘सम्भवत: आज (मंगलबार) यसमा सहमति भएपछि समायोजनका लागि बाटो खुला हुनेछ ।’ संघीय निजामती ऐनको मस्यौदा मन्त्रिपरिषदबाट सामान्य प्रशासन मन्त्रालयमा फिर्ता भएको छ । त्यही मस्यौदामा समायोजन भएर प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारीलाई संघको माथिल्लो तहसम्म बढुवा हुन सक्ने व्यवस्था गर्न लागिएको हो । मन्त्रालयले अनलाइनमार्फत कर्मचारीले समायोजन आवेदन भर्न सक्ने व्यवस्था मिलाएको छ । त्यस अलावा ७७ वटै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा समेत समायोजन फाराम भर्न सहयोग पुर्‍याउन ‘सहयोगी डेस्क’ राखिएको छ । मन्त्रालयले १ लाख ३८ हजार १ सय ७८ कर्मचारीलाई समायोजनका लागि आवेदन खुला गरेको हो । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका लागि सरकारले मंसिर २३ मा कर्मचारी समायोजन अध्यादेश ल्याएको थियो । संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ । अध्यादेशको विरोध निजामती कर्मचारीहरूले सरकारद्वारा जारी समायोजन अध्यादेश विभेदकारी रहेको दाबी गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । अध्यादेश खारेज गर्न उनीहरूको माग छ । विभेदपूर्ण तरिकाले सरकारले जबर्जस्ती समायोजनमा पठाउन लागेको भन्दै निजामती कर्मचारी आन्दोलित भइरहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेसनिकट निजामती कर्मचारी युनियनको अगुवाइमा प्रदर्शन भएको हो । अध्यादेशमा एउटै प्रक्रियाबाट भर्ना भएका कर्मचारी कोही मुख्यसचिवसम्म हुन पाउनेछन् भने कोही बढीमा प्रदेश सहससचिव भएर अवकाश हुने विभेदपूर्ण व्यवस्था गरिएको दाबी युनियनको छ । युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले अध्यादेशका कतिपय व्यवस्था विभेदकारी रहेकाले त्यसलाई खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रनुपरेको बताए । ‘सरकारले सरोकारवालासित छलफल नगरी लोकसेवा आयोगको सुझावसमेत बेवास्ता गर्दै एकलौटी रूपमा अध्यादेश ल्याएको अध्यादेश हो । यसले कर्मचारीको वृत्ति विकास रोक्ने हुनाले हामी मान्दैनौं,’ अध्यक्ष पोखरेलले भने । उनले अध्यादेशले कर्मचारीलाई संविधानले दिएको अधिकारसमेत कटौती गरेको बताए ।

