प्रेम प्रस्ताव राख्न प्रधानमन्त्रीसँग हेलिकोप्टर मागेपछि……

काठमाडौंः भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ताको एउटा ट्वीट निकै रोचक छ जसमा उनले एक प्रयोगकर्तालाई हेलिकोप्टर बिना नै प्रेम प्रस्ताव राख्नुका फाइदाबारे बताइरहेका छन् । ओडिशाका एक प्रयोगकर्ताले प्रधानमन्त्री मोदीलाई ट्याग गर्दै प्रेम प्रस्ताव राख्न हेलिकोप्टरको माग गरे । उनले एकपटक होइन बारम्बार ट्वीट गरे ।

हालै भाजपाका प्रवक्ता बनेका बैजन्त जय पाण्डाले उनको यो ट्वीटमा प्रतिक्रिया दिँदै उनलाई हेलिकोप्टर नलैजान सल्लाह दिए । र हेलिकोप्टर बिना नै प्रस्ताव राख्नुका फाइदा पनि बताए । पाण्डाले लेखेका छन्, ‘तपाईंले यसका लागि पटकपटक अनुरोध गर्नुभयो । तर मलाई लाग्छ तपाईंले हेलिकोप्टर बिना नै प्रस्ताव राख्नुपर्छ । किनभने उनको प्रतिक्रिया बाह्य तत्वबाट मुक्त हुनुपर्छ । यद्यपि, हेलिकोप्टर बिना नै राखेको प्रस्ताव यदि स्विकार गरियो भने विवाहको दिन उनी आफैंले हेलिकोप्टरमा उडाइदिने वचन पनि दिए । एजेन्सी

पाकिस्तानी प्रधानमन्त्री इमरान खानद्वारा मोदीलाई बधाई

काठमाडौं, जेठ ९ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जितको बधाई एवं शुभकामना दिएका छन् । पाकिस्तानी प्रधानमन्त्री खानले भारतीय समकक्षी मोदीलाई बधाई दिँदै दक्षिण एसियाको शन्ति, प्रगति र समृद्धिका लागि मिलेर काम गर्न चाहेको बताएका छन् । गएको फेब्रुअरीमा पुलवामामा भएको आतंककारी आक्रमणपछि भारत–पाकिस्तान सम्बन्ध चिसिएको थियो । लोकसभा चुनावको मतपरिणाम सार्वजनिक हुने क्रममा छ । पछिल्लो मतपरिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी) एक्लै सरकार बनाउने हैसियतमा आएको छ । उसले झण्डै ३०० सिटमा अग्रता बनाएको छ ।

गौतम गम्भीर ३ लाख १० हजार मत ल्याएर विजयी

नयाँदिल्ली, जेठ ९ । भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी गौतम गम्भीर भारतीय लोकसभा निर्वाचनमा पूर्वी दिल्लीबाट विजयी भएका छन् । दिल्लीको पूर्वी क्षेत्रबाट गौतम ३ लाख १० हजार ६ मत ल्याएर विजयी भएका हुन् । भारतीय जनता पार्टीबाट उम्मेदार रहेका गम्भीरलाई निटतम प्रतिद्धन्द्धी कांग्रेसका अरविन्दर सिंह लभ्लीले १ लाख ५३ हजार २ सय ७९ मतले पछ्याएका थिए । ३७ वर्षीय गौतमले गत महिना मात्र भाजपा प्रवेश गरेका थिए ।

मोदी र ट्रमबीच कस्ता छन् समानता?

