टेलिभिजन पत्रकारको बलात्कारपछि हत्या

काठमाडौं । बुल्गारियाको उत्तरपूर्वी रुज शहरमा एक टेलिभिजन पत्रकारको बलात्कारपछि हत्या भएको छ । प्रहरीका अनुसार ३० वर्षीया विक्टोरिया मरिनोवाको शव बेवारिसे अवस्थामा शनिबार फेला परेको छ । शरीरमा प्रहार गरिएको र घाँटी चेपिएको अवस्थामा शव फेला परेको थियो ।

टाउको माथिपनि प्रहार भएको प्रहरीको भनाइ रहेको छ । बलात्कार भएको समेत पुष्टि भएको छ । अन्तराष्ट्रिय जगतमा यस घटनाको व्यापक आलोचना भएको छ । घटनास्थलबाट मरिनोवाको मोबाइल, कारको साँचो समेत गायब पारिएको थियो ।

लुटपाट गर्ने नियतले उनको हत्या नभएको प्रहरीले स्पष्ट पारेको छ । त्यहाँको स्थानीय मिडियाका अनुसार मरिनोवा रुजको टिवीएन टेलिभिजनकी प्रशासनिक निर्देशक थिइन् । उनले त्यहाँ ‘टक सो’ कार्यक्रम चलाउने गरेकी थिइन् ।

मालदिभ्सका पूर्व राष्टपति गयूमलाई धरौटीमा रिहा गर्न आदेश

कोलोम्बो, असोज १५ । मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयूमलाई धरौटीमा रिहा गर्न आइतबार अदालतले आदेश दिएको छ ।मालदिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयूमलाई उनका सौतेला भाई राष्ट्रपतिको निर्वाचनमा पराजीत भएको एक हप्तापछि धरौटीमा रिहा गर्न आदेश भएको हो । असी बर्षीय गयूम र उनका छोरा फारिस मौमुनलाई राजधानी मालेमा रहेको उच्च अदालतले आदेश दिएको हो । उनीहरूलाई विवादास्पद केही मुद्दामा जेल पठाएपछि त्यसउपर गरिएको पछिल्लो पुनरावेदनका आधारमा सुनुवाई भई जेलमुक्त गरिएको हो । हालै भएको निर्वाचनमा ५८.४ प्रतिशत मत ल्याई राष्ट्रपतिमा निर्वाचित भएका इब्राहिम मोहमद सोलिहले वर्तमान् राष्ट्रपति अब्दुल्लाह यमीनसँग सबै राजनीतिक बन्दीलाई रिहा गर्न गरेको अनुरोधपछि अदालतको उक्त निर्णय आएको हो । -रासस

इण्डोनेशियामा भूकम्प र सुनामीका कारण ८३२ को मृत्यु

इण्डोनेसिया, असोज १४ । इण्डोनेशियाको राष्ट्रिय विपद् निकायले विनाशकारी भूकम्प र सुनामीका कारण सुलावेशी टापुमा अहिलेसम्म कम्तीमा ८ सय ३२ जनाको ज्यान गइसकेको जनाएको छ। गत शुक्रबार उक्त टापुमा भूकम्प र त्यसपछि सुनामी आएको थियो । राष्ट्रिय विपद् निकायले प्रभावित क्षेत्र पहिला ठानिएभन्दा ठूलो भएको पनि जनाएको छ। पत्रकार सम्मेलनमा उक्त निकायका प्रवक्ता सुतुपो पुर्वो नुग्रोहोले शुक्रबारको ७.५ म्याग्निट्यूडको भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू फसिरहेको ठानिएको जनाएका छन् । भूकम्पपछि आएको सुनामीको छाल ६ मिटरसम्म अग्लो भएको उनले बताए । इण्डोनेशियाको पालु नगरमा उद्धारकर्मीहरूले विपद्‍मा परेर पनि जीवितै हुन सक्ने मानिसहरुको खोजी गरिरहेका छन् । पालु नजिकैको डोंगाला नगरमा भूकम्प र सुनामीको असर कति परेको छ भन्ने स्पष्ट छैन। त्यसैले अहिले उक्त नगरको अवस्थाबारे चासो बढेको छ । बीबीसीबाट

