दुई महिनाभित्रमै मलेसिया रोजगारी सुचारु
काठमाडौं, चैत ११ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा कायम रहेको सिन्डिकेटको अन्त्य भएको छ। चार महिनाअघि दुई देशबीच भएको श्रम समझदारीअनुसार मलेसियाले कामदारको स्वास्थ्य परीक्षण मापदण्ड नेपाललाई पठाएसँगै बायोमेट्रिक तथा माइग्राम्सका नाममा कायम रहेको सिन्डिकेट अन्त्य भएको छ ।
स्वास्थ्य परीक्षण मापदण्ड प्राप्त भएसँगै गत १२ कात्तिकमा दुई देशबीच भएको श्रम समझदारीअनुरुप अबरुद्ध मलेसियाको रोजगारी सुचारु हुने देखिएको छ। नियमति प्रक्रियाबाट कामदार मलेसिया जान अझै २ महिना कुर्नुपर्ने हुन सक्छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा गोपाल साउदले लेखेका छन्।
तीन जनाको लागि २ बोतल भोड्का ठीक कि ३ बोतल भोड्का चाहिँ ५ जनाको लागि ठीक?
एजेन्सी । सबैलाई गणित आउँछ, फरक यति हो कसरी बुझ्ने बुझाउने ! यस्तै भन्छन् सोभियतसंघका प्रसिद्ध गणितज्ञ इजरेल गेलफान्ड । उनको यो भनाइ प्रसिद्ध छः मानिसहरु ठान्छन्, आफूलाई गणित आउँदैन । तर वास्तविकता चाहिँ यो हो कि सबैलाई गणित आउँछ । फरक यति हो, तपाईं त्यसलाई कसरी व्याख्या गर्नु हुन्छ । उनी भन्छन्ः यदि तपाई एउटा रक्स्याहा व्यक्तिलाई २/३ वा ३/५ मा कुन ठूलो होु भनेर सोध्नुभयो भने उसले त्यसको सही जवाफ दिन सक्दैन । तर त्यही प्रश्नलाई घुमाएर तपाईंले ३ जनाको लागि २ बोतल भोड्का ठीक कि ३ बोतल भोड्का चाहिँ ५ जनाको लागि ठीकु भनेर सोध्नुभयो भने उसले फ्याट्टै उत्तर दिन सक्छः २ बोतल भोड्का ३ जनाको लागि ठीक हो भनेर । स्मरण रहोस्, आधुनिक गणित विज्ञानमा अतुलनीय योगदान दिएका, गणितका प्रसिद्ध पुस्तक क्याल्कुलस अफ भेरिएसन ९२०६३० का लेखक, १९ वर्षको उमेरमै मस्को स्कुल अफ युनिभर्सिटीले कुनै औपचारिक डिप्लोमा डिग्रीहरुबिनै गणितको ग्राजुएटको रुपमा स्वीकारेका व्यक्ति हुन् गेलफान्ड । सन् १९१३ को सेप्टेम्बर २ मा युक्राइनमा जन्मेका र २००९ अक्टोबर ५ मा अमेरिकामा मरण वरण गरेका गेलफान्ड मस्को स्टेट युनिभर्सिटी (सोभियतसंघ), हावर्ड युनिभर्सिटी (अमेरिका) लगायत विभिन्न प्रसिद्ध विश्वविद्यालयहरुमा प्रोफेसर पनि थिए । गणितमा गरेका अतुलनीय योगदानका कारण उनलाई अक्सफोर्ड लगायत विभिन्न विश्वविद्यालयहरुले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेका थिए भने उनी मस्को म्याथम्याटिकल सोसाइट, अमेरिकन नेसनल एकेडेमी अफ साइन्स, अमेरिकन एकेडेमी अफ आर्टस् एण्ड साइन्स, सोयल आयरिस एकेडेमी, अमेरिकन म्याथम्याटिकल सोसाइटी, लन्डन म्याथम्याटिकल सोसाइटी लगायतका संस्थाहरुको अध्यक्ष समेत रहिसकेका सम्मानित व्यक्ति हुन् । विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारहरु जितिसकेका गेलफान्डलाई गणितमा उनले गरेका योगदानका कारण तत्कालीन सोभियत संघको अत्यन्तै सम्मानित पदक अडर अफ लेनिन तीन पटक प्रदान गरिएको थियो । गणितका दर्जनौं क्षेत्रमा योगदान गरेर ‘लिजेन्ड’ बनेका गेलफान्डकै गणितीय ढाँचामा आधुनिक एमआरआइ र सिटी स्क्यानर मेशिनहरुको कार्यक्षमता आधारित रहेको मानिन्छ । यो सामग्री रातोपाटी अनलाइनबाट साभार गरिएको हो ।
इण्डोनेसियामा बाढी, कम्तिमा पनि ७३ जनाको मृत्यु
काठमाडौँ, चैत ४। इन्डोनेशियाको पूर्वी प्रान्त पपुआमा बाढीले ठूलो धनजनको क्षति भएको छ। अहिलेसम्म प्राप्त विवरणका अनुसार बाढीमा परेर कम्तीमा ७३ जनाको ज्यान गएको छ भने ६० भन्दा बढी मानिसहरू हराएका छन्। उद्धारकर्मीहरूले पपुआको दुर्गम क्षेत्रमा पुग्न सङ्घर्ष गर्नुपरेको छ। हताहत हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ। बाढीपछि पहिरो गएको छ र रूखहरू ढलेका छन्। त्यसले गर्दा बाटो अवरुद्ध भएको छ। बाढीले दुईवटा पुल र सयभन्दा बढी घरहरूमा क्षति पुर्याइदिएको छ। कम्तीमा चार हजार मानिसहरू घर छोडेर अन्यत्र गएका छन्। तिनमध्ये केहीले सरकारी कार्यालयहरूमा आश्रय लिएका छन्। स्थानीय बासिन्दाहरूका अनुसार शनिवार साँझदेखि ठूलो वर्षा हुन थाल्यो र रातभरि पानी परिराख्यो। त्यसपछि कारण बाढी र पहिरोहरू गए। “हाम्रो घरमा बाक्लो लेदो भएको बाढी आयो… हामीले हतारहतार आफ्ना बहुमूल्य सामग्री बटुल्यौँ र छिमेकीको [दुईतले] घरमा शरण लिन गयौँ,” दुई बच्चाकी आमा लिली पुजी हास्टुटीले समाचारसंस्था एएफपीलाई बताइन्। “यो ठाउँबाट बाहिर निस्किन गाह्रो छ किनभने बाटाहरू थुनिएका छन्…। म चिन्तित, दु:खी र त्रसित