भारतको प्रसिद्ध तीर्थ केदारनाथमा हेलिकप्टर दुर्घटना

काठमाडौँ । भारतको उत्तराखण्ड राज्यस्थित प्रसिद्ध तीर्थस्थल केदारनाथमा एउटा हेलिकप्टर ल्याण्ड गर्ने बेलामा दुर्घटना ग्रस्त भएको छ । उक्त हेलिकप्टरमा चालकसहित सात जना यात्रु रहेकोमा सबै यात्रु सकुशल रहेको बताइएको छ ।

दुर्घटनाबाट हेलिकप्टरलाई भने निकै क्षति पुगेको छ । उच्च पहाडी भूभागमा रहेको उक्त स्थलमा २०१७ मा पनि एउटा हेलिकप्टर ल्याण्ड गर्ने क्रममा हेलीप्याडबाट चिप्लिएको थियो ।
त्यस अघि जुन २०१३ मा केदारनाथमा आएको बाढी र पहिरोको बेला पनि भारतीय सेनाको एउटा एमआई-१७ सहित तीन हेलिकप्टर दुर्घटनाग्रस्त भएका थिए । उक्त दुर्घटनामा सेनाका २० अधिकारी सहित २३ जनाको ज्यान गएको थियो ।

गएको आठ वर्ष यता केदारनाथ र आसपासका क्षेत्रमा सात हेलिकप्टर दुर्घटनाग्रस्त भएका छन् र त्यसबाट सरकारी तथा निजी काम्पनीहरूलाई पांच अर्बबन्दा बढीको नोक्सान भैसकेको छ ।

किन हुन्छन् त यति दुर्घटना ?

समुद्र सतहबाट ११ हजार सात सय फीटभन्दा उचाईमा रहेको केदारनाथ क्षेत्रमा पुग्न पहाडहरूको बीच साँघुरो गल्छीबीचबाट उडान भर्नुपर्ने हुन्छ । त्यस क्षेत्रमा हावाको छाप अत्यधिक रहने र मौसम पनि अचानक खराब हुने हुँदा त्यहाँ अत्यधिक दुर्घटना हुने गरेको राहतकार्यमा खटिने विज्ञहरू बताउँछन् ।

यस क्षेत्रमा हेलिकप्टर दुर्घटनाहरू भैरहने गरेका छन् । जुन २१०७ मा बदरीनाथबाट तीर्थयात्रीलाई लिएर फर्किरहेको एउटा हेलिकप्टर यस क्षेत्रमा हुँदा हेलिकप्टरका प्रमुख इन्जिनियरको मृत्यु भएको थियो । यस घटनामा दुई चालक पनि घाइते भएका थिए ।

गत २१ अगस्टमा पनि उत्तरकाशीको पहिरोग्रस्त क्षेत्रमा राहत वितरणका लागि गएको हेलिकप्टर दुर्घटना हुँदा चालक, इन्जिनियरसहित एक जना स्थानीय युवकको मृत्यु भएको थियो । उक्त हेलिकप्टर तारमा ठोकिएर दुघटनाग्रस्त भएको बताइन्छ ।

भारतमा ७ दिनसम्म बैंक बन्द हुने, यस्तो छ कारण

नयाँ दिल्ली । चाडपर्वको मौसम शुरु भएको छ । यस्तो बेला स्वभाविकरुपमा पैसा बढी खर्च हुने गर्छ । बैंकहरुको सेवाको आवश्यकता पर्छ । तर भारतमा भने यही बेला बैंकहरु एक हप्ताका लागि बन्द हुने भएका छन् । त्यसैले बन्द हुनु अगाडि नै आफूलाई चाहिने नगदको व्यवस्था गरेर राख्न अपील गरिएको छ । किन हुँदैछन् त बैंक बन्द? भारतमा अहिले बैंकहरु मर्जर या विलयको निर्देशनपछि प्रक्रिया अघि बढेको छ । तर बैंक यूनियनले भने बैंक मर्जरको बिरोध गर्दै आन्दोलनको घोषणा गरेका छन् । यूनियनले आगामी २६ र २७ सेप्टेम्बरका दिन बैंक हडतालको घोषणा गरेका छन् । त्यस लगत्तै २८ सेप्टेम्बरमा महिनाको अन्तिम शनिवार भएको हुँदा बैंक बन्द हुनेछन् । अर्को आइतबार भने स्वभाविकरुपमा विदा हुने छ । नेपालमा शनिवार विदा भएजस्तै भारतमा भने आइतबार कामकाज हुँदैन । यसपछि दिल्ली प्रदेश बैंक वर्कस अर्गनाइजेसनले ३० सेप्टेम्बर र १ अक्टुबरका दिन बैंक हडतालको घोषणा गरेका छन् । २ अक्टुबरका दिन भने गान्धी जयन्तीका कारण सार्वजनिक विदा परेको छ । यसरी सात दिनसम्म बैंक बन्द हुने भएकोले यो भन्दा अगाडि नै पैसा जम्मा गर्ने या झिक्ने काम गर्न अनुरोध गरिएको छ ।

फेसबुकले गर्‍यो दशौं हजार एप्स निलम्बन

सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ । निलम्बनमा परेका एप्समध्ये झण्डै चार सय ओटा निर्माता छन् । आफ्ना प्रयोगकर्तासँग सम्बन्धित विवरणहरु चोरी हुनेगरी भएको क्याम्ब्रीज काण्डपछि फेसबुकले एप्सहरु निलम्बन गरेको हो । फेसबुकले सबै एप भने जोखिमपूर्ण नभएको स्पष्ट पारेको छ । सन् २०१८ मा केम्ब्रिज एनालिटिका नामक कम्पनीले बिनाअनुमति धेरै फेसबुक प्रयोगकर्ताको विवरण चोरेको तथ्य बाहिरिएको थियो । फेसबुकले निलम्बनमा परेका एप तथा शङ्कास्पद निर्माताबारे भने जानकारी दिएको छैन । निलम्बनमा पर्दैमा एपले मानिसहरूलाई जोखिममा पारेको निश्कर्ष निकाल्न भने नमिल्ने फेसबुकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । फेसबुकबाट लिएको विवरण अरूलाई दिएको वा मानिसको परिचय खुल्नेगरी सार्वजनिक गरेको पाइएपछि केही एपलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । एजेन्सी

