पर्खाल लगाउन बजेट नदिए सीमा नै बन्द गर्ने ट्रम्पकाे चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन कंग्रेसले रकम उपलब्ध नगराए सीमा नै बन्द गर्ने चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्न आफूले सीमामा पर्खाल लगाउने तयारी गरेकाले अमेरिकी कंग्रेसले रकम उपलब्ध गराउनुपर्ने भन्दै रकम नदिए मेम्सिकोसँगको सीमा नै बन्द गर्ने चेतावनी दिएका हुन् ।
राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै की हामीले सीमामा पर्खा लगाउनुपर्छ होइन भने सीमा नै बन्द गर्नुपर्ने बताएका छन् ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि सीमा बन्द गर्ने चेतावनी औपचारिक रुपमा पुष्टि गरेको छ ।
अमेरिकी संघीय बजेटका बारेमा एक हप्तादेखि जारी अवरोधका कारण अमेरिकी संघीय सरकारी निकाय आंशिक रुपमा ठप्प भएका छन् ।
ट्रम्पले प्रस्तावित सीमा पर्खालका लागि संघीय बजेटमा रकम व्यवस्था गर्नुपर्ने अडान लिएपछि बजेटमा अवरोध सिर्जना भएको हो ।
संघीय बजेटमा सीमा पर्खालका लागि रकम व्यवस्था गर्नेबारे कंग्रेससँगको छलफल अवरुद्ध भएको छ ।
बजेटमा रहेको विवादका कारण सरकारी कार्यालयहरु बन्द भएका छन् ।
विभिन्न संघीय कार्यालयमा कार्यरत हजारौं कर्मचारी अहिले बेतलबी बिदा वा तलब कहिले पाउने भन्ने अनिश्चितताको अवस्थामा काम गरिरहेका छन् ।(एजेन्सी)
मूल्यवृद्धि विरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा झडप; १९ जनाको मृत्यु
खार्तुम (सुडान), पुस १३ । खाद्य सामग्री र इन्धनमा भएको चर्को मूल्यवृद्धिको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारी र सुडानी प्रहरी बिचको झडपमा १९ जनाको ज्यान गएको छ । सुडान सरकारका प्रवक्ता बोसेरा जुमा आरोले जनाए अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण र एक सय ८७ सशस्त्र प्रहरी घाइते भएका छन् । उत्तर अफ्रिकी राष्ट्रमा मूल्यवृद्धिको विरोधमा गत सातादेखि नै प्रदर्शन भइरहेका छन् । गत साता सुडानको राजधानी सहर खार्तुममा प्रदर्शनकारीले नेसनल कङ्ग्रेस पार्टी (एनसीपी) को मुख्यालयमा आगजनी गरेपछि कर्फ्यु समेत लगाइएको थियो । प्रदर्शनकारीले राष्ट्रपति ओमार अल–बासिरको राजीनामा मागेका छन् । पछिल्लो समे पाउरोटीको मूल्यमा तीन गुणाले र इन्धनको मूल्यमा दुई गुणाले वृद्धि भए पछि जनता सडकमा उत्रिएका हुन् । सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको छ । साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ । उक्त मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकार विरुद्ध राष्ट्रव्यापी प्रदर्शन भइरहेका छन् ।
पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध
इस्लामाबाद, पुस १३ । पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले बिहीबार सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाइएको जनाएको हो । सूचना मन्त्री फवाड चौधरीले पत्रकारलाई दिएको जानकारीअनुसार मुद्रा अपचलनसम्वन्धी एउटा मुद्दामा जर्दारी, उनकी बहिनी फर्याल तालपुरसहित १७२ जनामाथि अनुसन्धान गरिएको छ । उनीहरूलाई मुद्रा अपचलनका लागि नक्कली बैंक खाता बनाएको आरोप पनि लागेको जनाइएको छ । ‘अनुसन्धानको सूचीमा रहेका १७२ जना सवैलाई देश बाहिर जान नपाउनेगरी प्रतिवन्ध लगाइएको छ,’ मन्त्री चौधरीले भने । जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति भएका थिए । उनी प्रमुख विपक्षी दल पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष पनि हुन् । जर्दारीकी श्रीमती पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोको हत्या भएको ११औँ बार्षिकी बनाउँदै गरेको बेलामा सरकारले यस्तो आदेश दिएको हो । (रासस/एएफपी)
थर्काए ट्रम्पले: संसारको सुरक्षाको ठेक्का अमेरिकाको होइन !