छु।” बाढीले नराम्ररी प्रभावित भएको स्थानमध्ये सेन्तानी नगर पनि हो। त्यहाँ पीडितहरूको खोजी भइराखेको छ। सेन्तानीमा कम्तीमा ५१ जनाको मृत्यु भएको राष्ट्रिय विपद् निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले समाचारसंस्था रोएटर्सलाई बताएका छन्। नजिकै रहेको प्रान्तीय राजधानी जयपुरामा अरू सात जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यहाँ सेनाले एउटा पाँचमहिने शिशुको सकुशल उद्धार गरिएको जनाएको छ। ती शिशु घण्टौँसम्म बाढीबाट प्रभावित स्थानमा फसेका थिए। उनलाई परिवारलाई जिम्मा लगाइएको छ। उनका बुवा जीवित छन्, तर आमाको भने अत्तोपत्तो छैन। चेतावनी इन्डोनेशियामा अक्टोबरदेखि एप्रिल महिनासम्म वर्षा याम हुन्छ। यस बेला बाढी आउनु सामान्य नै मानिन्छ। उता जेनुअरीमा सुलावेसी द्वीपमा बाढीले कम्तीमा ७० जनाको ज्यान लियो। मार्च महिनाको पूर्वार्धमा ठूलो पानी पर्दा पश्चिम जाभामा सयौँ जना विस्थापित भएका थिए। आपत्कालीन निकायमा रहेका अधिकारीहरूका अनुसार जयपुरावरिपरि रहेका पर्वतीय क्षेत्रमा भएको वनविनाशका कारण पपुआमा बाढीको खतरा रहेकोबारे त्यहाँको सम्बन्धित निकायलाई सतर्क गराइएको थियो। इन्डोनेशियाको पपुआ प्रान्तको सीमा स्वतन्त्र राष्ट्र पपुआ न्यू गिनीसँग जोडिएको छ।
काठमाडौं आउँदै गरेको इत्तिहादको विमान एयर फ्रान्सको वोइङसँग झण्डै ठोक्किएन
मुम्बइ, चैत ४ । काठमाडौ आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामको राजधानी हो चि मिन्हबाट पेरिस जाँदै गरेको एयर फ्रान्सको बोइङ ७७७ मुम्बईको आकाशमा झन्डै जुधेका टाइम्स अफ इन्डियाले जनाएको छ। गत शुक्रबार स्थानीय समय अनुसार १ः४० बजे मुम्बइको एयर ट्राफिक कन्ट्रोलले काठमाडौं आउने क्रममा रहेको इत्तिहादको जहाजलाई ३३,००० हजार फिट माथि उडाउन आदेश दिएको छ । टाइम्स अफ इन्डियाका अनुसार उचाई लिने क्रममा सो जहाज अर्को दिशाबाट आइरहेको एयर फ्रान्सको जहाजसँग आमने–सामने भएको थियो । ‘दुई जहाज तीन नटिकल माईल, अर्थात केही सेकेण्डमात्र एक अर्काबाट टाढा थिए,’ सो पत्रिकाले मुम्बई एयर ट्राफिक कन्ट्रोललार्इ उद्धृत गर्दै लेखेको छ । दुवै जहाजका पाइलटको सतर्कताका कारण मात्र जहाज हावामै ठोकिन जोगिएका थिए । भारत र पाकिस्तानका वायुसेनाबीच विवादस्पद कस्मिरमा केही समयअघि हानाहान भएपछि पाकिस्तानले आफ्नो आकाशमा अन्तराष्ट्रिय जहाज उड्न प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्धले गर्दा ब्यवसायिक जहाज पाकिस्तानी आकाश भएर उडेका छैनन्। त्यसको सट्टा नेपाल तथा पुर्वी एसिया जाने सबै जहाजहरु हिन्द महासागर हुँदै भारतको आकाश भएर उडीरहेका छन् । त्यसले मुम्बई लगायतका केही भारतीय शहरमाथिका आकाशमा जहाजहरुको भीडभाड भएको छ। एयर कन्ट्रोल टावरलाई जहाजहरु सुरक्षित हवाईमार्गमा उडाउन कठिन परिरहेको समाचार संस्थाहरुले बताउँदै आएका छन् ।पाकिस्तानको आकाश नखुल्दा कयौं खाडी मुलुक र युरोपबाट नेपाल आउने जहाजहरु हिन्द महासागर हुँदै भारत छिरेर नेपाल आउने गरेका छन् । दश लाखभन्दा बढी नेपाली खाडी मुलुकहरु कतार, युएइ, साउदी अरेविया, केवेतमा काम गर्छन्। युरोप, अमेरिकाबाट नेपाल आवत जावत गर्ने धेरैजसो स्वेदशी तथा बिदेशी पनि खाडी मुलुक हुँदै नेपाल आउनेजाने गर्छन् । एजेन्सी
यी हुन् इतिहासकै सबैभन्दा धनी व्यक्ति, जससँग थियो अनुमान नै लगाउन नसकिने सम्पत्ति
हाल संसारका सबैभन्दा धनी व्यक्ति एमेजनका संस्थापक जेफ बेजोस हुन् । सन् २०१९ को फोर्ब्स अर्बपतिको सूचीमा आधारित तथ्यलाई आधार मान्दा उनको अनुमानित सम्पत्ति १३१ अर्ब डलर बराबर रहेको छ र बेजोस आधुनिक कालका सर्वाधिक धनी व्यक्ति पनि हुन्। यस अघि सर्वाधिक धनी व्यक्ति भनिएका बिल गेट्स हाल ९८.४ अर्ब डलरसहित दोस्रो नम्बरमा छन् भने अमेरिकी शेयर बजारका लगानीकर्ता वारेन बफेट ८२.