अनुहारमा कालो पोतिएको फोटो सार्वजनिक भएपछि प्रधानमन्त्रीले मागे माफी

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले विगतका फोटोहरूप्रति क्षमायाचना गरेका छन् । लिवरल पार्टीका नेतासमेत रहेका ट्रुडोले निर्वाचन नजिकिदै गर्दा बिहीबार पुरानो फोटोलाई लिएर क्षमा याचना गर्नुपरेको हो । उनी २०–२१ वर्षको हुँदा खिचिएका तस्बिर हाल सार्वजनिक भएका छन् र त्यसमा उनले अनुहार तथा हातमा कालो रंग पोतेको देखिएको छ । ट्रूडोको त्यो फोटोले उनी विगतमा रंगभेदी थिए भन्ने पुष्टि गरेको विपक्षीको आरोप छ । त्यही फोटोलाई लिएर विपक्षीहरूले उनी विरुद्धमा चुनावी माहौल तयार पार्ने प्रयास गरेका छन् । आफ्नो विद्यार्थीकालमा अभिनयका लागि ‘बिषयबस्तु’ को रुपमा प्रयोग गरेको स्वरुपलाई विपक्षीहरुले दुरुपयोग गरेको उनको भनाइ छ । उनले यस्ता तस्वीर अरु पनि हुन सक्ने र त्यसबाट आफूलाई लज्जित बनाएको पनि बताएका छन् । क्यानडामा अर्को महिना आम निर्वाचन हुन लागेको छ । उनी त्यस निर्वाचनपछि दोस्रो कार्यकाल सम्हाल्ने तयारीमा छन् । पुरानो फोटोले उनी अहिले तनावमा पर्नुका साथै नैतिक दवावमा समेत परेको समाचारमा जनाइएको छ । तर तस्वीरमा देखिएजस्तो र व्याख्या गरिएजस्तो रंगभेदी आफू नभएको ट्रुडोको दावी छ । उनले सन् २०१५ मा प्रधानमन्त्रीका रुपमा शपथ लिएपछि आफ्नो मन्त्रीमण्डलमा आधा महिला, तीनजना शिख समुदायका व्यक्ति तथा दुईजना आदिबासी समुदायका व्यक्तिलाई समावेश गरेका थिए । यो समाचार अनलाइन खबरबाट लिइएको छ ।

अफगानिस्तानमा ड्रोन आक्रमण, १८ सर्वसाधारणको मृत्यु

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ । यस घटनामा अन्य ६ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता मबारिज अतालले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । यो कारबाही बाजिर ताङगी क्षेत्रमा नेटोआवद्ध सैनिकबाट भएको बताइएको छ । आइएस लक्षित यस कारबाहीमा दुर्भाग्यबस सर्वसाधारण परेका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस कारबाहीको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । सिन्हवा