नेपालमैं नाैलाे: रेडियो सन्देशले बैंककमा विशेष सांस्कृतिक कार्यक्रम गर्दै

हेटौँडा/सामुदायिक सञ्चार समुहद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्जले आफ्नो शुभारम्भको बिषेश कार्यक्रम तथा निकास साप्ताहिकको १५ औँ वार्षिकोत्सव थाईल्याण्डको बैंककमा गर्ने भएको छ । आज हेटौँडाको न्युज क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा रेडियो सन्देशका अध्यक्ष एवम् निकास साप्ताहिकका प्रकाशक सुनिल खड्काले रेडियो सन्देशले घोषणा गरेको बम्पर अफर अन्र्तगत बिज्ञापनदाताहरुलाई ५ दिन निःशुल्क थाईल्याण्ड भ्रमण गराउने पनि बताउनुभयो । रेडियो सन्देशमा बिज्ञापन दिने बिज्ञापनदाताहरुलाई २०७६ बैंसाखमा निशुल्क बिदेश भ्रमण गराउने भनेर रेडियोले यस अघि नैं घोषणा गरेको थियो । तर बिज्ञापनदाताहरुको संङ्ख्या धेरैं भएको कारण २ महिना अघि नैं बिदेश भ्रमण कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । यही फागुन २३ गतेदेखी २७ गतेसम्म हुने थाईल्याण्ड भ्रमणका क्रममा रेडियो सन्देश र निकास साप्ताहिकको बिषेश कार्यक्रम पनि हुने अध्यक्ष खड्काले बताउनुभयो । थाईल्याण्डमा हुने विशेष कार्यक्रममा रामचन्द्र स्मृति सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार समेत दिईने जानकारी दिईएको छ । खड्काले आफ्ना स्वर्गिय पिताको नाउँमा १४ बर्षअघि स्थापना गरेको “रामचन्द्र स्मृति सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार” र वर्ष ब्यक्ति सम्मान समेत विषेश कार्यक्रमकै अवसरमा प्रदान गरिने खड्काले बताउनुभयो । कार्यक्रममा रेडियोले शुभारम्भको अवसरमा विज्ञापन दाताको लागि शुरु गरेको निशुल्क विदेश भ्रमणको योजना अन्र्तगत करिब ३ दर्जन विज्ञापनदातालाई समेत निशुल्क थाईल्याण्ड भ्रमणको अवसर प्रदान गर्न लागेको समेत उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सहभागि हुन मकवानपुरे पत्रकार सहित ६० जनाको हारहारीमा फागुन २३ गते प्रस्थान गर्ने समेत आयोजकको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ तीन नंबर प्रदेशका अध्यक्ष प्रताप विष्टले सञ्चार क्षेत्रले विदेशमा गएर कार्यक्रमहरु गर्नु सुखद पक्ष भएको बताए । पत्रकार सम्मेलनमा पत्रकार महासंघ प्रदेश नंबर ३ का महासचिव कृष्ण सारुमगर, मकवानपुर अध्यक्ष हरि हुमागाई लगाएतको आतिथ्यता रहेको थियो । असोज १ गतेदेखी प्रशारणमा आएको रेडियोले बिशेषगरी बिज्ञापनदाताहरुलाई लक्षित गरेर बम्पर अफर ल्याएको थियो । १ बर्षसम्म नियमित रेडियोमा बिज्ञापन प्रशारण गर्ने बिज्ञापनदातालाई बिदेश भ्रमणमा लैंजाने रेडियोले आज उद्घोष गरेको छ । बार्षिक रुपमा नियमित बिज्ञापन दिने बिज्ञापनदाताहरुको व्यवसाय प्रवद्र्वन संगैं वैंदेशिक भ्रमणको पनि प्याकेज ल्याईएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । बिगत १५ बर्षदेखी मकवानपुर जिल्लाबाट नियमित प्रकाशित हुँदैं आएको निकास साप्ताहिक र रेडियो सन्देशको सयुक्त आयोजनामा बिदेशमा नैं बिषेश सास्कृतिक कार्यक्रम पनि हुने खड्काले बताउनुभयो । सुचना तथा सञ्चार मन्त्रालयमा ९५०/०७३/०७४ दर्ता भएको रेडियो सन्देश असोज १ गतेदेखी www.radiosandesh.com अनलाईन मार्फत प्रशारणमा आएको थियो । ३ नम्बर प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार (बुद्ध चोक) बाट रेडियो प्रशारणको आरम्भ भएको छ । रेडियो सन्देशले फरक प्रस्तुति र एउटा नयाँ सोचको साथ समुदायको आवाज समेट्ने प्रयास गर्ने सामुदायिक सञ्चार समुह (रेडियो सन्देश १०६.९ मेगाहर्ज) का अध्यक्ष खड्काले जानकारी दिनुभयो । रेडियो दैंनिक बिहान ५ बजेदेखी राती ११ बजेसम्म १८ घण्टा प्रशारण हुने बताइएको छ ।

वाइडबडीमा भ्रष्टाचार भएको ठहर, संलग्न पदाधिकारीसहित मन्त्री परिषदलाई कारवाहीकाे सिफारिस