बीबीसी नेपालीः भारतमा भरखरै सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टी बलियो रूपमा देखा परेको छ । सो निर्वाचनको प्रचारप्रसार गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै दौडधुप गरे । दोस्रो कार्यकालको अपेक्षामा रहेका उनी १४० भन्दा बढी चुनावी कार्यक्रममा सहभागी भए । सन् २०१६ मा अमेरिकामा भएको निर्वाचनमा डोनल्ड ट्रम्पले पनि त्यति नै सङ्ख्यामा चुनावी सभामा सहभागिता जनाएका थिए । बीबीसीकी रजनी वैद्यनाथनले यी दुई नेताको व्यक्तिप्रधान राजनीतिक प्रवृत्तिमा देखिएका समानताबारे विश्लेषण गरेकी छन् । भारतको राजधानी नयाँ दिल्लीमा एउटा गर्मी र धुलाम्मे साँझ। रामलीला मैदानमा ठुलो भिड जम्मा भएको छ। मैदाननजिकै सडकमा मोदीका विशाल प्रतिमा लहरै राखिएका छन्। मैदानबाहिर बाजा बजाउने टोलीले भारतमा हुने विवाह समारोहमा जस्तै बलिउडका गीतको धुन बजाउँदैछन्। मोदीको भारतीय जनता पार्टी (भाजपा) का समर्थकहरू मैदान प्रवेश गर्न जम्मा हुँदैछन्। उनीहरूमध्ये केही नाच्दै र गाउँदै छन् भने केही ‘मोदी मोदी’ भन्दै नारा लगाइरहेका छन्। प्रचारात्मक सामग्री बिक्री गर्ने व्यक्तिहरू त्यहाँ एक्कासि देखा पर्छन्। ‘तपाईँलाई भाजपा छाता चाहिन्छ?’ भाजपाको प्रतिनिधित्व गर्ने हरियो र सुन्तला रङ्ग भएको छाता खोल्दै उनले मलाई सोधे। यस्तो किसिमको राजनीतिक उन्मादले मलाई सन् २०१६ मा डोनल्ड ट्रम्पको चुनावी सभामा देखेको ऊर्जाको स्मरण गराउँछ। मोदीजस्तै ट्रम्पको चुनावी नारा “मेकिङ अमेरिका ग्रेट अगेन” अर्थात् अमेरिकालाई फेरि महान् बनाउने भन्ने अवधारणामा तयार पारिएको थियो। सत्ताइस वर्षका अरुण वंसलले “नमो अगेन” अर्थात् फेरि पनि नरेन्द्र मोदी लेखिएको पहिरन लगाएका छन्। “राष्ट्रिय सुरक्षा र पाकिस्तान यस पालिको चुनावका महत्त्वपूर्ण मुद्दा हुन्,” भाजपाका एक कार्यकर्ताले मलाई भने। सन् २०१६ को अमेरिकी निर्वाचनलाई छिमेकी राष्ट्र मेक्सिकोप्रति ट्रम्पको कडा धारणाका रूपमा अर्थ्याउने हो भने भारतीय निर्वाचनलाई कैयौँ आधारमा भारत-पाकिस्तान सम्बन्धका विषयमा आफू कडा र उपयुक्त पात्र भएको मोदीले आभास गराउन खोजेको भन्न सकिन्छ। मैदानभित्र प्रवेश गर्नै लाग्दा मोदीकै जस्तो भेष बनाएका कैयौँ मानिसमध्ये एक जनासँग मेरो भेट भयो। उनका अभिभावकले “लिटल मोदी” भनेर बोलाउने अत्रि सात वर्षका छन्। उनले चुनावी सभाहरूमा चार वर्षको उमेरबाटै सहभागिता जनाउन थालेका हुन्। मेरो ध्यान फेरि अमेरिकाको फ्लोरिडातर्फ गयो। त्यहाँ गर्मी मौसमको एउटा साँझ मैले ट्रम्पजस्तै देखिने कैयौँ व्यक्तिसँग भेट गरेकी थिएँ। “मलाई मोदी राम्रो लाग्छ किनकि उनले राम्रो काम गरिराखेका छन्। उनले गरिबलाई सहयोग गर्ने गरेको सबैले भन्ने गर्छन्,” कुनै दिन प्रधानमन्त्री बन्ने सपना बोकेका अत्रि भन्छन्। मैदानमा छिर्दै गर्दा राष्ट्रवादी सङ्गीत बजिरहेको छ र बिस्तारै सीट भरिन्छ। दुवै नेता आफ्ना समर्थकलाई अपनत्वको अनुभूति गराउन सिपालु मानिन्छन्। अर्को कुरा भेषभूषाको। दुवै नेताका र्‍यालीमा सहभागीहरूको शिरमा टोपी देखिन्छ। अमेरिकामा एमएजीए लेखिएको रातो टोपी थियो। यहाँ भने ‘नमो अगेन’ लेखिएको गेरु रङ्गको टोपी छ। हरमिन्दर सिंह भाटिया नरेन्द्र मोदीको जस्तै इस्टकोट लगाएर आएका छन्। साँझको प्रकाशमा पोलिस्टरको उनको लुगा केही टल्किन्छ। “उनी प्रधानमन्त्री भएदेखि यो क्षेत्रमा आयोजित उनका सबै र्‍यालीमा म गएको छु,” उत्साहित हुँदै उनी मलाई