एनआरएनए अध्यक्षमा कुमार पन्तको उम्मेदवारी घोषणा, यस्ता छन् २० प्रतिवद्धतापत्र

काठमाडौंः गैर–आवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष कुमार पन्तले अध्यक्षका उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबा पत्रकार समेलन गर्दै पन्तले अध्यक्षका उम्मेदवारी घोषणा गरेका हुन् । संघको नवौं विश्व सम्मेलन आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुनेछ । एनआरएनमा स्थापनाकालदेखि सक्रियतापूर्वक लाग्दै आएका पन्तले यूरोप संयोजक हुँदै आइसीसी महासचिव र दुई कार्यकाल उपाध्यक्ष भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् । यस्ता छन् प्रतिवद्धतापत्र १–स्वदेशको विकास र समृद्धिका लागि सम्पूर्ण गैरआवासीय नेपालीको सामूहिक र व्यक्तिगत लगानी भित्र्याउन सक्रिय रहनेछु । सानोदेखि ठूलो लगानीलाई अभियानमा समाहित गरी १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिनेछु । नेपाल सरकारकोसमेत लगानी रहने यस कोषले पूर्वाधार निर्माण लगायत विविध क्षेत्रमा लगानी गर्नेछ । २–विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन नवीन पहलहरु अघि बढाउनेछु । गत वर्ष मेरै संयोजकत्वमा काठमाडौँमा सम्पन्न पहिलो विज्ञ सम्मेलनका निष्कर्ष कार्यान्वयन गर्दै त्यसलाई निरन्तरता दिनेछु । ३–विश्वभर छरिएका नेपालीमार्फत् नेपालका पर्यटकीय आकर्षण र गन्तव्यको प्रचारप्रसार गर्न विशेष योजना ल्याउनेछु । नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रोत्साहित गर्नुका साथै त्यसअनुकूल वातावरण तथा नीतिका निम्ति पहल गर्नेछु । सरकारले अघि सारेको नेपाल ‘भ्रमण वर्ष–२०२०’ को सफलताका लागि सिंगो गैरआवासीय नेपालीको शक्ति र सञ्जाल परिचालन गर्न जुट्नेछु । ४–सामाजिक तथा परोपकारी कामलाई अगाडि बढाउन भिजन–२०२० ले कल्पना गरेको एनआरएनए फाउन्डेसन विस्तार गरी सोहीमार्फत् एनआरएनहरुलाई सहभागी गराउनेछु । ५–सुरक्षित र सम्मानपूर्ण वैदेशिक रोजगारीका लागि विद्यमान समस्या र समाधानका उपायबारे श्वेतपत्र तयार गरी त्यसैका आधारमा नेपाल सरकारसँगको समन्वयमा कार्ययोजना लागू गर्नेछु । ६–वैदेशिक रोजगारीमा जानुअघि नै सीपयुक्त बनाई अन्तर्रा्ष्ट्रिय श्रमबजारमा नेपाली जनशक्तिको सेवा सुविधा र मर्यादा अभिवृद्धिका प्रभावकारी कार्यक्रम नेपाल सरकारसँगको समन्वयमा कार्यान्वयन गर्नेछु । ७–विदेशमा समस्यामा पर्न सक्ने नेपालीको उद्धार र राहतका लागि नेपाल सरकारसँग समन्वय गरेर वैदेशिक रोजगार राहत कोष वृद्धिमा लाग्नेछु । ८–संविधानअनुसार गैरआवासीय नेपाली नागरिकता पाउने अधिकार शीघ्र कार्यान्वयनका लागि विशेष पहल गर्नेछु । ९–विदेशमा रहेका नेपालीको मतदानको अधिकारसम्बन्धी व्यवस्थाको व्यावहारिक कार्यान्वयनमा लागिपर्नेछु । १०–संसारका कुनै पनि मुलुकमा रहेका हरेक गैरआवासीय नेपाली संघमा आबद्ध हुन न्यूनतम शुल्क वा निःशुल्क सदस्यता पञ्जीकरणका लागि पहल गर्नेछु । विश्वका जोकोही नेपालीले गर्वसाथ यो संस्था मेरो हो भनेर आबद्ध हुन चाहने गरी संरचना सञ्जाल र छवि निर्माणमा जुट्नेछु । ११–नयाँ पुस्ताका गैरआवासीय नेपालीलाई संघका गतिविधिमा आकर्षित गर्दै स्वदेशसँगको सम्बन्धलाई कसिलो बनाउन विशेष ध्यान दिनेछु । साथै, त्यो पुस्ताको स्थानीय राजनीतिक, व्यावसायिक र सामाजिक क्षेत्रमा सहभागिता बढाउनेतर्फ पनि मेरो ध्यान रहनेछ । १२–संघमा महिलाको उपस्थिति, सहभागिता र नेतृत्वलाई व्यापक र सशक्त बनाउन विशेष अभियान सञ्चालन गरिनेछ । १३–संघको विधि, विधान र संस्थागत प्रक्रियाहरूलाई अनुशरण गर्ने गराउनेछु । सचिवायलको प्रभावकारिता र क्रियाशीलतामा ध्यान दिनेछु । १४–हरेक गैरआवासीय नेपालीको समान भूमिकालाई स्थापित गर्न नेतृत्व चयनका क्रममा अनलाइन भोटिङ प्रणालीबारे सम्भाव्यताको खोजी गरिनेछ । १६–संघको समयसापेक्ष विकास गर्न ‘भिजन २०२०’ को प्रस्ताव कार्यान्वयनको पक्षमा दृढ रहँदै यसलाई सफल बनाउन विशेष सक्रिय रहनेछु । साथै, संघको आर्थिक र सैद्धान्तिक स्थायित्व कायम गर्न विभिन्न कार्यक्रमहरु ल्याउनेछु । विशेष कार्यसूची १७–संघका चालू परियोजनाको निरन्तरता, समापन र हस्तान्तरणलाई उच्च प्राथमिकतामा राख्नेछु । १८–संघले आफ्नो मूल्य, मान्यता र परिकल्पनामा रहेर अगाडि बढाउन खोजेका परियोजनामा हाम्रो मात्र स्रोत–साधनले नपुग्ने भएमा अन्तर्रा्ष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य गरिनेछ । १९–समान हक, हित र अधिकारका लागि संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागको पक्षमा उभिनेछु । २०–गैरआवासीय नेपालीका समस्या, चासो र सरोकारलाई उच्चस्तरबाट सम्बोधन गर्न नेपालको राजनीतिक नेतृत्वसँग नियमित सम्पर्क र प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापनाका लागि प्रयासरत रहनेछु ।

विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

अमेरिकाः विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । सर्वोच्च अदालतले एक वर्ष पहिले नै यस्तो व्यवस्था गर्न सरकारका नाममा आदेशसमेत जारी गरिसकेको छ । तर सर्वोच्च अदालतको आदेशलाई समेत वर्तमान सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै जनसम्पर्क समितिले अब कुनै विलम्ब तुरुन्त आवश्यक पहल गर्न सरकारसमक्ष ज्ञापनपत्र पेश गर्दै आग्रह समेत गरेको छ । समितिले सम्बन्धित मुलुकका दूतावास वा कन्सुलेट अफिसमार्फत यस्तो ज्ञापन पत्र बुझाउन निर्देशन जारी गरेको छ । सोही निर्देशनअनुसार बिहीवार नेपाली जनसम्पर्क समिति अमेरिकाले वासिंगटन डिसीस्थित नेपाली राजदूतावास मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सोही ज्ञापनपत्रमा सर्वोच्चको आदेशअनुसार तत्काल मतदानको प्रबन्ध मिलाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको समितिको तर्फबाट नेतृत्व गर्दै दूतावास पुगेका समितिका केन्द्रीय सभापति आनन्द विष्टले जानकारी दिए । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका सभापति विष्ट नेतृत्वको एक प्रतिनिधि मण्डलले राजदूत डा.अर्जुन कुमार कार्कीलाई भेटेर ज्ञापन पत्र बुझाएको हो । सभापति विष्टले ज्ञापनपत्र बुझाएपछि राजदूत डाक्टर कार्कीले समितिको तर्फबाट बुझाइएको ज्ञापन पत्र नेपाल सरकार समक्ष तत्काल पुर्याउने प्रतिवद्धता व्यक्त गरे । नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझाएको ज्ञापन पत्र विषयमा गैर–आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले समेत ऐक्यबद्धता जाहेर गरेको छ । एनआरएनले दोहोरो नागरिकताको मागलाई निरन्तर उठाई रहेको सन्दर्भ जोड्दै ज्ञापनपत्र बुझाउने प्रतिनिधि मण्डलमा सहभागी एनआरएन अमेरिकाका उपाध्यक्ष कृष्णजीवी पन्थले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश कार्यान्वयन गर्न सरकारलाई खबरदारी गर्ने गरी समितिले गरेको पहलको सह्राहना गर्दै समितिले उठान गरेको विषयमा ऐक्यबद्धता जाहेर गरेका थिए । यसैगरी एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष डोलनाथ घिमिरेले पनि जनसम्पर्क समितिले उठान गरेको एजेन्डामा ऐक्यबद्धता जाहेर गरे ।