काठमाडौं : संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर गरेको छ। उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने पदाधिकारीलाई निलम्बन गरी कारवाही गर्न सिफारिससमेत गरेको छ। विमानबारे अध्ययन गर्न गठित प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडीमा ‘गम्भीर त्रुटी’ औंल्याउँदै आइतबार प्रतिवेदन तयार गरेको हो। कांग्रेस सांसद राजन केसी संयोजकत्वको ‘खरिद प्रक्रियामा गम्भीर त्रुटी औंल्याएको अनुसन्धानबाट भ्रष्टाचार भएको र निगमलाई ठूलो आर्थिक क्षति पुर्‍याएको उपसमितिले ठहर्‍याएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘जनताको स्वामित्व भएको सार्वजनिक संस्था भएकाले सरोकार राख्ने सबैसमक्ष विमान खरिद प्रक्रिया सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न, भ्रष्टाचार गरी निगमलाई आर्थिक हानी नोक्सानी पुर्‍याउनेउपर थप छानबिन गरी कारवाही गर्न सिफारिस गरिन्छ।’ तोकिएको १५ दिनमै उपसमितिले प्रतिवेदन तयार पारेको हो। विमानको ‘एमओयू’ मा खरिद–बिक्री सम्झौता गर्दा विमानको प्रस्तावित अधिकतम ‘टेक अफ’ भार क्षमताभन्दा प्रतिविमान १२ मेट्रिक टन कम भएकाले निगमलाई कुल १ अर्ब ३ करोड ३३ लाख रुपैयाँ क्षति पुगेको उपसमितिको ठहर छ। यो क्षति असुलउपर गर्न पनि निर्देशन दिएको छ। ‘बहाल रहेका तत्कालीन पदाधिकारी निलम्बन गरी अख्तियार दुरूपयोग गरेकोमा थप अनुसन्धान गर्न निर्देशन दिने’ पनि प्रतिवेदनमा उल्लेख छ। ‘वाइडबडीमा मिडियामा आएकै जस्तो भ्रष्टाचार भएको उपसमितिले ठहर गर्‍यो’, उपसमिति संयोजक केसीले भने, ‘समितिलाई मंगलबार प्रतिवेदन बुझाउँछौं।’ नयाँ विमान खरिद नगरी पुरानो विमानको प्रक्रिया अघि बढाएर ऋण तथा जमानत माग गर्ने निगम सञ्चालक समिति, सिफारिस गर्ने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयका पदाधिकारी तथा तत्कालीन मन्त्रिपरिषद् दोषी देखिएको ठहर गर्दै उपसमितिले त्यसमा संलग्न सबैलाई कारवाही गर्न निर्देशन दिएको छ याे खबर अाजकाे अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।

खुलासा: अवैध याैन सम्बन्ध थाहा पाएपछि बार्गेनिङ गर्न खाेज्दा भयाे हत्या

महोत्तरी : जिल्लाको औरही नगरपालिकामा हालै घटेको एक घटनामा एकजनाको ज्यान गएको छ भने उनको हत्यामा संलग्न ५ जना पक्राउ परेका छन्। अरु दुईजनालाई प्रहरीले खोजिरहेको छ।   याे खबर अाजकाे अन्नपूर्ण पाेष्टमा प्रकाशित छ । महोत्तरीको औरही नगरपालिका—२ का सुशील सहनी र जितनी देवी महतोबीच शारीरिक सम्बन्ध थियो। मंसिर २४ गते उनीहरूबीचको यौन सम्बन्ध स्थानीय ४० वर्षीय बेचु महतोको नजरमा पर्‍यो। आआफ्ना घरपरिवारबाट लुकिछिपी अनैतिक यौन सम्बन्धमा रहेका उनीहरूसँग बेचुले बार्गेनिङ थाले। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्का अनुसार बेचुले जितनी देवीसँग बार्गेनिङ सुरु गरे। आफूसँग यौन सम्पर्क राख्न बेचुले जितनीमाथि दवाब बढाउन थाले। प्रस्ताव नस्वीकारे गाउँलेलाई भनिदिने भन्दै बेचुले ती महिलालाई धम्की दिन पनि भ्याए। आफूहरूको क्रियाकलाप बेचुले देखेको र उनले राखेको यौन प्रस्तावबारे जितनीले आफ्ना प्रेमी सुशीललाई सुनाइन्। सुशीलले बेचुलाई उखुबारीमा बोलाएर हत्या गर्ने योजना बुने। उनको हत्या गर्न आफ्नै साथीहरूलाई परिचालन गर्ने चाँजोपाँजो मिलाए। यता जितनीले सुशील र आफ्नो बीचको अनैतिक सम्बन्ध नखुलाउने सर्तमा बेचुको यौन प्रस्ताव स्वीकारेको नाटक गरिन्। फोन गरेर गएको मंसिर २५ गते राती १० बजे जितनीले गाउँ नजिकैको उखुबारीमा उनलाई बोलाए। बेचु आउने बाटो ढुकेर जितनीका प्रेमी सुशीलले आफ्ना साथीसहित कुरेर बसे। र, जितनीसँग यौनतृष्णा मेटाउन गएका उनी सुशील र जितनीले बुनेको जालमा फसे। जितनी, सुशील र उनका सहपाठीले बेचुको घाँटी गम्छाले कसेर हत्या गरेको प्रहरीले जनाएको छ। उनको शव उखुबारीमै फालेर प्रेमी—प्रेमिका र उनीहरूका साथीहरू फरार भए। घटना स्थलभन्दा २० मिटरपर भेटिएको मास्क र टोपीबाट इलाका प्रहरी कार्यालय गौशालाले अनुसन्धान थाल्यो। इप्रका गौशालाका इन्स्पेक्टर किशोर आचार्यले बेचुले जितनीलाई बार्गेनिङ गरेर यौन प्रस्ताव राखेको कुरा गाउँमा गाइगुईं हल्ला चल्यो। त्यसपछि प्रहरीले जितनीलाई घटना घटेको दिनै पक्राउ गर्‍यो। जितनीलाई प्रहरीले केरकार गरेपछि उनले बेचुको हत्याबारे खुलाइन्। त्यसपछि उनका प्रेमी सुशीललाई प्रहरीले गत मंसिर २६ गते नियन्त्रणमा लियो। प्रहरीको अनुसन्धानले आफूहरूको सम्बन्ध खुल्ने डरले जितनी र सुशीलले एक समूह बनाएर बेचुको हत्या गरेको खुलेको छ। बेचुको हत्यामा संलग्न भएको आरोपमा प्रेमी प्रेमिका सहित उनीहरूका सहपाठीहरू चेकपटका २२ वर्षीय अनिल कुमार ठाकुर, २४ वर्षीय बौका भनिने मंजित सादा र २४ वर्षीय सुनिल सादालाई प्रहरीले पक्राउ परेको छ। घटनामा संलग्न दुईजना अझै फरार छन्। पक्राउ पर्नेहरूमाथि कर्तव्य ज्यान शीर्षकमा मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको छ। जितनी देवीका श्रीमान् काठमाडौंमा मजदुरी गर्दै आएका छन्। उनका पाँच वर्षका छोरा छन्। जितनी ६ महिनाको गर्भवती छन्। सुशील पनि विवाहित हुन्। उनको पनि सन्तान छन्। सुशील र जितनीबीच ५—६ महिनादेखि यौन सम्बन्ध रहेको प्रहरीले जनाएको छ। घटना पश्चात प्रहरीले विशेष टोली गठन गरी अनुसन्धान सुरु गरेको थियो। घटनाको प्रकृति र स्थानीय तथा सरोकारवालाहरूसँग घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा जितनी देवीबारे केही कुरा बाहिरिएपछि प्रहरी उनीमाथी केन्द्रित भएको थियो