५ अर्ब डलरका साथ तेस्रो नम्बरमा छन् । त्यस्तै एसियाको सर्वाधिक धनी व्यक्ति मुकेश अम्बानी विश्वसूचीमा १३ औं नम्बरमा पर्छन् भने चीनका ज्याक मा २१ औं । तर उनीहरूमध्ये कोही पनि संसारमा अहिलेसम्मका सबैभन्दा धनाढ्य व्यक्ति भने होइनन्। को हुन् त संसारका अहिलेसम्मकै सबैभन्दा धनी व्यक्ति वर्तमान समयमा धनी व्यक्तिहरूको सूचीमा अमेरिकी धनाढ्यहरूको बाहुल्य रहेको छ । यस सूचीमा विश्कै सर्वाधिक जनसंख्या भएका देश चीन र भारत क्रमशः दोस्रो र तेस्रो नम्बरमा रहेका छन् । अफ्रिका महादेशमा हाल विश्वकै सबैभन्दा कम अर्बपति रहेको मानिन्छ । तर इतिहासको विवरणले भने बेग्लै कुरा भन्छ । अहिलेसम्मकै संसारका सबैभन्दा धनी व्यक्ति १४औँ शताब्दीका पश्चिम अफ्रिकी शासक मान्सा मुसा हुन्। मूसा आफ्नो टिम्बकटुका राजा थिए जसको राज्य विस्तार वर्तमान समयको माली, मोरीटानिया, सेनेगल, गाम्बिया, गिनिया, बुर्किना फासो, माली, नाइजर, चाड र नाइजीरियामा भएको थियो। उनको शासनकालमा संसारभरि नै सुनको माग चरममा पुगेको थियो र उनको देशभित्र कयौं सुनखानी रहेका थिए । भनिन्छ उनले दिएको दानका कारण एउटा पूरै देशको अर्थतन्त्र धर्मराउन पुगेको थियो। त्यो देश थियो इजिप्ट । भनिन्छ मुसा सन् १३२४ मा तीर्थयात्राका लागि मक्का गएका थिए । उनले छ हजार किलोमिटर यात्रा गरे र उनको शान शौकत हेर्न भरि मान्छेको लाम हुने गर्दथ्यो । उनीसँग ६० हजार मानिसको यात्रुदल थियो । मुसाको घोडा अघिपछि पनि हातमा सुनको लौरो समातेका ५०० मानिसको अलग दस्ता हिँड्ने गर्दथे । साथै ८० उँटहरू पनि सँगै हिँड्ने गर्दथे जसमा प्रत्येकको पिठ्युँमा १३६ किलो सुन हुने गर्दथ्यो। मुसाले इजिप्टमा सर्वसाधारणलाई यति धेरै दान दिए कि त्यस क्षेत्रमा अचानक महँगी बढेर गयो । क्यालिफोर्निया विश्वविद्यालयमा इतिहास प्राध्यापन गर्ने रुडल्फ बुच वेअरले बीबीसीलाई भने, “मुसाको सम्पत्तिको अहिले गणना गर्दा उनी कति धनी र शक्तिशाली थिए भन्ने थाहा हुन्छ।” ज्याकोब डेभिडसनले सन् २०१५ मा मनी डट कममा लेखेअनुसार ती अफ्रिकी राजा मान्सा मुसा अरूले अनुमान गर्न सक्नेभन्दा धेरै धनी थिए। सन् २०१२ मा सेलिब्रिटी नेट वर्थ नामको अमेरिकी वेबसाइटले उनको सम्पत्ति ४०० अर्ब डलर भएको अनुमान गरेको थियो। तर अर्थशास्त्रका इतिहासकारहरू उनको सम्पत्ति सङ्ख्यामा लेख्न असम्भव रहेकोमा सहमत छन्। अहिलेसम्मका सर्वाधिक १० धनी व्यक्तिहरू मान्सा मुसा(१२८०-१३३७, मालीका राजा): सम्पत्ति कति हो भन्नै नसक्नेगरी धेरै अगस्टस सिजर (६३ इसापूर्व-१४इसं, रोमका सम्राट): सम्पत्ति ४६ खर्ब डलर जाओ शु (१०४८-१०८५, चीनमा सङका शेनजोङका सम्राट): सम्पत्ति गणना गर्न नसकिने अकबर पहिलो (१५४२-१६०५, मुगल सम्राट, भारत): सम्पत्ति गणना गर्न नसकिने एन्ड्र्यु कार्नेगी(१८३५-१९१९, स्कटिश अमेरिकी उद्योगपति): ३७२ अर्ब डलर जन डी. रक्फेलर (१८३९-१९३७) अमेरिकी व्यवसायी): ३४१ अर्ब डलर निकोलाई एलेक्जेन्ड्रोविच रोमानोभ (१८६८-१९६७, रुसका जार): ३०० अर्ब डलर मिर ओस्मान अली खान (१८८६-१९६७, भारतीय नवाब): २३० अर्ब डलर विलियम द कन्क्वेरर (१०२८-१०८७): २२९.५ अर्ब डलर मुअम्मर गद्दाफी (१९४२-२०११, लिबियाका लामो समय शासक): २०० अर्ब अमेरिकी डलर बिबिसी
प्रधानमन्त्री मोदीको नाम अब ‘चौकीदार नरेन्द्र मोदी’
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अब ट्वीटरमा ‘चौकीदार नरेन्द्र मोदी’का रुपमा देख्न सकिने भएको छ । उनले आफ्नो ट्वीटरको नाममा चौकीदार जोडेका छन् । प्रधानमन्त्री मोदीले मार्च ३१ देखि ‘म पनि चौकीदार’ नाममा चुनावी अभियान र टेलिभिजन कार्यक्रमसमेत सञ्चालन गर्दैछन् । आगामी अप्रिल र मेमा हुने लोकसभा निर्वाचनलाई लक्षित गरि उनले यो अभियान चलाउन लागेका हुन् । यस्तै, भाजपा अध्यक्ष अमित शाहले पनि आफ्नो नाममा चौकिदार जोडेर ‘चौकीदार अमित शाह’ बनाएका छन् । मोदी क्याविनेटका सबै मन्त्री तथा अन्य भाजपाका नेताहरुले पनि आफ्नो ट्वीटर नामको अगाडि चौकीदार थपेका छन् ।
इथियोपिया विमान दुर्घटनाः ज्यान गुमाउनेको अवशेष चिन्न ६ महिनासम्म लाग्ने
चैत ३ । इथियोपियन एअरलाइन्सले गतहप्ता दुर्घटनामा परेर ज्यान गुमाएका १५७ जनाको अन्तिम संस्कार उनीहरूका परिवारजनलाई दुर्घटनास्थलबाट संकलित डढेको माटो दिन लागेको विवरण प्राप्त भएको छ । समाचार संस्था रोएटर्सका अनुसार आदिस अबाबामा आयोजित एउटा शोकसभाका लागि दुर्घटना भएर विमान खसेको स्थानबाट सङ्कलित माटो उपलब्ध गराउन लागिएको हो । शारीरिक अवशेषको परीक्षण गरेर दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिहरूको पहिचान गर्न छ महिनासम्म लाग्ने उनीहरूका परिवारलाई बताइएको छ। मार्च १० मा दुर्घटनामा परेपछि बोइङ कम्पनीले निर्माण गरेको ७३७ म्याक्स ८ र ९ मोडलका विमानहरूलाई संसारभरि सबै वायुसेवाले उडानबाट हटाएका छन् । दुर्घटनामा परेर संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रममा कार्यरत नेपालकी एकता अधिकारीको पनि मृत्यु भएको थियो। कारण पत्ता लगाउन समय लाग्ने इथियोपियाका यातायातमन्त्रीले सो विमान दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानकर्ताहरूलाई धेरै समय लाग्न सक्ने बताएका छन् । विमान दुर्घटना शनिवार आयोजित पत्रकार सम्मेलनमा ड्यागमाविट मोगेसले भने, ूत्यो स्तरको अनुसन्धानका लागि सावधानीपूर्वक विश्लेषण गर्नुपर्छ र केही ठोस ृनिष्कर्षे निकाल्न धेरै समय लाग्छ।