बग्दाद, पुस १२ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारको रक्षा गर्ने ठेक्का अमेरिकाको नरहेको बताएका छन् । आफ्नो प्रथम इराक यात्राको क्रममा ट्रम्पले अन्य देशहरूले पनि जिम्मेवार हुनुपर्ने भन्दै यस्तो टिप्पणी गरेका हुन् । इराकमा तैनात अमेरिकी सैनिकहरूलाई अचानक भेट्न पुगेका ट्रम्पले युद्धग्रस्त सिरियाबाट अमेरिकी सैनिकहरू फिर्ता बोलाउने आफ्नो निर्णयको बचाव गर्दै भने ‘यो काममा ढिलो हुँदैन।” अमेरिकी सैनिकहरूलाई सम्बोधन गरेपछि ट्रम्पले बगदादको पश्चिममा स्थित एयर बेसमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘अमेरिकाले सधैं अरुको सुरक्षाको ठेक्का लिन सक्दैन ।’ अचानक इराकमा राष्ट्रपति ट्रम्पको यो पहिलो इराक यात्रा हो । उनी अमरिकी प्रथम महिला मेलानियासँग अचानक इराक पुगेका हुन् । यसका साथै ट्रम्पले अमेरिकामाथि कुनै पनि प्रकारको आतंकवादी आक्रमण भए त्यस्कोकदा जवाब दिइने समेत बताए । सैनिकहरूलाई सम्बोधन गर्दै उनले भने, ‘यदिकेही भयो भने जिम्मेवार व्यक्तिहरूले यस्तोपरिनाम भोग्नु पर्ने छ जस्तो कहिल्यै कसैले भोगेका छैनन् । ट्रम्पले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलाउने आफ्नो फैसलाको रक्षा गर्दै भने ‘पुरै बोझ हामीलाई बोकाउनु न्यायसंगत होइन ।’ उनको आशय टर्कीलगायत अन्य क्षेत्रीय शक्तिहरूले आइएसएस विरुद्ध अभियान पूरा गरुन भन्ने थियो । ट्रम्पले गत हप्ता विश्व र अमेरिकालाई स्तब्ध पार्दै अमेरिकाले सिरियाबाट सैनिक फिर्ता बोलाउने घोषणा गरेका थिए । उनले सिरियामा आइएसएस पराजित भइसकेकाले अमेरिकाको आवश्यकता नभएको बताएका थिए । अफगानिस्तानबाट पनि फिर्ता हुने कुरा यस अघि ट्रम्पले अफगानिस्तानमा पनि सैन्य उपस्थिति घटाउने बयान दिएका थिए । उनले यो घोषणा गर्नु अघि नै यो सुचना चुहिएको थियो । त्यसपछि अफगानिस्तानमा तैनाथ शीर्ष अमेरिकी कमांडरले आफूहरूले त्यस्तो यस्तो कुनै सूचना नपाएको प्रतिक्रिया दिएका थिए । ‘टोलो न्यूज’का अनुसार अफगानिस्तानको पूर्वी प्रान्त नंगरहारका गभर्नरसँग बैठकको क्रममा अफगानिस्तानमा सर्वोच्च अमेरिकी सैन्य कमाण्डर जनरल स्कट मिलरले आफूलाई त्यतो कुनै सूचना प्राप्त नभएको बताएका थिए । गत हप्ता मात्रै एक जना अमेरिकी अधिकारीले एएफपीसँग कुराकानीको क्रममा राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा तैनाथ १४ हजार अमेरिकी सैनिक मध्ये आधालाई फिर्ता बोलाउने बताएका थिए ।
इराकमा रहेका अमेरिकी सेनासँग क्रिसमस मनाए ट्रम्पले
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमसको अवसरमा इराकमा रहेका अमेरिकी सैनिकसँग भेट गरेका छन् । राष्ट्रपति ट्रम्प पूर्व निर्धारित कार्यक्रमविना इराक पुगेका हुन् । उनको साथमा अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प पनि थिइन् । ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्प क्रिसमसको दिन अबेर साँझ इराक पुगेका थिए । उनी इराकमा कार्यरत सैनिकले गरेको सेवा, सफलता र बलिदानको लागि धन्यबाद दिन गएको ह्वाइट हाउसले जनाएको छ । समाचार संस्था रोयटर्सले त्यसक्रममा ट्रम्पले इराकबाट अमेरिकी सैनिक हटाउने कुनै योजना नभएको बताएका थिए । मध्यपूर्वको रणनीतिमा मतभेद भएर केही दिन अघि रक्षामन्त्री जेम्स म्याटिसले राजीनामा दिएलगत्तै राष्ट्रपति ट्रम्पको यो भ्रमण भएको हो । ट्रम्पको साथमा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टन पनि थिए । ट्रम्पले सैनिकहरुसँग करिब तीन घण्टा विताएका थिए । त्यस क्रममा सैनिकहरुले राष्ट्रपति ट्रम्पसँग सेल्फी पनि खिचेका थिए । इराकमा अहिले पनि अमेरिकाका करिव ५ हजार सैनिक कार्यरत छन् । उनीहरुले इराक सरकारलाई इस्लामिक स्टेटविरुद्धको लडाइँमा सहयोग गरिरहेका छन् । (एजेन्सी)
उत्तर र दक्षिण कोरियाले आयोजना गरे महत्वपूर्ण समारोह
सोल, पुस ११ । दक्षिण कोरिया र उत्तर कोरियाको सीमाक्षेत्रका इलाकाहरुमा आधुनिक रेलमार्ग र सडकहरुले जोड्न एउटा समारोहको आयोजना गरिएको छ । दक्षिण कोरियाको सीमा शहर केइसोङमा रहेको पानमुन स्टेशनबाट शुरु भएको उक्त समारोहमा दक्षिण र उत्तर कोरिया गरी एकएक सय व्यक्तिको सहभागिता रहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जानकारी दिएको छ । यस समारोह स्थानीय समयानुसार बुधबार बिहान १० बजे शुरु भएको थियो । गत सेम्टेम्बरमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाली उच्च नेता किम जोङ–उनबीच प्योङयाङमा सम्पन्न शिखर सम्मेलनका क्रममा भएको सम्झौता अनुसार नै यो कार्य सम्पन्न भएको बताइएको छ । उक्त सम्मेलनामा यस बर्षको अन्त्यसम्ममा नै कोरियिाली प्रायःद्वीपको सीमा क्षेत्रमा रेलमार्ग र सडक मार्ग बनाइने सम्झैता भएको थियो । गत अप्रिलमा मुन र किमबीच भएको पहिलो सम्मेलनमा नै आधुनिक र पूर्वी र पश्चिम कोरियाली प्रायःद्वीपमा आधुनिक रेलमार्ग र सडकमार्ग जोडिने सम्झौता भएको थियो । दक्षिण कोरियाली भूमिसुधार मन्त्री, आधारभूत संरचना मन्त्री किम ह्युन मि, यातायात मन्त्री किम युन ह्योक र उत्तर कोरियाका उप रेलवे मन्त्रीको सो समारोहमा सहभागिता रहेको थियो । त्यसैगरी दक्षिण कोरियाको तर्फबाट अन्य उच्चस्तरीय सरकारी अधिकारीहरुको पनि सहभागिता रहेको जनाइएको छ । कार्यक्रममा सन् १९५० बाट १९५३ सम्मको कोरियाली युद्धताका छुट्टिएका पाँच सर्वसाधारणलाई दक्षिण कोरियाका तर्फबाट निमन्त्रणा गरिएको थियो । उत्तर कोरियाका तर्फबाट शान्ति र पुनः एकीकरण जन्मभूमि कमिटीका अध्यक्ष रि सन–ग्वोन र अन्य चार उच्चस्तरीय सरकारी अधिकारीहरुको सहभागिता रहेको थियो । दक्षिण कोरियाको राजधानी सोलको सोल रेलवे स्टेशनबाट दक्षिण कोरियाली १०० सहभागीलाई नौ ओटा कार र रेलमा कोरियाली प्रायःद्वीपमा सीमाक्षेत्र डोरासनमा लगिएको थियो । एजेन्सी
अमेरिकी जेलमा बच्चाको मृत्यु भएपछि चौतर्फी आलोचना