गुराँस इन्सुरेन्सले गर्यो बीमा दाबीको भुक्तानी

भद्रपुर, पुस १५ । गुराँस लाइफ इन्सुरेन्स कम्पनी क्षेत्रीय कार्यालयले बीमित झापा भद्रपुर–८ निवासी स्व किस्मत प्रधानको घरमै गएर आइतबार उनका परिवारलाई बीमाबापतको रकम रु २० लाख ४९ हजार हस्तान्तरण गरेको छ । किस्मतले गत असारमा अभिकर्ता कमला राईमार्फत इलाममा रु १० लाखको जीवन बीमा र रु १० लाखको दुर्घटना बीमा गरेका थिए । गत कात्तिक २६ गते मोटरसाइकल दुर्घटनामा उनको निधन भएकाले पाउने बीमाबापतको रकम र बोनस रकम कम्पनीले परिवारलार्ई प्रदान गरेको हो । कम्पनीका क्षेत्रीय प्रबन्धक गिरधर श्रेष्ठलगायत कर्मचारीको टोली घरमै पुगेर पिता कृष्ण प्रधानलाई बीमा दाबी रकमको चेक हस्तान्तरण गरेका थिए । उक्त कम्पनीले चालू आवको साउनयता रु एक करोडभन्दा बढी बीमाको भुक्तानी गरिसकेको प्रबन्धक श्रेष्ठले जानकारी दिए। रासस