डोनाल्ड ट्रम्पले भने– किमले अति सुन्दर पत्र लेखे, मेरो त माया नै बस्यो

वाशिङ्टन डिसी । कुनै बेलाका कट्टर दुश्मन । मार्ने र हान्ने बाहेक केही आउँदैनथ्यो उनीहरुको बीचमा । तर शक्ति भन्ने कुरा ठूलो हुँदो रहे छ । अहिले अवस्था फेरिएको छ । दुनियाँको नक्साबाट उत्तर कोरियालाई मेटाइदिने धम्की दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनौठो बयान दिएका छन– आई एम इन लव विद किम सिंगापुरमा भएको बैठकपछि एक अर्कासँग नजिक देखिएका किमका बारेमा उनले नयाँ टिप्पणी गरेका हुन । हालैमात्र किम जोङ इलले अमेरिकी राष्ट्रपतिलाई फेरी वार्ताका लागि अनुरोध गर्दै पत्र पठाएका थिए । अहिले ट्रम्पले सोही पत्रमाथि टिप्पणी गर्दै किमसँग माया बस्यो भनेका हुन । रिपब्लिकन पार्टीको एउटा स्थानीय उम्मेदवारको समर्थनमा पश्चिम भर्जिनियामा आयोजित एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले किमको निकै प्रशंसा गरे । ट्रम्पले र्यालीमा भने– म त प्रेममा पो परेछु । वास्तवमा किमले यति सुन्दर पत्र जो लेखेका छन् । आइएम इन लभ विद हिम । गत सोमबारका दिन संयुक्त राष्ट्र महासभाको बैठकमा पनि ट्रम्पले उत्तर कोरियाको प्रशंसा गरेका थिए । गत वर्ष मात्रै उनले यही मञ्चबाट उत्तर कोरियालाई पुरै बर्बाद गर्ने चेतावनी दिएका थिए । तर उत्तर कोरियाले आफ्नो युद्द क्षमतामा आकस्मिक र निर्णायक विकास गरेपछि अमेरिका र उत्तर कोरियाबीच सन्तुलित सम्बन्ध स्थापित भएको हो । यद्यपी उत्तरमाथिको कडा प्रतिबन्ध भने अझै पनि कायमै छ ।

बलात्कार पीडितले सम्झौता गरेर अदालतमा बयान दिए उल्टै कारवाही हुने– भारतीय सर्वोच्च अदालत

नयाँ दिल्ली । महिला अधिकारका पक्षमा व्यभिचारसम्बन्धी कानुन खारेज गरेर चर्चामा आएको भारतीय सर्वोच्च अदालतले बलात्कारका सम्बन्धमा एउटा गम्भीर नजिर स्थापित गरको छ । भारतीय सुप्रिम कोर्टमा १४ वर्षदेखि विचाराधीन रहेको एउटा मुद्दाको सुनुवार्ई गर्दै अदालतले कुनै घटनामा बलात्कार पीडितले अभियुक्तलाई जोगाउन उससँग सम्झौता गरेर बयान परिवर्तन गरेको खण्डमा उनीमाथि समेत मुद्दा चलाइने छ । यदि पर्याप्त प्रमाण हुँदाहुँदै पनि पीडितले बयान परिवर्तन गरे उसका विरुद्द मुद्दा दर्ता गरिने छ । न्यायाधिश रन्जन गोगोई, नवीन सिन्हा र केएम जोसेफको बेन्चले १४ वर्षदेखिको मुद्दा सुनुवाई गर्दै दोषीलाई १० वर्षको जेल सजाय समेत तोकेका छन् । जबकि यो घटनामा बलात्कार पीडितले बयान बदलेकी थिइन । उनले अदालतमा आफूसँग बलात्कार नभएको बताएकी थिइन । बेन्च सुनुवाईको बेला न्यायाधिशहरुले यदि बलात्कारको आरोपीलाई मेडिकल रिपोर्टका अतिरिक्त कुनै पनि आधारमा क्लिन चिट दिइएको खण्डमा पनि त्यसका विरुद्द मुद्दा दर्ता हुने छ । सुप्रिम कोर्टले फैसलामा अगाडि भनेको छ– क्रिमिनल ट्रायलको उद्देश्य सत्यलाई अगाडि ल्याउने हुन्छ । कसैलाई पनि आफ्नो बयानबाट पूर्णरुपबाट पछाडि हटन या न्याय व्यवस्थालाई मजाक बनाउने अनुमति दिन सकिन्न । अदालतले सन् २००४ मा घटेको बलात्कारको घटनामा फैसला सुनाएको थियो । नौ वर्षको उमेरमा बालिकाको बलात्कार भएपछि उनकी आमाले रिपोर्ट गरे अनुसार आरोपी पक्राउ परेका थिए । तर ६ महिनापछि नै पीडित र घटनाको मुख्य साक्षी उनकी बहिनीले बयान परिवर्तन गरेकी थिइन । ट्रायल कोर्टले त्यसपछि मुद्दा खारेज गरेको थियो । तर गुजरात हाइकोर्टले भने यो निर्णय उल्ट्याउँदै बलात्कार पीडितको मेडिकल रिपोर्ट र अन्य प्रमाणका आधारमा आरोपीलाई दोषी ठहर गर्यो । त्यसपछि आरोपीले सुप्रिम कोर्टमा अपील गरेपछि याचिका खारेज गरिएको थियो । सुप्रिम कोर्टले गरिबीका कारण बयान परिवर्तन गर्नुपरेको हुनसक्ने बताएको थियो ।

‘ग्लोवल फोरम’ मा भारतले शक्तिसम्पन्नता पुष्टि गर्ने मौका गुमायो !