ू ज्यान गुमाउने व्यक्तिको पहिचान गर्न सजिलो होस् भनेर आफन्तहरूसँग डीएनएको नमुना मागिएको छ। उनीहरूले नमुना इथियोपियन एअरलाइन्सको आदिस अबाबा वा अन्य देशमा रहेका कार्यालयमा बुझाउन सक्छन् । मृत्युको प्रमाणपत्र भने दुई हप्ताभित्र उपलब्ध गराउने अपेक्षा गरिएको छ। एक किलो माटो समाचार संस्था एपीका अनुसार आइतवार इथियोपियाको राजधानीमा आयोजना हुन लागेको विशेष श्रद्धाञ्जलिसभाका लागि शोकसन्तप्त परिवारलाई एक(एक किलो डढेको माटो भएको झोला दिन लागिएको छ। ‘शरीर चिन्न र अवशेष परिवारलाई बुझाउन असम्भवजस्तै भएकाले माटो दिइएको हो’, एक आफन्तलाई उद्धृत गरिएको समाचारमा भनिएको छ, ‘हामीलाई आफ्ना प्रियजनको शव वा अंग नदिइएसम्म हामी आराम गर्दैनौं ।’ दुर्घटनामा विभिन्न ३५ देशका नागरिक परेका थिए । विमान इथियोपियाको आदिस अबाबाबाट केन्याको नाइरोबीका लागि उडेको थियो। तर केही मिनेटभित्रै दुर्घटनामा पर्यो । दुर्घटनाबारे अनुसन्धान गर्न अमेरिका, फ्रान्स र अन्य देशका विशेषज्ञहरूले इथियोपियालाई सघाउँदै छन् । विमानको फ्लाइट डेटा रेकर्डर र ब्ल्याक बक्स अर्थात् ककपिट भ्वाइस रेकर्डर फेला परिसकेका छन्। बीबीसीबाट
बिन लादेनका छोराबारे सूचना दिनेलाई १० लाख डलर पुरस्कार
एजेन्सी । संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन लादेन आतङ्कवादी कृयाकलापमा संलग्न रहेको अमेरिकी दाबी छ । “जिहादका युवराज” समेत भनेर चिनिने हाम्जा पाकिस्तान, अफगानिस्तान, सिरिया वा इरानमध्ये एक देशमा लुकेर बसेको अनुमान गरिएको छ । “हाम्जा अहिले अल–कायदा समूहका नेताका रुपमा स्थापित हुन थालेको देखिएको छ,” अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विदेश मन्त्रालयले हाल हाम्जा रहेको मुलुकको नाम र ठेगाना दिएमा त्यस्तो सूचना दिने व्यक्तिलाई अमेरिकाले १० लाख पुरस्कार दिने जनाएको छ । हाल ३० वर्षको हाराहारीका हाम्जा बिन लादेनले सन् २०११ मा गरिएको आफ्नो बुबाको हत्याको बदला लिने बताउँदै आएका छन् । सर्वाधिक खोजीमा रहेका बिन लादेनलाई अमेरिकी विशेष फौजले पाकिस्तानी शहर अबोटाबादमा हत्या गरेको थियो । अमेरिकी गुप्तचर निकायहरुले हाम्जामाथि निगरानी बढाएको र अमेरिकाका निम्ति सुरक्षा खतरा रहेको बताएका छन् । हाम्जाले सन् २०१५ मा एक अडियो सन्देश जारी गरी सिरियाका जिहादीहरुलाई एकताबद्ध हुन आग्रह गरेका थिए । आफ्ना पिताले झैं हाम्जाले पनि साउदी अरेबीयाको नेतृत्व अपदस्थ गर्नुपर्ने बताउँदै आएका छन् । ओसामा बिन लादेनका तीन श्रीमती र छोराछोरीलाई साउदी अरेबियामा आश्रय दिइएको छ । तर हाम्जाका बारेमा थाहा हुन सकेको छैन ।
पाकिस्तानले केही छिनमै भारतीय विमान चालक हस्तान्तरण गर्दै (लाइभ)
काठमाडौँ, फागुन १७ । भारतका विङ कमाण्डर अभिनन्दन वर्धमानलाई पाकिस्तानले केही समयमै भारतलाई सुम्पिने भएको छ । वर्धमानलाई पाकिस्तानले बुधबार नियन्त्रणमा लिएको थियो । बिहिबार पाकिस्तानी संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्ने क्रममा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शान्तिको पहलका लागि भारतीय युद्धक विमान चालक वर्धमानलाई भारतलाई हस्तान्तरण गरिने बताएका थिए । साथै इमरानले यसलाई पाकिस्तानको कमजोरीको रूपमा नबुझ्न समेत चेतावनी दिएका थिए । अहिले पन्जाबस्थित वाघा सीमामा उनलाई सुम्पिने कार्यक्रम रहेको छ । त्यहाँ हजारौंको संख्यामा भारतीय नागरिकहरूको उपस्थिति रहेको छ । भारतले वाघा सीमामा १९५९ देखि आयोजना हुँदै आएको बिटिङ रिट्रिट रद्द गरेको छ । भारतीय मिडियाले यस सुपुर्दगीलाई भारतको विजयको रूपमा प्रचारित गरिरहेको छ भने पाकिस्तानका टिभी च्यानलहरूमा पाकिस्तानको कुटनीतिक जीत बताइंदैछ । पाकिस्तानले अभिनन्दनलाई रिहा गर्न औपचारिक कार्यक्रमको तैयारी गर्दैछ । पाकिस्तानी टेलिभिजनहरूले यस कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ । हेर्नुस्:
भारतीय पाइलटलाई हस्तान्तरण गर्दै पाकिस्तान, किन चुनियो वाघा सीमा नै?