भन्छन्, “उनी परिश्रम गर्छन्, उनी देशबारे चिन्ता गर्छन्। उनी बलिया नेता भएकाले म उनलाई मन पराउँछु।” मैदान भरिँदै गर्दा सूर्यास्तको बेला हुन्छ। यो भिडमा मृदुला अनेजाजस्ता महिला कति होलान् भनेर मलाई खुलदुली हुन्छ। उनी संस्कृतकी शिक्षिका हुन् र तेस्रो चोटि मोदीको र्‍यालीमा सहभागी हुँदैछिन्। मेरो ट्विटरमा जतिखेर पनि मोदीबारे प्रेषित सामग्रीको सूचना आइराखेकै छ। ट्र्म्पले जस्तै मोदीले पनि आफ्ना समर्थकलाई सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष सन्देश दिनेगरेका छन्। मोदी यो कार्यक्रममा आउँदै गर्दा मेरो फोनमा अलर्ट बजिराखेको छ। “प्रधानमन्त्री मोदी र म सामाजिक सञ्जालमा विश्वनेता हौँ।” सन् २०१७ मा दुई जनाको ह्वाइट हाउसमा भेट हुँदा ट्रम्पले भनेका थिए। ट्विटरमा ट्रम्पका छ करोड ४० लाख फलोअर छन् भने मोदीका चार करोड ७३ लाख। मैले फोनबाट दृष्टि मोड्दै गर्दा मोदीजस्ता अर्का व्यक्ति पनि नजिकैबाट हिँड्छन्। म उनलाई दोहोर्‍याएर हेर्छु। रणवीर धियम सरकारी सेवाबाट अवकाशप्राप्त कर्मचारी हुन्। उनी हिजोआज एउटा र्‍यालीबाट अर्को र्‍यालीमा गइराख्छन्। “यो निर्वाचनमा पाँच सय मानिस मसँग सेल्फी खिच्न आए,” उनले मलाई सगर्व भने। मैले पनि उनीसँग सेल्फी खिँचे। ट्रम्पजस्तै मोदी पनि कसलाई अन्तर्वार्ता दिने भनेर छान्छन्। उनको छनोटमा आफूप्रति सद्भाव राख्ने र भाजपालाई अप्ठेरो नपार्ने माध्यम हुने गर्छन्। ट्रम्पको छनोटमा फक्स न्यूज परेजस्तै। भिड केही बेर शान्त हुँदा वास्तविक मोदी आउँदै गरेको सूचना दिइन्छ। केही मिनेटपछि प्रधानमन्त्रीलाई करतलध्वनिले स्वागत गर्न आग्रह गर्दै उद्घोषकले उनलाई मञ्चमा स्वागत गर्छन्। त्यसका लागि उनी पाकिस्तानमा भारतले गरेको हवाई आक्रमणको सन्दर्भ जोड्दै “तालीको हवाई आक्रमण” भन्ने आशयको शब्दावली प्रयोग गर्छन्। समर्थकहरू चिच्याउँदै र मोबाइल फोन बजाउँदै एकै स्वरमा “मोदी, मोदी” को नारा घन्काउँछन्। आफ्नो भाषण थाल्दा मोदी “भारत माताको जय” भन्छन्। फेरि मैले २०१६ को अमेरिकी निर्वाचनमा “यूएसए, यूएसए” को नारा लगाएको सम्झिएँ। ट्रम्पले जस्तै मोदी पनि समर्थकसँग नबोलीकनै सङ्केतबाट अन्तर्क्रिया गर्न रुचाउँछन्। “के हामीले आतङ्कारीलाई तिनकै देशमा मार्नु हुँदैन र?”, उनी सोध्छन्, “मलाई भन्नुहोस् – पर्दैन त?” “पर्छ,” भिडले उत्तर दिन्छ। मोदी आफ्ना प्रमुख प्रतिद्वन्द्वी तथा कङ्ग्रेस पार्टीका नेता राहुल गान्धीको आलोचना गर्न पनि छोड्दैनन्। मोदी र ट्रम्प दुवै जना अभिजात वर्गलाई रुचाउँदैनन्। दुवै जनाले राजनीतिक परिवारका व्यक्तिसँग प्रतिस्पर्धा गरेका छन्। ट्रम्पले पूर्वराष्ट्रपतिकी पत्नी हिलरी क्लिन्टनसँग र मोदीले नेहरू-गान्धी परिवारका उत्तराधिकारी राहुल गान्धीसँग। “उनीहरू आफ्ना पूर्वजको नाम भजाउँदै मत माग्छन्। तर तिनका पूर्वजले के गरे भनेर सोद्धा उनीहरू रिसाउँछन्।” मोदीले यसो भन्दा सयौँ समर्थकहरू सहमति जनाउँछन्। राहुल गान्धीका दिवङ्गत पिताको आलोचना गरेकाले मोदी अलोकप्रिय भएको धेरैलाई लाग्यो। तर उनले आलोचान गर्न छोडेनन्। सन् १९९१ मा हत्या गरिएका पूर्वप्रधानमन्त्री राजीव गान्धीलाई मोदीले “भ्रष्टाचारी नम्बर एक” भनेका थिए। यसले मलाई डोनल्ड ट्रम्पले सिनेटर जोन मक्केनलाई लक्षित गर्दै प्रयोग गर्ने उस्तै अपमानजनक भाषा सम्झायो। दुवै जना आफू स्पष्टवक्ता भएको भनेर गौरव गर्छन्। तर उनीहरूको भाषण कहिलेकाहीँ अप्रिय पनि हुने गरेको छ। बीबीसी नेपालीबाट