राष्ट्रिय एकता र जनतामा आपसी सद्भाव समृद्ध राष्ट्रको पहिलो सर्त : प्रचण्ड

काठमाडौँ,  पुस १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सांस्कृतिक विविधता नै नेपालको मौलिकता रहेको बताएका छन्। गुरुङ समुदायले मनाउने तमु ल्होसारको उपलक्ष्यमा अध्यक्ष दाहालले आज एक शुभकामना सन्देश दिँदै यस सांस्कृतिक पर्वले सम्पूर्ण नेपालीमा सहिष्णुता, भातृत्व, आपसी प्रेम र एकताको भावना विकास गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले मजबुत राष्ट्रिय एकताले नै समृद्ध नेपाल निर्माणको सपना पूरा हुनसक्ने भन्दै राष्ट्रिय एकता र जनतामा आपसी सद्भाव समृद्ध राष्ट्रको पहिलो सर्त भएको बताए । उनले तमु ल्होसारले नेपाली जनसमुदायमा सामाजिक एकता र बन्धुत्वको भावना विकास गर्न सकोस् भन्ने कामना समेत गरेका छन् । किन मनाइन्छ तमु ल्होसार ? तमु अर्थात गुरुङ भाषामा ल्होछार भनिने यस चाडलाई गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने पर्वका रुपमा मनाउने गर्दछन् । गुरुङ  भाषामा ल्होको अर्थ वर्ष र छारको अर्थ नयाँ हो । यसरी  नयाँ वर्षको रूपमा तमु समुदायमा यस वर्षलाई मृग वर्षको रूपमा मनाइंदैछ । तमु ज्योतिष अनुसार १२ वर्षचक्र अर्थात ल्होकोरमा १२ वर्षलाई विभिन्न पशुपक्षीहरूको नाम दिइएको छ । आज देखि कुकुर वर्ष सिद्धिएर मृग वर्ष सुरु भएको तमु संस्कृतिका जानकारहरू बताउँछन् । यस दिन तमुहरू आपासमा शुभकामना आदानप्रदान गर्दै आफूभन्दा ठूला अभिभावक, गुरु र मान्यजनबाट आशीर्वाद थाप्दै रिपु (बेसार रंगाएको पहेंलो धागो) गाँठो पारेर लगाउँछन् । साथै साथीसंगीबीच नाचगान गरी मनोरञ्जन गर्छन् । यस दिनको सांस्कृतिक र धार्मिक महत्व रहेको छ ।  