वासिङटन, ११ पुस । संयुक्तराज्य अमेरिकाको प्रहरी थुनामा ग्वाटेमालाका आठ वर्षीय बालकको मृत्यु भएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले जनाएको छ । यही महिना अमेरिकी थुनामा बच्चाको मृत्यु भएको यो दोस्रो घटना हो । यही डिसेम्बर ८ मा ग्वाटेमालाकी एक आठ वर्षीया बालिका जेकेलिन कालको अमेरिकी प्रहरी थुनामै मृत्यु भएको थियो । सीमा सुरक्षा निकायले सोमबार बालक बिरामी भएको थाहा हुनासाथ न्यू मेक्सिको मेडिकल सेन्टरमा उपचारका लागि पठाइएको जनाएको छ । मेक्सिकोबाट अमेरिका प्रवेश गरेका बालक सँगै उनका बाबुलाई प्रहरीले पक्राउ गरेको थियो । शुरुमा बच्चालाई चिसो लागेको अनुमान गरिएको थियो, तर पछि जाँच गर्दा ज्वरो आएको पत्ता लागेको थियो । अस्पतालमा बच्चालाई ज्वरो हुँदा खुवाइने इबुप्रोफेन र एमोक्सिसिलिन दिइएको थियो । तर ज्वरो घटेन । बच्चाले पुनः वान्ता गर्नुका साथै रिङ्गटा लागेको अनुभव गरेका थिए । मध्यरातमा ती बालकको मृत्यु भएको थियो । ग्वाटेमाला सरकारले बालकको मृत्युका बारेमा विस्तृत अध्ययन गर्न अमेरिकी सरकारसमक्ष आग्रह गरेको छ । बच्चाको मृत्यु भएपश्चात् सामाजिक सञ्जालमा अमेरिकी अधिकारीहरुको चर्को आलोचना भएको छ । “अमेरिकी प्रशासनको अघिल्तिर अर्को एक बच्चाको प्राण गएको छ,” टेक्सासबाट डेमोक्राटिक कङ्ग्रेस सदस्य मार्क भेसीले ट्वीट गरेका छन् । “क्रिसमसका दिन यस्तो हृदयविदारक समाचार सुन्नुपऱ्यो ।” “यो समाचारले दुःखी र विचलित बनाएको छ,” न्यू मेक्सिकोका सिनेटर मार्टिन हेनरिकले ट्वीटमा भनेका छन् । “यो घटनाका बारेमा विस्तारपूर्वक तत्कालै जानकारी दिइनु पर्दछ, र ट्रम्प प्रशासनलाई बच्चाको मृत्युप्रति जवाफदेही बनाउनै पर्दछ ।” यी बालकको मृत्यु त्यस्तो दिन भएको छ जुन दिन यसै महिनाको शुरुमा अमेरिकी थुनामा मृत्यु भएकी ग्वाटेमालाकी बालिका जेकेलिन कालको अन्तिम संस्कार गरिएको छ । ती बालिकाको शव आइतबार ग्वाटेमाला ल्याइएको थियो । लामो यात्रापछि बालिकाको शव दुर्गम गाउँमा पुऱ्याइएको थियो । उनको गाउँमा विद्युत र अरु आधारभूत सुविधा केही उपलब्ध छैनन् । “ती बालिका पनि अमेरिकामा सुनौलो सपना साँचेर बाबुआमासँगै अमेरिकातर्फ हिँडेकी थिइन्, तर उनको सपना बाटोमै टुङ्गियो,” स्थानीय गाउँबासी अल्बर्टो पोपले बताए । “तपाइँले सुन्नुभएको होला संयुक्तराज्य अमेरिकामा राम्रै कमाइ हुन्छ, र ग्वाटेमालाका कम्पनीमा जस्तो अमेरिकामा अवश्य हुँदैन । त्यही कारण मानिसहरु अमेरिका जान चाहन्छन्,” पोपले भने । अमेरिकी सपनाको खोजीमा उहाँका २२ वर्षीय छोरा जोकिन नोभेम्बरमा अमेरिकातर्फ लागेका थिए । उनले भने, “मेरो छोरो मऱ्यो कि बाँच्यो मलाई थाहै छैन ।” “दुर्भाग्यवस, आप्रवासीमाथि अमेरिकी सरकारले गरेको यस्तो दुर्व्यवहारको मुख्य कारण नै हाम्रो देशमा आर्थिक स्रोतसाधनको चरम अभाव हो,” जेकेलिनको अन्तिम संस्कारमा उपस्थित मारियो कालले भने । जेकेलिन कालको डिसेम्बर ८ मा भएको मृत्युले अमेरिकी समाजमा ठूलो बहस सिर्जना गरेको थियो । खासगरी अमेरिकी आप्रवासी नीति र आप्रवासीमाथि अमेरिकी सरकारले गरेको व्यवहारलाई लिएर अमेरिकी राष्ट्रपतिको चर्को आलोचना भइरहेको छ । ग्वाटेमाला, होन्डुरस, मेक्सिको समेतका मध्य अमेरिकी देशहरुबाट ठूलो संख्यामा मानिसहरु अमेरिका प्रवेशका लागि हाल संयुक्तराज्य अमेरिका र मेक्सिको सीमामा धर्नामा बसेका छन् । एजेन्सीहरू
यस्तो पनिः अक्षर नै नचिन्ने मन्त्री, पढनै सकेनन शपथ पत्र