भारतीय लोकसभा निर्वाचनः गौतम गम्भीरको जीत निश्चित

एजेन्सी । भारतीय पूर्व क्रिकेटर गौतम गम्भीरले भारतमा जारी लोक सभा निर्वाचनमा जीत नजिक पुगका छन् । पूर्वी दिल्लीबाट बीजेपी उम्मेदवार बनेका गम्भीरले खसेको मतमध्ये लगभग ५३ प्रतिशत बढी मत प्राप्त गरिसकेका छन् । यसकारण अब उनी जीतको सेरोफेरामा छन् । गौतमले अहिलेसम्म ४ लाख ७९ हजार मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार अरबिन्दर सिंह लभ्लीले २ लाख ३५ हजार मत प्राप्त गर्दा आम आदमी पार्टीकी उम्मेदवार आतिशीले १ लाख ६४ हजार मत प्राप्त गरेकी छिन् । पूर्वी दिल्ली लोकसभा क्षेत्रमा अहिलेसम्म झण्डै ९ लाख मत गनिएको छ ।

निर्वाचन परिणाममा विवाद हुँदा ६ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाका राजधानी जाकार्तामा राष्ट्रपतिको निर्वाचनको परिणाम बाहिएलगत्तै शुरु भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रर्दशनकारीबीचमा भएको झडपमा परी ६ व्यक्तिको मृत्यु भएको छ । साथै २ सय भन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार बिहान ९ बजेसम्म ६ व्यक्तिको मृत्यु हुनुको साथै करिब २ सय भन्दा बढी घाइते भएका मध्य जाकार्तामा रहेको एक अस्पताल स्रोतले जानकारी दिएको छ । गए रातिबाट शुरु भएको यो झडप ५ घण्टासम्म जारी रहेको थियो । विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडो मङ्गलबार पुनः राष्ट्रपति पदमा निर्वाचित भएका थिए । जाकार्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासित रुपमा निर्वाचन परिणाम घोषणा भएपछि राष्ट्रपति विडोडोको निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोका समर्थकहरुले निर्वाचनमा धाँधली भएको दाबी गर्न थालेका थिए । सत्तासिन राष्ट्रपति विडोडोले ५५।५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएपछि उनको विरोधमा प्रर्दशनकारीहरुले प्रर्दशन शुरु गरेका थिए । निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गरेका थिए । निर्वाचन आयोगले मतगणना गरिसकेपछि स्थानीय समयानुसार मङ्गलबार बिहान १ः४६ मा विडोडोलाई पुनः राष्ट्रपतिमा विजय भएको घोषणा गरेको थियो । इण्डोनेसियाका ३४ वटा प्रान्तका १३० शहरमा मतगणना गरिएको आयोगले जनाएको छ । सन् २०१४ मा पनि विडोडोले ५३।१५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने उनका निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुबिआन्तोले ४६.८६ प्रतिशत प्राप्त गरेका थिए । निर्वाचनको परिणाम बाहिरीएपछि प्राबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मानेका थिएनन् । उनले पाँच वटा प्रान्तमा निर्वाचन फेरि गराउनुपर्ने अडान लिएका थिए । यी प्रान्तमा धाँधली भएको प्राबोवोको दाबी छ ।

ह्वावेई-गुगल विवाद: के होला अब?