– मुक्तदर ख़ान भारतीय विदेश मन्त्री सुष्मा स्वराजले संयुक्त राष्ट्रसंघमा गरेको भाषणलाई लिएर बहस सुरु भएको छ । यसमा महाशक्ति बन्दै गएको चीन र यसको प्रभावले भारतलाई हुने असरका बारेमा एक शब्द पनि नबोलि मोदी सरकारले ल्याएका विकासे योजना र पाकिस्तानका विषयमा समय खर्चिएकोले विश्वसामु भारतको प्रस्तुति कमजोर रहेको भन्दै उनको आलोचना सुरु भएको छ । भारतीय मिडिया तथा वुद्धिजिवीहरु उनले पाकिस्तानलाई ‘टेररिस्ट स्टेट’ भएको पुष्टि गर्न विन लादेनसम्मको उदारहण दिएर पाकिस्तानलाई नै महत्व दि‌ँदै महान बनाएको आरोप लगाएका छन् । उनीहरुले यो समय अन्तर्राष्ट्रिय स्तरमा सबभन्दा ठूलो मद्दा चीनको भूमिका भएको बताएका छन् । चीनले भारतलाई घेरा हाल्न एकपछि अर्को रणनीति अपनाएको छ । चीनले पाकिस्तानमा एक बन्दरगाह बनाइरहेको छ । श्रीलंकाको एउटा बन्दरगाहमा उसले अधिकार प्राप्त गरेको छ । साथै विश्व अर्थव्यवस्था तथा कूटनीतिमा चीनको भूमिका बढ्दै गएको छ । उता अमेरिकाले पनि विदेश नीतिको हवाला दिँदै हरेक अन्र्राष्ट्रिय मञ्चको कमजोर बनाउने कोशिशमा लागेको छ । अमेरिकाले भारतलगायत हरेक देशलार्इृ टेरिफ(कर) लगाउँदै गएको छ । उसले एच १ बी भिसामा कडाई गरेर भारतका लागि अप्ठ्यारो पार्दै गएको छ । यी सबै विषय पन्छाएर भारतीय विदेश मन्त्रीको भाषण पाकिस्तान र आगामी चुनावमा केन्द्रित थियो । भारतीय विदेश मन्त्रीले विश्वसामु भारत विश्वकै ठूलो र तिव्र आर्थिक वृद्धि भएको, परमाणु अस्त्रले सुसज्जित एउटा शक्तिशाली देशको पहिचान गराउने मौका गुमाएको बनेकी छन् । यस्तै लोकतन्त्रको दुहाई दिने अमेरिकामा कमजोर बन्दै गएको लोकतन्त्र भारतमा मज़बूत हुँदै गएको, बहुधर्मवाद, सिभिल सोसइटी तथा प्रेस स्वतन्त्रता बलियो भन्दै गएको विषय गौण बन्यो । यदि आतंकवादका विषयमा बोल्नै पर्ने थियो भने सीरिया, इराकका बारेमा बोलेको भए अलिकति तर्कपूर्ण हुनसक्थ्यो । मेरो विचारमा भारतले आफ्नो नज़रिया बदल्नु पर्ने जरुरी छ । विश्वस्तरमा भारत एक महान देशको पहिचान बनाएको छ । पाकिस्तानलाई लिएर भारत रक्षात्मक सोच राख्छ । यसले भारतको जुन अन्तर्राष्ट्रिय छवि छ त्यो कमजोर हुन्छ र अर्को पाकिस्तानले महत्व पाइरहन्छ । तपाई कल्पना गर्नुस् एक महान देश यो विश्व फोरममा आफ्नो भाषणको एक तिहाई हिस्सा पाकिस्तानका बारेमा खर्च गर्छ भने अन्तर्राष्ट्रिय इमेज कस्तो बन्छ ? क्षेत्रीय विषय उठाउनु नै थियो भने दक्षिण एसियाली देश र स-साना छिमेकी देशमा भारतको भुमिकाका बारेमा बोलेको भएपनि त्यो तर्कसंगत बन्ने थियो । यसले के देखाउँछ भने भारतले अन्तर्राष्ट्रिय स्तरमा के गरिरहेको छ भन्ने कुरा उ अाफै अनविज्ञ छ । पाकिस्तानले आफ्ना नागरिकलाई खुशी पार्न कश्मीरको मुद्दा उठाएपनि अन्तर्राष्ट्रिय स्तरमा यसले खासै महत्व राख्दैन । पछिल्लो समय पाकिस्तानले आफ्नो धुमिल हुन्दै गएको छवि सुधार्ने प्रयास गरिरहेकाे छ । मेरो विचारमा भारतले पाकिस्तानसँग अझ कडा रुपमा पेश हुनु पर्छ । मैले सेना परिचालन गर्ने कुरा गरेको होइन तर, भारतले पाकिस्तानमा प्रतिबन्ध लगाएरु उसलाई एक पराई देश सरह व्यवहार गरेमा पाकिस्तान झन कमज़ोर बन्ने निश्चित छ । भारतले पाकिस्तानविरुद्ध प्रचार धेरै, कारवाही कम गर्छ । भारतले पाकिस्तानका बिरुद्ध प्रचार कम गर्दै आफनो लठ्ठी (छड़ी) बलियो बनाउँन आवश्यक छ । लेखक खान डेलावेयर विश्वविद्यालयका प्रोफ़ेसर हुन् ।