चर्चका ७० वर्षीय पादरीले गरे ३ नाबालिकसँग बलात्कार

काठमाडौं । मानिसका लागि मन्दिर, मस्जिद, चर्चजस्ता स्थानहरु निकै पवित्र मानिन्छन् । अझ पुजारी, मौलवी या फादर अर्थात् पुजारीलाई निकै आस्थाका रुपमा लिने गरिन्छ । तर यो मान्यतामा कलंक लगाउने काम गरेका छन् एकजना ७० वर्षीय पादरीले । घटना भारतको केरल प्रदेशको हो । इसाईहरु उल्लेख्य संख्यामा रहेको केरलमा एकजना ७० वर्षीय पादरीले तीनजना नाबालिकामाथि बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार, यो घटना ढिलोगरी प्रकाशमा आएको हो । एर्नाकुलमको चेन्दामंगलममा पादरीको चर्चमा रहेको कार्यालयमा आशीर्वाद लिन गएका तीन बालिकामाथि उनले कुकर्म ग रेका हुन । प्रहरीमा जाहेरीपछि पादरीको खोजी तीब्र पारिएको छ । तर पादरी भने वेपत्ता छन् । सिरियन क्याथोलिक चर्चका पादरी जर्ज पदयट्टीमाथि आरोप लागेको हो । बडक्केरा प्रहरी स्टेशनका अधिकारीका अनुसार, पादरीमाथि पाक्सो ऐन अन्तर्गत मुद्दा दर्ता हुने भएको छ ।

रेल २५ मिनेट ढिलो गराएका सनी देओल, करिश्मा कपुरविरुद्ध मुद्दा

एजेन्सी । भारतमा रेलवे अदालतले २२ वर्ष पुरानो ‘चेन पुलिङ’ मुद्दामा अभिनेता सनी देओल तथा अभिनेत्री करिश्मा कपुरविरुद्ध आरोप तयार गरेर मुद्दा अगाडि बढाएको छ । करिश्मा र सनी देओलले सन् १९९७ मा नरेना रेलवे स्टेसनमा फिल्म ‘बजरंग’को सुटिङ समयमा रेलमा इमरजेन्सी ब्रेक लगाउन परेको थियो । यसका कारण त्यो रेल २५ मिनेट ढिलो पुगेको थियो । यस विषयमा सुनुवाइ हुने भएपछि सनी देवल जयपुर पुगेका छन् । यसअघि यो विषयमा सन् २००९ मा अदालतले आरोप तय गरेको थियो । यसले करिश्मा तथा सनीले सेसन अदालतमा अप्रिल २०१० मा अपिल गरेका थिए । त्यति बेला अदालतले दुवैलाई सफाइ दिएको थियो । तर, रेलवे अदालतले यो मुद्दामा फेरि आरोप तय गरेको छ । उनीहरुविरुद्ध अब अनावश्यक रुपमा रेललाई हस्तक्षेप गरेको आरोप लगाइएको छ ।

अमेरिकाले गुफामा तेल किन राख्छ ?