गुगलले ह्वावेईमा स्मार्टफोनहरूमा प्रतिबन्ध लगाएपछि आक्रामक रुपमा बाजार बिस्तार गरिरहेको चिनियाँ प्राविधि कम्पनीको व्यापार ता प्रभावित हुने नै छ यसका साथै विश्वकै दोस्रो ठुलो स्मार्टफोन निर्मातालाई स्पेयर पार्टस उपलब्ध गराइरहेका चिपसेट निर्माता कम्पनीहरूको व्यापारमा पनि आकस्मिक व्यवधान आउने निश्चित छ । सोमवार गुगलको घोषणाको प्रत्यक्ष प्रभाव अमेरिकी सेयर बजारमा देखा परेको छ । जहाँ क्वालकम, एनभिडिया, एडभान्स माइक्रो डिभाइसेस, ल्याम रिसर्च जस्ता अमेरिकी चिपसेट निर्माता कम्पनीहरूले लगानीकर्ताहरूको विश्वास गुमाएका छन् । यी कम्पनीहरूले ह्वावेईलाई स्पेयर पार्टस उपलब्ध गराउने गरेका थिए । एन्ड्रोइड अपरेटिङ सिस्टम’मा ह्वावेईको पहुँचमाथि लगाइएका प्रतिबन्धहरूको असर सो चिनियाँ कम्पनीले मङ्गलवार ल्याउन लागेको पछिल्ला मोबाइल सेटहरूमाथि लामो समयसम्म रहनेछ। लन्डन अनर ट्वेन्टी सिरिजको स्मार्टफोन सार्वजनिक गर्ने कार्यक्रममा सो कम्पनीले विश्वभरिका सञ्चारमाध्यमलाई निम्त्याएको छ। बीबीसीले दिएको जानकारी अनुसार ती नयाँ मोबाइल सेटमा गुगलको एप स्टोरसहित पूर्ण ‘एन्ड्रोइड अपरेटिङ सिस्टम’ उपलब्ध हुनेछ। तर अमेरिकी सरकारसँगको विवाद समाधान नभएको खण्डमा ह्वावेईले एन्ड्रोइड प्रयोग गरिरहने निर्णय गरेमा आगामी सेटहरूमा गुगलका थोरै सेवाहरूमात्र उपलब्ध हुनेछन्। अब के होला? हाललाई अमेरिकाले वर्तमान ग्राहकहरूलाई सहज पार्ने उद्देश्यले ह्वावेईविरुद्ध प्रविधि हस्तान्तरणसम्बन्धी कडा नियम लागु गर्ने कार्य तीन महिनाले पछि सारेको छ। वाणिज्य मन्त्रालयले ह्वावेईको सञ्जाल सञ्चालन तथा उसको मोबाइलका सफ्टवेअर अपडेटजस्ता सेवा अस्थायी रूपमा पुनर्स्थापित गरिदिएको छ। तर त्यो सहुलियत तीन महिनापछि के हुन्छ भन्ने स्पष्ट छैन। विश्वकै दोस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनीसँग गुगल सम्बन्ध तोड्न चाहँदैन। ह्वावेईले हाल ५० करोड मनिसहरूले आफ्नो फोन प्रयोग गर्ने बताएको छ। सिद्दान्तत: अमेरिकी वाणिज्य मन्त्रालयले गुगललाई ह्वावेईसँगको सम्बन्ध कायम राखिराख्न अनुमति दिनसक्छ वा अहिलेको प्रतिबन्धलाई स्थगित गर्नसक्छ। तर प्रतिबन्ध कायम भएको अवस्थामा के हुनसक्छ त? गुगल के गर्दैछ? अमेरिकी प्रविधि कम्पनीले ह्वावेइसँगका सरसामान आदानप्रदान र प्राविधिक सेवाजस्ता सबै ‘गैरसार्वजनिक’ व्यापारिक क्रियाकलापलाई स्थगित गरेको छ। यसको अर्थ ह्वावेई फोनमा एन्ड्रोइड हराउछ भन्ने होइन किनभने एन्ड्रोइड स्मार्टफोन निर्माताहरूले चाहेअनुरुप परिवर्तन गर्न सकिने ओपन सोर्स सफ्टवेयर हो। तर अभ्यासमा भने धेरै निर्माताहरू गुगलले दिने सेवामा भर पर्छन्। र गुगलले यसका निम्न कुराहरूमा नियन्त्रण राख्छ:  एपहरू डाउनलोड गर्ने प्ले स्टोर  गुगलका एपहरू  गुगल एसिस्टेन्ट भनिने सहयोगी एप  जीमेल इमेल सेवा  र अन्य एपलाई एन्ड्रोइडसँग जोडिन दिने प्रविधि अहिले चलिरहेका ह्वावेईका सेटमा के हुन्छ? ह्वावेई वा अनर फोन बोक्नेहरूका लागि भने अचानक एप राख्न नमिल्ने वा अद्यावधिक नहुने भन्ने हुनेछैन्। यसको कारण भनेको अहिले चलनचल्तीमा रहेका सेटहरू प्रमाणित भइसकेका हुन् तर त्यसमा नयाँ भर्सन दिन वा एप डाउनलोड गर्न दिन गुगलले ह्वावेईसँग सम्बन्ध राखिरहनुपर्दैन। तर सुरक्षा अप्डेटहरूका विषयमा भने यो फरक हुनसक्छ। गुगलले कुनै सुरक्षा खतरा देखेको अवस्थामा एक महिना पहिले निर्माता कम्पनीहरूलाई जानकारी दिएर मात्रै सार्वजनिक रूपमा अप्डेट जारी गर्नेगर्छ। यसले गर्दा निर्माता कम्पनीहरूलाई अप्डेटले आफ्नो फोनमा कस्तो असर पार्छ भनेर जाँच गर्न समय दिन्छ। ह्वावेईले अब भने अप्डेट जारी गरिएको दिन मात्रै सोको जानकारी पाउने छ र उसको फोन प्रयोगकर्तालाई अप्डेट दिन केही समय लाग्नेछ। यसले कुनै ठूलै खतरा देखिदाँ ह्वावेईका फोनहरू केही दिन वा हप्ताका लागि खतरामा रहनेछन्। नयाँ सेटमा के हुन्छ? नयाँ मोबाइल सेटहरू भने प्रमाणित हुनेछैनन् र यसको कारण निम्न एपहरू फोनमा हुनेछैनन्।  प्ले‍स्टोर, म्युजिक र अन्य मिडिया  गुगल फोटोज  यूट्युब  गुगल म्याप्स  गुगल ड्राइभ  गुगल डुओ यीमध्ये केही सेवाहरू फोनमा इन्टरनेटमार्फत् प्रयोग गर्न सकिन्छ तर त्यसरी प्रयोग गर्न सहज छैन। चीनमा गुगलका धेरै सेवाहरू प्रतिबन्धित भएका कारण त्यहाँका प्रयोगकर्ताहरूलाई यसले ठूलो असर गर्नेछैन। र ह्वावेईका फोनहरू एन्ड्रोइडका नयाँ भर्सनमा नगई अहिलेकै भर्सनमा रहिरहेको अनुमानसमेत गरिएको छ। तर अबको नयाँ भर्सन निर्माता कम्पनीहरूलाई दिइसकिएकोले एन्ड्रोइड क्यू भने ह्वावेईका फोनहरूमा आउन सक्छ। त्यसपछिका नयाँ भर्सन भने नआउन सक्छ। ह्वावेईका विकल्प ह्वावेईले बीबीसीलाई एन्ड्रोइडसँग सहकार्य गर्न इच्छुक भएको बताउँदै नयाँ अपरेटिङ सिस्टम विकास गरेको बताएको छ। “हामीले यस्तो कुराका लागि तयारी गरेका छौँ,” ह्वावेई यूकेका कार्यकारी उपाध्यक्ष जेरेमी थम्प्सनले भने। “हामी समानान्तर रुपमा वैकल्पिक व्यवस्था गरिरहेका छौँ र त्यसले हाम्रो प्रयोगकर्ताहरूलाई खुसी बनाउनेछ।” “छोटो समयका लागि यो ह्वावेईको लागि शुभ समाचार होइन, तर हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ।” चीनमा अधिकांश प्रयोगकर्ताले वीच्याट प्रयोग गर्ने र त्यसमा अन्य एप चलाउन पनि मिल्ने भएकोले यसले ठूलो फरक ल्याउनेछैन। र अन्य एप विकासकर्ताहरू पनि नयाँ अपरेटिङ सिस्टममा आफ्नो एप चल्न मिल्ने बनाउन दबावका हुनेछन्। तर अन्यत्र भने नयाँ सिस्टमले समस्या ल्याउनेछ। “उनीहरूले जेसुकै बनाएको भए पनि त्यसलाई स्थापित गर्न सहज हुनेछैन,” प्रविधि समाचार वेबसाइट एक्सडीए डेभलपर्सका प्रधान सम्पादक मिसाल रहमान भन्छन्। “किनभने मोबाइल अपरेटिङ सिस्टमको सफलता भनेको कति एपहरू उपलब्ध छन् भन्ने कुरामा निर्भर गर्छ।” “एपलको पछि एन्ड्रोइड नै सबैभन्दा धेरै एप भएको सिस्टम हो। बीबीसीको सहयोगमा