जपानमा खतरनाक तुफान, दर्जनौं घाइते, हजारौं विस्थापित, हवाई र रेलसेवा बन्द

टोकियो, जापानमा ट्रामी नाम गरेको तुफानका कारण ठूलो क्षति भएको छ । जापानको दक्षिणी द्विप ओकिनावामा शनिबारदेखि चलेको शक्तिशाली तुफानको चपेटामा दुई दर्जन बढी घाइते भएका छन् । २१६ किलोमिटर प्रति घण्टाको गतिमा हावामा घुमिरहेको यो तुफान २५ किलोमिटर प्रतिघण्टाको दरले अगाडि बढिरहेको समाचारहरुमा उल्लेख छ । मौसम विज्ञानmे आइतबार रातीसम्म यो मुख्य भुभागमा पुग्ने र प्रचण्ड रुप धारण गर्न सक्ने चेतावनी दिएका छन् । ओकिनावाका करिब ७ सय वासिन्दालाई सुरक्षित स्थानतर्फ लगिएको छ । २ लाख भन्दा बढी घरमा बिजुली बन्द गरिएको छ । तीब्र गतिको हावाका कारण कैयन रुखहरु ढलेका छन् । सडक अवरुद्ध बनेका छन् । तुफानकै कारण पश्चिम जापानमा ३८६ हवाई उडान बन्द गरिएका छन् भने कन्सई विमानस्थल आइतबार बिहान ११ बजेदेखि बन्द गरिएको छ । यतिमात्रै होइन ओसाका क्षेत्रका सबै सेवा र आजै दिउँसोदेखि शिकान्सेन रेल सेवा पनि रद्द गरिने अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुले पश्चिम जापानमा भूस्खलनको पनि चेतावनी दिएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री इमारन खानले भैंसी बेचेर कमाए १४ लाख !

एजेन्सी, असोज १२ । नयाँ प्रधानमन्त्री इमारान खान नेतृत्वमा आएसंगै पाकिस्तान सरकारले प्रधानमन्त्री निवासको आठवटा भैंसी लिलामी गरेको छ । र, करिब १४ लाख रुपैयाँ जुटाएको छ ।   गएको साता पनि प्रधानमन्त्री निवासमा रहेको कार बेचेर पाकिस्तान सरकारले पैसा जम्मा गरेको थियो । यी भैंसी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफको समर्थकले किनेका थिए ।   यो मध्ये एउटा भैसी ३ लाख ८५ हजार रुपैयाँमा काल्ब अलीले खरिद गरेका छन् । अलीले भनेका छन् ‘भावनात्मक कारणले गर्दा १ लाख २० हजार पर्ने भैंसीलाई तीन गुणा पैसा तिरिएको हो ।’ उनले अगाडि थपे, ‘मैले यो भैंसी नवाज शरीफ प्रति आफ्नो लगाव भएकाले किनेको हुँ ।’   प्रधानमन्त्री इमरान खानले फजुल खर्च रोक्नका लागि लालामी गरेका हुन् । खान सरकारले अब केही समयमा चारओटा सरकारी हेलिकोप्टर पनि लिलामी गर्ने तयारी गरिरहेको छ ।

चीनले अमेरिकालाई फर्कायो यस्तो जवाफ

काठमाडौँ, असोज ११ । चीनले आफू कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनलाई अमेरिकामा भइरहेको मध्यावधि निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाएपछि चीनले त्यसको प्रत्युत्तरमा यस्तो प्रतिक्रिया दिएको हो । राष्ट्रपति ट्रम्पले बुधबार चीनलाई रिपब्लिकन पार्टी विरुद्ध काम गरिराखेको भन्ने अभिव्यक्ति दिएपछि चीनका विदेशमन्त्रीलर स्स्फ्नो देशलाई कुनै पनियो देशको अन्तरिक मामिलामा हस्तक्षेप गर्ने नीति नरहेको बताएका थिए । ट्रम्पले व्यापारको मामिलामा उनको कडा रवैयाका कारण चीनले आफ्नो पराजय चाहेको आरूप लगाएका थिए । उनी व्यापारको मामिलामा चीनलाई चुनौती दिने पहिलो अमेरिकी राष्ट्रपति हुन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंज सुआङले यसमा प्रतिक्रिया दिँदै भनेका छन्, “कुन देशले अन्य देशहरूको भित्री मामिलामा अत्यधिक चासो लिँदै आइरहेको छ भन्ने अन्तर्राष्ट्रिय समुदायलाई राम्ररी थाहा छ, बेजिङले त्यस्तो गर्दैन ।” गेंजले चीनसँग सम्बन्ध बिग्रिने काम नगर्न संयुक्त राज्य अमेरिकासँग आग्रह समेत गरेका थिए । एजेन्सी  