काठमाडौँ, फागुन १७ । पाकिस्तानले भारतीय लडाकू विमानका पाइलट अभिनन्दन वर्धमानलाई आज रिहा गर्ने भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ‘शान्तिको पहल’को रूपमा आफ्नो नियन्त्रणमा रहेका विमानचालकलाई रिहा गर्ने आदेश दिएका हुन् । पाइलट अभिनन्दनलाई पन्जाबको बाघा बोर्डर सीमामा भारतीय अधिकारीहरूलाई हस्तान्तरित गरिने भएको छ । बिहिबार इमरान खानले उनलाई रिहा गर्ने बताएका थिए । किन चुनियो बाघा बोर्डर नै ? वाघा गाउँ भारतीय पन्जाबको अमृतसर र पाकिस्तानको लाहोर जोड्ने मार्गबीचमा पर्दछ । पाकिस्तान तर्फ पर्ने वाघा गाउँ नजिकै भारत पाकिस्तानबीचको सीमा रेखा रेड्क्लिफ लाइन पर्दछ । भारत तर्फ अट्टारी भन्ने ठाउँ छ । सीमामा पाकिस्तान तर्फ ‘पाकिस्तान रेंजर्स’ र भर्रत तर्फ ‘बोर्डर सेक्युरिटी फोर्स-बीएसएफ’ तैनाथ रहेको छ । सीमामा दुवै देशतर्फ हरेक दिन हज्जारौं मानिस उपस्थित भएर त्यहाँ दिनहुँ आयोजना गरिने ‘बिटिङ् रिट्रिट’ हेर्न आउने गर्दछन् । यहाँ सन् १९५९ देखि दिनहुँ यो कार्यक्रम आयोजना हुँदैछ । यो भारत-पाकिस्तान युद्धका बेला बाहेक अरु समय स्थगित भएको छैन । यो दुई देशबीच सबै भन्दा शान्तिपूर्ण नाका समेत हो । यसै नाका भएर दुई देशबीच संचालन हुने एकमात्र अन्तरदेशीय रेल सेवा ‘सम्झौता एक्सप्रेस’ संचालन हुने गर्दछ । यो यस प्रकारका कामहरूका लागि सबैभन्दा सजिलो सीमा हो । सन् १९७१ मा भारतले पाकिस्तानका ९० हजार युद्धबन्दीलाई यही सीमाबाट सुम्पेको थियो । यो सीमा लाहोरबाट २४ किलोमिटर र अमृतसरबाट ३२ किलोमिटरको दूरीमा छ । लाहोर पाकिस्तानतर्फको पन्जाबको राजधानी हो भने अमृतसर भारतको प्रसिद्ध शहर हो । यहाँ सिखहरूको प्रमुख तीर्थस्थल अमृतसर पनि छ । यस्तो अवस्थामा दुवै देश यस सीमामा तनाव थेग्न सक्दैनन् किनकि यसबाट हुने क्षति अनुमानभन्दा बढी हुनेछ । पाकिस्तानले वर्धमानलाई सुपुर्दगी गर्न यही सीमा छान्नुका पछाडी कयौं कारण हुनसक्छन् । तर स्पष्ट देखिने कारण भनेको पाकिस्तान भारतीय आम जनतामा आफू भारतीय जनताको शत्रु नभएको संदेश दिन समेत चाहन्छ । यस्तो भएको खण्डमा यो इमरान खानको ठुलो कूटनीतिक जीत साबित हुनेछ । धर्मसंकटमा भारत भारतमा आसन्न लोकसभा निर्वाचनले गर्दा ‘देशप्रेम’को भावना उम्लिराखेको छ । र भारतीय आम बुझाइमा देशप्रेमको सिधा सिधा अर्थ ‘पाकिस्तानलाई घृणा’ गर्नु हो । फेरि मोदी दक्षिणपन्थी धडाबाट आउने भएकाले उनकालागि पाकिस्तानलाई ‘पाठ सिकाएको’ प्रचार गर्नु तात्कालिक बाध्यता पनि हो । यस्तोमा मोदी जतिसुकै ठाडो हुन खोजे पनि इमरानको यस पहलले आम शान्तिप्रेमी भारतीय जनतामा उनी लोकप्रिय हुने निश्चित छ । यस्तोमा भारत यस मामिलाको धेरै प्रचार नहोस भन्ने चाहन्छ । त्यसका लागि उसले वाघा सीमामा विशेष सुरक्षा प्रबन्ध मिलाएको छ । भारत चाहँदैन कि पाकिस्तानको ‘उदारता’ आम भारतीय या विश्व समुदायले देखुन । आज वाघा सीमामा हरेकदिन आयोजना हुने बिटिङ रिट्रिट रद्द गरिएको छ । त्यहाँ उपस्थित सर्वसाधारण र मिडियालाई फर्काउन लागिएको छ । अहिले अट्टारी सिमामा हजारौंको संख्यामा भारतीय नागरिक उपस्थित रहेका छन् । उनीहरूले अभिनन्दनलाई स्वागत गर्न आफूहरू उपस्थित रहेको भनिरहेका छन् । तर उनीहरूले निराश घर फर्किनुपर्ने भएको छ । भारतले यस कार्यक्रम पहिले नै पाइलटलाई सुम्पिनुपर्ने बताइरहेको थियो भने पाकिस्तानले कार्क्रमकैबीचमा उनलाई सुपुर्द गर्ने बताएको थियो । भारतमा खुसियालीको माहौल अहिले देशभरिबाट थुप्रै मानिस विमान चालक अभिनन्दनलाई स्वागत गर्न वाघा सीमामा पुगेका छन् । उनीहरू यसलाई भारतको विजयको रूपमा व्याख्या गरिरहेका छन् । यसो हेर्दा सर्वसाधारणमा मोदीको प्रभाव छाएको छ । उनीहरूमा पाकिस्तानी मिडियाले भन्ने गरे झैं ‘युद्ध उन्माद’ व्याप्त छ । भारतीय टेलिभिजन च्यानलहरू उक्त घटनालाई अतिरंजित गरेर प्रस्तुत गरिरहेका छन् । तर सबै भारतीयको विचार भने त्यस्तो छैन । सामाजिक संजालमा धेरैले इमरान खानको यस पहलले क्षेत्रीय शान्तिमा योगदान पुग्ने बताइरहेका छन् । बिबिसीले लेखेको छ, “अभिनन्दनलाई रिहा गर्ने फैसला इमरान खानको राम्रो कदम हो । अभिनन्दन कुनै अपराधी नभएर उनी युद्धबन्दी हुन् र उनी आफ्नो देशका लागि काम गरिराखेका थिए । उनलाई रिहा गर्नु इमरान खानको राम्रो राजनैतिक निर्णय हो ।” बिबिसी अगाडि लेख्छ, “यसले भारत र पाकिस्तानबीच सम्बन्ध सुध्रिने मात्र होइन यसले इमरानको कद समेत अन्तर्राष्ट्रिय स्तरमा बढ्नेछ ।”