दिल्ली एयरपाेर्ट नेपालीलाई “नाे अब्जेक्सन”काे सास्ती

नयाँदिल्ली — नयाँदिल्लीमा एमबीबीएस अध्ययनरत सुरभी थापा युगान्डा जान शुक्रबार बिहानै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगिन् । भारतीय अध्यागमन अधिकारीहरूले उनलाई ‘नो अब्जेक्सन सर्टिफिकेट’ बिना उड्न नमिल्ने भन्दै फर्काइदिए । याे समाचार अाजकाे कान्तिपुर दैनिकमा प्रकाशित छ । युगान्डाको राजधानी कम्पालामा एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय भेलामा सहभागी हुने र त्यहीँ अभिभावकसँग भेट्ने योजनामा थिइन् सुरभी । यसअघि पनि थुप्रै पटक दिल्लीबाट उडेकी उनलाई त्यतिबेला एनओसी मागिएको थिएन । जसोतसो नेपाली दूतावासबाट एनओसी बनाएर शुक्रबार मध्यराति कम्पाला उडिन् । भारतबाट तेस्रो मुलुक उड्न खोजेका नेपालीलाई विमानस्थलबाट फर्काइएको यो पहिलो घटना होइन । यसको मारमा अमेरिका, बेलायत, अस्ट्रेलियालगायत मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीसमेत छन् । भारतका विमानस्थबाट तेस्रो देश उड्दा काठमाडौंबाट भन्दा निकै सस्तो पर्छ । तर एनओसीको झन्झटकै कारण अन्तिम समयमा थुप्रै नेपाली उड्नबाट वञ्चित भएका छन् । एयरपोर्टमा रोकिने डरले भारतका विभिन्न सहरमा कार्यरत नेपाली पनि तेस्रो मुलुक जानुपरे नयाँदिल्ली आएर एनओसी बनाउन बाध्य हुन्छन् । करिब एक महिनाअघि वरिष्ठ चिकित्सक डा. मधु आचार्यले पनि यस्तै तनाब खेप्नुपर्‌यो । नयाँदिल्ली हुँदै फिलिपिन्स जान लागेका उनलाई एनओसी नभएको भन्दै अध्यागमन अधिकारीले फिर्ता गरिदिए । पछि दूतावासबाट एनओसी बनाएर गन्तव्यतर्फ उडे । दुई महिनाअघि दिल्लीबाट दुबई उड्न लागेका उद्योगपति विनोद चौधरीका छोरा राहुलले यही समस्या भोगे । थुप्रैपटक दिल्ली–दुबई आउजाउ गरिसकेका राहुलस“ग एनओसी मागिएको यो पहिलो पटक थियो । नेपाली दूतावासका अनुसार अहिले दैनिक २० देखि २५ वटासम्म एनओसी जारी हुने गरेको छ । यो संख्या मासिक चार सय हाराहारी पुग्छ । यो दर महिनायता २५ प्रतिशतका दरले बढ्दै गएको देखिन्छ । भारत हुुँदै अवैध रूपमा वैदेशिक रोजगारीमा जानेक्रम बढेपछि नेपाल सरकारले २०६६ असोजमा साधारण राहदानी वाहकलाई साउदी अरेबिया, कुवेत, ओमान, बहराइन, कतार, कुवेत, यूएई, मलेसिया र लेबनान जान रोक लगाएको थियो । परराष्ट्र मन्त्रालयको त्यही निर्णयका आधारमा नया“दिल्लीस्थित नेपाली दूतावास हुँदै भारतीय विदेश मन्त्रालयले यहाँको अध्यागमन कार्यालय, एयरपोर्ट अथोरिटीलगायत निकायलाई पत्राचार गरेको थियो । उक्त पत्रमा ती नौवटा मुलुक जान खोज्ने नेपाली नागरिकलाई एनओसीबिना भ्रमण अनुमति नदिन आग्रह गरिएको थियो । भारतीय अधिकारीले तोकिएबाहेकका मुलुकका लागि पनि एनओसी माग्ने गरेका छन् । यसको प्रमुख कारण हो, भारतको गृह मन्त्रालयले एक वर्षअघि जारी गरेको भिसासम्बन्धी निर्देशिका । त्यसमा नेपाली र भुटानी नागरिकलाई एनओसीबिना तेस्रो मुलुक जान नपाउने व्यवस्था गरिएको छ । ‘नेपाली र भुटानी पासपोर्टधारीले भारत हुँदै तेस्रो मुलुक जान सम्बन्धित दूतावासबाट एनओसी अनिवार्य लिनुपर्नेछ,’ निर्देशिकामा भनिएको छ । परराष्ट्रका अधिकारी भने एनओसीलाई भारतबाट हुँदै आएको मानवतस्करी नियन्त्रणसँग पनि जोडेर हेर्नुपर्ने बताउँछन् । नौवटा मुलुकका लागि एनओसी अनिवार्य गरिएपछि तस्करी गिरोहले अन्य मुलुक हुँदै नेपाली युवायुवती विदेश पठाउने गरेकाले भारतले कडाइ गरेको हुन सक्ने उनीहरूको अनुमान छ । दिल्लीस्थित दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मी पनि यस्तै बताउँछन् । तर, आचार्य र चौधरीसमेत रोकिनुले सरकारले एनओसीबारे अझै पर्याप्त सूचना प्रवाह नगरेको प्रस्ट हुन्छ । एनओसीबारे सरकारले नागरिकहरूलाई पर्याप्त जानकारी दिनुपर्ने होइन र भन्ने प्रश्नमा कार्यवाहक राजदूत रेग्मीले सूचना जारी गर्नुअघि दुई मुलुकबीचको सम्बन्धलाई पनि ध्यान दिनुपर्ने बताए । यसबारे नीतिगत स्पष्टताका लागि आफू काठमाडौं जाने र मन्त्रालयहरूस“ग छलफल डाक्ने तयारी गरिएको उनले जनाए । भारतले तेस्रो मुलुक जाने मात्र होइन, तेस्रो मुलुकबाट आउने नेपालीका लागि पनि बेग्लै नियम बनाएको छ । भारतको गृह मन्त्रालयद्वारा जारी सोही निर्देशिकामा चीन, मकाउ, हङकङ, पाकिस्तान र माल्दिभ्सबाट भारत आउने नेपालीले अनिवार्य भिसा लिनुपर्ने उल्लेख छ । तर, यो व्यवस्थाबारे लामो समय नेपाली अधिकारी नै बेखबर थिए । गत वैशाखमा दक्षिण भारतको त्रिवेन्द्रपुरमस्थित विमानस्थल अध्यागमन कार्यालयले जेट एयरवेजका नाममा त्यस्तो व्यवस्था उल्लेख गरिएको पत्र सार्वजनिक गरेको थियो । भारतीयका लागि समेत नेपालबाट तेस्रो मुलुक उडान भर्न एनओसी अनिवार्य भए पनि तेस्रो मुलुकबाट नेपाल आउने भारतीयले भिसा लिनुपर्दैन । भारतीय पक्षबाट एकतर्फी रूपमा गरिएको व्यवस्थाको आलोचना हुँदै आएको छ । भारतीय नागरिकलाई पनि सोही व्यवस्था हुनुपर्ने माग उठेको छ । भारतीय निर्देशिका र यसबाट उत्पन्न समस्याबारे आइतबार सरोकारवालाहरू डाकेर छलफल गरिने परराष्ट्रस्रोतले जनाएको छ ।