भारतमा मोदी दोहोरिने मत सर्वेक्षणका नतिजाहरू प्रति विपक्षको यस्तो प्रतिक्रिया

काठमाडौँ, जेठ ६। भारतमा भर्खर सम्पन्न चरणबद्ध मतदानपछि गरिएका मत सर्वेक्षणहरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल बीजेपी नेतृत्वको गठबन्धनले बहुमत ल्याउने आकलन गरेपछि विपक्षी दल तथा नेताहरूले त्यस किसिमका सर्वेक्षणका नतिजाहरू आधिकारिक र भरपर्दा नभएको प्रतिक्रिया दिएका छन् । एक्जिट पोल भनिने त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणहरूले सत्ताधारी भारतीय जनता पार्टी आम निर्वाचनमा विजयी हुने बाटोमा देखिएको जनाएका छन्। पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री तथा अल इण्डिया तृणमूल कंग्रेसकी नेतृ ममता ब्यानर्जीले एक्जिट पोलका नतिजालाई कोरा गफ भन्दै आफूले त्यसमा विश्वास नगर्ने भन्दै ट्वीट गरेकी छन्। उनले आफ्नो ट्वीटमा सबै विपक्षी पार्टीलाई एकताबद्ध हुन आह्वान पनि गरेकी छन्। आइतबार सार्वजनिक भएका चार विभिन्न एक्जिट पोलहरूले बीजेपी नेतृत्वको गठबन्धन, न्याशनल डिमोक्र्याटिक एलाएन्स (एनडिए) ले ठूलो परिमाणमा जित हासिल गर्ने अनुमान गरेका थिए। ती पोलहरूका अनुसार उक्त गठबन्धनले २८० देखि ३१५ सम्म सिट जित्नसक्ने सम्भावना छ। त्यो विपक्षी कंग्रेस पार्टिको भन्दा निकै नै धेरै हुने बताइएको छ। बीजेपीले त्यस्तो पूर्वानुमानको स्वागत गरेको छ र सो पार्टिका थुप्रै नेताहरूले सामाजिक सञ्जालमा आफ्ना कार्यकर्ताहरूको मेहनतलाई बधाइ दिएका छन्। यस्को महत्व किन छ? एक्जिट पोलका नतिजालाई सावधानीपूर्वक लिइनु पर्छ किनकी विगतमा ति गलत पनि सावित भएका छन्। यो तथ्यलाई केही विपक्षी नेताहरूले जोड दिएका छन्। विपक्षी कंग्रेस आइका एकजना चर्चित नेता तथा भूतपूर्व मन्त्री शशी थरुर भन्छन् एक्जिट पोलहरू सबै गलत छन्। गत सप्ताहान्तमा अष्ट्रेलियाको आम निर्वाचनको नतिजाका बारे ५६ वटा विभिन्न एक्जिट पोलहरू गलत भएको उनले ट्वीटमा उल्लेख गरेका छन्। शशी थरुरले वास्तविकत नतिजाका लागि आफूले २३ मेसम्म प्रतिक्षा गर्ने पनि बताएका छन्। नाइडुले ट्वीटरमा लेखेका छन्, “एक्जिट पोलहरूले बारम्बार जनताको धारणा प्रस्तुत गर्न चुकेका छन्। एक्जिट पोलहरू गलत सावित भएका छन् र थुप्रै घटनामा वास्तविकताभन्दा निकै परको पूर्वानुमानहरू भएका छन्।” निर्वाचनका क्रममा बीजेपी र कंग्रेस तथा अन्य विभिन्न राज्यका केही क्षेत्रिय दलहरूबीच चर्को प्रतिस्पर्धा भएको थियो। तर प्रारम्भिक वैचारिक मत सर्वेक्षणहरूले विपक्षीको चुनावी रणनीति असफल भएको तर्फ संकेत गरेका छन्। सबैभन्दा आश्चर्यजनक पूर्वानुमान अगुवा राज्य उत्तर प्रदेशबाट आएको देखिएको छ, जस्ले सबैभन्दा धेरै ८० सदस्यलाई केन्द्रीय संसदमा पठाउने गर्दछ। त्यसैले यो राज्यको नतिजाले भावी सरकार कस्ले बनाउँछ भन्ने विषयमा मूख्य भूमिका खेल्ने गर्दछ। विश्लेषकहरूले सो राज्यमा यसपटक बीजेपीलाई शक्तिशाली क्षेत्रीय पार्टिहरूले पाराजित गर्ने अनुमान गरेका थिए। सन् २०१४ को आम निर्वाचनमा उत्तर प्रदेशबाट बीजेपीले ७१ सिट जितेको थियो। तर धेरै जस्तो एक्जिट पोलहरूले उत्तर प्रदेशमा बीजेपीको प्रदर्शन पहिले अनुमान गरिएभन्दा निकै राम्रो हुने सङ्केत गरेका छन्। एउटा मात्र एक्जिट पोल, नील्सन-एबीपी पोल, ले मात्र त्यहाँ बीजेपीले ५१ भन्दा बढी सिट गुमाउन सक्ने देखाएको छ। र यो एक मात्र एक्जिट पोलले आमनिर्वाचनमा बीजेपी नेतृत्वको गठबन्धनले पूर्ण बहुमत प्राप्त गर्न नसक्ने जनाएको छ।

कुकुरको नाम राख्दा एक जना पक्राउ !