भारत-पाकिस्तान चर्काचर्की- नियन्त्रणमा रहेका युद्ध विमान चालक पाकिस्तानमा चिया पिउँदै
काठमाडौँ, फागुन १६ । पाकिस्तानले आफ्नो कब्जामा रहेका भारतीय युद्धक विमान चालक विंग कमाण्डर अभिनन्दनको ताजा भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा अभिनन्दनले हातमा चियाको कप समातेका छन् र उनी आफूलाई पाकिस्तानी सेनाले राम्रो व्यवहार गरेको बताइरहेका छन् । भारतीय टेलिभिजन च्यानलहरुले भने यस भिडियोलाई हालसम्म प्रसारित गरेका छैनन् । सामाजिक संजाल प्रयोगकर्ताहरूले भने उक्त भिडियोलाई आफ्ना पेजहरूमा शेयर नगर्न भनिरहेका छन् । धेरैले उनीप्रति दुर्व्यवहार गरिएको र उनलाई जबर्जस्ती उक्त बयान दिन लगाएको हुनसक्ने बताएका छन् । भारतले भने नियन्त्रणमा रहेका पाइलटको भिडियो सार्वजनिक गरिनु नियम विपरित भएको भन्दै आक्रोश व्यक्त गरेको छ । उसले घाइते व्यक्तिको तस्बिर सार्वजनिक गरिनुलाई ‘लाजमर्दो प्रदर्शन’ भनि टिप्पणी गरेको छ। कश्मीरमा आफ्ना सुरक्षाकर्मीलाई निशाना बनाउँदै दुई साताअघि आत्मघाती आक्रमण भएपछि भारतले ‘पाकिस्तानमा रहेका लडाकुहरूको शिविर हवाई हमला गरेर नस्ट गरिदिएको’ दाबी गरेको थियो। पाकिस्तानले आफ्नो हवाई क्षेत्र भारतद्वारा उल्लङ्घन गरेको तर ती विमानलाई लखेटिदिएको प्रतिक्रिया सार्वजनिक गरेको थियो। त्यसपछिको अर्को घटनामा आफूले दुईवटा भारतीय सैन्य जहाज खसालिदिएको पकिस्तानको दाबी छ। ‘कारबाही पाकिस्तानको बाध्यता‘ टेलिभिजन सम्बोधनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने, “पाकिस्तानी कारबाहीको जबाफ दिन हिन्दुस्तानका दुईवटा विमान पाकिस्तानी सीमाभित्र पसे। त्यसलाई झारिदियौं। पाइलट हामीसँग छन्। म हिन्दुस्तानलाई भन्न चाहन्छु कि हामीले विवेक प्रयोग गर्न जरूरी छ।” उनले दुबै देशसँग रहेका हतियारलाई ध्यानमा राख्दा ‘कसैले पनि भूलको परिणाम थेग्न’ नसक्ने बताएका छन्। “यदि त्यसो हुन दियौं भने न त्यो मेरो न नरेन्द्र मोदीको नियन्त्रणमा हुनेछ।” उनले भने, “हामी बसौँ र कुरा गरौं। सम्वादबाट यो मुद्दाको हल गर्नुपर्छ।” प्रधानमन्त्री खानले भारतलाई उसले पाकिस्तानी सीमा उल्लङ्घन गरेको र उनीहरूको भूभागमा जान आफू पनि सक्षम रहेको जानकारी दिने आफूहरूको कदमको उद्देश्य रहेको बताए। ‘मोदी र भारतीय मिडिया युद्धोन्मादी’ पाकिस्तानका समाचार च्यानलहरूले पाकिस्तानले शान्तिको संदेश दिएको अवस्थामा पनि लगातार युद्धकै रट लगाउनुले भारतीय प्रधानमन्त्री मोदी र भारतीय मिडिया युद्धोन्मादी भएको बताएको छ । पाकिस्तानी च्यानलहरूले लगातार हातमा चियाको कप समातेर क्यामेरामा बोल्दै गरेका भारतीय विमान चालक अभिनन्दनको फुटेज देखाइरहेका छन् । यसका साथै उनीहरूले यस मामिलामा प्रधानमन्त्री इमरान खानले दिएको प्रहिलो संदेश र बुधबार बिहानैको पाकिस्तानी हवाई कारवाहीपछिको उनको संदेशको फुटेज देखाइरहेका छन् । पहिलो सन्देशमा उनी पाकिस्तानले भारतीय कावाहीको जवाफ दिने भनिरहेका छन् भने दोस्रोमा उनी आफूले बाध्य भएर प्रतिकार गरेको तर आफू युद्ध्को पक्षमा भने नरहेको भनिरहेका छन् । साथै उनले युद्ध सुरु भइसकेको खण्डमा स्थिति उनको या मोदीको नियन्त्रण भन्दा बाहिर जाने भनिरहेका छन् । साथै पाकिस्तानी टिभी च्यानेलहरूले पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल गफूरको फुटेज