काठमाडौं । साउदी अरेबियाका प्रमुख तेल प्रशोधन केन्द्रमा भएका हमलापछि अमेरिकी अधिकारीहरूले आफ्नो देशभित्र आपत्‌कालीन अवस्थामा प्रयोग गर्न भनि भण्डार गरिएका विशाल तेलको सञ्चितिलाई प्रयोगमा ल्याउनुपर्ने बताइरहेका छन्। तेलको मूल्य बढ्दै जाँदा राष्ट्रपति डोनल्ड ट्रम्पले बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्न उक्त तेललाई प्रयोगमा ल्याउन सकिने बताए। राष्ट्रपति ट्रम्पले उल्लेख गरेको तेलको परिमाण ६४ करोड ब्यारेल छ र त्यो टेक्सस र लुइजियाना राज्यको मुन्तिर अवस्थित नुनिला विशाल गुफाहरूमा भण्डारण गरिएको छ। यी रणनीतिक भण्डारहरूमा इन्धन राख्ने अवधारणा सन् १९७० को दशकमा आएको हो। अन्तराष्ट्रिय उर्जा केन्द्रका सबै सदस्य राष्ट्रहरूले ९० दिनसम्म पुग्ने परिमाणको पेट्रोलियम पदार्थको आयातलाई भण्डारण गर्न सक्छन् तर अमेरिकी तेल भण्डार विश्वको सबैभन्दा ठूलो आपत्‌कालीन इन्धन भण्डार हो। यो किन स्थापना गरियो? अमेरिकी राजनीतिज्ञहरूले यस्तो तेलको भण्डार स्थापना गर्ने अवधारणा सन् १९७० को प्रारम्भमा ल्याए। मध्यपूर्वका देशहरूले तेल आपूर्ति बन्द गरेपछि विश्वभर मूल्य आकाशिएको परिवेशमा अमेरिकाले तेल भण्डार गर्ने योजना बनाएको थियो। पेट्रोल निर्यात गर्ने देशहरूको समूह अर्गनाइजेशन अफ अरब पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिजमा रहेका इराक, कुवेत, कतार र साउदी अरेबियाले सन् १९७३ मा भएको अरब इजरेली युद्धका क्रममा इजरेललाई समर्थन गरेको भन्दै अमेरिकामा तेल निर्यात गर्न अस्वीकार गरेका थिए। त्यसवर्ष अक्टोबर महिनामा भएको उक्त युद्ध ३ हप्ता मात्रै चलेको थियो। तर उक्त तेल आपूर्तिको नाकाबन्दी जसले अन्य देशलाई पनि निशाना बनाएको थियो १९७४ को मार्च महिना सम्म निरन्तर रह्यो। त्यसका कारण उसले प्रति ब्यारेल ३ डलर रहेको तेलको मूल्य चार गुणा बढेर १२ डलर प्रति ब्यारेल पुगेको थियो। नाकाबन्दीबाट प्रभावित देशमा पेट्रोल पम्पहरूमा कार लाम लागेका केही तस्वीरले त्यसबेलाको उक्त सङ्कटलाई राम्रोसँग चित्रण गरेका छन्। त्यसैको सेरोफेरोमा सन् १९७५ मा अमेरिकी संसदले उर्जा नीति र संरक्षण कानून अनुमोदन गर्यो। त्यसकै आधारमा आपूर्तिमा अर्को ठूलो सङ्कट आउनसक्ने अवस्थाका लागि तयार रहन रणनीतिक इन्धन जगेडा केन्द्र स्थापना गरियो। रिजर्भ भनेको के हो? अहिले अमेरिकाका ४ वटा शहरहरूमा त्यसरी तेल भण्डारण गरिएको छ। टेक्ससमा फ्रिपोर्ट र विन्नी अनि लुइजियानामा लेक चार्ल्स र बेटन रोगमा यस्ता रणनीतिक रिजर्भहरू छन्। ती प्रत्येक ठाउँमा मानव निर्मित नुनिला चट्टान सहितका गुफाहरू निर्माण गरिएका छन् र तेल भण्डार गरिएका ठाउँ जमिनको सतहभन्दा १ किलोमिटर मुनिसम्म छ। यो जमिनमाथि ट्याङ्की बनाएर तेल भण्डार गर्नुभन्दा सस्तो र सुरक्षित रहेको ठानिन्छ। नूनको मिश्रण र भौगर्भिक चापका कारण भूमिगत रूपमा भण्डारण गरिएका तेल चुहावट हुने सम्भावना रहँदैन। फ्रिपोर्ट नजिकैको सबैभन्दा ठूलो तेल भण्डारमा २५ करोड ४० लाख ब्यारेल तेल अटाउन सक्ने क्षमता छ। रिर्जभको वेबसाइटका अनुसार यी गुफाहरूमा १३ सेप्टेम्बरमा ६४ करोड ४८ लाख ब्यारेल तेल सञ्चित गरिएका थिए। अमेरिकाको इनर्जी इन्फरमेशन एडमिनिस्ट्रेशनका अनुसार अमेरिकीहरूले सन् २०१८ मा प्रतिदिन २ करोड ५ लाख ब्यारेल तेल खपत गरेका थिए। जसको अर्थ त्यहाँ ३१ दिनलाई पुग्ने तेलको परिणाम सुरक्षित रहेको छ। यसले कसरी काम गर्छ? जेराल्ड फोर्डले सन् १९७५ मा हस्ताक्षर गरेको कानुन अनुसार इन्धनको आपूर्तिमा गम्भीर समस्या देखिए राष्ट्रपतिले मात्रै यी रिजर्भहरूबाट तेलको प्रयोग गर्न आदेश दिन मिल्ने व्यवस्था छ। भौतिक कठिनाइको अर्थ प्रत्येक दिन यी गुफाबाट सानो परिमाणमा मात्रै तेल बाहिर ल्याउन मिल्छ। यसको अर्थ राष्ट्रपतिले आदेश दिए पनि त्यसलाई बजारसम्म आइपुग्न करिव दुई हप्ता लाग्छ। भण्डारण गरिएको कच्चा तेल हो। यसलाई थप प्रशोधन गरेपछि मात्रै कार, जहाज र विमानहरूमा प्रयोग गर्न मिल्छ। साउदी प्रशोधन केन्द्रमा भएका हमलापछि सोमवार अमेरिकी उर्जा मन्त्री रिक पेरीले प्रसारक संस्था सिएनबीसीलाई ती रिजर्भहरूको प्रयोग गर्ने विषयमा कुरा गर्न समय परिपक्व नभइसकेको बताएका थिए। यसको प्रयोग कतिको गरिएको छ? अन्तिम पटक अरब स्प्रिङ भनिने अरब देशहरूमा सन् २०११ मा भएको क्रान्तिका समयमा यो रिजर्भको प्रयोग गरिएको थियो। त्यसबेला इन्धन आपूर्तिमा समस्या कम होस् भन्नका लागि आइइएका सदस्य देशहरूले संयुक्त रूपमा छ करोड ब्यारेल तेलको प्रयोग गरेका थिए। तर विभिन्न समयमा अमेरिकाले ठूलो परिमाणमा ती तेलको प्रयोग गरेको छ। सन् १९९१ मा गल्फ युद्धका बेला राष्ट्रपति जर्ज एच डब्लु बुसले उक्त भण्डारको प्रयोग गर्न आदेश दिएका थिए। उनका छोरा जर्ज डब्लु बुसले क्याट्रिना नामक शक्तिशाली आँधीपछि १ करोड १० लाख ब्यारेल प्रयोग गर्न अनुमति दिएका थिए। अमेरिकामा नै इन्धनको उत्पादनको क्रम बढिरहेको सन्दर्भमा त्यत्रो विशाल भण्डारको उपयोगिताबारे पनि प्रश्नहरू उठ्ने गरेका छन्। वासिङ्टनमा कतिपयले त्यसलाई पूर्ण रूपमा बन्द गरिनुपर्ने सुझाव पनि दिएका छन्। सरकारलाई जवाफदेही बनाउने निकायको एउटा प्रतिवेदनले सन् २०१४ मा त्यस्तो सुझाव दिदैँ त्यसबाट अमेरिकी उपभोक्ताका लागि तेलको मूल्य घट्नसक्ने सुझाव दिएको थियो। सन् २०१७ मा ट्रम्प प्रशासनले संघीय घाटा पूर्ति गर्न भण्डार गरिएका मध्ये आधा तेल विक्री गर्ने विचार राखेको थियो। सन् १९९७ मा राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा घाटा कटौती गर्ने उद्देश्यले २ करोड ८० लाख ब्यारेल तेल विक्री गरिएको थियो। बिबिसी नेपाली सेवाबाट