छत्तीसगढ, पुस ११ । भारतको छत्तीसगढ राज्यमा भूपेश बघेलको नेतृत्वमा सरकार गठन भएको छ । हालै सम्पन्न विधानसभा निर्वाचनमा कांग्रेसले जित हासिल गरेपछि बघेललाई मुख्यमन्त्रीको जिम्मेवारी दिइएको हो । बघेलले मंगलबार मन्त्रिमण्डल गठन गरे । ९ सदस्यीय मन्त्रिमण्डलले मंगलबार सपथ लिएको छ । सपथग्रहण समारोहमा कवासी लखमाको नाम लिएर सपथका लागि जब मञ्चमा बोलाइयो, एउटा निरन्तरताको क्रमभंग भयो । भारतमा केन्द्रीय मन्त्रीको हकमा राष्ट्रपतिले र राज्यको मन्त्रीका हकमा राज्यपालले सपथको सुरुवाती शब्द पढेपछि बाँकी अंश सम्बन्धित मन्त्री आफैंले सपथपत्र पढेर पुरा गर्नुपर्ने परम्परा छ । तर, लखमा अशिक्षित भएका कारण उनले सपथपत्र पढ्न सकेनन् । भारतीय संचारमाध्यमका अनुसार बघेल सरकारमा लखमा एकमात्र यस्ता मन्त्री हुन्, जसले अक्षर नै चिन्दैनन् । पिछडिएको समुदायका उनले औपचारिक शिक्षा लिएका छैनन् । किसान परिवारका सदस्य उनी छत्तीसगढ राज्य गठन भएयता लगातार चुनाव जित्दै आएका छन् । राज्यपाल आनन्दी बेन पटेलले सपथका एक–एक शब्द आफैंले पढेर लखमालाई दोहोर्याउन लगाउँदै सपथ दिलाएकी थिइन् । यस क्रममा पनि लखमाले केही शब्द राम्ररी उच्चारण गर्न जानेनन् । (एजेन्सी)
बङ्गलादेशमा विपक्षी दलका १० हजार बढी कार्याकर्ता पक्राउ गरेको आरोप
काठमाडौं । बङ्गलादेशमा विपक्षी दलका नेताहरुले निर्वाचनको समय नजिकिँदै गर्दा प्रहरीले आफ्ना १० हजार पाँच सय कार्यकर्तालाई प्रक्राउ गरेको दावी गरेका छन् । संयुक्त राज्य अमेरिकाले बङ्गलादेशको प्रधानमन्त्री शेख हसिनाको सरकारलाई निर्वाचन स्वच्छ तथा स्वतन्त्ररूपमा सम्पन्न गर्न विश्वासको वातावरण बनाउन गरेको आग्रहपछि प्रतिपक्षबाट उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । तेस्रो कार्यकाल सम्पन्न गरिसकेकी प्रधानमन्त्री हसिनाले चौथो कार्यकाल जितेर कीर्तिमानी कायम गर्ने लक्ष्यसाथ निर्वाचनमा आफ्ना सक्रिय कार्यकर्ता तथा समर्थकहरूलाई विभिन्न आरोपमा प्रहरी हिरासतमा लिएको आरोप बङ्गलादेश नेशनालिस्ट पार्टी (बिएनपी) ले लगाएको छ । प्रतिपक्षी दलहरूले बङ्गलादेशको सरकारले आगामी नोभेम्बर ८ मा निर्वाचनको आह्वान गरेपछि निरन्तर ‘भयको वातावरण’ रहँदै आएको दावी गरेका छन् । देशभरबाट हरेक दिन ८० देखि ९० कार्यकर्तालाई पक्राउ गरिने गरिएको विपक्षी दलको आरोप छ । यसले निर्वाचन स्वतन्त्ररूपमा हुने सम्भावना विपरित भयको वातावरण सिर्जना गरेको उनीहरुले बताएका छन् । प्रहरीले भने निर्वाचन अभियानका शिलशिलामा पक्राउ परेका विपक्षीको संख्या कति रहेको छ भन्नेबारे एकिन तथ्याङ्क दिन आनाकानी गरेका छन् । प्रहरीले अनावश्यकरुपमा कसैलाई पनि पक्राउ नगरेको जकिर गर्दै आएको छ ।(एजेन्सी)
हेलिकप्टर दुर्घटनामा मेक्सिकोका गभर्नर, सिनेटर मारिए