पनि देखाइरहेका छन् जसमा उनले युद्ध मानवता विरोधी हुने भए पनि आफूमाथि कोही आइलागे नछोड्ने चेतावनी दिइरहेका छन् । जबाफको सन्देश उनले भने, “प्रतिक्रिया जनाउनु हाम्रो बाध्यता थियो, कुनै पनि सार्वभौमसत्ता सम्पन्न देश यस्तोमा चुप लागेर बस्न सक्दैन। हामी चुप लागेर आफूलाई अपराधी बनाउन सक्दैनथ्यौं। बुधवारको जबाफ दियौं र भन्यौँ- तपाईँ हाम्रो देशमा आउन सक्नुहुन्छ भने म पनि तपाईँको देशमा जान सक्छु। ” भारतीय प्रधानमन्त्री मोदीले कुनै प्रतिक्रिया दिएका छैनन्। तर उनले सुरक्षा र जासुसी संस्थाका उच्च अधिकारीहरूसँग परिस्थितिबारे छलफल गरिरहेको बताइएको छ। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो देशले ‘जिम्मेवार र संयम’ कदम चाल्ने बताएकी छन्। चीन र रूसका विदेशमन्त्रीसँग चीनमा भएको वार्तास्थलबाट उनले भनिन्, “भारत अवस्था थप बिग्रिएको देख्न चाहँदैन।” बिबिसी
भारत-पाकिस्तान तनाव: पाकिस्तानले भन्यो, ‘आत्मरक्षाका लागि खसाल्यौं भारतीय विमान’
काठमाडौँ, फागुन १५ । पाकिस्तानले आफ्नो वायुसीमामा प्रवेश गरेका दुईवटा भारतीय लडाकु विमानलाई बुधवार बिहानै खसालेको दाबी गरेको छ । पाकिस्तानले त्यसलाई ‘आत्मरक्षाका लागि चालिएको’ कदम भनेको छ। केही बेरअघि पत्रकार सम्मेलन गर्दै पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पाकिस्तानले आफ्नो ‘क्षमता र सामर्थ्य देखाउन’ उक्त कदम चालिएको बताए। तर उनले भारतीय विमान खसालिएको घटनालाई भारतलाई जवाफी कारबाही गरेको रूपमा व्याख्या गरेनन्। उनले भने, “यो हामीले हाम्रो क्षमता छ भन्ने देखाएको पक्का हो। तर यो जवाफी कारबाही होइन।” भारतले मङ्गलवार पाकिस्तानी भूभागमा प्रवेश गरी पुलवामा हमला गराएको भनिएको एउटा सशस्त्र समूहको तालिम केन्द्रमा हमला गरेको दाबी गरेको थियो। त्यसलाई उसले ‘गैरसैनिक कारबाही’ भनेको थियो। पाकिस्तानी सेनाका प्रवक्ताले आफ्नो क्षमता देखाउन ६ वटा ‘टार्गेट चयन गरेर तिनलाई लक गरिएको’ बताएका छन्। उनका अनुसार नियन्त्रण रेखा पार गर्ने दुईवटा विमानलाई पाकिस्तानले खसालेको छ। त्यसमध्ये एउटा पाकिस्तानतर्फ र अर्को भारततर्फ नै खसेको उनले बताए। पाकिस्तानतर्फ खसेको विमानका दुईजना चालकमध्ये एकजना घाइते भएकाले उनको उपचार भइरहेको र अर्का पनि आफ्नो नियन्त्रणमा रहेको पाकिस्तानको दाबी छ। पत्रकार सम्मेलनमा खसालिएको विमानमा भेटिएका भन्दै केही कागजपत्र र हतियार समेत देखाइएको थियो। शान्तिको कामना पत्रकार सम्मेलनमा पाकिस्तानी सैन्य प्रवक्ताले आफूहरूले युद्ध नचाहेको बताए। उनले भने, “पाकिस्तान युद्धको वातावरणउन्मुख छैन। हामी दुई देश र क्षेत्रीयस्तरमै शान्तिको कामना गर्छौँ।” गफूरले आफूहरूसँग युद्ध लड्ने क्षमता भए पनि जिम्मेवार राष्ट्रका रूपमा युद्धमा जान नचाहेको बताए। उनले अन्तर्राष्ट्रिय समुदायलाई पनि शान्तिका लागि पहल गर्न आग्रह गरे। गफूरले सञ्चारमाध्यमलाई पनि युद्ध शुरू भएको जस्तो नगरी शान्तिको पत्रकारिता गर्न आग्रह गरेका थिए। बिबिसीबाट
पाकिस्तानी सेनाले खसाल्यो २ भारतीय विमान, एक पाइलट गिरफ्तार
बीबीसी । पाकिस्तानी सेनाले भारतका दुईवटा लडाकु विमानलाई खसालिएको दाबी गरेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भारत-पाकिस्तान वायुसीमा नाघेर पाकिस्तानी आकाशमा छिरेका ती भारतीय विमानलाई पाकिस्तानी वायुसेनाले खसालिदिएको दाबी गरेका हुन्। उनका अनुसार एक भारतीय विमानचालकलाई पक्राउ गरिएको छ। पाकिस्तानी वायुसेनाले कारबाही गरेपछि एउटा विमान पाकिस्तान प्रशासित कश्मीर र अर्को भारत प्रशासित कश्मीरमा खसेको उनले दाबी गरे। भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतीय वायुसेनाका ती विमानमा प्राविधिक समस्या भएको र पाकिस्तानले दाबी गरेजस्तो नभएको जनाएका छन्। यसअघि विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तानी वायुसेनाले आफ्नो आकाशभित्रै रहेर भारत-पाकिस्तान नियन्त्रणरेखापारि बम हानेको बताएका थिए। र यो भारतले मङ्गलवार गरेको आक्रमणको प्रत्युत्तर नभएको र त्यसैले धनजनको क्षति नहुनेगरी कारबाही गरिएको मोहम्मद फैसलले बताए। समाचारसंस्था पीटीआई र रोयटर्सका अनुसार पाकिस्तानी विमान भारतीय आकाशमा प्रवेश गरेका हुन्। ती विमानहरू जम्मू-कश्मीरको राजौरी क्षेत्रमा छिरेको बताइएको छ। पीटीआईका अनुसार भारतीय विमानहरूले पाकिस्तानी विमानहरूलाई भाग्न बाध्य पारिदिएका थिए।