विश्वविद्यालयका छात्रहरुले युवती जिस्क्याएपछि हिंश्रक झडप, २० राउण्ड फायरिङ, एकको मृत्यु

पटना, बाटोमा हिँडिरहेका युवतीलाई जिस्क्याएको बिरोध गरेपछि भएको विवादले हिंश्रक रुप लिएको छ । घटनाले ठूलो रुप लिँदा एकजना स्थानीय व्यक्तिको मृत्यु भएको छ । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार, सोमबार राती पटना विश्वविद्यालयका केह िछात्रहरुले बाटोमा हिंडिरहेका महिलालाई दुव्र्यवहार गर्दै जिस्क्याएको देखेपछि स्थानीयले प्रतिवाद गरेका थिए । अशोक राजपथ क्षेत्रमा भएको यो घटनामा स्थानीयको प्रतिवादसँगै छात्रहरुले गोली प्रहार गरेका थिए । स्थानीयवासीले ढुंगामुढा गर्न थालेपछि क्याम्पसाक छात्रहरुले २० राउण्ड गोली प्रहार गरेका थिए । यसैक्रममा एकजना ५० वर्षीय व्यक्तिको मृत्यु भएको हो । स्थानीयले गोली लागेर मृत्यु भएको बताएपनि प्रहरीले भने ढुंगा लागेर निधन भएको बताएको छ । ती व्यक्तिको मृत्युको खबर फैलिएपछि स्थानीय मानिसहरु निकै आक्रोशित भएका थिए । त्यसपछि सैयौं मानिसहरु सडकमा जम्मा भएर अशोक राजपथ जाम गरे । भीड यति उग्र थियो कि प्रहरी समेत पछाडि हटेको समाचारमा उल्लेख छ । स्थानीय वासीले प्रहरीले दुव्र्यवहार गर्ने छात्रहरुमाथि कार्वाही नगरेकोमा आक्रोश व्यक्त गरेका थिए । स्थानीय पसलेहरुका अनुसार मिन्टोका केह िछात्र रातमा घुम्ने क्रममा बाटोमा आइरहेका युवतीहरुलाई जिस्क्याइरहेका थिए । केहीले दुव्र्यवहार नै गरेका थिए । लालबागका केही युवाले यसको बिरोध गरेपछि क्याम्पसका छात्रहरुले पिटाई गरेपछि अवस्था तनावग्रस्त भएको थियो । त्यो बेला होस्टेल फर्केका छात्रहरु केही समयपछि भने धेरै विद्यार्थीको झुण्डसहित आएर स्थानीयमाथि आक्रमण गर्न शुरु गरेका थिए । पछि प्रहरीले होष्टेलमा छापा मार्दा उनीहरु भागेको बताइन्छ ।  

इरानले पुरै क्षेत्रलाई अस्थिर बनाएको नेटोको आरोप

वाशिङटन । उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)ले साउदी अरेबियाको तेल सञ्जालमा आक्रमण भएको घटनामा चिन्ता व्यक्त गरेको छ । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले गम्भीर चासो लिँदै भनेका छन्,‘‘इरानले पुरै क्षेत्रलाई अस्थिर गरिरहेको छ । हामी सबै पक्षलाई यस प्रकारको आक्रमण दोस्रोपटक हुन नदिन आग्रह गर्दछौं ।’’ यो भन्दा अघि अमेरिकाले केही सेटलाइट तस्बिर सार्वजनिक गरी गएको शनिबारको आक्रमणमा इरान सामेल भएको जनाएको थियो । त्यसलाई इरानले भने खण्डन गरेको छ । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले इरानसँग युद्ध नचाहेको तर अमेरिका कुनै पनि संघर्षको लागि तयार भएको समेत जनाएका छन् । उता इरानका राष्ट्रपति हसन रुहानीले टर्कीको राजधानी अंकारामा रुस र टर्कीका नेताहरुलाई भेटेका छन् । इरानी राष्ट्रपतिले साउदी अरबको तेल ठेगानामा यमनका मानिसले आत्मरक्षाका लागि ड्रोन आक्रमण गरेको जनाएका छन् । गएको शनिबारको सो आक्रमणको जिम्मेवारी हुतु विद्रोही समूहले लिएको थियो । बीबीसी नेपाली सेवाबाट

पाकिस्तान: हिन्दू प्रधानाध्यापक ‘ईशनिन्दा’को आरोपमा पक्राउ परेपछि सामाजिक सञ्जाल मा यस्तो प्रतिक्रिया