पुब्ला, मेक्सिको, पुस १० । मेक्सिकोमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा पुब्ला राज्यका गभर्नर र उनका श्रीमान्, एकजना सिनेटरको मृत्यु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा सिनेटर राफेल मोरेनो भाल्ले एवं उहाँकी पत्नी र गभर्नर मार्था एरिका अलोन्सोको मृत्यु भएको हो । मेक्सिकोका राष्ट्रपति मानुएल लोपेज ओब्राडोरले ट्वीट गर्दै गहिरो समवेदना व्यक्त गरेका छन् । उनले दुर्घटनाको अनुसन्धान शुरु भइसकेको जानकारी दिए । साथै, दुर्घटनामा हेलिकप्टरका दुई चालक र एकजना सहयोगीको समेत मृत्यु भएको छ । पुब्लाको सान्ता मारिया कोरोनान्गो क्षेत्रबाट उडेको १० मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो । गभर्नर अलोन्सोले गत डिसेम्बर १० मा मात्र पदभार ग्रहण गर्नुभएको थियो । उनी पुब्लाको पहिलो महिला गभर्नर रहेका थिए । उनका पति सन् २०११ देखि २०१७ सम्म पुब्लाको गभर्नर रहेका थिए । रासस/एएफपी
टेक्सासमा एचडीएनपी इन्टरनेसनल द्वारा घरबारबिहीनलाई न्यानो कम्बल वितरण
एचडीएनपी इन्टरनेशनलले अमेरिकाको टेक्सास राज्यको ड्यालस वरपर रहेका घरबारविहीनलाई एक विशेष कार्यक्रममा न्यानो कम्बल वितरण गरेको छ । असहाय, घरबारविहीन र मागेर समेत जीविकोपार्जन गर्दै आएका गरीब समुदायलाई त्रैमासिकरुपमा खाना खुवाउँदै आएको संस्था एचडीएनपी इन्टरनेशनलले ड्यालसको फोर्टवर्थ युनिटी पार्कमा ३ सय ७४ कम्बल वितरण गरेको छ । अमेरिकामा निकै जाडो बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै एचडीएनपी इन्टरनेशनलले डिसेम्बर तारिखमा पर्ने इशाई पर्वको ठिक एकदिन अगाडि ( क्रिसमसको संघारमा) कम्बल वितरण गर्न सफल भएको छ । एचडीएनपी इन्टरनेशनलका संस्थापक देवी डेविड आचार्यले यो मानवीय कार्यमा सहयोग गर्नु हुने विशेष प्रोजपेरिटि बैंकका ब्रेट, बाल जोशी तथा बासु भण्डारी लगायत युवा कार्यकमका संयोजक श्रीयम जोशी लगायत स्वयम् सेवक तथा सबैमा धन्यवाद दिएका छन् । उक्त कम्बल बितरण गर्नेहरुमा श्रीयम जोशी स्वयम संयोजक रहेका थिए उनले १ सय १५, डा बिष्णु उपाध्यायले ३०, किम्बर्ले फ्रीटज प्याट्रिकले ७५, पुण्य फाउन डेसनले ४०, नरेश राज पाण्डेले २०, ड्यालस फिलिपिनो लाइन्स क्लबले २०, श्री सत्य साइ केन्द्रले १०, संगीता स्थापितले १०, सबिना श्रेष्ठले ५, बिष्णु गुरुङले ५ , जेरेमिहा ड्रीग्गरले ५ तथा एचडीएनपी टोलिले ५९ वटा कम्बल वितरण गरेको थियो । यसैगरी यो संस्थाको शाखा रहेको नेपालले पनि हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवारविहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई विशेष सहयोग प्रदान गर्दै आएको छ । टेक्सास राज्यको ड्यालसमा स्थापना भएको एचडीएनपी इन्टरनेसनलले स्थापना कालदेखि नै घरबाहरबिहीन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउँदै आएको लाई निरन्तरता दिएको छ । संस्थाले समाज सेवाको साथै उनीहरुको लागि स्वास्थ्य, शिक्षा र जिविको पार्जन गर्नेदेखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ । हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।
पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई जेल सजाय