एजेन्सी । चीनको अनहुई प्रान्तका एक बासिन्दालाई आफ्ना कुकुरको नाम छङक्वान र शिक्वान राखेपछि पक्राउ गरिएको छ । त्यस राज्यका सरकारी अधिकारीको नामसँग कुकुरको नाम मिलेपछि उनलाई पक्राउ गरिएको हो । अधिकारीको बेइज्जत गर्न यस्तो गरिएको भन्दै यिङचोउ प्रहरीले यस्तो कदम चालेको हो । ३१ वर्षीय प्यानले कुकुरपालन गर्दै आएका छन् । उनले चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा ती कुकुरको नाम पोस्ट गरेका थिए । सार्वजनिक सञ्जालमा ती नाम आएलगत्तै उनलाई प्रहरीले गिरफ्तार गरेको थियो। प्रहरीले चीनमा पाल्तु जनावरको नाम कुनै अधिकारीको नाममा राख्नु गैरकानुनी भएको स्पष्ट पारेका छन् । उनलाई १० दिनसम्म हिरासतमा राखिनेछ । चीनको सुरक्षा कानुनअन्तर्गत यो सजनय दिइएको प्रहरीले बताएको छ । छङक्वान नगर क्षेत्रमा अपराध नियन्त्रण गर्ने अधिकारी हुन् भने शिक्वान अनौपचारिक सामुदायिक कार्यकर्ता भएको प्रहरीले बताएको छ ।

बोको हराम लडाकूद्धारा १० माझी मारिए

एजेन्सी । नाइजेरियाको आतङ्कवादी समूह बोको हरामका लडाकूहरुले कम्तीमा १० जना माझीको हत्या गरेका छन् । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने मैदुगुरी क्षेत्रमा भएको यस घटनामा परी मारिएका मध्ये शुक्रबार दश जनाको शव भेटिएको स्थानीय आपत व्यवस्थापन अधिकारीले जनाएका छन् । ती लडाकूहरुले माझीहरुलाई गत बिहीबार आक्रमण गरेको जनाइएको छ । उनीहरुलाई मैदुगुरीदेखि ४ किलोमिटर टाढा रहेको अलौडाममा मारिएका हुन् । राजधानी बोर्नोस्थित आपत् व्यवस्थापन कार्यालयका प्रमुख बेल्लो डानबाट्टाले मारिएका माझी मध्ये अधिकांश छिमेकी गाउँ कोन्डुगाका रहेको जानकारी दिए । लेक चाद बासिनेका अध्यक्ष अबुबाकर गामान्दीले माझीहरु मारिएको पुष्टि गर्दै आक्रमणलाई ‘दुर्भाग्यपूर्ण’ भएको बताए । बोको हरामका लडाकूहरुले सन् २००९ देखि अहिलेसम्म २० हजार बढी व्यक्तिको हत्या गरेका छन् भने अरु दशौँ लाख आ–आफ्नो घरबाट विस्थापित भएका छन् । यो समूह नाइजेरियासहित चाद, नाइजर, उत्तरी कामरुनलगायतका देशमा पनि आतङक मच्चाउँदै आएको छ ।

निर्वाचनको मतदान अगाडि गुफामा तपस्या गर्दै मोदी

एजेन्सी । लोकसभा निर्वाचनमा अन्तिम चरणको मतदान अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तपस्या गर्न केदारनाथ पुगेका छन् । उनी शनिबार केदारनाथ मन्दिरको गुफामा तपस्यामा बसेका हुन् । बिहान उनी देहरादुन गएका थिए, जहाँबाट हेलिकोप्टर लिएर केदारनाथ पुगेका हुन् । बिहान केदारनाग पुगेपछि उनले त्यहाँ पूजा गरेका थिए । पूजापछि उनले केदारनाथ क्षेत्र विकासको गुरुयोजनाबारे जानकारी लिएका थिए । यसपछि उनी तपस्यामा बसेका हुन् ।

आइएस लडाकूको आक्रमण परी ६ प्रहरीको मृत्यु

इराक । इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट्स आतङ्ककारी समूहको आक्रमणमा परी चार प्रहरी अधिकृत र अन्य दुई प्रहरीकाे मृत्यु भएकाे समाचारमा जनाइएकाे छ । प्रान्तीय शहर किर्कुकको पश्चिम भागमा अवस्थित हवीजाह शहर नजिकै आइएस लडाकू समूहले एक सवारी साधनलाई लक्ष्य गरी गरेको बन्दुक आक्रमणमा परी चार सङ्घीय प्रहरी अधिकृतको मृत्यु भएको हो । आक्रमण भएको सो इलाका अफगानिस्तानको राजधानी बाग्दादबाट २५० मिटर उत्तरमा अवस्थित रहेको बताइएको छ । किर्कुक शहरबाट ३० किलोमिटर दक्षिणमा पर्ने रसहाद शहर नजिकै रहेको प्रहरी चौकीमा भएको आक्रमणमा दुई प्रहरीको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका छन् । सन् २०१७ को अन्त्यबाट इराकी सुरक्षा बलले गरेको कारबाहीमा परी अतिवादी आतङ्ककारी समूह आइएस देशभरि पराजित भएपछि यहाँको सुरक्षा अवस्थामा नाटकीय रुपबाट सुधार भएको थियो ।