इस्लामाबाद, पाकिस्तानको सिन्ध प्रान्त अन्तर्गत घोट्की जिल्लामा एक हिन्दू प्रधानाध्यापकमाथि ईशनिन्दाको आरोप लागेपछि त्यहाँका हिन्दू मन्दिरहरूमा तोडफोड भएको छ। घोट्की शहरस्थित एउटा संस्थागत विद्यालय सिन्ध पब्लिक स्कुलका प्रधानाध्यापक नोटल मलविरुद्ध त्यसै विद्यालयका एक छात्रका पिता अब्दुल अजीज राजपूतले ईशनिन्दा गरेको भन्दै प्रहरीमा उजुरी गरेका हुन्। उक्त घटनापछि त्यहाँ जम्मा भएको भीडले विद्यालय र हिन्दू मन्दिरहरूमा तोडफोड सुरु गरेको छ। हिँसा बढ्ने देखेर स्थानीय प्रहरी प्रशासनले प्रधानाध्यापकलाई पक्राउ गरेको छ। विद्यालय र मन्दिरमा तोडफोडका दृश्य सामाजिक संजालमा भाइरल बनेका छन्। सत्ताधारी पाकिस्तान तहरीक-ए-इंसाफ (पीटीआई)का नेता रमेश कुमार वंकवानीले हैदराबादक प्रहरी नायब महानिरीक्षक नईम शेख यस मामिलामा आफैं जांच गर्दैछन्। सिन्ध प्रान्तका मुख्यमन्त्रीका सहायक तथा कानुनी सल्लाहकार वीरजी कोलहीले केही ठाउँमा छिटपुट हिंसात्मक घटनाबारे सुनिएको भए पनि स्थिति नियन्त्रणमा रहेको बताएका छन्। के हो ईशनिन्दा कानुन? अंग्रेजीमा ब्लास्फेमी भनिने ईशनिन्दा कानुनमा यदि कसैले पैगम्बर मोहम्मदको विरुद्ध बोलेको खण्डमा त्यस्ता व्यक्तिलाई मृत्युदण्डसम्मको सजाय हुन सक्ने प्रावधान यस कानुनमा रहेको छ। भारत र पाकिस्तान बेलायती साम्राज्यको अधीनमा रहेका बेला १९ औं शताब्दीमा यस किसिमको कानुन बनाइएको थियो तर पछि यसको दुरुपयोग  हुन थालेपछि र यी दुई देश स्वतन्त्र भएपछि यस कानुनलाई निस्प्रभावी बनाइएको थियो। तर १९८० को दशकमा जनरल जिया उल हक सत्तामा आएपछि यस कानुनलाई फेरी ब्युँताइयो। पाकिस्तानमा चार प्रतिशत जनसंख्या इसाई धर्मावलम्बीहरूको रहेको छ। उनीहरूले यस कानुनले अल्पसंख्यकहरूलाई सधैं निसानामा राखेको आरोप लगाउँदै आएका छन्। सामाजिक सतञ्जालमा चासाे पाकिस्तानमा सामाजिक संजालमा यस पाली #घोट्की, #ब्लास्फेमी र #नो एक्स्ट्रिमिज्म ट्रेण्ड गरिरहेका छन्। धेरैले मन्दिरहरू तोडफोड हुनु र शिक्षकमाथि यस्तो आरोप लाग्नु दुखद भएको बताएका छन्। सलमान दुरानी नाम गरेका एक जनाले ट्वीट गरेका छन्, “सिन्ध प्रान्तको घोट्की मा केही मुस्लिम अतिवादीहरूले हिन्दू समुदायका मानिसहरूको उत्पीडन गरेको समाचार सुनेर मलार्इ निकै लाज लागेको छ। हामी भारतमा अल्पसंख्यकहरूमाथि आक्रमण भएको त भन्छौं तर हामी कहाँ के भैरहेछ त्यो हेर्न बिर्सिन्छौँ। ” त्यस्तै फहद हुसैन काजीले लेखेका छन्, ”मेरो जिल्ला घोट्कीमा ककसले इस्लामको प्रयोग आफ्नो फाइदाको लागि गर्दैछन् त्यो सबैलाई थाहा छ। सरकारले तिनीहरूविरुद्ध कदम उठाओस। ” पत्रकार अली हसनका अनुसार शनिवार नौ कक्षाका एक विद्यार्थीले आफ्ना हिन्दू शिक्षकले पढाउने क्रममा पैगम्बर मुहम्मदको अपमान गरेको भन्दै आफ्ना पितालाई गुनासो सुनाएका थिए। त्यसपछि ती छात्रका पिताले ईशनिन्दा कानुनको धारा २९५ सी अन्तर्गत मुद्दा दायर गरेको र उनलाई आइतबार गिरफ्तार गरिएको बताइन्छ। घोटकी शहरमा करिब ३० प्रतिशत जनसंख्या हिन्दूहरूको रहेको छ र पुरै जिल्लाभरि २० देखि २५ प्रतिशत हिन्दू रहेका छन्। कस्ताे छ सजायकाे प्रावधान? यस कानुन अनुसार ईशनिन्दाका दोषीलाई मृत्युदण्ड या आजीवन कारावास र ठुलो धनराशी जरिवानाको सजाय हुने प्रावधान रहेको छ। यस अघि २०१० मा आसिया बीबी नाम गरेकी एक इसाई महिलाविरुद्ध पनि यसै कानुन अन्तर्गत मुद्दा चलाएर मृत्युदण्डको सजाय सुनाइएको थियो। नोभेअर २०१८ मा त्यहाँको सर्वोच्च अदालतले उनलाई निर्दोष रहेको फैसला सुनाए पछि त्यस निर्णयविरुद्ध पाकिस्तानभरि प्रदर्शन भएका थिए। त्यसपछि आसिया परिवार सहित क्यानाडा विस्थापित भएकी थिइन्।