इस्लामाबाद, पुस ९ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई त्यहाँको भ्रष्टाचार निरोधी अदालतले भ्रस्टाचार गरेको आरोपमा ७ वर्षको सजाय सुनाएको छ । भ्रस्टाचार सम्बन्धी मुद्दा हेर्ने ‘नेसनल अकाउंटिबिलिटी ब्यूरो’ले सरिफलाई अल-अलिजिया स्टील मिल्स मुद्दामा उक्त सजाय सुनाएको हो । सरिफलाई त्यस्तै प्रकृतिको अर्को मुद्दा ‘फ्ल्यागशिप इन्भेस्टमेन्ट मामिलामा भने सफाई दिइएकोछ । यस अघि जुलाई महिनामा उनकी छोरी र ज्वाईंलाई अदालतले जेल सजाय सुनाइसकेको छ । नवाज गत निर्वाचन ताका पनि भ्रस्टाचार सम्बन्धि मुद्दामा हिरासतमा रहेका थिए । उनको अनुपस्थितिमा उनको दल पाकिस्तान मुस्लिम लीगले स्नावाज सरिफका भाई सहबाज सरिफको नेतृत्वमा निर्वाचन लडेको थियो जसमा इमरान खानको दल ‘तहरिक-ए-इन्साफ सबै भन्दा ठुलो दल भएर निस्केको थियो । अदालत्ले आयभन्दा बढी सम्पत्ति देखिएको भन्दै नवाजमाथि छानबिन गराएको थियो । उनलाई घोषित आयभन्दा बढी पैसा विदेशमा लगानी गरेको आरोपमा दोषी पाइएको हो । एजेन्सी
दिल्ली एयरपोर्टमा बबाल, यात्रुले चुरोट खान ढिपी गरेपछि फर्कियो जहाज
नयाँ दिल्ली, पुष ७ । फ्लाइटको संसारमा अनौठा घटनाहरु देखा पर्छन, यस्तै भएको छ दिल्ली एयरपोर्टमा । एकजना यात्रुको जिद्दिले दर्जनौं अन्य यात्रुहरुले तनाव झेल्नु परेको छ । जिद्दि पनि कस्तो भने, यात्रुले चुरोट खान माग गरेको अवस्था । भाष्कर दैनिकका अनुसार, इन्दिरा गान्धी अन्तर्राष्ट्रियम विमानस्थलमा शुक्रबार साँझ दिल्लीबाट कोलकत्ता जाने जहाज रनवेमा दौडिरहेको थियो । साढे पाँचको समयमा उडने तयारीमा रहेको जहाज आठ बजे कोलकत्ता पुग्ने तय भएको थियो । फ्लाइट संख्या युके ७०७ रनवेमा दौडिसकेपछि एकजना यात्रुले क्रू मेम्बरसँग चुरोट पिउने इच्छा व्यक्त गर्यो । क्रू मेम्बरले यो मान्ने कुरा थिएन । तर यात्रुले भने ढिपी छोडेन । चुरोट नपिई कलकत्ता नजाने अडान यात्रुले लिएपछि जहाजभित्र ठूलै हंगामा भयो । उसलाई निकै सम्झाउने कोशिश गरियो । तर माने पो । अन्तमा उसको इच्छा पुरा गर्नका लागि जहाजलाई फेरी दिल्लीतर्फ फर्काउनु पर्यो ।
ट्र्म्पलाई अर्काे आपत- केही घन्टापछि अमेरिकी संघीय निकायकाे खर्च बन्द हुँदै
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोको सिमानामा पर्खाल बनाउने आफ्नो योजनामा डेमोक्र्याटिक पार्टीले समर्थन नगरे “निकै लामो समयसम्म” सरकारी खर्च बन्द गरिदिने चेतावनी दिएका छन्। शुक्रवार अमेरिकी संसदको तल्लो सदनमा सरकारी खर्च सम्बन्धी विधेयकहरू पारित नभएपछि अब केही घन्टा पछि अमेरिकी संघीय निकाय खर्चविहीन हुँदैछन्। विपक्षी दलले उनको योजनाको कडा आलोचना गरिरहेको छ। मेक्सिकोसँगको अमेरिकाको सिमानामा पर्खाल लगाउन ट्रम्पले झण्डै ६ अर्ब डलरको माग गरिरहेका छन्। त्यो प्रस्ताव अमेरिकी प्रतिनिधिसभाबाट पारित भइसकेको छ। तर माथिल्लो सदन सिनेटले त्यसलाई अस्वीकार गर्ने अपेक्षा गरिएको छ। अमेरिकाका विभिन्न सरकारी निकाय खर्चविहीन हुने अवस्थाबाट जोगिन वासिङ्टनको समय अनुसार मध्यराति सम्ममा खर्च विधेयकहरू संसदबाट पारित हुनु पर्ने थियो। तर त्यसो हुन नसकेपछि विपक्षी नेताहरूले ट्रम्पको आलोचना गरेका छन्। वरिष्ठ डेमोक्र्याट सिनेटर चक शुमरले भने, “राष्ट्रपति ट्रम्पको आवेग र रिसले देशलाई क्रिसमसको बेला सरकारी खर्च नै बन्द गर्ने स्थितितर्फ धकेलिरहेको छ। “सिनेटमा मेक्सिकोको सिमानामा पर्खाल बनाउने पक्षमा मत छैन। राष्ट्रपति ट्रम्प तपाईँले सिमानामा पर्खाल पाउनु हुन्न।” प्रभाव कस्तो पर्दैछ? सरकारी खर्च बन्द हुने स्थितिको नकारात्मक असर अमेरिकी शेयर बजारमा पनि परेको छ। त्यो शुक्रवार निकै तल्लो बिन्दुमा झरेको थियो। राजनीतिक विवादका कारण लगानीकर्ताहरू समेत चिन्तित बनेका छन्। क्रिसमसको मुखमा खर्च बन्दीका कारण अमेरिकाभरका करिब १० लाख संघीय कर्मचारीहरू प्रभावित हुने ठानिएको छ। बिबिसी नेपालीबाट