यौन दुर्व्यवहार गरेको आरोपमा हाँस्यकलाकार कोस्बीलाई १० वर्ष जेल सजाय

न्युयोर्क, असोज ११ । अमेरिकाको पेन्सिलभेनिया स्थित अदालतले यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएपछि प्रख्यात हाँस्यकलाकार बिल कोस्बीलाई १० वर्षको जेल सजाय सुनाएको छ । फैसला पछि उनलाई हथकडी लगाएर मोन्ट्गोमेरी काउन्टी सुधार गृहमा लगिएको छ । फैसलापछि ८१ वर्षीय कोस्बी यौन हिंस्रकको दर्जामा परेका छन् । गत अप्रिलमा भएको पुनर्सुनुवाईमा कोस्बी तीनवटा यौन दुर्व्यवहारको घटनामा दोषी ठहर भएका थिए । उनलाई २५ हजार डलर जरिवाना पनि गरिएको छ । कोस्बीका वकिलले उनको जेल सजायलाई घरमै नजरबन्दको परिणत गर्न आग्रह गरेका छन् । गत अप्रिलमा दोषी ठहर भएपछि उनलाई नजरबन्दमै राखिएको थियो । सन् १९८० को दशकमा ‘कोस्बी शो’ सुरु गरेपछि उनी घर–घरमा लोकप्रिय भएका थिए । उनलाई ‘अमेरिकाका पिता’ नामले पनि चिनिन्थ्यो । एजेन्सी सहयोगबाट

चीनमाथि डोनाल्ड ट्रम्पको यस्तो गम्भीर आरोप

एजेन्सी, असोज ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको आगामी मध्यावधि चुनावलाई प्रभावित गर्न खोजेको आरोप लगाएका छन् । राष्ट्रपति ट्रम्पले आफुले चीनको व्यापारिक मुद्धामा चुनौती दिएको भन्दै उसले आफ्नो जीत नचाहेको जीकिर गरेका छन् ।   परमाणु, रासायनिक र जैविक हतियारमा रोक लगाउने विषयमा सुरक्षा परिषदको बैठकमा राष्ट्रपति ट्रम्पले यस्तो आरोप लगाएका हुन । ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेसँगै अमेरिका र चीनबीच व्यापार शुल्कलाई लिएर विवाद चल्दै आएको छ ।   चिनियाँ विदेशमन्त्री वागं यीले भने ट्रम्पको दाबीलाई अनुचित भन्दै खारेज गरिदिएका छन् । विदेशमन्त्री यीले चीनले अन्य देशको आन्तरिक मामिलामा दखल नदिने स्पस्ट पारेका छन् ।

इरानमा सैनिक परेडमाथि आक्रमण, थुप्रैको गयो ज्यान

तेहरान, असोज ६ । इरानमा एउटा सैनिक परेडमाथि हतियारधारी आक्रमणकारीहरूले गरेको आक्रमणमा थुप्रै हताहती भएको छ । इरानी सरकारी मिडियाले यस घटनामा आठ या नौ सैनिक सहित लगभग एघार जना मारिएको हुनसक्ने जनाएको छ तर हताहतिको वास्तविक तथ्य भने सार्वजनिक हुन सकेको छैन । जेरुसलेम पोस्ट अनुसार इरानको दक्षिणपश्चिमी सहर अह्वाजमा भइरहेको सैन्य परेडमा नजिकैको एउटा पार्कबाट गोली चलाइएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीहरू सैनिक पोशाकमा रहेका थिए । इरानी अर्ध सरकारी समाचार माध्यम इरानियन स्टुडेन्टस् न्युज एजेन्सी (आइएसएनए)ले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै उक्त स्थानमा १० मिनेटसम्म गोली चलेको र त्यसपछि स्थिति नियन्त्रणमा आएको थियो । घटनास्थलमा उक्त समय थुप्रै सर्वसाधारणको उपस्थिति रहेकोले हातहतिको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । समाचारहरूमा आक्रमणकारीहरूले सर्वसाधारण र सैनिकहरूलाई लक्षित गरेर गोली चलाएको र उक्त परेड हेर्न त्यहाँ उपस्थित सर्वसाधारणहरू भुइँमा पल्टिएर ज्यान जोगाएको उल्लेख छ । अह्वाज सहरमा गत वर्ष जनताको जीवनस्तरमा निरन्तर ह्रास आइरहेको भन्दै प्रदर्शन गिएको थियो । इरानले इराक विरुद्ध संघर्षको सुरुवातको ३७ औँ वर्षगांठ मनाइरहेको छ । र यस उपलक्षमा विभिन्न स्थानमा सैनिक परेड प्रदर्शित गरिँदैछ । यो इरानी भूमिमा भएको पहिलो चरमपन्थी आक्रमण भने होइन । गत जुनमा इस्लामिक स्टेटका आत्मघाती बम आक्रमणकारीहरूले इरानी संसद र तेहरानस्थित इरानका सवोच्च नेता आयतुल्लाह खोमेनीको समाधिमा आक्रमण गर्दा १८ जनाको ज्यान गएको थियो । हालैका दिनहरूमा यस्ता आक्रमणहरू कुर्दिस तथा बलोच पृथकतावादी संगठनसम्बद्ध व्यक्तिहरूबाट भएका थिए । एजेन्सीहरू

बंगलादेशले पहिलो हिन्दु प्रधानन्यायाधीश सिन्हालाई देश निकाला गरेको खुलासा !