भारतीय वायुसेनाको ‘लडाकु विमान’ कश्मीरमा दुर्घटना, २ पाइलटको मृत्यु
एजेन्सी । जम्मू–कश्मीरको बडगाममा भारतीय एयरफोर्सको लडाकु विमान दुर्घटना हुँदा २ पाइलटको ज्यान गएको छ । एयरफोर्सको मिग–२७ लडाकु विमान दुर्घटना हुँदा विमानका २ जना पाइलटको ज्यान गएको हो । श्रीनगर एयरबेसबाट उडान भरेको विमान जम्मू कश्मीरको बडगामदेखि सात किलोमिटर टाढा गारेंद गाउँमा दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विमान खाली खेतमा गएर खस्दा आगलागी हुन पुगेको बताइएको छ । जम्मू कश्मीरमा गस्तीमा रहेको सेनाको विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको कारण खुल्न नसकेको र छानविन भइरहेको जनाइएको छ ।
भालुका कारण संकटकाल घाेषणा
मस्को, माघ २७ । रुसको एक सुदूर क्षेत्रमा भालुको आतंकका कारण संकटकाल घोषणा गरिएको छ । स्थानीय अधिकारीका अनुसार मानव बस्तीमा ठूलो संख्यामा ध्रुवीय भालु प्रवेश गरेका कारण मानिसमा आतंक मच्चिएको छ । स्थानीयबासी घरबाट निस्कनसमेत कठिन हुन थालेपछि आपतकाल घोषणा गरिएको उनीहरुको भनाइ छ । उत्तरी रुसको नोभाया जेम्ल्या द्वीपसमूहमा ध्रुवीय भालुको आतंक बढेको हो । शनिबारदेखि सो क्षेत्रमा अनिश्चितकालका लागि आपतकाल घोषणा गरिएको स्थानीय प्रशासनले जनाएको छ । भालुका कारण भएको मानवीय क्षतिको विवरण भने खुलाइएको छैन । जलवायु परिवर्तनका कारण ध्रुवीय भालु अत्यधिक प्रभावित भएको विज्ञहरु बताउँछन् । रुसमा यस्ता भालुलाई लोपोन्मुख प्रजातिमा सूचीकृत गरिएको छ । त्यसैले ध्रुवीय भालुको शिकारमा प्रतिबन्ध लगाइएको छ । संघीय पर्यावरण एजेन्सीले समेत यी भालुलाई मार्न अनुमति दिन अस्वीकार गर्दै आएको छ । स्थानीय प्रशासनले भालुलाई डराउने, भगाउने प्रयास गरिरहेको भए पनि प्रभावकारी परिणाम निस्कन नसकेको बताइन्छ । (एजेन्सी)
बल्झियो चीन–भारत सीमा विवाद, मोदीको भ्रमणमा चीनको आपत्ति
बेइजिङ, माघ २६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाञ्चल प्रदेशमा भ्रमण गरेको विषयलाई लिएर चिनियाँ सरकारले कडा आपत्ति जनाएको छ । चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति निकाल्दै मोदीको भ्रमणले दुई देशबीच सीमा विवाद बल्झाउनसक्ने संकेत दिएको भन्दै कडा अपत्ति जनाएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा छुन्याइङले शनिबार विज्ञप्ति जारी गर्दै मोदी भ्रमणको विरोध गरेका हुन् । विज्ञप्तिमा चीन र भातबीच सीमा क्षेत्र प्रष्ट रहेको भन्दै ‘सो कल्ड अरुणाञ्चल प्रदेश’ मा भारतीय नेताहरुको भ्रमणमा चीन सरकारको आपत्ति रहेको एललेख छ । विज्ञप्तिमा भारतले दुई देशको साझा स्वार्थलाई ख्याल गर्नुपर्ने भन्दै चीनको मामिलामा सम्मान गर्नुपर्ने उल्लेख छ । अरुणञ्चल भ्रमणमा रहेका मोदीले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ४ हजार करोडको आधारशिला कार्यक्रम उद्घाटन गरेका थिए । मोदीले सरकारले यस क्षेत्रमा हाईवे, रेलवे, एयरवे लगायत विस्तारमा महत्व दिएको बताएका थिए । चिनियाँ पक्षको भनाइपछि नयाँदिल्लीबाट विदेश मन्त्रालयले अरुणाञ्चल प्रदेश भारतको भूभागबाट छुट्नै नसक्ने महत्वपूर्ण क्षेत्र रहेको भन्दै प्रतिक्रिया जनाएको छ । अरुणाञ्चल प्रदेशमा भारतीय नेताहरु यसअघि पनि पटक पटक भ्रमण गर्दैआएका छन् । चीनले भने अरुणाञ्चल प्रदेशको पूर्वी उत्तर भूभागलाई तिब्बतको क्षेत्र दावी गर्दै आइरहेको छ।