भुपेश बघेल छत्तीसगढका नयाँ मुख्यमन्त्री बन्ने
रायपुर, पुष १ । भारतमा सम्पन्न विधानसभा निर्वाचनमा बहुमत प्राप्त गरेको भारतीय कांग्रेसले छत्तीसगढको मुख्यमन्त्रीका रुपमा भूपेश बघेललाई अघि सारेको छ । आइतबार सम्पन्न विधायक दलको बैठकमा बघेललाई संसदीय दलको नेत ाचयन गरिएपछि उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । बघेलले भोली पद तथा गोपनियताको शपथ लिने छन् । संसदीय दलको नेता चयन भएपछि मिडियासँग कुरा गर्दै बघेलले मन्त्रीहरु चयनबारे पछि निर्णय लिइने बताए । यसका साथै उनले झीरम घाटी काण्डका बारेमा जाँचबुझ समिति बनाउने घोषणा समेृत गरेका छन् । भोली हुने सपथ ग्रहण समारोहमा राहुल गान्धीदेखि कैयन अन्य शीर्ष नेता उपस्थित हुने कार्यक्रम छ । सन् २०१३ मा झीरम घाटीमा कांग्रेसका नेता नन्द कुमार पटेल, महेन्द्र कर्मा, विद्याचरण शुक्ल र उदय मुदलियार समेत २८ जनाको मृत्यु भएको थियो । बघेलले मन्त्रीपरिषद्को पहिलो बैठकबाट किसानहरुको ऋण माफी र बिजुलीको बिल आधा गर्ने विषयमा निर्णय हुने पनि बताए ।
श्रीलंकाका अपदस्त प्रधानमन्त्री विक्रमासिंघे पुनर्बहाली
कोलम्बो, पुष १ । श्रीलंकाका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकट सुरु भएको ५१ दिनपछि विक्रमासिङ्घेलाई पुनर्बहाली गरेका हुन्। सिरिसेनाले गत अक्टोबर २६ का दिन विक्रमासिङ्घेलाई प्रधानमन्त्रीबाट हटाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । विक्रमासिङ्घेलाई राष्ट्रपति सिरिसेनाले आइतबार पद तथा गोपनीयताको सपथ पनि गराउनुभएको एक सांसदले जानकारी दिएका छन् । विक्रमासिङ्घेलाई अपदस्त गरेर प्रधानमन्त्रीमा नियुक्त गरिएका महिन्दा राजापाक्षेले शनिबार राजीनामा दिएपछि आफैंले बर्खास्त गरेका विक्रमासिङ्घेलाई पुनर्बहाली गर्न सिरिसेना बाध्य भएका थिए । राष्ट्रपतिद्वारा नियुक्त प्रधानमन्त्री राजापाक्षेलाई संसद र अदालतले अबैध भन्दै काम गर्न नदिएपछि उनले शनिबार राजीनामा दिएका थिए । संसद र अदालत दुबैले संसदबाट बहुमतप्राप्त भएकाले विक्रमासिङ्घेलाई नै प्रधानमन्त्रीका रुपमा काम गर्न दिनुपर्ने आदेश दिएपछि सिरिसेनाले उनलाई नै फेरि नियुक्त गर्न बाध्य भएका हुन् । विक्रमासिङ्घेको पार्टी युनाइटेड नेसनल पार्टीले ट्वीट मार्फत् राष्ट्रपतिको अवैधानिक कदमलाई परास्त गर्न र विधिको शासन स्थापित गर्न लडेका सबैप्रति धन्यवाद ज्ञापन गरेको छ । विक्रमासिङ्घेका एकजना प्रवक्ताले उनले चाँडै नै मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका छन् । नयाँ वर्ष सन् २०१९ का लागि वार्षिक बजेट बनाउने विषयमा पनि उनले प्राथमिकताका साथ काम गर्ने बताए । रासस