एजेन्सी, असोज ५ । बंगलादेशका पूर्वप्रधानन्यायधीश एस के सिन्हालाई त्यहाँको सरकारले देश छोडेर जान दबाब दिएको छ । बीबीसी हिन्दीसँगको विशेष कुराकानीमा उनले देश छोड्नु मुख्य कारण नजरबन्द र परिवारलाई आएको ज्यान मार्ने धम्की भएको बताएका छन् । २०१७ मा उनको परिवार अस्ट्रेलिया बसाई सरेका छ भने उनी कुनै अज्ञात देशमा रहेको बताउँदै आएका छन् । उनी वर्तमान बंगलादेशी प्रधानमन्त्री शेख हसीना सत्तामा आएपछि बंगलादेशका प्रधानन्यायाधीशमा नियुक्त भएका थिए । पूर्वप्रधानन्यायाधीश सिन्हाले भरखरै प्रकाशित गरेको किताब ‘ए ब्रोकन ड्रीम : रूल अफ ल, ह्यूमन राइट्स एंड डेमोक्रैसी’ मा पनि यो विषय उल्लेख गरेका छन् । अन्र्तवार्ताका क्रममा उनले कुनै समाय भारत आएर सबै कुरा उजागर गर्ने बताए । उने भने, ‘मैले बंलगादेशमा न्यायपालिकाको पारदर्शिता तथा लोकतान्त्रिक पद्धतिको विषय उठाएको थिएँ । कानूनको शासन र न्यायप्रणालीको सुधार गर्ने मेरो कदम सरकार र इंटेलिजेन्स एजेन्सीहरुलाई मन परेन । मलाई एक प्रकारले घरमै नज़रबन्दमा राखियो । परिवारलाई धम्की दिइयो । मलाई देश छोड्ने धम्की आयो र अन्त्यमा देश निकाला नै गरियो ।’ भारतसँग सीमाना जोडिएको सिलहट प्रान्तका स्थायी घर भएको सिन्हाले आफ्नो पुस्तौनी घरमा जासूसी गर्न सक्ने संयन्त्र बिछाएको दावी गरे । उनका अनुसार, बंगलादेश वार ट्राइब्यूनलका विषयमा सुनवाई भइरहेको थियो । यतिबेलै चरमपन्थीहरुले उनको घर बमले उडाउने योजना बनाएका थिए । शेख़ हसीना सरकारले सिन्हाले आफ्नो किताबमा उल्लेख गरेका तत्थ मन गढन्ते कथा भएको प्रतिक्रिया दिँदै आएको छ । -नितिन श्रीवास्तव, बीबीसी संवाददाता

के गर्दैछ भारतको सबैभन्दा ठुलो वामदल ?