तमु ल्होसारको अवसरमा उप राष्ट्रपतिले दिए यस्ताे शुभकामना

काठमाडौं, उप राष्ट्रपति नन्दकिशाेर पुनले सबै चाडपर्वको आफ्नै मौलिक विशेषता रहेको बताएका छन् । गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व रहेको उल्लेख गरेका हुन । उनले अनेकौँ संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर सप्तरङ्गी समिश्रण एवं साझा सङ्गमका रुपमा रहिआएको नेपाल राष्ट्र सामाजिक सद्भाव र सौहार्दका लागि संसारभरि नै सुपरिचित रहेको बताए ।   उपराष्ट्रपति पुनले विविधताबीच राष्ट्रिय एकता हुनु नेपालीको विशेषता हो भन्दै हाम्रा मौलिक धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै हाम्रो राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिने बताए । तमु ल्होसारले नेपालीकाबीच आपासी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने तथा मौलिक संस्कृतिको संरक्षण एवं प्रवद्र्धनमा योगदान दिने विश्वास उनले व्यक्त गरेका छन् ।  

प्युठानमा हत्या गरेर फरार काठमाडौंमा पक्राउ

काठमाडौं । महानगरीय प्रहरीवृत्त महाराजगञ्जले हत्या गरेर फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । वृत्तको टोलीले पुस ११ गते प्यूठान गौमुखी गाउँपालिका–६ का गणेश घर्तीमगरको हत्या गरेर फरार २६ वर्षीय वीरबहादुर खत्रीलाई शनिबार पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले प्यूठानमा हत्या गरी काठमाडौँ महानगरपालिका–२६ मित्रनगरको ग्यालेक्सी होटलमा लुकेर बसेका अवस्थामा वृत्त र गोंगबु प्रभागको टोलीले खत्रीलाई पक्राउ गरेको जानकारी दिए । खत्रीले कुलोमा पानी हाल्ने क्रममा विवाद भएपछि कोदालोले हिर्काएर घर्तीको हत्या गरेर फरार रहेको अनुसन्धानमा खुलेको प्रसाईंले बताए ।

७२ घण्टे चक्कीको प्रयोग बढ्यो, कण्डमको बिक्री न्यून

काठमाडौं, पुष १४ । पछिल्लो समय इकोन, आइपिल, आइस्योर, निल–७२ जस्ता ७२ घण्टे गर्भ निरोधक चक्कीको प्रयोग पछिल्लो समय बढेको पाइएको छ। इकोन, आइपिलजस्ता आकस्मिक भर्गनिरोधक चक्कीको प्रयोग बढेपछि पुरुष तथा महिलाले प्रयोग गर्ने कन्डमको बिक्री अत्यन्त न्यून भएको काठमाडौंको जोरपाटीस्थित नारायणटार मेडिको फर्माका सञ्चालक हर्कबहादुर केसीको अनुभव छ। ‘अरु दिनभन्दा शनिबार त्यस्ता चक्कीको बिक्री बढी हुन्छ,’ उनी भन्छन्, ‘कन्डमको प्रयोगलाई यस्ता चक्कीले विस्थापन नै गरिसक्यो ।’ उनका अनुसार १५ देखि २५ वर्ष उमेर समूहका युवतीहरुले गर्भनिरोधक चक्कीको प्रयोग बढी मात्रामा प्रयोग गर्ने गरेका छन्। चक्कीको बिक्री बढेपछि पसलबाट कन्डमको बिक्री झन्डै ८० प्रतिशतले घटेको उनको अनुभव छ । गर्भनिरोधकका औषधि तथा साधनहरु प्रयोग गर्ने युवतीहरुले खरिद गर्न भने असज महसुस गर्ने गरेको उनी बताउँछन् । जोरपाटी नारायणटार निवासी १९ वर्षीया सृष्टी (नाम परिवर्तन) बिबिएस दोस्रो वर्षमा अध्यनरत छिन्। उनको प्रेम सम्बन्ध भएको ४ वर्ष बित्यो। उनी प्रेमीसँगको शारीरिक सम्बन्धपश्चात् नियमित रुपमा इकोनको प्रयोग गर्दै आइरहेको बताउँछिन्। यस्ता चक्कीको बढी प्रयोगले भविष्यमा गर्भ नै नबस्नेसम्मको खतारा हुनसक्ने चिकित्सकहरु बताउँछन्। पुरुष युवाहरू पनि आफूले कण्डम प्रयोग गर्नुभन्दा आफ्नो यौन साथीलाई ७२ घण्टे चक्की खुवाउनुनै उत्तम ठान्छन्। कण्डम लगाउन झन्झट हुने, फुटला भन्ने चिन्ता हुने र सन्तुष्टि पनि नहुने भएकाले ७२ घण्टे चक्की नै गर्भ निरोधको उत्तम विकल्प भएको युवाहरूको ठम्याइ छ । पसले र ग्राहक मात्र होइन, परिवार नियोजनका अस्थायी साधनको उत्पादक तथा वितरक नेपाल सिआरएस कम्पनीले पनि हिजोआज कण्डमको खपत घटेको जनाएको छ। युवापुस्ताको खास रोजाइमा परेका ७२ घन्टे चक्कीले अनिच्छित गर्भ रोक्ने भए पनि यसले यौन रोगको भयावह खतरा निम्त्याउन सक्ने यौन तथा चर्म रोग विशेषज्ञ डा. राजकिशोर साह बताउँछन्। एचआइभी÷एड्सजस्ता रोगलाई यसले बढाउने उनको भनाइ छ।