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री हकको निधन

एजेन्सी । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री बब हकको ८९ वर्षको उमेरमा निधन भएको छ । हकका परिवारले बिज्ञप्ति निकालेर उनको घरमा मृत्यु भएको जनाएको हो । उनी लेबर पार्टीको तर्फबाट ३ कार्यकालसम्म अष्ट्रेलियाको प्रधानमन्त्री बनेका थिए । हक सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाका प्रधानमन्त्री बनेका थिए । स्वास्थ्य अवस्था राम्रो नभएकोले उनी २ दिनपछि हुनलागेको आमनिर्वाचनको प्रचारप्रसारमा पार्टीको तर्फबाट सहभागी बन्न सकेका थिएनन् । अहिले विपक्षमा रहेको लेबर पार्टीका नेता रहेको समयमा उनको नेतृत्वमा लेबरले ४ पटकसम्म जित हासिल गरेको थियो । उनी अष्ट्रेलियाका सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री हुने नेताका रूपमा चिनिन्थे । अष्ट्रेलियालाई अन्तर्राष्ट्रियरुपमा ससक्त रुपमा चिनाउन महत्त्वपूर्ण भुमिका खेलेको श्रेय उनलाई दिइने गरिन्छ । उनले अष्ट्रेलियाको स्वास्थ क्षेत्रमा सर्वसाधारणलाई सहज र सुलभ पहुँच दिने मेडिकेयरको सुरुवात गरेका थिए । पछिल्लो समयमा सक्रिय राजनीतिबाट टाढै रहे पनि उनी लेबर पार्टीको संरक्षक मानिन्थे । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले उनको मृत्युले अष्ट्रेलियालाई ठूलो क्षति पुगेको बताएका छन् । उनले अष्ट्रेलियालाई महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै मरिसनले उनी देशको लागि अहोरात्र खट्ने र मनदेखि काम गर्ने नेता भएको बताए ।

श्रीलंकाले लगायो सामाजिक सञ्जालमाथि प्रतिबन्ध

एजेन्सी । आजदेखि श्रीलंका सरकारले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र सन्देश पठाउन मिल्ने विभिन्न एपमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ । देशमा फेरि हिंसा नफैलियोस् भनेर सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको श्रींलकाली अधिकारीले जनाएका छन् । इस्टर पर्वमा भएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकाको मस्जिद र मुस्लिम समुदायले सञ्चालन गर्दै आएका पसलमा पनि आक्रमण भएको थियो । फेसबुकमा सुरु भएको एक विवादलाई लिएर आइतबार एक व्यक्तिमाथि कुटपिट गरिएको थियो, ‘दर्जनौं व्यक्तिले मस्जिद र मुस्लिम समुदायले सञ्चालन गरेको स्टोरमा ढुंगा प्रहार गरे’, एक स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले भनेको छ । फेसबुकमा विवादस्पद स्टाटस पोस्ट गर्ने ३८ वर्षीय अब्दुल हमीद मोहम्मद हसमरलाई गिरफ्तार गरिएको अधिकारीहरुले बताएका छन् ।

चक्रवात फानीको प्रभावः बन्द गरिए कोलकाता र भुवनेश्वर विमानस्थल

एजेन्सी । बंगालको खाडीमा बनेको चक्रवाती तुफान ‘फानी’ को असर देखिन थालेपछि भारतको राज्यय सरकारले पूर्वतयारी गरिसकेको छ । बिहीबार रातिदेखि भुवनेश्वर विमानस्थल बन्द गरिएको छ । त्यस्तै ओडिशाबाट पश्चिम बंगालतर्फ फानी गएकाले कोलकाता विमानस्थल पनि शुक्रबार दिउँसो ४ बजेदेखि शनिबार बिहान ८ बजेसम्म बन्द गरिने भएको छ । ओडिशा सरकारले प्रभावित क्षेत्रका ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको छ । तीमध्ये ५२४ जना गर्भवती महिला रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गञ्जम जिल्लाबाट मात्रै ३ मानिसलाई सारिएको छ । त्यस्तै पुरीबाट १ लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । विभिन्न शेल्टरमा रहेका मानिसहरुलाई खानाको व्यवस्था गर्न ५ हजारभन्दा बढी भान्छाहरु सञ्चालन गरिएको छ ।

क्यालिफोर्नियाको यहुदी प्रार्थना गृहमा गोली चल्यो, एकको मृत्यु, ३ घाइते

क्यालिफोर्निया, वैशाख १५ । अमेरिकाको सानडियागोस्थित एउटा यहुदी प्रार्थनागृहभित्र प्रवेश गरेर एक जना १९ वर्षीय बन्दुकधारीले जथाभावी गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु तीन जना घाइते भएका छन् । गोली लागेर एक महिनाको मृत्यु भएको भने एक जना यहुदी धर्मगुरु र दुईजना घाइते भएको प्रहरीले पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहुदी बिरोधी तत्वले गरेको यस आक्रमणप्रति आपत्ति जनाएको छ । अमेरिकी इतिहासमै यहुदी समुदायमाथि छ महिना अघि पिट्सबर्गको यहुदी प्रार्थनाघरमा सबैभन्दा ठूलो आक्रमण भएको थियो जसमा ११ जनाको हत्या भएको थियो । सीमा सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मी जोन अर्नेष्टले यहुदी प्रार्थनाघरमा आक्रमण गरेको प्रहरीले जनाएको छ । गोली चलाएर भाग्न लागेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाग्ने क्रममा उनैले प्रहरीलाई आफूले प्रार्थनागृहमा आक्रमण गरेको जानकारी दिएका थिए। गोली लागेका तीनै जनाको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। रासस–एपी