रातो झण्डा बोक्ने र ‘लाल सलाम’ भन्दै अभिवादन गर्ने भारतको मार्क्सवादी कम्युनिस्ट पार्टीले अचेल आफूसँग नीलो झण्डा पनि जोडेका छन् । यसका साथै उनको अभिवादन पनि केही फेरिएको छ, ‘जय भीम, लाल सलाम !’ कुरो के भने भारतमा २०१९ मा आम निर्वाचन हुँदैछ । सत्तारूढ भारतीय जनता पार्टी विरुद्ध सबै विपक्षी दलहरूले महागठबन्धन बनाउने चर्चा चलिराखेको छ । त्यस महागठबन्धनको एउटा प्रमुख घटक हो सीताराम येचुरी नेतृत्वको मार्क्सवादी कम्युनिस्ट पार्टी । माकपाले यस चुनावका लागि दलित संगठनहरूसँग हात मिलाएको छ । त्यसैले दलित संगठनहरूको अभिवादन ‘जय भीम’ अब ‘लाल सलाम’सँगै सुनिन थालेका छन् । कुनै समय पश्चिम बङ्गाल, त्रिपुरा केरल आदि राज्यहरूमा या पार्टीको सरकार हुने गर्दथ्यो तर २०१४ यता आएको मोदी नाम गरेको आँधीले सबै उडाएर लग्यो । अब केरलामा मात्र यस पार्टीको सरकार रहेको छ । भारतमा ‘मोदी लहर’ले विपक्षी दल्हरूलाई मात्र कुनामा पुरयाएन बरु मोदीका तगारा ठानिएका भाजपाकै कतिपय दिग्गज नेताहरूको भूमिकालाई पनि संकुचित पारिदियो । चाहे लालकृष्ण आडवाणी र मुरली मनोहर जोशी जस्ता संस्थापक नेता हुन् या यशवन्त सिँह, शत्रुघ्न सिन्हा र वरुण गान्धी जस्ता प्रभावशाली नेताहरू । २०१९ को लोकसभा निर्वाचनपूर्व पाँच राज्यहरूमा प्रदेश सभा या विधानसभाको निर्वाचन हुँदै छ र यसका लागि सीताराम येचुरी नेतृत्वको माकपा पनि तम्तयार छ । सीताराम येचुरीको दलको यसपालीको नारा रहेको छ ‘देशलाई नेता हैन नीति चाहिन्छ।’ र यसका लागि उनको पार्टी गरीब, अल्पसंख्यक, दलितहरूलाई साथ लिएर चुनावी मैदानमा उत्रिने भएको छ । बीबीसीसँगको अन्तवार्तामा येचुरी भन्छन्, “आज देशमा गरीब, अल्पसंख्यक, दलित सुरक्षित छैनन् । यसकालागि वैकल्पिक बाटो र वैकल्पिक नीतिहरूको आवश्यकता छ ।” उनी भन्छन्, “यसकालागि साम्प्रदायिक शक्तिहरू विरुद्ध खस्ने भोटहरू बाँडिनु हुँदैन ।” तर वामपन्थीहरूको गढ मानिएको पश्चिम बङ्गाल र माणिक सरकार जस्तो सादगीपूर्ण जीवनशैली भएको मुख्यमन्त्री रहेको त्रिपुरामा समेत चुनावी नतिजा गुमाएको यस पार्टीको ऐतिहासिक हारबाट उम्किने उपाय के हो त ? येचुरी भन्दछन्, “वामदलहरूकै आव्हानमा हाल पनि ठुल्ठुला किसान आन्दोलन भएका छन् । तर त्यो जनसमर्थन चुनावहरूमा भोटमा भने रुपान्तरण हुन सकेको छैन ।” यसका बारेमा पार्टीभित्र पनि चर्चा हुने गरेको बताउँदै येचुरी भन्छन्, “भारतमा वर्ग संघर्ष दुई खुट्टामा टेक्छ: आर्थिक शोषण र सामाजिक शोषण । तर त्रुटी कहाँ नेर हुन्छ भने हामी एक खुट्टा; आर्थिक शोषणमा मात्र टेकेर दौडिन खोज्छौं ।” उनी विश्वस्त छन् सामाजिक शोषण विरुद्धको संघर्षलाई आर्थिक शोषण विरुद्धको संघर्षसँग नजोडेसम्म समस्याको समाधान हुँदैन । येचुरी भारतमा कम्युनिस्टहरूले पाम्परिक कार्यशैलीमा फेरबदल ल्याउनुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्, “पहिले पहिले कुनै फ्याक्ट्रीबाट धुवाँ आउँदैछ भने हामी नभन्ने गर्दथ्यौं ‘त्यहाँ रातो झण्डा लहराउनु पर्छ ।’ तर अब हामी भन्छौं ‘यो त हुने पर्छ साथै कुनै गाउँमा दलितहरूलाई कुनै इनारबाट पानी भर्न वन्चित गरिएको छ भने त्यहाँ पनि रातो झण्डा लहराइनु पर्दछ’ तब मात्र जनतामा आत्मविश्वास आउने छ ।” येचुरीलाई लाग्छ मानिसहरू प्रदर्शनहरूमा भाग त लिन्छन् तर जब निर्वाचन आउँछ उनीहरू आआफ्नो बुझाइ अनुसार बाँडिन्छन् । माकपाको नेतृत्व पंक्तिमा दलित उपस्थिति ज्यादै नै न्यून छ । येचुरी यसलाई स्वीकार्दछन् र यसलाई दुरुस्त पार्नुपर्ने विचार समेत राख्दछन् । भारतमा दलितहरूलाई राजनैतिक रूपमा संगठित गर्ने काम सर्वप्रथम काशीरामले गरे । उनले बहुजन समाज पार्टीको स्थापना गर्दै उत्तर प्रदेशको सत्ता सम्हाले । तर माकपा जस्ता वामदलहरूले सामाजिक वर्गहरूलाई नजर अन्दाज गरिरहे किनभने शास्त्रीय मार्क्सवादमा दुई मात्र वर्ग राहेका छन् र तिनको निर्धारण गर्ने मनक आर्थिक शोषण हो । तर येचुरीलाई लाग्छ अब परिभाषाहरूमा पुनर्विचार गर्नुपर्ने समय आएको छ । उनी वृहद वाम-दलित गठबन्धनको पक्षमा उभिएका छन् ।  