तेल प्रशोधन केन्द्रमा आक्रमणपछि तेलको मूल्य बढ्यो

एजेन्सीः साउदी अरबका तेल प्रशोधनस्थलमा दुईवटा आक्रमण भएपछि पेट्रोलियम पदार्थको मूल्य चार महिनामा सर्वोच्च भएको छ । शनिवार ती आक्रमण भएपछि साउदी अरबले तेल र ग्यासको उत्पादनमा कटौती गरेको थियो । त्यसबाट विश्वभरि हुने आपूर्ति पाँच प्रतिशतले ले घटेको छ । व्यापार सुरु हुँदा ब्रेन्ट कच्चा तेलको मूल्य १९५ ले वृद्धि भई प्रतिब्यारल ७१.९५ अमेरिकी डलर पुगेको थियो । त्यसैगरी वेस्ट टेक्सस इन्टरमिडिएट भनिने अर्को कच्चा तेलको मूल्य १५५ ले बढ्दा प्रतिब्यारल ६३.३४ डलर पुग्यो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा सञ्चित तेल वितरण गर्न अनुमति दिएपछि बढेको मूल्य केही घट्यो । पूर्ववत् तेल उत्पादन गर्न साउदी अरबलाई हप्तौँ लाग्न सक्नेछ। साउदी अरबको तेल उद्योगको केन्द्रमा भएका ड्रोन आक्रमणले संसारकै सबैभन्दा विशाल तेल प्रशोधन केन्द्र प्रभावित भएको छ । अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले ती आक्रमणमा इरान संलग्न भएको आरोप लगाएका छन् । तर तेहरानले उक्त आरोपको खण्डन गर्दै त्यसलाई अमेरिकाको ‘जाल’ भनेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्विटरमार्फत् अमेरिकाले दोषी चिनेको टिप्पणी गरेका छन् । अमेरिका कारबाहीका लागि तयार रहेको आशय व्यक्त गर्दै उनले साउदी अरब कसरी अघि बढ्न चाहन्छ त्यो जान्न आफूले प्रतीक्षा गरिरहेको बताए । तेहरानसँग निकट मानिएका यमनका हुथी विद्रोहीहरूले आक्रमण आफूहरूले गराएको दाबी गरेका छन् । तेल आपूर्तिमा कस्तो प्रभाव पर्ला? साउदी अरबले आक्रमणबारे विस्तृत विवरण दिएको छैन । तर उसले ती आक्रमणमा कोही हताहत नभएको बताएको छ । उसले तेल उत्पादनबारे भने केही सङ्केत गरेको छ। साउदी ऊर्जा मन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले विशाल प्रशोधन केन्द्रहरू प्रभावित भएकाले उत्पादन केही घट्न गएको बताएका छन् । साउदी अधिराज्य संसारको सबैभन्दा ठूलो तेल निर्यातकर्ता हो । उसले दैनिक ७० लाख ब्यारलभन्दा बढी परिमाणमा तेल अन्यत्र पठाउने गरेको छ । लन्डनस्थति इन्टरफ्याक्स एनर्जीसँग आबद्ध विश्लेषक अभिषेक कुमार भन्छन्, ‘साउदी अधिकारीहरूले आगो नियन्त्रण भएको दाबी गरेका छन् । तर अब्काइक र खुरैसमा व्यापक क्षति भएको जस्तो देखिन्छ । अनि तेल आपूर्ति सामान्य हुन हप्तौँ लाग्न सक्छ ।’ (बीबीसी)

उड्न लागेको विमानमा मौरीले हमला गरेपछि …

कोलकाता । उड्न लागेको विमानमा मौरीले हमला गर्दा यात्रीले तीन घण्टाभन्दा बढी समय सास्ती व्यहोर्नु परेको छ । भारतको कोलकातास्थित विमानस्थलमा आइतबार एयर इन्डियाको एउटा विमानमा मौरीले हमला गरेको हो । उडानका लागि रनवेमा विमान पुगिसकेपछि मौरीको झुण्ड विमानको अघिल्लो भागमा आएर बसेपछि पाइलटले उडान रोकेका हुन् । मौरी बसेकै अवस्थामा विमान उडाउँदा इन्जिनभित्र मौरी पस्न सक्ने र जोखिम निम्तिन सक्ने भएपछि पाइलटले ‘एयर कन्ट्रोल रुम’मा जानकारी गराएका थिए । उक्त विमानलाई पुनः ‘ट्याक्सी वे’ मा फिर्ता ल्याएर दमकलको सहायतामा मौरी भगाइएको थियो । प्राविधिकहरुले विमानको इन्जिनभित्र मौरी पसे–नपसेको जाँच गरेपछि मात्र उक्त विमान निर्धारित गन्तव्यतर्फ उडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमान निर्धारित समयभन्दा तीन घण्टाभन्दा बढी ढिलोगरी प्रस्थान गरेको बताइएको छ । एजेन्सी

वर्षाले तोड्यो भारतमा ७५ वर्ष पुरानो रेकर्ड

काठमाडौं । भारतको मध्यप्रदेशस्थित मन्दसौरमा वर्षाले ७५ वर्ष पुरानो रेकर्ड तोडेको छ । यसपटक मनसुनमा अहिलेसम्म ७७.५ इन्च वर्षा भइसकेको छ । यसअघि सन् १९४४ मा ६२ इन्च वर्षा भएको थियो । निरन्तर वर्षा भएको उक्त क्षेत्रमा शुक्रबार साँझदेखि आइतबार बिहानसम्म ९ इन्च वर्षा भएको थियो । जसका कारण २०० गाउँमा मानिसको कम्मर कम्मर पानीको मात्रा पुगेको छ । ११७ गाउँ खाली गराइएको छ भने २० हजार मानिसलाई ५५ वटा राहत क्याम्पमा राखिएको छ । शनिबार राति गान्धीसागर ड्यामको पानी मन्दसौर र निमच जिल्लाका ६३ गाउँमा पसेको थियो । राति मानिसहरु सुतेका बेलामा उक्त घटना भएपछि उद्दारमा कठिन भएको थियो । उक्त क्षेत्रमा रेड अलर्ट कायमै रहेको छ । गान्धीसागरबाट १६ लाख क्यूसेक पानी आएको बताइएको छ । भोपाल र इन्दोरमा सोमबार–मंगलबार वर्षा हुने जनाईएको छ । २२ सेप्टेम्बरपछिमात्र वर्षामा कमी आउने पनि उल्लेख गरिएको छ । १२ राज्यमा दुई दिन भारी वर्षा हुने चेतावनी दिइएको छ ।