नेपाली वाङ्मय साधना सम्मान २०७५ कवि राम विनयलाई

काठमाडौँ, पुस १४ । साहित्यको माध्यमबाट सामाजिक चेतना फैलाउने कार्यमा महत्वपूर्ण योगदान पुऱ्याए वापत नेपाली वाङ्मय साधना सम्मान कवि राम विनयलाई प्रदान गरेको छ । नेपाल वाङ्मय परिषद्द्वारा यहाँ आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उहाँलाई नगद रु १० हजार र कदरपत्रसहित सो सम्मान प्रदान गरेका हुन् । कवि विनयका ‘तातो बाफ’ कविता सङ्ग्रह विसं २०२१ मा प्रकाशित भएको थियो भने ‘म आएको छु’ २०४७, ‘जराको स्वर’ २०६०, ‘फेरिएको चित्र’ २०६८ कविता प्रकाशित छन् । त्यसैगरी उहाँको ‘टापुमा तैरिँदै’ यात्रा संस्मरण, ‘झझल्को’ नियात्रा, ‘घरविनाको घर’ कथासमेत प्रकाशित छन् । सो अवसरमा कुलपति उप्रेतीले साहित्यले समाजलाई दिशानिर्देश गर्नुपर्ने उल्लेख गर्दै अबका स्रष्टाले त्यसतर्फ कलम चलाउनुपर्नेमा जोड दिए । सम्मानित व्यक्तित्व रामविनयले जनता र समाजप्रति जिम्मेवार भई आफूले साहित्य सिर्जना गर्ने गरेको बताए । परिषद्का अध्यक्ष डा पुष्कराराज भट्टले समाजको विकासमा योगदान गर्ने स्रष्टालाई पुरस्कृत गर्ने संस्थाको नीति रहेको जानकारी दिए । कार्यक्रममा सम्मानित स्रस्टाको सम्मानमा रचनावचन समेत गरिएको थियो । नेपाल वाङ्मय परिषद धनगढीमा रहेको साहित्यिक संस्था हो जसले कैलाली, कंचनपुर लगायत राजधानीमा साहित्यिक गतिविधिहरू संचालन गर्दै आइरहेको छ ।  रासस  

जापानका परराष्ट्रमन्त्री नेपाल आउने, प्रधानमन्त्रीसँग भेट गर्ने

काठमाडौं : जापानका परराष्ट्रमन्त्री तारो कोनो दुईसातापछि दुई दिने नेपाल भ्रमणमा आउने भएका छन। छ महिनाअघि परराष्ट्र मन्त्रालयले उनको प्रस्तावित तिथीलाई तलमाथि गरेको भन्दै उनी भुटान भ्रमणमा गए तर नेपाल आएनन। त्यही समयमा उनको नेपाल भ्रमण गर्ने तयारी थियो। त्यसपछि जापान रिसाएको अनुभव गरेको नेपालले उनको भ्रमण गराउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली गत महिना जापान नै गए। अन्तत उनी आगामी पुस २५ मा नेपालको दुई दिने भ्रमणको क्रममा आउने भए। परराष्ट्रमन्त्री ज्ञवालीको निम्तोमा उनी नेपाल आउन लागेका हुन। उनले भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टा छुट्टै भेटवार्ता गर्नेछन। उनले परराष्ट्र मन्त्रीसँग डेलिगेसन स्तरमा वार्ता गर्नेछन। यसअघि परराष्ट्रमन्त्री ज्ञवाली जापान गएर आएपछि जापनीहरुले भ्रमणको प्रस्ताव गरेका हुन। उनले आउन चाहदा नेपालले अन्य ब्यस्थता देखाएपछि जापानीहरु रिसाएका थिए। जापान नेपालको ठूलो दातृमुलुक हो भने पुरानो मित्र मुलुक पनि। जापानले नेपालको सहयोगमा निरन्तर सहयोग गर्दैछ भने आगामी दिनमा पनि सहयोग गर्ने जनाएको छ।