सामाजिक सञ्जाल नियन्त्रण जिम्मा परिषद्

कायरो, भदौ १७ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सीसीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कानुनलाई अनुमोदन गरेका छन् । नयाँ कानुनमा सरकारी अधिकारीहरुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निगरानी गर्न अधिकार दिइएको छ । संसदबाट गत जुलाईमा पारित भएको कानुनमा “सञ्चार माध्यम नियमनका लागि सर्वोच्च परिषद्”लाई कामको जिम्मेवारी दिइएको छ । सामाजिक सञ्जाल, व्यक्तिगत ब्लग, वेभसाईटलगायतमा ५,००० भन्दा बढी फलोअर भएका व्यक्तिको अनुगमन गरिने कानुनमा व्यवस्था छ । “गलत समाचार प्रकाशन वा प्रशारण गरेमा वा कानुनको उल्लङ्घन गरी हिंसा वा द्वेष फैल्याउन सूचना प्रवाह गरेमा” व्यक्तिगत एकाउन्ट निलम्बन वा बन्द गर्ने अख्तियारी परिषदलाई दिइएको छ । सञ्चार सम्बन्धी विज्ञ तथा अधिकारकर्मीहरुले भने यस कानुनले राष्ट्रपतिको शासनका बारेमा अनलाइनमार्फत आलोचना गर्न पाउने हरेक व्यक्तिको वाकस्वतन्त्रतामा धावा बोल्ने वा व्यवधान उत्पन्न गर्ने टिप्पणी गरेका छन् । सीसीले जारी गरेको कानुनसँगै इन्टरनेटको प्रयोग र यसको व्यवस्थापनका बारेमा सार्वजनिक रुपमा थप बहस हुन थालेको छ । सिलसिलाबद्ध रुपमा यस्ता नियन्त्रणमुखी कानुनहरु आइरहेको विज्ञ तथा अधिकारकर्मीहरुको भनाइ छ । यही अगस्तमा राष्ट्रपति सीसीले यस्तै अर्को कानुन पनि जारी गरेका थिए । सो कानुनमा इजिप्टको राष्ट्रिय सुरक्षा र अर्थतन्त्रलाई असर गरेमा अदालतले वेभसाइट बन्द गर्न आदेश दिन सक्ने व्यवस्था थियो । अधिकारप्राप्त व्यक्ति तथा प्रशासकहरुले वेभसाइट तथा सामाजिक सञ्जालहरुको गलत प्रयोग गर्नेलाई कारावास सजाय तथा दण्ड जरीवाना गर्न सक्ने जनाइएको छ । इजिप्टमा अहिले ५०० भन्दा बढी वेभसाइटहरु बन्द गरिएको छ भने नयाँ कानुन आएपछि अरु पनि धेरै अनलाइन, वेभसाइट तथा व्यक्तिगत ब्लगहरु बन्द हुने अशंका गरिएको छ ।

जापानको प्रतिरक्षा बजेटमा ठूलो वृद्धि

टोक्यो । जापानको रक्षा मन्त्रालयले उत्तर कोरिया र चीनबाट जारी चुनौतीको सामना गर्नेगरी क्षेप्यास्त्र प्रणाली र हवाई क्षमता सुदृढ गर्ने उद्देश्यले ठूलो बजेट प्रस्ताव गरेको छ । अप्रिलदेखि शुरु हुने नयाँ आर्थिक वर्षका लागि मन्त्रालयले ४७ अर्ब अमेरिकी डलरको बजेट आवश्यक रहेको जनाएको छ । विगत ७ वर्षदेखि लगातार वृद्धि भइरहेको रक्षा बजेटमा गतवर्षको तुलनामा यस पटक २.१ प्रतिशत थप वृद्धि गरिएको हो । रक्षा मन्त्रालयको खरिद सूचीमा अमेरिकामा निर्मित दुई सेट एजिस एशोर क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली रहेका छन् । उत्तर कोरियाली आणविक र क्षेप्यास्त्रका खतराबाट मुलुकलाई सुरक्षित राख्न यसले मद्दत गर्ने जापानको विश्वास छ । साथै, यस खरिदसूचीमा छवटा अमेरिकी एफ–३५ लडाकू बिमान तथा दुईवटा इ–२डी हकआई राडार लडाकू बिमान रहेका छन् । यसैवर्षको शुरुमा भएको कुटनीतिक पहलका बाबजूद उत्तर कोरियाबाट निरन्तर सिर्जित गम्भीर सुरक्षा चुनौतीका कारण जापानको प्रतिरक्षा प्रणाली सुदृढ गर्नुपर्ने जापानको भनाई छ । गत जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ ऊनबीच सिंगापुरमा भएको ऐतिहासिक वार्तापछि पनि कोरियाली प्रायःद्वीपमा आणविक निशस्त्रीकरणमा पर्याप्त प्रगति हुन सकेको छैन । हालैका साताहरुमा वासिङ्टन–प्योङयाङबीचको सम्बन्ध पुनः चिसिएको देखिन्छ । राष्ट्रपति ट्रम्पले विदेशमन्त्री माइक पोम्पेओको उत्तर कोरियाको पूर्वनिर्धारित भ्रमण एकाएक स्थगित गरेका थिए । जापानको प्रतिरक्षा समीक्षामा चीनको सैनिक क्षमतामा भएको ठूलो वृद्धिलाई पनि ध्यान दिइएको छ । जापानको रक्षा मन्त्रालयको विश्लेषण छ– “बेइजिङले यस क्षेत्रभित्र र जापान सेमतका अन्तर्राष्ट्रिय समुदायकै बीचमा बलियो सुरक्षा चिन्ता सिर्जना गरेको छ ।” पूर्वी चिनीया सागरका साना द्वीपको स्वामित्वका विषयमा बेइजिङको अति महत्वाकाँक्षी र आक्रामक रबैयाका कारण टोक्यो समेत यस क्षेत्रका अरु मुलुकहरुले सावधानीपूर्वक कदम चालिरहेका छन् । चीनले यसै मार्च ८ मा सार्वजनिक गरेको प्रतिरक्षा बजेटमा ८.१ प्रतिशतले वृद्धि गरी सन् २०१८ का लागि १७५ अर्ब अमेरिकी डलर बनाएको थियो । विश्वकै सबैभन्दा ठूलो चिनीया सेनालाई आधुनिक बनाउने योजना चीनले अघि सारेपछि जापान समेत यस क्षेत्रका देशहरु सशंकित बनेका हुन् । रासस/एएफपी